विकासन्युज

आभोकाडो किलोको ६५० रुपैयाँ, यस्तो छ सागसब्जी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो ।  लभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु २५, आलु रातो प्रतिकिलो रु ३५, आलु रातो (भारतीय) प्रतिकिलो रु ४०, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४२, गाजर (लोकल) प्रतिकिलो रु ४०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु १५, बन्दा (तराई) प्रतिकिलो रु १२, बन्दा (नरिवल) प्रतिकिलो रु २०, काउली (स्थानीय) प्रतिकिलो रु ३०, स्थानीय काउली (ज्यापु) प्रतिकिलो रु ३०, मूला रातो प्रतिकिलो रु ४५, मूला सेतो (लोकल) प्रतिकिलो रु २०, सेतो मूला (हाइब्रिड) प्रतिकिलो रु ३०, भन्टा लाम्चो प्रतिकिलो रु ४० तथा भन्टा डल्लो प्रतिकिलो रु ४०, तने बोडीको मूल्य प्रतिकिलो रु ८० कायम गरिएको छ । यसैगरी, मटरकोसा प्रतिकिलो रु ७०, घिउ सिमी (लोकल) प्रतिकिलो रु ८०, घिउ सिमी (हाइब्रिड) प्रतिकिलो रु ८०, घिउ सिमी (राजमा) प्रतिकिलो रु ८०, टाटे सिमी प्रतिकिलो रु ९०, तितो करेला प्रतिकिलो रु ५५, लौका प्रतिकिलो रु ४०, परबर (लोकल) प्रतिकिलो रु ९०, परबर (तराई) प्रतिकिलो रु ९०, चिचिण्डो प्रतिकिलो रु ७०, घिरौला प्रतिकिलो रु ६०, झिगुनी प्रतिकिलो रु ७०, फर्सी पाकेको प्रतिकिलो रु ५०, फर्सी हरियो (लाम्चो) प्रतिकिलो रु ४०, हरियो फर्सी (डल्लो) प्रतिकिलो रु ४०, सलगम प्रतिकेजी रु ७०, भिण्डी प्रतिकिलो रु ९० कायम गरिएको छ ।  यस्तै, सखरखण्ड प्रतिकिलो ७०, बरेला प्रतिकिलो रु ६०, पिँडालु प्रतिकिलो रु ९०, स्कूस प्रतिकिलो रु ६०, रायो साग प्रतिकिलो रु ८०, पालुङ्गो साग प्रतिकिलो ८०, चमसुरको साग रु १००, तोरी प्रतिकिलो रु ४०, मेथीको साग प्रतिकिलो रु ९०, प्याज हरियो प्रतिकिलो रु ५०, बकुला प्रतिकिलो रु ५०, तरुल प्रतिकिलो रु १००, च्याउ (कन्य) प्रतिकिलो रु १७०, च्याउ (डल्ले) प्रतिकिलो रु ३२० तथा कुरिलो प्रतिकिलो रु ६०० निर्धारण गरिएको छ । निगुरो प्रतिकिलो रु ८०, चुकुन्दर प्रतिकिलो रु ६०, सजीवन प्रतिकिलो रु १८०, कोइरालो प्रतिकिलो रु २२०, रातो बन्दा प्रतिकिलो रु ६५, जिरीको साग प्रतिकिलो रु ६५, ग्याठकोभी प्रतिकिलो रु ६५, सेलरी प्रतिकिलो रु २००, पार्सले प्रतिकिलो रु ३००, सौफको साग प्रतिकिलो रु ९०, पुदिना प्रतिकिलो रु ३५०, गान्टे मूला प्रतिकिलो रु ६०, इमली प्रतिकिलो रु १७०, तामा प्रतिकिलो रु १००, तोफु प्रतिकिलो रु १२० र गुन्द्रुक प्रतिकिलो रु ३५० तोकेकोे छ । समितिले स्याउ (झोले) प्रतिकिलो रु २५०, स्याउ (फूजी) प्रतिकिलो रु ३५०, केरा (दर्जन) रु १६०, कागती प्रतिकिलो रु २६०, अनार प्रतिकिलो रु ३५०, अङ्गुर (हरियो) प्रतिकिलो रु २००, अङ्गुर (कालो) प्रतिकिलो रु २५०, भारतीय सुन्तला रु १५०, तरबुजा हरियो प्रतिकिलो रु ७०, मौसम प्रतिकिलो रु २००, जुनार प्रतिकिलो रु २००, भुइँकटहर प्रतिगोटा रु २००, काँक्रो (लोकल) प्रतिकिलो रु १००, काँक्रो (हाइब्रिड) प्रतिकिलो रु ५०, रुख कटहर प्रतिकिलो रु १००, निबुवा प्रतिकेजी रु ५०, नासपाती (चाइनिज) प्रतिकिलो रु २६०, मेवा (नेपाली) प्रतिकिलो रु ५०, मेवा (भारतीय) प्रतिकिलो रु १२०, अम्बा प्रतिकिलो रु १२०, लप्सी प्रतिकिलो रु ९०, उखु प्रतिगोटा रु १००, स्ट्रबेरी  (भुइँऐसेलु) प्रतिकिलो रु २५०, किबी प्रतिकिलो रु ४५०, आभोकाडो प्रतिकिलो रु ६५० तथा अमला प्रतिकिलो रु १२० निर्धारण गरिएको छ । यसैगरी, अदुवा प्रतिकिलो रु १२०, खुर्सानी सुकेको प्रतिकिलो रु ४००, खुर्सानी हरियो प्रतिकिलो रु ७०, खुर्सानी हरियो (बुलेट) प्रतिकिलो रु ६०, खुर्सानी हरियो (माछे) प्रतिकिलो रु १००, खुर्सानी हरियो (अकबरे) प्रतिकिलो रु ३००, भेडे खुर्सानी प्रतिकिलो रु ११०, लसुन हरियो प्रतिकिलो रु ९०, हरियो धनिया प्रतिकिलो रु १८०, लसुन सुकेको चाइनिज प्रतिकिलो रु ३२०, लसुन सुकेको नेपाली प्रतिकिलो रु ३००, ताजा माछा (रहु) प्रतिकिलो रु ३२०, ताजा माछा (बचुवा) प्रतिकिलो रु २६०, ताजा माछा (छडी) प्रतिकिलो रु २४०, रुख टमाटर प्रतिकिलो रु १४० र राजा च्याउ प्रतिकिलो रु ३००, सिताके च्याउ प्रतिकिलो रु ८०० तोकेको छ 

४ बैंकको सेयर बिक्रीमा, मूल्य १०१ रुपैयाँदेखि १६५ रुपैयाँसम्म

काठमाडौं । विभिन्न ४ वटा बैंकको संस्थापक सेयर बिक्रीमा राखिएको छ । बैंकका संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर बिक्रीमा राखेका हुन् ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक समूहको ८ लाख ५० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १०१ रुपैयाँ तोकिएको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ९ गतेसम्म आवेदन दिनुपर्नेछ । खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम १ लाख २५ हजार कित्ता र अधिकतम सम्पूर्ण कित्ता सेयरका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ । यस्तै, कुमारी बैंकका विभिन्न संस्थापक सेयरधनीहरूले २ लाख १४ हजार १११ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको सेयरमा सर्वसाधारण लगानीकर्ताले समेत आवेदन दिन पाउने छन् । खरिद गर्न इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  यस्तै, सांग्रिला डेभलपमेन्ट बैंकका संस्थापक सेयरधनी शान्त राज बतासले आफ्नो नाममा रहेको १ लाख ४२ हजार ५१३ कित्ता सेयर बिक्रीमा राखेका छन् । बैंकको उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवश्यक कागज प्रमाणसहित बोलपत्र पेस गर्नुपर्नेछ ।  यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको संस्थापक समूहको ४० हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता १६५ रुपैयाँ तोकिएको छ । बैंकको सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले वैशाख ८ गतेसम्म आवेदन दिनुपर्नेछ ।   

व्यवस्थापकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद, सबै सेवा ठप्प

काठमाडौं । यही वैशाख ५ गते छोरीको विवाहको तयारी गर्दैछिन् ५५ वर्षीय मादिका लोनिया । तर उनको अनुहारमा खुसी छैन । श्री गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्थामा सङ्कलन गरेको ६ लाख रुपैयाँ समयमै फिर्ता हुने छाँटकाँट नहुँदा उनी पीडा र चिन्तामा छिन् ।  सहकारी संस्थाको कार्यालयमा ताला लागेको झन्डै एक महिना बढी पुग्न लाग्दा, साना व्यवसायी, किसान, वृद्धवृद्धाको घरायसी जीवनमा आर्थिक समस्या भएको छ ।  कसैको छोरीको विवाह खर्चको जोहो छैन, कसैको नियमित औषधि छाडिएको छ, त कसैको आपत्कालीन खर्च अन्योलमा परेको छ । सम्मरीमाई गाउँपालिका–६ का नन्दलाल चौहानको पनि यस्तै पीडा छ । छोरीको विवाह यही वैशाखमै जुरेको छ । तर सहकारीमा राखेको पैसा फिर्ता नपाउँदा उनी पनि असहाय बनेकी छिन् ।  उनले भनिन्, ‘आवश्यकताका लागि बचत गरेका थियौँ, तर आफ्नै पैसा निकाल्न सकिएको छैन ।’  सोही वडामा नन्दलाल चौहानका पिता बुद्धू चौहानले आफ्नो पेन्सनको ५० हजार रुपैयाँ पनि सोही सहकारीमा राखेका थिए । नातिनीको विवाह खर्चका लागि त्यो रकम निकाल्ने उनले योजना बनाएका थिए ।  उनले भने, ‘अब त्यो योजना पनि अधुरो रहने देखिन्छ ।’  छोटे लाल लोहार, असुरैनाका बासिन्दा, छोरीको विवाहका लागि आफन्त कहाँ सहयोग मागे । तर, अधिकांश आफन्तको जवाफ एउटै छ, ‘आफैंलाई अभाव छ, सहकारीमाथि विश्वास गरेर जम्मा गरेको पैसा नै यस्तो बेलामा फिर्ता नपाउँदा गहिरो चोट लागेको छ ।’ फलफूल व्यवसायी विनोद बर्माले छोरीको विवाहका लागि भन्दै एक वर्षदेखि दैनिक ५ सय रुपैयाँका दरले बचत गरेका थिए । अब विवाह नजिकिदै गर्दा उनले राखेको पैसा पनि अनिश्चित बनेको छ ।  यस्तै राजकुमार केवटले नियमित औषधि खरिद गर्न बचतमा भर पर्थे । तर अहिले १ लाख ५० हजार रुपैयाँ थुनिएको छ ।  उनले भने, ‘यसले सहकारीमा मात्र होइन, स्वास्थ्यमा पनि जोखिम निम्त्याएको छ ।’  यही २०८१ फागुन २६ गते उक्त सहकारी संस्थाका व्यवस्थापक र कार्यालय सहायकलाई सञ्चालक समितिले निलम्बन गरेपछि विवाद सुरु भयो । विवाद अदालतसम्म पुगेपछि उच्च अदालत तुलसीपुर बुटवल इजलासले कारण देखाऊ र निलम्बनको निर्णय यथास्थितिमा राख्न अल्पकालीन आदेश दिएको छ । परिणामस्वरुप, बचत फिर्ता पाउने, ऋण लिने र साँवाब्याज तिर्ने लगायत सबै सेवा ठप्प छन् । गौतम बुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था सञ्चालक समितिका अध्यक्ष दीपचन्द्र मुराउले भने, ‘मुद्दा अदालतमा विचाराधीन छ । जबसम्म अदालतको निर्णय हुँदैन, सेवाहरू पुनः सञ्चालन गर्न सकिने अवस्था छैन । सहकारीको सेवामा अवरोधले सयौं बचतकर्तालाई अप्ठ्यारोमा पारेको छ । यसले आर्थिक सङ्कटमात्र होइन, सामाजिक र मानसिक तनाव पनि बढाएको छ । सहकारी संस्थाको सेवा बन्द हुँदा गाउँको जनजीवन प्रभावित भएको छ । विवाह, उपचार र आपत्कालीन खर्चका लागि गरिएको बचत अहिले बन्द ढोकामै थुनिएको छ ।’  सम्मरीमाई-६ का वडाध्यक्ष तौलन केवटले सहकारीको सेवा प्रवाह पुनः सुरु भएन भने सहकारीप्रतिको जनविश्वास नै सधैंका लागि हराउन सक्ने बताए ।  बचतकर्ताको एउटै प्रश्न छ, ‘जब हामीले विश्वास गरेर बचत गरेका थियौँ, त्यसले आपतमा साथ नदिएपछि केही बाँकी रहँदैन । सहकारीको नियमन गर्ने निकाय, सम्बन्धित पालिका र अदालत समेतले अब गम्भीरता पूर्वक हस्तक्षेप नगर्ने हो भने केवल आर्थिक सङ्कटमात्र होइन, सामाजिक सङ्कटको भय पनि बढ्दै जान्छ ।’

आजदेखि ५ रुपैयाँ दरका नोट प्रचलनमा ल्याउँदै राष्ट्र बैंक, महाप्रसादको हस्ताक्षर

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ रुपैयाँ दरको नोट प्रचलनमा ल्याउने भएको छ । राष्ट्र बैंकले साविककै आकार तथा रङ्गमा ५ रुपैयाँ दरको नोट वैशाख २ गतेदेखि प्रचलनमा ल्याउने भएको हो । राष्ट्र बैंकका अनुसार नम्बर न४५ ०००००१ देखि भ१८ ९९९९९९ सम्म, “नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५ रुपैयाँ पाँच तुरुन्त पाइने छ’’ भन्ने प्रतिजामूलक वाक्यांश सहितका नोट प्रचलनमा ल्याउने भएको हो ।  नोटको अग्रभागको बायाँतर्फ सगरमाथा र दायाँतर्फ लालीगुराँसको पानी छाप, गभर्नरको दस्तखत रहने स्थानमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको, तल्लो भागको बोर्डरमा नोटको सिरिज नम्बर नेपालीमा “बि.सं. २०८१“ लेखिएको रहेको छ ।  यस्तै, नोटको पृष्ठ भागमा मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा “नेपाल राष्ट्र बैंक’’ लेखिएको, मध्य भागमा वन्य याक तथा हुम्ला जिल्लाको लिमी क्षेत्रको हिमालको चित्र रहेको, नोटको तल्लो भागको बोर्डरमा अंग्रेजीमा रूपीज फाइभ लेखिएको र बोर्डरमा नोटको सेरिज नम्बर अंग्रेजीमा “२०२४एडी’’ लेखिएको रहेको राष्ट्र बैंकले जनाएको छ । यस अघि मिति २०७७ मंसिर १० गतेदेखि रुपैयाँ ५ दर (सेरिज२०२०) को बैंक नोट सङ्केत नं. ०००००१ देखि ९९९९९९ सम्म चलनचल्तीमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा सङ्केत नं. ०००००१ देखि ५६०००० सम्म मात्र चलनचल्तीमा ल्याइएको थियो ।   

चैतसम्म विकास खर्च २९ प्रतिशतमा खुम्चियो, १४.२६ अर्ब मात्रै वैदेशिक अनुदान उठ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक अवधिसम्ममा विकास खर्च २९ प्रतिशतमा खुम्चिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चैत ३० गतेसम्मको सरकारको पुँजीगत खर्च १ खर्ब २ अर्ब ९० करोड रुपैयाँ बराबर मात्रै छ । पुँजीगत शीर्षकमा चालु आर्थिक वर्षका लागि सरकारले ३ खर्ब ५२ अर्ब ३५ करोड ४० लाख रुपैयाँ बराबर विनियोजन गरेको थियो । वार्षिक विनियोजनको तुलनामा हालसम्मको पुँजीगत खर्च २९.२ प्रतिशत हो । विकास खर्च मात्र नभई यो अवधिको समग्र बजेट खर्च कमजोर देखिएको छ ।  वार्षिक विनियोजनको तुलनामा चैत मसान्तसम्ममा ५३.६७ प्रतिशत बराबर बजेट खर्च भएको हो । चालु आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड ३० लाख रुपैयाँ बराबरको बजेट ल्याएको थियो । चैत मसान्तसम्ममा ९ खर्ब ९८ अर्ब ५० करोड रुपैयाँ बराबर खर्च भएको छ । त्यस्तै, चालु शीर्षकमा ११ खर्ब ४० अर्ब ६६ करोड रुपैयाँ विनियोजन भएकामा ५९.४५ प्रतिशत अर्थात् ६ खर्ब ७८ अर्ब छ करोड रुपैयाँ बराबर खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । वित्तीय व्यवस्था शीर्षकमा चैत मसान्तसम्मको खर्च ५९.२३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि यो शीर्षकमा सरकारले ३ खर्ब ६७ अर्ब २८ करोड ४५ रुपैयाँ बराबर विनियोजन गरेकोमा वार्षिक विनियोजनको ५९.२३ प्रतिशत खर्च भएको हो । यो अवधिको राजस्व सङ्कलन पनि कमजोर छ । कुल १४ खर्ब १९ अर्ब ३० करोड रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखिएकोमा चैत २९ गतेसम्म ८ खर्ब २१ अर्ब ६७ करोड रुपैयाँ बराबर मात्रै राजस्व उठेको छ । यो वार्षिक लक्ष्यको ५७.८९ प्रतिशत बराबर हो । त्यस्तै, यस वर्ष ५२ अर्ब ३२ करोड ६५ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको २७.२७ प्रतिशत अर्थात् १४ अर्ब २६ करोड ८८ लाख रुपैयाँ बराबर मात्रै अनुदान उठेको छ ।

बेमौसमी वर्षाले एक करोडभन्दा बढीको इँट्टा नष्ट

काठमाडौं । पश्चिम नवलपरासीमा बेमौसमी वर्षाले काँचो इँट्टा नष्ट भएको छ । शुक्रबारदेखिको वर्षाले इँटाभट्टामा पोल्नका लागि तयार पारिएको काँचो इँट्टा गलेर १ करोड रुपैयाँभन्दा बढीको क्षति भएको इँट्टा उत्पादक सङ्घका केन्द्रीय सदस्य कृष्णनारायण श्रेष्ठले जानकारी दिए । क्षतिको एकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।  श्रेष्ठका अनुसार जिल्लामा १२ वटा इँट्टा उद्योग सञ्चालनमा छन् । केही वर्षअघिसम्म १८ वटा उद्योग रहेकामा यस वर्ष छवटा बन्द भएका छन् । बेमौसमी वर्षाले तरकारी, मकै, उँखु, आँप, लिच्ची जस्ता फललाई भने फाइदा गरेको छ ।

बैंकहरुले ब्याज घटाउन थालिसके, ठूला परियोजना सञ्चालनको तयारीमा छौं : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले ७७ वटै जिल्लाका व्यवसायी मिलेर सुरु गरेको ठूला परियोजना सञ्चालनको तयारीमा रहेको बताएका छन् ।  गत वर्ष ढोरपाटन उपत्यकामा भएको महासङ्घको तेस्रो कार्यकारिणी बैठकले स्थापना गरेको उक्त परियोजनाले जलविद्युत र पर्यटनमा लगानी गर्ने र समस्यामा रहेका परियोजनालाई सहयोग गर्ने उनले जानकारी दिए ।  मुलुकलाई आर्थिक रुपमा सुदृढ आत्मनिर्भर गराउन सञ्चार क्षेत्रको भूमिका महत्त्वपूर्ण हुने बताउँदै अध्यक्ष ढकालले लगानीमैत्री वातावरण निर्माण गर्न सकारात्मक सन्देश दिने सञ्चार सामाग्री प्रकाशन गनु पर्ने धारणा राखे । युवा रोजगारी बढाउन पर्यटन र जलविद्युतमा लगानी आवश्यक भएको उनको भनाइ छ ।  त्यसैका लागि महासङ्घको अगुवाइमा गत वर्ष १० अर्बको ठूला परियोजना स्थापना गरिएको उनले बताए ।  अध्यक्ष ढकालले पछिल्लो समय सरकारले लगानीमैत्री वातावरणको सुरुवात गरेको बताए । नेपालमा लगानी गर्न विदेशी लगानीकर्ता आउन खोजी रहेकाले सरकारले वातावरण बनाउनुपर्ने उनको धारणा छ । ढकालले विदेशीले नेपालमा लगानी बढाएमा रोजगारी बढ्ने मात्र नभइ संसारभर सकारात्मक सन्देश जाने बताए ।  बैंकहरुले ब्याज घटाउने, कालोबजारी ऐन खारेजीसहितका एजेन्डा पूरा गर्न सरकारले थालिसकेको उनको भनाइ छ । जसका कारण विश्वव्यापी आर्थिक सङ्कटको असर नपरोस् भन्ने चाहेको महासङ्घका अध्यक्ष ढकालले बताए । ढकालले नयाँ सोच र परियोजना बनाएर बसेका उद्यमीलाई पुँजी अभाव भएमा ठूला परियोजनामार्फत साथ दिने उल्लेख गरे । 

जाजरकोटमा विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर लगातार भूकम्प

काठमाडौं । पछिल्ला दिनमा जाजरकोट जिल्लाका विभिन्न स्थानलाई केन्द्रविन्दु बनाएर लगातार भूकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, सोमबार राति ९ बजेर ३१ मिनेट जाँदा जाजरकोटको पैङ्क भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । कुशे गाउँपालिकाको पैङ्कलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण कुनै क्षति भए/नभएकोबारे कुनै विवरण भने प्राप्त भएको छैन । केन्द्रका अनुसार गत चैत २१ गते साँझ (८.०७) र (८.१०) सोही स्थानलाई केन्द्रविन्दु बनाएर दुई पटक भूकम्प गएको थियो । पहिलो भूकम्प ५.२ र दोस्रो भूकम्प ५.५ म्याग्निच्युडका थिए । सो भूकम्पका कारण केही घरमा सामान्य क्षति पुगेको थियो । यस्तै, गत चैत २० गते दार्चुलामा चार म्याग्निच्युडको भूकम्प गएको थियो । गत चैत १२ गते हुम्लालाई केन्द्रविन्दु बनाएर ४.५ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।