४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने निर्णय तत्काल लागू गर्नुपर्ने
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १६औँ बैठकले आवासीय चिकित्सकलाई सङ्घीय सरकारको आठौँ तह सरहको ४८ हजार ७३७ रुपैयाँ निर्वाह भत्ता दिने भनी गरेको निर्णय तत्काल लागू गर्नुपर्ने नेपाल चिकित्सक सङ्घले माग गरेको छ । चिकित्सा शिक्षा आयोगको वैशाख ३ गतेको बैठकले सिट पुनरावलोकनका साथै शुल्क समायोजनसम्बन्धी कार्यदल गठन गरेको थियो । उक्त विषयमा सङ्घको आज बसेको केन्द्रीय कार्यकारिणीको नियमित बैठकले गरेको निर्णय अनुसार प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग गरेको हो । बैठकपछि सङ्घका महासचिव डा सञ्जीव तिवारीद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनरत आवासीय चिकित्सकलाई निःशर्त र सुरक्षित रूपमा काममा फर्कने वातावरणको सुनिश्चितता गर्नुपर्ने माग पूरा नभएसम्म यो कार्यदलको काम कारबाहीमा सहभागी नहुने भनी गरिएको निर्णय संयोजकलाई जानकारी गराउन चाहन्छु ।
संविधान र गणतन्त्र रक्षाका लागि ओली, देउवा र प्रचण्ड एकै ठाउँमा उभिने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूबीच विद्यमान राजनीतिक व्यवस्था र सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान रक्षाका लागि उपयुक्त वातावरण बनाउँदै अघि बढ्ने विषयमा आज छलफल भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको छलफलमा उनीहरूबीच संविधानको उल्लङ्घन गर्ने र सामाजिक अराजकता सृजना गरी मुलुकको शान्ति र अमन चयनमा खलल पुर्याउने प्रति सचेत हुँदै अघि बढ्न प्रमुख राजनीतिक दलसहित गणतन्त्र पक्षधर शक्ति एक ठाउँमा उभिनु पर्नेमा समान मत देखिएको छ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा सङ्क्रमणकालीन न्याय सम्बन्धी सल्लाहकार अग्नि खरेल सहभागी थिए । छलफलमा सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित दुई आयोगमा पदाधिकारी चयनका लागि गठित सिफारिस समितिले गरिरहेका कामबारे सामान्य जानकारी गराउने काम पनि भएको सल्लाहकार खरेलले जानकारी दिए ।
राप्रपाले निषेधित क्षेत्र तोडे कारबाही गर्ने गृहमन्त्रालयको चेतावनी
काठमाडौं । गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ । मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रवक्ता रामचन्द्र तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘संविधान र कानुनको ठाडो उल्लङ्घन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने र यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई पनि कानूनबमोजिम कारबाही हुने व्यहोरा सूचित गरिन्छ ।
धमिलो पानीमा माछा मार्ने दुस्साहस सफल हुन दिइँदैन: अध्यक्ष दाहाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा धमिलो पानीमा माछा मार्ने दुष्प्रयास भइरहेको र त्यो सफल हुन नदिइने बताएका छन् । नेवाः राष्ट्रिय मुक्ति मोर्चाद्वारा आज काठमाडौंको वसन्तपुरमा आयोजित खबरदारी सभामा उनले प्रतिगामी षड्यन्त्र र दुस्साहसलाई परास्त गरिने बताए । नेपालको लोकतान्त्रिक आन्दोलनलगायत परिवर्तनमा नेवार समुदायले खेलेको भूमिकाको प्रशंसा गर्दै अध्यक्ष दाहालले विभिन्न कारणले संविधान जारी हुने बेला केही मुद्दा छाडे पनि माओवादी आफ्ना मुद्दाबाट पछि नहटेको धारणा राखे । पूर्वप्रधानमन्त्री दाहालले समाजवादको भ्रूण नेवार समुदायको इतिहास, भाषा, संस्कृतिमा र उत्पादनमा समेत रहेका बताए । नेवार समुदायका संरचनामा नै नेपाली विशेषताको समाजवाद रहेको उनको धारणा छ । ‘नेवार समुदायको इतिहासको अध्ययनबाट मात्रै नेपाली विशेषताको समाजवादको यात्रा आरम्भ गर्न सकिन्छ । नेवार समुदायका कतिपय माग सम्बोधन गर्न आफ्नो सरकारको पालामा ठूलै सङ्घर्ष गर्नुपरेको थियो,’ पूर्वप्रधानमन्त्री दाहालले भने, ‘नेपाल संवतलाईराष्ट्रिय संवत् मेरै नेतृत्वमा घोषणा भयो । नेपाल भाषालाई सरकारी दस्तावेजको भाषाका रूपमा प्रयोग गर्ने निर्णय भयो । हाम्रै सल्लाहमा प्रदेश सरकारले नेवारी र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरेको हो ।’ उनले नेवार समुदायको चाहना, संस्कृति, भाषा, इतिहास, आत्म निर्णयको अधिकार र इतिहास हराउन नदिन माओवादी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे ।
कालीकोटमा नेपाली हाते कागज उत्पादन
काठमाडौं । कालिकोटको पचाल झरना गाउँपालिकामा नेपाली हाते कागज उद्योग सञ्चालनमा आएको छ । गाउँपालिकाको उद्योग विकास शाखाको आर्थिक सहयोगमा पचाल भरना गाउँपालिका-७ को समन्वय तथा पोखरा भ्याली टेक्निकल टेनिङ इन्स्टिच्युट पोखराको प्राविधिक सहयोगमा नेपाली हाते कागजको उद्योग सञ्चालन गरिएको हो । उद्योग सञ्चालनपछि स्थानीय समुदायलाई कागज उत्पादनमा दक्षता प्राप्त गर्न मद्दत पुर्याउने गाउँपालिकाको लक्ष्य रहेको छ । नेपाली हाते कागजको उत्पादनले वातावरणीय दृष्टिले पनि योगदान पु¥याउने भएकाले यसले समुदाय स्तरमा दिगो विकासमा मद्दत पुर्याउने विश्वास लिएको गाउँपालिका उद्योग विकास शाखा प्रमुख नेत्र राज शाहीले बताए । ‘स्थानीयलाई हाते कागज उत्पादन गरेर रोजगार मूलक काममा लगाउने लक्ष्य राखिएको छ । यहाँ उत्पादन भएको कागजलाई यहीको सरकारी कार्यालयमा खपत तथा बिक्री गर्ने उद्देश्य छ,’ उनले भने । कागजको उत्पादन प्रक्रिया सुरु भएपछि स्थानीय व्यावसायिक गतिविधिमा वृद्धि र युवालाई स्वरोजगारको अवसर उपलब्ध गराउने प्रशिक्षक रज बहादुर शाहीले बताए ।
कांग्रेसका नेताहरूले भने- गणतन्त्रवादी शक्ति एक हुनुपर्छ, पूर्वराजाको सुविधा कटौती र सम्पत्तिको छानबिन गर्नुपर्छ
काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति गणतन्त्र वादी शक्तिहरू एकजुट हुनुपर्ने आवश्यकता औंल्याएका छन् । नेपाली कांग्रेस, अर्घाखाँची-काठमाडौं सम्पर्क समितिले आज आयोजना गरेको ‘नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान तथा क्यालेन्डर लोकार्पण’ कार्यक्रममा नेताहरूले संविधानको रक्षासँगै कार्यान्वयनको निम्ति परिवर्तनकारी शक्तिहरू एकीकृत हुँदै अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले लामो सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षाको निम्ति राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा जोड दिए । ‘अहिले गाउँ रित्तो भएको छ, युवाहरू विदेश पलायन भएका छन्, नेपालमा पनि धेरै सम्भावना छ, ऊर्जा, पर्यटन र कृषिमा पर्याप्त सम्भावना छ, त्यो सम्भावनालाई रोजगारीमा परिवर्तन गर्न सबै लाग्नुपर्छ,’ उनले भने । कांग्रेस केन्द्रीय सदस्य पुष्पा भुसाल गौतमले अरु शक्तिसँग भिड्नेका लागि सबैभन्दा कांग्रेस पार्टी आफैँ साङ्गठानिक रुपमा बलियो हुनुपर्नेमा जोड दिइन् । ‘कांग्रेसले आफूलाई कमजोर बनाउन हुँदैन, वादविवाद गरेर होइन, एकीकृत हुँदै पार्टी सङ्गठनलाई बलियो बनाउनुपर्ने बेला आएको छ, कांग्रेसभित्रको एकता बलियो भएको खण्डमा मात्रै अरुसँग भिड्न सकिन्छ,’ महिला विभाग प्रमुख भुसालले भनिन् । कांग्रेस केन्द्रीय सदस्य मानबहादुर विश्वकर्माले पछिल्लो समयमा दलहरूप्रति आमजनताको निराशा बढ्दै गएको उल्लेख गर्दै दलहरू सच्चिने बेला आएको बताए । ‘चैत १५ गते राजा वादी भन्नेहरूले तीनकुनेमा अशान्ति मच्चाए, गणतन्त्रलाई संस्थागत गर्नका लागि पूर्व राजाको सुविधा कटौती गर्दै लैजानुपर्छ, उहाँको सम्पत्तिको छानबिन गर्नुपर्छ,’ उनले भने ।
भृकुटीमण्डपमा रैथाने खाना प्रवर्द्धनका लागि खाना महोत्सव (फोटो फिचर)
काठमाडौं । भृकुटीमण्डपको उद्यानमा भइरहेको ‘खाना महोत्सवमा इङ्वा सुब्बा कागुनो, याङ्बेन र मकैको खीर पकाउनमा व्यस्त छिन् । छेवैमा पाक्दैछ तात्तातो सेल अनि लहरै राखिएका छन् थप परिकार । सिस्नुको सुप र च्याउ साँधेको परिकारले खानाका पारखीहरुको ध्यान गइरहेको देखिन्छ । खाना पारखीहरू स्वाद मानी मानी खाइरहेको देखिन्छन् । नेपालको पहिलो फुड रियालिटी शो ‘सेफ नेपाल’ बाट चिनिएकी सुब्बाले आफूले शोमा बनाएको खीर सबैले रुचाएकोले महोत्सवमा यसको स्वाद चखाउन आएको बताउँछिन् । रियालिटी शोमा आफ्नो समुदायको खानालाई पस्केर सबैको मन जितेकी उनले नेपाल रैथाने परिकारको धनी भएकाले यसलाई प्रवर्द्धन र संरक्षण गर्न सबैले लाग्नुपर्ने बताउँछिन् । सुब्बा भन्छिन्, ‘हिमाल, पहाड र तराई सबै ठाउँको आआफ्नो खानाको विशेषता छ । हामीले सबै परिकारलाई थोरै मात्र परिष्कृत गरेर पस्किन सक्यौँ भने यसले अन्तर्राष्ट्रिय बजारमा फैलिने मौका पाउन सक्छ ।’ उनको छेवैको स्टलमा नेवारी परिकारहरू बारा, यमरी, छोयला राखिएका छन् । खोकनाको तोरीको तेल, बेसार आदि पनि स्टलमा बेच्न राखिएको छ । भिलेज क्याफेकी पुनमाया डङ्गोलले नेवारी परिकारहरुलाई प्रवर्द्धन र यसको स्वाद सबैमाझ पु¥याउन महोत्सवमा सहभागी भएको बताउँछिन् । उनी भन्छिन्, ‘क्याफेमा त थुप्रै परिकारहरु पाइन्छन् । आज भने हामीले यति मात्र ल्याएका छौँ । नेवारी परिकारहरु धेरैको जिब्रोमा झुण्डिएको छ । धेरैले रुचाइ दिनुभएको छ ।’ विगत डेढ वर्षदेखि टोखामा ‘आरोग्य कर्णाली अर्गानिक प्रालि’ सञ्चालन गर्दे आएकी सीता आचार्य मौरी संरक्षणकर्मी हुन् । उनीसँग १५० वटा मौरीका घार छन् । उनले मौरीपालनका साथै कर्णालीमा पाइने विभिन्न रैथाने अन्नबालीहरुको ब्रान्डिङ गरेर बेच्दै आएकी छिन् । उनको स्टलमा मह, कागुनो, चिनो, मार्सी, फापरको पिठो, कोदो, मकैको च्याख्ला, सातु, गुन्दु्रकलगायत २० प्रकारका सामग्रीहरु छन् । आचार्यका अनुसार चिनो, कागुनो, कोदो र फापरको माग बढी रहेको छ । ‘यी अन्नहरु मधेमेह, उच्च रक्तचापका बिरामीलाई खान मिल्छ । कतिलाई थाहा छैन । थाहा हुनेले खोजेर खानुहन्छ,’ उनले भनिन् । परम्परागत र मौलिक खानाको सङ्गम रहेको खाना महोत्सवमा मोही पनि बिक्रीका लागि राखिएको छ । ओखलढुंगे डेरी एण्ड एग्रीफुड प्रालिले दुग्धजन्य पदार्थहरुलगायत मिठाइ, आइसक्रिम, भुजिया, निम्किी, पनिर तथा चिज मःम बेच्दै आएको छ । डेरीका सञ्चालक गोपाल तिमिल्सनाले बजारमा पाइने विभिन्न पेयपदार्थभन्दा कैयौँ गुणा मोही स्वस्थ्यकर भएकाले यसको ब्राण्डिङमा लागेको सुनाए । उनले भने, ‘स्थानीय उत्पादन मोहीलाई प्रवद्र्धन गर्ने उद्धेश्यले प्याकिङ गरेर बेच्दा स्वास्थ्यलाई राम्रो हुने र आफ्नो स्थानीय उत्पादनको खपत हुने उद्देश्यले हामीले सुरु गरेका हौँ । गुलियो चिसो पेयपदार्थभन्दा गर्मीमा मोहीले शितल गराउँछ ।’ अन्तरराष्ट्रिय नेपाली सेफ सोसाइटी नेपालका महासचिव गिरीराज भट्टले यो महोत्सव परिकारहरुको प्रदर्शनी मात्र नभइ नेपाली सेफहरुको पहिचान, प्रतिभा, मिहिनेत र सिर्जनशीलताको सजिव दस्तावेज रहेको बताउँछन् । भट्टले नेपाली पाककलामा स्वाद, विविधता, मौलिकता अद्वितीय भए पनि अन्तरराष्ट्रियस्तरमा स्थापित गर्नु चुनौतीपूर्ण भएको बताउँछन् । उनी भन्छन्, ‘विश्वसामू चिनाउने हाम्रो सपना हो । यसका लागि सबैको समर्पण र सहकार्य आवश्यकता छ ।’ खाना महोत्सवले परम्परागत, रैथाने स्वादसँग आधुनिक परिकारको प्रर्दशनी र नेपालभित्रको पाककलाको सम्भावनाको उज्यालो चित्र प्रस्तुत गर्ने प्रयास गरेको छ । महोत्सवमा ५० वटा स्टल, (४० वटा खानाका ५ वटा रैथाने बाली नालीको प्रदर्शन, पाँच वटा पर्यटन जानकारी) रहेको छ । खानाका स्टलमा विभिन्न जात जातिको खाना (नेवारी, थारु, राई लिम्बु, थकाली, आदि)को परिकारहरु राखिएको छ ।
नदी सफा गर्न ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्छ: उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारले काठमाडौंका नदी सफा गर्न ठोस कार्यक्रम ल्याउने बताएका छन् । काठमाडौंको वडा नं १० बुद्ध नगरवासीद्वारा सञ्चालन गरिएको ‘सके सफा गरौँ नसके फोहर त नगरौँ’ भन्ने नारासहितको बुद्धनगर सरसफाइ अभियानको १० वर्ष पूरा भएको उपलक्ष्यमा आज आयोजित कार्यक्रममा उनले नदी सफा गर्नका लागि नदीमा ढल मिसाउने अवस्थाको अन्त्य गर्नुपर्ने बताए । उपप्रधानमन्त्री सिंहले नदी सफा गर्नका लागि काठमाडौं उपत्यका विकास प्राधिकरण, बागमती सभ्यता एकीकृत विकास समिति लगायतसँग छलफल गर्ने र लगानीको लक्ष्य र उद्देश्यअनुरूप प्रतिफल प्राप्त नभएको पक्षलाई विश्लेषण गर्न जरुरी रहेकामा जोड दिए । उपप्रधानमन्त्री सिंहले बुद्ध नगरवासीले सानो भए पनि सकारात्मक कामलाई निरन्तरता दिएर रचनात्मक कामलाई जारी राखेको भनी अभियन्ता र सहभागीप्रति आभार प्रकट गर्दै बधाई दिए । उनले उक्त अभियानमा आबद्ध हुन सबैलाई आह्वान समेत गरे । उक्त अभियानबाट टोलवासीको मनमा सकारात्मक दियो बाल्ने प्रयास गरिएको र त्यो सफल भएको उल्लेख गर्दै मन्त्री सिंहले सरसफाइ अभियान २०७२ को भूकम्प अगाडि नै सुरु भई ५२२ हप्ता पूरा गरेको जानकारी दिए । कार्यक्रमका अभियन्ता संविधानसभाका पूर्वसदस्य मोहनकुमार राईले सार्थक परिवर्तनका लागि सानै काम गरौँ भन्ने भावनाले प्रेरित भई बुद्धनगर सफाइ अभियान सञ्चालन गरेको र यसलाई १० वर्षसम्म निरन्तरता दिन सकिएको उनले बताए । थर्ड आई युथ क्लबका सुवास राईको समाजमा केही गरौँ भन्ने भावनाबाट यो अभियान सुरु गरी यसलाई हालसम्म निरन्तरता दिइएकाले दुनियाँले के भन्छ भन्ने कुरामा नलागी आत्मसन्तुष्टिका लागि काम गरिएको बताए । यसअघि बुद्धनगरस्थित सेतो गणेश स्थानबाट सुरु भएको सरसफाइ कार्यक्रमका सभापति समाजसेवी सप्तराज बज्राचार्यले सहभागी सबैलाई सरसफाइलाई निरन्तरता दिइ १० वर्ष पूरा गरेकोमा धन्यवाद दिए । कार्यक्रममा बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरज चन्द्र लामिछाने, कांग्रेस नेतृ सृजना सिंह र नेपाली कांग्रेस क्षेत्र नं १ का सभापति रविन्द्र विक्रम राणालगायत सहभागी थिए ।