३७.१२ प्रतिशत बढ्यो ग्लोबल आइएमई बैंकको नाफा, वितरणयोग्य साढे ३ अर्ब रुपैयाँ
काठमाडौं । ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ३७.१२ प्रतिशत बढाउँदै ४ अर्ब ५३ करोड ४० लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको थियो । चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ५.४६ प्रतिशत घटेर १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्ष ९ महिनामा बैंकले १३ अर्ब २ करोड ९० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चैत मसान्तसम्ममा बैंकको खुद फि तथा कमिशन आम्दानी १७.३० प्रतिशत बढेर २ अर्ब ३१ करोड १८ लाख रुपैयाँ, सञ्चालन नाफा ३४.४१ प्रतिशत बढेर ६ अर्ब ३३ करोड ६६ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ०.६१ प्रतिशत घटेर १५ अर्ब ५३ करोड ९८ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ रहेको छ । फागुनसम्म बैंकको चुक्ता पुँजी ५.५० प्रतिशत बढेर ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ, जगेडा कोष १०.७७ प्रतिशत बढेर २८ अर्ब २० लाख रुपैयाँ रहेको छ । चालु आवको ९ महिना सम्ममा बैंकको निक्षेप संकलन ६.२० प्रतिशत बढेर ५ खर्ब १७ अर्ब ६६ करोड ८८ लाख रुपैयाँ र कर्जा लगानी ११.८७ प्रतिशत बढेर ४ खर्ब १३ अर्ब २८ करोड ६४ लाख रुपैयाँ पुगेको छ । बैंकको नाफासँगै बैंकको प्रतिसेयर आम्दानी ३.६६ रुपैयाँ बढेर १५.८६ रुपैयाँ पुगेको छ । मूल्य आम्दानी अनुपात १३.७९ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ रहेको छ । यसअवधिमा बैंकको खराब कर्जा ४.९८ प्रतिशत पुगेको छ । गत वर्षको फागुनमा बैंकको खराब कर्जा ४.७४ प्रतिशत थियो ।
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र बिक्री खुला, ७ प्रतिशत ब्याजदर
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले आज वैशाख ७ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले ७ वर्ष अवधि रहेको वार्षिक ७ प्रतिशत ब्याजदरमा ‘७ प्रतिशत आरबीबी डिबेञ्चर २०८८’ बिक्री खुला गरेको हो । बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् १० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकका ऋणपत्रमा बैशाख १० गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय वैशाख २१ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग्स नेपालले बैंकलाई केयर एनपी ए प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमता तुलनात्मक रुपमा पर्याप्त तथा न्यूनतम् कर्जा जोखिम भएको संस्था रहेको संकेत गर्दछ ।
राष्ट्रिय मूर्ति कला सम्मेलनः मूर्ति कारको आत्मसम्मानको कदरसहित १५ बुँदे घोषणापत्र जारी
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा शुक्रबारदेखि सुरु भएको ‘राष्ट्रिय मूर्ति कला सम्मेलन’ १५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भएको छ । सम्मेलनले मूर्ति सिर्जना गर्दा चाहिने आवश्यक कच्चा पदार्थको उपलब्धतालाई सहजीकरण गर्न कच्चा पदार्थको आयातमा भन्सार र अन्य कर छुट हुने कानुनी व्यवस्थासहित १५ बुँदे घोषणापत्र जारी गरेको हो । सरकारी निकायबाट सिर्जना गरिने मूर्तिकलाको सम्बन्धमा विद्यमान सार्वजनिक खरिदसम्बन्धी कानुनबमोजिम बोलपत्र आह्वान गर्दा मूर्ति कारले भन्दा निर्माण व्यवसायीले काम पाउने अवस्था हुने र निर्माण व्यवसायीले निर्माण गरेका मूर्ति सिर्जनाका दृष्टिले गुणस्तरीय र कलाको मर्मअनुरूप नहुने हुँदा सार्वजनिक खरिदसम्बन्धी विद्यमान कानुनमा सुधार गरी त्यस्ता मूर्ति वा कला सिर्जना गर्न बोलपत्र आव्हानसम्बन्धी छुट्टै कानुनी प्रावधानको व्यवस्था गर्नुपर्ने माग गरिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले जानकारी दिए । उनका अनुसार स्थानीय कच्चा पदार्थको सहज उपलब्धता र स्थानीय कच्चा पदार्थ सङ्कलन र ढुवानीमा कुनै कर दस्तुर नलाग्ने कानुनी व्यवस्था हुनुपर्ने माग पनि गरिएको छ । सम्मेलनपछि आज जारी गरिएको घोषणापत्रमा मूर्ति कला सिर्जना गर्दा आधुनिक प्रविधि मैत्री तथा वातावरणमैत्री बनाउन आवश्यक सामग्री आयात गरी व्यवस्थापन गर्न र मूर्तिकलाको सिर्जना गर्न समेत सरकारी स्तरबाट उपयुक्त स्थान उपलब्ध गराउने व्यवस्थाका लागि पहल गर्ने तथा व्यापारी प्रयोजनका लागि शास्त्रीय विधान र कलाको सृजनशीलता, मर्म मर्ने गरी जथाभावी रूपमा मूर्ति सिर्जना गर्ने कार्य भइरहेकाले शास्त्रीय विधान र कलाको मर्म विपरीत नहुने गरी सिर्जना गर्न आवश्यक पहल गर्ने उल्लेख छ । मूर्ति कला निर्माण, प्रदर्शनी र त्यसको प्रवर्द्धन गर्न मूर्ति कला ग्राम यथा शीघ्र बनाउन पहल गर्ने, देशका लागि विदेशी मुद्रा भित्र्याउने स्रोतमध्ये महत्वपूर्ण मानिएको नेपाली ललितकला निर्यात गर्दा लाग्ने भन्सार र कर छुट हुने व्यवस्थाका साथै निर्यात गर्दा हुने प्रशासनिक झन्झट निराकरण गरी सहज व्यवस्थाका लागि आवश्यक पहल गर्ने निर्णय पनि गरिएको हार्तम्छालीले जानकारी दिए । सरकारी स्तरबाट मूर्तिकलाको मूल्याङ्कन गर्दा भौतिक साधनको मात्र मूल्याङ्कन नगरी कला सिर्जनाको मूल्यका आधारमा गर्नुपर्ने, मूर्ति कारको स्वास्थ्य बिमा र मूर्ति कार स्वास्थ्य कोष स्थापनाका लागि आवश्यक पहल गर्ने, मूर्तिकलाको प्रतिलिपि अधिकारको सुनिश्चितता गर्न पहल गर्ने निर्णय भएको प्रतिष्ठानका उपकुलपति लाल काजी लामाले बताए । उनका अनुसार विद्यालय स्तरको पाठ्यक्रममा मूर्ति कला समावेश गर्न, मूर्ति कला विषयलाई विभिन्न विश्वविद्यालयका पाठ्यक्रममा समावेश गर्न, सबै विश्वविद्यालयमा मूर्ति कला विषयसहितको ललितकला विभाग खोल्न, मूर्ति कला विषय अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गर्न आवश्यक पहल गर्ने, समूह गत रुपमा मूर्ति बनाउँदा कार्य विभाजनका आधारमा पहिचान उल्लेख गरी मूर्ति कारको आत्मसम्मानको कदर गर्ने लगायत निर्णय सम्मेलनले गरेको छ । मूर्तिकलाको अध्ययन, अनुसन्धान, मूर्ति कला र कलाकारको अभिलेखीकरणका साथै प्रदर्शनी, कार्यशाला, तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा कला र कलाकारको पहुँच अभिवृद्धि गर्न पहल गर्ने, हाल बनेका सरकारी भवनमा नेपाली कलाकृति/मूर्ति कला राख्ने व्यवस्थाका लागि सरकारले बजेटको व्यवस्था गर्नुपर्ने, अब बन्ने सरकारी भवनसम्बन्धी बजेट लागत अनुमान गर्दा सोको निश्चित प्रतिशत रकम ललितकलाबाट सजावट गर्नका लागि तोक्ने नीतिगत व्यवस्था गर्नुपर्ने र आगामी दिनमा सर्वसाधरणले बनाउने घरको नक्सा स्वीकृत गर्दा भवनको निश्चित स्थानमा ललितकलाले सजावट गर्नुपर्ने प्रावधान राखी नक्सा पास गर्नुपर्ने कानुनी व्यवस्थाका लागि पहल गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव देवेन्द्रकुमार काफ्लेले जानकारी दिए । सम्मेलनले ललितकलाका विभिन्न विधामध्ये मूर्ति कला विधा अध्ययन गर्न खर्चिलो हुनुका साथै शारीरिक परिश्रम पनि बढी पर्ने, विविध कारणले कम विद्यार्थीले मात्र अध्ययन गर्ने भएकाले यस विधाको अध्ययनका लागि प्रोत्साहन गर्न छात्रवृत्तिसहित अन्य सुविधाको व्यवस्था गर्न आवश्यक पहल गर्ने तथा नेपाली कलाकृति खरिदमा प्राथमिकता दिन पहल गर्ने सम्मेलनले निष्कर्ष निकालेको छ । उक्त सम्मेलनको प्रतिष्ठानका कुलपति हार्तम्छाली र प्रतिष्ठानका पूर्व उपकुलपति ठाकुर प्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । कुलपति हार्तम्छालीले सम्मेलनका निष्कर्षले अगामी बाटो तय गर्ने र कलाकारका भावनालाई समेटेर आगामी रणनीति तय गरिने बताए । प्रतिष्ठानका पूर्व उपकुलपति एवं अग्रज मूर्तिकार मैनालीले प्रतिष्ठानले अन्तर्राष्ट्रिय क्षेत्ररसंस्थासँग समन्वय गरी विभिन्न अन्तर्राष्ट्रिय कार्यशाला तथा कार्यक्रम गरी कला र कलाकारलाई प्रवर्द्धन गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे । सम्मेलनमा ८० भन्दा बढी कलाकारहरूको उपस्थिति थियो ।
केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जनताका आकाङ्क्षा पूरा गर्नेतर्फ वर्तमान सरकार केन्द्रित रहेको बताएका छन् । विश्वमा दुर्लभ मानिएको रेडपाण्डा (रातो हाब्रे) संरक्षणमा चेतना अभिवृद्धि गर्ने उद्देश्यले गोसाइँकुण्ड गाउँपालिका, लाङटाङ राष्ट्रिय निकुञ्ज र लाङटाङ क्षेत्र संरक्षण सरोकार समाज (लाकोस) द्वारा आयोजित ३०औँ वन्यजन्तु सप्ताह, १३औँ रेडपाण्डा ट्रफी तथा चौथो ग्रामीण चलचित्र महोत्सव समापन कार्यक्रममा उनले जनताका आकाङ्क्षा अनुरूप पूर्वाधार निर्माणमा वर्तमान सरकार केन्द्रित रहेको बताए । मन्त्री गुरुङले विगतमा अधुरा रहेका आयोजनालाई वर्तमान सरकारले पूर्णता दिनेगरी अघि बढिरहेको उल्लेख गरे । वर्तमान सरकार जनता केन्द्रित विकास, निर्माणमा जुटेकाले गाउँगाउँमा परिवर्तन महसुस हुने गरी काम भइरहेको उनको भनाइ छ । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) गठबन्धनबाट बनेको वर्तमान सरकार परिवर्तन नहुने बताउँदै उनले भने, ‘सरकार परिवर्तन भइरहँदा कतिपय आयोजना अलपत्र पर्ने भएकाले पुराना अधुरा आयोजनालाई पनि पूर्णता दिने कामलाई यो सरकारले प्राथमिकतामा राखेको छ ।’ मन्त्री गुरुङले स्याफ्रु बेँसी-रसुवागढी अन्तर्राष्ट्रिय राजमार्ग व्यवस्थित गराउने प्रतिबद्धता जनाए । रसुवाको पर्यटन, सडकलगायत पूर्वाधार विकासमा सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको उनले उल्लेख गरे । केरुङबाट नुवाकोटको छहरे हुँदै टोखा काठमाडौं रेलमार्ग सुरू गर्ने, चालु आवभित्र रसुवाका प्रत्येक घर घरमा टेलिफोन सेवा पुर्याउने, जिल्लाका २७ वटै वडामा सञ्चार सेवा पुर्‍याई इन्टरनेट सेवा विस्तार गर्ने, सुशासन प्रत्याभूत गराउने, विज्ञान प्रविधिको विकास गर्दै इन्टरनेटको माध्यमबाट नागरिकको गुनासो सुनुवाइ गर्ने लगायत योजना सरकारले बनाएको मन्त्री गुरुङले जानकारी दिए । गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पू तामाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा स्थानीय बासिन्दा, नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार जितु नेपाल, सञ्चारकर्मी, स्थानीय जनप्रतिनिधिलगायत राष्ट्रिय तथा स्थानीय कलाकारको उपस्थिति थियो ।
बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन सकेन : कांग्रेस उपसभापति गुरुङ
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले विनियोजित बजेट कार्यान्वयन नहुँदा विकासले गति लिन नसकेको बताएका छन् । कांग्रेस स्याङ्जा-काठमाडौं सम्पर्क समितिले नयाँ वर्षको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले विनियोजित बजेट ‘फ्रिज’ हुँदा विकासले गति लिन नसकेको बताए । स्याङजाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वमन्त्री गुरुङले स्याङ्जाका सडकलाई जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको बताए । उनले सिद्धार्थ राजमार्गको स्तरोन्नतिदेखि भित्री सडक जोखिम मुक्त बनाउने अभियानमा आफू लागेको उल्लेख गरे । उपसभापति गुरुङले विकास निर्माणमा राजनीति गर्न नहुने भन्दै सबै मिलेर समाज, जिल्ला र समग्र मुलुकको विकास सम्भव हुने धारणा राखे । एक पार्टीले अर्को पार्टीलाई गाली गर्दैमा गणतन्त्र बलियो नहुने भन्दै उनले आपसी सहकार्य र समन्वय आवश्यक पर्नेमा जोड दिए ।
२ करोड बढीमा स्तरोन्नति गरिएको प्राकृतिक पोखरी सुक्यो
काठमाडौं । खोटाङको खोटेहाङ गाउँपालिका-६ इन्द्रेणी पोखरीमा अवस्थित पर्यटकीय स्थल ‘इन्द्रेणी पोखरी’ स्तरोन्नतिका लागि रु दुई करोडभन्दा बढी लगानी गरिएको थियो । बाह्रै महिना टम्म पानी जम्ने इन्द्रेणी पोखरीलाई स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित सङ्घ, प्रदेश र स्थानीय तहले २ करोड १२ लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेका हुन् । परापूर्वकालमा इन्द्रले बाण हानेपछि उम्रिएको पानी जमेर पोखरी बनेको भन्ने पौराणिक कथन छ । प्राकृतिक रूपमै पर्यटकीय स्थल रहेको यस पोखरीको चौतर्फी विकास गर्न स्तरोन्नतिको काम थालियो । यस कार्यले पोखरीलाई थप सुन्दर तथा मनमोहक बनाउँदै पर्यटक भित्र्याउन सघाउ पुग्ने भनेर स्थानीय वासी हर्षित भएका थिए । त्यस विपरीत प्राकृतिक रूपमा बनेको पोखरीको भुइँमा सिमेन्ट र बालुवा प्रयोग गरेर ढलान गरेपछि वर्षौंदेखि जम्मा भएको पानीसमेत सुकेको छ । यसले स्थानीयको खुसी धेरै टिक्न सकेन । यो पोखरी वर्षौंदेखि जलहाँस तथा मलेवाको क्रिडास्थल (खेल्ने ठाउँ) थियो । हरेक नयाँ वर्षको दिन वृहत् मेला लाग्ने गर्दछ । समुद्री सतहदेखि एक हजार ७०० मिटर उचाइमा रहेको प्राकृतिक पोखरी (इन्द्रेणीपोखरी)को स्तरोन्नति गर्न भुइँ ढलान, बाल उद्यान निर्माण, पानीको फोहोरा निर्माण तथा पोखरी संरक्षणका लागि घेरबार निर्माण गरिएको छ । इन्द्रेणी पोखरीका नाममा रहेको करिब २१ रोपनी सार्वजनिक जग्गामा ४८ मिटर लम्बाइ र २६ मिटर चौडाइको कृत्रिम पोखरीसमेत बनाइएको छ । पर्यटन प्रवर्द्धन गरेर आम्दानी वृद्धि गर्ने उद्देश्यले स्तरोन्नति गरिएको पोखरीमाथि इन्द्रेणीको स्वरूप देखाउन फलामको पाता प्रयोग गरेर इन्द्रेणीको आकृतिसमेत बनाइएको छ । राज्य कोषको २० लाख रुपैयाँ रकम खर्चेर बनाइएको सो इन्द्रेणीको आकृति पनि गत वर्षको हावा हुरीले ढाल्यो र पुनः राखियो । फरक–फरक समयमा फरक-फरक शीर्षकमा गाउँपालिकाबाट इन्द्रेणी पोखरीको स्तरोन्नति गर्न योजना बनाएर उपभोक्ता समितिमार्फत काम गरिएको हो । पोखरीको स्तरोन्नतिका लागि प्रदेश सरकारको ४० लाख रुपैयाँ, तत्कालीन प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको संसदीय विकास कोषबाट २० लाख रुपैयाँ गाउँपालिकाको १ करोड ५२ लाख रुपैयाँभन्दा बढी बजेट खर्च भएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथा, उच्च हिमाली शृङ्खला तथा तराईका फाँटहरू अवलोकन गर्न सकिने ठाउँमा अवस्थित इन्द्रेणी पोखरीको स्तरोन्नतिपछि आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या वृद्धि हुने अपेक्षा गरिएको थियो । स्तरोन्नतिको काम गरिए सँगै उल्टै पोखरीको पानी सुकेपछि स्थानीय वासी निराश बनेका छन् । प्राकृतिक संरचनालाई स्तरोन्नति गर्ने क्रममा सावधानी नअपनाइएकाले समस्या सिर्जना भएको स्थानीय इन्द्र नारथुङ्गेले गुनासो गरे । ‘राज्य कोषको लगानीमा निर्माण हुने संरचनालाई गुणस्तरीय र उपयोगी बनाउन सबैले चासो दिन जरुरी छ । इन्द्रेणी पोखरीको स्तरोन्नति गर्दा सावधानी अपनाउन सकिएन,’ उनले भने, ‘बिना अध्ययन यहाँ संरचना निर्माण गर्दा प्राकृतिक पोखरीको पानी नै सुकेको छ । यसले पोखरीको ऐतिहासिकता नै सङ्कटमा परेको छ ।’ इन्द्रेणी पोखरीबाट धार्मिक तथा पर्यटकीय स्थल बरापोखरी, उत्तर पूर्वी क्षेत्रमा पर्ने ट्याम्के, सोल ढुङ्गा, कपासे तथा रोक्सिम भञ्ज्याङलगायत पर्यटकीय स्थलहरू जोड्न सडक मार्गसमेत निर्माण गरिएको छ । राष्ट्रिय सडक सञ्जालसँग जोडिएको इन्द्रेणी पोखरीमा बाह्र महिना वनभोज खाने र दृश्यावलोकन गर्ने आन्तरिक तथा बाह्य पर्यटक आउने गरेकामा पोखरीको पानी नै सुकेपछि समस्या भएको स्थानीयले बताएका छन् । पर्यटन प्रवर्द्धनका लागि सङ्घ, प्रदेश र स्थानीय तहको ठूलो लगानी भए पनि पानी सुकेपछि लामो समयदेखि उपयोग विहीन भएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले बताए । ‘इन्द्रेणी पोखरीमा कुनै पनि मुहान छैन । प्राकृतिक रूपमा बनेको पोखरीमा पानी सुकेपछि स्तरोन्नति गर्ने क्रममा गरिएको ढलानसमेत चिरा-चिरा भएर फुटेको छ । अन्यत्रबाट पानी ल्याएर लगाउने सम्भावना पनि छैन,’ उनले भने । १० स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहहरूले पनि आ-आफ्नो क्षेत्रमा पर्ने धार्मिक तथा पर्यटकीय स्थलहरूको स्तरोन्नति गरिरहेका छन् । हलेसी, बराहापोखरी, टेम्के, जन्ते ढुङ्गा, तावा भञ्ज्याङ, रुपाकोट, मझुवागढी, भुलभुले लगायत धार्मिक तथा पर्यटकीय स्थलहरू स्तरोन्नतिको काम सुरु गरिएको छ । त्यहाँ पनि सतर्कता अपनाउन समयमै ध्यान दिनुपर्ने सरोकार भएकाहरूको आग्रह छ ।
शान्ति सुरक्षा र अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक दीपक थापाले समाजमा शान्ति सुरक्षा कायम गर्न तथा अपराध नियन्त्रण गर्न प्रहरी एक्लैको प्रयास सम्भव नहुने बताएका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्र कास्कीले आज पोखरामा आयोजना गरेको कार्यक्रममा उनले प्रहरी र स्थानीय समुदाय, सङ्घसंस्था, आमा समूह, विभिन्न क्लब, विद्यालय तथा स्थानीय तहको समन्वय र सहकार्यबाट अपराध रोकथाम गर्न सकिने धारणा राखे । विभिन्न सचेतना मूलक कार्यक्रम गरी जनचेतना अभिवृद्धि गर्ने कार्यमा समेत सामुदायिक सेवा केन्द्रको योगदान भएको खण्डमा समाजमा शान्ति कायम गर्न सघाउ पुग्ने उनले बताए । प्रहरी महानिरीक्षक थापाले भने, ‘समाजमा घट्ने जुनसुकै घटनाको जानकारी तुरुन्त प्रहरीलाई गराइ अपराधीलाई कानुनी दायरामा ल्याउन समुदाय र प्रहरीको साझेदारी आवश्यक छ । यसबाट छिटो अपराध अनुसन्धानमा सहयोग पुग्दछ ।’ थापाले देशभर रहेका १८१ सामुदायिक सेवा केन्द्रले प्रहरी र नागरिकका बीचमा पुलको रूपमा काम गरेर सुमधुर सम्बन्ध कायम राखी शान्ति सुव्यवस्था, अमन चयन कायम राख्ने तथा अपराध नियन्त्रण र अनुसन्धानमा सहयोग गरेको बताए । सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष भीम पराजुलीले समुदाय र प्रहरीबीचको सहकार्यले समाजमा घट्ने आपराधिक घटनामा कमी आएको बताए । कार्यक्रममा अन्नपूर्ण गाउँपालिका अध्यक्ष विष्णु बहादुर केसी, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक श्याम बाबु ओलिया, सामुदायिक सेवा केन्द्र लेखनाथका अध्यक्ष गङ्गा थापा लगायतले सामुदायिक सेवा केन्द्रको भूमिकालाई अझ प्रभावकारी र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए ।
७ सहकारीका ६६ जना सञ्चालकविरुद्ध मुद्दा, २० जना पक्राउ, उजुरी आउने क्रम बढ्दै
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लामा सहकारीको रकम अपचलन अभियोग लागेकामध्ये २० जना पक्राउ परेका छन् भने ४६ जना फरार रहेका छन् । विभिन्न सहकारीमार्फत बचतकर्ताको रकम ठगी गरेको अभियोगमा हालसम्म २० जनालाई सञ्चालक पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ठगीविरुद्ध जाहेरी परेका तीन सहकारीको अनुसन्धान सम्पन्न भई जिल्ला अदालतमा पेस भएको कार्यालयका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले जानकारी दिए । ती सहकारीमध्ये बनेपाको पुण्यश्वरी सहकारीको ३ करोड ८० लाख ९३ हजार ४१८ रुपैयाँ, गरुड सहकारीको १४ करोड रुपैयाँ र युनिटी सहकारीको ३ करोड ५० लाख रुपैयाँभन्दा धेरै बचत फिर्ता नभएको अनुसन्धानबाट खुलेको छ । सूचना अधिकारी घलेका अनुसार यहाँ ७ सहकारीका ६६ सञ्चालकविरुद्ध ठगीमा मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको छ । बाँकी ४ सहकारीको अनुसन्धान जारी छ । थप केही सहकारीविरुद्ध ठगीसम्बन्धी मुद्दा दर्ता गर्नेगरी अनुसन्धान भएको जनाइएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसुन्धरा खड्काले सहकारी ठगीबारे पछिल्ला केही महिनादेखि उजुरी तथा जाहेरी आउने क्रम बढ्न थालेको बताए । ‘७ सहकारीका ६६ जना सञ्चालक विरुद्ध मुद्दा परेकोमा २० जनालाई पक्राउ गरिएको छ, बाँकी फरार छन्, फरारको खोजी कार्य भइरहेको छ । पछिल्लो समय उजुरी आउने क्रम बढिरहेको छ,’ उनले भने ।