विकासन्युज

पर्साका सरकारी कार्यालयको पूँजीगत खर्च न्यून

वीरगञ्ज । पर्साका सरकारी कार्यालयको विकास निर्माण लक्षित पूँजीगत खर्च न्यून देखिएको छ । चालु आवमा पर्साका सरकारी कार्यालयका लागि रु दुई अर्ब ७३ करोड पूँजीगत खर्च विनियोजन गरिएकोमध्ये चैत मसान्तसम्मको अवधिमा भने २७ दशमलव ९६ प्रतिशतअर्थात् रु ७६ करोड ६० लाख रकम मात्रै खर्च गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय पर्साका प्रमुख कोष नियन्त्रक मनोजकुमार जोशीले पर्साका सरकारी कार्यालयले अपेक्षाकृत ढङ्गले पूँजीगत खर्च गर्न नसकेको बताए। 'चालु आव सकिन अब तीन महिनाभन्दा कम समय छ', उनले भने, 'सङ्घीय सरकारको हाराहारीमा पनि यहाँका कार्यालयले पुँजीगत खर्च गर्न सकिरहेका छैनन् ।' उनले पुँजीगत खर्च गरेर विकास निर्माणका कार्यलाई अघि बढाउनका लागि अनुरोध गरे। पर्साका सरकारी कार्यालयका लागि चालु आवमा चालु खर्चतर्फ रु १० अर्ब ६२ करोड विनियोजनमध्ये ६४ दशमलव ८९ प्रतिशतअर्थात् रु छ अर्ब ८९ करोड खर्च भएको छ । पर्साका सरकारी कार्यालयले चालु आवको चैत मसान्तसम्मको अवधिमा रु एक खर्ब ६१ राजस्व सङ्कलन गरेका छन् । यहाँका सरकारी कार्यालयले गत आवको सोही अवधिमा भने रु एक खर्ब ५१ करोड राजस्व सङ्कलन गरेका थिए । पर्सामा करिब ६० भन्दा धेरै सङ्घीय सरकार मातहतका कार्यालय रहेका छन् ।

बलेरो आगलागीः  निधन भएका  र घाइतेको पहिचान

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागीमा परेर निधन भएका चार जना यात्रु तथा दुईजना घाइतेको पहिचान भएको छ ।  जिल्ला प्रहरी कार्यालयको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा एक्कासि आगलागी भएको थियो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतका अनुसार मृत्यु हुनेमा  ललितपुर महानगरपालिका-१० का  १६ वर्षीया आध्या आचार्य, भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, पौडेलकै श्रीमती ६९ वर्षीय सरिता पौडेल र सवारी चालक ताप्लेजुङ फुङलिङ नगरपालिका-१० का ४२ वर्षीय दुर्गा भट्टराईको रहेका छन् ।  त्यस्तै घाइते हुनेमा ललितपुर–१० का ४५ वर्षीया सबिना आचार्य उनका १० वर्षीय छोरा भविमय आचार्य  छन् । उनीहरुको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा बोलेरो गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुना साथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो । 

६ बैंकको वितरणयोग्य नाफा साढे १६ अर्ब ऋणात्मक, १० बैंकको लाभांश क्षमता दोहोरो अंकमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा आधा दर्जन वाणिज्य बैंकको वितरणयोग्य नाफा ऋणात्मक छ । बैंकहरूले सार्वजनिक गरेको वित्तीय विवरणको तथ्याङ्क अनुसार चैत मसान्तसम्म ६ बैंकको वितरणयोग्य नाफा १६ अर्ब ५९ करोड ८३ लाख रुपैयाँ ऋणात्मक छ । यस अवधिमा हिमालयन बैंकको सबैभन्दा धेरै हिमालयन बैंकको ७ अर्ब ३६ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । एनआईसी एशिया बैंकको ३ अर्ब ५६ करोड ९२ लाख रुपैयाँ, प्रभु बैंकको ३ अर्ब ४० करोड २० लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक छ ।  यस्तै, कुमारी बैंकको १ अर्ब १३ करोड २९ लाख रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) १ अर्ब १० करोड ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब २ करोड २ लाख रुपैयाँ वितरणयोग्य नाफा ऋणात्मक रहेको छ ।  राष्ट्रिय वाणिज्य र प्रभु बैंकको वितरणयोग्य नाफा गत वर्षको चैतमा धनात्मक थियो भने हिमालयन, एनआईसी एशिया, कुमारी र एनआईएमबिको गत वर्ष पनि ऋणात्मक थियो ।  यी बैंक धनात्मक बने  माछापुच्छ«े बैंक, सिद्धार्थ बैंक, एनएमबि बैंक, नेपाल बैंक, लक्ष्मी सनराइज बैंक र ग्लोबल आइएमई बैंकको वितरणयोग्य नाफा धनात्मक रहेको छ । गत वर्षको चैतमा यी बैंकको वितरणयोग्य नाफा ऋणात्मक थियो ।  ग्लोबल आइएमईको ३ अर्ब ५४ करोड ९२ लाख रुपैयाँ, एनएमबिको १ अर्ब ३१ करोड १९ लाख रुपैयाँ, लक्ष्मी सनराइजको ७७ करोड २७ लाख रुपैयाँ, नेपाल बैंकको ३० करोड ६२ लाख रुपैयाँ, सिद्धार्थको १८ करोड ८४ लाख रुपैयाँ र माछापुच्छ«ेको ७ करोड ७ लाख रुपैयाँ रहेको छ ।  समीक्षा अवधिमा सबैभन्दा वितरणयोग्य नाफा एभरेष्ट बैंकको रहेको छ । एभरेष्टको ३ अर्ब ६७ करोड ८७ लाख रुपैयाँ वितरण गर्ने नाफा रहेको छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ४७ करोड १६ लाख रुपैयाँ, नेपाल एसबीआई बैंकको १ अर्ब ५ करोड १५ लाख रुपैयाँ, सानिमा बैंकको २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ, सिटिजन्स बैंकको १६ करोड २६ लाख रुपैयाँ वितरणयोग्य नाफा छ ।  यस्तै, कृषि विकास बैंकको १ अर्ब ९१ करोड १० लाख रुपैयाँ, प्राइम बैंकको १ अर्ब ७३ करोड २३ लाख रुपैयाँ र नबिल बैंकको २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ वितरणयोग्य नाफा छ । कुन बैंकको कति लाभांश क्षमता ? समीक्षा अवधिमा वितरणयोग्य नाफाका आधारमा एभरेष्टको लाभांश क्षमता प्रतिसेयर ३४.०९ रुपैयाँ रहेको देखिन्छ । जुन बैंकिङ क्षेत्रकै सबैभन्दा धेरै हो । यस्तै, स्ट्याण्डर्ड चार्टर्डको १९.३५ रुपैयाँ, सानिमाको १८.९२ रुपैयाँ, नबिलको १२.६८ रुपैयाँ, कृषि विकासको १२.२५ रुपैयाँ, ग्लोबल आइएमईको १२.०४ रुपैयाँ, नेपाल एसबीआईको ११.१० रुपैयाँ, प्राइम बैंकको १०.५७ रुपैयाँ लाभांश क्षमता छ ।  यस्तै, एनएमबिको ६.६५रुपैयाँ, लक्ष्मी सनराइजको ३.१७ रुपैयाँ, नेपाल बैंकको २.७८ रुपैयाँ, सिद्धार्थको १.७५ रुपैयाँ, सिटिजन्सको १.६९ रुपैयाँ र माछापुच्छ्रेको ०.३६ रुपैयाँ लाभांश क्षमता राखेका छन् । 

ताप्लेजुङमा बोलेरो गाडीमा आगलागी, ४ जनाको मृत्यु, २ घाइते

काठमाडौं । ताप्लेजुङ सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिर दर्शनका लागि गइरहेको बोलेरो गाडीमा आगलागी हुँदा ४ जना यात्रुको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । जिल्ला प्रहरी ताप्लेजुङको अनुसार मे १ च ३०११ नम्बरको बोलेरो गाडीमा फुङलिङ नगरपालिका-१० सेवारो चोकमा एक्कासि आगलागी भएको थियो । आगलागीमा जलेर मृत्यु भएकाको पहिचान खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विवेक बस्नेतले जानकारी दिए ।  आज बिहान करिब ५ बजे विद्युतको पोलबाट चुँडिएको तार सडकमा झरेको र उक्त तारमा गाडी अल्झिँदा अचानक आगो लागेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।  सूचना अधिकारी बस्नेतका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको कमाण्डमा १५ जनाको टोली तत्काल घटनास्थलमा पुगेको थियो ।  घाइतेलाई तत्काल उद्धार गरी जिल्ला अस्पताल पठाइएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ भने आगो पूर्णरुपमा नियन्त्रणमा ल्याइएको छ । 

१४.८० प्रतिशत बढ्यो सानिमा बैंकको नाफा, लाभांश क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ

काठमाडौं । सानिमा बैंकको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा १४.८० प्रतिशत बढेर १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको चैतसम्म बैंकले १ अर्ब ४३ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  चालु आवको चैतसम्म बैंकको खुद ब्याज आम्दानी ६.५२ प्रतिशत घटेर ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ४ अर्ब ५८ करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।  चैत मसान्तसम्ममा बैंकको सञ्चालन नाफा ९ प्रतिशत बढेर २ अर्ब २५ करोड १३ लाख रुपैयाँ छ । यसअवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ छ । यस आधारमा बैंकको लाभांश वितरण क्षमता प्रतिसेयर १८.९२ रुपैयाँ रहेको छ । गत वर्षको चैतमा बैंकको यस्तो नाफा ७५ करोड ६८ लाख रुपैयाँ थियो ।  बैंकको रिटर्न अन इक्विटी (आरओई) १०.३५ प्रतिशत छ । चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको जगेडा कोष ३.९८ प्रतिशत बढेर ६ अर्ब १२ करोड ९६ लाख रुपैयाँ छ ।  समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ८.४१ प्रतिशत बढेर २ खर्ब १३ अर्ब ७७ करोड ८९ लाख रुपैयाँ र कर्जा लगानी ८.५८ प्रतिशत बढेर १ खर्ब ७३ अर्ब ९ करोड ६६ लाख रुपैयाँ गरेको छ ।  बैंकको खराब कर्जा भने १.८९ प्रतिशतबाट बढेर ३.४२ प्रतिशत पुगेको छ ।   

दोर्दी खोला जलविद्युतको हकप्रद सेयर खरिद गर्ने आज अन्तिम दिन

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीको हकप्रद सेयरमा आवेदन दिने आज वैशाख ८ गते अन्तिम दिन रहेको छ । गत चैत १९ गतेदेखि कम्पनीले चुक्ता पुँजी १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको १ सय प्रतिशत अर्थात् १ कित्ता सेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद सेयर बिक्री खुला गरेको हो । कम्पनीले १ अर्ब ५ करोड ४२ लाख ६० हजार रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता हकप्रद सेयर जारी गरेको हो । हकप्रद निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी २ अर्ब १० करोड ८५ लाख २० हजार रुपैयाँ पुग्नेछ । हकप्रद निष्काशन प्रयोजनार्थ कम्पनीले फागुन १५ गते बुकक्लोज गरेको थियो । त्यसैले फागुन १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको हकप्रदमा आवेदन दिन सक्नेछन् ।  कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सानिमा बैंकको विराटनगर, विरगञ्ज, पोखरा कास्की, रुपन्देही, बाँके, सुर्खेत, धनगढी, लमुजुङ र नक्साल शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा आवद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट सीआस्वा प्रणाली र मेरो सेयरमार्फत् आवेदन दिन सक्नेछन् ।

ट्रेड टावरको आईपीओ बिक्री खुला, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावरले आज वैशाख ८ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८।६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गरेको हो ।  जसमध्ये पहिलो चरणमा कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ३ करोड ९७ लाख १६ हजार ९३० रुपैयाँको ३ लाख ९७ हजार १६९ कित्ता सेयर बिक्री गरेको हो ।  कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले कम्पनीको आईपीओमा वैशाख २२ गतेसम्म आवेदन दिन सक्नेछन । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

मनाङमा सार्वजनिक बस सेवा सञ्चालन, भाडादर ७४० रुपैयाँ

काठमाडौं । हिमाली जिल्ला मनाङमा आइतबारदेखि नियमित रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको छ । ट्रयाक खोलिएको २२ वर्षपछि सदरमुकाम चामेसम्म सार्वजनिक बस सेवा सञ्चालन गरिएको हो । प्रतिनिधिसभा सदस्य एवं पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले नियमित बस सेवा सञ्चालनको शुभारम्भ गरे । सांसद गुरुङले सेनाले निर्माण गरेको सडक ट्रयाक द्वन्द्व कालमै सम्पन्न गरी सरकारलाई हस्तान्तरण गरेको वर्षौपछि मनाङमा बस सेवा सञ्चालन भएको बताए ।  ‘भीरको सडकमा बस सञ्चालन गर्ने लक्ष्य लिइएको थियो । यो हाम्रो उपलब्धि हो । हामीले सर्वसाधारणका साथै पर्यटकलाई बस सेवा प्रवाह गर्नु आज ऐतिहासिक दिन हो,’ उनले भने ।  गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले मनाङवासीलाई सहज यात्रा गराउने सपना पूरा भएको बताए ।  ‘हाम्रा अग्रजले सडक निर्माणमा चासो दिएकाले बसमा यात्रा गर्ने सपना पुरा भएको छ । हालका लागि कच्ची सडकमा भए पनि बस सेवा प्रारम्भ गरेका छौँ । बिस्तारै कालोपत्र सडक बन्ने अपेक्षा छ,’ उनले भने ।  नासों गाउँपालिकाका अध्यक्ष धनबहादुर गुरुङले भने, ‘चामेबाट बस सञ्चालन भएपछि माथिल्लो मनाङबाट यात्रु भरिएर सवारीसाधन पाइँदैन कि भन्ने त्रास हटेको छ ।’  चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले स्थानीयको सहजताका लागि गाउँपालिकाले नै बस सञ्चालनमा ल्याउने प्रयास गरेको बताए ।  गत चैत ७ गते पहिलो पटक यात्रु बाहक बस आइपुगेको मनाङमा सहज रूपमा सार्वजनिक बस सेवा सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए ।  ‘बेसीसहर–चामे सडकमा बस सञ्चालन गर्न सकिने वा नसकिने भनेर गरिएको परीक्षण सफल भएपछि बेंसीशहरदेखि सदरमुकाम चामेसम्म नियमित बस सञ्चालन भएको हो,’ उनले भने ।  प्रजीअ आचार्यका अनुसार ना ६ ख ९५७९ र ना ७ ख ७२६७ नम्बर बस नियमित आवतजावत गर्नेछन् । अन्नपूर्ण पदयात्राका लागि आउने विदेशी पर्यटकलाई लिएर परीक्षणका लागि सदरमुकाम चामे पुगेर बस फर्किएपछि सञ्चालन गर्न सकिने जानकारी गराइ आइतबारदेखि नियमित बस सञ्चालन गरिएको बस सञ्चालक सुरेश घिमिरेले जानकारी दिए ।  मनाङमा निर्माणाधीन मनाङ मर्स्याङ्दी जलविद्युतका सामान लिएर १० चक्के ट्रकसमेत पुग्ने गरेका छन् । गत फागुन २५ गते जिल्ला प्रशासन मनाङमा बसेको समन्वयात्मक बैठकले बेंसीशहरबाट चामेसम्म बस सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही अनुरूप स्थानीय प्रशासनले डुम्रे-बेसीसहर-चामे सडक योजना र अन्य सरोकारवाला निकायलाई आवश्यक समन्वयपश्चात बस सञ्चालनमा ल्याइएको हो । १५ वर्षअघिदेखि मोटर चल्न थालेको यहाँ हालसम्म बोलेरो, टाटासुमो जस्ता साना सवारीसाधनले मात्र यात्रु बोक्दै आएका थिए । बेंसीशहरबाट चामेसम्मको ६५ किलोमिटर सडक पार गर्न अब बोलेरो जीपसँगै बस चढ्न सकिने भएको छ । सोे रुटको भाडादर ७४० रुपैयाँ कायम गरिएको छ ।  यस सडक अन्तर्गत बेंसीशहरदेखि खुदीसम्मको सात किलोमिटर सडक कालोपत्र छ । खुदीभन्दा माथि चामेसम्म ठाउँ-ठाउँमा १० किलोमिटर सडक ढलान गरिएको छ । बाँकी ४७ किलोमिटर कच्ची सडक छ ।