एनआरएनए एकता महाधिवेशन वैशाख २० देखि २२ सम्म
काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को एकता महाधिवेशन काठमाडौंमा हुने भएको छ । एनआरएनए उच्चस्स्तरीय समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यही वैशाख २० देखि २२ सम्म काठमाडौंको हायात होटलमा महाधिवेशन हुने जानकारी दिएको हो। समितिका संयोजक डा शेष घलेले लामो समयदेखि विवादमा अल्झिएको सङ्घलाई एकताबद्ध गर्दै महाधिवेशनबाट समस्या समाधान हुने बताए । ‘विवादरहित संंस्था बनाउन सर्वोच्चले दिएको परामदेशका आधारमा संस्थालाई आवश्यक सुधार गर्न महाधिवेशन हुँदैछ । निष्पक्षताका लागि लड्नैपर्ने रहेछ । अब नयाँ ढङ्गले एनआरएनए बनाएर अगाडि बढ्ने छौँ,’ उनले भने । एकता महाधिवेशनमा बढीभन्दा बढी एनआरएनको सहभागिताका लागि निःशुल्क सदस्यताको व्यवस्था गर्नुका साथै सदस्यताका लागि आवेदन दिने मिति पटकपटक थप गरिएको घलले बताए । एकता महाधिवेशन उच्चस्तरीय मूल समितिका सदस्य सचिव रविना थापाले एनआरएनए उच्चस्तरीय समितिको वेभसाइटमा १६ हजारभन्दा बढीले सदस्यताका लागि आवेदन दिएको जानकारी दिए । ‘उच्चस्तरीय समितिलाई पठाइएको सङ्ख्या हेर्दा उक्त सङ्ख्या ४७ हजार बढी रहेको छ । उच्चस्तरीय समितिको वेभसाइट र एनसीसीहरूबाट आएको सङ्ख्या जोड्दा ६३ हजारभन्दा बढी सदस्य बन्नुभएको छ । एकता महाधिवेशनमा प्रतिनिधिको रूपमा सहभागी हुन आइतबारसम्म दुई हजार पाँच सयभन्दा बढीले निवेदन दिइसकेका छन् । आवेदनका लागि मङ्गलबारसम्म समय रहेको छ,’ उनले भने । थापाले सन् २००३ मा स्थापना गरिएको एनआरएनए अहिले एउटा महत्वपूर्ण मोडमा आइपुगेको बताए । यस अवधिमा नेपालमा लगानी बढाउने, नेपाल सरकारसँग निकट सम्पर्कमा रही प्रवासमा रहेका गैरआवासीय नेपालीको हकहित संरक्षण गर्ने तथा अन्य सामाजिक कल्याणकारी काम सम्पन्न भएको थापाको भनाइ छ । सङ्घले कानुनी सर्वोच्चताको पालना गर्दै खुला छलफल, वार्ता र संवादको माध्यमबाट संस्थालाई एकजुट बनाउन र तोकिएको मितिमा काठमाडौंमा भेला भएर एकता महाधिवेशनलाई सफल बनाउन आह्वान गरिएको छ । सदस्य सचिव थापाले भने, ‘ऐतिहासिक एकता महाधिवेशन आयोजना गर्नका लागि विभिन्न उपसमिति गठन गरी तयारीको काम तीव्र गतिमा अगाडि बढिरहेको छ । हालसम्म १४ पटक उच्चस्तरीय समितिको बैठक बसिसकेको छ । यसमा नेपाल सरकारका प्रतिनिधिहरू समेत सहभागी हुनुहुन्थ्यो ।’
मोटोरोला ६० अल्ट्रा : फ्लिप फोनमा पहिलोपटक ७ इन्चको फोल्डेबल स्क्रिन !
काठमाडौं । मोटोरोला आफ्नो एक अन्तर्राष्ट्रिय लन्च कार्यक्रमको तयारीमा भव्यसँग लागिपरेको छ । यो कार्यक्रम अप्रिल २४ मा हुँदैछ, जसमा मोटोरोलाले आफ्ना धेरै उत्कृष्ट डिभाइसहरू देखाउन सक्ने अपेक्षा गरिएको छ । यसमा मोटो एड्ज ६० र एड्ज ६० प्रो रहने सम्भावना छ । इभान ब्लासले यसबारे केही जानकारी उपलब्ध गराएका थिए । अब उनले मोटोरोला रेजर ६० अल्ट्रासम्बन्धी केही रोचक कुराहरू पनि सार्वजनिक गरेका छन् । उनका अनुसार मोटोरोला रेजर ६० अल्ट्रामा ठूलो डिस्प्ले देख्न सकिनेछ । यदि यस्तो भयो भने फ्लिप फोन भए पनि यसको कभर स्क्रिनप्रति कसैलाई गुनासो रहने छैन । फ्लिप फोनको कभर डिस्प्ले प्रायः सानो हुने गर्छ । तर मोटोरोला रेजर ६० अल्ट्राले यो ट्रेन्ड परिवर्तन गर्न सक्ने सम्भावना देखिएको छ । बताइएअनुसार मोटोरोला रेजर ६० अल्ट्रामा ७ इन्चको फोल्ड गर्न मिल्ने मुख्य डिस्प्ले हुनेछ । यो फोन खोलेर मात्रै प्रयोग गर्न सकिनेछ । मोटोरोलाको रेजर सिरिज पहिलेदेखि नै निकै लोकप्रिय रहँदै आएको छ । यो नामबाट मोटोरोलाले त्यतिबेलादेखि फोन निकाल्दै आएको हो, जतिबेला स्मार्टफोन भन्ने कुरै थिएन । पहिले यो किप्याड फोनमा उपलब्ध हुन्थ्यो, जुन आफ्नो स्लिम डिजाइनका लागि प्रसिद्ध थियो । मोटोरोलाको रेजर ६० अल्ट्रामा शक्तिशाली चिपसेट यो पहिलो स्मार्टफोन हुनेछ जसमा स्न्यापड्रेगन ८ इलाइट चिपसेट दिइनेछ । साथै यसमा १६ जीबी ५१२ जीबी स्टोरेज हुनेछ । यसले गर्दा यो कुनै पनि हिसाबले कमजोर देखिनेछैन । सम्भवतः यही कारणले कम्पनीले फोनको नाममा 'अल्ट्रा' शब्द राखेको हो । यसमा ५० एमपीको मुख्य क्यामेरा र ५० एमपीको अल्ट्रावाइड क्यामेरा दिइनेछ । यो अल्ट्रावाइड क्यामेरा म्याक्रो फोटो खिच्नका लागि पनि प्रयोग गर्न सकिनेछ । यसमा ५० एमपीको फ्रन्ट क्यामेरा पनि हुनसक्छ । अघिल्लो जेनेरेसनमा मोटोरोलाले ३२ मेगापिक्सलको फ्रन्ट क्यामेरा दिएको थियो ।
सिन्धु विकास बैंकको सबै सूचकमा सुधार, पूँजीकोष अनुपात ११.४९ प्रतिशत पुग्यो
काठमाडौं । सिन्धु विकास बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अवधिको वित्तीय विवरण सार्वजनिक गर्दै सबै सूचकमा उल्लेखनीय प्रगति हासिल गरेको जनाएको छ । बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को नौ महिनाको अवधिमा ७ करोड ८४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ करोड ४० लाख रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो। दोस्रो त्रैमाससम्म ८.२२ प्रतिशतमा सीमित रहेको पूँजीकोष पर्याप्तता अनुपात तेस्रो त्रैमासमा उल्लेखनीय सुधार हुँदै ११.४९ प्रतिशत पुगेको छ। नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम १० प्रतिशतको सीमाभन्दा कम भएकाले बैंक विगतमा शीघ्र सुधारात्मक कारबाहीमा परेको थियो । पूँजीकोषमा सुधार भएपछि अब उक्त कारबाहीबाट मुक्त हुने अपेक्षा बैंकले गरेको छ । चैत्र मसान्तसम्म बैंकका अन्य प्रमुख वित्तीय सूचकहरू पनि सकारात्मक देखिएका छन् । प्रति सेयर आम्दानी १८.७६ रुपैयाँ, निष्क्रिय कर्जा अनुपात ८.६४ प्रतिशत, तरलता अनुपात ३६.३६ प्रतिशत, र प्रति सेयर नेटवर्थ ७९.८९ रुपैयाँ रहेको छ । हालसालै सम्पन्न वार्षिक साधारण सभाबाट बैंकले प्रादेशिक स्तरको विकास बैंकको लागि नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पूँजी १ अर्ब २० करोड रुपैयाँ पुर्याउन हाल कायम रहेको पूँजीको ११६ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ । उक्त प्रस्ताव राष्ट्र बैंक समक्ष स्वीकृतिको लागि पेश भइसकेको छ । सिन्धु विकास बैंक सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, दोलखा, मकवानपुर र चितवन गरी पाँच जिल्लामा कार्यक्षेत्र फैलिएको क्षेत्रीयस्तरको विकास बैंक हो । बैंकले हाल २६ शाखामार्फत सेवा दिँदै आएको छ । बैंकको नेतृत्व वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुरेश देवकोटाले पुस महिनादेखि प्रमुख कार्यकारी अधिकृतको रूपमा सम्हाल्दै आएका छन् ।
बजारबाट दुई औषधि तुरुन्त फिर्ता गर्न विभागको निर्देशन
काठमाडौं । औषधि व्यवस्था विभागले बजारबाट पेटसमबन्धी समस्या निको पार्ने दुई औषधि बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन जारी गरेको छ । ‘पिलपान ४० एमजी’ र ‘एसीटप ४० एमजी’ नामक दुवै औषधिहरू परीक्षणका क्रममा गुणस्तरहीन पाइएको हो । उक्त ब्याच नं भएका औषधिहरूको सिफारिस, बिक्री वितरण तथा प्रयोग नगर्न र नगराउन सबैलाई विभागले अनुरोध गरेको छ । विभागले बजार अनुगमनका क्रममा सङ्कलन गरिएको औषधिहरूको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परीक्षण गर्दा उत्पादकबाट उत्पादित उक्त ब्याच नंका औषधिहरू न्यून गुणस्तर पाइएको जारी सूचनामा उल्लेख छ । औषधि ऐन, २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोक्का गरी उक्त ब्याचका औषधिहरू बजारबाट तुरुन्त फिर्ता गर्न र सोको विवरण विभागमा पेस गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरूलाई सूचनामार्फत निर्देशन दिइएको छ ।
तुभालुमा प्रधानमन्त्रीले गरे पहिलो एटीएम उद्घाटन, देशको जनसंख्या ११ हजार २ सय मात्र
काठमाडौं । तुभालु संसारकै साना देशहरूमा पर्छ । प्रशान्त महासागरमा अवस्थित यो देशले अप्रिल १५ मा पहिलो एटीएम स्थापना गरेर इतिहास रचेको छ । यो देश आफ्नो सुन्दरता र शान्त वातावरणका लागि चिनिन्छ । सीएनएनका अनुसार अस्ट्रेलिया र हवाईको बीचमा रहेको यो सानो देशमा अहिलेसम्म सबै काम नगदमा हुन्थे । यहाँ कुनै एटीएम थिएन । एटीएमको सुरुवातलाई एक ठूला उपलब्धिको रूपमा लिइएको छ । प्रधानमन्त्री फेलेटी तेओले मुख्य द्वीप फुनाफुटीमा यसको उद्घाटन गरे । उनले यो तुभालुको लागि ऐतिहासिक क्षण भएको बताए । एटीएमले ल्याउने छ परिवर्तन नेशनल बैंक अफ तुभालुका महाप्रबन्धक सिओसे तेओले यस नयाँ सुविधालाई 'परिवर्तन ल्याउने' अवसरका रूपमा चित्रण गरेका छन् । उनको भनाइमा यो एटीएमले देशका ११ हजार २०० जनताका लागि प्रगतिको नयाँ ढोका खोल्नेछ । प्यासिफिक टेक्नोलोजी लिमिटेडका निसार अलीले भनेका छन् कि यो एटीएमले तुभालुवासीलाई आधुनिक बैंकिङ सेवासँग जोड्नेछ । मात्र १० वर्ग माइलमा फैलिएको देश तुभालु केवल १० वर्ग माइल क्षेत्रफलमा फैलिएको देश हो । यसमा जम्मा ९ वटा द्वीपहरू छन् । यति सानो भए पनि सन् २०२३ मा ३ हजारभन्दा बढी पर्यटक यहाँ आएका थिए । मुख्य द्वीप फुनाफुटीमा रहेको एकमात्र विमानस्थलबाट छिमेकी देश फिजीबीच केही उडानहरू हुन्छन् । द्वीपहरूबीच आवतजावतका लागि यहाँका मानिसहरूले डुङ्गाको प्रयोग गर्छन्, किनकि आन्तरिक उडान सेवा छैन । जलवायु परिवर्तनको गहिरो प्रभाव तुभालुको भौगोलिक स्थिति नै यसलाई चुनौतीपूर्ण बनाउँछ । समुद्रको सतह लगातार बढिरहेको हुँदा यसले जमिनको सतह घटाइरहेको छ र कृषिमा पनि असर पुर्याइरहेको छ । तुभालु जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित देशहरूमध्ये एक हो । २०२१ मा तुभालुका परराष्ट्रमन्त्री साइमन कोफेले घुँडासम्म पानीमा उभिएर संयुक्त राष्ट्रसंघमा सम्बोधन दिएका थिए, जसले तुभालुलाई विश्व मञ्चमा चिनायो ।
प्रतिगामी तत्वहरू सल्बलाएका बेला शिक्षकहरूले आन्दोलन गर्ने उपयुक्त समय यो होइन : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको ढुकुटीले धान्न सक्ने र सम्भव हुने मागलाई सम्बोधन गर्ने राज्यको तयारी रहेको उल्लेख गर्दै शिक्षकहरूलाई अविलम्ब वार्तामा बस्न र विद्यालय फर्कन आह्वान गरेका छन् । नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको ११औँ राष्ट्रिय सम्मेलनको सोमबार कीर्तिपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिलेको सरकार दमनकारी नभई लोकतान्त्रिक भएकाले ट्रेड युनियनको अधिकारको रक्षासहित पेसागत क्षेत्रका जायज मागहरू सम्बोधन गरिने बताए । 'विद्यालय शिक्षा विधेयक हाल संसदीय समितिमा विचाराधीन छ। ऐन ल्याउने प्रक्रिया चलिरहेको बेला यति धेरै शिक्षकहरू सडकमा आन्दोलनमा आउनु आवश्यक छैन । भर्ना अभियान सुरु भइसकेको छ, कृपया विद्यालय फर्कनुस्, भर्ना गराउनुस्, एसईईको उत्तरपुस्तिका परीक्षण गर्नुस्,' प्रधानमन्त्री ओलीले भने, '५२ प्रतिशत विद्यार्थी एसईईमा असफल भएको भन्ने मेरो भनाइप्रति चित्त नदुखाउनुस्, गुणस्तरीय शिक्षाका लागि लाग्नुस् । शिक्षकहरूको आन्दोलनले विद्यार्थी र अभिभावकलाई घाटा छ, शिक्षकहरूलाई लाभ छैन । त्यसैले अविलम्ब वार्तामा बसेर आन्दोलन अन्त्य गर्नुस् । प्रतिगामी तत्वहरू सल्बलाएका बेला आन्दोलनको उपयुक्त समय पनि होइन ।' समृद्धि र अग्रगतिका लागि बौद्धिक सक्रियता देखाउन प्रधानमन्त्रीको आग्रह नेकपा (एमाले) अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रतिगामी, उग्रवामपन्थी, विकृति र विसङ्गतियुक्त प्रवृत्तिहरू विरुद्ध प्राध्यापकहरूले बौद्धिक रूपमा सक्रियता देखाउनुपर्ने आवश्यकता औँल्याए । 'प्राध्यापक जस्तो सचेत वर्गले लोकतन्त्र र तानाशाहीका बीचको भेद छुट्याउन नसक्ने भन्ने कुरै हुँदैन,' उनले भने, 'कोही पनि सचेत नागरिक आफ्नो समाज कस्तो बनाउने भन्ने सन्दर्भमा तटस्थ रहन सक्दैन । लोकतन्त्रको प्रयोगबाट मुलुकको समृद्धिका लागि दक्ष जनशक्ति निर्माण गर्न आवश्यक छ ।' उनले ‘मिसन २०८४’ लाई अराजकतावाद, प्रतिगमन, असभ्यता र देशलाई अँध्यारो यात्रातर्फ फर्काउने प्रयासविरुद्धको अभियानको रूपमा चित्रण गर्दै, प्राध्यापकहरूले लेखेर, बोलेर, बौद्धिकताको प्रदर्शन गरी साथ दिनुपर्ने बताए । प्रधानमन्त्री ओलीले शिक्षालाई सबैको पहुँचभित्र कसरी पुर्याउने र गुणस्तरीय शिक्षा कसरी दिन सकिन्छ भन्ने विषयमा चिन्तन गर्न आग्रह गरे । साथै, ज्ञानको आर्जन, संकलन र सम्प्रेषणमा प्राध्यापकहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने पनि स्मरण गराए । 'यस सङ्गठनको जन्म नै अधिकार प्राप्तिको आन्दोलनको पृष्ठभूमिमा भएको हो । त्यसैले अब उच्च शिक्षाको क्षेत्रमा आवश्यक सुधारका लागि अझ सक्रिय भूमिका खेल्नुपर्छ,' ओलीले भने ।
ठूलो रकम प्रोभिजनमा राख्दा बैंकहरूको आरओई ७.७८ प्रतिशत
काठमाडौं । वाणिज्य बैंकहरूको रिटर्न अन इक्वीटी (आरओई) घटेको छ । चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासको तथ्याङ्क अनुसार अधिकांश बैंकहरूको आरओई ०.६९ प्रतिशत घटेर औसत ७.७८ प्रतिशतमा झरेको छ । गत आवको चैतमा २० वटा बैंकको आरओई ८.४७ प्रतिशत थियो । रिटर्न अन इक्वीटी लगानीकर्ताको सम्पत्ति माथि बैंकले दिने प्रतिफल हो । आरओई घट्नु भनेको लगानीकर्ताले पाउने प्रतिफल पनि घट्नु हो । तर, पछिल्लो समय बैंकहरूको व्यवसाय खुम्चिएसँगै आरओईमा त्यसको असर परेको देखिन्छ । बैंकको व्यवसाय विस्तार हुँदा नाफा बढेसँगै आरओईवृद्धिमा समेत टेवा पुग्ने गर्छ । समीक्षा अवधिमा सबैभन्दा धेरै आरओई एभरेष्ट बैंकको रहेको छ । गत वर्षको चैतको तुलनामा एभरेष्टको आरओई २.७८ प्रतिशत बढेर १५.८२ प्रतिशत बिन्दुमा पुगेको छ । गत वर्षको चैतमा बैंकको आरओई १३.०४ प्रतिशत बिन्दु थियो । यस्तै, गत वर्षको चैतको तुलनामा २.२० प्रतिशत घटे पनि स्ट्याण्डर्ड चार्टर्ड बैंकको आरओई १४.०३ प्रतिशत बिन्दु रहेको छ । नबिल बैंकको ११.३ प्रतिशत, एनएमबि बैंकको १०.४५ प्रतिशत, सानिमा बैंकको १०.३५ प्रतिशत, नेपाल बैंकको १०.०४ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ९.६७ प्रतिशत आरओई रहेको छ । माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक (डीजीएम) सुभाष जमरकटेल बैंकहरूले ठूलो रकम प्रोभिजन गर्नु परेकाले आरओई घटेको बताउँछन् । ‘पछिल्लो समय एक्सपेटेड क्रेडिट लस (ईसीएल) अनुसार ब्याज नतिर्नेहरूको पनि प्रोभिजन गर्नुपर्ने हुन्छ । पहिला एनएफआरएसमा अलग थियो । जसले आम्दानी बढ्थ्यो । तर, पछिल्लो समय ईसीएल आइसकेपछि ९० दिनभन्दा बढी ओभरड्यूज भएकाहरूको पनि राख्नुपर्ने हुन्छ । त्यसैले बैंकहरूले ठूलो रकम प्रोभिजन गर्दा आरओई घटेको हो,’ उनले भने । उनका अनुसार बैंकहरूको स्प्रेड दर पनि संकुचन भइरहेको छ । विगतमा ४ प्रतिशत कायम गरिरहेका बैंकहरूको अहिले ४ प्रतिशतभन्दा तल झरेको उनको भनाइ छ । ‘स्प्रेड दर विस्तारै घट्दै ४ प्रतिशतभन्दा तल छ । आर्थिक गतिविधि पनि बढेको छैन । अर्थतन्त्र धेरै चलायमान हुँदा अन्य क्रियाकलाप पनि बढ्छन् । तर, चलायमान नहुँदा अन्य कारोबार पनि हुन सकेको छैनन्,’ डीजीएम जमरकटेलले भने, ‘बैंकहरूमा निक्षेप थुप्रिने र लगानी नहुँदा पनि त्यसको असर परेको हो । ८० प्रतिशतभन्दा माथि सीडी रेसियो भएका बैंकलाई खासै असर गर्दैन । तर, ८० प्रतिशतभन्दा कम सीडी रेसियो भएका बैंकलाई प्रोफिट्याबिलिटीमा असर गर्छ ।’ चैतसम्म ग्लोबल आइएमई बैंकको आरओई ९.४८ प्रतिशत, माछापुच्छ्रे बैंकको ९.२२ प्रतिशत, नेपाल एसबीआई बैंकको ८.१४ प्रतिशत, सिद्धार्थ बैंकको ७.८१ प्रतिशत, प्रभु बैंकको ७.४३ प्रतिशत, प्राइम बैंकको ७.१२ प्रतिशत, कृषि विकास बैंकको ६.८८ प्रतिशत रहेको छ । यस्तै, सिटिजन्स बैंकको ५.८१ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.२८ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.२ प्रतिशत, हिमालयन बैंकको १.८१ प्रतिशत, कुमारी बैंकको १.०८ प्रतिशत, एनआईसी एशिया बैंकको ०.७१ प्रतिशत रिटर्न अन इक्विटी रहेको छ ।
राष्ट्र बैंकले ५८ करोड मुद्दती निक्षेपमा लगानी गर्ने, बैंक तथा वित्तीय संस्थालाई आवेदन खुला
काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो उपदान र पेन्सन कोषको ५८ करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । सोमबार सूचना जारी गर्दै राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई आवेदन दिन आह्वान गरेको हो । केन्द्रीय बैंकका अनुसार ‘क’ वर्गका वाणिज्य बैंकमा ४६ करोड ४० लाख, ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकमा ८ करोड ७० लाख, र ‘ग’ वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीमा २ करोड ९० लाख रुपैयाँ लगानी गरिनेछ । ३ सय ६६ दिन अवधिको मुद्दती निक्षेप आगामी १६ वैशाख २०८२ देखि लागू हुनेछ । इच्छुक बैंक तथा वित्तीय संस्थाले ११ वैशाख बिहान १० बजेदेखि दिउँसो १:३० भित्र आवेदन दिनुपर्नेछ । राष्ट्र बैंकले केही सर्तहरू पनि तोकेको छ । जसअनुसार बैंक तथा वित्तीय संस्थाले कम्तीमा दुई वर्ष सञ्चालनमा आइसकेको, कुल पूँजीकोष, कर्जा र निक्षेप अनुपात, तरल सम्पत्ति, निष्क्रिय कर्जा जस्ता सूचकांकहरू राष्ट्र बैंकको मापदण्डभित्र रहनुपर्नेछ । साथै, समस्याग्रस्त सूचीबाट मुक्त भएको कम्तीमा ६ महिना पूरा भएको हुनुपर्ने र सर्वसाधारणका लागि सेयर जारी गरिसकेको हुनुपर्ने सर्त राखिएको छ ।