विकासन्युज

सूर्यज्योति लाइफ इन्स्योरेन्स एनसीएचएलमा आबद्ध, डिजिटल भुक्तानी प्रणाली लागू

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेडले नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डिजिटल भुक्तानी प्रणालीमार्फत आफ्ना भुक्तानी कारोबार सञ्चालन गर्ने व्यवस्था लागू गरेको छ। यस सम्बन्धी सम्झौतापत्रमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् । सम्झौतापछि सूर्यज्योति इन्स्योरेन्सको आन्तरिक प्रणाली एनसीएचएलको ‘नेशनल पेमेन्ट इन्टरफेससँग जोडिनेछ। यसमार्फत कम्पनीले विभिन्न डिजिटल भुक्तानी उपकरण प्रयोग गरेर सेवा प्रदान गर्न सक्नेछन् । अब सूर्यज्योतिले प्रिमियम संकलन, एजेन्ट कमिशन, कर्मचारी तलब, सेवा प्रदायक भुक्तानी, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोष लगायतका कारोबार सोझै लाभग्राहीको बैंक खातामा गर्न सक्नेछ। भविष्यमा अन्य भुक्तानी सुविधा पनि क्रमिक रूपमा थपिने जनाइएको छ । यस प्रणालीमार्फत सदस्य संस्थाहरूले एनसीएचएल–आइपिएस र आरपिएस प्रणालीको प्रयोग गरी सजिलो, सुरक्षित र डिजिटल माध्यमबाट भुक्तानी कारोबार गर्न सक्नेछन् । नेपाल क्लियरिङ्ग हाउससँगको यो सहकार्यले सूर्यज्योति लाइफ इन्स्योरेन्सको डिजिटल रूपान्तरण अभियानमा उल्लेखनीय टेवा पुग्ने विश्वास गरिएको छ ।

नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको स्मलरीग अवार्डको नोमिनेशनमा

काठमाडौं । नेपाली सर्टफिल्म ‘पाउलो’ चीनको प्रतिष्ठित स्मलरीग अवार्डको नोमिनेशनमा परेको छ । विश्वभरबाट प्राप्त ३ हजार ७९१ चलचित्रहरुमध्ये छानिएका ९८ सर्टलिस्ट फिल्ममध्ये २० उत्कृष्ट सर्टफिल्ममा ‘पाउलो’ पनि पर्न सफल भएको हो । चीनको सेन्जेन सहरमा मे २३ देखि २५ सम्म आयोजना हुने स्मलरीग अवार्डमा ‘पाउलो’ प्रदर्शन पनि हुनेछ । जुत्ताको कथालाई केन्द्रमा राखिएको यस लघुचलचित्रले परिवारविहीन सडक बालकको मार्मिक जीवनलाई चित्रण गर्छ, जसमा ‘जुत्ता’ नै कथा अगाडि बढाउने प्रमुख पात्रको रूपमा प्रस्तुत गरिएको छ । यसअघि पनि ‘पाउलो’ भारत, अमेरिका, बेलायत, रसिया, जिम्बावे लगायतका थुप्रै अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ । सीएमएस इन्टरनेशनल चिल्ड्रेन्स फिल्म फेस्टिभल (भारत), अथेन्टिक ग्लोबल फिल्म अवार्ड (अमेरिका), लाइट अफ द वर्ल्ड (रसिया), भर्सिटी फिल्म एक्स्पो (जिम्बावे) लगायतका महोत्सवहरूमा सहभागिता जनाइसकेको छ । साथै, छैटौं नेपाल सांस्कृतिक अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विशेष स्क्रिनिङ पनि भइसकेको छ। मोहन अभिलाषीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘पाउलो’ को छायांकन नारायण जिसीले, सम्पादन अनिल महर्जनले, र कास्टिङ डिरेक्शन रेनुका कार्कीले गरेका हुन् । चलचित्रमा प्रशान्त हुमागाईँ, मोहन श्रेष्ठ, सुवास सिलवाललगायत कलाकारहरूको अभिनय छ । ब्ल्याक हर्स कम्पनीले प्रायोजन गरेको यस चलचित्र ऐना आर्ट्सको प्रस्तुति हो । निर्देशक अभिलाषी यसअघि घुर्रा, द स्कूल वाल, एक जोर जुत्ता लगायतका फिल्ममार्फत विभिन्न राष्ट्रिय–अन्तर्राष्ट्रिय अवार्ड जितिसकेका छन् ।

विद्यालय बन्द हुँदा लागुऔषधमा फस्न थाले बालबालिका, तत्काल स्कूल खोल्न माग

इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । 'विद्यालय बन्द हुँदा साथीहरू भेला भएर फुटबल खेल्न गएँ भन्नेमा भर परियो । तर, नानी त कुलतमा फसिसकेको रहेछ', बालककी आमाले भनिन्, 'विद्यालय जाँदा यस्तो थिएन, अहिले छुट्टी छ, साथीसङ्गतले बिगार्ने रहेछ ।' वैशाख लागेसँगै नयाँ शैक्षिकसत्र सुरु भयो । यतिबेला सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना धमाधम हुनुपर्ने हो, तर हुन सकेको छैन । विद्यालय बन्द छ, विद्यार्थी घरघरमा छन् । सरकारले माग पूरा गर्छ÷गर्दैन भनेर शिक्षकलाई चिन्ता छ । तर, अभिभावकलाई बालबच्चा बिग्रिएकामा पिरलो छ । सूर्योदय नगरपालिका–७ का गणेश भट्टराईले तत्काल विद्यालय खुल्ने वातावरण नबने बालबालिकालाई असर पुग्ने बताए । 'सहरका मात्र होइन, गाउँघरका बच्चा पनि गलत क्रियाकलापमा सग्लग्न थालेका छन् । विद्यालय नहुँदा घरमा काम छैन, खराब सङ्गत र स्वतन्त्रताले धेरै बिग्रिसके । यो विषय संवेदनशील छ ।' जिल्लाका प्रायः बजार क्षेत्र र कतिपय गाउँमा समेत लागुऔषध प्रयोगकर्ताको सङ्ख्या ‘चुनौतीपूर्ण’ रूपमा बढिरहेको सरोकारवाला बताउँछन् । बाल्यावस्था र किशोरावस्थाका बालबालिकालाई यसको कुलतबाट जोगाउन गाह्रो भइरहेको मानवअधिकार मञ्च नेपालका कार्याकारी निर्देशक देवेन्द्र विश्वकर्माले बताए । 'बालबालिका कुलतमा फसिरहेको देखेमा वा थाहा पाएमा सचेत नागरिकले जिल्ला प्रशासन र प्रहरीमा जानकारी दिनुपर्छ । अभिभावक थप सचेत बन्न जरुरी देखिन्छ ।' हिमालय माद्यमिक विद्यालय सूर्योदय नगरपालिका–१ गोर्खेका शिक्षक गणेशकुमार खड्काले शिक्षकहरूको मागलाई सरकारले सम्बोधन गरिदिएर तत्काल विद्यालय खुल्ने वातावरण बनाउनुपर्ने बताए । 'यतिका दिनदेखि शिक्षक सडकमा हुँदा बालबालिका पक्कै बिचल्ली भएका छन् । हामीलाई उनीहरूको चिन्ता छ । राज्यले हाम्रो माग सम्बोधन गरेर विद्यार्थीप्रति संवेदनशील बन्नुपर्छ', शिक्षक खड्काले भने । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मानबहादुर राईले प्रहरीले लागुऔषध नियन्त्रणका लागि विभिन्न चेतनामूलक कार्यक्रम गरिरहेको बताए । उनले भने, 'लागुऔषधबाट बालबालिकालाई बचाउन प्रहरीले विद्यालय र अन्य ठाउँमा पनि चेतनामूलक कार्यक्रम गरिरहेकै हुन्छ, जिल्लामा बाहिरबाट लागुऔषध भित्रिन र यहाँ प्रयोग गर्न नदिन प्रहरी सधैँ क्रियाशील छ ।' रासस

नेपाल चिकित्सक सहकारी खारेज हुँदै, महानगरपालिकाले निकाल्यो अन्तिम सूचना

काठमाडौं । सबैले सबै काम जाँदैनन् । चिकित्सकहरु विरामीको उपचार गर्न निपूर्ण हुन्छन् । अरु काममा हात हाल्दा उपलब्धि असफलता नै हो ।  सहकारी सञ्चालन गर्दा चिकित्सकलाई यस्तै असफलता हात मिलेको छ । चिकित्सकहरुको अगुवाई र व्यवस्थापनमा खुलेको नेपाल चिकित्सक श्रमिक सहकारी संस्था लिमिटेड असफल भएको छ । उक्त संस्था खारेजी प्रक्रियामा अगाडि बढेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।  २०७७ सालमा स्थापना भई सञ्चालनमा आएको उक्त सहकारी संस्था ५ वर्ष पूरा नहुँदै खारेजी प्रक्रियामा गएको हो । सहकारीको दुई तिहाई सदस्यले संस्था खारेजीको माग गर्दै गत चैत्र १ गते महानगरपालिकामा निवेदन दिएका छन् । कानुनी प्रक्रिया पूरा गरी उक्त सहकारी संस्था खारेज गर्न लागिएको महानगरपलिकाले जनाएको छ । पलिकाले सहकारी संस्थासँग कुनै लेनदेन भए माग दावी गर्न १५ समय दिएर अन्तिम सूचना पनि सार्वजनिक गरेको छ ।

प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिँदै

काठमाडौं । प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् ।  बैंकका अनुसार राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता, कर्ण प्रसाद देवभण्डारीले १६ हजार २४७ कित्ता, सरस्वती सुव्वा देवानले ३९ हजार ९५८ कित्ता, शमा श्रेष्ठले १० हजार ८२७ कित्ता, राजेन्द्र मान सिंह वस्नेतले १६ हजार २४३ कित्ता, ऋषिराम शर्माले २४ हजार कित्ता र सम्यक उदासले ५५ हजार ७१६ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति तथा संस्थाले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।  यस्तै, बैंकका संस्थापक सेयरधनी केशर बहादुर रावलले ५ हजार ९६४ कित्ता, नारायण निधि लोहनीले ८ हजार ३३१ कित्ता, कमान सिंह खड्काले १२ हजार १२२ कित्ता, विवेक अग्रवालले ९ हजार ८८२ कित्ता, बलराम चपाईले ३ हजार ५०७ कित्ता, बिष्णु लाल श्रेष्ठले १० हजार ८३० कित्ता र उत्तम लाल मल्लले १८ हजार १३३ कित्ता सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।   

इच्छाशक्ति भएमा आयात नियन्त्रण गर्न सकिन्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले उद्योगीहरूमा इच्छाशक्ति भएमा नेपालमा अत्यावश्यक उपभोग्य वस्तुहरूको आयात नियन्त्रण गर्न सकिने बताएका छन् । नेपाल चामल, तेल, दाल उद्योग संघको ४५औँ वार्षिक साधारण सभामा बोल्दै मन्त्री भण्डारीले निजी क्षेत्रले उत्पादन र उत्पादकत्व वृद्धिमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए ।  उनले भने, ‘चामल, तेल, दालजस्ता वस्तुहरूको नेपालमै उत्पादन गर्ने पर्याप्त सम्भावना छ। यस क्षेत्रमा उपयुक्त लगानी गरी प्याकेजिङ र ब्रान्डिङमा निजी क्षेत्रले अझ ध्यान दिनुपर्ने आवश्यकता छ। सरकार उद्योगमैत्री नीति अवलम्बन गर्दै नीतिगत सहुलियत दिन तयार छ।’ भारतको उदाहरण दिँदै उनले भने, ‘नेपालभन्दा कैयौँ गुणा बढी जनसंख्या भएको भारतले आफ्ना पर्याप्त उत्पादनहरू निर्यात गर्न सकेको छ भने, हाम्रो देशको हावापानी हेर्दा एकै दिनमा हिमाल, पहाड र तराईको अनुभव गर्न सकिन्छ। यस्तो विविध वातावरण भएको देशमा उत्पादन वृद्धि गर्नु कुनै ठूलो चुनौती होइन। त्यसैले निजी क्षेत्र उत्पादन वृद्धिको अभियानमा सक्रिय हुनुपर्छ। सरकारले नीति तथा सहुलियतका माध्यमबाट अनुकूल वातावरण बनाउने प्रतिबद्धता जनाएको छ।’ उनले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट निर्माणको पूर्वसन्ध्यामा सरकार सबै क्षेत्रसँग परामर्शमा केन्द्रित रहेको बताए । मन्त्री भण्डारीका अनुसार नेपालमा ३३ हजार मेट्रिक टन खाद्यान्न स्टक गर्नुपर्ने लक्ष्य रहेपनि त्यो अझै पूरा हुन सकेको छैन । ‘हाल हामी त्यो लक्ष्यको नजिक पुग्दैछौं,’ उनले भने, ‘तर यस वर्ष पेट्रोलियम पदार्थभन्दा पनि बढी सोयाबिनको आयात भएको देखिएको छ। पहाडहरू रित्तिँदै गएका छन्, खेतबारी बाँझो छन्, र युवाहरू खाडी मुलुकमा श्रम बेच्न बाध्य छन् । विदेशको विषादीयुक्त खाद्यपदार्थ खाएर जीउ जोगाउनु हाम्रो लागि विडम्बनाको कुरा हो ।’ उनले हिमाली तथा पहाडी क्षेत्रमा रैथाने अन्नबालीको उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ उन्मुख हुनुपर्नेमा जोड दिए । मन्त्री भण्डारीले चामल, दाल, तरकारी, फलफूलजस्ता वस्तु उत्पादन हुने प्रमुख क्षेत्रहरूको पहिचान गरी उत्पादन र निर्यातसम्मको प्रक्रियामा निजी क्षेत्रसँग सहकार्य गर्दै सरकार अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले देशको आर्थिक सुधार र जनतालाई आत्मनिर्भर बनाउने दिशामा सरकार क्रियाशील रहेको स्पष्ट पारे ।   नेपाल चामल, तेल, दाल उत्पादक संघका अध्यक्ष कुमोद अग्रवालको अध्यक्षतामा सम्पन्न ४५औँ वार्षिक साधारणसभामा मन्त्री भण्डारी प्रमुख अतिथि थिए । संघका सदस्य विभोर अग्रवालका अनुसार, संघमा दुई दशकभन्दा बढी समयदेखि सक्रिय योगदान पुर्‍याएका अजय पराजुलीलाई मन्त्री भण्डारीद्वारा सम्मान गरिएको छ ।

रत्नराजले राजीनामा दिए, पोखरेल निफ्राको सञ्चालक बने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् ।  यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेल सञ्चालक बनेका हुन् । बैंकको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको हो ।  बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार अध्यक्षमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल छन् भने सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, सर्वसाधारण सेयरधनीतर्फ लिमा अधिकारी, प्रवीण सुवेदी र स्वतन्त्र सञ्चालकतर्फ महेश प्रसाद दाहाल छन् ।  

सगरमाथा क्षेत्र पर्यटकले भरिभराउ, एकैदिन ७ सय पर्यटकको आगमन

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्र यतिबेला पर्यटकले भरिभराउ बनेको छ । सोमबार मात्रै करिब ७ सय पर्यटक खुम्बु प्रवेश गरेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ । निकुञ्जका रेञ्जर विवेक श्रेष्ठका अनुसार सोमबार ६९४ पर्यटक खुम्बु क्षेत्रमा प्रवेश गरेपछि यस क्षेत्रका होटलहरू भरिभराउ भएका हुन् । ६०८ विदेशी र ८६ जना नेपाली पर्यटक रहेका उनले जानकारी दिए । श्रेष्ठले नाम्चेको यात्रामा ६५२ विदेशी र १५१ जना नेपाली रहेका बताए ।  वसन्तयाममा खुम्बु क्षेत्रमा आएका पर्यटकहरूले होटलमा बास पाउन समेत मुस्किल भएको सगरमाथा आरोही तेम्बाछिरी शेर्पाले बताइन् । मौसम अनुकूल भएसँगै लुक्लामा हवाई उडान बाक्लिएकाले खुम्बु आउने पर्यटकको सङ्ख्या बढेको तारा एयर लुक्लाका इन्चार्ज अमृत मगरले जानकारी दिए ।  ‘लुक्लामा मौसम अनुकूल भएकाले जहाजको उडान पनि बढाएका छौँ । सोही कारणले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेसँगै यहाँका होटलहरू पहिला नै ‘रिजर्भ’ हुन थालेका छन्,’ उनले भने ।  खुम्बु क्षेत्रका पर्यटन व्यवसायी पर्यटकको आगमन बढेपछि हर्षित भएका टेकिङ एजेन्सिस् एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष कर्मा शेर्पाले बताए । कोभिडपछि सुस्त बनेको पर्यटन व्यवसाय चलायमान हुन थालेको बताउँदै स्थानीयको आयआर्जन बढ्नुका साथै रोजगारीका अवसर वृद्धि हुन थालेका उनको भनाइ छ । उपाध्यक्ष शेर्पाका अनुसार लुक्ला, नाम्चेलगायत क्षेत्रका होटलहरू पर्यटकले भरिएका छन् । खुम्बु क्षेत्रमा आएका अधिकांश पर्यटकले सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रको भ्रमण गर्ने गरेका उनको भनाइ छ । स्वदेशी तथा विदेशी पर्यटकले निकुञ्ज भ्रमण गरेसँगै निकुञ्जले राजस्व सङ्कलन वृद्धि भएको जनाइएको छ । निकुञ्जको कार्यालयका अनुसार सार्क राष्ट्रका पर्यटकबाट प्रतिव्यक्ति १ हजार ५ सय रुपैयाँ, अन्य मुलुकका नागरिकबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँ र नेपालीबाट १ सय रुपैयाँ प्रवेश शुल्क लिने गरिएको छ ।  उक्त राजस्वले देशको अर्थतन्त्रमा सहयोग पुर्‍याउँदै आएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन् । उनका अनुसार अधिकांश पर्यटक काठमाडौं र रामेछापको मन्थली विमानस्थल हुँदै लुक्ला पुग्ने गर्दछन् । त्यहाँबाट उनीहरूले नाम्चे, ट्याङबोचे, फेरुचे हुँदै सगरमाथाको आधार शिविरतर्फ यात्रा गर्ने उनले जानकारी दिइन् ।