अमेरिकी नीतिले यूरोपका कार कम्पनीहरूको मुनाफामा भारी धक्का
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अटोमोबाइल आयातमा २५ प्रतिशत महसुल लगाउने निर्णयपछि युरोपेली अटोमोबाइल कम्पनीहरूले पहिलो त्रैमासिक मुनाफामा तीव्र गिरावट भोगेका छन् । यससँगै धेरै कम्पनीहरूले आगामी वर्षको वित्तीय पूर्वानुमान फिर्ता लिएका छन् । ट्रम्पले अप्रिलको सुरुवातमा अमेरिकी बजारमा प्रवेश गर्ने अटोमोबाइलहरूमा उच्च महसुल लगाउने घोषणा गरेका थिए । त्यसको केही दिनमै उनले कार्यकारी आदेशमार्फत अन्य महसुलहरूसँग दोहोरो असर नपरोस् भनेर समायोजन गर्ने प्रयास गरे । उद्योग विश्लेषकहरू यस्तो अनिश्चित व्यापार नीति दीर्घकालीन लगानीका लागि बाधक बनिरहेको बताउँछन् । स्टेलान्टिसले फिर्ता गर्यो पूर्वानुमान जीप, डोज, फिएट, क्राइसलर र प्यूजोजस्ता ब्रान्ड सञ्चालन गर्ने स्टेलान्टिसले महसुलसँग सम्बन्धित अनिश्चितताका कारण आफ्नो २०२५ वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ । कम्पनीले पहिलो त्रैमासिकमा ३५.८ अर्ब युरो आम्दानी गर्दै गत वर्षको तुलनामा १४ प्रतिशत गिरावट देखाएको छ । मर्सिडिजको मुनाफामा भारी गिरावट जर्मनीको मर्सिडिजले पनि २०२५ को आम्दानी अनुमान हटाएको छ । कम्पनीका अनुसार अहिलेको व्यापारिक अनिश्चितता, महसुल र क्षतिपूर्ति उपायहरूको कारण पूर्ण वर्षको नाफा अनुमान गर्न असम्भव छ । फक्सवागनले पनि दबाब महसुस गर्यो युरोपको सबैभन्दा ठूलो कार निर्माता फक्सवागनले पहिलो त्रैमासिकमा २.९ अर्ब युरो मुनाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशत कम हो । कम्पनीले राजनीतिक अनिश्चितता र उत्सर्जन नीतिलाई मुनाफा घट्नुको कारण बताएको छ । भोल्भोले १८ अर्ब स्विडिश क्रोनर खर्च कटौती गर्ने स्विडेनस्थित भोल्भो कार्सले पनि २०२५ र २०२६ दुबै वर्षको वित्तीय मार्गनिर्देशन फिर्ता लिएको छ। चीनको जीली होल्डिङको स्वामित्वमा रहेको कम्पनीले लागत कटौती योजना अन्तर्गत १.८७ अर्ब डलर बराबरको खर्च कटौती गर्ने जनाएको छ । पोर्शेले पनि बिक्री अनुमान घटायो फक्सवागन समूहअन्तर्गतको पोर्शेले २०२५ का लागि बिक्री राजस्वको अनुमान घटाउँदै ३७–३८ अर्ब युरो रहने जनाएको छ । कम्पनीका अनुसार अमेरिकी आयात महसुलको असर आगामी महिनामा अझ देखिनेछ । विश्लेषकहरूको चेतावनी मर्निङस्टारकी विश्लेषक रेल्ला सुस्किनका अनुसार ट्रम्पको पछिल्लो समायोजनले युरोपेली अटो कम्पनीहरूलाई केही राहत दिएको भए पनि दीर्घकालीन निर्णय लिन अझै अन्योल छ । उनले भनिन्, 'जबसम्म महसुल स्थायी हुने वा कति लाग्ने भन्ने स्पष्ट हुँदैन, कम्पनीहरूले दीर्घकालीन लगानी गर्न सक्दैनन् ।' नयाँ सीईओको खोजीमा टेस्ला
विद्यालयका कर्मचारी अझै असन्तुष्ट, फेरि आन्दोलन गर्ने चेतावनी
काठमाडौं । एक महिनादेखि सडकमा आन्दोलित शिक्षकहरू घर फर्कन नपाउँदै विद्यालय कर्मचारी फेरि सडकमा जाने भएका छन् । बुधबार सरकार र शिक्षकबीच भएको सहमतिमा आपत्ति जनाउँदै आएका कर्मचारीहरू आफूहरूको लडाइँ सरकार र महासंघ विरुद्ध हुने बताएका छन् । विद्यालय शिक्षकको मात्र नभइ कर्मचारीको समेत मुद्दा बोकेर आन्दोलन गरेको महासंघलाई कर्मचारी परिषदले सरकारसँग उधारोमा बिकेको आरोप लगाएको छ । यसविरुद्ध विद्यालय कर्मचारी परिषदले आन्दोलन गर्ने भएको हो । बुधबार साँझ सरकारसँग गरेको सम्झौताका विषयमा समीक्षा गर्न आयोजित कार्यक्रममा कर्मचारीले आफ्ना माग समावेश नगरेको भन्दै प्रतिशोध व्यक्त गरेका थिए। विद्यालय शिक्षक कर्मचारी परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन कस्तो खालको गर्ने भन्ने मोडालिटीबारे धारणा बनाइ गर्न आज साँझ ७ बजे घोषणा गर्ने योजना रहेको बताए । कर्मचारीहरूले शिक्षक महासंघले सरकारसँग गरेको ९ बुँदे सहमति नमान्ने बताएका छन् । उनीहरू त्यो सहमतिमा कर्मचारीका कुनै पनि माग सम्बोधन नभएको बताउँछन्। दुई बुँदामा असहमति विद्यालय कर्मचारी आन्दोलित हुनुको मुख्य कारण दुईवटा मात्र छन् । पहिलो कर्मचारीलाई बिरामीको बिदाको व्यवस्था हुनपर्ने, दोस्रो गएको वर्ष असोजमा शिक्षक संघसँग भएको सम्झौताअनुसार लेखापाल र कर्मचारी संघलाई तलब निश्चित गर्नुपर्ने । अध्यक्ष गंगाराम तिवारीका अनुसार २०८० सालको असोजमा विद्यालय कर्मचारी अन्तर्गत श्रेणीविहीन कार्यालय सहयोगीलाई २६ हजार ८२ र अर्को लेखापाललाई ३४ हजार ९ सय हुनुपर्ने सम्झौता भएको थियो । तर, शिक्षकले सरकारसँग गरेको सम्झौतामा यी दुई बुँदा समावेश नहुँदा कर्मचारीहरू आक्रोशित बनेका हुन् । तिवारीले हिजो सहमति हुँदै गर्दा मन्त्रालयमा आपत्ति जनाएपनि शिक्षक महासंघका नेताहरूले नसुनेको बताए । उनले शिक्षकले गरेका हरेक आन्दोलनमा कर्मचारीको साथ रहेको बताउँदै आफूहरूलाई प्रयोग गरिएको बताए । ‘घाम पानी नभन्दै हामी निरन्तर सडकमा गयौं, तर हाम्रा मागलाई महासंघले उपेक्षा ग¥यो, एक महिनासम्म सडकमा उभिन सक्ने हामी हाम्रा दुई माग समावेश नहुँदासम्म एक वर्षसम्म सडकमा उभिन तयार छौं,’ उनले भने । कर्मचारी बेकारमा आक्रोशमा आए नेपाल शिक्षक महासंघले भने शिक्षकसँगै कर्मचारीका माग पनि ९ बुँदामा समावेश भएको दाबी गरेको छ । बुधबार साँझ शिक्षक कर्मचारी सबैका माग सम्बोधन गरी मन्त्रिपरिषदमा पठाइसकेको बताउँदै कर्मचारी त्यत्तिकै आक्रोशित भएको बताएको छ। शिक्षक महासंघका महासचिव तुला थापाले कर्मचारी आक्रोशित हुनपर्ने, आन्दोलन नै गर्नुपर्ने कुनै कारण नभएको दाबी गर्छन् । 'हामीले कर्मचारी, बालबिकास सहजकर्तादेखि राहात अस्थायी सबै शिक्षकको माग ९ बुँदामा राखेर सहमति गरेका छौं,’ उनी भन्छन्, 'अहिले कर्मचारीले भनेको यी दुई बुँदाका लागि भने नयाँ ऐन अनिवार्य भएकाले समावेश नगरिएको हो ।’ ‘हामीले शिक्षक र कर्मचारी दुवैका मागलाई नौं बुँदामा समेटेका छौं, तर उहाँहरूले कुरै नबुझिकन हामीमाथि एक्कासि आक्रमण गर्न खोज्नुभयो,’ उनले थपे । महासचिव थापाले अहिले ऐन पूरानै भएकाले यी माग पूरा हुन नयाँ ऐन पारित हुनुपर्ने बताउँछन् । उनले कर्मचारीका माग पूरा गर्न हदैसम्म प्रयास गरेको जिकिरसमेत गरे ।
सरकारमा जाने कुनै रुचि छैन, अब नयाँ आन्दोलनमा जाने हो : प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारमा जाने कुनै रुचि नरहेको स्पष्ट पार्दै अब नयाँ आन्दोलन र अभियानतर्फ पार्टी अग्रसर रहेको बताएका छन् । अन्तर्राष्ट्रिय मजदुर दिवस १३६औँ संस्करणको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै दाहालले यथास्थितिवादी शक्तिहरूसँग मिलेर सरकारमा सहभागी हुने कुनै योजना नरहेको बताए । 'हामी जनतासँगै ठिक छौँ, हामी हाम्रो वर्गसँगै ठिक छौँ,' अध्यक्ष दाहालले भने, 'मिडियामा आउने हल्लाबाट कार्यकर्ताहरू भ्रममा नपर्नुहोस् । हामी फेरि नयाँ आन्दोलन, नयाँ आर्थिक क्रान्तिमा प्रवेश गर्दैछौँ ।' उनले संविधान संशोधनसहित मुलुकले भोगिरहेको समस्याहरू समाधान गर्ने मार्ग ‘नयाँ अभियान’ बाट मात्र सम्भव हुने दाबी गरे । दाहालले पछिल्लो समय माओवादी केन्द्रलाई ‘कसैको खुट्टामा नटेकी उभिन नसक्ने’ भन्दै आरोप लगाउने प्रवृत्तिको आलोचना गर्दै, 'हामी आफ्नै खुट्टामा उभिएर चुनाव लड्यौँ, देशकै पहिलो पार्टी भयौँ,' भने । उनी भन्छन्, 'काँग्रेस र एमालेका विद्यार्थी संगठनहरू मिल्दा पनि हामीले स्वतन्त्र विद्यार्थी युनियनमा ऐतिहासिक जित हासिल गरेका छौँ ।' उनले मुलुकमा राजनीतिक परिवर्तन उल्ट्याउने दुस्साहस देखिएको भन्दै त्यसलाई रोक्ने जिम्मेवारी माओवादी केन्द्रको काँधमा आएको बताए । 'अब नयाँ आन्दोलनको समय आएको छ,' दाहालले भने, 'तपाईंहरू पनि आन्दोलनका लागि तयार रहनुहोस् ।'
छ महिनामा दुई हजार बढी पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षको छ महिनाको अवधिमा दुई हजार ३८८ पर्यटकले भ्रमण गरेका छन् । त्यसमा एक हजार १६० महिला र एक हजार २२८ पुरुष पर्यटकले निकुञ्ज भ्रमण गरेका छन् । निकुञ्ज भ्रमण गर्ने आन्तरिक पर्यटकको सङ्ख्या दुई हजार १८१ रहेको छ । सार्क मुलुकका २७ महिला र ६३ पुरुष गरी ९० जनाले निकुञ्जको भ्रमण गरेको निकुञ्ज कार्यालयका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले बताए । उनका अनुसार निकुञ्जमा ४८ महिला र ६९ पुरुष गरी ११७ विदेशी पर्यटकले भ्रमण गरेका छन् । सबैभन्दा बढी चैतमा ५२० पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । कात्तिकमा ३१६, मङ्सिरमा ३८९, पुसमा ४३२, माघमा २७१, फागुनमा ४६० पर्यटक निकुञ्ज घुमेका छन् । उनका अनुसार साउन, भदौ र असोजमा वर्षातका कारण निकुञ्जमा पर्यटकीय गतिविधि शून्य रहेको छ । आव २०८०÷८१ मा निकुञ्जमा चार हजार ५७४ पर्यटक निकुञ्ज घुमेका थिए । त्यसमा एक हजार ७७० महिला र दुई हजार ८०४ पुरुष पर्यटक रहेका थिए । आन्तरिक पर्यटक चार हजार २९४, सार्क मुलुकका पर्यटक १३७ र विदेशी पर्यटक १४३ ले निकुञ्जमा घुमफिर गरेका थिए । विसं २०३१ मा स्थापना भएको निकुञ्ज ३०५ वर्ग किलोमिटरमा फैलिएको छ । थोरै क्षेत्रफलमा बाघको बाक्लो घनत्व भएको क्षेत्रका रुपमा निकुञ्ज परिचित छ । दुर्लभ वन्यजन्तु, पक्षी तथा वनस्पतिका लागि प्रसिद्ध सो निकुञ्जमा विश्वको सबैभन्दा ठूलो बथानमा बाह्रसिङ्गा पाइन्छ । नेपालका संरक्षित क्षेत्रका सबैभन्दा ठूलो घाँसे मैदान शुक्लाफाँटामा बाह्रसिङ्गाको बथान हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकको लर्को लाग्ने गरेको छ । निकुञ्जमा जंगली हात्ती, पाटेबाघ, एक सिङ्गे गैंडा, चितुवा, घोडगधा, बाह्रसिङ्गा, कृष्णसार, बदेँल, जरायो, चित्तल, लगुना लगायतका ५३ बढी स्तनधारी वन्यजन्तु पाइने गरेका छन् । निकुञ्जभित्र रहेका रानी ताल लगायतका अन्य तालमा मगर गोही पाइन्छन् । रैथाने र बसाइ सरी आउने गरी ४४९ भन्दा बढी चराचुरुङ्गी पाइन्छन् । निकुञ्जमा १२ प्रजातिका घस्रने वन्यजन्तु, २० प्रजातिका उभयचर, २४ प्रजातिका माछा र ३५ प्रजातिका पुतली पाइन्छन् ।
जेठ ७ गतेदेखि सीप मेला सुरु गरेर २ हजार जनालाई तालिम दिने महानगरको तयारी छ : बालेन
काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी जेठ ७ गतेदेखि टुँडिखेलमा ‘सीप मेला २०८२’ आयोजना गर्ने भएको छ। दोस्रो संस्करणमा प्रवेश गर्न लागेको मेलामार्फत २ हजार ८२ जनालाई सीपमूलक तालिममा सहभागी गराउने लक्ष्य रहेको प्रमुख बालेन्द्र शाह (बालेन) ले बताएका छन् । विश्व मजदुर दिवस २०८२ को सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शाहले सिपयुक्त जनशक्ति तयार पार्न सके मात्र सुरक्षित रोजगारी, उत्पादन वृद्धि र आर्थिक समृद्धिमा टेवा पुग्ने बताए । महानगरले आर्थिक वर्ष २०८०/८१ बाट सञ्चालनमा ल्याएको गौरव योजना ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत यो मेला दोस्रो पटक हुन लागेको हो । पहिलो संस्करणमा २ हजार ५ सय ७५ जनाले तालिम लिएका थिए । श्रम बजारमा सिपयुक्त जनशक्तिको अभाव र युवाहरूको वैदेशिक रोजगारीतर्फको आकर्षणलाई ध्यानमा राखी देशमै रोजगारी सिर्जना गर्ने उद्देश्यले मेलाको निरन्तरता दिइएको हो । यस वर्ष १० विधामा ३० विषयमा तालिम हुने र ती विषय उद्योग, श्रम बजार तथा समाजको मागलाई आधार मानेर छनोट गरिएको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिइन् । गत वर्ष तालिमका लागि फारम भरे पनि सहभागी हुन नपाएका, महानगरमा बसोबास गरिरहेका, ल्याण्डफिल साइट प्रभावित क्षेत्रका बासिन्दा, फरक क्षमता भएका व्यक्ति तथा सडक व्यापारमा संलग्न रहेकाहरुलाई तालिममा प्राथमिकता दिइनेछ । ‘शिक्षालाई सिपसँग, सिपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग’ जोड्ने रणनीति अनुसार, मेलाबाट प्राप्त सिपले युवालाई रोजगार र स्वरोजगारको अवसर दिने अपेक्षा गरिएको छ ।
कर्मचारी भन्छन्– शिक्षकका नेता बिके, अब हामी आन्दोलन गर्छौं
काठमाडौं । सरकार र शिक्षकबीच भएको ९ बुँदे सहमतिमा नेपाल विद्यालय कर्मचारी परिषदले विरोध जनाएको छ । बुधबार ७ घण्टा लगातार वार्ता गरेर ९ बुँदे सहमति गरेका शिक्षकले आफ्नो मागप्रति वेवास्ता गरेको भन्दै कर्मचारी परिषदले विरोध गरेको हो । शिक्षकसँगै लगातार सडकमा बस्दै आएका हुन् । शिक्षक महासंघले सरकारसँग गरेको वार्ताको बारेमा जानकारी गराउन बिहीबार दिउँसो मध्यबानेश्वरको रत्नराज्य लक्ष्मी माविमा आयोजना गरेको कार्यक्रममा विद्यालय परिषदका कर्मचारीले विरोध जनाउँदै हो हल्ला गरेका छन् । ९ बुँदे मागमा विद्यालय कर्मचारीका माग समावेश नगरेको भन्दै परिषदका अध्यक्ष गंगाराम तिवारीले आन्दोलन गर्ने चेतावनी दिए । सारा काम छोडेर शिक्षकसँगै होमिएको अवस्थामा आफूमाथि शिक्षकले नै विभेद गरेको भन्दै कर्मचारीले कार्यक्रममा हो-हल्ला गरेका छन् ।
ढुक्क भएर लगानी गर्नुस्, सरकारको साथ सहयोग हुन्छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीका लागि बहुतै उपयुक्त वातावरण रहेकाले ढुक्क भएर लगानी गर्न स्वदेशी र विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ को आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अनेक हिसाबले जुनसुकै क्षेत्रमा नेपालमा लगानीका निम्ति उपयुक्त वातावरण रहेकाले आन्तरिक र बाह्य लगानी परिचालनमा ध्यान दिन प्रशासनिक क्षेत्रलाई पनि आग्रह गरे । प्रधानमन्त्री ओलीले भने, 'कोशी प्रदेश पूर्वाधार विकास र सडक सञ्जालसँग पूर्ण रूपमा जोडिएको प्रदेश हो । हामी एसियाली स्तरको छ लेनको पूर्व–पश्चिम राजमार्ग निर्माण गर्दैछौं । लगानी गरेर उत्पादन बजारमा लैजाने समयसम्म त्यो राजमार्ग तयार भइसकेको हुनेछ। कच्चा पदार्थ आयात गर्न र उत्पादन निर्यात गर्न कुनै रोकावट छैन ।' उनले थपे, 'कोशी प्रदेशका विभिन्न कोरिडोर र नाकाहरूसम्म पहुँच हुने सडकहरू निर्माण भइसकेका छन् । विराटनगरसहितका विमानस्थलहरू पनि विस्तार हुँदैछन् । यस प्रदेशमा सांस्कृतिक, धार्मिक, पर्यटकीय स्थलहरू छन् । सगरमाथासहितका हिमाल र बहुमूल्य जडिबुटीहरू पाइन्छन् । यहाँका जनता शिक्षित र मेहनती छन्, त्यसैले कोशी प्रदेशमा लगानीको प्रचुर सम्भावना छ ।' प्रधानमन्त्री ओलीले उद्यमशीलता दशक मनाउन सकिए रोजगारी दशक सफल हुने उल्लेख गर्दै भने, 'म युवाहरुलाई भन्न चाहान्छु, जागिरको खोजीमा नभौँतारिनुस्, उद्यमशीलतामा लाग्नुस् । त्यसका लागि सोच, तालिम र सहयोगमा सरकारले साथ दिन्छ ।’ प्रधानमन्त्री ओलीले विश्वको सर्वोच्च शिखर सगरमाथालाई सगरमाथाकै नामबाट विश्वमा ब्राण्डिङ गर्न आग्रह गर्दै ‘माउन्ट एभरेष्ट’ भनिरहन नपर्नेमा जोड दिए । प्रधानमन्त्री ओलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको मान्यताअनुसार श्रमको सम्मान दिन तथा रोजगारादाता र श्रमिकबीच संवादका साथै युनियन अधिकारको रक्षाका लागि नेपाल सरकार स्पष्ट रहेको पनि लगानीकर्तालाई अवगत गराए । प्रधानमन्त्री ओलीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीसहितले स्वागत गरेका थिए ।
दार्चुलाको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ, ७ महिनादेखि तलब पाएका छैनन् स्वास्थ्यकर्मीले
दार्चुला । शैल्यशिखर नगरपालिका मातहतमा रहेको गोकुलेश्वर अस्पताल सञ्चानलमै कठिनाइ हुँदै आएको छ । बजेट र जनशक्ति अभावमा अस्पताल सञ्चालनमा कठिनाइ भइरहेको हो । बैतडी र दार्चुलाको मुख्य केन्द्रविन्दुमा पर्ने सो अस्पतालमा मेडिकल सुपरिडेन्ट नवौं तहको दरबन्दी स्थापनादेखि रिक्त छ । दुई जना मेडिकल अधिकृत करारमा छन् । 'मेडिकल अधिकृतको दरबन्दी भए पनि पुरै समय यहाँ बस्नसक्ने अवस्था छैन्', नगरपालिकाका स्वास्थ्य संयोजक शिवदत्त जोशीले भने, 'सेवा सुविधाको कमीले गर्दा यहाँ बस्न रुचि कमैले देखाउने गरेका छन् ।' तोकिएको तलबबाहेक स्थानीय सरकारले थप बजेट दिएर चिकित्सक टिकाउनुपरेको छ । अस्पतालमा डा मनोजबहादुर पाल र उत्तमसिह धामी मात्रै कार्यरत छन् । राम्रो सेवा सुविधा दिन नगरपालिकाले मात्रै सक्दैन । डाक्टर टिकाउन सेवा सुविधा जरुरी हुने जोशीको भनाइ छ । अस्पतालसँग प्रयाप्त मात्रामा भौतिक पूर्वाधार छैन । आव २०५५/५६ मा प्राथमिक स्वास्थ्य केन्द्र हुँदा निर्माण गरिएको भवनबाट सेवा दिनुपरेको छ । तीन शय्या भएको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै अहिले १५ शैय्यामा पुर्याइएको छ । पूरानै भवनलाई अहिले काम चलाउको रुपमा सञ्चानलमा ल्याइएको स्वास्थ्य संयोजक जोशी बताउँछन् । सडक मार्गले नजिक भएका कारण पनि गोकुलेश्वर अस्पतालमा सेवाग्राही बढी हुने गर्छन् । नगरपालिकाको स्रोतले मात्रै अस्पताल सञ्चानल गर्नमा समस्या भइरहेको छ । अस्पताल सञ्चालनका लागि प्रदेश सरकारबाट सहयोग पनि नपाइएको उनको गुनासो छ । छिमेकी जिल्ला बैतडी र दार्चुलाका स्थानीय तहसँगको अन्तरपालिका समन्वय बैठक हुँदा पनि अस्पताल सञ्चालनमा सहयोग जुट्न नसकेको स्वास्थ्य संयोजक जोशी बताउँछन् । अरु कहिँबाट बजेट र उपकरण सहयोग नआएपछि अस्पतालको अवस्था दिनानुदिन कमजोर हुँदै गएको छ । यो अस्पतालमा दार्चुलाका लेकम गाउँपालिका, शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका, नौगाड गाउँपालिका र अपिहिमाल गाउँपालिकाका बिरामी चेकजाँचको लागि आउने गर्छन् । यस्तै छिमेकी जिल्ला बैतडीको डिलाशैनी नगरपालिका, दोगडाकेदार गाउँपालिका, पूर्चौडी नगरपालिका र बझाङको बुङ्गल नगरपालिकाका सेवाग्राही अस्पतालमा पुग्ने गरेका छन् । महाकाली राजमार्गसँग जोडिएको शैल्यशिखरबाट जिल्ला अस्पतालसम्म पुग्न तीन घण्टा समय लाग्छ । गोकुलेश्वरमा निको नहुने बिरामी डडेल्धुरा अस्पताल वा धनगढी रिफर गर्न सजिलो हुने भएकाले यहाँको अस्पताल बिरामीका लागि पहिलो रोजाइ बन्ने गरेको अस्पतालका चिकित्सक डा पाल बताउँछन् । अस्तालसँग भएका उपकरण बिग्रिँदै जानु तथा मर्मतमा समेत कसैले चाँसो नदिँदा अस्पतालको सेवा प्रवाहमा समस्या भएको छ । यो अस्पताललाई प्रदेश सरकार मातहत लगाउने विषयमा छलफल भइरहेको नगर प्रमुख विजयसिह धामीले बताए । 'सुरुमा छिमेकी स्थानीय तहसँग छलफल गर्छौं', उनले भने, 'सेवा सुविधामा साझेदारी गर्न तयार हुन्छन् भने स्थानीय मातहतमै चलाउँछौ, तर सहकार्य नहुने हो भने शैल्यशिखर नगरपालिकाले मात्रै अस्पताल धान्न सकिँदैन ।' अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा सेवा प्रवाहमा समस्या अस्पतालको अल्ट्रासाउण्ड मेसिन बिग्रिँदा बिरामीको जाँचमा समस्या भएको छ । तीन महिनादेखि अल्ट्रासाउण्ड मेसिन बिग्रिएको अस्पतालले जनाएको छ । मेसिन मर्मत हुन नसक्दा अस्पतालमा आउने बिरामीको जाँचमै समस्या भएको नगर स्वास्थ्य संयोजक जोशीले जानकारी दिए । 'अस्पतालसँग सुरुमा तीन वटा अल्ट्रासाउण्ड मेसिन थियो', जोशीले भने, 'दुई मेसिन यसअघि नै बिग्रिए, एउटा चैतदेखि बिग्रिपछि समस्या भएको छ ।' अस्पतालमा दैनिक सयौं बिरामी आउने गर्छन् । यो अस्पताल दार्चुलाको मात्र नभइ बैतडीका सेवाग्राहीका लागि पनि केन्द्रमा पर्दछ । अस्पतालमा भिडियो एक्सरे गर्नुपर्ने गर्भवतीको सङ्ख्या नै दैनिक १५/२० जना आउँछन् । त्योबाहेक सामान्य बिरामी सयौं हुन्छन् । चिकित्सक पालका अनुसार अस्पताल आउने बिरामीको भिडियो एक्सरे नहुँदा सास्ती छ । एक महिना अघि सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले मर्मत गरिदिन्छु भनेर पठाइएको अल्ट्रासाउण्ड मेसिन अझै बनेको छैन । उनका अनुसार बिग्रिएको मेसिन पनि प्रभावकारी थिएन । मेसिन बने नबनेको जानकारी समेत आएको छैन । सात महिनादेखि तलब पाएका छैनन् स्वास्थ्यकर्मीले यहाँका स्वास्थ्यकर्मीले सात महिनादेखि तलब लगायतका सेवा सुविधा पाएका छैनन् । तलबसमेत समयमै नआउँदा स्वास्थ्यकर्मीलाई काम गर्न धौ–धौ भइरहेको छ । संघीयअन्तर्गत कार्यरत कर्मचारीले समयमै तलब पाए पनि स्थानीय तह र स्थानीय तहले थप गर्नुपर्ने सेवा सुविधा समयमै नपाउँदा स्वास्थ्यकर्मीलाई समस्या भएको छ । नगरपालिकाले करारमा भर्ना भएका कार्यालय सहयोगी, स्वीपरदेखि अहेवसम्म १५ कर्मचारीले सात महिनादेखि तलब पाएका छैनन् । 'सुरुमा तीन महिनाको तलब निकासी भएको छ', स्वास्थ्यकर्मी भन्छन्, 'त्योबाहेक हालसम्म तलबसमेत खान पाएका छैनौं ।' अस्पतालमा कार्यरत दुई चिकित्सकको नगरपालिकाले थप गर्नुपर्ने तलबसमेत गएको छैन । सेवा सुविधा नहुँदा स्वास्थ्यकर्मीलाई काम गर्नसमेत समस्या भएको छ । स्वास्थ्य संयोजक जोशी स्थानीय सरकारबाहेक कसैले सहयोग नगर्दा तलब लगायतका सेवा सुविधा व्यवस्थापनमा समस्या भएको स्वीकार गर्छन् । पूर्वाधार, जनशक्ति र मेसिन खरिदमा कसैको सहयोग जुटेको छैन । स्थानीय स्रोत र राजस्वमार्फत सञ्चालन निकै चूनौतिपूर्ण रहेको उनको भनाइ छ । स्वास्थ्यकर्मीलाई तलब लगायतका सेवा सुविधा समयमै व्यवस्थापनमा आफुले पहल गरिरहेको उनले बताए । रासस