विकासन्युज

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

इलाम । विगतका वर्षहरूमा न्यून सङ्ख्यामा पर्यटकको चहलपहल हुने माईजोगमाईमा यतिबेला आन्तरिक तथा बाह्य पर्यटकको उपस्थिति बाक्लिएको छ । कोशी प्रदेश सरकारले २० किलोमिटर फिक्कल-नयाँबजार सडक कालोपत्र गरेपछि आवतजावतमा सहज भएसँगै माईजोगमाईमा पर्यटक पुग्न थालेका हुन् ।   'माइजोगमाई-२ तुम्लिङबाट यसअघिका वर्षहरूमा पनि कञ्चनजङ्घा हिमाल देखिने भए पनि पर्यटकको उपस्थिति कम थियो । तराईबाट कन्याम हुँदै इलाम आएका पर्यटकलाई तुम्लिङ पुग्न सहज सडक थिएन', गाउँपालिकाका अध्यक्ष कुशबहादुर थेबेले भने, 'कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिका–९ बरबोटेबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म कालोपत्रसहित सुविधासम्पन्न सडक निर्माण गरेपछि यहाँका पर्यटकीयस्थलमा पर्यटकको चहलपहल बढेको छ ।' उनका अनुसार तीन हजार १०० मिटर उचाइमा रहेको तुम्लिङ पुगेपछि विश्वको तेस्रो अग्लो (८,५८६ मिटर) कञ्चनजङ्घा हिमाल हेर्ने पर्यटकको घुइँचो लाग्न थालेको हो ।  'हिमाल हेरेरै बसिरहुँ लाग्यो, फुत्त उफ्रिदा हिमाल छोइएलाजस्तो, चिसो हावाको स्पर्श कति आनन्द', झापाबाट घुुम्न आएका टीकाराम बाँस्तोलाले भने, 'पहिले व्यवस्थित सडक नभएका समस्या थियो । मेची राजमार्गबाट एक घण्टामा अपुगिने रहेछ । यस क्षेत्रमा घुम्ने ठाउँ प्रशस्त छन् ।'  तुम्लिङका साथै नयाँबजार, थुम्के, मेग्मा, जौबारी, कालपोखरीलगायत इलामका उत्तरी भेगका लेकाली क्षेत्र नेपाल-भारत सीमामा पर्ने आकर्षक पर्यटकीयस्थल हुन् ।  हिमाल हेर्न, झुल्के घामको दृश्यावलोकन गर्न, लोपोन्मुख वन्यजन्तु रेडपाण्डा हेर्न र औषधीय गुण भएका जडीबुटी खोज्न पाइने भएपछि खोज, अनुसन्धान तथा अवलोकनका लागि नेपालसहित भारत, भुटान, बङ्गलादेशलगायत मुलुकबाट पर्यटक यहाँ आउने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए ।   प्रदेश सरकारले मेची राजमार्गमा पर्ने सूर्योदय नगरपालिकाको फिक्कल बजारबाट माईजोगमाईको केन्द्र नयाँबजारसम्म जोडिने २० किमी सडक स्तरोन्नति र कालोपत्र गरेपछि यात्रा सहज भएकाले पर्यटक भित्रिने क्रम वृद्धि भएको उनले बताए ।   'सडक बनेपछि यात्रा गर्न सजिलो भएको छ, तराईबाट आउने पर्यटक कन्याम, फिक्कल हुँदै सिधैँ नयाँबजार आएर हिमाल हेर्न, रेडपाण्डाबारे बुझ्न र जडीबुटी खोजी गर्न तुम्लिङतर्फ गर्नुभएको छ', उनले भने । जैविक विविधताले भरिएको माईजोगमाई प्रचारप्रसारको अभावमा ओझेल परेपछि गाउँपालिकाले पर्यटन प्रवर्द्धनको काम सुरु गरेको अध्यक्ष थेबेले उल्लेख गरे । पर्यटकीयस्थललाई प्रवर्द्धन गर्न ‘टुरिज्म एप’ सञ्चालनमा ल्याइएको पालिकाका उपाध्यक्ष प्रवीना राईले जानकारी दिइन् । 'एपमा यहाँका पर्यटकीयस्थल समेटेर सूचना राखिएका छन्', उनले भनिन्, 'त्यसका साथै कृषि, धार्मिक, सांस्कृतिक एवं यहाँका पुरातात्विक सम्पदाका विषयम पनि समावेश छन् ।'  देशविदेशमा बसेर पनि माईजोगमाईमा कहाँ–कहाँ पर्यटकीय क्षेत्र छन् भन्नेबारे जानकारी लिन सकियोस् भन्ने उद्देश्यले एप सार्वजनिक गरिएको उनले उल्लेख गरिन् ।  यहाँस्थित थुम्केरानीबाट झुल्के घामका साथै १० वटै स्थानीय तह, भारतका विभिन्न ठाउँ र तराईका फाँटको दृश्यावलोकन गर्न सकिन्छ । पर्यटकले गाउँपालिकाको केन्द्र नयाँबजारबाट थुम्केरानी, जौबारी, तुम्लिङ, टङ्लु, मेग्मासम्मको पैदलयात्रा गर्छन् । जङ्गल सफारी र दुर्लभ रेडपाण्डाको अवलोकन पर्यटकका लागि यहाँँ थप आकर्षक बनेका छन् ।  विश्वको तेस्रो अग्लो हिमशृङ्खला, दुर्लभ वन्यजन्तु रेडपाण्ड, एसियाको दोस्रो पुरानो मेग्मा गुम्बा अवलोकन गर्न सकिने नयाँबजारका पर्यटन व्यवसायी देवी अधिकारीले बताइन् । उनका अनुसार माईजोगमाई–२ र ६ को सङ्गमस्थलमा पर्ने थुम्के डाँडामा पछिल्लो समय पर्यटकको चहलपहल बढ्दै गएको हो ।  लेकाली जीवजन्तुको अवलोकन, सूर्योदयको मनोरम दृश्यले भरिएको यस क्षेत्रमा दैनिक सयौँको सङ्ख्यामा पर्यटक पुग्ने गरेका गाउँपालिका अध्यक्ष थेबेले जानकारी दिए । थुम्के र जौबारीमा गरिएको केसरखेतीले पर्यटकलाई तान्न थालेको छ । पालिकाको थुम्केसहित माथिल्लो लेकाली क्षेत्रको विस्तृत अध्ययन गरी पर्यटन पूर्वाधारका काम थालिएको उनले बताए ।  पालिकामा उत्तरे पोखरी, शिव मन्दिर बौद्धगुम्बासहित विभिन्न देवस्थलसहितका धार्मिक पर्यटकीयस्थल पनि छन् । पर्यटन पूर्वाधारका काम केही भएका छन् भने बाँकी निर्माणाधीन रहेका थेबेको भनाइ छ । 'भगवान् गौतमबुद्धको सालिक, गणेशको मूर्ति, राजा यलम्बरको सालिक र लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको मूर्ति बनिएका छन्', उनले भने । पाँच सय ६१ मिटरबाट तीन हजार १०० मिटरसम्मको उचाइमा माईजोगमाईको भूगोल पर्दछ । यो क्षेत्र कृषि उत्पादनको उर्वर भूमि भएकाले कृषि पर्यटनलाई विकास गर्ने पालिकाको तयारी छ । धान, अलैँची, आलु, किवी, केसर, चिराइतोलगायत खेतीका साथै उच्च हिमाली जडीबुटी पाइने भएकाले आर्थिक समृद्धि हासिल गर्ने यात्रामा पालिका अघि बढेको पालिकाका उपाध्यक्ष राईले बताए । उनका अनुसार यस क्षेत्रमा ऐतिहासिक जौबारी बजारसहित मुलुकको ठूलो आलु विकास केन्द्र पनि छ । रासस

कानुनअनुसार म्याचिङ प्रणाली लागू गर्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण

काठमाडौं । स्नातक तहको मेडिकल र प्यारा मेडिकलतर्फमा विद्यार्थी भर्नाको म्याचिङ प्रणाली नमिलेको पाइएको छ । महालेखा परीक्षाको ६२ औं प्रतिवेदनले म्याचिङ प्रणाली लागू गर्न चिकित्सा शिक्षा आयोगको ध्यानाकर्षण गरेको छ ।  चिकित्सा शिक्षामा विद्यार्थी भर्ना राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ को दफा १७ मा चिकित्सा शिक्षा आयोगले प्रत्येक वर्ष शिक्षण संस्थाको लागि सिट सङ्ख्या तोकी प्रवेश परीक्षाबाट छनोट भएका विद्यार्थीलाई म्याचिङ प्रणाली अनुरूप भर्ना गर्नुपर्ने व्यवस्था छ ।  तर यो वर्ष स्नातक तहतर्फ मेडिकल र प्यारा मेडिकलसमेत १५ कार्यक्रमको लागि निर्धारित ७ हजार ६ सय ६ सिटको लागि ५२ हजार ७ सय ८१ विद्यार्थी प्रवेश परीक्षामा सामेल भई २३ हजार २ सय ८६ (४४.१२ प्रतिशत) उत्तीर्ण भएका र सोमध्ये ६ हजार ३ सय ४२ (२७.२३ प्रतिशत) ले भर्ना पाएका छन् ।  त्यस्तै, स्नातकोत्तर तहतर्फ ११ कार्यक्रममा १ हजार ७ सय २४ सिटको लागि ९ हजार ६ सय २ विद्यार्थी प्रवेश परीक्षामा सामेल भई ४ हजार ४ सय ५२ उत्तीर्ण भएको र सोमध्ये १ हजार ४ सय ६७ (३२.९५ प्रतिशत) जनाले भर्ना पाएका छन् ।  प्रवेश परीक्षामा उत्तीर्ण हुनेको सङ्ख्या उल्लेख्य भए पनि आयोगले निर्धारण गरेको सिटमध्ये स्नातक तहमा १ हजार २ सय ६४ र स्नातकोत्तर तहमा २ सय ५७ सिटमा विद्यार्थी भर्ना भएका छैनन् । आयोगले विभिन्न कार्यक्रमको लागि निर्धारित सिटमा विद्यार्थी भर्ना न्यून हुनाको कारण पहिचान गरी यसमा सुधार गर्नुपर्ने देखाएको छ ।

सञ्चय कोषको ४ अर्ब लगानी डुब्यो, निगमलाई दिएको ऋणको साँवा ब्याज पनि  साढे २८ अर्ब पुग्यो

काठमाडौं । कर्मचारी सञ्चय कोषको झण्डै चार अर्ब रुपैयाँ ऋण असुल नभएको देखिएको छ । महालेखा परीक्षककको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनका अनुसार कोषको ३ अर्ब ९९ करोड रुपैयाँ उठ्न नसकेको हो ।  कोषले कर्जा, लगानी तथा असुली नीति, २०७७ को बुँदा नं. ८.२.३ (ख) बमोजिम कर्मचारी सञ्चयकोषले प्रवाह गरेको कर्जामध्ये खराब कर्जाको रूपमा ब्याज समेत हिसाब गर्दा ११ वटा व्यापारिक फर्मले सो रकम नतिरेको उल्लेख छ । जसमा ६ कम्पनी, ४ उद्योग तथा एक होटलसमेत गरी ११ व्यापारिक फर्महरू रहेको उल्लेख छ ।  कर्जा लगानी तथा असुली कार्यविधि तथा सम्झौताअनुसार साँवा र ब्याज असुल नभएकोले थप छानबिन गरी सो ऋणको साँवा र ब्याज असुल गर्नुपर्ने राय कार्यालयको छ ।  यस्तै, कर्मचारी सञ्चय कोष र नेपाल वायु सेवा निगमबीच २०७० मा मा ए ३२० न्यारोबडी एयरबस २ थान खरिद गर्नका लागि नेपाल सरकारको १० अर्ब रुपैयाँको जमानीमा ९ अर्ब ९८ करोड ११ लाख १७ हजार रुपैयाँ र २०७४ मा ए३३० वाइडबडी एयरबस १ थान खरिद गर्नको लागि नेपाल सरकारको १२ अर्ब रुपैयाँ को जमानीमा ११ अर्ब ९९ करोड ६१ लाख रुपैयाँको ऋण उपलब्ध गराउने गरी सम्झौता भएकोमा उक्त ऋण सम्झौताअनुसार निगमले ब्याज भुक्तानी नगरेकोले ब्याजसमेत पुँजीकरण गर्न कोषको सञ्चालक समितिबाट निर्णय भएअनुसार साँवा रकम बढाएर २८ अर्ब ५७ करोड ३५ लाख रुपैयाँ ऋण कायम गरेको पनि उल्लेख छ ।  त्यस्तै, नागरिक लगानी कोषको कर्मचारी बचत वृद्धि अवकाश कोष मार्फत १२ अर्ब रुपैयाँको दीर्घकालीन ऋण प्रवाह गरेकोमा नेपाल वायुसेवा निगमसँग २०८१ असार मसान्तसम्म पुँजीकृत गरिएको ब्याज रकमसमेत १९ अर्ब ३९ करोड ९ लाख ८४ हजार रुपैयाँ ऋण लगानी देखिएको छ । कोषले निगमबाट सम्झौता बमोजिम ऋण लगानीको रकम प्राप्त नगरेको पनि प्रतिवेदनमा उल्लेख छ । सम्झौताबमोजिम विशेष खातामा रकम जम्मा गर्न लगाई ऋण प्राप्तिको तालिका बमोजिम ऋण फिर्ता प्राप्त गर्नुपर्ने राय कार्यालयको छ । नेपाल सरकारले जमानी दिँदा यस्ता ठूला र दीर्घकालीन परियोजनाका विस्तृत अध्ययन, जोखिम विश्लेषण, परियोजनाको सबल तथा दुर्बल पक्षहरू र कर्जा लिनेको व्यवसायीक योजना जस्ता विषयमा अध्ययन, विश्लेषण र मूल्याङ्कनपश्चात कर्जा प्रवाह गर्नुपर्ने, त्यसैगरी उक्त रकमलाई खाम्ने गरी जमानत लिने व्यवस्था मिलाइ कर्जा असुल पर्ने सुझाव महालेखाको छ । 

जलविद्युत् आयोजनाका लागि विद्युत् प्राधिकरणले गर्‍यो पीपीए आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले खरिद-बिक्री सम्झौता (पीपीए) का लागि प्रवर्द्धकहरूलाई आह्वान गरेको छ ।  बुधबार एक सूचना प्रकाशित गरी प्राधिकरणले पीपीए प्रक्रियामा रहेका प्रवर्द्धक कम्पनी र विद्युत् नियमन आयोगबाट पीपीएको मस्यौदामा सहमति प्राप्त भई पीपीएमा हस्ताक्षर गर्ने प्रयोजनार्थ अख्तियारी, पर्फरमेन्स बैंक जमानत र पीपीए शुल्क बुझाउन पत्राचार गरिएको प्रवर्द्धक कम्पनीलाई पीपीएका लागि आह्वान गरेको हो । प्राधिकरणको सञ्चालक समितिको गत वर्षको चैत्र १२ को ९९४ ‍‍‍औं बैठकबाट नेपाल सरकारको मन्त्रिपरिषदबाट गत पुस १६ गते स्वीकृत ऊर्जा विकास मार्गचित्र २०८१ अनुसार सन् २०३५ भित्र नेपालको कुल जडित २८ हजार ५ सय लक्ष्य प्राप्तिका लागि गत चैत्र १२ गतेसम्म ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भइसकेका १० मेगावाट बढी क्षमताका विभिन्न जलविद्युत आयोजनाका ग्रिड कनेक्सन एग्रिमेन्टको प्रावधान अनुसार खरिद बिक्री सम्झौता पीपीए अगाडि बढाउने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ । बुधबारबाट ३० दिनको समय राखेर प्रकाशित सूचनाअनुसार तोकिएको अवधिभित्र निवेदन प्राप्त नभए वा निवेदनमा चाहिने कागजात नपुगे त्यस्ता आयोजनालाई रोलक्रमबाट हटाई रोलक्रमका आधारमा ग्रिड कनेक्सन एग्रिमेन्ट सम्पन्न भएका त्यसपछिका आयोजनाको पीपीए प्रक्रिया अगाडि बढाइने समेत प्राधिकरणले जनाएको छ। सूचना :

नक्कली प्रमाणपत्र पेस गरी स्थायी नियुक्ति लिएका शिक्षकमाथि मुद्दा

काठमाडौं । खैरहनी माध्यमिक विद्यालय चितवनमा कार्यरत एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको अभियोगमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । खैरहनी नगरपालिका–६ स्थित सो विद्यालयमा मावि द्वितीय तहका स्थायी शिक्षक गोपाल प्रसाद शर्माले भारतको माध्यमिक शिक्षा परिषद् उत्तर प्रदेशबाट प्राप्त भएको भनिएको प्रवीणता प्रमाणपत्र तहको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको खुलेको हो । प्राप्त उजुरीको आधारमा अनुसन्धान गर्दा शर्मा द्वारा पेश गरिएको प्रमाणपत्र नक्कली रहेको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । शर्मा नक्कली प्रमाणपत्र प्रयोग गरी शिक्षक पद, लाभ तथा सेवा सुविधा लिएको ठहर गर्दै साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र २९ तथा हाल प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ (१०) बमोजिम कारबाहीको मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको हो । आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार शर्मा विरुद्ध कैद र जरिवाना दुवैको मागदाबी गरिएको छ।

सेयर बजारमा १३ अंकको गिरावट, ओम मेगाश्रीमा सकारात्मक सर्किट

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३ अंकले घटेर २६२० बिन्दुमा झरेको छ । आज ६२ कम्पनीको मूल्य बढ्दा १८३ कम्पनीको मूल्य घटेको छ । एउटा कम्पनीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।  बुधबार ३१५ कम्पनीको १ करोड ८४ लाख कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ७३ करोड रुपैयाँ बढीको कारोबार भएको छ । जसमध्ये सबैभन्दा धेरै कारोबार राधी विद्युत कम्पनीको भएको छ । राधीको ५९ करोड रुपैयाँ बढीको कारोबार भएको छ ।  साथै, युनिभर्सल पावर कम्पनीको ५१ करोड, क्रेस्ट माइक्रो लाइफको ५१ करोड, न्यादी ग्रपको ४८ करोड र लुम्बिनी विकास बैंकको ३५ करोड रुपैयाँ बढीको कारोबार भएको छ । आज ओम मेगाश्री फर्माको सेयर मूल्य ९.९८ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  

डोलेश्वर रिसोर्टको आईपीओ तयारी, सिटिजन्स क्यापिटलसँग परामर्श सम्झौता

काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउस र सिटिजन्स क्यापिटल लिमिटेडबीच संस्थागत परामर्शसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा डोलेश्वर रिसोर्टका तर्फबाट अध्यक्ष रामनाथ मैनाली र सिटिजन्स क्यापिटलका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि सिटिजन्स क्यापिटलले डोलेश्वर रिसोर्टलाईबाट पब्लिक कम्पनीमा रूपान्तरण गर्ने प्रक्रिया तथा प्राथमिक सेयर निष्कासन का लागि आवश्यक परामर्श सेवा उपलब्ध गराउनेछ । २०७६ सालदेखि सञ्चालित डोलेश्वर भिलेज रिसोर्ट भक्तपुरको डोलेश्वरमा १० रोपनी क्षेत्रफलमा फैलिएको छ । हाल १५ कोठा रहेको रिसोर्टले कोठा संख्या बढाएर ३५ पुर्‍याउने योजना बनाएको छ । साथै, निर्माणाधीन स्वीमिङ पुल लगायतका पूर्वाधारहरू यो आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ  रिसोर्टमा ३ सय जनासम्मको क्षमता भएको ठूला–साना गरी ३ वटा सभा हलहरू रहेका छन् । विवाह, ब्रतबन्ध, सेमिनार, गोष्ठी तथा पिकनिकका लागि लोकप्रिय गन्तव्यको रूपमा परिचित यो रिसोर्ट प्रसिद्ध धार्मिक स्थल डोलेश्वर महादेव मन्दिरबाट केवल २०० मिटर दूरीमा अवस्थित छ ।

४६ अर्ब डलरको योजना : नेपालको जलविद्युतमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई कार्कीको आग्रह

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणशे कार्कीले नेपालको जलविद्युत क्षेत्रमा लगानी गर्न फ्रान्सेली लगानीकर्तालाई आग्रह गरेका छन् । फ्रान्सको राजधानी पेरिसमा आयोजित फ्रान्स-नेपाल जलविद्युत् लगानी सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष कार्कीले दक्षिण एसियामा बढीरहेको ऊर्जाको माग पूरा गर्न नेपालको जलविद्युतको महत्वपूर्ण भूमिका रहने हुनाले बजारको चिन्ता नगरी नेपालमा लगानी गर्न आग्रह गरेका हुन् । सन १९९९ अघि नेपालको कुल विद्युत उत्पादन क्षमता २५० मेगावाट रहेकोमा निजी क्षेत्र प्रवेश गरेको २५ वर्षमै आज नेपालले ३,५०० मेगावाट विद्युत उत्पादन क्षमता पुर्‍याएको छ । यसमा निजी क्षेत्रको योगदान ८० प्रतिशत अर्थात २८०० मेगावाट पुगेको कार्कीले जानकारी गराए । नेपालले प्राप्त गरेको यस उपलब्धीमा फ्रान्सको पनि साथ र सहयोग रहेको स्मरण गराउँदै कार्कीले द्विपक्षीय सम्बन्ध, वित्तीय उपकरण, प्राविधिक सहयोग र संस्थागत विकासमा नेपाल र फ्रान्सले सहयकार्य गरिरहेको पनि बताएका थिए । यस्ता साझेदारीले दिगो, समावेशी र जलवायु प्रतिरोधी ऊर्जा विकासप्रति नेपाल र फ्रान्सको साझा प्रतिबद्धतालाई प्रतिबिम्बित गरिरहेको उनको भनाई थियो । त्रिशूली नदीमा निर्माणाधिन २१६ मेगावाट क्षमताको माथिल्लो त्रिशुली १ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा  फ्रान्सले वित्तीय सहयोग गरेको कार्कीले स्मरण गराएका थिए ।  यस परियोजनाको लागि फ्रान्सले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर ४५३ मिलियन अमेरिकी डलरको ऋण उपलब्ध गराएको थियो । यो परियोजनाबाट नेपालको विद्युत आपूर्तिमा उल्लेख्य सहयोग पुग्ने विश्वास गरिएको छ । त्यस्तै सन् २०२५ मा फ्रेन्च दूतावास, नेपाल विद्युत प्राधिकरण, र ब्लू वाटर इन्टेलिजेन्स बीचको सहकार्यमा सुरु गरिएको हाइड्रोनेपाल परियोजनाले कृत्रिम बुद्धिमत्तामा आधारित उपकरणहरू प्रयोग गरी नदी बेसिनहरूलाई डिजिटल बनाउने र जलवायुगत पूर्वानुमान क्षमतामा सुधार ल्याउने कार्यमा सहयोग पुर्‍याइरहेको पनि कार्कीले बताए । सार्वजनिक-निजी सहकार्य अन्तर्गत सुरु भएको हाइड्रो नेपाल जस्तै मोडेलमा कार्बन ट्रेड, सीमापार व्यापार, र अनुसन्धान जस्ता क्षेत्रहरूमा पनि काम गर्न सकिने उनको भनाई थियो । नेपालमा व्यवसायदेखि व्यवसाय र सार्वजनिक-निजी साझेदारी दुबै मोडलमा काम गर्नको लागि अपार सम्भावना छ । यस्ता  साझेदारीहरूमार्फत प्रविधि स्थानान्तरण, परामर्श, परियोजना विकास, हरित वित्तपोषण र नवप्रवर्तनको क्षेत्रमा पनि काम गर्न सकिन्छ ।  जलविद्युत उपकरण, स्मार्ट ग्रिड प्रणाली, र इन्जिनियरिङ सेवामा विशेषज्ञता राख्ने फ्रेन्च कम्पनीहरू नेपालको बढ्दो ऊर्जा बजारसँग सहकार्य गर्दा उपयुक्त हुने कार्कीले बताए । यस्ता साझेदारीहरूले रोजगारी सिर्जना, आर्थिक वृद्धि, र अत्याधुनिक प्रविधिको हस्तान्तरणमा पनि मद्दत पुग्ने विश्वास गरिएको छ । सन् २०३५ सम्ममा २८,५०० मेगावाट ऊर्जा उत्पादन पुर्‍याउने सरकारी लक्ष्यलाई ध्यानमा राख्दै, नेपालले ठूला परिमाणमा प्रत्यक्ष विदेशी लगानीलाई स्वागत गर्ने तयारी गरिरहेको पनि कार्कीको भनाई थियो । सो लक्ष्य अनुसार, १५,००० मेगावाट भारतमा निर्यात गरिनेछ भने बाँकी १३,५०० मेगावाट स्वदेशमै उपयोग गरिनेछ। यो महत्वाकांक्षी योजना अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि बीमा, बैंकिङ, निर्माण, शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका विभिन्न क्षेत्रहरूमा अवसरको रुपमा आएको कार्कीले बताए । करीब ४६ अर्ब अमेरिकी डलर अनुमानित लगानीसहित विस्तार भइरहेको यो योजनामा अन्वेषण गर्न चाहने अन्तर्राष्ट्रिय लगानीकर्ताहरूका लागि अपार सम्भावनाहरू बोकेको यस योजनालाई लिएर नेपालमा थप सहकार्य र लगानी प्रवर्द्धन गर्नका लागि इप्पानले सहजीकरण गर्ने पनि कार्कीले विश्वास दिलाए । यो दृष्टिकोणले ऊर्जा व्यापार र संयुक्त लगानीको विकास, विद्यमान जलविद्युत् आयोजना‌हरूमा इक्विटी लगानीको प्रवर्द्धन, जलविद्युत् आयोजनाहरूको लागि ऋण लगानी, जलविद्युत् विकासको विशेषज्ञता प्रयोग, नविकरणीय ऊर्जा प्रविधिहरू विस्तार, सरोकारवाला पक्षहरूमा ज्ञान स्थानान्तरण, क्षमता विकास तथा तालिम, संयुक्त अनुसन्धान र विकास, ठूला जलविद्युत् आयोजनाहरूको वित्तीय व्यवस्था, नीति समर्थन तथा संस्थागत सुदृढीकरण, व्यापारिक अवसर सिर्जना, जलविद्युत् उपकरण र इन्जिनियरिङ सेवा आपूर्ति, स्मार्ट ग्रिड र प्रसारण प्रणालीको आधुनिकीकरण, जलविज्ञान सम्बन्धी पूर्वानुमान र जलविद्युत् सञ्चालनको डिजिटलिकरण, परामर्श र परियोजना व्यवस्थापन सेवा उपलब्ध गराउने, कार्बन व्यापार सुरु गर्ने, ऊर्जा व्यापार र क्षेत्रीय एकीकरणलाई सहज बनाउने आदि थुप्रै अवसरहरूको ढोका खोल्ने कार्कीको भनाई थियो । अन्तर्राष्ट्रिय लगानीकर्ता र निजी क्षेत्रको सहयोगमा नेपालले आफ्ना ऊर्जा लक्ष्यहरू प्राप्त गर्ने दिशामा लगातार प्रगति गर्ने पनि कार्कीले उल्लेख गरेका थिए । आगामी असोज १ र २ गते आयोजना हुन गइरहेको पावर समिट २०२५ मा सहभागी भई नेपाललाई क्षेत्रीय बजारमा ऊर्जा आपूर्ति गर्ने मुलुककको रुपमा स्थापित गर्ने दिशामा साथ र सहयोग गर्न पनि कार्कीले आग्रह गरेका थिए ।