विकासन्युज

कजारियाको नयाँ सोरुम गैंडाकोटमा उद्घाटन, प्रिमियम टायल्स सजिलै उपलब्ध

नवलपुर । कजारिया रमेश टाइल्स लिमिटेडले गैंडाकोटको नवलपुरमा नयाँ अत्याधुनिक सोरुमको उद्घाटन गरेको छ । न्यू राजस्थानी मार्बल एण्ड टाइल्स सप्लायर्स द्वारा सञ्चालित यो सोरुमले नेपालमा कजारियाको उपस्थिति थप मजबुत बनाउने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचन प्रमुख अतिथिका रूपमा सहभागी भए । समारोहमा कजारिया रमेश टाइल्सका क्षेत्रीय सेल्स प्रतिनिधि विकास गौतम र राष्ट्रिय प्रबन्धक अभ्याश भूषण तिवारीको पनि उपस्थिति थियो। कार्यक्रममा प्रमुख अतिथिले रिबन काटेर शोरुमको औपचारिक उद्घाटन गरे । सो अवसरमा राष्ट्रिय प्रबन्धक तिवारीले कजारियाको उद्देश्य टिकाउ, उच्च गुणस्तर र आकर्षक डिजाइनयुक्त टायल्स नेपाली उपभोक्तासम्म पुर्‍याउनु रहेको बताए । गैंडाकोटको यो शोरुमले आर्किटेक्ट, निर्माण व्यवसायी र घरधनीहरूका लागि प्रिमियम टायल्सको विस्तृत संग्रह उपलब्ध गराउनेछ । यसले ग्राहकलाई स्थानीय तहमै गुणस्तरीय सेवा र सजिलो पहुँच सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । नेपालभर कजारियाका प्रिमियम टायल्स सहजै उपलब्ध गराउने लक्ष्यका साथ कम्पनीले नवलपरासीमा देशकै सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट सञ्चालनमा ल्याइसकेको छ । ४०० करोड रुपैयाँको लगानीमा स्थापना भएको उक्त प्लान्टले वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्ने लक्ष्य राखेको छ ।   

टेलिकमको नाफा २ अर्ब ८४ करोड, ९ प्रतिशत घट्यो कुल आम्दानी

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४८.६७ प्रतिशत घटेर २ अर्ब ८४ करोड २२ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।  चालु आवको ९ महिनामा कम्पनीको आम्दानी ०.६४ प्रतिशत घटेर २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस अवधिमा कम्पनीको वित्तीय आम्दानी ४६ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ५ अर्ब १९ करोड ३३ लाख रुपैयाँ वित्तीय आम्दानी गरेको थियो ।  चालु आवको चैतसम्म कम्पनीको कुल आम्दानी ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३१ अर्ब २० करोड ४८ लाख रुपैयाँ कुल आम्दानी गरेको थियो ।   १८ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ४४ अर्ब १८ करोड रुपैयाँ र कुल चालु दायित्व २१ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।   कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १९.९६ रुपैयाँ घटेर २१.०५ रुपैयाँमा झरेको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ५०३.९३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ४२.७४ गुणा रहेको छ   

ट्रेड टावरले जेठ १४ गतेदेखि आईपीओ बिक्री गर्ने, १ हजार कित्ता आवेदन दिन सकिने

काठमाडौं । ट्रेड टावरले जेठ १४ गतेदेखि सर्वसाधारण लगानीकर्ताहरूलाई आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि सेयर बिक्री गरि बाँडफाँट पश्चात् सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।  कम्पनीले जारी पुँजी ८१ करोड ५६ लाख ९ हजार रुपैयाँको ४८.६९६ प्रतिशतका दरले ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ बिक्री गर्नेछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ९७ हजार १६९ कित्ता, सामूहिक लगानी कोषलाई १ लाख ९८ हजार ५८४ कित्ता र कम्पनीका कर्मचारीलाई ७९ हजार ४३३ कित्ता सेयर बिक्री गरि बाँडफाँट गरिसकेको छ । अब बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । यदि सो अवधिमा पूर्ण बिक्री नभए जेठ २८ गतेसम्म आवेदन दिने समय लम्बिनेछ ।  कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सिडिएस एण्ड क्लियरिङ्गको मेरो सेयर एपबाट आवेदन दिन सक्नेछन् ।  इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।  

अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल, सभामुख घिमिरे र पूर्वाधारमन्त्री दाहालको चासो

काठमाडौं । अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माई नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् । स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’ हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ । अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । ‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ,’ उनले भने, ‘उहाँहरूले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौँ ।’ नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उहाँले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ । वि.संं २०६५ सालमा भारत सरकारको २ करोड रुपैयाँको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए । सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपिन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए । 

संघीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्दैछ भने राष्ट्रिय सभाको बैठक अपरान्ह १ः१५ मा बस्दैछ । प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र कृषि तथा पशुपक्षी विकास मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची छ । संघीय संसद् सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेका अनुसार आजको बैठकमा ‘जलस्रोत विधेयक, २०८१’ लाई पारित गरियोस् भनी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले प्रस्ताव गर्ने सम्भावित कार्यसूची छ । पूर्वाधार विकास समितिको प्रतिवेदनसहित सो विधेयकमाथि छलफल गरी पारित गर्ने कार्यसूची छ । त्यस्तै राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ सभा समक्ष पेस गर्नुहुनेछ । नेपालको चलचित्र उद्योगलाई थप व्यवस्थित, मर्यादित  र व्यावसायिक बनाउने लक्ष्यका साथ सरकारले सो विधेयक ल्याइएको बताउँदै आएको छ । यसैगरी, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । त्यस्तै, आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र युवा खेलकुद मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नका सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यसूची छ । 

बर्खा लागेपिछ धुलिखेल-साँगा सडकको कालोपत्रे शुरु

काठमाडौं । स्तरोन्नतिको काम जारी रहेको साँगा-धुलिखेल सडक खण्डको कालोपत्र शुरु भएको छ । धुलिखेलबाट बनेपातर्फको तीन किलोमिटर सडक आगामी असारभित्र कालोपत्र सम्पन्न गर्ने सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाले जनाएको छ । अरनिको राजमार्गअन्तर्गत साँगा-धुलिखेल सडक खण्ड ६ लेनमा विस्तार भइरहेको छ । सूर्यविनायक-साँगा र साँगा-धुलिखेल गरी दुई खण्डमा सडक विस्तार भइरहेकामा साँगा-धुलिखेल खण्ड कालोपत्र शुरु गरिएको हो । धुलिखेल मुख्य चोकदेखि बनेपातर्फको बाँसघारीसम्म एक किलोमिटर सडक अहिले कालोपत्र शुरु गरिएको आयोजनाका इन्जिनियर विष्णुप्रसाद खनालले बताए । हाल आधुनिक प्रविधिबाट कालोपत्रको पहिलो तह सकेर दोस्रो तहको काम भइरहेको जनाइएको छ । खनालका अनुसार सडकको मुख्य भागमा ८० सेन्टिमिटरको कालोपत्र हुने छ । पहिलो तहमा ३० देखि ३५ समीको ‘सबबेस’, त्यसपछि २० सेमीको ‘सिटिपी’ गरी त्यसमाथि १० सेमीको ‘क्र्याक-रिलिफ लेयर’ हालेर त्यसमाथि ११ देखि १३ सेमीको ‘डिबिएम’ गरी त्यसमाथि ६ सेमीको ‘आस्पाल्ट कङ्क्रिट लेयर’ गरी जम्मा ८० सेमीको आधुनिक प्रविधिबाट कालोपत्र भइरहेको हो । सूर्यविनायक-धुलिखेलसम्म १६ किलोमिटर दुरी छ । जसमा सूर्यविनायक-साँगा ७.५ किमी र साँगा-धुलिखेल ८.५ किमी छ । यो दुरीमा ६ लेन सडक विस्तार तीन वर्षमा सम्पन्न गर्ने गरी दुई खण्ड, दुई चरणमा ठेक्का सम्झौता गरिएको थियो । सूर्यविनायक-साँगासम्मको ठेक्का विसं २०७९ मङ्सिर र साँगा-धुलिखेलसम्मको ठेक्का सम्झौता २०७९ पुसमा गरिएको थियो । सडक खण्ड दुई सर्भिस लेन र चार मेन लेनसहित ६ लेनको बनाउने ठेक्का सम्झौता छ । इन्जिनियर खनालका अनुसार हालसम्म साँगा–धुलिखेल सडकखण्डको भौतिक प्रगति करिब ५० प्रतिशत सम्पन्न भएको छ । हाल शुरु गरिएको तीन किमी कालोपत्रे असार मसान्तभित्र सकेर करिब ६० प्रतिशत भौतिक प्रगति गर्ने लक्ष्य आयोजनाको छ । यो आयोजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि धुलिखेल ८.४ किमी सडक खण्ड विस्तारका लागि ४ अर्ब ५ करोड ६४ लाखका तथा दोस्रो चरणमा सुरु भएको सूर्यविनायक-साँगा सडक खण्ड ३ अर्ब ८८ करोड ९३ लाखमा सम्झौता भएको थियो । साँघुरो सडकका कारण वर्षेनी ट्राफिक जाम बढ्दै गएपछि विस्तार थालिएको हो । चीनसँगको छोटो दूरीको सिन्धुपाल्चोकको तातोपानी नाका खुला भएपछि यस राजमार्गमा सवारी चाप दिनहुँ बढिरहेको छ । हाल कोटेश्वरबाट यही राजमार्गमा मध्यपहाडी क्षेत्र तथा पूर्वीतराईका लामा दुरीका सवारी मात्र दैनिक २ हजार ५०० भन्दा बढी गुड्ने गरेका छन् । 

शिक्षा उपसमितिले बुझायो प्रतिवेदन, निजी विद्यालय र इसीडीको विषयमा टुंगो लाग्न बाँकी

काठमाडौं । शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिले गठन गरेको उपसमितिले शिक्षा समितिलाई प्रतिवेदन बुझाएको छ । एमाले सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिले आइतबार प्रतिवेदन बुझाएको हो ।  विद्यालय शिक्षा विधेयक छिटो टुंगो लगाउन भन्दै समितिले गत चैतमा उपसमिति बनाइ छलफलको जिम्मा दिएको थियो । उपसमितिले एसईई परीक्षा नहुने, जिल्ला शिक्षा कार्यालय नरहने, आन्तरिक प्रतिस्पर्धाबाट ६० र खुलाबाट ४० प्रतिशत शिक्षक नियुक्त गर्ने, प्रधानाध्यापक प्रदेशबाट प्रतिस्पर्धामा नियुक्त हुने र निजी विद्यालयलाई छात्रवृत्तिमा नियमन गर्ने प्रतिवेदनमा उल्लेख छ ।  त्यस्तै, शिक्षकको सरुवा ५ देखि ७ वर्षमा मात्र हुने, हरेक प्रदेशमा २ विशिष्ट श्रेणीको शिक्षक रहने, विद्यालय कर्मचारीको दरबन्दी कायम गर्ने र शिक्षकको आवधिक बढुवा सुनिश्चित गर्ने टुंगो लगाएको छ ।  बालविकास शिक्षक ईसीडीलाई विद्यालय तहमा ल्याउने वा स्थानीय तहमा राख्ने भन्नेमा कुरा भने टुंगो लग्न बाँकी रहेको छ ।  विधेयकमा निजी विद्यालयलाई कम्पनी मोडलमा अहिलेको अवस्थामै सञ्चालन हुन दिनुपर्ने उल्लेख छ। विधेयकका संशोधनकर्ता सत्तारूढ र प्रतिस्पर्धी सांसदले भने निश्चित अवधि तोकेर गैरनाफामूलक मोडल (गुठी) मा लैजानुपर्ने बताउँदै आएका छन् ।  यस विषयमा सरकारको स्पष्ट धारणा नआएको र कति वर्षभित्र गुठीमा लैजाने भन्नेमा पनि सांसदबीच मतान्तर देखिएकाले सहमति जुट्न सकेको छैन ।

बीमा कम्पनीहरूले ३५ अर्ब ३६ करोड दाबी भुक्तानी गर्न बाँकी

काठमाडौं । बीमा कम्पनीहरूबाट अझै ३५ अर्बभन्दा बढी दाबी भुक्तानी गर्न बाँकी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८१/८२ को चैत्र मसान्तसम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरूबाट १ लाख ५७ हजार ५५९ वटा बीमाको ३५ अर्ब ३६ करोड रुपैयाँ दाबी भुक्तानी बाँकी रहेको हो । चालु आवको चैत्र मसान्तसम्ममा भुक्तानी हुन बाँकी दाबी संख्या जीवन बीमातर्फ ५२ हजार ६८७ रहेको छ भने निर्जीवनतर्फ १ लाख ४ हजार ८७२ रहेको छ । तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले ४ अर्ब ४३ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ३० अर्ब ९४ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।  चैत्र मसान्तसम्ममा ३ लाख  २ हजार ५२३ दाबीको ६२ अर्ब रुपैयाँ भुक्तानी भएको छ । जुन गत आवको चैत्रसम्मको तुलनामा दाबी संख्या १०.४७ प्रतिशत र दाबी रकम ३.४६ प्रतिशतले वृद्धि भएको छ । पछिल्लो पाँच आवको बीमा दाबी भुक्तानीको विवरण (रु.करोड) तथ्यांकअनुसार दाबी भुक्तानीको संख्या र रकम क्रमश वृद्धि हुँदै गइरहेको छ । तथ्यांकअनुसार आव २०७७/७८ मा बीमा कम्पनीहरुले ५० अर्ब ७० करोड रुपैयाँ दाबीबापत्को रकम बीमितलाई भुक्तानी गरेका छन् । जसमा जीवन बीमा कम्पनीले ३३ अर्ब १६ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १७ अर्ब ५४ करोड रुपैयाँ भुक्तानी गरेका छन् ।  त्यस्तै, आव २०७८/७९ मा कम्पनीहरूले ६८ अर्ब ६२ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । जुन आव २०७७/७८ को तुलनामा ३४.८५ प्रतिशतले वृद्धि हो । जसमा जीवन बीमा कम्पनीहरूले ४९ अर्ब १९ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले १९ अर्ब ४३ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छन् । आव २०७९/८० मा दाबी भुक्तानी ४.७२ प्रतिशतले वृद्धि देखिएको छ । उक्त आवमा जीवन बीमा कम्पनीहरूले ६० अर्ब २४ करोड रुपैयाँ र निर्जीवन बीमा कम्पनीले २४ अर्ब १७ करोड रुपैयाँ गरी कुल ८४ अर्ब ४२ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन् । आव २०८०/८१ मा दाबी भुक्तानी संख्या ७.९६ प्रतिशतले बढेको छ । उक्त आवमा बीमा कम्पनीहरूले ८४ अर्ब ४९ करोड रुपैयाँ दाबी बापतको रकम भुक्तानी गरेका छन्।