संकटमा पोर्शे : सीईओ ब्लुमलाई दुई पदमध्ये एक छोड्न लगानीकर्ताको दबाब
काठमाडौं । पोर्शे र पोर्शेको अभिभावक कम्पनी फक्सवागनको पनि नेतृत्व सम्हालिरहेका ओलिभर ब्लुममाथि लगानीकर्ताहरूले दुईमध्ये एक पद त्याग्नुपर्ने तीव्र दबाब दिएका छन् । चीनमा कमजोर बिक्री र अमेरिकामा ट्यारिफसम्बन्धी समस्याका कारण पोर्शेले आफ्नो आम्दानीको पूर्वानुमान घटाउन बाध्य भएपछि यस्तो माग उठेको हो । गत महिना पोर्शेले सन् २०२५ को पहिलो त्रैमासिकमा चीनमा बिक्री ४२ प्रतिशतले घटेको, अमेरिकी ट्यारिफका कारण कम्पनीको नाफा दर घटेको जनाएको थियो । बुधबार सम्पन्न वार्षिक सेयरधनी सभामा ब्लुम निराश लगानीकर्ताहरूको प्रश्नको सामना गर्दै थिए, जहाँ केहीले उनलाई दुबै कम्पनीको नेतृत्व गर्नु गलत निर्णय भएको भन्दै आलोचना गरे । 'यदि एउटै व्यक्तिले दुबै कम्पनी चलाउँछ भने स्वतन्त्र व्यवस्थापन सम्भव हुँदैन,' जर्मनीको डोइच बैंकअन्तर्गतको डीडब्ल्यूएसका हेन्ड्रिक श्मिटले भने । उनले थपे कि यो दोहोरो भूमिका पोर्शेको सेयर मूल्यमा छुट ल्याउने कारण बनिरहेको छ । ब्लुमले विगतमा भनेका थिए कि उनको यो भूमिका सफलताको सूत्र हो र यो सधैंका लागि रहने होइन । 'अब त बोर्डको कुनै एउटा पद त्याग्नुपर्छ,' डेका इन्भेस्टमेन्टका स्थायित्व प्रमुख इङ्गो स्पेइचले भने । २०२२ मा सेयर बजारमा प्रवेश गर्दा पोर्शेको मूल्यांकन फक्सवागनभन्दा बढी थियो, तर अहिले त्यसको लोकप्रियता घट्दै गएको छ र यसको सेयर मूल्य झण्डै ४५ प्रतिशतले घटेको छ । लगानीकर्ताहरूले चीन र अमेरिका जस्ता प्रमुख बजारमा पोर्शेको समस्या समाधानका लागि तत्काल कदम चाल्न आग्रह गरेका छन् । 'पोर्शे अहिले चीन र अमेरिकाको समस्याबीच च्यापिएको अवस्थामा छ,' स्पेइचले भने, 'चीनमा समस्याको समाधानबारे कम्पनी मौन छ ।' डीडब्ल्यूएसका श्मिटले भने, 'पोर्शे आफ्ना उत्पादनहरूजस्तै हुनुपर्छ- छिटो, शक्तिशाली, तर सुरक्षित र आकर्षक ।' सेयरधनी सभामा बोल्दै ब्लुमले चुनौतीहरू स्वीकार गरे । 'गत वर्ष हामीले धेरै प्रतिकूल अवस्था भोग्यौं । अहिले हामी हिंसात्मक आँधीसँग जुधिरहेका छौं,' उनले भने, 'चिनियाँ बजार पूर्ण रूपमा ध्वस्त भएको छ ।' 'हामीलाई पूर्ण रूपमा थाहा छस् तपाईंहरू पोर्शेसँग अझ बढी अपेक्षा राख्नुहुन्छ। अवश्य। हामी पनि राख्छौं,' उनले थपे । यद्यपि लगानी कोषहरूले सेयरधनी सभामा मताधिकार प्रयोग गर्न सक्दैनन्, किनभने सेयर बजारमा मात्र गैर-मताधिकारप्राप्त प्राथमिक सेयरहरू कारोबार हुने गर्छन् । फक्सवागन र पोर्शे अटोमोबिल होल्डिङ जुन पोर्शे र पीएच परिवारको स्वामित्वमा छ, तिनीहरूले नियन्त्रण राखेका छन् । बीवाईडीको युरोपमा ईभी युद्ध सुरु, डल्फिन सर्फ जर्मनीमा सार्वजनिक ईभीमा घट्दो मागका कारण अब होन्डा पनि हाईब्रिडमा केन्द्रित हुने टेस्लाको रोबोट्याक्सी परीक्षण : मस्कले खोल्दैछन् भविष्यको ढोका !
ग्रिसको क्रेट टापुमा ६.१ म्याग्निच्युडको भूकम्प, विद्यालयहरू बन्द
काठमाडौं । ग्रिक टापु क्रेट र सान्टोरिनीमा बिहीबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस) ले जनाएको छ । क्रेटको राजधानी हेराक्लिओनबाट ८२ किलोमिटर (५१ माइल) उत्तरपूर्वमा ६८ किलोमिटर गहिराइमा शक्तिशाली भूकम्प गएको युएसजिएसले जनाएको छ । पर्यटकहरूमाझ लोकप्रिय क्षेत्र हालैका महिनाहरूमा धेरै कम्पनहरूले हल्लाएको छ, जसका कारण सान्टोरिनी र छिमेकी टापुहरूमा विद्यालयहरू अस्थायी रूपमा बन्द गर्नुपरेको छ । ग्रिक मुख्य भूमिको दक्षिणपूर्वमा साइक्लेड्स समूहको सान्टोरिनी, अमोर्गोस, आइओस र एनाफी टापुहरू बीच जनवरीको अन्त्यदेखि मुख्यतया कम परिमाणका हजारौँ भूकम्प रेकर्ड गरिएको छ । यो भूकम्पीय झुण्डले कुनै जनधनको हानि वा महत्त्वपूर्ण क्षति पुर्याएको छैन । अफ्रिकी र एनाटोलियन टेक्टोनिक प्लेटहरू मिल्ने ठाउँमा अवस्थित एजियन सागरमा प्रायः भूकम्पहरू आउने गर्छन् । तर विज्ञहरूका अनुसार यो क्षेत्रले सन् १९६४ मा रेकर्ड राख्न सुरु गरेदेखि यस्तो तीव्रताको घटना अनुभव गरेको थिएन । रासस
राष्ट्रिय बीमा कम्पनी र विशाल बजारलाई कारवाही गर्न निर्देशन, नेप्सेसँग मिलेमतोको आशंका
काठमाडौं । महालेखा परीक्षकको कार्यालयले विशाल बजार र राष्ट्रिय बीमा कम्पनीलाई कारवाही गर्न निर्देशन दिएको छ । ती दुई कम्पनीले हालसम्म लेखापरीक्षण नगरेको र लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्थाको बारेमा जानकारी नगराएको भन्दै महालेखाले नेप्सेलाई कारवाही गर्न निर्देशनसहितको राय दिएको हो । सूचीकरण नियमावली अनुसार सूचीबद्ध कम्पनीहरूले वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र तथा त्रैमासिक प्रतिवेदन ३० दिनभित्र नेपाल स्टक एक्सचेञ्जको वेबसाइटमा अपलोड गर्नुपर्ने व्यवस्था छ । तर, नेप्सेले उक्त नियम पालना नगर्ने कम्पनी विरुद्ध कुनै कारबाही नगरेको महालेखाले उल्लेख गरेको छ । यस्ता कम्पनीको कुल कारोबार यो वर्ष १ अर्ब ५८ करोड रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनीले पटक-पटक नियम उल्लङ्घन गरेतापनि नेपाल स्टक एक्सचेञ्जले कारबाही नगरेको प्रतिवेदनमा उल्लेख छ । विशाल बजार कम्पनीले लेखापरीक्षण भएको वित्तीय विवरण राख्नुपर्ने ठाउँमा २०८१ मंसिर १४ मा लेखापरीक्षण नभएको वित्तीय विवरण अपलोड गरेको देखिएको छ । नियमावलीको पालना नगर्ने उपर आवश्यक कारबाही गर्नुपर्ने राय महालेखाको छ ।
कामदारको उपचार खर्च रोजगारदाता राष्ट्रले बेहोर्नुपर्ने प्रस्ताव तयारीमा
काठमाडौं । नेपालले विदेशमा श्रम गर्न गएका कामदारहरूको सम्पूर्ण स्वास्थ्योपचारको जिम्मेवारी सम्बन्धित रोजगारदाता राष्ट्रले लिनुपर्ने प्रस्ताव विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) मा लैजाने तयारी गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वदेश फर्किएपछि जानकारी दिँदै भने, 'यो प्रस्ताव आगामी वर्ष हुने डब्ल्युएचओको विश्व स्वास्थ्य सम्मेलनमा प्रस्तुत गरिनेछ ।' सो प्रस्तावले कामदारको उपचार खर्च, स्वदेश फर्किएपछि रोग बोकेर आउनुपर्ने अवस्थाबाट छुटकारा दिलाउने विश्वास व्यक्त गरे । उनले भने, 'कामदार जानु अघि, गइसकेपछि र फर्किएपछि सम्बन्धित राष्ट्रले नै स्वास्थ्य परीक्षण, उपचार र जानकारी उपलब्ध गराउनुपर्ने प्रणाली निर्माण गर्नुपर्छ । धेरै कामदार उपचार नपाएर अकालमै फर्किन्छन् वा खर्चकै कारण जीवन गुमाउँछन्, यो अन्त्य हुनुपर्छ ।' यसपटकको सम्मेलनमा महामारीसँग सम्बन्धित प्रस्ताव सर्वसम्मतिले पारित भई डब्ल्युएचओले अब अनिवार्य रूपमा प्रभावित देशलाई सहायता गर्नुपर्ने व्यवस्था पनि बनेको छ । मन्त्री पौडेलका अनुसार प्रस्ताव पास भएमा नेपाल लगायत अन्य श्रमिक पठाउने देशहरूलाई ठूलो राहत हुनेछ । पौडेलले भारत, चीन, बेलायत, श्रीलंका, बंगलादेश, नर्वे र स्विट्जरल्याण्डका प्रतिनिधिहरूसँग स्वास्थ्यसम्बन्धी समझदारी र छलफल भएको बताए ।
सुनको मूल्य तोलामा १७ सयले वृद्धि
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारदेखि पहेँलो धातुको मोल निरन्तर बढेको छ । आज तोलामा एक हजार ७०० रुपैयाँले वृद्धि भएको छ । चाँदी पनि तोलामा ३५ रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य एक लाख ९१ हजार ५०० रुपैयाँ कायम भएको छ भने त्यति नै परिमाणको चाँदी दुई हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज प्रतिऔँस सुन तीन हजार ३५५ डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
‘इनिस्पेक्टर’ हुँ भन्दै ठग्ने र स्कुटर चोरी गर्ने गिरोहसहित आठजना पक्राउ
भक्तपुर । ‘प्रहरी इन्सपेक्टर (प्रहरी निरीक्षक) हुँ’ भन्दै ठगी गर्दै हिँड्ने एकजना र विभिन्न ठाउँबाट स्कुटर चारी गर्ने गिरोहका सात जनालाई प्रहरीले बुधबार एकैदिन पक्राउ गरेको छ । भोजपुर साल्पासिलिछो गाउँपालिका–३ घर भई हाल मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरी बस्ने २३ वर्षीय सुजन गिरीलाई प्रहरीले मध्यपुरथिमिको खिव्यश्वरीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक ढुण्डीराज नेउपानेले जानकारी दिए । पक्राउ परेका गिरीलाई प्रहरी हिरासतमा राखेर थप अनुसन्धान भइरहेको उनले बताए । यसैगरी, मध्यपुरथिमि नगरपालिका–८ र ९ बोडेका विभिन्न क्षेत्रबाट स्कुटर चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ओखलढुङ्गा घर भई हाल गोकर्णेश्वर नगरपालिका–५ बस्ने १९ वर्षीय अबिन श्रेष्ठ, मकवानपुर घर भई गोकर्णेश्वर नगरपालिका–९ बस्ने १९ वर्षीय पेम्बा मोक्तान, सिन्धुपाल्चोक घर भई गोकर्णेश्वर नगरपालिका–८ बस्ने १९ वर्षीय आयुष गोले, सुनसरी जिल्ला घर भई काठमाडौं नारायणटार बस्ने १८ वर्षीय रितेश राई, कास्की पोखरा महानगरपालिका–१ घर भई नारायणटार बस्ने १८ वर्षीय सुजन गुरुङ, रौतहट घर भई नारायणटार बस्ने १८ वर्षीय अनिल तामाङ र मकवानपुर मनहरी–२ घर भई काठमाडौँ बस्दै आएका १८ वर्षीय विक्रम तामाङ रहेका छन् । पक्राउ परेकाहरूले विभिन्न समयमा मध्यपुरथिमि बोडेबाट बा५७प ९९५७ नंको स्कुटर, बा७७प ३३५९ नंको स्कुटर चोरी गरेको र चोरीको स्कुटरसहित पक्राउ गरेको प्रहरी नायब निरीक्षक नेउपानेले जानकारी दिए । पक्राउ परेका सबैलाई चोरी कसुरमा म्याद थप भई अनुसन्धान कार्य भइरहेको उनले जानकारी दिए । रासस
झाडीको ठाउँमा चिया : पाँच वर्षमै उत्पादन, आम्दानी र पर्यटक दुवै बढ्दै
गलकोट । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा २०७६ सालमा लगाइएको चियाले व्यावसायिक उत्पादन दिन थालेपछि किसान उत्साहित भएका हुन् । रेशको बौर, तिङरिङलगायतका ठाउँमा हाल १६२ रोपनी जग्गामा चियाखेती भइरहेको छ । गत वर्ष नमूनाका रूपमा परम्परागत शैलीबाट चिया उत्पादन गरे पनि यस पटक स्थानीयले चिया उत्पादन गर्ने उपकरण खरिद गरेका छन्भने ७० रोपनी जग्गामा लगाइएको चिया टिप्न थालिएको छ । थप सय रोपनी जग्गामा चियाका बोटहरू हुर्किरहेका छन् । पाँच वर्षमै चियाका बोटले पूर्ण रूपमै उत्पादन दिन थालेकाले हाल हप्तामा एक दिन चिया टिप्न थालिएको छ । चिया टिप्नेक्रम मङ्सिरसम्म जारी रहने छ । जनकल्याण आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मरबहादुर थापाले ३५ रोपनी विद्यालयको जग्गामा चियाखेती गरिरहेको जानकारी दिए । रेशमा चियाको सुरुआत विद्यालयकै जग्गाबाट भएको बताउँदै उनले दाउरा बिक्री गर्ने पाखो हाल चिया बगान भएको बताए । रेशमा साना किसान सहकारी संस्थाको अगुवाइमा चियाखेती विस्तार भइरहेको थापाले बताए । उनका अनुसार विद्यालयले चियाका बिरुवासमेत उत्पादन गरेर बिक्री वितरण गरिरहेको छ । हाल उक्त सहकारीको ६७ रोपनी, स्थानीय नागरिकको ६० रोपनी तथा विद्यालयको ३५ रोपनी गरी १६२ रोपनी जग्गामा चियाखेती विस्तार गरिएको छ । जसमध्ये पहिलो चरणमा लगाइएको विद्यालय र स्थानीयको ७० रोपनी जग्गामा मात्रै चिया उत्पादन भइरहेको र अन्य स्थानका चियाका बिरुवा हुर्कंदै गरेको सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले जानकारी दिइन् । काठेखोला गाउँपालिका–७ रेशका वडाअध्यक्ष प्रेम लामिछानेले एक वर्षभित्रै चियाको निर्यात हुनेगरी चिया टिप्न थालिएको र चिया उत्पादन गर्ने उपकरणसमेत रु १८ लाख लागतमा स्थानीयले रकम सङ्कलन गरी खरिद गरेको जानकारी दिए । 'सुरुमा ताराखोलाबाट बिरुवा लिएर रोपेका थियौँ, पछि सहकारीकै अगुवाइमा बिरुवा उत्पादन गरेका हौँ । सुरुमा गण्डकी प्रदेशको मुख्यमन्त्री नमूना कृषि कार्यक्रममार्फत किसानलाई चिया खेतीमा अग्रसरता दिलायो', उनले भने, 'गत वर्ष परीक्षणका रूपमा हातले ग्रिन चिया उत्पादन गरेका थियौँ, तर व्यावसायिकता थिएन, हाल चियाको उत्पादनसमेत बढ्दो छ । आफैँ चिया बनाउने उपकरणले चिया उत्पादनमा व्यावसायिकता ल्याउन सहज भएको हो । ग्रिन चिया किलोकै दुई हजारभन्दा बढीमा बिक्री गर्न सकिन्छ, यहाँको विद्यालय, सहकारी र स्थानीयलाई झाडी फाँडेर लगाएको चियाले आयआर्जनमा सघाउनेछ ।' पाखोबारीमा लगाएको चिया राम्रो हुँदै गएपछि बसाइँसराइले उजाड बनेका खेतीयोग्य र उजाड जमिनमा पलाएका झाडी फाँडेर किसानले चियाखेती विस्तार गर्न थालेका छन् । चियाको बिरुवा राम्रो हुँदै गएपछि स्थानीयवासीले खाली भएका व्यक्तिगत तथा सार्वजनिक जग्गामा पनि खेती विस्तार गर्न थालेको अध्यक्ष लामिछाने बताए । थप ५० हजार चियाका बिरुवा लगाउने योजना रहेको उनको भनाइ छ । चियाखेती थालेपछि गाउँमा चियाबगान अवलोकनका लागिसमेत पर्यटकहरू आउन थालेका छन् । छ वर्ष अघिसम्म वनमारा झारले ढाकिएको पाखो हाल चिया बगानमा परिणत भइसकेको छ । चिया बगान हेर्न, सामाजिक सञ्जाल फेसबुक/टिकटकमा दृश्य सार्वजनिक गर्न आन्तरिक पर्यटक रेशको चिया बगानमा आउने गरेका हुन् । यहाँ विभिन्न शैक्षिक कार्यक्रमअन्तर्गत अध्ययन–अनुसन्धान गर्न पनि विद्यार्थी आउने गरेका छन् । पर्यटकलाई थप आकर्षित गर्न र उपभोक्ताको आयआर्जन वृद्धि गर्न बिहूँको थामानेटामा समेत पहिलोपटक चियाखेती थालिएको काठेखोला गाउँपालिका–५ का वडाअध्यक्ष ज्ञामनाथ कँडेलले बताए । रासस
सिमलेस दुबई २०२५ मा नेपाल पविलियनको उद्घाटन
काठमाडौं । विश्वकै सबैभन्दा ठूलो तथा प्रभावशाली डिजिटल वाणिज्य र फिन्टेक प्रदर्शनी सिमलेस दुबई २०२५ मा पहिलोपटक नेपाल पविलियनको औपचारिक उद्घाटन भएको छ । जसले नेपालको फिन्टेक र डिजिटल नवप्रवर्तन यात्रामा एक ऐतिहासिक मोड ल्याएको बताइएको छ । फिन्टेक एलायन्स नेपालको नेतृत्वमा सुरू गरिएको यो नवीन पहलले (वटा अग्रणी नेपाली आइटी तथा फिन्टेक कम्पनीहरूलाई एउटै राष्ट्रिय ब्यानर अन्तर्गत एकजुट गर्दै नेपालको नवीनता, आकांक्षा र अन्तर्राष्ट्रिय सम्भावनालाई विश्वमञ्चमा प्रस्तुत गरेको छ । तीन दिनसम्म चल्ने यो प्रदर्शनीको उद्घाटन समारोहमा संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेज बहादुर क्षेत्री तथा विश्वभरका प्रमुख सिइओ, सिएक्ओ र फिन्टेक आधिकारीहरूको उपस्थिति रहेको थियो । यो पविलियन नेपाली सिर्जनशीलतालाई उजागर गर्न, सीमापार साझेदारीहरू प्रवर्द्धन गर्न, र विश्वव्यापी फिन्टेक खेलाडीहरूलाई नेपालको डिजिटल अर्थतन्त्रमा उदाउँदै गरेका अवसरहरू अन्वेषण गर्न निमन्त्रणा दिने उद्देश्यले डिजाइन गरिएको हो ।