विकासन्युज

दरबारमार्गमा खुल्यो स्केचर्सको पहिलो आधिकारिक स्टोर, असोजभित्र सिभिल मलमा पनि

काठमाडौं । विश्वप्रसिद्ध अमेरिकी फुटवेयर ब्रान्ड स्केचर्स नेपालमा पनि विस्तार योजनाका साथ अघि बढेको छ । कम्पनीले शुक्रबारबाट काठमाडौंको दरबारमार्गमा पहिलो आधिकारिक एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको हो । हालको लागि यो नेपालमा रहेको एकमात्र आधिकारिक स्केचर्स स्टोर भएको कम्पनीले जनाएको छ । उक्त स्टोरमा २०२५ सिजनका नवीनतम संग्रहहरू सहित एक्सक्लुसिभ इनलाइन उत्पादनहरू समेत राखिएको कम्पनीको भनाइ छ । नेपालमा आफ्नो सञ्जाल विस्तार गर्दै जाने योजना अनुसार स्केचर्सले अर्को महिना कमलपोखरीस्थित सिटी सेन्टरमा दोस्रो स्टोर खोल्ने तयारी समेत गरेको कम्पनीले जनाएको छ ।  यसका साथै आगामी असोजभित्रै सिभिल मलमा सबैभन्दा ठूलो फ्ल्यागसिप स्टोर सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ । यसबारे जानकारी दिँदै कम्पनीका एमडी विश्वास थोकरले नेपालमा स्केचर्सको सम्पूर्ण रिटेल अनुभव प्रस्तुत गर्न पाउँदा खुसी भएको बताए ।  

शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै ललितपुर महानगर पुरस्कृत

ललितपुर । शिक्षा क्षेत्रमा देखाएको नेतृत्व, प्रतिबद्धता र नयाँ विषयलाई बहसमा ल्याएको भन्दै प्रिन्सिपल एसोसिएसन अफ नेपाल (पान) ले ललितपुर महानगरलाई पुरस्कारसहित सम्मान गरेको छ । ललितपुर महानगरले देशभरका ६ वटा महानगर  र उपमहानगरमध्ये शिक्षा क्षेत्रमा उत्कृष्ट काम गरेको भन्दै पुरस्कृत गरिएहो हो ।  प्रा.डा. विद्यानाथ कोइरालाको नेतृत्वमा गठित समितिले २५ वटा शैक्षिक मापदण्डको आधारमा  मूल्याङ्कन गरेर पानले महानगरलाई उत्कृष्ट महानगरपालिका पुरस्कार २०८२ बाट पुरस्कारसहित सम्मान गरेको आयोजक संस्थाले जनाएको छ । शिक्षामन्त्री रघुजी पन्तले महानगर प्रमुख चिरीबाबु महर्जनलाई सम्मानसहित पुरस्कार प्रदान गरे ।  शिक्षामन्त्री पन्तले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न अहोरात्र काम गरेको बताए । महानगर प्रमुख चिरीबाबु महर्जनले ललितपुर महानगर शिक्षाको हब भएको बताउँदै सामुदायिक शिक्षाको विकास र गुणस्तर सुधारका लागि प्रभावकारी काम गरेको बताए ।  आगामी वर्ष प्रभावकारी र नविनतम योजनाहरु ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।  शिक्षाविज्ञ प्रा।डा। विद्यानाथ कोइरालाले सामुदायिक विद्यालय र त्यहाँ पढेका विद्यार्थीसँग अथाह सम्भावना भएको बताउँदैे प्रविधि र पुस्तक र ज्ञानलाई एक अर्कासँग जोड्र अघि बढ्नु पर्ने धारणा राखे । कार्यक्रमा देशभरबाट छनौट भएका उत्कृष्ट गाउँपालिका, उत्कृष्ट नगरपालिका, उत्कृष्ट प्राधानाध्यापक र उत्कृष्ट विद्यालय सम्मान सहित पुरस्कृत गरिएको छ ।  पानका अध्यक्ष सुदा प्रसाद गौतमले सामुदायिक विद्यालयको गुणस्तर सुधार र सामुदायिक विद्यालयले प्रदान गरेको शिक्षामा देखिएको नैराश्यता चिर्नका लागि संस्था गठन गरेको बताए । कार्यक्रमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले आफ्नो मन्तव्य राखका थिए।

न्यादी फिदी जलविद्युत परियोजनाको आईपीओ निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रोबीच सम्झौता

काठमाडौं । नर्थ समिट हाइड्रो लिमिटेडले आफ्नो प्राथमिक सेयर (आईपीओ) निष्काशनका लागि माछापुच्छ्रे क्यापिटल लिमिटेडसँग सम्झौता गरेको छ ।  शुक्रबार आयोजित एक समारोहका बीच दुबै कम्पनीबीच औपचारिक सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  माछापुच्छ्रे क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र नर्थ समिट हाइड्रोको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीले सम्झौतामा हस्ताक्षर गरे । सम्झौताअनुसार माछापुच्छ्रे क्यापिटल लिमिटेडले संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदान गर्नेछ । नर्थ समिट हाइड्रो लिमिटेडले रु. १०० अंकित मूल्यमा कुल ३८ लाख ४० हजार कित्ता साधारण शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो, जसको कुल मूल्य ३८ करोड ४० लाख रहेको छ । यसले कम्पनीको कुल जारी पूँजीको ३० प्रतिशत हिस्सा ओगट्छ । नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकामा पर्ने न्यादी र फिदी खोलाको बहाव उपयोग गरी २१.४ मेगावाट क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।  परियोजना कार्यान्वयनको क्रममा रहेको छ र यसको वित्तीय व्यवस्थापन तथा पूँजी परिचालनमा यो आईपीओ महत्त्वपूर्ण कदम मानिएको छ । माछापुच्छ्रे क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । यो धितोपत्र व्यवसायी कम्पनीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, निष्काशन तथा बिक्री प्रबन्धक, सेयर रजिष्ट्रार, संस्थागत परामर्श, निक्षेप सदस्यता र सामूहिक लगानी कोष सम्बन्धी सेवा प्रदान गर्दै आएको छ ।

विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमईको वृहत् वृक्षरोपण कार्यक्रम

  काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले विश्व वातावरण दिवसको अवसर पारेर देशका विभिन्न स्थानहरुमा वृहत् वृक्षरोपण कार्यक्रम गरेको छ ।  बैंकले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा मुलुकभर १८ हजार वृक्षरोपण गर्ने लक्ष्य राखेको थियो । बैंकले बिहीबार विश्व वातावरण दिवसको अवसरमा मुलुकका विभिन्न स्थानहरूमा वृक्षरोपण कार्यक्रम गरेको हो ।  यसै अवसरमा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्ला, लम्कीचुहाँ नगरपालिकाको बालचौरमा सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीको उपस्थितिमा १ हजार कागतीका विरुवा रोपण गरेको हो ।  उक्त कार्यक्रममा जनप्रतिनिधि, स्थानीय नागरिकलगायत बैंकका कर्मचारीहरूको ठूलो उपस्थिति रहेको थियो ।   त्यसैगरी, बैंकले काठमाडौँको नारायणहिटी आर्मी ब्यारेकको परिसरमा ३०० वटा विरुवा रोपण गरेको छ ।  बैंकले कोशी प्रदेशको दिक्तेल, प्रगती सामुदायिक बन, मेचीनगर, झापा लगायतका विभिन्न स्थानहरुमा ३,७०० वटा, मधेश प्रदेशको राजविराज, जीतपुर, लहान, गौह्र, मिथिला नगरपालिका ९भाटिघारी सामुदायिक बन० लगायतका विभिन्न स्थानमा  ५,०५०, बागमती प्रदेशको नारायणहिटी आर्मी ब्यारेक, टोखा र रसुवा लगायतका विभिन्न स्थानहरुमा २,३००, गण्डकी प्रदेशको बागलुङ र कास्की लगायतका विभिन्न स्थानहरुमा २,१००, लुम्बिनी प्रदेशको बिजुवार, घोराही, गुलेरिया, लिवाङ्ग लगायतका विभिन्न स्थानमा १,५००, कर्णाली प्रदेशको विरेन्द्रनगर र रास्कोट लगायतका विभिन्न स्थानहरुमा ७०० र सुदुरपश्चिमको बालिया, गोकुलेश्वर, वैतडी, अत्तरिया, धनगढी, टिकापुर र महेन्द्रनगर लगायतका विभिन्न स्थानहरुमा २,०८६ विरुवा रोपण सुरु गरेको छ ।  बैंकले वृक्षरोपणको लागि विभिन्न संस्थाहरुसँग सहकार्य गरी शहरको सौन्दर्यकरण, सामुदायिक वन, विद्यायल, अस्पताल परिसरहरू तथा सार्वजनिक स्थानहरू छनौट गरेको छ ।  उक्त वृक्षरोपणले वातावरण संरक्षणमा सहयोग गर्नुका साथै जलवायु परिवर्तन न्यूनीकरण तथा स्थानीयहरुको आयआर्जनमा सहयोग हुने विश्वास बैंकले लिएको छ ।   ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा सम्मानित बैंक हो । साथै ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्थाहरूबाट फरकफरक विधामा सम्मानित भएको छ । ग्लोबल आइएमई बैंक मुलुकको ७७ जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालय समेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।

उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड बजेट

काठमाडौं । उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यका नदी स्वच्छ बनाउन र करिडोर सडक स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षको बजेटले प्राथमिकता दिएको बताएका छन् । काठमाडौं उपत्यका विकास प्राधिकरणले शुक्रबार गोकर्णेश्वर- ५ बागमती करिडोरमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सहरी विकास मन्त्रालयले बागमतीसहित उपत्यकाका नदी स्वच्छ बनाउन ३ अर्ब ४२ करोड रुपैयाँ विनियोजन गरेको बताए। मन्त्री सिंहले वातावरण संरक्षण गर्ने जिम्मेवारी सबैको साझा दायित्व भएको उल्लेख गर्दै वातावरण संरक्षणमा सबैको भूमिका महत्वपूर्ण हुने धारणा राखे । बागमतीलाई सफा र स्वच्छ बगाउन आफूले मन्त्रालय सम्हालेको दिनबाटै चासो दिएको भन्दै उनले बागमतीसहित उपत्यकाका विष्णुमती, धोवीखोलालगायत सबै नदीलाई ढलमुक्त बनाउने गरी काम भइरहेको उल्लेख गरे । 'नीतिगत रूपमा गर्नुपर्ने काम सरकारले गर्छ । तर, वृक्षरोपण गरेपछि रूख जोगाउने काम अरूले गरिहाल्छन् नि भनेर हुँदैन । रूख जोगाउन र नदीमा जथाभावी फोहोर मिसाउन नदिन स्थानीय समुदायले चासो राख्नुपर्छ,' उनले भने । कार्यक्रममा ४० करोडभन्दा बढी योजना गोकर्णेश्वर नगरपालिकामा सहरी विकास मन्त्रालयमार्फत विनियोजन भएको उल्लेख गर्दै नगरप्रमुख दीपक रिसालले उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिए ।  कार्यक्रममा सांसद सन्तोष चालिसेले पनि यसपटकको बजेटले उपत्यकाका महत्वपूर्ण योजनालाई प्राथमिकतामा राखेको बताए ।  

स्थायी बसाइँसराइदेखि रोजगारी र अध्ययनसम्म: दुई वर्षमा लाखौं नेपालीले छाडे देश

काठमाडौं । स्थायी रूपमै देश छाड्ने नेपालीको संख्या बढ्दै गएको छ । मुलुकमा बढ्दो भ्रष्टाचार, राजनीति खिचातानि, अराजकता, बेथिति, बेरोजगारी जस्ता कारणले वाक्कदिक्क भएर नेपालीहरूले सधैंका लागि देश छाड्ने क्रम बढ्दो रूपमा देखिएको हो । पछिल्लो २ वर्षको मात्रै सरकारी तथ्यांक हेर्ने हो भने १ लाख ३७ हजार नेपाली स्थानीय रूपमै देश छाडेर विदेशमा बसाइँ सरेका छन् ।  अध्यागमन कार्यालयका अनुसार त्यसरी देश नै छाडेर विदेश बसाइँसराइ गर्नेहरूमा महिला भन्दा पुरुषको संख्या धेरै देखिन्छ । दुई वर्षको अवधिमा मात्रै ७१ हजार २०७ जना नेपाली पुरुष स्थायी रुपमै बसाइँ सरेर नेपालबाट अनुमति लिएरै विदेश गएका छन् । त्यस्तै त्यसरी बसाइँ सरेर विदेश जाने महिलाको संख्या ६६ हजार ५ सय ३८ रहेको छ ।  अध्यागमन कार्यालयबाट प्राप्त तथ्यांकअनुसार सन् २०२३ मा मात्रै स्थायी रूपमै विदेशमा बसाइँ सरेर ७० हजार ९ सय १५ नेपाली गएका छन भने सन् २०२४ मा ६६ हजार ८ सय ३५ नेपाली सधैं उतै बस्नेगरी गएका छन् । यसले ठूलो संख्यामा नेपाली देश नै छाडेर विदेशमा बसाइँ सरिरहेको देखाएको छ ।  पछिल्लो समयमा नेपालमा लगानीको वातावरण नभएको भनेर अड्कलबाजी भइरहेको बेला कतै हजारौं नेपालीमार्फत स्वदेशी पुँजी पलायन भइरहेको त छैन भन्ने आशंका विभागको तथ्यांकले देखाएको छ । तर देश छाड्ने नेपालीको पृष्ठभूमि परिचय भने सरकारले ट्रयाक गर्ने गरेको छैन । स्थायी मात्रै नभई अस्थायी रुपमा उतै बस्नका लागि पनि ठूलो संख्यामा नेपालीहरू विदेश गईरहेको सरकारी तथ्यांकले देखाउँछ । सन् २०२३ मा ९२ हजार ३ सय ४९ जना नेपाली अस्थायी रुपमा विदेशमा बस्नेगरी नेपालबाट अनुमति लिएर गएका छन भने सन् २०२४ मा मात्रै ६६ हजार ८३५ नेपाली अस्थायी रुपमा विदेशमा बस्नका लागि एयरपोर्ट प्रयोग गरेर नेपाल छाडेको अध्यागमन कार्यालयको तथ्यांकले देखाउँछ।  पछिल्लो यो दुई वर्षमा रोजगारीको खोजीमा ठूलो संख्यामा विदेश गएको पनि तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा काम नपाएर रोजीरोटीका लागि १६ लाख ६४ हजार ८ सय ३७ नेपाली विदेश गएका छन् ।  अध्यागमन कार्यालयका अनुसार सन् २०२३ को तुलनामा २०२४ मा रोजगारीका लागि विभिन्न मुलुक जानेहरूको संख्या पनि वृद्धि भएको देखिन्छ । सन् २०२३ मा कामको खोजीका लागि विदेश जाने नेपालीको संख्या ८ लाख ८ हजार ४ सय १५ रहेकोमा सन् २०२४ मा ८ लाख ५६ हजार ४ सय २२ रहेको छ ।  पछिल्लो दुई वर्षको अवधिमा अध्ययनका लागि ठूलो संख्यामा विद्यार्थी बाहिर गएको तथ्यांकले देखाएको छ । सन् २०२३ र २०२४ मा मात्रै नेपालमा मात्रै विद्यार्थी भिसामा २ लाख २७ हजार ९५१ जना विदेश गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा पढ्नका लागि विदेश जानेहरूको संख्या बढेको देखिन्छ ।  सन् २०२३ मा १ लाख ८ हजार ५ सय ४२ जना पढ्नका लागि विदेश गएकोमा अर्को वर्ष २०२४ मा मात्रै १ लाख १९ हजार ५ सय ९ जना अध्ययनका लागि देशै छाडेर विद्यार्थी विभिन्न मुलुकमा गएको तथ्यांकले देखाएको छ ।  यस्तै, पछिल्लो समय भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि बढेको देखिन्छ । अध्यागमन विभागले उपलब्ध गराएको तथ्यांकअनुसार पछिल्लो ४ लाख ७८ हजार ८४६ नेपाली विदेशमा गएका छन् । सन् २०२३ को तुलनामा २०२४ मा घुमफिरका लागि भन्दै धेरै नेपाली विदेश गएको तथ्यांकले देखाएको छ । सन् २०२३ मा २ लाख ४ हजार ५ सय १८ नेपाली घुमफिरका लागि विदेश गएकोमा सन् २०२४ मा मात्रै २ लाख ७४ हजार ५ सय १८ नेपाली विभिन्न मुलुकमा घुमफिरका लागि भन्दै भिजिट भिषामा गएका छन् ।  

एन्टिबायोटिकको अनियन्त्रित प्रयोगले भविष्यमा संकट निम्त्याउन सक्ने डाक्टरहरूको चेतावनी

सुर्खेत । एन्टिबायोटिकको प्रयोग बढ्दै गएको भन्दै यसले स्वास्थ्यमा गम्भीर असर निम्त्याउनसक्ने चिन्ता व्यक्त गरिएको छ ।  कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले आज सुर्खेतको वीरेन्द्रनगरमा गरेको अन्तरक्रिया कार्यक्रमका सहभागी सरोकारवालाहरुले एन्टिबायोटिक औषधीको प्रयोग बढ्दै जाँदा भविश्यमा यसको गम्भीर असर पर्ने चिन्ता व्यक्त गरिएको हो ।  एन्टिबायोटिकको अत्यधिक प्रयोगले प्रतिरोध क्षमतामा गिरावट आउने र त्यसले गर्दा औषधीले काम नगर्ने अवस्था सिर्जना हुनसक्ने उनीहरुको भनाइ छ ।  चिकित्सकहरुका अनुसार अहिले कर्णालीमा एन्टिबायोटिक लिने बढ्दै गएका छन् । यसले स्वास्थ्यमा नकारात्मक असर पार्नसक्ने तथ्यले देखाएको छ । विश्वस्वास्थ्य सङ्गठनका कर्णाली प्रतिनिधि प्रदीप अधिकारीले आफ्नो प्रस्तुति राख्दै नेपाल एन्टिमाइक्रोबियल प्रतिरोधको उच्च रुपले प्रभावित रहेको बताए ।  उनले सन् २०१९ मा गरिएको अध्ययन प्रस्तुत गर्दै एन्टिमाइक्रोबियल औषधीको प्रयोगका कारण प्रत्यक्ष रूपमा छ हजार ४०० र अप्रत्यक्ष रुपमा २३ हजार २०० मृत्यु भएको बताए । मानिस, जनावर र बोटबिरुवामा एन्टिबायोटिक्सको अत्यधिक प्रयोगप्रति जैविक प्रतिरोधी रोगको वृद्धि हुनुका मुख्य कारण रहेको उनको भनाइ छ । उनले भने, 'बहुऔषधी प्रतिरोध भएका विश्वका ३० मुलुकमध्ये नेपाल पनि एक हो, राष्ट्रिय रोगभार प्रतिवेदन २०१९ अनुसार सबैभन्दा बढी मृत्यु गराउने सङ्क्रामक रोगमा श्वासप्रश्वास क्षयरोग, टाइफाइडजन्य सङ्क्रमण रहेका छन् ।' नेपालको कूल ग्राहस्थ उत्पादनमा पशुपक्षीपालन क्षेत्रको करिब १३ प्रतिशत र समग्र कृषि क्षेत्रको करिब २७ प्रतिशत योगदान छ । कृषि तथा पशुपक्षीका क्षेत्रमा प्रतिजैविक प्रतिरोधको व्यापकता बढिरहेको छ । उनले गरिबी र असमानताले गर्दा कम र मध्यम आय भएका देश सबैभन्दा बढी प्रभावित हुन थालेको बताए ।  कर्णाली प्रदेश अस्पतालमा कार्यरत फिजिसिएन डा। केएन पौडेलले अहिले एन्टिबायोटिक रेसिस्टेन्स लिनेहरु बढ्दै गएको बताए । सामान्य रोगका लागि एन्टिबायोटिक औषधीको प्रयोग हुने गरेको उनको भनाइ छ ।  'बिहानदेखि बेलुकीसम्म एन्टिबायोटिक्सको प्रयोग बढ्दो छ,' उनले भने, 'यो विषय अब स्वास्थ्य क्षेत्रको मात्रै रहेन, यो व्यापक छलफल र बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ, हामीमात्रै होइन, सबै नागरिक सचेत हुन जरुरी छ ।' औषधी पसलमा डाक्टरको सिफारिसबिना रोगको पहिचान नै नगरी एन्टिबायोटिक बेच्ने र प्रयोग गर्ने गरिएको उनको भनाइ छ । रोगको पहिचानबिना त्यस्ता औषधी प्रयोग गर्न नहुने उनको सुझाव छ । चिकित्सकले भनेर नहुने भन्दै यो स्वास्थ्यसँग जोडिएको गम्भीर विषय भएकाले सबैको सरोकार हुनुपर्ने बताउँछन् । कर्णाली प्रदेश अस्पतालमै कार्यरत डा सुजन सापकोटाले पनि एन्टिबायोटिक जथाभावी प्रयोग गर्नुहन्न भने पनि यसको प्रयोग बढ्दो भएको भन्दै नियमन आवश्यक रहेको औंल्याए । गाउँगाउँसम्म सचेतना कार्यक्रम सञ्चालन गर्न सुझाव  यसैबीच सरोकारवालाले गाउँगाउँसम्म एन्टिबायोटिक औषधीको प्रयोगले पु¥याउने हानिका विषयमा गाउँगाउँसम्म सचेतना फैलाउनुपर्नेमा जोड दिएका छन् । उनीहरुले एन्टिबायोटिकको प्रयोग जथाभावी गर्दा भविष्यमा निम्तिने स्वास्थ्य समस्याका बारेमा आमनागरिकलाई जानकारी दिन आवश्यक रहेको औंल्याएका हुन्।  खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतका प्रमुख भेषबहादुर थापाले खाद्य वस्तुमा एन्टिबायोटिकको प्रयोग भएकाले त्यसको असर मानव स्वास्थ्यमा परिरहेको भन्दै यससम्बन्धी जनचेतना आमनागरिकमा दिनुपर्ने सुझाव दिए ।  वीरेन्द्रनगर नगरपालिकाका पशु शाखा प्रमुख यज्ञ पाण्डेले पनि पशुहरुमा प्रयोग हुने औषधीकै कारण मानिसमा गम्भीर असर परिरहेकोतर्फ सचेत हुनुपर्नेबेला आएको बताए । नेपाल औषधी व्यवसायी सङ्घ सुर्खेतका महासचिव मङ्गलप्रसाद शर्माले पनि जथाभावी एन्टिबायोटिकको प्रयोग गर्न नहुने भनेर आमव्यवसायीलाई सचेत गराइएको बताए । केही व्यवसायी र बिरामी आफै पनि जथाभावी औषधीको प्रयोग गर्ने गरेको उनको भनाइ छ ।  सरोकारवालाहरुले मानव, पशुपक्षी र बोटबिरुवामा प्रतिजैविक औषधीको उचित प्रयोग गर्ने, आवश्यक निर्क्यौल गरेरमात्रै प्रयोग गर्ने, यस विषयमा जनजनमा सचेतना जगाउनुपर्ने सुझाव दिएका छन् ।  सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृशबहादुर शाहीले प्रतिजैविक औषधीहरुको जथाभावी प्रयोग बढ्न नदिनेगरी काम भइरहेको जानकारी दि‍ए ।  सामाजिक विकास मन्त्रालयका सचिव अर्जुन गौतमले यससम्बन्धी बनेका कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक कानुन निर्माणमा सरकार केन्द्रित हुने प्रतिबद्धता जनाए ।  

२१ टन मह थन्कियो, विश्वासको अभाव मुख्य चुनौती

काठमाडौं । नेपाल मौरीपालक महासङ्घका अनुसार यतिबेला नेपाली किसानले उत्पादन गरेको २१ टन मह बिक्री हुन बाँकी छ । गत वर्ष यही समयमा ६९ टन मह बिक्री नभएका अवस्थामा थियो । तत्कालीन समयमा मौरीपालक कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीकै घरमा गएर गुनासो गरेपछि केही हदसम्म समस्या समाधान भएको थियो ।  तत्कालीन समयमा किसानको दबाबका कारण डाबर नेपालले केही परिमाणमा मह खरिद गरेको थियो । किसान भने महको बजारीकरणमा समस्या हुँदा ठूलोमात्रामा मौज्दात रहने अवस्था आएको बताउँदै आएका छन् ।  मौरी विज्ञका अनुसार महको माग नभएर यसरी मह घरमा बसेको होइन, नेपाली महप्रति उभोक्तामा अझै पूर्ण विश्वास नहुँदा समस्या भएको हो । त्यसमाथि नेपाली मह जम्छ र जमेको मह नक्कली हुन्छ भन्ने सोचले पनि बजारीकरणमा समस्या भएको मौरीपालक महासङ्घका अध्यक्ष सुवासचन्द्र घिमिरेको बुझाइ छ ।  उनले महबारे जानकारी दिने, यसको उपयोगिताबारे छलफल तथा अन्तरक्रियाका साथै बजारीकरणका लागि काठमाडौंमा मह मेला आयोजना गरिएको बताए । मौरी विज्ञ जगदीशभक्त श्रेष्ठका अनुसार मौरीले बिरुवा तथा फूलको रस ल्याएर मह बनाएको हुन्छ । जस्तै तोरीबाट मौरीले ल्याएर बनाएको मह चाँडै जम्छ । त्यसबाहेक मह १३/१४ डिग्रीभन्दा कम तापक्रममा पनि जम्छ । यसरी मह जम्ने प्रक्रियालाई प्राकृतिक मानिन्छ ।  'मह तताउँदा महको केही गुण नष्ट हुन्छ,' श्रेष्ठले भने । उनका अनुसार महको सेवन औषधी मात्रै होइन यो पौष्टिक तत्वका लागि पनि लाभदायक हुन्छ । महको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउन पनि मद्दत गर्छ ।  नेपाल मौरीपालक महासङ्घका निवर्तमान अध्यक्ष शिवप्रसाद शर्मा पौडेल महको सेवन धेरै कारणले लाभदायक भए पनि बजारीकरणको समस्या भएको बताउँछन् । मह बिक्री नभएपछि विगतका वर्षमा मौरीपालकहरु पलायन हुने अवस्थामा समेत पुगेको उनको भनाइ छ । तत्कालीन समयमा सरकारलाई दबाब दिँएपछि बजारीकरणको समस्या केही हदसम्म समाधान भएको थियो । 'हामी त नेपाली किसानले उत्पादन गरेको मह नै खरिदका लागि सुझाव दिन्छौं, मह जम्नु प्राकृतिक भएकाले नजम्ने मह नक्कली हुनसक्छ,' उनले भने ।  मह मेलामा भेटिएका चितवनन कालिका नगरपालिका शक्तिखोरका वि एण्ड वि मौरी फर्मका सञ्चालक विकास नेपाल यसप्रकारका मेलाले महको बजारीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाल मौरीपालक महासङ्घका पूर्वअध्यक्ष राजेन्द्र गौतम नेपालमा जति मह खपत हुनुपर्ने हो त्यो जति उत्पादन हुन नसकेको बताउाछन् । उनी उत्पादित महले बजार नपाउँदा किसान समस्यामा परेको गुनासो गर्छन् ।  'नेपाली मह गुणस्तरका हिसाबले राम्रो छ तर यहाँका उपभोक्तालाई बुझाउन सकेका छैनौं, मह नक्कली हो भन्ने भ्रमले पनि बजारीकरणमा समस्या छ,' उनले भने ।  उनी उत्पादित महको बजारीकरणमा सरकारले पनि सहयोग गर्नुपर्ने बताउँछन् । नेपाली महको अन्तरराष्ट्रिय बजार राम्रो भए पनि निकै कम परिमाणमा निर्यात भएको उनको भनाइ छ ।  मौरी विकास केन्द्र भण्डाराका प्रमुख सुजन अम्गाईंका अनुसार गत वर्ष पाँच करोडभन्दा बढीको नेपाली मह निर्यात भएको थियो । यसले नेपालमा उत्पादित मह अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ भन्ने सम्भावना देखिएको उनको बुझाइ छ । विभिन्न देशले तय गरेको मापदण्डअनुसार उत्पादन गर्न सकियो भने मह निर्यात बढाउन सकिने उनले उल्लेख गरे । मौरीपालक किसानका अनुसार महको बजारीकरणमा मात्रै नभइ चरनमा पनि समस्या छ । विषादीका कारण मौरी संरक्षण तथा मौरी चरनका लागि शुल्क तिर्नुपर्नेलगायतका समस्या समाधान गर्न जरुरी रहेको किसान बताउँछन् ।  किसान आफै मह उत्पादन गरेर बजार जान सक्दैनन् । सरकारबाट खाद्य अनुज्ञापत्र लिनुपर्छ । हरेक किसानले प्रोसेसिङ युनिट राख्न सक्दैन । त्यसैले पनि नेपाली मह बिक्री नभएको जानकार बताउँछन् ।  नेपाल मौरीपालन केन्द्रीय सहकारी सङ्घका अध्यक्ष जानुका थापा यी यावत समस्या बुझाउँदै र महको बजारीकरणका सन्दर्भमा मौरी पालन गर्ने किसानलाई सङ्गठित गरी महको बजारीकरणमा काम गर्नुपर्ने बताउँछन् । भृकुटीमण्डपमा जारी मह मेलामा ४० वटा कक्षमा मह, घार, पोलन, प्रपोलिस, टोपी, ब्रसलगायत सामग्री राखिएको छ । मेलामा सातै प्रदेशका किसानको सहभागिता छ । त्यस अवसरमा महसम्बन्धी छलफलसमेत आयोजना गरिएको छ ।  मह मेलाका संयोजक सुवासचन्द्र घिमिरेका अनुसार मेलामा मौरीपालनका क्षेत्रमा प्रयोग हुने प्रविधि, मौरीका विभिन्न प्रजातिका बारेमा र महसम्बन्धी जानकारी दिइनेछ । उनका अनुसारका मौरीको प्रजातिअनुसार महको गुण, स्वाद र रङ फरक हुन्छ ।  महासङ्घ आबद्ध किसानले यस वर्ष मात्रै २२६ टन मह उत्पादन गरेका छन् । नेपालमा सेरेना मौरीको गोला १२ हजार १३८ वटा छ भने मेलिफेराको छ हजार ५०० गोला छ । सेरेना पाल्ने किसान ७११ जना र मेलिफेरा मौरी पाल्ने किसान २७० जना महासङ्घमा आबद्ध छन् ।