विकासन्युज

स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफल गर्दै मेटा

काठमाडौं ।  मेटा प्लेटफर्म कृत्रिम बौद्धिकता (एआई) स्टार्टअप स्केल एआईमा १० अर्ब डलरभन्दा बढीको लगानी गर्न छलफलमा रहेको ब्लूमबर्ग न्यूजले आइतबार जनाएको छ । प्रतिवेदनअनुसार सम्झौताको सर्तहरूलाई अझै अन्तिम रूप दिइएको छैन र ती परिवर्तन हुनसक्ने सम्भावना छ ।  २०१६ मा स्थापना गरिएको स्केल एआई एउटा डेटा लेबलिङ स्टार्टअप हो, जसलाई एनभीडीया, अमेजन र मेटाजस्ता प्रविधि कम्पनीहरूले समर्थन गरेका छन् । करिब १४ अर्ब डलर मूल्यांकन गरिएको स्केल एआईले एआईसम्बन्धी जानकारी आदानप्रदान गर्न शोधकर्ताहरूका लागि प्लेटफर्म पनि प्रदान गर्छ, जसमा ९ हजारभन्दा बढी सहर र बस्तीका योगदानकर्ताहरू छन् ।

अमेरिकी एयरोस्पेस उद्योग राष्ट्रपतिको कर नीतिका कारण चिन्तित

न्यूयोर्क । अमेरिकी एयरोस्पेस उद्योग राष्ट्रपतिको कर नीतिका कारण चिन्तित अमेरिकी वायुसेवा र एयरोस्पेस निर्माताहरूले कर संरक्षण उनीहरूको लागि लाभकारी कार्य नभएको बताएका छन् । ट्रम्प प्रशासनको प्रस्तावित करले यस क्षेत्रले ७० वर्षभन्दा बढी समयदेखि उपभोग गर्दै आएको स्वस्थ व्यापार अधिशेषलाई समाप्त गर्न सक्ने चेतावनी उनीहरूले दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधमा वाणिज्य मन्त्री हावर्ड लुटनिकको विभागले मे १ मा नागरिक विमान र इन्जिनलगायतका पार्टपुर्जामा १० देखि २० प्रतिशतसम्म कर लगाउने वा नलगाउने भन्ने बिषयमा अनुसन्धान गरेको हो । अमेरिकी उद्योगले ती करहरू द्रुत रूपमा रक्षा गर्न तयार पारिएको थियो जसले प्रशासनलाई थाहा दियो कि यो इच्छुक छैन । एयरोस्पेस इन्डस्ट्रिज एशोसिएशन (एआईए) ले लुटनिकलाई सम्बोधन गर्दै लेखेको पत्रमा भनिएको छ, 'नागरिक उड्डयन प्रविधिको आयातमा व्यापक कर वा शुन्य–कर व्यापार अवरोध लागू गर्दा दशकौंको औद्योगिक प्रगति उल्ट्याउने र घरेलु आपूर्ति श्रृंखलालाई हानि पुर्याउने खतरा हुन्छ ।' इच्छुक पक्षलाई आ–आफ्नो अडानबारे जानकारी गराउन जुन ३ तारिखसम्म समय दिइएको थियो । त्यसको अर्को दिन लुटनिकले वासिङ्टनले यस महिनाको अन्त्यसम्ममा ‘विमानको पाटपूर्जामा करको मापदण्ड निर्धारण गर्ने’ लक्ष्य राखेको घोषणा गरे । उनले भने, 'मुख्य कुरा त्यो उद्योगको संरक्षण गर्नु हो,' उनले भने, 'हामी यी करहरू अमेरिकी उद्योगको सुधारका लागि प्रयोग गर्नेछौँ ।' यद्यपि, एआईए र एयरलाइन्स फर अमेरिका (एफोरए) ट्रेड एशोसिएशनले भने करवृद्धिले अमेरिकी उत्पादकलाई नोक्सान पुर्याउने डर व्यक्त गरेका छन् । – कुनै समाधान आवश्यक छैन – 'अन्य उद्योगहरूको विपरीत, नागरिक उड्डयन उत्पादन उद्योगले उच्च मूल्यका उपकरणहरूको घरेलु उत्पादन र अन्तिम निर्माणलाई प्राथमिकता दिन्छ,' एआईएले भनेको छ । संगठनका अनुसार सन् २०२३ मा अमेरिकी एयरोस्पेस र प्रतिरक्षा निर्यात १३५.९ अर्ब डलर पुगेको थियो जसमा नागरिक उड्डयनका क्षेत्रमा मात्र ११३.९ अर्ब डलर आम्दानी भएको थियो । यसले यस क्षेत्रलाई ७४.५ अर्ब डलरको व्यापार अधिशेष उत्पन्न गर्न र अनुसन्धान र विकासमा ३४.५ अर्ब डलर लगानी गर्न अनुमति दिएको थियो । संयुक्त राज्य अमेरिकामा यस क्षेत्रले एक लाख भन्दा बढी कम्पनीहरूमार्फत २२ लाखभन्दा बढी मानिसहरूलाई रोजगार दिन्छ, जसले २०२३ मा लगभग ५४५ अर्बको सामान उत्पादन गरेको थियो । लुटनिकलाई दिएको प्रतिक्रियामा एफोरएले करिब आधा शताब्दीभन्दा बढी समयदेखि शुल्क र व्यापार अवरोध हटाउन सहयोग गरेर अन्तर्राष्ट्रिय उड्ययन व्यापार सम्झौता (एटीसीए) कत्तिको फाइदाजनक छ भन्ने कुरा प्रकाश पारेको छ । 'अमेरिकाले विश्वव्यापी रूपमा नागरिक एरोस्पेसको नेतृत्व गरिरहेको छ र राष्ट्रपति ट्रम्पले खोजिरहेको पनि अमेरिकी नागरिक उड्डयन उद्योग सफलताको कथा हो, ' विज्ञप्तिमा भनिएको छ। उत्पादनको पूर्ण ८४ प्रतिशत पहिले नै अमेरिकी रहेको र वासिङ्टनले बाँकी रहेको १६ प्रतिशत लाई ठीक गर्न आवश्यक नरहेको बताएको छ । 'वर्तमान व्यापार ढाँचाले हाम्रो आर्थिक र राष्ट्रिय सुरक्षालाई बढावा दिएको छ र हाम्रो राष्ट्रिय सुरक्षालाई अगाडि बढाउनको लागि एक महत्वपूर्ण घटक हो,' विज्ञप्तिमा भनिएको छ । 'उत्पादकहरूका लागि, सम्भावित कर वृद्धिले दशकौँदेखि सुचारू रूपमा चलिरहेको उद्योगलाई प्रभावित पार्नेछ,' विशेषज्ञहरूले चेतावनी दिएका छन् । कोभिड–१९ महामारीबाट प्रभावित र अझै पनि सुधार हुन बाँकी अति संवेदनशील आपूर्ति शृङ्खलालाई पनि उनीहरूले सन्तुलनमा राख्नेछन् । रासस

होण्डाले ३ दिने निःशुल्क सर्भिस क्याम्प सञ्चालन गर्ने, पुराना गाडीमा एयरब्याग रिकल र छुट

काठमाडौं । नेपालका लागि होण्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहक सन्तुष्टि र सुरक्षालाई प्राथमिकता दिँदै ३ दिने निःशुल्क सर्भिस क्याम्प तथा सेफ्टी रिकल कार्यक्रम सञ्चालन गर्न लागेको छ। उक्त सर्भिस क्याम्प आगामी जेठ २७ देखि २९ गतेसम्म ललितपुरको धोबीघाटस्थित होण्डा सर्भिस सेन्टरमा सञ्चालन हुने कम्पनीले जानकारी दिएको छ । काठमाडौं , ललितपुर, भक्तपुर लगायतका क्षेत्रका होण्डा गाडीधनीहरूलाई लक्षित गर्दै यो कार्यक्रम ल्याइएको हो । कार्यक्रम अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका होण्डा कम्पनीद्वारा तोकिएका गाडीहरूमा सेफ्टी रिकल कार्यक्रम अनुसार निःशुल्क एयरब्याग परिवर्तन सेवा प्रदान गरिनेछ । सवारी सुरक्षाका दृष्टिले यो सेवा निकै महत्त्वपूर्ण हुने कम्पनीको भनाइ छ । यसका अतिरिक्त, सहभागी ग्राहकहरूले विभिन्न सेवा सुविधामा उल्लेखनीय छुट पाउने छन् ।  क्याम्प अन्तर्गत २००१ देखि २०१४ मोडलसम्मका कम्पनीद्वारा तोकिएका गाडीहरूमा होण्डा सेफ्टी रिकल कार्यक्रम अन्तर्गत निःशुल्क एयरब्याग परिवर्तन गरिनेछ । साथै, ग्राहकहरूले विभिन्न सेवा सुविधाहरूमा विशेष छुट पनि प्राप्त गर्न सक्नेछन्, जसअन्तर्गत लेबर चार्जमा १० प्रतिशत, पाट्र्समा ७ प्रतिशत, ल्युब्रिकेन्टमा ५५, एसि रिफिलमा २० प्रतिशत र डेन्ट–पेन्ट सेवामा १० प्रतिशत छुट प्रदान गरिनेछ ।  स्याकार ट्रेडिङ्ग कम्पनीले ग्राहकहरूलाई उच्चस्तरीय सेवा र सुरक्षाको सुनिश्चितता दिन यस्ता कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ । कम्पनीले भविष्यमा पनि नविन र सुविधायुक्त सेवा विस्तार गर्दै ग्राहक सन्तुष्टि बढाउने प्रतिबद्धता जनाएको छ । यस विशेष अवसरको भरपुर लाभ उठाउन सम्पूर्ण होण्डा गाडीधनीहरूलाई सहभागी हुन कम्पनीले आग्रह गरेको छ ।

पुँजी बजारको तीव्र वृद्धिसँगै नियामकीय क्षमतामा सुधार गर्दैछौं : सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पुँजी बजारको तीव्र विकाससँगै नियामक निकायको क्षमता अभिवृद्धि गर्नु अपरिहार्य रहेको बताएका छन् । धितोपत्र बोर्डको ३३औं वार्षिकोत्सवका अवसरमा अध्यक्ष श्रेष्ठले बजार विस्तारको गतिसँगै संस्थागत विकास गर्न जरुरी रहेको बताए । बोर्डको संस्थागत क्षमता विकासमा चुनौती रहेको र त्यसअनुसार सुधारको प्रयास जारी रहेको उनको भनाइ छ । साथै बोर्ड बजारको माग र प्रवृत्तिअनुसार अनुकूल ढंगले काम गरिरहेको उनले बताए ।  गैर आवासीय नेपाली समुदायलाई पनि पुँजी बजारमा सहभागी गराउने योजनाअनुसार आवश्यक कार्य भइरहेको श्रेष्ठले उल्लेख गरे । लगानी प्रवर्द्धनका लागि बोर्डले अहिलेसम्म ५० अर्ब रुपैयाँ बराबरको सेयर निष्कासन स्वीकृत गरिसकेको उनले जानकारी दिए । उनका अनुसार देशलाई ग्रे लिस्टबाट एक वर्षभित्र हटाउने प्रयासमा बोर्डले आफ्नो भूमिकाअनुसार योगदान गरिरहेको छ । भवन अभावका कारण भौतिक पूर्वाधार निर्माणमा केही ढिलाइ भए पनि बोर्डको भवन निर्माणका लागि जग्गा खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।  धितोपत्र बजारमा हुने अवाञ्छित क्रियाकलापलाई नियन्त्रण गर्न बोर्डले निरन्तर निगरानी र नियमन कार्य जारी राखेको अध्यक्ष श्रेष्ठले बताए ।

नासा सेक्यूरिटिजको ‘नासा एक्स’ टिएमएस सञ्चालन, ४ लाख लगानीकर्ताले कारोबार गर्न सक्ने

काठमाडौं । ब्रोकर नम्बर ५८, नासा सेक्यूरिटिजले नयाँ टिएमएस प्रणाली ‘नासा एक्स’ को औपचारिक शुभारम्भ गरेको छ । देश–विदेशमा रहेका लाखौं लगानीकर्तालाई छिटो, सुरक्षित र प्रयोगमैत्री सेवा दिने लक्ष्यका साथ यो प्रणाली विकास गरिएको हो । नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले जेठ २५ गते दरबारमार्गस्थित नासा सेक्यूरिटिजको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा नासा एक्स को शुभारम्भ गरे । नवीनतम प्रविधिमा आधारित यो प्रणालीमार्फत चार लाखभन्दा बढी लगानीकर्ताहरूले अनलाइन कारोबार, कोल्याट्रल व्यवस्थापन, रियल टाइम मार्केट अपडेट, ग्राहक अनुकूल ड्यासबोर्ड लगायतका सुविधा सहज रूपमा उपयोग गर्न सक्नेछन् । नासा एक्सका मुख्य विशेषताहरू  – रियल टाइम इन्फर्मेशन ड्यासबोर्ड – एउटै प्लेटफर्ममा प्राविधिक चार्ट पहुँच – रियल टाइम रकम धितोमा लोड हुने – ग्राहकले आफैँ रकम झिक्न सक्ने सुविधा – केवाइसी, खाता विवरण र ट्रेडिङमा एकल साइन-इन – निःशुल्क ‘ट्रेडिङ स्कूल’ र च्याटबोटमार्फत प्रत्यक्ष प्रतिक्रिया सेवा यससँगै, नासाले नेपालमै पहिलोपटक ‘चार्ट बेस्ड ट्रेडिङ’ सुविधा ल्याउने तयारी पनि थालेको छ । जसबाट लगानीकर्ताले चार्टमै विश्लेषण गरी सिधै खरिद–बिक्री आदेश दिन सक्नेछन् । नासा सेक्यूरिटिजले नासा एक्समार्फत डिजिटाइजेसन, पारदर्शिता र ग्राहक केन्द्रित सेवामा नयाँ मापदण्ड स्थापित गर्दै, नेपाली पुँजी बजारमा प्रविधिमैत्री कारोबार संस्कृतिको विकास गर्न सक्ने विश्वास व्यक्त गरेको छ ।

जीली अध्यक्षको चेतावनी: विश्व अटो उद्योगमा गम्भीर अति उत्पादन संकट

काठमाडौं । जीलीका अध्यक्ष तथा संस्थापक ली शुफुले शनिबार विश्वव्यापी अटोमोबाइल उद्योग अहिले ‘गम्भीर अति उत्पादन क्षमता’को समस्याबाट जुधिरहेको बताएका छन् ।  यसैकारण चिनियाँ कार निर्माता कम्पनी जीलीले नयाँ उत्पादन संयन्त्र ९कारखाना० नबनाउने र हालका उत्पादन केन्द्रहरू पनि विस्तार नगर्ने निर्णय गरेको छ । कम्पनीका अनुसार उनले यो टिप्पणी चीनको केन्द्रीय सहर छोंगछिङमा आयोजित एक अटो फोरममा गरेका थिए । जीली होल्डिङले जीली अटो, जीक्र र भोल्भो लगायतका अटो ब्रान्डहरू स्वामित्वमा राखेको छ । विश्वकै सबैभन्दा ठूलो अटो उद्योग चीनले अहिले कडा मूल्य प्रतिस्पर्धामा फसेको छ । यही बेला उनको यस्तो टिप्पणी आएको हो । यसले धेरै कम्पनीहरूलाई अन्तर्राष्ट्रिय बजारमा जाने बाध्यता बनाएको छ र चिनियाँ नियामकहरूलाई मूल्ययुद्ध रोक्नका लागि कदम चाल्न प्रेरित गरेको छ । चिनियाँ कार निर्माताहरू जसमध्ये केहीले विदेशमा कारखाना निर्माण गरिरहेका छन् । तीमध्ये बीवाईडी, चेरी अटो र ग्रेट वाल मोटर प्रमुख हुन् । जीलीले यसअघि फेब्रुअरीमा घोषणा गरेको थियो कि उनीहरूले फ्रान्सेली कार निर्माता रेनोको ब्राजिलमा रहेको हालको उत्पादन संयन्त्र प्रयोग गर्ने र रेनोको लाटिन अमेरिकी व्यवसायमा अल्प हिस्सेदारी सेयर लिने योजना बनाएका छन् ।  

कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

काठमाडौं । इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ ।  सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम शहरमा यो प्रतिबन्ध विस्तार गरिएको छ । हालैका दिनहरूमा कम्तीमा १७ अन्य शहरहरूले पनि यस्तै प्रतिबन्धहरू लागू गरेका छन्, जसमा मध्यमा इस्फाहान र दक्षिणमा केर्मान शहर समावेश छन् । सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिदेखि नै कुकुरको मालिक हुनु र सार्वजनिक स्थलमा घुमाउनु विवादको विषय बनेको छ । यद्यपि कुकुरको स्वामित्वलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कुनै कानून भने अख्तियार गरिएको छैन ।  इस्लामिक धर्म मान्ने कैयौँ विद्वानहरूले कुकुर पाल्नु वा तिनीहरूको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ वा धार्मिक रूपमा अशुद्ध ठान्छन् भने केही अधिकारीहरूले तिनीहरूलाई पश्चिमी सांस्कृतिक प्रभावको प्रतीकको रूपमा लिन्छन् । कुकुरको स्वामित्वलाई निरुत्साहित गर्ने व्यापक अभियानको एक भागको रूपमा स्थानीय अधिकारीहरूले सार्वजनिक स्थानहरूमा हिंड्न वा तिनीहरूलाई सवारी साधनमा बोक्न समय–समयमा प्रतिबन्ध लगाएका छन् । तेहरान र इरानका अन्य ठाउँहरूमा धेरै कुकुर मालिकहरूले आफ्ना कुकुरलाई डुलाइरहेका कारण प्रतिबन्धहरू लागू गर्नु धेरै हदसम्म असङ्गत भएको छ । सुधारवादी इतेमाद पत्रिकाले आइतबार इलाम शहरका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने’ बताएको छ । इरानको सरकारी अखबारले शनिबार भनेको छ, 'सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्नका लागि पछिल्लो कदम चालिएको हो ।' पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भने, 'कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो ।' सन् २०२१ मा इरानका करिब ७५सांसदले घरपालुवा जनावर कुकुरको स्वामित्वलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए । सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘कुकुर पाल्ने, सिकार गर्ने र पहरा दिने’ बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय मानिने बताएका थिए ।  'यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीहरूलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,' तस्नीम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरी उल्लेख गरेको छ । रासस  

कोरोना संक्रमण बढ्दो छ, शतर्क रहौँ : स्वास्थ्य मन्त्रालय

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोनाको संक्रमण दर तिब्र रुपमा बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा संक्रमण फैलन नदिन पूर्वतयारीका सबै काम सम्पन्न गरेको बताएको छ । छिमेकी मुलुक भारतमा देखिएको संक्रमण १५ दिनभित्र नेपालमा भित्रिएको विगतको अनुभवको आधारमा पूर्वतयारीको काम भइरहेको मन्त्रालयको भनाइ छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. प्रकाश बुढाथोकीले भारतमा पछिल्लो समय तिब्र रुपमा फैलिएको संक्रमण र केही मृत्युका घटनालाई मध्यनजर गरेर विगत दुई सातादेखि पूर्वतयारी भइरहेको बताए । प्रवक्ता डा. बुढाथोकीले छिमेकमा संक्रमण बढेसँगै नेपालमा पनि ढिलो वा छिटो आउँछ भन्ने विगतका अनुभवले देखाएकोले पूर्वतयारीमा लागिरहेको बताएका हुन् । पूर्वतयारीका क्रममा भारतसँग जोडिएका १७ वटा स्थल नाका र तीन वटा हवाई नाका तथा त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई तयारी अवस्थामा राखिएको बताए । नाकामा भित्रने सबैलाई कोरोनाको आरडिटि टेस्ट गर्दा नेगेटिभ वा पोजेटिभ जे देखिने भएपनि एक सातासम्म सेल्फ आइसोलेशनमा बस्न आग्रह गरिरहेको बताए । प्रवक्ता बुढाथोकीले कोभिडसँग मिल्दोजुल्दो लक्षण भएका मानिसहरु देशभित्र वा देश बाहिर जो भएपनि एक सातासम्म सेल्फ आइसोलेसनमा बस्न र कुनै कारणवश श्वासप्रश्वासमा समस्या भए वा थप जटिलताहरु देखिए नजिकका स्वास्थ्य संस्थामा तुरुन्त जान आग्रह गरिरहेको बताए । ‘हाम्रो छिमेकी मुलुक भारतमा पछिल्लो समयमा संक्रमण बढेपछि र केही मृत्युको घटना भइसकेपछि भारतमा भएको संक्रमण ढिलो वा छिटो १० दिन १५ दिनमा नेपालमा पनि आउँछ भन्ने विगतका अनुभवले देखाएको हुनाले हामी त्यसको पूर्वतयारीमा लगभग २ सातादेखि नै लागिरहेका छौं । र, पूर्व तयारीका क्रममा सबैभन्दा पहिलो कुरा भारतबाट नेपालमा संक्रमण नछिरोस् भनेर १७ वटा स्थल नाका र तीन वटा हवाई नाका त्यहाँ रहेका हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीलाई सचेत बनाएका छौं,’ उनले भने। कोरोना उपचारमा स्वास्थ्य पूर्वाधार र जनशक्ति अभाव छैन डा. बुढाथोकीले कोरोनाका लागि पूर्वाधार र जनशक्तिको अभाव नभएको बताए । संक्रमण बढेको अवस्थामा पनि पहिलेको तुलनामा उपचार र व्यवस्थापन गर्न सहज हुने बताए । आकस्मिक व्यवस्थापनका रेस्पोन्स टिमले पाँच मिनेट भित्र काम शुरु गर्नेगरी तयारी अवस्थामा रहेको बताए । देशभरका २५ वटा हव हस्पिटल,२ हजारभन्दा बढी सेटलाइट हस्पिटललाई पनि तयारी अवस्थामा रहने गरी व्यवस्था गरेको बताए । कोभिडको प्रतिकार्यका लागि अनुगमन गर्न देशभरका ६ सयभन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्र र प्रदेशले गर्ने व्यवस्था मिलाइएको बताए । संक्रमण बढ्दै गए उपलब्ध स्रोत, साधन र पूर्वाधारले ९० हजारदेखि एक लाखसम्मको जनसंख्यालाई धान्नसक्ने गरी तयारी गरिएको उनको भनाई छ । उनी भन्छन्, ‘सातै प्रदेशका रहेका हेल्थ इमर्जेन्सी अपरेशन सेन्टरहरुलाई पनि एक्टिभेट गरिसकेका छौं । र निदानका लागि र मोनिटरिङका लागि देशभरिका ६ सय भन्दा बढी प्रयोगशालाको रिपोर्टहरुलाई केन्द्रबाट र प्रदेशले मनिटरिङ गरिरहेको छ । कुनै कारणवस संक्रमण फैलिइ हाल्यो भने त्यो संक्रमणलाई थप संक्रमण नफैलियोस्, थप धनजनको क्षति नहोस् भन्नका लागि अस्पतालहरुलाई पनि तयारी अवस्थामा राखेका छौं । साथै प्रत्येक वडामा भएका र्‍यापिड रेस्पोन्स टिमहरु, भोलि इमर्जेन्सी मेडिकल टिम मोबिलाइज गर्नुपर्‍यो भने पनि त्यसलाई तयारी अवस्थामा राखेका छौं । त्यसमा आम नेपालीले शतर्कता अपनाइदिनुभयो भने हाम्रो पूर्वतयारीले कोभिडलाई परास्त गर्नसक्छौं ।’ मनसुनी प्रकोप र कारोना संक्रमण बढे समस्या आउन सक्ने नेपालमा मनसुजन्य रोगको संक्रमण हरेक वर्ष तिब्ररुपमा बढीरहेको छ । विगत केहि वर्ष यता मनसुनका समयमा झाडापखाला, श्वासप्रश्वास, टाइफाइड, हैजाजस्ता रोगको संक्रमण घातक रुपमा देखिएको छ । प्रवक्ता डा.बुढाथोकीले मनसुनका समयमा देखिने पानीजन्य रोग र संक्रमण तथा कीटजन्य रोग र संक्रमण डेङ्गु, मलेरियाजस्ताको संक्रमण फैलने जोखिमलाई मध्यनजर गरेर पनि पूर्वतयारीको काम गरिरहेको बताए । मनसुनी प्रकोप र कारोना संक्रमणका बारेमा सचेत रहन आम नागरिक पनि अग्रसर हुनुपर्ने बताए । सरकार एक्लैको पहलले मात्र संक्रमण रोक्न सम्भव नभएकाले आम नेपाली नागरिक पनि सचेत र सक्रिय भएर सोहीअनुरुप सचेतना अपनाइदिन प्रवक्ता डा. बुढाथोकीले आग्रह गरे । नागरिकले सचेतना पनि नअपनाउने र सरकारको आग्रह पनि नमान्ने हो भने सरकारसँग उपलब्ध सिमित श्रोत साधनले सबैको उपचार गर्नसक्ने अवस्था रहेको बताए । उनले भने, ‘मनसुनजन्य रोगहरु हुन्, चाहे पानी प्रदुषित भएर फैलने रोगहरु हुन्, चाहे खाल्डाखुल्डीमा पानी जमेर लामखुट्टे बढेर लामखुट्टेबाट उत्पन्न हुने डेङ्गी जस्ता रोगहरु हुन् । ती सबैलाई पनि एउटै स्वास्थ्य संस्था र पूर्वतयारीले सम्बोधन गर्नुपर्ने भएकाले आम नेपाली नागरिकले जनस्वास्थ्यका मापदण्ड, स्वास्थ्यमा सचेतना, खानेपानी शुद्ध र खानेकुरा बासी सढेगलेका नखाने, फास्टफुड नखाने, मद्यपान धुम्रपान नगर्ने, लागुपदार्थ सेवन नगर्नेजस्ता कुराहरु गरिदिनुभयो भने अहिले कोभिडले बढाएको चुनौति सँगसँगै हाम्रो मनसुन र मौसमले बढाउने चुनौतिलाई पनि न्युनिकरण गर्नसक्छौं ।’ स्वास्थ्य सामग्रीको अभावमा राहत उद्धार प्रभावित हुँदैन विभिन्न प्रकोपको रोकथामका लागि स्वास्थ्य मन्त्रालयले तीन तहका सरकारसँग भर्चुअल र प्रत्यक्ष बैठकहरु गरिरहेको बताए । विपद्को पूर्वतयारी र राहत उद्धारको लागि आवश्यक सामग्रीको मौज्दातहरुमध्ये स्थानीय तहले कति किन्ने राख्ने। प्रदेशले कति किन्ने राख्ने र संघले कति किन्ने राख्नेबारे पनि टुंगो लागिसकेको बताए । विगतमा जस्तो सामग्रीको अभावमा काम नै रोकिने अवस्था नआउने बताए । कुन क्षेत्रमा, कहाँ कस्तो विकटता छ, त्यसको अध्ययन गर्न र त्यहाँ रहेका जनप्रतिनिधिकै संलग्नतामा र्‍यापिड रेस्पोन्स टीमहरु गठन गरी देशभर तयारी अवस्थामा राख्न स्वास्थ्य मन्त्रालयले समन्वय गरिरहेको बताए । साथै विपद्मा परेकाहरुको तत्काल उद्धार कार्यका लागि मन्त्रालयको हटलाइन नम्बर, हेलो स्वास्थ्यका नम्बरमा, प्रदेश स्तरका आकस्मिक सेवाका सम्पर्क नम्बर र स्थानीय तहका आकस्मिक सेवाका सम्पर्क नम्बरमा खबर गरेर सेवा लिन दिन सकिने बताए । उनले भने, ‘हामी कहाँ भौगोलिक रुपले हिमाल, पहाड र तराईका विविध कठिनाईहरु छन् । जसले गर्दा बाटो वा सवारी साधन अथवा अन्य केहीपनि उपलब्ध नहुनसक्ने वा बन्द हुनसक्ने अवस्था आउन सक्छ । त्यसको पूर्वतयारीका लागि हामीले २५ वटा हव हस्पिटलमै इमर्जेन्सी लजिष्टिकका ट्यांकरहरु पनि राखेका छौं । त्यस्तै जिल्ला अस्पतालहरु र अन्य स्वास्थ्य संस्थाहरु निजी, सहकारी र सरकारी सबैलाई विपद्का लागि इमर्जेन्सी लजिष्टिकहरु पहिले नै भण्डारण गरेर राख्नुस् । त्यहाँका क्यान्टिनहरुलाई पनि कम्तिमा १५ दिन पुग्नेगरी भण्डारण गर्न लगाउनुस् भन्ने किसिमले तयारी गरेका छौं । हामीले त्यहीअनुसार मेचीदेखि महाकालीसम्मका सबै सेटेलाइट हस्पिटल र हव हस्पिटललाई पनि तयारी गरिसकेका छौं ।’ डा. बुढाथोकीले अहिलेको मनसुनमा विगतको वर्षभन्दा धेरै गर्मी हुने र धेरै वर्षा हुने आँकलन आइरहेकोले त्यसैअनुसार काम गर्नसक्ने गरी स्वास्थ्य मन्त्रालयले काम गरिरहेको बताए । नेपालको पश्चिम-उत्तरका क्षेत्रहरुमा एकातिर जलवायु परिवर्तनका कारण अधिक वर्षा हिउँ पहिरो जाने जोखिम छ भने तराई क्षेत्रमा अत्यन्त गर्मी भएर हिट वेभ र हिट स्ट्रोकको जोखिम रहेकोले मन्त्रालयले अलग्गै रणनीति बनाएर काम गरिरहेको बताए । विगतमा भएका काम र त्यसबाट प्राप्त अनुभवले नयाँ रुपमा रेस्पोन्स गर्नलाई मातहतका निकायलाई निर्देशन दिइएको बताए । मनसुन सक्रिय रहेको सडक बाटो बिगार्ने अवरोध हुने अवसथालाई ध्यानमा राख्दै स्वास्थ्यको आकस्मिक सेवा राहत उद्धारको लागि बाटोबाट सम्भव भए बाटोबाट र सम्भव नभए हवाई मार्गको माध्यमबाट, नेपाली सेनाको सहयोगमा र विभिन्न निकायसँग सहकार्य गर्ने र गृह मन्त्रालयसँग पनि विपद्सँग सहकार्य गरेर हेलिकप्टरमार्फत पनि सेवा पुर्‍याउने गरी कार्यढाँचा तयार गरिएको बताए ।