विकासन्युज

दश वर्षमा १४ हजार ५०० विद्युतीय सवारी आयात

रसुवा । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५००  नाघेको छ । विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् ।         रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौंतर्फ प्रस्थान गरिसकेको छ ।  चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ ।   

नेप्सेमा साढे ५८ अर्बको सेयर सूचीकृत, बोनस मात्रै २१ अर्ब ८ करोड

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ५८ अर्ब रुपैयाँ बराबरको सेयर सूचीकृत भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१÷८२ को १० महिनामा कुल ५८ अर्ब ४३ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।  जसमध्ये २१ अर्ब ८ करोड रुपैयाँ बराबरको बोनस सेयर, २० अर्ब ३८ करोड रुपैयाँ बराबरको साधारण सेयर, ११ अर्ब ६५ करोड रुपैयाँ  बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, १० करोड ६९ लाख रुपैयाँ बराबरको एफपीओ र ३ अर्ब ९६ करोड रुपैयाँ बराबरको अन्य सेयर रहेका छन् ।  समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले १३ अर्ब १९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ११ अर्ब ८० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ६ अर्ब ८२ करोड रुपैयाँ बराबरको डिबेन्चर र २ अर्ब २४ करोड रुपैयाँ बराबरको साधारण सेयर गरी कुल ३४ अर्ब ५ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ । नेप्सेमा वैशाख मसान्तमा सूचीकृत ८ अर्ब ७४ करोड शेयरको चुक्ता मूल्य ८६१ अर्ब ३९ करोड रुपैयाँ रहेको छ ।  

विश्वकै लामो अन्तर्राष्ट्रिय रेल सेवा पुनः सञ्चालनमा आउने, १० हजार किलोमिटर, ८ दिन लाग्ने

काठमाडौं । उत्तर कोरियाको राजधानी प्योङयाङ र रूसको राजधानी मस्को बीचको प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा आगामी १७ जुन देखि पुनः सञ्चालनमा आउने भएका छ ।   रुसी रेलवेले आफ्नो आधिकारिक टेलिग्राम च्यानलमार्फत उक्त जानकारी दिएको हो। यसका साथै, प्योङयाङ र रूसको सुदूरपूर्वी क्षेत्र स्थित खाबारोभ्स्क बीचको रेल सेवा पनि १९ जुन देखि पुनः सुरू गरिने बताइएको छ। प्योङयाङ–मस्को मार्ग, जुन हाल विश्वकै सबैभन्दा लामो प्रत्यक्ष अन्तर्राष्ट्रिय रेल सेवा हो, हरेक महिना दुईपटक सञ्चालन गरिनेछ। यो यात्रा १० हजार किलोमिटरभन्दा बढी दूरी तय गर्नेछ र यात्रा पूरा गर्न लगभग ८ दिन लाग्ने अनुमान गरिएको छ। कोभिड(१९ महामारीका कारण २०२० को फेब्रुअरी देखि स्थगित गरिएको यो रेल सेवा अब पुनः संचालनमा आउँदा, यात्रीहरूलाई एक ठूलो सुविधा प्राप्त हुनेछ। 

४५ प्रतिशत गरिबी रहेको पाकिस्तानको रक्षा बजेटमा २० प्रतिशत वृद्धि

काठमाडौं । पाकिस्तानले यस वर्षको सङ्घीय बजेटमार्फत रक्षा खर्चमा २० प्रतिशतले वृद्धि गर्ने घोषणा गरेको छ । यो निर्णय भारतसँगको पछिल्लो महिनाको तनाव पूर्ण संघर्षपछि आएको हो, जुन पछिल्ला दशकमध्ये सबैभन्दा हिंसात्मक रहेको बताइएको छ । मे महिनामा भएका चार दिन लामो द्वन्द्वमा दुबै आणविक शक्तिहरूबीच भिडन्त हुँदा ७० जनाभन्दा बढीको ज्यान गएको थियो । त्यसपछि मात्र युद्ध विरामको घोषणा गरिएको थियो । मंगलबार साँझ संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री मोहम्मद औरंगजेबले कुल ६२ अर्ब अमेरिकी डलर बराबरको बजेट प्रस्तुत गरे, जसको करिब १४ प्रतिशत भाग सैनिक खर्चका लागि छुट्याइएको छ । यो अघिल्लो वर्षको २.१२ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै ७.५ अर्ब डलर) बाट बढेर यस वर्ष २.५५ ट्रिलियन रुपैयाँ पुग्नेछ । यसअघि सरकारद्वारा सामाजिक सञ्जालमार्फत चीनबाट ४० वटा नयाँ लडाकु विमान र हवाई सुरक्षा प्रणाली खरिदको वार्ता भइरहेको जानकारी दिइएको थियो । सन् २०२३ मा पाकिस्तान आर्थिक संकटको सँघारमा पुगेको थियो । त्यतिबेला राजनीतिक अस्थिरता र आर्थिक मन्दीको कारण देशको ऋण भार अत्यधिक बढेको थियो । त्यसपछि अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट प्राप्त ७ अर्ब डलरको राहतले देशलाई संकटबाट जोगाएको थियो । त्यसयता देशले केही मात्रामा आर्थिक सुधारको संकेत देखाएको छ, मुद्रास्फीति केही घटेको छ र विदेशी मुद्रा सञ्चिति पनि बढेको जनाइएको छ । बजेट घोषणा गर्नु अघि आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री औरंगजेबले भने, ‘हामी सहि दिशामा अघि बढिरहेका छौं । परिवर्तनका लागि दुईदेखि तीन वर्ष लाग्ने हुन्छ, तर हाम्रो लक्ष्यअनुसार हामीले राम्रो काम गरेका छौं ।’ यो बजेटमाथि संसदले यस महिनाको अन्त्यतिर मतदान गर्नेछ । तर, सत्तारूढ पक्षको स्पष्ट बहुमत भएकाले ठूलो परिवर्तन हुने सम्भावना छैन । आउँदो आर्थिक वर्षका लागि सरकारले ४.२ प्रतिशत जीडीपी वृद्धिको महत्वाकांक्षी लक्ष्य लिएको छ । बजेटअनुसार, देशको ठूलो ऋण तिर्नका लागि ८ ट्रिलियन पाकिस्तानी रुपैयाँ (झन्डै २८.४ अर्ब डलर) छुट्याइएको छ । पछिल्लो साता विश्व बैंकले सार्वजनिक गरेको एक प्रतिवेदनले पाकिस्तानको कुल जनसंख्याको करिब ४५ प्रतिशत हिस्सा गरिबीको रेखामुनि रहेको र देशको साक्षरता दर ६१ प्रतिशत रहेको उल्लेख गरेको छ । यो बजेट सन् २०२४ मा गठन भएको वर्तमान सरकारले ल्याएको दोस्रो बजेट हो ।

सरकारले व्यापार होइन, नियमन गर्ने हो: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले खुला अर्थतन्त्रमा सरकारले व्यापार नभई प्रभावकारी नियमन गर्नुपर्ने बताएका छन् । कांग्रेसको आपूर्ति तथा उपभोक्ता केन्द्रीय विभागले आयोजना गरेको अन्तक्रिर्यामा उनले उदारीकरणको नीतिमा उद्योगी व्यवसायीलाई नियमनका साथ प्रोत्साहन गर्नुपर्नेमा जोड दिए । सभापति देउवाले वर्तमान अवस्थामा मुलुकमा सुनको आयातमा कोटा निर्धारण गरिएकोप्रति असन्तुष्टि जनाउँदै यसलाई खुला छोड्नुपर्ने बताउँदै यसले चोरी तस्करी नियन्त्रण हुने धारणा व्यक्त गरे ।  फरक प्रसङ्गमा उनले नेपाल अहिले जलवायु परिवर्तनको असरबाट विश्वमै सबैभन्दा बढी प्रभावित मुलुकको सूचीमा रहेको बताउँदै यस्तो प्रभावबाट जोगाउन नेपालको प्रयाससँगै विश्वको सहयोगको आवश्यकता औंल्याए । कार्यक्रममा पार्टीका महामन्त्री गगन कुमार थापाले कांग्रेस र नेकपा (एमाले) दुई ठूला दल मिलेर बनेको वर्तमान सरकारको प्राथमिकतामा आर्थिक सुधार, सुशासन, लगानी अभिवृद्धि र संविधान संशोधनको विषय रहेको बताए । उनले कांग्रेसले जनजीविकाका सवालमा छलफल तथा वकालत गर्नका लागि विभिन्न विभागमार्फत काम गरिरहेको जानकारी गराउँदै पुँजीवादी व्यवस्थामा व्यवसायीका हितका विषयका साथै उपभोक्ताको अधिकारको छनोट पनि सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।  गृहमन्त्री एवं कांग्रेस नेता रमेश लेखकले आपूर्ति शृङ्खलाका कुनै पनि चरणमा समस्या भएमा उपभोक्ता मारमा पर्ने बताउँदै त्यसको सम्बोधनका लागि सरकार लागिपरेको बताए । साथै उनले बजारलाई नियमन र सहजीकरण गर्न सरकारसँग उपभोक्ताको पनि जिम्मेवारी हुने उल्लेख गरे । कृषि तथा पशुपन्छी मन्त्री एवं कांग्रेस नेता रामनाथ अधिकारीले मुलुकको ठूलो जनसङ्ख्या कृषिमा आधारित रहेको परिवेशमा सरकारले कृषिमा परिवर्तनका लागि बजेटमा सुधारका थुप्रै कार्यक्रम ल्याएको जानकारी गराउँदै आफ्नो मन्त्रालयले बजेट कार्यान्वयन ध्यान केन्द्रित गर्ने बताए । प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले राजनीतिक दलहरूले राजनीतिमात्र होइन जनजीविकाका सवालमा एकमतका साथ काम गरेमा मात्र मुलुक समृद्ध हुने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, रमेशजङ्ग रायमाझी, अलिन रुङ्गटा, दिनेश कोइराला, पार्टीको उपभोक्ता विभागका संयोजक एवं केन्द्रीय सदस्य गुरु बराल, पूर्वगभर्नर डा चिरञ्जीवी नेपाल, नेपाल सरकारका पूर्वसचिव केवल भण्डारीलगायतले बजेटले उपभोक्ता आपूर्ति शृङ्खलामा पार्ने प्रभाव र उपभोक्ताका हकहितका विषयमा आफ्ना धारणा व्यक्त गरे । 

काठमाडौं महानगरको कार्यालयकै पिउने पानीमा भेटियो कोलिफर्म, २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाको केन्द्रीय कार्यालयमा प्रयोग हुँदै आएको पिउने पानीमा कोलिफर्म भेटिएपछि २ लाख रुपैयाँ जरिवाना तोकेको छ । जरिमानासँगै कामपाले खानेपानी आपूर्तिकर्तासँगको सम्झौता पनि भङ्ग गरेको छ । कामपामा पिउने पानी आपूर्ति गरिरहेको सी एन इन्टरप्राइजेजलाई कृषि तथा पशुपन्छी विभागले पत्र पठाउँदै प्रमुख प्रशासकीय अधिकृत स्तरीय निर्णयबाट पिउने पानी सप्लाइ गर्ने सम्झौता रद्द गरिएको विभागका प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।  पत्रमा भनिएको छ, ‘यस कार्यालयमा सप्लाइ भई आएको पिउने पानीको प्राविधिक परीक्षण गर्दा कोलिफर्म भेटियो । कामपा बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा १९ आकर्षित भइ दफा ३० बमोजिम २ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।’

नेपाल मोबिलिटी एक्सपो २०२५ः स्टल बाँडफाँड सम्पन्न, ५० भन्दा बढी ब्रान्डको सहभागिता रहने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आगामी नेपाल मोबिलिटी एक्सपो २०२५ का लागि स्टल बाँडफाँड सम्पन्न गरेको छ। एक्सपो साउन २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुनेछ। नाइमाकी अध्यक्ष रितु सिंह वैद्यका अनुसार, यस वर्षको संस्करणमा कुल ४८ स्टल तोकिएको छ, जसमा २१ वटा चार पाङ्ग्रे सवारी ब्रान्ड, १८ वटा दुई पाङ्ग्रे सवारी ब्रान्ड र ९ वटा व्यावसायिक सवारी साधन ब्रान्ड रहनेछन्। वैद्यले भनिन्, ‘नेपालको अटोमोबाइल उद्योगका प्रमुख ब्रान्डहरूको सक्रिय सहभागिता अत्यन्त उत्साहजनक छ। सम्पूर्ण स्टलहरू बुक भइसकेका छन् र अब हामी सफल कार्यान्वयनमा केन्द्रित भएका छौं।’  वैद्यका अनुसार, नेपालमा मोबिलिटी क्षेत्रको दिगो विकासका लागि नीति निर्माणदेखि अन्तर्राष्ट्रिय तहसम्म सक्रिय पैरवी गर्दै आएको छ।  एक्सपोले परम्परागत प्रदर्शनीको ढाँचाबाट अलग, नवीनतम प्रस्तुति र प्रविधिमार्फत उपभोक्ता तथा व्यवसायीहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ।  सहभागी ब्रान्डहरूमा चार पाङ्ग्रे सवारी ब्रान्डहरूतर्फ बीवाइडी, सिट्रोएन, फोर्थिङ, ग्रेट वाल मोटर्स, हेनरी भोल्ट्स, हुन्डाई, काइयी, केआईए, लीपमोटर, एलइभी १, महिन्द्रा, म्याक्सस, माज्दा, एमजी, मित्सुबिशी, निसान, ओमोडा र जेको, प्यूजो, प्रोटोन, रेनो, टोयोटा, फोक्सवागन तथा जीकर रहेका सभागी हुने छन् ।  यस्तै दुई पाङ्ग्रेतर्फ एम्पेयर, एथर, बजाज, बेनेली, सिएफमोटो, गोगोरो, होन्डा, केटीएम, महिन्द्रा, एनआईयू, रिभोल्ट, रोयल इनफिल्ड, सेगवे–नाइनबोट, सुजुकी, ट्रायम्फ, टीभीएस, अल्ट्राभायोलेट, याडिया, जिहोलगायत ब्राण्ड सहभागी हुने नाइमाले जनाएको छ भने व्यावसायिक सवारी साधन ब्रान्डहरू चेरी वान्डा, डोङफेङ, फ्यारीजोन, हुआजी, कामा, क्यारी, किङलङ तथा सनलङ सहभागी हुने बताइएको छ ।  नाइमाले सहभागी सम्पूर्ण ब्रान्डप्रति आभार व्यक्त गर्दै, आम सर्वसाधारणलाई एक्स पो मा सहभागी भई आगामी मोबिलिटी प्रविधिबारे जानकारी लिन सबैलाई आग्रह गरेको छ ।

गर्मी छल्न त्रिशूलीमा र्‍याफ्टिङ, व्यवसायमा वृद्धि

काठमाडौं । उखरमाउलो गर्मीले वातावरण तातेको छ । केही दिनअघि पूर्वी क्षेत्रमा झुलुक्क देखिएको मसुसन त्यतै अड्किएको छ । पानी नपर्दा तापक्रम ३१ डिग्रीसम्म पुगेको छ । बढ्दो तापक्रमले घरबाहिर निस्कन पनि नसक्ने अवस्था छ । त्यसैले त देशका विभिन्न ठाउँबाट बढ्दो गर्मी छल्न मानिसहरू त्रिशूली नदीमा र्‍याफ्टिङका लागि आउन थालेका छन् । काठमाडौं तथा चितवनबाट गाडीमा दुई/तीन घण्टामै पुगिने त्रिशूली नदीमा र्‍याफ्टिङ गर्नेको सङ्ख्या केही दिनयता बढेको हो । र्‍याफ्टिङ मात्रै होइन यतिबेला त्रिशूलीमा ‘क्लिफ जम्प’ गर्दै नदीको चिसो पानीमा रमाउनेहरू देखिन्छन् । त्यसो त यो र्‍याफ्टिङका लागि सबैभन्दा उपयुक्त समय पनि हो । लामो समयदेखि र्‍याफ्टिङ व्यवसाय सञ्चालन गर्दै आएका त्रिशूली रिभर साइड रिसोर्ट र त्रिशूली भिल्लाका सञ्चालक उद्धव कँडेल यतिबेला र्‍याफ्टिङका लागि आउनेहरूको सङ्ख्या उल्लेख्य बढेको बताउँछन् ।  ‘र्‍याफ्टिङका लागि यो अनुकूल समय हो, बर्खा सुरु नभएकाले नदीमा पानीको सतह पनि बढेको छैन । पारिवारिक साहसिक गतिविधि भएकाले र्‍याफ्टिङ गर्नेहरु बढेका छन्,’ उनले भने । बिदाको दिन आउने, र्‍याफ्टिङ गर्ने र रिसोर्ट तथा भिल्लामा एक रात बिताउनेहरू बढेको उनको भनाइ छ । उनका अनुसार त्रिशूलीमा खासगरी काठमाडौं, चितवन, पोखरालगायतका शहरबाट मानिसहरू आउने गरेका छन् ।  ‘कतिपय मानिसहरू काठमाडौं–चितवन–पोखराको यात्राका क्रममा पनि र्‍याफ्टिङ गरेर जानेहरु हुनुहुन्छ, त्यसबाहेक काठमाडौँ र चितवनबाट प्याकेजमा र्‍याफ्टिङलगायतका गतिविधिका लागि आउनेहरू हुनुहुन्छ,’ उनले भने । यहाँ आउनेहरू गर्मी छल्ने मात्रै नभइ नदीमाथि स्काइ साइकलिङलगायतका गतिविधिका लागि पनि आउने गरेको उनको बुझाइ छ । त्रिशूली नदीमा र्‍याफ्टिङ निकै सहज भएकाले काठमाडौंबाट चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा र्‍याफ्टिङ गर्न सक्छन् । र्‍याफ्टिङ सबै उमेर समूहका लागि रहेको सञ्चालक कँडेलले बताए ।  र्‍याफ्टिङ गाइड मिथुन श्रेष्ठका अनुसार त्रिशूली नदी आफैँमा र्‍याफ्टिङका लागि प्रमुख गन्तव्य हो । परिवार तथा साथीहरुको समूहमा नदीमा र्‍याफ्टिङ गर्दा र्‍यापिड (पानीको भङ्गालो) मा पैंठेजोरी खेल्दै जानुको अनुभव निकै रोमाञ्चक हुने उनको अनुभव छ । काठमाडौंबाट नजिकैको गन्तव्य र सहज यातायातको पहुँचका कारणले त्रिशूली र्‍याफ्टिङको प्रमुख गन्तव्य बनेको छ ।