विकासन्युज

एक्सपाइरी डेट भएका २ सयका रिचार्जमा एनटीसीले थप्यो समय

काठमाडौं । नेपाल टेलिकम (एनटीसी)ले रिचार्ज कार्डको समयावधि (एक्सपाइरी डेट) बढाएको छ । कम्पनीले नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भएता पनि सिस्टमबाट थप गरिएको जनाएको छ । कम्पनीका अनुसार २ सय रुपैयाँ मूल्य भएका नमस्ते रिचार्ज कार्डहरूमा उल्लेख भएको समयावधि समाप्त भइसकेको छ । तर, उक्त रिचार्ज कार्डहरूको समयावधि कम्पनीको सिस्टमबाटै थप गरिएको कम्पनीले जनाएको हो । थप गरिएको समयसम्ममा उक्त रिचार्ज कार्डहरू प्रयोगमा ल्याई यस कम्पनीको सेवाहरू रिचार्ज गर्न सकिने कम्पनीले बताएको छ । कम्पनीका अनुसार १११७०१००८२०४७००१ देखि १११७०१००८२०६०००० सम्म, १११६०८०३२४१२०२०१ देखि १११६०८०३२४२००००० सम्म, १११६०६००५०२००००१ देखि १११६०६००५०२२००००सम्म, १११६०६००५०२४१२०१ देखि १११६०६००५०२५०००० सम्म, १११६०६००५०२५०६०१ देखि १११६०६००५०२५६००० सम्म, १११६०६००५०२५७६०१ देखि १११६०६००५०२६०००० सम्म, १११६०६००५०३२६८०१ देखि १११६०६००५०३४०००० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको समयावधि थप गरिएको हो ।  यस्तै, १११७०१००९१८०१००१ देखि १११७०१००९१८२०००० सम्म, १११७०१००९१८४०००१ देखि १११७०१००९२३००००० सम्म, ११२१०५००१०२६८६०१ देखि ११२१०५००१०२८०००० सम्म, ११२१०५००१०२४७४०१ देखि ११२१०५००१०२६८४०० सम्म सिरियल नम्बर भएका रिचार्ज कार्डको अवधि थप गरिएको कम्पनीले जनाएको छ ।

‘गुन्द्रुकको सुप र तोमयाम सुप सँगसँगै’

काठमाडौं । नेपाली गुन्द्रुकको सुप र थाई सुप तोमयाम एउटै मेनुमार्फत प्रस्तुत गरिएको छ । भक्तपुरको रोयल थाईमा बुधबार सम्पन्न भोजनलिपि स्वादको छैटौँ संस्करणमा ऊर्जामन्त्री दीपक खड्का र नेपालका लागि थाइल्यान्डका राजदूत सुवापोङ सिरिसोर्नले संयुक्त रूपमा स्वाद लिएर दुवै परिकारको प्रवर्द्धन अभियान सुरु गरेका हुन् । नेपाली खाना प्रवर्द्धन अभियानको संयोजकत्वमा भोजनलिपि स्वाद र रोयल थाई हस्पिटालिटीले दुवै देशका खानाको प्रस्तुत गरेका हुन् । यहाँ दुवै देशका गरी करिब एक दर्जन परिकार प्रस्तुत गरिएका छन् । कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नेपाली र थाई खानाको सांस्कृतिक महत्त्वलाई जोड दिँदै नेपाल र थाइल्यान्डको आपसी सम्बन्धलाई थप सुदृढ बनाउन र नेपाली भोजनको अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि भोजनलिपि स्वाद कार्यक्रमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।  नेपालका लागि थाई राजदूत सुवापोङ सिरिसोर्न र रोयल थाईका सञ्चालक गणेश ढकालले नेपाली र थाई खाद्य संस्कृतिबीचको सम्बन्धलाई सुदृढ बनाउन दुवै देशका तर्फबाट प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए । यसअघि नेपाली खानाका परिकार मात्र प्रस्तुत गर्दै आएको अभियानले छैटौँ संस्करणमा नेपाली र थाई खानालाई संयुक्त रूपमा प्रस्तुत गरी दुवै देशका खाना पारखीको इच्छा पूरा गरिएको अभियानका संयोजक देवीप्रसाद सापकोटाले बताए ।  खाना प्रदर्शनीका अतिरिक्त हरितालिका तीजका अवसरमा महिलालाई दर खुवाउने विशेष कार्यक्रम पनि राखिएको थियो । भोजनलिपि स्वादका सर्जक सेफ घनश्याम कँडेलले नेपाली खानालाई नेपालभित्र र नेपाल बाहिरका तारे होटलमा बिक्रीको व्यवस्था मिलाउन खानाको गुणस्तर सुधारमा लाग्ने प्रतिबद्धता जनाए ।  प्रस्तुत नेपाली खानाको तयारीमा सेफ टङ्कराज मगर, इङ्वा सुब्बा, मानबहादुर तामाङलगायतले सहयोग गरेका थिए । भोजनलिपि स्वाद अन्तर्राष्ट्रिय सेफद्वय घनश्याम कँडेल र दुर्गा खड्काको पाककलामा आधारित प्रस्तुति हो ।

१० प्रतिशत लाभांश बाँड्ने भेन्चरको घोषणा

काठमाडौं । भेन्चर हायर पर्चेज लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २७ गते बसेको बैठकले १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  लाभांश पारित गर्न कम्पनीले भदौ २७ गते दिउँसो ३ बजे पानी पोखरी काठमाडौंमा नवौँ वार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको सभाले पुँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्ध पत्र तथा नियमावलीमा शंसोधन गर्ने, संशोधनमा नियमनकारी निकायबाट निर्देशन भएमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्नेछ ।  साथै, कम्पनीले प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बिक्री गर्ने प्रस्ताव गरेको छ । यस्तै, संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति पुनर्गठन गर्ने प्रस्ताव पारित गर्नेछ ।  

सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर बिक्री गर्ने, १ कित्ता हुनेले ०.८० कित्ता पाउने

काठमाडौं । सिटि होटलले भदौ २३ गतेदेखि हकप्रद सेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको ८० प्रतिशत अर्थात् हाल कायम १ कित्ता बराबर नयाँ ०.८० कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने भएको हो । कम्पनीले १ अर्ब ३३ करोड ९२ लाख रुपैयाँको प्रतिकित्ता १ रुपैयाँ अंकित मूल्य दरका १ करोड ३३ लाख ९२ हजार कित्ता हकप्रद सेयर बिक्री गर्नेछ । हकप्रद निष्काशन पश्चात् कम्पनीको चुक्ता पुँजी ३ अर्ब १ करोड ३२ लाख रुपैयाँ पुग्नेछ ।  हकप्रद सेयर निष्काशन प्रयोजनार्थ कम्पनीले साउन २७ गते बुकक्लोज गरेको थियो । त्यसैले साउन २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरुले कम्पानीको हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद सेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ । कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकको इलाम, जाउलाखेल, वीरगंज, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यस्तै, सिआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् ।

संघीय सरकारलाई सबैभन्दा बढी राजस्व मधेसबाट जान्छ, आवश्यक बजेट दिँदैन : मुख्यमन्त्री सिंह

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले इँटा उत्पादनमा मधेस प्रदेश देशकै अग्रणी रहेको बताएका छन् । नेपाल इँटा उद्योग महासङ्घ, मधेस प्रदेशको दोस्रो अधिवेशन तथा तेस्रो साधारणसभाको बुधबार जनकपुर धाममा उद्घाटन गर्दै उहाँ उखु, आँप, माछा, धान लगायतको उत्पादनमा जस्तै इँटा उत्पादनमा पनि मधेस प्रदेशको योगदान महत्त्वपूर्ण रहेको बताए ।  मुलुक भर रहेका करिब १ हजार ३ सय इँटा उद्योगमध्ये ७ सय मधेस प्रदेशमा रहेको र तीमध्ये हाल ३२० भन्दा बढी उद्योग सञ्चालनमा रहेको मुख्यमन्त्री सिंहले उल्लेख गरे । इँटा उद्योगहरूलाई प्रदेश सरकारले तोकेको न्यूनतम् मापदण्ड पूरा गर्न उनले आग्रह गरे । मुख्यमन्त्री सिंहले मधेस प्रदेशबाट संघीय सरकारलाई सबैभन्दा बढी राजस्व जाने गरेको भए पनि सोअनुसार बजेट प्राप्त नभएको भन्दै गुनासो गरे । उनले स्थानीय तहबाट पनि प्रदेश सरकारको भागको कर नपाएको भन्दै कर बुझाउन आग्रह गरे । ‘निकासी पैठारी, खोला र मनोरञ्जनलगायतका कर उठाउने पालिकाले त्यसको ४० प्रतिशत प्रदेश सरकारमा पठाउनुपर्नेमा हालसम्म प्राप्त हुने गरेको छैन । केन्द्र सरकारले पनि आवश्यक बजेट दिने गरेको छैन, अनि कसरी प्रदेश सरकारले काम गर्ने ?,’ मुख्यमन्त्री सिंहले प्रश्न गरे । 

एउटै खोलामा ६ वटा जलविद्युत् आयोजना, स्थानीयको करोडौँ लगानी

काठमाडौं । बागलुङको तारा खोला गाउँपालिका जलविद्युतको हबका रूपमा विकास भएको छ । ठाडो खोलाका रूपमा रहेको यहाँको तारा खोलामा हाल दुई जलविद्युत आयोजना सम्पन्न भएका छन् भने दुई योजना निर्माणाधीन र दुई प्रक्रियामा छन् । सयपत्री हाइड्रो कम्पनीले गाउँपालिका-२ र ३ मा पर्ने दरम खोलामा २.५ मेगावाट क्षमताको दरम खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन समेत गरिसकेको छ । यो निजी कम्पनीले बनाएको पहिलो आयोजना हो । यसअघि समुदायको प्रयासमा स-साना लघु जलविद्युत् सञ्चालनमा थिए ।  सयपत्री जलविद्युत् निर्माण पश्चात् तारा खोलामा ५ वटा जलविद्युत् आयोजना थपिने क्रममा रहेका छन् ।  जसमध्ये तारा खोला जलविद्युत् आयोजना सम्पन्न भइसकेको छ भने अन्य ४ वटा जलविद्युत् आयोजना निर्माणको चरणमा रहेका छन् ।  पाँच वर्षअघि ३८० किलोवाटको तारा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  हाल यहाँ मध्य तारा खोला, मध्य दरम ‘ए’ जलविद्युत् आयोजना धमाधम निर्माण भइरहेको छ । यस आयोजनाको ६० प्रतिशत काम सम्पन्न भइसकेको छ । यस्तै दरम ‘ए’ जलविद्युत् आयोजनाको चार मेगावट क्षमताको पूर्वाधार निर्माणले गति लिएको छ । यहाँ ४० प्रतिशत पूर्वाधारको काम सम्पन्न भइसकेको आयोजना सञ्चालक मिलन खतिवडाले जानकारी दिए । यहाँ ३.५ मेगावाट तल्लो तारा खोला जलविद्युत् आयोजना र ४.५ मेगावाट मध्य दरम ‘बी’ आयोजना निर्माणको प्रक्रियामा रहेको छ ।  तारा खोला गाउँपालिकाका अध्यक्ष धनबहादुर विकले तारा खोलामा जलविद्युत् आयोजनामा स्थानीयको समेत लगानी भएकाले यसको निर्माणले आर्थिक विकासमा ठूलो टेवा पुग्ने बताए ।  ‘मध्ये तारा खोला र मध्यदरम ‘ए’ जलविद्युत् आयोजनाले गति लिएको छ भने तारा खोला हुँदै गलकोटसम्म अन्य तीन आयोजनाको कामसमेत अगाडि बढेको छ,’ उनले भने, ‘स्थानीयको समेत करोडौँ लगानी रहेका जलविद्युत् आयोजना सम्पन्न भएमा  तारा खोलाको आर्थिक विकासमा टेवा पुग्ने छ ।’ गाउँपालिका अध्यक्ष प्रकाश घर्तीले आयोजना निर्माणले गति लिएपछि स्थानीयस्तरमै उत्साह बढेको बताउँछन् । ‘हाम्रो गाउँपालिकामा विद्युत् उत्पादनका लागि धेरै आयोजना बन्नु गर्वको विषय हो । यसले पक्कै पनि गाउँपालिका आर्थिक उन्नयन र नागरिकको जीवनमा सकारात्मक प्रभाव पर्नेछ । यसकारण सबै उत्साहित छौँ,’ उनले भने । 

आज कोशी, वाग्मती र गण्डकीमा भारी वर्षा हुने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा साधारणतया बदली तथा बाँकी भागमा आंशिक बदली रहनेछ । साथै पहाडी र तराईका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भेगका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  महाशाखाले वर्षाका कारण देशका पहाडी भागमा पहिरो तथा गेग्रान बहाव (डेब्रिज फ्लो)को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

‘उड्ने कार’ मा चढे प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ को अवलोकन गर्दै नेपालको अटो क्षेत्रको नवीन यात्रालाई समर्थन जनाएका छन् । देशकै सबैभन्दा ठूलो मानिएको यो अटोमोबाइल प्रदर्शनीमा अध्यक्ष प्रचण्डले विशेष आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘उड्ने कार’ को प्रत्यक्ष अनुभव लिएका छन् । एमएडब्लुका प्रबन्ध निर्देशक बिष्णु अग्रवालको साथमा दुई सिटे उड्ने कारमा चढेर प्रदर्शनी हेरेका प्रचण्डलाई उपस्थित दर्शकले उत्साहपूर्वक स्वागत गरेका थिए । ​​​​​​​ नाडाका अध्यक्ष करण चौधरीले प्रचण्डलाई प्रदर्शनीको बारेमा विस्तृत जानकारी गराएका थिए। प्रविधिमा विशेष जोड दिइएको सो प्रदर्शनीमा एक रोबोटले प्रचण्डलाई स्वागत गर्दा कार्यक्रममा प्रविधिक नवीनता झल्किएको देखिन्थ्यो । यसपटकको नाडा अटो शोमा २ करोड २० लाख रुपैयाँसम्मका लक्जरी गाडीहरू, आधुनिक इलेक्ट्रिक सवारी, र उड्ने कारजस्ता भविष्यमुखी प्रविधिहरू प्रदर्शनमा राखिएको छ । प्रदर्शनीमा विभिन्न अन्तर्राष्ट्रिय तथा राष्ट्रिय ब्रान्डका सवारी साधन र पार्टपुर्जाहरू समावेश गरिएका छन् । राष्ट्रिय सभाका अध्यक्षको पनि उपस्थिति प्रदर्शनीको अवलोकनमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहालको पनि उपस्थिति रह्यो । उनीहरूका साथमा उद्योगी, व्यवसायी, र प्रविधिमा रुचि राख्ने हजारौं दर्शकहरूको घुइँचो लागेको देखिन्थ्यो । नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले आयोजना गरेको यो शोले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि नेपालको अटोमोबाइल क्षेत्रको विकास, लगानी, तथा प्रविधि हस्तान्तरणमा सशक्त सन्देश दिएको छ । उड्ने कारको उपस्थितिले विशेष आकर्षण पैदा गर्दा, उद्योग क्षेत्रको सम्भावना र नयाँ सोचप्रतिको जनचासो थपिएको छ ।