विकासन्युज

सिद्धार्थ बैंकका ग्राहकलाई माया मनोर बुटिक होटेलमा २० प्रतिशतसम्म छुट

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र माया मनोर बुटिक होटेलबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौता अनुसार काठमाडौंको हात्तीसारस्थित माया मनोर बुटिक होटेलमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्दा २० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । बैंकले यो सहकार्यले ग्राहकलाई छुटको सुविधा प्रदान गर्नुका साथै नगद कारोबारलाई डिजिटल कारोबारतर्फ प्रवाहित गर्ने विश्वास लिएको जनाएको छ । यस सम्झौता सम्बन्धी थप जानकारीका लागि बैंकको २४ घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिनेछ ।

लहान मुटु अस्पताल : कम शुल्कमा गुणस्तरीय सेवा

सिरहा । लहान नगरपालिका–४ मा निर्माणाधीन मुटु अस्पतालले सेवा विस्तार गर्दै आधुनिक प्रयोगशाला सञ्चालनमा ल्याएको छ । करिब छ महिनाअघि अस्पताललेबहिरङ्ग (ओपिडी) सेवा प्रारम्भ गरेको थियो । अस्पतालका कार्यकारी निर्देशक डा. सञ्जयप्रसाद साहका अनुसार मुटु सम्बन्धी सम्पूर्ण परीक्षण प्रयोगशालामा न्यूनतम शुल्कमा सुरुआत गरिएको छ । काठमाडौँको सहिद गङ्गालाल अस्पतालमा रु एक हजार पाँच सय रुपैयाँ पर्ने ‘इको’ परीक्षण यहाँ केवल हजार रुपैयाँमै गरिनेछ । त्यस्तै अन्य शुल्क पनि न्यूनतम रहेको छ । हालसम्म दुई हजार तीन सयभन्दा बढी बिरामीहरूले सेवा लिइसकेका छन्, भने दैनिक १० जनाभन्दा बढी बिरामी आउने गरेको अस्पतालले जनाएको छ । अस्पतालले नाफा नभइ सेवा लक्षित मोडेलमा काम गरिरहेको छ । 'नाफारहित अस्पताल बन्ने भएकाले यहाँका नागरिकले सर्वसुलभ र गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास लिएका छौँ,' अस्पतालका कार्यकारी निर्देशक डा सञ्जयप्रसाद साहले बताए । अहिले दुई भवनमा ओपिडी सेवा चलिरहेको छ, जुन लहान नगरपालिकाले उपलब्ध गराएको सार्वजनिक ११ बिघा जग्गामा निर्माण गरिएको हो । डा साहका अनुसार, सो जग्गामै आगामी दिनमा पूर्ण पाँच सय शय्याको अस्पताल निर्माण हुने योजना छ, जसको विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको छ । अस्पताल प्रशासनले आगामी एक वर्षभित्र २५ शय्याको ‘आईसियू’ (सघन उपचार कक्ष) र ‘सिटी स्क्यान’ सहितको सेवा सुरु गर्ने तयारी गरिरहेको छ । ‘कार्डियो र डाइबेटिक सेन्टर’को रूपमा विस्तार हुँदै गरेको यो अस्पतालले स्थानीयहरूलाई अब धरान, विराटनगर वा काठमाडौँ जानु नपर्ने विश्वास दिलाएको छ । यो अस्पताल नेपाल हृदय रोग निवारण सङ्घ अन्तर्गत सञ्चालनमा ल्याइएको हो । सङ्घका कार्यकारी अध्यक्ष डा बालकृष्ण ओग्र्यान लहानमै जन्मिएर हाल जर्मनीमा वरिष्ठ मुटुरोग विशेषज्ञका रूपमा कार्यरत छन् । उनकै पहलमा ‘नेपाल मेड ई भि’ र ‘रोटरी क्लब कटबस’ जस्ता दुई जर्मन गैरसरकारी संस्थाबाट करिब रु दुई अर्ब बराबरको आर्थिक सहयोगमा अस्पतालको निर्माण प्रक्रिया अघि बढाइएको हो । 'यस प्रकारको अस्पतालको अवधारणा डा बालकृष्ण ओग्र्यानका कारण सम्भव भएको हो,' डा. सञ्जयप्रसाद साहले भने, 'जो यही लहानको भूमिमा जन्मिएर मुटुरोग विशेषज्ञको रूपमा हाल जर्मनीमा कार्यरत रहनुभएको छ ।' अस्पतालका निर्देशक डा. साहका अनुसार, आगामी अक्टोबरमा डा ओग्र्यानसहित जर्मनिमा कार्यरत मुटु विशेषज्ञहरूको टोली नेपाल आउने र अस्पतालको प्रगति निरीक्षण गर्नुका साथै प्राविधिक सल्लाह दिनेछ । अस्पतालको प्रशासन तथा वित्त शाखा प्रमुख रिना चौधरीका अनुसार विभिन्न सङ्घ संस्था र दाताहरूसँग समन्वयको प्रक्रिया जारी रहेको छ । जनप्रतिनिधिहरूको ध्यानाकर्षण गराउँदै उनले अस्पतालसम्मको सडक पूर्वाधार सुधार आवश्यक रहेको बताए । यति न्यूनतम शुल्कमा गुणस्तरीय सेवा दिइदै आएको भए पनि प्रचारप्रसारको अभाव रहेको उल्लेख गर्दै, स्थानीयको साथ, सहयोग र विश्वासले नै अस्पतालको भविष्य उज्ज्वल बनाउने विश्वास पनि उनले व्यक्त गरे । लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई प्रदेश नं २ कै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ । लहानको यो मुटु अस्पताल केवल स्वास्थ्य सेवा केन्द्र मात्र नभइ, स्थानीय विकासको एक गौरवपूर्ण आयोजना बन्दै गएको छ । 'स्वास्थ्यको पहुँच सबैका लागि सुनिश्चित गर्ने दिशामा यो अस्पताल ऐतिहासिक कदम हो,' रोटरी क्लब अफ लहानका अध्यक्ष तथा स्थानीय समाजसेवी अभिषेक रोसनले भने, 'कम शुल्क, गुणस्तरीय सेवा, अन्तरराष्ट्रिय सहयोग र दीर्घकालीन लक्ष्यले यो अस्पताललाई मधेश प्रदेशकै उत्कृष्ट स्वास्थ्य संस्था बनाउने स्पष्ट सङ्केत देखिन्छ ।' रासस

११ वटा निर्माण कम्पनीलाई सरकारले राख्यो कालोसूचीमा

काठमाडौं । सरकारले विभिन्न ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले समयमै काम सम्पन्न नगर्ने ११ वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको हो ।  कार्यालयका अनुसार उदयपुरको विशाल होम निर्माण सेवा, काठमाडौंको जलेश्वरी महादेव यासवि कन्स्ट्रक्सन प्रालि, मोरङको सगुन फाइबरिक्स प्रालि, नेपालगन्जको सुभास आरएस नबिन जेभी, अछामको नबिन निर्माण सेवा, सुर्खेतको जेएमसी कन्स्ट्रक्सन प्रालि, काठमाडौंको कास्यप निर्माण सेवा एण्ड सप्लायर्स प्रालि, ग्यालेक्सी कन्स्ट्रक्सन एण्ड सप्लायर्स, जालपा निर्माण सेवा एण्ड सप्लायर्स, डोल्पाको मष्टा भवानी निर्माण सेवा र अर्घाखाँचीको शहीद निर्माण सेवालाई कालोसूचीमा राखेको छ । विभिन्न निकायबाट सिफारिस गरे बमोजिम भदौ ८ गतेको निर्णयअनुसार कालोसूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरूले एक वर्षदेखि दुई वर्षसम्म कुनै पनि सार्वजनिक निकायको खरिद कारबाहीमा सहभागी हुन पाउने छैनन् ।  

२० प्रतिशत लाभांश बाँड्ने केबिएलको घोषणा

काठमाडौं । केबिएल सेक्यूरिटिजले लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश पारित गर्न कम्पनीले भदौ २० गते बिहान ११ बजे कुमारी बैंकको प्रमुख कार्यालय टंगाल काठमाडौंमा तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभाले संचालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन पारित, लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने र संचालक नियुक्ति गरि संचालक समिति चयन तथा मनोनयन गर्नेछ ।

२७ हजार ६२२ जना सेयरधनीले पाए एशियन लाइफको हकप्रद सेयर

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद सेयर बाँडफाँड गरिएको छ । असार २५ गतेदेखि साउन २० गतेसम्म बिक्री खुला गरेको हकप्रद सेयर भदौ ८ गतेका दिन बाँडफाँड गरिएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार ३०७ रुपैयाँको ४२ प्रतिशत अर्थात् १० कित्ता सेयर बराबर नयाँ ४.२ कित्ता सेयर अनुपातमा हकप्रद सेयर जारी गरेको हो ।  कम्पनीले १ अर्ब ४२ करोड ७९ लाख ३१ हजार २४८ रुपैयाँको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ करोड ४२ लाख ७९ हजार ३१२.४८ कित्ता हकप्रद सेयर जारी गरेको थियो ।  रितपूर्वक आवेदन दिएका २७ हजार ६२२ जना सेयरधनीलाई १ करोड ३९ लाख २० हजार ८०० कित्ता हकप्रद सेयर बाँडफाँड गरिएको कम्पनीले जनाएको छ । कम्पनीको ३ लाख ५८ हजार ५१२ कित्ता सेयर बिक्री हुन नसकेको कम्पनीले जनाएको छ ।  साथै हक भन्दा बढी माग गरी आवेदन दिएका सेयरधनीहरुको हकमा बाँडफाँडमा नपरेका हकप्रद सेयर बापतको रकम भदौ ११ गतेदेखि आईपीएस मार्फत सम्बन्धित आवेदकको बैंक खातामा रकमान्तर गरिने कम्पनीले जनाएको छ । 

काँकडभिट्टाबाट ३.६९ अर्बको माल वस्तु आयात, डेढ अर्बको निर्यात

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना साउनमा पूर्वी नाका काँकडभिट्टाबाट ३ अर्ब ६९ करोड ४० लाख रुपैयाँ मूल्य बराबरको माल वस्तु आयात भएका छन् । यो गत आव २०८१/८२ को सोही अवधिको तुलनामा १९ करोड २ लाख रुपैयाँले घटेको मेची भन्सार कार्यालयका सूचना अधिकारी एवं भन्सार अधिकृत ईश्वर कुमार हुमागाईंले जानकारी दिए । उनका अनुसार गत आवमा ३ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ बराबरको वस्तु तथा सामान आयात भएको थियो । चालु आर्थिक वर्षको साउन महिनामा यो नाकाबाट हुने निर्यात घटेको छ । चालु आवको साउनमा १ अर्ब ५४ करोड २८ लाख रुपैयाँ बराबरको सामान विभिन्न मुलुक निर्यात भएको छ । गत आवको सोही अवधिमा १ अर्ब ८० करोड ८२ लाख रुपैयाँको वस्तु तथा सामान निर्यात भएको थियो । कार्यालयका अनुसार चालु आवको साउन महिनामा आयात र निर्यातबाट हुने राजस्व भने १५ करोड १८ लाख रुपैयाँले बढेको छ । गत आव २०८१/८२ को साउन महिनामा १ अर्ब ११ करोड ३२ लाख रुपैयाँ राजस्व संकलन भएको थियो ।

उच्च शिक्षाका लागि बाहिरियो १ खर्ब ३८ अर्ब रुपैयाँ

काठमाडौं । देशभित्र उच्च शिक्षाका लागि विभिन्न विश्वविद्यालय तथा शैक्षिक संस्था सञ्चालनमा रहेको भएपनि ठूलो मात्रामा धनराशि विदेशिने गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१/८२ को विवरणअनुसार शिक्षाका लागि मात्रै १ खर्ब ३८ अर्ब ४८ करोड रुपैयाँ विदेशिएको छ । अघिल्लो वर्ष शैक्षिक गतिविधिका लागि १ खर्ब २५ अर्ब १३ करोड रुपैयाँ रकम विदेशिएको थियो । केन्द्रीय बैंकका अनुसार सेवा खाता अन्तर्गत भ्रमण व्यय १८.१  प्रतिशतले वृद्धि भई २ खर्ब २३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष भ्रमण व्यय एक खर्ब ८९ अर्ब ४३ करोड रुपैयाँ रहेको थियो । आव २०८१/८२ मा खुद सेवा आय ९० अर्ब ९४ करोड रुपैयाँले घाटामा रहेको छ । अघिल्लो वर्ष खुद सेवा आय ५५ अर्ब ८६ करोड रुपैयाँले घाटामा थियो । सेवा खाता अन्तर्गत समिक्षा वर्षमा भ्रमण आयत ७.७ प्रतिशतले वृद्धि भई ८८ अर्ब ६६ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ८२ अर्ब ३३ करोड रुपैयाँ थियो ।

१ करोडमा पोखरा ‘ग्रेट ट्रेल’ निर्माण हुँदै, ४ हजार ५ सय सिँढी

काठमाडौं । पोखरा महानगरपालिका-११ मणिपाल कालीखोलादेखि काँहुको धुरीसम्मको ‘पोखरा ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार आगामी माघ महिनाभित्रमा यस पद मार्गको निर्माण पूरा हुनेछ । उक्त ट्रेलमा करिब ४ हजार ५ सय सिँढीमध्येमा अब केही मात्र निर्माण बाँकी छ । कालीखोलादेखि काँहुकोटसम्म १ किमी ८०० मिटरको पद मार्ग निर्माण विसं २०८० वैशाखदेखि सुरू गरिएको थियो । यसका लागि महानगरले पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । पोखरा महानगर प्रमुख धनराज आचार्यले मुख्य बजार क्षेत्रबाट नजिकको ट्रेलको रूपमा रहेको यस ट्रेल पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक रहेको बताए । उनका अनुसार फुट ट्रय्याकका लागि चालू आवमा ८० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । ‘पर्यटकीय राजधानी पोखरामा बिहान र साँझको समयमा हिँड्न रमाउनेका लागि यो एक उपयुक्त थलोका रूपमा विकास हुने विश्वास गरेका छौँ । स्थानीय विशेषता झल्कने र पहिचानसहितको अग्र्यानिक पदमार्ग भनेका छौँ, यो पदमार्गमा यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिनेछ,’ नगर प्रमुख आचार्यले भने ।  निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार पदमार्गमा ढुङ्गा काटेर विच्छ्याइएको छ । पदमार्गका विभिन्न चार स्थानमा विश्राम स्थल हुनेछन् भने १० स्थानमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछ । पदमार्ग १० फिट चौडाइको हुने र बिचमा रेलिङ र दायाँबायाँ तारबारले घेरिने बस्नेतले बताए । पोखराको प्राकृतिक ‘भ्युपोइन्ट’का रूपमा रहेको काँहुकोटको पर्यटन विकास र प्रवर्द्धनमा पदमार्ग निर्माणले सहयोग पुग्ने आशा गरिएको छ । ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियान अन्तर्गत आइतबार सो ट्रेलको दायाँबायाँ करिब ४०० फलफूलका बिरुवासमेत रोपिएको छ । पोखरा महानगरको दुई लाख २६ हजार विरुवा लगाउने ‘मेगा ’अभियान अन्तर्गत सो क्षेत्रमा आरु, आरूबखडा, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँसलगायतका विरुवा रापिएका हुन् ।