विकासन्युज

वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर सूचना सम्प्रेषण गर्नु जरुरी छ : डेपुटी सीइओ पाण्डे

काठमाडौंं । नविल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सिइओ)  भूपेन्द्र पाण्डेले वित्तीय क्षेत्रको संवेदनशीलता बुझेर मात्रै सूचना सम्प्रेषण गर्न पत्रकारहरूलाई आग्रह गरेका छन् । नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।  वित्तीय क्षेत्रको संवेदनशीलतालाई नबुझी सूचना सम्प्रेषण गर्न नहुने उनको भनाइ छ ।  ‘अहिले बैङ्किङ क्षेत्रलाई लिएर धेरै नकारात्मक सूचनाहरू आइरहेका हुन्छन् । त्यसलाई नबुझेर पनि धेरै गलत सूचना सम्प्रेषित भइदिँदा त्यसको असर समग्र क्षेत्रमा पर्न गइरहेको छ । तसर्थ, राम्रोसँग बुझेर सकारात्मक सूचना सम्प्रेषण गर्नुपर्नेछ’ उनले भने ।  उनले आर्थिक समृद्धिमा संवाहकको भूमिका खेलिरहेको पत्रकारहरूले बैंक जस्तो क्षेत्रको संवेदनशीलता बुझेर सकारात्मक सूचना प्रवाह गर्नुपर्नेमा जोड दिए । आर्थिक पत्रकारमार्फत नै वित्तीय साक्षरताले सार्थकता पाउने उनले बताए । ‘वित्तीय साक्षरताका लागि जति कार्यक्रम ल्याए पनि पुगेको छैन । बैङ्कबाट ऋण  लिएर तिर्नु पर्दैन भन्छन्,’ उनले भने, ‘यो अवस्थामा वित्तीय साक्षरता अघि बढाउन आवश्यक छ । त्यसमा आर्थिक पत्रकारको भूमिका पनि महत्त्वपूर्ण छ ।’ मुलुकको आर्थिक अवस्था सुधार गर्न सही ढङ्गले समाचार प्रकाशन गर्नुपर्ने उनले बताए । ‘अहिले मुलुकको आर्थिक स्थिति त्यति राम्रो छैन । यस्तो बेलामा सकारात्मक ढङ्गले समाचार सम्प्रेषण गर्नुपर्छ । सञ्चार माध्यमले प्रवाह गर्ने सूचनाले बजारमा गहिरो प्रभाव पार्छ । तसर्थ, आर्थिक अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने गरि सूचना प्रवाह गर्नुपर्छ,’ उनले बताए ।

वित्तीय क्षेत्रमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण छ : डेपुटी गभर्नर मिश्र

काठमाडौं । नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले आर्थिक तथा वित्तीय क्षेत्रको विकासमा आर्थिक पत्रकारको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।  नविल बैंकको सहयोगमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले काठमाडौंमा आयोजना गरेको दुई दिने ‘एडभान्स बैकिङ ट्रेनिङ फर इकोनोमिक जर्नालिष्ट’ कार्यक्रमको शुक्रवार उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । यस्तै, उनले सही सूचनाको आजको आवश्यकता भएको पनि बताए । आर्थिक तथा वित्तीय क्षेत्र संवेदनशील भएकाले सही सूचनाका आधारमा समाचार लेख्नुपर्ने पनि उनले बताए ।  ‘समाजमा गलत सूचना सम्प्रेषण नगरी सही सूचना सम्प्रेषण गर्नु पनि अहिलेको चुनौती हो,’ डेपुटी गभर्नर मिश्रले भने । उनले सत्य तथ्य सूचनामा आधारित भएर समाचार लेख्नुपर्नेमा सुझाव दिए । उनले बैंकिङ क्षेत्र संवेदशील क्षेत्र भएकाले गलत सूचनाको असर छिटो देखिने भन्दै पत्रकारहरूलाई सही सूचना मात्र सम्प्रेषण गर्न आग्रह गरे ।  अर्थतन्त्रमा वित्तीय क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको अवस्थामा यो क्षेत्रलाई असर पार्ने सूचनाले समग्र अर्थतन्त्रलाई नै नकारात्मक प्रभाव पार्ने डेपुटी गभर्नर मिश्रले बताए । अहिले आर्थिक पत्रकारितामा फरकपन देखिन थालेको उनले बताए ।  ‘यस्ता तालिम कार्यक्रमले आर्थिक पत्रकारहरूको क्षमता बढाउने सहयोग पुगेको छ । त्यसले आर्थिक पत्रकारितामा फरकपन आउन थालेको छ,’ उनले भने, ‘यद्यपि, आर्थिक पत्रकारहरूलाई नियमित रूपमा क्षमता अभिवृद्धि गर्न आवश्यक छ । नयाँ-नयाँ तथ्याङ्क आइरहेका हुन्छन् । प्रविधि पनि नयाँ नयाँ आइरहेका छन् । त्यसका लागि पत्रकारहरूको नियमित रूपमा क्षमता अभिवृद्धि गर्नुपर्ने देखिन्छ ।’ अझै पनि कतिपय विषयवस्तु समाचारमा नआउने गरेको उनले बताए ।  ‘राष्ट्र बैंकले ९० अर्ब रुपियाँ निक्षेप तान्ने भनेर समाचार लेखिन्छ । बिडका क्रममा राष्ट्र बैंकले ७० अर्ब रुपियाँ मात्रै निक्षेप तान्छ । तर, त्यसको अपडेट समाचार भने आउँदैनन्,’ उनले भने, ‘यो उदाहरण मात्रै हो । राष्ट्र बैंकले ल्याउने अन्य विषयका तथ्याङ्कहरूको पनि समाचार देखिन्न । यस्ता किसिमका तालिम कार्यक्रमहरू नियमित रूपमा आयोजना गर्नुपर्ने बताउँदै उनले यसमा राष्ट्र बैंक पनि सहकार्य गर्न तयार रहेको बताए ।

६० किलो सुन प्रकरणमा फरार अमला रोका पक्राउ

काठमाडौं । अवैध सुन भन्सार चोरी पैठारी तथा संगठित अपराधमा संलग्न फरार प्रतिवादी अमला रोका पक्राउ परेकी छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । रोल्पाको थवाङ गाउँपालिका- २ की रोका टोखा नगरपालिका( ३ मा बस्दै आएकी थिइन् ।  आवश्यक कानुनी कारवाहीको लागि उनलाई काठमाडौं जिल्ला अदालत लगिने सीआईबीले जनाएको छ । रोका माओवादी केन्द्र निकट रोल्पा–काठमाडौं सम्पर्क मञ्चको पूर्वउपाध्यक्ष समेत हुन् । उनी सुनकाण्डमा मुछिएका बेल्जियम नागरिक दाबा छिरिङकी श्रीमती समेत हुन् ।  गत वर्ष साउन २ गते राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थ्ति भन्सार कार्यालय परिसरबाट ६० किलो सुन बरामद गरेको थियो । सुन भन्सार पास भएर निस्किएको थियो ।  ब्रेक शुसहितको सुन एक सय ५५ किलो भएको पाइए पनि गाल्दा ६० किलो सात सय १६ ग्राम शुद्ध सुन भएको थियो । अहिले उक्त सुन राष्ट्र बैंकको संरक्षणमा रहेको छ ।

नेपाल एसबिआई बैंकले गर्यो चौदण्डीगढी नगरपालिकालाई सीसीटीभी सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सुरक्षा व्यवस्था अभिवृद्धि गर्ने उद्देश्यले सीसीटीभी हस्तान्तरण गरेको छ ।  बैंकका कोशी प्रदेश प्रमुख रबिन घिमिरेले नगरपालिकाका उपमेयर मनिकादेवी दुलाललाई एक कार्यक्रमका बीच उक्त सामग्रीहरू हस्तान्तरण गरे ।  कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य कर्मचारीको पनि उपस्थिति रहेको थियो ।  बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । विगत ३१ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आइरहेको बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखारहित बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटीएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।  

प्रधानमन्त्री ओलीले गरे ग्वार्को फ्लाइओभरको उद्घाटन

काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘फ्लाई ओभरको उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहबीच फ्लाई ओभरको उद्घाटन गरेका हुन् । चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो ।  चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो ।  ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अब जामको समस्या कम हुने अपेक्षा लिएको बताए । उनले देशले विकासमा फड्को मारिरहेको पनि बताए ।  कार्यक्रममा निर्माण कम्पनी समानान्तर ग्रुपलाई सम्मान पनि गरिएको छ ।

ललितपुर महानगरको पुँजीगत खर्च ४१ प्रतिशत

ललितपुर । ललितपुर महानगरपालिकाले चालु आर्थिक २०८१/८२ को जेठ मसान्तसम्ममा ४१ प्रतिशतमात्रै पुँजीगत खर्च गरेको छ । जेठ मसान्तसम्म पुँजीगततर्फ १ अर्ब ९५ करोड बजेटमात्रै खर्च गर्न सफल भएको हो । महानगरको वार्षिक पुँजीगत बजेट चार अर्ब ६७ करोड ९४ लाख २३ हजार रुपैयाँ रहेकोमा कुल बजेटको ४१ प्रतिशत मात्रै खर्च भएको हो ।  महानगरले चालुतर्फ २ अर्ब २ करोड रुपैयाँ खर्च गरेको छ । जुन कुल बजेटको ७२ प्रतिशत हो । महानगरको चालुतर्फ छुट्याएको बजेट २ अर्ब ७८ करोड ८९ लाख ६९ हजार रुपैयाँ थियो । त्यस्तै, जेठ मसान्तसम्ममा महानगरको कुल बजेटको ६० प्रतिशत मात्रै खर्च गरेको छ । महानगरको वार्षिक बजेट ७ अर्ब ४६ करोड ८३ लाख ९२ हजार रुपैयाँ रहेकोमा जेठ मसान्तसम्ममा ४ अर्ब ५० करोड रुपैयाँ मात्रै खर्च भएको छ । आन्तरिक आयतर्फ ललितपुर महानगरका ३ अर्ब ५५ करोड ९६ लाख रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य रहेकोमा हालसम्म ५८.७ अर्थात् २ अर्ब ९ करोड संकलन गरेको छ । 

वैदेशिक व्यापारमा निर्यातको हिस्सा बढ्दै, आयात साढे १६ अर्ब पुग्दा निर्यात ७७.७७ प्रतिशतले बढ्यो

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२को ११ महिनासम्ममा १६ खर्ब ४४ अर्ब ७९ करोड ७५ लाख रुपैयाँको वस्तु आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनामा सो मुल्य बराबरको वस्तु आयात भएको हो ।  जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.१५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको ११ महिनामा १४ खर्ब ५३ अर्ब ७० करोड ४१ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।  भन्सार विभागका अनुसार यो अवधिसम्म कुल २ खर्ब ४७ अर्ब ५७ करोड २ लाख रुपैयाँको वस्तु निर्यात भएको छ । गत आर्थिक वर्षको तुलनामा निर्यात ७७.७७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षमा १ खर्ब ३९ अर्ब २६ करोड २३ लाख रुपैयाँको वस्तु निर्यात भएको थियो ।  विभागका अनुसार यो अवधिसम्म कुल १३ खर्ब ९७ अर्ब २२ करोड ७३ लाख रुपैयाँ व्यापार घाटा छ । जुन गत आवको सोही अवधिको तुलनामा ६.३० प्रतिशत बढी हो । गत आवको ११ महिनासम्म कुल १३ खर्ब १४ अर्ब ४४ करोड १८ लाख रुपैयाँको व्यापार घाटा रहेको थियो ।  गत आवको सोही अवधिमा आयात निर्यात अनुपात १०.४४ प्रतिशत रहेकोमा अहिले ६.६४ प्रतिशत छ । यस्तो अनुपात ३६.३५ प्रतिशतले घटेको हो ।  कुल व्यापारमा निर्यात अनुपात १३.०८ प्रतिशत रहेको छ भने आयात अनुपात ८६.९२ प्रतिशत कायम भएको छ ।  भन्सार विभागका अनुसार यो अवधिमा सबैभन्दा बढी डिजेल, भटमासको कच्चा तेल, पेट्रोल, खाना पकाउने ग्यास आयात भएको छ । ११ महिनामा डिजेल मात्रै १ खर्ब १५ अर्ब ५५ करोड १ लाख रुपैयाँको आयात भएको छ । कच्चा भटमासको तेल ९५ अर्ब ७२ करोड ६१ लाख रुपैयाँ, पेट्रोलको ५८ अर्ब ५८ करोड ९० लाख, खाना पकाउने ग्यास ५७ अर्ब ३६ करोड ७७ लाख रुपैयाँको आयात भएको छ ।  

नेपालको वित्तीय क्षेत्रमा साइबर सुरक्षा रोडम्याप : राष्ट्र बैंकको नयाँ पहल

काठमाडौं । नेपालको डिजिटल अर्थतन्त्रलाई साइबर खतराबाट जोगाउन नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूका लागि पहिलोपटक व्यापक साइबर सुरक्षा रोडम्याप सार्वजनिक गरेको छ ।  फेडेरेसन अफ कम्प्युटर एसोसिएसन नेपाल (क्यान महासंघ) र वन कभर प्रालिका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवी अधिकारीको परिकल्पनामा तयार पारिएको यो रणनीति नवनियुक्त गभर्नर विश्वनाथ पौडेललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको हो । रोडम्याप अनुसार अब सबै बैंक तथा वित्तीय संस्थाहरूमा प्रमुख सूचना सुरक्षा अधिकारी (सीआईएसओ) नियुक्ति अनिवार्य हुनेछ ।  साइबर जोखिम व्यवस्थापनका लागि बोर्डस्तरीय समिति र फाइनान्सियल सेक्टर कम्प्युटर इमर्जेन्सी रेस्पोन्स टिम (फिनसर्ट–नेपाल) नामक विशेष आपतकालीन टोली गठन गरिनेछ, जसले  इन्फर्मेसन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) र नेपाल प्रहरीको साइबर ब्युरोसँग सहकार्य गर्दै साइबर आक्रमणको तत्काल प्रतिक्रिया र व्यवस्थापन गर्नेछ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सेन्टर फर साइबर सेक्युरिटी रिसर्च एन्ड इनोभेसन (सीएसआरआई) नेपालले अनुसन्धान, तालिम र सिमुलेसन अभ्यासमार्फत साइबर अपराध न्यूनीकरणमा सहयोग गर्नेछन्। डिजिटल कारोबारका सबै प्लेटफर्ममा बलियो प्रमाणीकरण, इन्क्रिप्शन, नियमित जोखिम परीक्षण र सेक्युरिटी अपरेसन सेन्टर (एसओसी) स्थापना जस्ता प्रावधानलाई कडाइका साथ लागू गरिनेछ । नेपाल राष्ट्र बैंकले साइबर सुरक्षा छात्रवृत्ति कोष स्थापना, वार्षिक तालिम, सार्वजनिक सचेतना र आवधिक अडिटमार्फत दीर्घकालीन साइबर प्रतिरोधात्मक क्षमता विकासमा ध्यान दिने जनाएको छ । विशेषज्ञहरूको सामूहिक प्रयासबाट तयार भएको यो रोडम्यापले सुरक्षित र लचिलो वित्तीय प्रणाली निर्माण गर्दै नेपालको डिजिटल अर्थतन्त्रलाई थप विश्वसनीय बनाउने अपेक्षा गरिएको छ ।