विकासन्युज

नेपालकै पहिलो ओभरपास उद्घाटन, प्रधानमन्त्री ओलीद्वारा विकासको गति दोब्बर बनाउने घोषणा

काठमाडौं। काठमाडौं उपत्यकाको व्यस्त चक्रपथ अन्तर्गत ललितपुरको ग्वार्को चोकमा निर्माण भएको नेपालकै पहिलो ओभरपास शुक्रबार उद्घाटन गरिएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीसँग संयुक्त रूपमा ओभरपासको उद्घाटन गरे। सवारी चाप व्यवस्थापन गर्न चक्रपथ विस्तार परियोजना अन्तर्गत निर्माण गरिएको यो ओभरपास कोटेश्वर-कलङ्की सडक खण्डमा जाम हुने तीन मुख्य स्थानमध्ये ग्वार्को चोकमा निर्माण गरिएको पहिलो संरचना हो। जसको लम्बाइ ४ सय ५५ मिटर रहेको छ भने उचाइ (ग्राउन्ड क्लियरेन्स) ६ मिटर, र्‍याम्प लम्बाइ दायाँतर्फ १८० मिटर, बायाँतर्फ ११० मिटर, स्पान ३५ मिटर, लेन ४ लेन तथा कुल अप्रोच सडक लम्बाइ ५०० मिटर रहेको छ भने, यसको निर्माण लागत १७ करोड ६ लाख ८८ हजार रुपैयाँ रहेको छ ।  निर्माण कम्पनी आशिष–समानान्तर–रेलिगेर जेभीले २०७८ सालमा सुरु गरिएको ओभरपासको निर्माण पटक–पटक म्याद थप गर्दा पनि तोकिएको समयमा पूरा हुन सकेन। अन्ततः २०८१ पुस १० गतेदेखि निर्माण कम्पनीलाई दैनिक जरिवाना तिराएर काम सम्पन्न गराइएको हो। उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले ओभरपास निर्माणले ग्वार्को चोकको ट्राफिक जामको दीर्घकालीन समाधान गर्ने विश्वास व्यक्त गरे। उनले देशका विभिन्न क्षेत्रमा भइरहेका पूर्वाधार परियोजनाहरूको प्रगति उल्लेख गर्दै नेपालको विकासले गति लिएको दाबी गरे। ‘दैलेखमा मिथेन ग्यास भेटिएको छ, फलामको उत्खनन सुरु हुँदैछ, कृषिमा आधुनिकीकरण र नयाँ उद्योग स्थापनाको तयारी भइरहेको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘देशको आर्थिक आत्मनिर्भरताको दिशामा महत्वपूर्ण कदमहरू चालिएका छन्।’ साथै, उनले निराश नहुने र सम्भावनाका आधारमा अघि बढ्ने मनोबल राख्न सबैमा आग्रह गरे। हुलाकी राजमार्ग, सुनकोसी मरिन डाइभर्सन, मदन भण्डारी राजमार्गलगायतका परियोजनाले देशको भौगोलिक र आर्थिक संरचनामा रूपान्तरण ल्याउने प्रधानमन्त्रीको भनाइ थियो। ओभरपास उद्घाटनसँगै सवारीसाधनको नियमित सञ्चालन सुरु गरिएको छ।  उपत्यका ट्राफिक प्रमुख एसएसपी नवराज अधिकारीले ओभरपास सञ्चालनले उपत्यकाको ट्राफिक व्यवस्थापनमा उल्लेखनीय सहजता आउने विश्वास व्यक्त गरे। 

मनसुनमा सडक अवरुद्ध हुन नदिने, खतरा रहेका सडकमा उपकरणसहित जनशक्ति खटाइयो

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले मनसुन सक्रिय हुँदै गएकाले देशभरको यातायात व्यवस्थालाई सुरक्षित बनाउन सम्बद्ध निकायलाई आवश्यक निर्देशन दिएका छन्। शुक्रबार मन्त्रालयमा आयोजित बैठकमा मन्त्री दाहालले मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक डा। विजय जैशीलगायत अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा विशेष सतर्कता अपनाउन निर्देशन दिएका हुन्। ‘सकेसम्म यातायात अवरुद्ध हुन नदिने व्यवस्था मिलाउनुस्,’ मन्त्री दाहालले भने, ‘जोखिम भएका स्थानहरूमा उपकरण, जनशक्ति र साधन तयारी अवस्थामा राख्नुपर्छ।’ उनले प्रहरी, प्रशासन तथा सुरक्षाका अन्य निकायहरूसँग प्रभावकारी समन्वय गरी सडक तथा यातायात सेवा नियमित, चुस्त र सुरक्षित बनाउन पनि निर्देशन दिए। मन्त्री दाहालका अनुसार अत्यधिक जोखिम भएका स्थानहरूमा ट्राफिक प्रहरीसँग सहकार्य गरी सुरक्षित रूपमा सवारी सञ्चालन गरिनुपर्नेछ। साथै, सम्भावित जोखिमबारे सर्वसाधारणमा पूर्वजानकारी दिने व्यवस्था गर्न पनि उनले निर्देशन दिए। जोखिम क्षेत्रमा उपकरण र जनशक्ति परिचालन मन्त्रालयका सचिव केशवकुमार शर्माका अनुसार पहिरो, बाढी तथा पानी जम्ने सम्भावित स्थानहरूको पहिचान गरी ती क्षेत्रमा सडक विभागमार्फत आवश्यक उपकरण तथा जनशक्ति परिचालन गरिएको छ। ‘हामीले सुरक्षासम्बन्धी निकायहरूसँग समन्वय गरेर सवारी सञ्चालनको समयसमेत व्यवस्थापन गर्ने प्रयास गरेका छौं,’ सचिव शर्माले जानकारी दिए। सडक विभागका महानिर्देशक डा. विजय जैशीले बिपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वीराजपथ तथा निर्माणाधीन दाउन्ने खण्डजस्ता संवेदनशील क्षेत्रमा विशेष सतर्कता अपनाइएको बताए। उनका अनुसार काठमाडौं उपत्यकाभित्रका पानी जम्ने स्थानहरूको सरसफाइ गरिएको छ भने राजमार्ग र कोरिडोरहरूमा आवश्यक औजार र उपकरण तयारी अवस्थामा राखिएको छ। ‘ जैशीले भने, प्रशासन, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायहरूसँग नियमित समन्वय भइरहेको छ ।  यातायात सुरक्षाका लागि सबै निकायको सहयोग अपरिहार्य छ।’   

यी हुन् ११ महिनामा सबैभन्दा बढी निर्यात भएका १० वस्तु, करिब आधा हिस्सा भटमासको तेलको

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिनामा नेपालबाट २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ ।  भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार ११ महिनाको अवधिमा सो रकम बराबरको वस्तु निर्यात भएको हो ।  यो अवधिमा ४४ करोड २६ लाख ५१ हजार बढी केजीको ९३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ बराबरको सोयविन तेल  निर्यात भएको छ । जुन नेपालबाट सबैभन्दा बढी निर्यात भएको वस्तु हो । यो अवधिमा ५ करोड १० लाख लिटर बढीको ११ अर्ब ३३ करोड रकमको सनफ्लावर तेल निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । नेपालबाट बढी निर्यात हुने वस्तुको तेस्रो नम्बरमा कार्पेट रहेको छ । यो ११ महिनाको अवधिमा नेपालबाट ४ लाख २७ हजार स्क्वायर मिटरको ९ अर्ब ७८ करोड १० लाख रुपैयाँ बराबरको कार्पेट निर्यात भएको हो ।  यस्तै, बढी निर्यात हुने वस्तुको चौथो नम्बरमा अलैंची रहेको छ । यो अवधिमा  ३९ लाख  ९५ हजार बढी केजीको ७ अर्ब १९ करोड रकम बराबरको अलैंची निर्यात भएको हो ।  चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ४ करोड ५३ लाख केजी बढीको ५ अर्ब १३ करोड मूल्य बराबरको रकमको रोल्ड आइरन तथा स्टील निर्यात भएको छ भने १० करोड ६७ लाख बढी स्क्वायर मिटरकोे ५ अर्ब १० करोड ३२ लाख रुपैयाँको उन निर्यात भएको छ ।  यस्तै, यो अवधिमा बढी निर्यात हुने १० वस्तुभित्र जुस पनि रहेको छ । यो अवधिमा कुल ५ करोड ४५ लाख बढी लिटरको ४ अर्ब ९४ करोड ३३ लाख रकमको मिक्स जुस निर्यात भएको छ ।  ११ महिनासम्ममा १ करोड ८८ लाख बढी केजीको ५ अर्ब ७० करोड रुपैयाँबराबरको धागो निर्यात भएको छ भने ११ लाख ५३ हजार केजी बराबरको ४ अर्ब २९ करोड रुपैयाँको पातलो कार्पेट निर्यात भएको भन्सार विभागले जनाएको छ ।

घुस आरोपमा निलम्बित नागार्जुन नगरपालिकाका मेयर दोषी ठहर

काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहन बहादुर बस्नेत घुस प्रकरणमा दोषी ठहर भएका छन । व्यवसायी राजु कँडेलबाट ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लागेका बस्नेतलाई विशेष अदालतले दोषी ठहर गरेको हो ।  शुक्रबार मुख्य न्यायाधीश टेक बहादुर कुँवर र न्यायाधीश रामबहादुर थापाको संयुक्त इजलासले घुस आरोपमा उनलाई दोषी ठहर गरेको हो । निलम्बित प्रमुख बस्नेतलाई सो घुस बाहेक १३ करोड १२ लाख रुपैयाँ बराबरको सम्पति शुद्धीकरणमा समेत दोषी ठहर गरेको छ । उक्त मुद्दामा बस्नेतकी श्रीमती उर्मिला बस्नेतलाई भने सफाइ दिइएको छ ।  विशेष अदालतबाट अभियोग प्रमाणित भएपनि बस्नेतको कैद सजाय बारे असार १६ को इजलासबाट तय हुने जानकारी दिइएको छ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वर्ष पुस १४ गते ९ करोड २२ लाख घुस लिएको दाबी गर्दै उनीविरुद्ध मुद्दा दायर गरेको थियो । 

सिन्धुपाल्चोकमा कृषकलाई लक्षित गरी निर्जीवन बीमा सचेतना कार्यक्रम सम्पन्न

सिन्धुपाल्चोक । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेड, चौतारा शाखाको आयोजनामा सिन्धुपाल्चोकको साँगाचोकगढी नगरपालिका- ४, कुविण्डेमा निर्जीवन बीमासम्बन्धी सचेतनामूलक छलफल कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ । २०८२ साल असार ५ गते आयोजित उक्त कार्यक्रममा कुविण्डे दुग्ध संकलन केन्द्रमा आबद्ध करिब २० जना कृषकले सहभागिता जनाएका थिए ।  उनीहरूलाई बीमाको महत्त्व, प्रयोग, लाभ तथा स्थानीयस्तरमा उपलब्ध निर्जीवन बीमालेखहरूबारे विस्तृत जानकारी प्रदान गरिएको थियो । कृषक तथा ग्रामीण समुदायमा बीमाप्रति जागरुकता अभिवृद्धि गर्दै जोखिम व्यवस्थापनलाई सहज बनाउन कार्यक्रमको उद्देश्य राखिएको शाखा प्रमुखले बताए । कुविण्डे दुग्ध कृषि सहकारीका अध्यक्ष प्रेमप्रसाद सापकोटाले कृषकको जीवनस्तर उकास्न बीमाको भूमिका महत्त्वपूर्ण रहेको उल्लेख गर्दै बीमा कम्पनीहरूले पहुँच विस्तारसँगै दाबी प्रक्रिया सरल बनाउन अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा राखे । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले आगामी दिनमा पनि विभिन्न स्थानीय तहमा यस्ता सचेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सीप मेला २०८२’ मा संस्थागत साझेदार

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं महानगरपालिकाले आयोजना गरेको ‘काठमाडौं महानगर सीप मेला’  २०८२ मा संस्थागत साझेदारी गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मेलामा सहभागिता जनाएको हो । महानगरपालिकाले सञ्चालनमा ल्याएको ‘सीप मेला २०८२’ को मुख्य उद्देश्य सीप नभएकाहरूलाई सीप सिकाउने र आधारभूत सीप भएकाहरूलाई थप दक्ष बनाउने हो ।  मेलामा रोजगारी र आय वृद्धिको माध्यमबाट काठमाडौंको समृद्धि हासिल गर्ने लक्ष्य लिएको छ । मेला अन्तर्गत १० विधामा ३७ पेशासँग सम्बन्धित तालिमहरू पूर्ण रूपमा निःशुल्क प्रदान गरिँदैछ । काठमाडौं महानगरपालिकाको यस अभियानमा सहभागी हुन पाउँदा खुसी लागेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले बताए ।  सीप मेला केवल एउटा कार्यक्रम होइन, सामाजिक परिवर्तनको अभियान हो । जहाँ युवाहरूको आत्मनिर्भरता र देशको समृद्धिको सम्भावना समेटिएको छ ।  सीप मेलामा नेपालभरिका युवाहरू सहभागी छन् । सीप मेला विशेष गरी काठमाडौं महानगर क्षेत्रमा बसोबास गरिरहेका स्थायी वा अस्थायी बासिन्दा, करदाताहरू, ल्याण्डफिल्ड साइट प्रभावित क्षेत्रका बासिन्दा, बेरोजगार युवा (महिला–पुरुष), विदेशबाट फर्किएर काम खोज्दै गरेका व्यक्तिहरूलाई लक्षित गरेर सञ्चालन गरिएको हो ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक सभा सम्पन्न

काठमाडौं । लिमिटेडको दोश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  शुक्रबार  कम्पनी सञ्चालक समितिका अध्यक्ष निकोलस पाण्डेको अध्यक्षता बसेको सभा कम्पनीको प्रधान कार्यालय न्यूरोड–०८, पोखरामा  सम्पन्न भएको हो । साधारणसभालेअध्यक्ष निकोलस पाण्डेले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्ताव उपर छलफल भई सर्वसम्मतिले पारित गरेको छ । साथै साधारण सभाले आर्थिक वर्ष २०८०–०८१ को लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ अषाढ मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरेको छ । सोही साधारण सभाबाट आर्थिक वर्ष २०८१/०८२ को लागि बाह्य लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव उपर छलफल भई पारित भएको छ ।  

ललितपुर महानगरको नीति तथा कार्यक्रममा के-के विषय समेटिए ?

काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेको छ । महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले सातौं नगरसभामा आगामी आव २०८२/२०८३ को नीति तथा कार्यक्रम पेश गरेका हुन्।  महानगरपालिकाले नीति तथा कार्यक्रममा महानगरभित्रका सडकलाई रणनीतिक, सांस्कृतिक सडक निर्माण गर्ने भएको छ ।  नीति तथा कार्यक्रममार्फत महानगर प्रमुख महर्जनले पाटन दरबार क्षेत्र, बुङमती, खोकना, सुनाकोठी, धापाखेल हरिसिद्धिलाई समेटेर रणनीतिक सांस्कृतिक सडक निर्माणलाई प्राथमिकताका साथ कार्यान्वयन गर्ने बताए ।  यो अवधारणाले यी वडालाई सांस्कृतिक वडा बनाउन सहयोग पुग्ने नगर प्रमुख महर्जनले बताए ।  त्यसैगरी, दीर्घकालीन महत्व बोकेका सडकहरू पहिचान गरी ती सडकलाई रणनीतिक सडकहरूको रूपमा वर्गीकरण गरिने पेश गरिएको नीति तथा कार्यक्रममा उल्लेख छ । महानगर प्रमुख महर्जन नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर र वडाले गर्ने सडकको समेत वर्गीकरण गर्ने बताए । कलेज अफ आर्ट स्थापना गर्ने  महानगरले हस्तकलाको संरक्षण र सम्वर्द्धनका लागि कलेज स्थापना गर्ने भएको छ । महानगरका प्रमुख महर्जनले भने, ‘सरोकारवाला र सम्बन्धित निकायसँग छलफल गरेर हस्तकलासम्बन्धी औपचारिक शिक्षाका लागि कलेज स्थापना गर्नेछौं ।’  लोप हुन लागेका सीप र कला संरक्षण सम्वर्द्धनका लागि सीप हस्तान्तरण र पुस्तान्तरण सम्बन्धी कार्यलाई पनि प्राथमिकतामा राखेर काम गर्ने महर्जनले बताए।  ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रूपमा अघि बढाउने ललितपुर महानगरले परम्परागत पानीका मुहान संरक्षण गर्न ग्राउण्ड वाटर रिचार्जलाई अभियानको रुपमा अघि बढाउने भएको छ । नीति तथा कार्यक्रममा ढुंगेधारा , कुवा, इनार र पोखरीजस्ता स्रोतलाई संरक्षण गर्न विशेष ध्यान दिने उल्लेख छ ।  त्यसैगरी निजी जग्गामा रहेका पानीका मुहानहरू संरक्षणका गर्न महनगरले अधिग्रहण गरेर मुहान संरक्षण गर्ने भएको छ ।  खानेपानीको मुहानको संरक्षण, विकास गर्न अन्तरपालिका तथा सरोकारवाला निकायबीच समन्वय गर्ने समेत नीतिमा उल्लेख छ । यसैगरी, खोकना, बुङमती धापाखेल, सुनाकोठीमा खानेपानी व्यवस्थापनका लागि पानीट्याङ्की निर्माणको काम थलिने भएको छ । परम्परा राजकुलो, जलमार्गलाई पुनर्जीवित गर्न र परम्परागत  पानीको मुहानको पानी स्रोत विस्तार गर्न आवश्यक कार्य गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । बसपार्क तथा बसस्टपलाई व्यवस्थित बनाइने महानगरले महानगरभित्र रहेका बसपार्क तथा बसस्टपहरू सरोकारवालाहरु निकायसँग समन्वय गरी व्यवस्थित बनाइने भएको छ । त्यस्तै, साविक उपमहानगरपालिका अवस्थाको तयार भएको महागरस्तरीय यातायात गुरुयोजना लाई महागनर घोषणापश्चात थप भएका हाल वडा नं १८,२१,२२, २३,२४,२५, २६,२७,२८ र २९ समेत समेटेर एकीकृत रुपमा मास्टर प्लान तयार गरिने कार्यक्रममा उल्लेख छ ।  त्यस्तै महानगरभित्र सम्भावना भएका रुटहरूमा साझा बस सञ्चालनको लागि साझा यातायातसँग समन्वय गरिने भएको छ । एक विद्यालय एक सम्पदा संरक्षण कार्यक्रम सञ्चालन गरिने  सम्पदा संरक्षणमा विद्यालय र विद्यार्थीहरूलाई संलग्न  गराउन यो कार्यक्रम संचालन गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी महानगरभित्रका सामुदायिक विद्यालयको नियमित अनुगमन तथा निरीक्षण कार्यलाई प्रभावकारी बनाउन प्रविधिमा आधारित अनुगमन प्रणालीको विकास गर्ने समेत नीति तथा कार्यक्रम उल्लेख छ ।   महानगरभित्र सामुदायिक विद्यालयमा संचालित हरित विद्यालय वा विद्यालय बगैंचा कार्यक्रमलाई निरन्तरता दिइनेछ । यो कार्यक्रमलाई प्रतिस्पर्धी बनाउँदै उत्कृष्ट बगैंचा बनाउने ३ वटा विद्यालयलाई महानगर स्थापना दिवसको दिन आयोजित कार्यक्रममा नगद सहित पुरस्कृत गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । महानगरले आगामी शैक्षिक सत्रदेखि कक्षा पाँच सम्मको स्थानीय पाठ्यक्रममा नेपाल भाषालाई समावेश गर्ने भएको छ । महानगरभित्र संस्थागत र सामुदायिक विद्यालयमा संस्कृत भाषा, परियत्ति शिक्षा, नैतिक र संस्कारयुक्त शिक्षा पठनपाठनलाई महत्व दिने नीति तथा कार्यक्रममा उल्लेख छ । यसैगरी, कला, संस्कृति र सम्पदाको संरक्षणमा जोड दिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यसबाहेक नीति तथा कार्यक्रमममा स्वास्थ्यतर्फ विभिन्न कार्यक्रमहरू समेटिएका छन् । महानगरपालिकाले ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरु, अपंगता भएका व्यक्तिहरूको लागि सञ्चालनमा रहेको स्वास्थ्य उपचारसम्बन्धी ‘जेष्ठ नागरिक महानगर’ कार्यक्रममा नि:शुल्क थेरापी सेवा विस्तार गरी निरन्तरता दिने भएको छ।  नागरिकलाई स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउन प्रथम सेवा बिन्दुको रूपमा रहने गरी स्वास्थ्य सेवा केन्द्रको विस्तार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै, महानगरभित्रका कार्यरत स्वास्थ्यकर्मीहरूलाई आवश्यकताका आधारमा क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रम सञ्चालन गरिने भएको छ । महानगरभित्र स्थायी रूपमा बसोबास गर्ने ६८ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप दिने व्यवस्थालाई पनि निरन्तरता दिने भएकाे छ । यसैगरी नगरभित्रका नागरिकलाई गुणस्तरीय र पहुँच योग्य स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य नीति लागू गर्ने नीतिमा उल्लेख छ ।  फागुन महिनामा नसर्ने रोग परीक्षण महिना ललितपुर महानगरले फागुन महिनालाई नसर्ने रोग परीक्षण महिनाको रुपमा व्याख्या गर्दै अभियान संचालन गर्ने भएको छ । नीति तथा कार्यक्रममा मधुमेह, उच्च रक्तचाप, मुटुसम्बन्धी रोग, क्यान्सर, मोटोपन जस्ता नसर्ने रोग न्यूनीकरणका लागि ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नाराका साथ यो अभियान संचालन गर्ने नीतिमा उल्लेख छ । महानगरले शारीरिक अपाङ्गता भएका व्यक्तिहरुलाई फिजियोथेरापी सेवा प्रदान गर्न आवश्यक व्यवस्थापन गरिने उल्लेख गरेको छ । सरकारी कार्यालयहरू, सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बैंक, व्यापारिक मलहरू, निजी र सामुदायिक विद्यालयहरुको साथै सबै वडा कार्यालयहरूको भौतिक संरचना अनुगमन गरी अपाङ्गतामैत्री बनाउन सुझावसहितको प्रतिवेदन तयार गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।  त्यस्तै, सरोकारवाला निकाय, अभिभावक तथा महिला स्वास्थ्य स्वयमसेविका लगायतको समन्वय र सहकार्यमा बौद्धिक अपाङ्गता तथा अटिज्म भएका व्यक्तिहरूको यर्थाथपरक विवरण संकलन गरिने भएको छ ।  अटिज्मको क्षेत्रमा रोवा सुविधा सहजरूपमा उपलब्ध गराउन कार्यविधि निर्माण गरिने उल्लेख छ । महानगरले अटिज्म तथा अपाङ्गता भएका व्यक्तिहरूलाई महानगरपालिकाले सञ्चालन गर्ने जेष्ठ नागरिकसँग महानगर सम्बन्धी स्वास्थ्य सेवा कार्यक्रममा आवद्ध गराइने भएको छ ।  अटिज्म भएका व्यक्तिहरूलाई निःशुल्क थेरापी सेवा उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।