जनताको बहुदलीय जनवादका प्रणेता मदन भण्डारी : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्रीे केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारी जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा रहेको बताएका छन् । चौहत्तरौँ मदन भण्डारीको जयन्तीका अवसरमा सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले शनिबार नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा नेताका रुपमा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, 'नेपालको कम्युनिष्ट आन्दोलनलाई सिद्धान्तका लागि जीवन होइन, जीवनका लागि सिद्धान्तको कोणमा बदल्ने अगुवा, जननेता मदन भण्डारीको आज ७४औं जन्मजयन्ती । जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।' आज एमाले र त्यसको जनवर्गीय सङ्गठनले तत्कालीन एमालेका महासचिव भण्डारीको ७४औं जन्मजयन्ती विविध कार्यक्रम गर्दै मनाउँदै छ ।
२ लाख ५० हजार पुरस्कार सहित फुटबलर राजुकाजी र भलिबलकी अरूणा शाही सम्मानित
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान राजुकाजी शाक्य र नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरूणा शाही सम्मानित भएका छन् । शरदचन्द्र शाह स्मृति फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा शाक्य र शाहीलाई एससीएसएमएफ स्पोट्र्स अवार्ड २०२५ सहित नगद २ लाख ५० हजार रुपैयाँ प्रदान गरी सम्मान गरेको हो । फाउन्डेसनकी अध्यक्ष रेणु शाहले दुवै खेलाडीलाई सम्मान हस्तान्तरण गरिन् । शरदचन्द्र शाहले नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद्मा ११ वर्षसम्म सदस्यसचिवको जिम्मेवारी सम्हालेका थिए । उनलाई नेपालको सफल सदस्यसचिवका रूपमा स्मरण गरिन्छ । कार्यक्रममा पूर्वमन्त्री निरन्जन थापाले शाहको योगदान र नेतृत्व क्षमताको चर्चा गर्दै नेपाली खेलकुदको समृद्धिमा उनको भूमिकालाई स्मरण गरे । 'नेपाली खेलकुदले गरेको प्रगतिको फड्को नै शाहप्रति सच्चा श्रद्धाञ्जली हो,' उनले भने । नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर शाहले पनि अरूणा शाहीको नेतृत्व र योगदानको प्रशंसा गर्दै, शरदचन्द्र शाहकै कार्यकालमा नेपाली खेलकुदमा धेरै विकास भएको बताए । कार्यक्रममा शाहका नाती शभिर शाहले पनि आफ्ना हजुरबुबाको सम्झना गर्दै आगामी दिनमा नेपाली खेलकुदको हितमा अझै काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बागमती प्रदेशको बजेट : सबैभन्दा बढी काठमाडौं र मकवानपुरमा विनियोजन
मकवानपुर । बागमती प्रदेशले असार १ गते ल्याएको कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजार बजेटमा कुल ४१ अर्ब ४३ करोड पूँजीगत तर्फ अर्थात् ६१ प्रतिशत बजेट विनियोजन गरेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले ल्याएको बजेटको कुल ११.९ प्रतिशत बजेट काठमाडौं जिल्लामा परेको छ भने दोस्रोमा प्रदेश राजधानी समेत रहेको मकवानपुरमा १०.६ प्रतिशत बजेट विनियोजन भएको छ । यस्तै तेस्रो स्थानमा भने नुवाकोट र काभ्रे जिल्लामा कुल बजेटको १०/१० प्रतिशत बजेट विनियोजन भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । यसै गरी सिन्धुपाल्चोक जिल्लामा ८.४ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्री समेत रहेका दोलखा जिल्ला भने विनियोजित बजेटको ८.३ प्रतिशत बजेट विनियोजन भएको छ । आर्थिक मामिला मन्त्रीले आफ्नो जिल्लामा सबै बजेट लिएर गयो भन्ने आरोप रहेको समयमा मन्त्रीका जिल्ला भने बजेट परेको जिल्लामा पाँचौँ स्थानमा रहेको छ । यस्तै चितवनमा ७.५ प्रतिशत,सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६.७ प्रतिशत, रामेछाप जिल्लामा ६.१ प्रतिशत, धादिङमा ६.१ प्रतिशत, भक्तपुर जिल्लामा ४.८ प्रतिशत र रसुवा जिल्लामा २.८ प्रतिशत बजेट विनियोजित भएको छ । बागमती प्रदेशको विनियोजित बजेटमा भौतिक पूर्वाधार तथा विकास मन्त्रालय , पर्यटन मन्त्रालय , खानेपानी मन्त्रालय, अन्तर्गतका विकास बजेट तर्फ ३ अर्ब ९४ करोड ७९ लाख १० हजार रुपैंया बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ । काभ्रेमा ३ अर्ब ३० करोड २५ लाख ७० हजार , चितवनमा २ अर्ब ४८ करोड ५८ लाख ४० हजार , दोलखा जिल्लामा २ अर्ब ७४ करोड ९९ लाख ५० हजार, धादिङमा २ अर्ब १ करोड ४० लाख ५० हजार, नुवाकोटमा ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार , भक्तपुरमा १ अर्ब ५९ करोड ९३ लाख, मकवानपुरमा ३ अर्ब ४९ करोड ८३ लाख , रसुवामा ९२ करोड ५२ लाख ९० हजार, रामेछापमा २ अर्ब ३ करोड ११ लाख ४० हजार, ललितपुरमा २ अर्ब २२ करोड ५४ लाख, सिन्धुपाल्चोकमा २ अर्ब ७९ करोड ९५ लाख ४० हजार र सिन्धुलीमा २ अर्ब २५ करोड ९६ लाख ८० हजार बजेट विनियोजित भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जानकारी दिएको छ ।
अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने ट्रम्पको चेतावनी
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार क्यानडाले अमेरिकी प्राविधिक कम्पनीहरूमा डिजिटल सेवा कर लगाएको कारण संयुक्त राज्य अमेरिकाले क्यानडासँगको सबै व्यापार वार्ता अन्त्य गर्ने चेतावनी दिएका छन् । क्यानाडाले अमेरिकाका केही कम्पनीहरूमाथि आरोप लगाएको उनको भनाइ छ । जुलाई ९ को लगाइएको समयसीमा नजिकिँदै गर्दा संयुक्त राज्य अमेरिका ठूलो संख्यामा व्यापारिक साझेदारहरूसँग व्यापार वार्ता अन्त्य गर्न हतार गरिरहेको छ । यद्यपि ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले बिहीबार ट्रम्पले समयसीमा बढाउन सक्ने बताएका थिए ।
नेपाली श्रमिकको स्वास्थ्यका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउन संवाद बढाउँदैछौँ : मन्त्री पौडेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आगामी विश्व स्वास्थ्य संगठनमा नेपालका तर्फबाट प्रस्ताव गरिएको श्रमिकको स्वास्थ्य रक्षाका मुद्दालाई प्रभावकारी बनाउन विश्व स्वास्थ्य संगठनसँग सम्वाद बढाएका छन् । संगठनको कार्यकारी समिति सदस्य समेत रहेको नेपालले यस मुद्दा आगामी महासभामा लैजान गृहकार्य गरिरहेको छ । यसै सन्दर्भमा थाइल्याण्डको बैंककस्थित राष्ट्रसंघीय सम्मेलन केन्द्रमा मन्त्री पौडेलले संगठनकी दक्षिणपूर्वी एसिया क्षेत्रीय निर्देशक साइमा वाजेदसँग नेपालको एजेण्डाको तयारी र यसमा जुटाउन सकिने विश्व समर्थनबारे कुरा गरे । हाम्रा धेरै श्रमिक अहिले रोजगारीका क्रममा बाहिर छन् । उनीहरुको स्वास्थ्य समस्या हाम्रा लागि चिन्ताको विषय बनेको छ, उनले भने, सबै श्रमिक देशका साझा समस्यालाई सम्बोधन गर्न पर्याप्त गृहकार्य आवश्यक छ । जवाफमा निर्देशक वाजेदले नेपालको एजेण्डामा समर्थन जुट्ने विश्वास गर्दै आफ्ना तर्फबाट समन्वयात्मक पहल हुने प्रतिबद्धता जनाइन् । हालै सम्पन्न विश्व स्वास्थ्य संगठनको महासभामापछि नेपालले आगामी महासभामा नेपाली श्रमिकले भोगिरहेको स्वास्थ्य समस्या सम्बोधन गर्न सबै श्रमिकको स्वास्थ्यको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव पठाएको थियो । जसलाई आगामी महासभामा नेपालका तर्फबाट पेश गरिनेछ । मन्त्री पौडेलले हालै मात्र शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा विदेशबाट फर्किएका श्रमिकको निःशुल्क परीक्षण तथा नियमित भर्चुअल स्वास्थ्य सेवा दिन गरेको निर्णय कार्यान्वयनमा आइसकेको छ ।
तनहुँको कन्यादेवी मावि : गत वर्ष निल, यसपालि ७३ प्रतिशत विद्यार्थी उत्तीर्ण
तनहुँ । तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कस्थित कन्यादेवी माध्यमिक विद्यालय गत वर्षको एसइईमा निल भएको थियो । गत वर्ष विद्यालयका १९ विद्यार्थी एसइईमा सहभागी थिए । त्यतिबेला सबै विद्यार्थी अनुत्तीर्ण भएका थिए । ग्रेडवृद्धिबाट चार विद्यार्थी उत्तीर्ण भएका थिए । तर यस वर्ष उक्त विद्यालयको नतिजामा सुधार आएको छ। यस वर्ष विद्यालयबाट ७३.३३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । पन्ध्र जना विद्यार्थी सहभागी भएकामा ११ जना विद्यार्थी उत्तीर्ण भएको विद्यालयका प्रधानाध्यापक सूर्यमानसिंह गुरुङले जानकारी दिए । पालिकाको लगानीका कारण यस वर्षको नतिजामा सुधार आएको विद्यालयका प्रधानाध्यापक गुरुङले जानकारी दिए । पालिकाले एसइई दिने विद्यार्थीलाई मध्यनजर गरी होस्टेलको व्यवस्था गरेको थियो । होस्टेलमा विद्यार्थीका लागि खाने, बस्ने सबै खर्च पालिकाले व्यवस्थापन गरिदिएको थियो । यस्तै विषयगत शिक्षकले होस्टेलमै बसेर विद्यार्थीलाई अध्ययन गराउँथे । बिहान ५–८ र साँझ ५–८ अतिरिक्त अध्यययनको व्यवस्था मिलाइएको थियो । उनले भने, 'सुरुदेखि एसइई नतिजा सुधारका लागि पालिकाले लगानी गरेको थियो। त्यसकै परिणाम अहिले देखिएको छ ।' गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले पालिकाभित्रका विद्यालयको नतिजा सुधारका लागि आफूहरू सुरुदेखि नै लागेको बताए । उनले भने, 'गत वर्षको नतिजाले हामीलाई निराश बनाएको थियो। अहिले नतिजा सुधारका लागि विद्यालयमै आवाससहितको कक्षा सञ्चालन गरेका थियौँ ।' सम्पूर्ण वडाभित्रका विद्यालयको नतिजाको विवरण सङ्कलनको क्रममै रहेको बताउँदै चुमानले सबै विद्यालयको नतिजा सुधार आएको उल्लेख गरे । रासस
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ । आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने मौसम विज्ञान विभागको पूर्वानुमान महाशाखाले जनाएको । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ ।
ताप्लेजुङको सुकेटार विमानस्थलमा हवाई सेवा ठप्प
ताप्लेजुङ । ताप्लेजुङको एकमात्र हवाई सेवा सञ्चालन हुँदै आएको सुकेटार विमानस्थलमा हवाई उडान ठप्प भएको छ । चार महिना लामो बन्दपछि चैतको अन्तिम साताबाट पुनः सञ्चालनमा आएको नेपाल वायु सेवा निगमको हवाई सेवा जेठ ३० गतेयता एकपटक पनि सञ्चालन हुन सकेको छैन । निगमका ताप्लेजुङ स्टेसन इञ्चार्ज नारायणकुमार कार्कीका अनुसार बर्खायाम सुरू भएसँगै कुहिरो र कम भिजिबिलिटीका कारण असारयता चार उडान प्रभावित भएका छन् । प्रत्येक सोमबार र शुक्रबार नियमित हुने काठमाडौं–ताप्लेजुङ उडान निरन्तर रद्द हुन थालेपछि यात्रुहरू मर्कामा परेका छन् । इञ्चार्ज कार्कीले भने, 'मौसम प्रतिकूल भएकाले जहाजले अवतरण गर्नसक्ने अवस्था छैन । भिजिबिलिटी न्यून भएकाले सुरक्षाको दृष्टिकोणले उडान रोकिनुपरेको हो ।' शुक्रबार ताप्लेजुङ–काठमाडौं र काठमाडौं–ताप्लेजुङ उडानमा तीन–तीनजना यात्रुले टिकट लिएका थिए । तर मौसम सुध्रिन नसक्दा उडान रद्द भयो । नियमित उडान नहुँदा जिल्ला आवतजावत गर्ने यात्रुको सङ्ख्या घट्दै गएको छ । टिकट लिएर पनि गन्तव्यमा पुग्न सकिने विश्वास नभएपछि यात्रुहरू सवारीसाधनको भरमा लामो दूरीको यात्रा गर्न बाध्य भएका छन् । वर्षायाममा बारम्बार उडान अवरुद्ध हुने समस्या दोहोरिएपछि यात्रुहरू वैकल्पिक र भरपर्दो यातायातको माग गर्दै आएका छन् । ताप्लेजुङको दुर्गम भूगोलमा हवाई सेवा जीवनरेखाजस्तै रहेकाले यस्ता समस्या समाधानका लागि दीर्घकालीन रणनीति आवश्यक देखिएको छ ।