ब्राजिलको बेरोजगारी दर विगत १० वर्षयताको सबैभन्दा न्यून
रियो दि जेनेरियो । ब्राजिलमा चालु वर्षको मार्चदेखि मेसम्मको अवधिमा बेरोजगारी दर घट्दै ६.२ प्रतिशतमा पुगेको छ, जुन विगत दश वर्षको सोही अवधिमा सबैभन्दा कम हो भन्ने तथ्य ब्राजिलको भूगोल तथा तथ्याङ्क संस्थान (आईबीजिई) द्वारा सार्वजनिक गरिएको छ । संस्थानका अनुसार, डिसेम्बर–फेब्रुअरीसम्मको अघिल्लो त्रैमासिक अवधिमा बेरोजगारी दर ६.८ प्रतिशत थियो। हालको दर अघिल्लो अवधिको तुलनामा ०.६ प्रतिशत बिन्दुले कमी आएको हो। यस्तै, गत वर्षको यही अवधिमा ७.१ प्रतिशत रहेको दर अहिले ०.९ प्रतिशत बिन्दुले घटेको देखिएको छ । उक्त त्रैमासिक अवधिमा करिब ६८ लाख व्यक्तिहरू बेरोजगार रहेको विवरण छ, जुन अघिल्लो त्रैमासिकको ७५ लाखभन्दा ८.६ प्रतिशतले कम हो। यो घटबढको आधारमा करिब ६ लाख ४४ हजार व्यक्तिहरूले रोजगारी प्राप्त गरेको देखिन्छ। त्यस्तै, अघिल्लो वर्षको सोही अवधिको तुलनामा यो संख्या करिब नौ लाख ५५ हजारले घटेको छ, जुन १२.३ प्रतिशतको गिरावट हो। आईबीजिईका विश्लेषक विलियम क्राटोकभिलका अनुसार, ‘बेरोजगारी दर घट्नुको प्रमुख कारण रोजगारी प्राप्त गर्ने व्यक्तिहरूको संख्या उल्लेख्य रूपमा बढ्नु हो। साथै, श्रमशक्तिको अपूर्ण उपयोग पनि घटेको पाइन्छ ।’ उनका अनुसार सामाजिक सुरक्षा प्रणालीमा योगदान पुर्याउने व्यक्तिहरूको संख्या हालसम्मकै उच्च विन्दुमा पुगेको छ। सर्वेक्षणको सन्दर्भ सप्ताहमा १४ वर्ष वा सोभन्दा माथिका ६ करोड ८३ लाख नागरिकहरू कुनै न कुनै प्रकारको रोजगारीमा संलग्न थिए । ‘यसले श्रम बजारको सुदृढीकरणलाई संकेत गर्दछ। औपचारिक रोजगारीमा आबद्ध तथा स्वरोजगारीमा रहेका धेरै व्यक्तिहरू नियमानुसार दर्ता भएका छन्, जसको फलस्वरूप पेन्सन प्रणालीमा योगदान पुर्याउने व्यक्तिको संख्या बढेको देखिन्छ,’ विश्लेषक क्राटोकभिलले थप जानकारी दिए । रासस
बजेटमा रहेका करसम्बन्धी केही प्रावधानहरू उद्योग, व्यवसाय र रोजगारीविरुद्ध छन् : सांसद महत
काठमाडौं । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमा रहेका केही करसम्बन्धी प्रावधानहरूले उद्योग, व्यवसाय र रोजगारीमा प्रतिकूल असर पार्ने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले वायर रडमा कर ५ प्रतिशतबाट १० प्रतिशत पुर्याइएकोप्रति आपत्ति जनाए । उनले त्यसले औद्योगिक क्षेत्र कमजोर बनाउने र रोजगारी घटाउने जोखिम रहेको बताए । सांसद महतले सुनलाई विलासी वस्तुको रूपमा नहेरी सुनचाँदीका गहना–गरगहनामा लगाइएको विलासी कर खारेज गर्न माग गरे । साथै सुन आयातका लागि रहेको कोटा प्रणाली हटाएर खुला आयातको व्यवस्था गर्नुपर्ने सुझाव समेत उनले दिए । त्यस्तै आयुर्वेदिक औषधिमा भ्याट लगाउने प्रस्ताव पुनर्विचार गर्नुपर्ने उल्लेख गर्दै महतले भ्याटको दायरा विस्तार गर्दा नस्वास्थ्यसँग जोडिएका क्षेत्रप्रति सावधानी अपनाउनुपर्ने बताए । जलविद्युत् आयोजनाजस्ता पूर्वाधार विकासका लागि आयात हुने सामग्रीमा मात्र १ प्रतिशत कर लगाइएको भए पनि त्यसबाट पर्याप्त राजस्व उठ्न नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराए ।
फ्रान्समा सार्वजनिक स्थानमा धूमपान प्रतिबन्ध
पेरिस । फ्रान्सले आगामी आइतबारदेखि समुद्री किनार, पार्क, सार्वजनिक बगैँचा तथा बस प्रतीक्षालय (बस स्टप) जस्ता सार्वजनिक स्थानहरूमा धूमपान पूर्ण रूपमा प्रतिबन्धित गर्ने घोषणा गरेको छ । शनिबार सरकारी गजेठमा प्रकाशित नयाँ आदेशअनुसार यो प्रतिबन्ध पुस्तकालय, पोहोर पोखरी (स्विमिङ पूल) तथा विद्यालयबाहिरको क्षेत्रमा पनि लागू हुनेछ । स्वास्थ्यमन्त्री क्याथरिन भोत्रिनले यसअघि मे महिनामा बालबालिकालाई निष्क्रिय धूमपान (प्यासिभ स्मोकिङ) बाट जोगाउन यस्तो निर्णय आवश्यक भएको बताए । उनले भने, ‘जहाँ बालबालिका हुन्छन्, त्यहाँबाट चुरोट हट्नुपर्छ । बालबालिकालाई शुद्ध हावा सास फेर्ने अधिकार छ ।’ यो नियम इलेक्ट्रोनिक चुरोट (ई–सिगरेट) मा लागू हुने स्पष्ट गरिएको छैन भने क्याफेहरूको बाहिरी टेरेसमा भने धूम्रपान गर्न पाइनेछ । नियम उल्लंघन गर्ने व्यक्तिलाई १३५ युरो (करिब १५८ अमेरिकी डलर) जरिवाना तिर्नुपर्नेछ । फ्रान्समा प्रत्येक वर्ष करिब ७५ हजार मानिसको मृत्यु धूमपानसम्बन्धी रोगका कारण हुने अनुमान गरिएको छ । हालै गरिएको जनमत सर्वेक्षणअनुसार ६२ प्रतिशत फ्रेन्च नागरिकले सार्वजनिक स्थानमा धूमपान प्रतिबन्धलाई समर्थन गरेका छन् । रासस
गुल्मीमा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु
गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिका–७ वाग्लामा ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। मृतक ४५ वर्षीय वसन्त घिमिरे स्थानीय बासिन्दा हुन् । उनले गाउँकै बिग्रिएको ट्रान्सफर्मर मर्मत गर्ने प्रयास गर्दा करेन्ट लागेको वडा अध्यक्ष लिला खनालले जानकारी दिए । खनालका अनुसार एक सातादेखि ट्रान्सफर्मरमा समस्या आएपछि नेपाल विद्युत प्राधिकरणलाई पटक–पटक मर्मतका लागि अनुरोध गरिए पनि समयमा मर्मत नभएपछि स्थानीयले आफैं मर्मत प्रयास गरेका थिए । त्यसै क्रममा दुर्घटना भएको बताइएको छ । घिमिरे विद्युत मर्मत तथा उपकरण बिक्री–वितरणको काम गर्दै आएका व्यक्ति थिए । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय धुर्कोटबाट प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी स्रोतले जनाएको छ ।
५२ करोडमा दरवाङ–मुना सडक कालोपत्र हुँदै, म्याग्दीको सबैभन्दा ठुलो आयोजना कार्यान्वयनमा
म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनमा आएको छ । गण्डकी प्रदेश र सङ्घीय सरकारको साझेदारीमा मालिका गाउँपालिकाको केन्द्र दरवाङबाट धवलागिरि गाउँपालिकाको केन्द्र मुना जोड्ने सडक ५२ करोड बढीको लागतमा कालोपत्र गर्न लागिएको हो । गण्डकी प्रदेशसभाका सांसद रेशमबहादुर जुग्जालीले पूर्वाधार विकास कार्यालयले ठेकेदार कम्पनी छनोट गरी ठेक्का सम्झौता गरेपछि सडक स्तरान्नतिसम्बन्धी आयोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको जानकारी दिए । 'मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको दरवाङ–मुना– ढोरपाटन सडक स्तरोन्नतिका लागि ९२ करोड ९२ लाखको स्रोत सुनिश्चितता भएको थियो', उनले भने, 'आयोजनामार्फत दरवाङ–धारापानी (सात किलोमिटर) र झिनडाडा–मुना (चार किलोमिटर) अस्फाल्ट प्रविधिको कालोपत्रसहित ढलान हुुनेछ ।' गण्डकी प्रदेशमार्फत म्याग्दीमा भित्रिएको हालसम्मका आयोजनामध्ये यो सबैभन्दा ठूलो र बढी बजेटको रहेको जुग्जालीले जानकारी दिए । जिल्लास्थित पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले प्रशासनिक खर्चबाहेक रु ६७ करोड लागत अनुमान गरिएको आयोजना कार्यान्वयनका लागि ठेक्का प्रतिस्पर्धाका क्रममा सिम्रन/सक्षम जेभीले सबैभन्दा कम ५२ करोड ८० लाख ५३ हजार बोलकबोल गरेपछि यही असार ११ गते ठेक्का सम्झौता भएको जानकारी दिए । 'सङ्घीय र प्रदेश सरकारको (समपूरक) ५०/५० प्रतिशत लागत साझेदारी रहने यस आयोजनाको ठेक्का अवधि २७ महिनाको छ', उनले भने, 'सङ्घीय र प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु २४ बजेट विनियोजन गरेको यस आयोजनाका लागि आगामी आवका लागि रु २३ करोड २२ लाख विनियोजन भएको छ ।' केहीदिनमा कार्यक्षेत्रमा परिचालित भएर सडक स्तरोन्नतिका लागि प्रारम्भिक चरणको काम थाल्ने ठेकेदार कम्पनीका प्रतिनिधिले बताएका छन् । उक्त सडकअन्तर्गतको धवलागिरि गाउँपालिका–७ धारापानीबाट ताकम हुँदै झिनडाँडा खण्डको चार किमी दूरीको सडक कालोपत्र, ढलान र ग्राभेलका लागि गत वर्ष रु १४ करोड ६१ लख ६१ हजारमा ठेक्का सम्झौता भएको थियो । उक्त आयोजनाको निर्माण कम्पनी रामसागर/बिएस धवलागिरि जेभीले करिब ५५ प्रतिशत भौतिक प्रगति गरेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । म्याग्दीको मङ्गला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ आवतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले जुग्जालीले प्रदेशको पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको नेतृत्व गरेका बेला विसं २०८० माघमा यो सडकलाई सङ्घीय समपूरक आयोजनामा समावेश गराउने निर्णय गराएका थिए । 'बेनीबाट मङ्गला हुँदै मालिका गाउँपालिकाको केन्द्र दरवाङ जोड्ने २४ किमी सडक कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ', जुग्जालीले भने, 'अबको तीन वर्षभित्र दरवाङबाट मुनासम्मको सडक पक्की बनाउने छौँ ।' मुना हुँदै मरेनीबाट जलजला र ढोरपाटन जोड्ने सडकको केही दिनअघि मार्ग खुलेको धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । सङ्घीय सरकारले मरेनीबाट जलजला ढोरपाटन जोड्ने सडकका लागि चालु आवमा विनियोजन गरेको ६ करोड ५० लाख बजेटले आयोजनामार्फत सडकको मार्ग खोल्न ठेक्का लगाइएको थियो । रासस
एसईईमा ७० प्रतिशत विद्यार्थी उत्तीर्ण गराउने सरकारको लक्ष्य : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले आगामी वर्ष माध्यमिक शिक्षा परीक्षा (एसईई) मा ६५ देखि ७० प्रतिशतसम्म विद्यार्थी उत्तीर्ण हुने गरी योजना अघि बढाउने बताएका छन् । शनिबार प्रतिनिधि सभामा बोल्दै उनले यस्तो जानकारी दिएका हुन् । प्रधानमन्त्री ओलीले हालै सार्वजनिक एसईईको नतिजालाई लिएर केही व्यक्तिले विद्यार्थीको मेहनत र क्षमतालाई अपमान गर्ने किसिमले टिप्पणी गरेकोप्रति आपत्ति जनाए । 'विद्यार्थीको मेहनतको अपमान गर्ने कुरा दुःखद छ,' उनले भने । यस वर्ष एसईईको नतिजा गत वर्षको भन्दा १४ प्रतिशतले वृद्धि भएर ६१.८१ प्रतिशत पुगेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यसलाई सुखद उपलब्धि भनेका छन् । '४८ प्रतिशतभन्दा कम नतिजाबाट ६१.८१ प्रतिशत पुर्याउन मेहनत गर्ने विद्यार्थी, शिक्षक र अभिभावकलाई धन्यवाद दिन चाहन्छु,' उनले भने । प्रधानमन्त्रीले आगामी शैक्षिक सत्रदेखि विद्यार्थीहरू फेल नहुने जस्तो शैक्षिक वातावरण बनाउनेतर्फ सरकारले ध्यान दिने स्पष्ट पारे । 'विद्यार्थीले मेहनत गरेर आफ्नो भविष्य बनाउने क्षमता राख्छन्, सरकारले त्यस्तो वातावरण बनाउँछ,' उनले भने ।
जापानको टोकियोस्थित नेपाली विद्यालयले ल्यायो एसइईमा उत्कृष्ट नतिजा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यामिक शिक्षा परीक्षा (एसइई) २०८१ को नतिजामा जापानको टोकियोस्थित एभरेष्ट इन्टरनेशनल विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको छ । उक्त परीक्षामा त्यस विद्यालयबाट सहभागी २९ विद्यार्थीमध्ये छ जनाले ४ जिपिए र बाँकीले ३.८ जिपिएभन्दा माथिको नतिजा ल्याएका विद्यालयका प्रधानाध्यापक विष्णुप्रसाद भट्टले जानकारी दिए । विद्यालयबाट सो परीक्षामा ११ जना छात्र र १८ जना छात्रा सहभागी भएका थिए । विद्यार्थीहरूको मेहनत, शिक्षकको मार्गदर्शन र अभिभावकको सहकार्यले गर्दा विदेशमा रहेर पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको उनको भनाइ छ । मुलुक बाहिरको एक मात्र नेपाली पाठ्यक्रमअनुसार अध्ययन हुने उक्त विद्यालयबाट पाँचौँ समूहले एसइई परीक्षा दिएको थियो । उक्त विद्यालयमा नेपाल, भारत, बङ्गलादेश, जापान र जाम्बियाका ५०० बढी विद्यार्थी अध्ययनरत छन् । पाँच वर्षमा सो विद्यालयबाट ११३ जनाले एसइई उर्तीण गरिसकेको पनि प्रधानाध्यापक भट्टले बताए । जापानमा रहेका नेपाली समुदायको पहलमा सो विद्यालय सञ्चालनमा आएको हो । सन् २०१३ सालमा स्थापना भएको उक्त विद्यालयलाई जापानको शिक्षा मन्त्रालयले अन्तरराष्ट्रिय विद्यालय सरहको मान्यता दिएको छ । त्यस विद्यालयले विज्ञान र व्यवस्थापन सङ्कायमा कक्षा ११ र १२ मा पनि अध्ययन गराइरहेको छ । एभरेष्ट स्कूलले टोकियो कै आराकावा सहरमा नर्सरीदेखि कक्षा पाँचसम्म अध्ययन गर्ने गरी नयाँ विद्यालयसमेत खोलेको प्रधानाध्यापनक भट्टले जानकारी दिए । रासस
हामी मिसन ८४ अग्रसरमा छौँ, अवरोध गर्नेको हिसाबकिताब हुनेछ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्वहरुलाई महाधिवेशनमा लागेको टिप्पणी गरेका छन् । जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–८४ रहेको स्थितिमा पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाब किताब गरिने बताए । ‘हामी अर्जुनदृष्टिका साथ मिसन–८४ को अभियानमा छौँ । हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो । यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन’, अध्यक्ष ओलीले भने, ‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन । केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो । हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन ।’ प्रधानमन्त्री ओलीले शिक्षक, विद्यार्थी र सबैको मेहनतका कारण यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा गत वर्षको भन्दा १४ प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण भएको उल्लेख गर्दै आगामी वर्ष थप सुधार ल्याउने गरी काम गरिने बताए । प्रधानमन्त्री ओलीले मौका परीक्षामा सहभागी हुने र आउने एसइईका लागि पनि देशभर महत्वपूर्ण विषयमा निःशुल्क अनलाइन कक्षा सञ्चालन गराइने जानकारी दिए ।