विकासन्युज

राष्ट्रपति र प्रधानमन्त्री निवासलगायत क्षेत्रमा पनि कर्फ्यू जारी, बानेश्वरमा सेना परिचालन

काठमाडौं ।  जिल्ला प्रशासन कार्यालय, काठमाडौंले राष्ट्रपति र प्रधानमन्त्री निवासलगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यू लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटार, शीतलनिवास आसपास महाराजगञ्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर पनि कर्फ्यू थप गरेको छ । यसअघि प्रशासनले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरिसकेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी भएको हो ।  जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । अहिलेसम्म त्यहाँ दमकल जान सकेको छैन । अहिले बानेश्वर क्षेत्रमा सेना पनि परिचालन भएको छ । ‍भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ । 

सानिमा बैंक र दराजबीच दशैं धमाका योजनामा सहकार्य

काठमाडौं । सानिमा बैंक लिमिटेडले बडादशैंको अवसरमा अनलाइन शपिङ प्लेटफर्म दराजसँग सहकार्य गर्दै 'दशैं धमाका योजना' सार्वजनिक गरेको छ । यस सहकार्यअन्तर्गत योजना अवधिभर दराजमार्फत सामान खरिद गरी सानिमा बैंकको डेबिट वा क्रेडिट कार्डमार्फत अग्रीम भुक्तानी गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्ने भएका छन् । यस योजना अनुसार, डेबिट कार्ड प्रयोग गर्दा ग्राहकले १० प्रतिशत वा अधिकतम १ हजार रुपैयाँसम्म छुट पाउनेछन् भने क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकले १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । छुट पाउनका लागि दराजमार्फत बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । साथै, योजना अवधिभर 'पहिलो आउनेलाई प्राथमिकता' को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ । यो योजना भाद्र २४ गतेदेखि आश्विन ७ गतेसम्म लागू हुनेछ । बैंकले ग्राहकलाई डिजिटल भुक्तानीप्रति आकर्षित गराउन निरन्तर रुपमा विभिन्न छुट तथा अफरहरु प्रदान गर्दै आएको छ । छुटसम्बन्धी विस्तृत विवरण बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध हुने जनाएको छ ।

जेनजी प्रदर्शन : संसद भवनको गेटमै आगजनी, दमकल जान सकेन

काठमाडौं । जेनजी प्रदर्शनकारीले बानेश्वरस्थित संसद भवन गेट नजिक आगजनी गरेका छन् । प्रदर्शनकारीहरु उग्र बनेर आगजनी गरेका हुन् ।  काठमाडौं जिल्ला प्रशासन कार्यालयले कर्फ्यू आदेश जारी गरे पनि सो क्षेत्रमा अहिले पनि प्रदर्शन भइरहेको छ ।  प्रदर्शनकारीले संसद भवनको २ नम्बर गेटमा लगाएको आगो फैलिइरहेको छ । अहिलेसम्म त्यहाँ दमकल जान सकेकाे छैन ।  

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट सुविधा

काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहकलाई स्वास्थ्य, पर्यटन, खाद्य तथा अन्य क्षेत्रमा सुविधा उपलब्ध गराउन विभिन्न संस्थासँग सम्झौता गरेको छ । सम्झौता अनुसार, बैंकका डेबिट वा क्रेडिट कार्ड र मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले सहकार्य संस्थाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने भएका छन् । यस अन्तर्गत चितवनको कुरिनटारस्थित मनकामना दर्शनको केवलकार टिकटमा १० प्रतिशत, बानेश्वरको समाज डेण्टल हस्पिटलमा एक्सरे तथा फार्मेसीबाहेकका सेवामा १५ प्रतिशत, दरबारमार्गको मत्सुरी टोकियोमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट उपलब्ध हुनेछ । यसैगरी, पर्साको मंगलम डायगोनोस्टिक सेन्टरमा प्याथोलोजी सेवामा १० प्रतिशत, सिमराको होटल क्वीक २० रिभरसाइडमा खाना, आवास तथा पेय पदार्थमा ५ प्रतिशत, नयाँबजारको नाईस न्यू होम डेकोरमा कार्पेट र फ्लोरिङ सामग्रीमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सकिन्छ । त्यसैगरी, ढुंगेधारास्थित शुभ काठमाडौं टायर सेन्टरमा एमआरएफ ब्रान्डका टायरमा १० प्रतिशतसम्म, मकवानपुरको कुलेखानी भिलेज रिसोर्टमा कोठा शुल्कमा १० प्रतिशतसम्म, हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा खाना, आवास तथा पेय पदार्थमा १५ प्रतिशतसम्म तथा भरतपुरस्थित कविलास रिसोर्ट एण्ड फनपार्कमा खाना तथा फनपार्क शुल्कमा १५ प्रतिशत छुट दिइने भएको छ । बैंकले यस किसिमको सहकार्यबाट आफ्ना ग्राहक प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरेको छ । साथै, डिजिटल युगसँग नेपाली जनतालाई साक्षात्कार गराउने उद्देश्यले विभिन्न शाखामार्फत वित्तीय जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्दै आएको जानकारी दिएको छ ।

प्रहरीले हान्यो गोली, जेनजीले भन्यो- घुसपैठ भयो, घर फर्किनू

काठमाडाैं । जेनजीको आन्दोलन उग्र भएपछि कर्फ्यू आदेशसँगै प्रहरीले गोली चलाएको छ । प्रदर्शनकारीले ढुंगामुढासहित संसद भवनको २ नम्बर गेटको पर्खाल भत्काएपछि प्रहरीले रबर गोली चलाएको हो ।  प्रदर्शनकारीलाई तितरबितर पार्न घुँडामुनि रबरको बुलेट हानिएको सुरक्षा अधिकारीले बताएका छन् । योसँगै जेनजीको प्रदर्शन उग्र भएपछि घुसपैठ भएको भन्दै जेनजी नेपालले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको छ । जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो । ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला । धेरै स्वार्थ प्रेरित समूहहरूले भीडलाई उत्तेजित बनाइरहेका छन् । चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्,’ पेजमा भनिएको छ ।    

नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सम्पन्न, नेपाल-अस्ट्रेलिया प्रविधि सहकार्यमा नयाँ आयाम

काठमाडौं । नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिस कम्पनीज (नास आइटी) ले आयोजना गरेको नेपाल टेक रोडशो अस्ट्रेलिया २०२५ सिड्नीस्थित राइड्जेस वर्ल्ड स्क्वायरमा भव्यताका साथ सम्पन्न भएको छ । कार्यक्रममा नेपाल र अस्ट्रेलियाका प्रविधि क्षेत्रका आविष्कारक, उद्यमी, लगानीकर्ता तथा उद्योग अगुवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । रोडशोको उद्देश्य नेपालको बढ्दो आईटी र सफ्टवेयर क्षमतालाई अन्तर्राष्ट्रियस्तरमा प्रस्तुत गर्नुका साथै दुवै देशबीच प्रविधि सहकार्य र लगानीका नयाँ अवसरहरू सिर्जना गर्नु रहेको आयोजक नास आइटीले जनाएको छ । कार्यक्रमको उद्घाटन टेकक्राफ्ट इंकका सह–संस्थापक तथा नास आइटी सदस्य अनिश श्रेष्ठले गरेका थिए । त्यस्तै, ईके सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत तथा नास आइटी अध्यक्ष गौरव पाण्डेले नेपालको विकासशील प्रविधि इकोसिस्टमबारे विस्तृत प्रस्तुति दिएका थिए । कार्यक्रमको प्रमुख आकर्षण अस्ट्रेलियाली र नेपाली प्रविधि इकोसिस्टमबीच सहकार्य र लगानीका अवसरहरू विषयमा गरिएको प्यानल छलफल थियो । एमिनेंस वेजका प्रबन्ध निर्देशक तथा नास आइटी कार्यकारी सदस्य नारायण कोइरालाको संयोजनमा भएको छलफलमा दुवै देशका विज्ञहरूले चुनौती, सम्भावना र व्यावहारिक कदमबारे गम्भीर बहस गरेका थिए । प्यानलमा सहभागीहरूमा डाटा विश्लेषण, मेसिन लर्निङ र सूचना सुरक्षामा विशेषज्ञ मनोज घिमिरे, डिजिटल रचनात्मकता तथा प्रयोगकर्ता अनुभव डिजाइनका विज्ञ माइकल सिग्नल, र एसिया–प्रशान्त क्षेत्रमा डिजिटल रूपान्तरणको नेतृत्व गरिरहेका सुदीप आचार्य रहेका थिए । कार्यक्रमको समापन रात्रिभोजसहितको नेटवर्किङ सत्रबाट गरिएको थियो, जसले सहभागीहरूलाई विचार आदानप्रदान र सम्बन्ध विस्तार गर्ने अवसर प्रदान गरेको थियो । नास आइटीका अनुसार यस कार्यक्रमले नेपालको तीव्र गतिमा विकास भइरहेको प्रविधि परिदृश्य, नेपाली स्टार्टअपहरूले प्रस्तुत गरेका नविन समाधानहरू र अस्ट्रेलियामा सहकार्यका सम्भावनाबारे गहिरो जानकारी प्रदान गरेको छ । कार्यक्रम एनसेल बिजनेसको सहयोगमा सम्पन्न भएको हो । नास आइटीले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै नेपालको प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरमा थप प्रभावकारी बनाउन प्रतिबद्धता व्यक्त गरेको छ ।

काठमाडौंका यी ठाउँमा कर्फ्यू आदेश जारी

काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ । जेनजीले प्रदर्शन उग्र बनाएपछि कर्फ्यू आदेश जारी गरेको हो ।  प्रशासन कार्यालय, काठमाडौंले अनुसार माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि  कर्फ्यू जारी गरिएको हो ।  भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजीले कागज, सडकमा भेटिएका रुखका हाँगाका टुक्रा, पानीका बोतलले प्रहार गरेका छन् । प्रदर्शनकारीहरूले सरकारविरुद्ध विभिन्न नाराबाजी गरिरहेका छन् । जेनजीको प्रदर्शनले सरकार दबाबमा परेको छ ।   

बिक्री घटे पनि मर्सिडिजले रणनीति नबदल्ने, चीनमा प्रिमियम दाउ कायमै

काठमाडौं । जर्मन लक्जरी अटोमेकर मर्स‍िडिज बेन्जले आफ्नो मुख्य बजार चीनमा पनि प्रिमियम रणनीति कायम राख्ने निर्णय गरेको छ । जहाँ कडा मूल्य प्रतिस्पर्धाले कम्पनीको बजार हिस्सा घटाएको छ र स्थानीय उपभोक्ताहरू क्रमशः सस्ता घरेलु मोडेलतर्फ मोडिरहेका छन् । प्रमुख कार्यकारी अधिकृत (सीईओ) ओला केलेनियसले म्युनिखमा हुने आईएए अटो शोअघि रोयटर्ससँग कुरा गर्दै आइतबार सार्वजनिक गरिएको नयाँ इलेक्ट्रिक जीएलसी एसयूभीले विश्वकै सबैभन्दा ठूलो अटो बजार चीनमा कम्पनीले गुमाएको स्थान पुनः प्राप्त गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताए । पोर्शेजस्तै मर्सिडिज–बेन्जले पनि चीनमा बजार हिस्साभन्दा नाफा सुरक्षित गर्नेतर्फ ध्यान दिएको छ । सन् २०२५ को दोस्रो त्रैमासमा कम्पनीको गाडी बिक्री १९ प्रतिशत घटेर १ लाख ४० हजार ४०० मा झरेको छ । केलेनियसका अनुसार कम्पनीले चीनमा आफ्नो रणनीति परिवर्तन गर्ने छैन र प्रिमियम दृष्टिकोणलाई निरन्तरता दिनेछ । मर्सिडिज–बेन्ज र अन्य युरोपेली प्रतिस्पर्धीहरूले हाल अमेरिकी अटो आयात शुल्क २७.५ प्रतिशतबाट घटाएर १५ प्रतिशतमा ल्याइने आशा गरिरहेका छन्, जुन वाशिङ्टनले युरोपेली संघसँगको सहमतिअनुसार अमेरिकी सामानमा कर कटौती गर्ने वाचा गरेको छ । ‘युरोपियन कमिसन र उनीहरूको व्यापार टोली यसबारे अमेरिकी प्रशासनसँग काम गरिरहेका छन्,’ केलेनियसले भने । र उनले अमेरिकी प्रशासनले चाँडै नै कार्यकारी आदेशमा हस्ताक्षर गरेर कर घटाउने आशा व्यक्त गरे। करहरूले हालसम्म समूहको परिणाममा कस्तो वित्तीय असर पारेका छन् भन्ने उनले ठ्याक्कै खुलाएनन् ।  सान्दर्भिक सामग्री : इतिहासकै ठूलो तलब डिल : मस्कलाई टेस्लाको १ ट्रिलियन डलर प्रोत्साहन प्याकेज युरोपेली बजारमा चिनियाँ इलेक्ट्रिक कारहरूको आक्रामक प्रवेश विश्वकै ठूलो ईभी निर्माता बीवाईडीको नाफा घट्दै, उत्पादन विस्तार योजनामा ढिलाइ पोर्शेमा नयाँ सीईओको खोज सुरु, फक्सवागनसँगको दोहोरो भूमिका अन्त्य हुने संकेत