विकासन्युज

मौद्रिक नीतिले सेयर बजारका लगानीकर्ता उत्साहित, ११ अर्बको कारोबार

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गरेपछि आइतबार सेयर बजारमा हरियाली छाएको छ ।  बैंक र लघुवित्त कम्पनीहरुको सेयरमा लगानीकर्ताको चासो देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २९ अंकले बढेर २७ सय ६० बिन्दुमा पुगेको छ । आज १५८ कम्पनीको मूल्य बढ्दा ९० कम्पनीको मूल्य घटेको छ । आइतबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा ११ अर्ब ४१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । जस मध्ये सबैभन्दा धेरै कारोबार एनआईसी एशिया बैंकको भएको छ । एनआईसीको ३७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, बुटवल पावर कम्पनीको ३२ करोड, एनआरएन इन्फ्राइस्ट्रक्चरको २८ करोड, सानीमा बैंकको २५ करोड र सीइडीबी होल्डीङसको २४ करोड रुपैयाँको करोबार भएको छ ।  सबैभन्दा धेरै बैंकिङ समूह ३.३७ र लघुवित्त समूह ३.५० प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक १.४७, वित्त १.८७, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३१ र म्युचुअल फन्ड १.०८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ । जलविद्युत् ०.८३, लगानी ०.०८, निर्जीवन बीमा ०.३४, व्यापार ०.२६ र अन्य समूह ०.२७ प्रतिशतले घटेको छ । आज २ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । एनआइसी एशिया बैंक र खानीखोला हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ ।  यस्तै, हिमालय हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

काठमाडौं महानगरको बजेट सार्वजनिक हुँदै {लाइभ}

काठमाडौं । काठमाडौं महानगरपालिकाको १७ औं नगर सभा सुरु भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गर्नका लागि महानगरको नगर सभा सुरु भएको हो ।  

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा ठाकुर नियुक्त

काठमाडौं । महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अश्वीनी कुमार ठाकुर नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको असार २० गते बसेको बैठकले ठाकुरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा १४ (३) बमोजिम नियुक्त भएका ठाकुरसँग बैंकिङ, बीमा तथा वित्तीय क्षेत्रमा लामो अनुभव रहेको छ । उनले नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशक, राष्ट्रिय जीवन बीमा कम्पनी (साविक राष्ट्रिय बीमा संस्थान) मा प्रमुख कार्यकारी अधिकृत, साथै मध्यपश्चिमाञ्चल ग्रामीण विकास बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, अपर तामाकोशी हाइड्रोपावर लिमिटेड र नेशनल बैंकिङ इन्स्टिच्युट लिमिटेड जस्ता संस्थामा बोर्ड सदस्यको रूपमा जिम्मेवारी सम्हालिसकेका छन् । ठाकुरले आइतबार बैंकको केन्द्रीय कार्यालयमा आयोजित एक औपचारिक कार्यक्रमबीच पदबहाली गरेका छन् । सो अवसरमा बैंक सञ्चालक समिति सदस्यहरूले उनलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै बैंकको संस्थागत सुशासन अभिवृद्धिमा उल्लेखनीय योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका थिए।

बाढीग्रस्त रसुवागढी क्षेत्र सुनसान, थुनिएको पानी खोल्नेसहित क्षतिको विवरण लिने काम सुरु

रसुवा । चिनियाँ पक्षले उपकरणको प्रयोग गरी ल्हेन्दे खोलामा आएको बाढीले थुनिएको केरूङ खोलाको पानी खोल्न सुरु गरेको छ । ल्हेन्दे खोलाको बाढीले केरूङतर्फबाट आएको खोलाको बहाव रोकिदिएपछि सीमापारी तिब्बतर्फ जमेको पानी उपकरणका सहायताले खोल्न सुरु गरेको हो । स्थानीय सीमासुरक्षा अधिकारीका अनुसार ल्हेन्दे र कुरुङ खोलाको दोभानमा ठूलाठूला ढुङ्गा, रुख तथा काठका मुढा थुप्रिएपछि चीनतर्फको सडकमा पानी जम्न गई ३० भन्दा बढी कन्टेनर डुबेका छन् । यही असार २३ गते केरूङबाट सामान लिइ फर्केका ती कन्टेनर समय अभावका कारण नेपालतर्फ प्रवेश गर्न नपाएपछि तिब्बतर्फ नै थन्किएका ती कन्टेनर सोही दिन राति आएको बाढीका कारण डुकानमा परेका हुन् । स्थानीय केरुङ खोलामाथिको राजमार्गमा लामबद्ध राखिएका कन्टेनरसहित आसपासमा रहेका केही घरसमेत डुबानमा परेको सीमासुरक्षा अधिकारीहरूले जनाएका छन् । नेपाततर्फ रसुवा भन्सार कार्यालय हाताभित्र जाँचपास भएका तर चालक अभावका कारण काठमाडौँ लैजान नसकिएका ७० वटा विद्युतीय कार, सिनो कम्पनीको छ वटा ठूला ट्रक र चालु अवस्थामा रहेका २४ वटा नेपाली कन्टेनर बगाएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराइले जानकारी दिए । यसैगरी, क्षतिग्रस्त अवस्थामा रहेका केही सवारीसाधनलाई अहिले सुरक्षित स्थानमा सार्न लागेको उनले बताए । असार २४ गते एक्कासी आएको ल्हेन्दे खोलाको बाढीले छ जना चिनियाँ, तीन जना नेपाल प्रहरी र पाँच नेपाली कामदारलाई बगाएको रसुवागढीस्थित वरिष्ठ चिनियाँ प्राविधिक वाङले जानकारी दिए । यसैगरी, रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी दु्रवप्रसाद अधिकारीका अनुसार एक चिनियाँ कम्पनीमा काम गर्नेसहित छ जना नेपाली सवारी चालकसमेत गरी जम्मा २० जनालाई बाढीले बगाएको छ । त्यस्तै, बाढीले रसुवागढीस्थित सुक्खा बन्दरगाह निर्माणमा संलग्न तिब्बत फुली कन्स्ट्रक्सको टिफर एक, सिमेन्ट घोल्ने मिक्स्चर एक, स्काभेटर एक, रोलार एक र हाइलक्स जिप एकसमेत बगाएको छ । उनले भने, 'खोलामा एक्कासी बाढी आए छ, नजिकै रहेका सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ जान भन्दै कराउन थाले, हामी अतालिएर भाग्यौँ, भाग्न नभ्याउने केही साथीलाई बाढीले बगायो, हामी भने उम्केर घट्टेखोलातर्फ पुगी ज्यान जोगाउन सफल भयौँ ।' यसैगरी गोसाइँकुण्ड गापा–२ का अध्यक्ष कामी छिरिङ तामाङले भने, 'बाढी आएको सूचना पाउनासाथ भन्सार यार्डका मानिसको याद आयो । डिलमा बसेर उनीहरूलाई भाग भन्दै सतर्क गरायौँ । त्यसपछि जोखिममा रहेका आफ्ना वडावासीलाई सजक रहन अनुरोध गर्यौँ, त्यै पनि अकल्पनीय बाढीका कारण ठूलो धनजनको क्षति हुनपुग्यो, यहाँ अहिले हामी दुःखको अवस्थमा छौँ ।' अध्यक्ष तामाङले समग्र क्षतिको यकीन विवरण तयार गरी बाढीपीडितलाई राहत दिन तथा काम विशेषले हाल केरुङमा रहेका नेपाली दाजुभाइलाई सकुशल घर फर्काउने वातावरण तयार गर्न सरकारको ध्यानाकर्षण गरे । स्थानीय पुरूषोत्तम पौडेलले ‘मानसरोवर–कैलाश’ दर्शन गरी फर्केका यात्रुलाई रसुवागढीस्थित मितेरी पुल बगाएपछि तातोपानी नाका हुँदै नपालतर्फ आउने व्यवस्था मिलाइएको बताए । यसैगरी मानसरोवर कैलाश यात्रा सम्पन्न गरी नेपालतर्फ प्रवेश गरिसकेका यात्रुलाई भने यही असार २४ र २५ गते हेलिकप्टरमार्फत गन्तव्यस्थानतर्फ पु¥याइएको प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए । उनका अनुसार अहिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्बद्ध सुरक्षाकर्मी खोज तथा उद्धार कार्यमा जुटेका र अशक्त एवं असहायको सहयोगमा तैनाथ रहेका छन् । बाढीका कारण स्याफ्रुबेंसीदेखि रसुवागढीसम्मका अधिकांश सडकखण्ड ध्वस्त भएपछि पूर्ण रुपमा सडक अवरुद्ध भई त्यसक्षेत्रको जनजीवन सुनसान रहेको छ । वडाअध्यक्ष तामाङका अनुसार अहिले रसुवागढी आसपासका क्षेत्रमा बाढीबाट पुगेको क्षतिको विवरण लिने काम सुरु भएको तथा स्थानीय बासिन्दा एवं कर्मचारी भयभित अवस्थामा रहेको अवस्था छ । रासस

दिगो र वास्तविक अर्थतन्त्रको निर्माणका लागि मौद्रिक नीतिले स्पष्ट मार्गचित्र कोरेको छ : सीबीफीन

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिलाई स्वागत गर्दै यसले दिगो, दर्बिलो र वास्तविक अर्थतन्त्रको निर्माणतर्फ स्पष्ट मार्गचित्र कोरेको बताएको छ । सीबीफीनले हालको आर्थिक एवं वित्तीय चुनौतीपूर्ण अवस्थालाई ध्यानमा राख्दै नीति निर्माणमा अवलम्बन गरिएको सन्तुलित, समयसापेक्ष र उदार दृष्टिकोणले बैंकिङ क्षेत्रको मनोबल र आत्मविश्वास उकास्ने काम गरेको उल्लेख गरेको छ । हाल बैंक तथा वित्तीय संस्थाहरू पूँजीकोषको दबाबमा रहेको अवस्थामा, मौद्रिक नीतिले कर्जा विस्तार सहज बनाउने, वित्तीय स्थायित्व कायम गर्ने र कर्जा व्यवस्थापनमा लचकता ल्याउने सकारात्मक संकेत दिएको सीबीफीनको भनाइ छ । साथै निष्क्रिय कर्जा र गैरबैंकिङ सम्पत्तिमा भइरहेको वृद्धिलाई सम्बोधन गर्न सम्पत्ति व्यवस्थापन कम्पनी स्थापनाका लागि ऐन तथा नियम निर्माण प्रक्रिया अगाडि बढाउनु, आवासीय कर्जा तथा सेयर धितो कर्जाको सीमा वृद्धि, चालू पूँजी कर्जाको लचिलो मार्गदर्शन लगायतका प्रावधानलाई सिबिफिनले सुधारमुखी कदमका रूपमा मूल्याङ्कन गरेको छ । यसबाहेक, 'ऋणीसँग नेपाल राष्ट्र बैंक' कार्यक्रमको व्यावहारिक कार्यान्वयन, सम्पत्ति शुद्धीकरण निवारण रणनीति, लघु तथा साना व्यवसायमा कर्जा सहजीकरणजस्ता विषयले वित्तीय प्रणालीको सुधारमा टेवा पुर्‍याउने विश्वास परिसंघले व्यक्त गरेको छ । सीबीफीनले दिगो बैंकिङ विकासका लागि लगानी प्रवद्र्धन, युवा जनशक्तिको परिचालन, उत्पादनमूलक उद्यमको प्रवर्द्धन, हरित लगानी र नवप्रवर्तनको विकास जस्ता बुँदामा केन्द्रित थप सुझावहरू पनि मौद्रिक नीतिमा समेटिनुपर्ने बताएको छ । ती सुझावहरू आगामी निर्देशन र समीक्षा प्रक्रियामार्फत सम्बोधन हुने अपेक्षा पनि सीबीफीनले व्यक्त गरेको छ । सङ्गठनले राष्ट्र बैंकसँग सहकार्य र सहयोग गर्दै नीतिहरुको प्रभावकारी कार्यान्वयनमा सहायक बन्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

स्पेनमा मान्छे छाडेर आयो भन्ने घटिया प्रचार गरियो : प्रधानमन्त्री

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी-ताराबारी-डिपु सडक स्तरोन्नति आयोजनाको आइतबार उद्घाटन गरेका छन् । विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको  आयोजनाका रूपमा रहेको सो सडक नेपालभरका १७ सडकमध्ये छानिएको एक हो ।  ४४ करोड २४ लाख रुपैयाँ लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ । प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेको जनाउँदै मेची महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेको बताए । प्रधानमन्त्री ओलीले दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे । उनले हरेक क्षेत्रमा सुधार ल्याउने योजनाबमोजिम स्वयंसेवी भावनाका साथ महत्त्वपूर्ण विषयमा नि:शुल्क अनलाइन कक्षा संचालन गरेपछि यस वर्ष एसइइमा नतिजा १३ प्रतिशतले सुधार आएको बताए ।  आफ्नो स्पेन भ्रमण सफल भएको पक्षलाई ओझेल पार्ने गरी केही विरोधी र अराजक तत्वले अरु कुरा  नपाएर स्पेनमा मान्छे छाडेर आयो भनेर झुट र घटिया प्रचार गरेको भन्दै उनले यस्ता कुराहरूको जवाफ दिन आवश्यक नभएको टिप्पणी गरे ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, पूर्व मुख्यमन्त्रीहरू शेरधन राई, उद्वव थापालगायत सहभागी थिए ।

मनसुनजन्य विपद् जोखिम न्यूनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको छ : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले मनसुनजन्य विपद् जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणाली चुस्त पारिएको बताएका छन् । आइतबार राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।  उनले मनसुनजन्य विपद् जोखिम न्युनिकरण र प्रतिकार्यका लागि समेत आवश्यक गृहकार्य भइरहेको बताए । गृह मन्त्रालय मातहत रहेको विपद् जोखिक न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सरोकारवाला सबैसँग आवश्यक समन्वय र सहकार्य गरिरहेको समेत जानकारी दिए ।  उनले भने, ‘अहिले मनसुनको समय छ । मनसुनको समयमा विभिन्न जोखिमहरु उत्पन्न हुने गर्दछन् । त्यसको जोखिम न्युनिकरणका लागि पूर्वसूचना प्रणालीलाई दुरुस्त गर्ने, विपद् आइसकेपछि प्रतिकार्यका कामहरु गर्नको लागि तयारी गरिरहेका छौं । हामीसँग कानूनले नै विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण गठन भएको छ । गृह मन्त्रालय त्यसको सम्पर्क मन्त्रालय हो ।’ यस वर्षको मनसुनमा देशका अधिकांश स्थानहरुमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरिएको छ । विपद्का सम्भावित जोखिमयुक्त क्षेत्रमा खोज तथा उद्धार र सामग्रीको भण्डारण, डोजर, स्काभेटर लगायतका हेभी इक्यूपमेन्ट तयारी अवस्थामा रहेको समेत बताइएको छ । 

नबिल र ग्लोबलको प्रतिस्पर्धा, ५४ अर्ब रुपैयाँ नाफा गर्दा ३ बैंक करोड क्लबमा सीमित

काठमाडौं । वाणिज्य बैंकहरुले ११ महिनामा ५४ अर्ब रुपैयाँ भन्दा बढी नाफा आर्जन गरेका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को जेठ मसान्तसम्ममा २० वटा वाणिज्य बैंकले ५४ अर्ब ८ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका हुन् ।  ११ महिनामा सबैभन्दा धेरै नाफा नबिल बैंकले गरेको छ । नबिलले ६ अर्ब ४० करोड रुपैयाँ नाफा आर्जन गरेको राष्ट्र बैंकले जनाएको छ । यस्तै, ग्लोबल आइएमई बैंकले ६ अर्ब ३ करोड ६४ लाख रुपैयाँ नाफा गरेर दोस्रो स्थानमा रहेको छ ।  नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईमबि)ले ५ अर्ब ६८ करोड ८१ लाख रुपैयाँ, एभरेष्ट बैंकले ४ अर्ब २४ करोड रुपैयाँ, नेपाल बैंकले ३ अर्ब ७ करोड रुपैयाँ, एनएमबि बैंकले ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।  यस्तै, जेठसम्ममा प्राइम बैंकले २ अर्ब ९० करोड रुपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ७२ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ अर्ब ५७ करोड रुपैयाँ, प्रभु बैंकले २ अर्ब ३१ करोड रुपैयाँ, सिद्धार्थ बैंकले २ अर्ब २१ करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।  यस्तै, राष्ट्रिय वाणिज्य बैंकले २ अर्ब २० करोड रुपैयाँ, सानिमा बैंकले २ अर्ब १५ करोड रुपैयाँ, कृषि विकास बैंकले १ अर्ब ८१ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ अर्ब ५४ करोड रुपैयाँ, माछापच्छ«े बैंकले १ अर्ब ५० करोड रुपैयाँ, सिटिजन्स बैंकले १ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा गरेको राष्ट्र बैंकले जनाएको छ ।  राष्ट्र बैंकका अनुसार हिमालयन बैंकले ९० करोड ५३ लाख रुपैयाँ, एनआईसी एशिया बैंकले ८२ करोड ९७ लाख रुपैयाँ र कुमारी बैंकले ४८ करोड १९ लाख रुपैयाँ नाफा गरेका हुन् ।