विकासन्युज

८ प्रतिशत ब्याज पाइने​​​​​​​ शाइन रेसुङ्गा बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले आज असार ३२ गतेदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १० वर्ष अवधि रहेको वार्षिक ८ प्रतिशत ब्याजदरमा ‘शाइन रेसुङ्गा डिबेञ्चर’ बिक्री खुला गरेको हो । बैंकले ३ अर्ब रुपैयाँको प्रतिऋणपत्र १ हजार रुपैयाँ अंकित मूल्य दरका १० लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ६० प्रतिशत अर्थात् ६० करोड रुपैयाँको ६० लाख कित्ता व्यक्तिगत र ४० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र सर्वसाधारण लगानीकर्ताहरूलाई बिक्री गरिने बैंकले जनाएको छ । साथै सर्वसाधारणलाई बिक्री गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् २० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताहरूले न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ता ऋणपत्रका लागि आवेदन दिन सक्नेछन् । बैंकको ऋणपत्रमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त अवधिभित्र सम्पूर्ण ऋणपत्र बिक्री नभएको खण्डमा आवेदन दिने समय साउन १४ गतेसम्म लम्बिनेछ । बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटल रहेको छ । लगानीकर्ताहरूले सीआस्बा सेवामा आबद्ध बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिम रहेको संकेत गर्दछ । 

आज पाँच प्रदेशमा अत्यधिक वर्षा हुने, सावधान रहन सर्वसाधारणलाई अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ भने कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान र अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।  महाशाखाका अनुसार कोशी प्रदेशको केही स्थानमा अत्यधिक वर्षा हुने सम्भावना छ । साथै मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा पनि भारी वर्षाको हुनसक्ने छ ।  देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी प्रदेशको तराई भेग तथा मधेस प्रदेशको केही स्थानमा हुरी चल्ने सम्भावना छ । त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली हुने छ । कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भू-भागका केही स्थान तथा अन्य प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । महाशाखाले जारी गरेको नियमित मौसम बुलेटिनअनुसार कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । मधेस प्रदेशका केही स्थानमा हुरी चल्ने सम्भावना छ । सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।  ठूला तथा साना नदीनाला र खोलामा पानीको सतह बढ्न सक्ने, दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा पूर्वतयारी गर्न सर्वसाधारण तथा सरोकार भएका सबै निकायमा अनुरोध गरिएको छ ।

हिमालयन बैंकको एफपीओ बिक्री खुला, न्यूनतम १ हजार ५७० रुपैयाँ चाहिने

काठमाडौं । हिमालयन बैंकले आज असार ३२ गतेदेखि एफपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गरेको हो ।  बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो । बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पूर्ण आवेदन नपरेमा साउन १४ गतेसम्म आवेदन दिने समय लम्बिने जनाएको छ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, पेट्रोलमा ५ र डिजेल १ रुपैयाँले सस्तियो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटेको हो । घटेको नयाँ मूल्य आज (मंगलबार) राति १२ बजेदेखि, अर्थात् २०८२ साउन १ गतेदेखि लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, भारतीय आयल कर्पोरेसन (आईओसी) बाट १५ जुलाईमा प्राप्त नयाँ खरिद मूल्यसूची अनुसार मूल्य समायोजन गरिएको हो । आईओसीले पेट्रोलमा प्रतिलिटर ५.०३ रुपैयाँ र डिजेलमा १.३० रुपैयाँ घटाएर नयाँ मूल्य पठाएको थियो । सोही आधारमा निगम सञ्चालक समितिको बैठकले उपभोक्तालाई राहत दिँदै मूल्य घटाउने निर्णय गरेको हो । नयाँ खुद्रा बिक्री मूल्य कति ? नयाँ मूल्य लागू भएसँगै अब विभिन्न क्षेत्रमा पेट्रोल र डिजेल/मट्टितेलको खुद्रा बिक्री मूल्य कायम भएको छ । जसमा काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १६५ बाट घटेर १६० रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर १४९ बाट घटेर १४८ रुपैयाँ कायम भएको छ। यस्तै, सुर्खेत र दाङ  पेट्रोलको मूल्य प्रतिलिटर १५९ रुपैयाँ र डिजेल/मट्टितेलको १४७ रुपैयाँ हुनेछ। चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५७.५० रुपैयाँ तथा डिजेल/मट्टितेलको १४५.५० रुपैयाँ कायम गरिएको छ।

सहकारी प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. शर्माले मन्त्रीबाट लिए सपथ

काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्माले सपथ लिएका छन् । मंगलबार उनले भूमी व्यवस्था। सहकारी तथा गरिवी निवारण मन्त्री बलराम अधिकारीबाट सपथ लिएका हुन् ।  सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो ।  लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा गठित सिफारिस समितिले शर्मासागै अर्जुनप्रसाद पोखरेल र नारायण पौडेलको नाम सिफारिस गरेको थियो । तर, सरकारले डा. शर्मालाई अध्यक्षमा नियुक्त गरेको हो ।   

कृषि तथा वन विज्ञान विश्वविद्यालयको एक अर्ब ६८ करोड बजेट स्वीकृत

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालय सभाको १४औं बैठकले आगामी आर्थिक वर्षका लागि एक अर्ब ६८ करोड ९३ लाख बजेट स्वीकृत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा आज भएको बैठकले विश्वविद्यालयका रजिष्ट्रार प्रा डा पुष्करबहादुर पालद्वारा प्रस्तुत बजेट र कार्यक्रम स्वीकृती गरेको हो ।  विश्वविद्यालयका उपकुलपति प्रा.डा. शारदा थपलियाले पठनपाठन, परीक्षा प्रणाली, अनुसन्धान र गुणस्तर  सुनिश्चितताका साथै बिजनेश इन्कुबेसन केन्द्र स्थापनाजस्ता काममा अग्रसरता लिइएको बताए। कुलपति ओलीले सबै विश्वविद्यालय (प्रतिष्ठान) हरूले नयाँ आर्थिक वर्षअगावै आगामी आवको  बजेट तथा कार्यक्रम सिनेट बैठकबाट अनिवार्य स्वीकृति गर्न दिएको निर्देशनअनुसार छोटो सूचनाका आधारमा विश्वविद्यालयको सभा राखिएको हो ।  आज मात्रै चार वटा विश्वविद्यालय-प्रतिष्ठानको सिनेट सम्पन्न भएको छ भने बुधबारका लागि बाँकी दुई विश्वविद्यालयको बैठक तय भएको छ ।   

वैकल्पिक वित्त परिचालन गरेर विमानस्थल, रेलमार्ग र ठूला पूर्वाधार निर्माण गरिने

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विमानस्थल, रेलमार्ग लगायत पूर्वाधारका ठूला आयोजना निर्माणका लागि वैकल्पिक विकास वित्त परिचालन गर्ने बताएका छन् ।  प्रतिनिधिसभाको बैठकमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी सांसदहरूले राखेका प्रश्नहरूको जवाफ दिने क्रममा अर्थमन्त्री पौडेलले वैकल्पिक विकास कोष उर्जा विकास, विद्युत उत्पादन, विद्युत प्रसारण तथा वितरणमा परिचालन हुने बताए ।  यस्तै सडक निर्माण, सुरुङ मार्ग निर्माण तथा विस्तार, औद्योगिक विकास पूर्वाधार निर्माणमा परिचालन गरिने पनि जानकारी दिए । शहरी विकास पूर्वाधार, डाटा सेन्टरको स्थापना तथा सञ्चालन, केबलकार, पोडवे निर्माण तथा सञ्चालनमा पनि वैकल्पिक विकास कोषको परिचालन हुने अर्थमन्त्रीको भनाइ छ ।     अर्थमन्त्री पौडेलले स्वदेश तथा विदेशी लगानीबाट उच्च प्रतिफल दिने ठूला आयोजनाहरुमा लगानी हुँदा पूर्वाधार निर्माणमा स्रोतको कठिनाइको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।  राष्ट्रिय प्राथमिकताका आयोजनाहरुमा स्रोत जुटाउन, सार्वजनिक पूर्वाधारमा विद्यमान लगानीको खाडल पूर्ति गर्न र परम्परागत वित्तीय स्रोतले धान्न नसक्ने आयोजनाहरुको वित्तीय अन्तर पूर्ति गर्ने उद्देश्यले सरकारले संसदमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक पेश गरेको छ । सार्वजनिक ऋणको आकार बढ्दै गएको सन्दर्भमा पूर्वाधार क्षेत्रमा निजी पूँजी आकर्षण गरी सार्वजनिक ऋणमा परेको चाप कम गर्ने, रोजगारी प्रवर्द्धन, दिगो विकास, पूर्वाधार आयोजनामा दीर्घकालीन लगानी सुनिश्चित गर्ने लगायतका उद्देश्य  छन् ।

सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त

काठमाडौं ।  राष्ट्रिय सभा सदस्य भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार अपराह्न न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् । एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए । ७८ लाख रुपैयाँ घुस डिल गरेको अडिओ सार्वजनिक भएपछि मन्त्री गुप्ताले राजीनामा दिएका थिए । रिक्त स्थानमा प्रधानमन्त्रीको सिफारिसमा न्यौपानेलाई मन्त्री नियुक्त गरिएको हो । ‘नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीज्यूको सिफारिसमा भगवती न्यौपानेलाई मन्त्री पदमा नियुक्त गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको कार्यभार सम्हाल्ने गरी राष्ट्रपतिज्यूले तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।