साउन १० गते ‘काठमाडौं भेज फेस्ट’ आयोजना हुने
काठमाडौं । पशु कल्याणका क्षेत्रमा विगत एक दशक देखि विभिन्न कार्यहरू गर्दै आइरहेको स्नेहाज केयरले ‘काठमाडौं भेज फेस्ट’ को आयोजना गर्ने भएको छ । स्नेहाज केयरले यही आउँदो साउन १० गते शनिबार सो फेस्टको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष स्नेहा श्रेष्ठले बताइन् । स्नेहाज केयरले हरेक वर्षझैँ यस वर्ष पनि ५ औँ भेज फेस्टको रुपमा मनाउन लागेको हो । अध्यक्ष श्रेष्ठका अनुसार कार्यक्रम काठमाडौं बौद्धस्थित उत्पला क्याफेकाे प्रांगनमा आयोजना हुँदैछ । यो कार्यक्रम गर्नुको उद्देश्य वनस्पतिमा आधारित परिकारहरूको प्रचार-प्रसार गर्नुका साथसाथै वनस्पतिमा आधारित खाना र जीवनशैलीलाई प्रवर्द्धन गर्नु रहेको श्रेष्ठले बताइन् । महोत्सवमा वनस्पतिमा आधारित खानाको परिकार, दिगो विकास र वातावरणमैत्री सामग्रीको प्रदर्शनका साथै विक्री वितरण हुने छ । साथै उक्त कार्यक्रमलाई सफल बनाउनका भिगन रेस्टुरेन्ट, भिगन सामग्रीहरूको बिक्रेताहरुले पनि स्टल राख्दैछन् । आयोजकका अनुसार महोत्सवमा विभिन्न १३ भन्दा बढी भिगन रेस्टुरेन्ट, भिगान परिकार उत्पादकहरु, विभिन्न आकर्षक गरगहनाहरू, अर्गानिक कृषि उपजहरु तथा ह्यान्डिक्राफ्ट, पशु कल्याण संस्थाहरू, योग तथा दर्शन लगायतका सामग्रीहरू तथा जानकारीमूलक गरि ९० भन्दा धेरै स्टलहरू रहनेछन् । उक्त महोत्सवमा लबिङ हर्ट, सो भेगन, भेगन हाउस, हाम्रो भेगन, सारा बेक्स भेगन, अलोइज ह्याप्पी, भेगन फुड एण्ड वेवरेजलगायत रेष्टुरेन्टहरुले स्टल राख्दैछन् । संस्थाका अध्यक्ष श्रेष्ठले भनिन्, ‘महोत्सव निकै नै रमाइलो हुनुका साथै विभिन्न स्टलहरूमा विभिन्न किसिमका स्वस्थकर र स्वादिष्ठ भिगान परिकारहरूको स्वाद लिन पाउनुहुनेछ ।’ त्यस्तै महोत्सवमा भिगन जीवनशैलीसँग सम्बन्धित जानकारीहरू प्राप्त गर्नुका महोत्सवलाई भव्य र मनोरञ्जनात्मक बनाउनका लागि लाइभ म्युजिक, नृत्य प्रस्तुति, बालबालिकाहरूका निम्ति विभिन्न विधामा गरिएको प्रतिस्पर्धाको पुरस्कार वितरण लगायतका कार्यक्रमहरू समेत राखिएको आयोजकले जनाएको छ । पशु कल्याण अभियानको महत्वपूर्ण कार्यक्रमको रुपमा संस्थाले सन् २०१७ देखि विरुवामा आधारित आहारको उपभोगलाई बढावा दिने कार्यक्रमहरू समेत सञ्चालन गर्दै आइरहेको छ । क्रुरता मुक्त बिरुवामा आधारित स्वस्थकर खानपान र व्यवहार व्यक्तिको स्वास्थ्यका साथै पर्यावरणका लागि पनि फाइदाजनक र पशु कल्याणमा पनि टेवा पुग्ने हुँदा, संस्थाले यस सम्बन्धी विभिन्न जनचेतना मूलक कार्यक्रमहरू संचालन गर्दै आइरहेको अध्यक्ष श्रेष्ठले बताइन् । यस कार्यक्रम अन्तर्गत विद्यालयहरूमा विरुवामा आधारित आहार र पशु कल्याण तथा मानवता सम्बन्धी कक्षा संचालन गर्ने, विद्यालयका क्यान्टिनका कुकहरूलाई भिगन परिकार सम्बन्धी तालिम संचालन, समुदाय स्तरमा महिलाहरुलाई विरुवामा आधारित आहार सम्बन्धी गोष्ठी/तालिम संचालन गर्ने, स्थानीय रैथाने भेज खानाको परिकारका बारेमा फुड भ्लग्स र सामाजिक सञ्जालको माध्यमबाट प्रचार प्रसार गर्ने र वार्षिक भेज फेस्ट आयोजना गर्दै आएको छ । वि.सं २०७२ मा ललितपुर महानगरपालिका वडा नं २१ मा स्थापना भएको स्नेहाज केयरले विगत १० वर्षदेखि पशु कल्याणका क्षेत्रमा विभिन्न कार्यहरू गर्दै आइरहेको छ । यस संस्थाले पशुपंक्षीहरुको उपचार, उद्धार तथा पुनःस्थापनाका लागि विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ । साथै सामुदायिक कुकुरहरूको जनसंख्या नियन्त्रणका लागि बन्ध्याकरण, रेविज रोग उन्मुलनका लागि बृहत रेबिजविरुद्धको खोप कार्यक्रम संचालन गदै आएको छ । यस्तै बेवारिसे गाई बाच्छाहरुको उद्वार, उपचार, तथा पूनस्र्थापना, लामो दुरीमा पशु ढुवानी गर्दा, अव्यवस्थित ढुवानीका कारण पशुप्रति भईरहेको क्रुरता कम गर्नको लागि विभिन्न कार्यक्रम गर्ने गरेको छ । साथै हिमाली क्षेत्रमा प्रयोग गरिने भारवाहक पशुको कल्याणका निम्ति पनि कार्यक्रमहरू गर्दै आएको छ ।
सेयर बजारको आकारमा नयाँ रेकर्ड, नेप्से परिसूचक एक वर्ष यताकै उच्च
काठमाडौं । साताको दोस्रो कारोबारको दिन सोमबार सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१ अंकले बढेर २८ सय ९२ बिन्दुमा पुगेको छ । आज १५३ कम्पनीको मूल्य बढ्दा ९६ कम्पनीको मूल्य घटेको छ । सोमबार ३११ कम्पनीको ३ करोड कित्ता सेयर किनबेच हुँदा १६ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजारको आकारमा नयाँ रेकर्ड बनेको छ । बजारको पूँजीकृत रकम ४८ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । यसअघि ४७ खर्ब ९९ अर्बको रेकर्ड बनेको थियो । यस्तै, नेप्से परिसूचक पनि ११ महिनायताकै उच्च हो । साेमबार सबैभन्दा धेरै कारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको भएको छ । नेपाल रिइन्स्योरेन्सको ७५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । साथै, हिमालयन रिइन्स्योरेन्सको ७५ करोड, बुटवल पावर कम्पनीको ५६ करोड, फस्ट माइक्रो फाइनान्स लघुवित्तको ५१ करोड र लुम्बिनी विकास बैंकको ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै विकास बैंक समूह १.४२, लघुवित्त १.९३, निर्जीवन बीमा १.२७ र अन्य समूह १.८४ प्रतिशतले बढेको छ । बैंकिङ ०.४८, होटल तथा पर्यटन ०.३०, जलविद्युत् ०.४६, लगानी ०.३७, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.३७, म्युचुअल फन्ड ०.१९ र व्यापार समूह ०.४३ प्रतिशतले बढेको छ । आज ३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्री स्टार हाइड्रोपावरको ९.९९, ट्रेड टावर र सानभी इनर्जीको ९.९८ प्रतिशतले सेयर मूल्य बढेर सकारात्मक सर्किट लागेको छ । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड र सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
सेयर लगानीकर्ता दीपेन्द्र अग्रवाल पक्राउ
काठमाडौं । सेयर बजारमा सक्रिय लगानीकर्ता दीपेन्द्र अग्रवाल ठगी तथा विश्वासघातको अभियोगमा पक्राउ परेका छन् । काठमाडौं उपत्यका प्रहरी परिसरका अनुसार उनलाई टोखा क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार अग्रवालले सेयर कारोबारको नाममा विभिन्न लगानीकर्ता र धितोपत्र दलाल कम्पनीहरूलाई करिब २२ करोड रुपैयाँभन्दा बढी ठगी गरेका थिए । अग्रवालविरुद्ध धितोपत्र बजारसम्बन्धी आर्थिक अनियमितता, विश्वासघात र ठगीसम्बन्धी अभियोगमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे नेपाल धितोपत्र बोर्डले समेत छुट्टै अनुसन्धान अघि बढाइसकेको छ ।
अर्थमन्त्री पौडेल र अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, ४ वटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र चीनबीचको द्विपक्षीय सम्बन्ध लगायत विकास साझेदारी, चीनको सहयोगमा सञ्चालित र अब सञ्चालन हुने परियोजनाहरुका बारेमा छलफल भयो । द्विपक्षीय भेटवार्ता पश्चात् ४ वटा परियोजनाका समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम सम्पन्न भयो । चितवनको भरतपुरस्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा बोनम्यारो ट्रान्सप्लान्टशन निर्माण सम्बन्धी परियोजनाको र निजामती कर्मचारी अस्पातालको विस्तार गर्न सम्भाव्यता अध्ययन गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भयो । जसमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे । भरतपुर स्थित विपि कोइराला मेमोरियल क्यान्सर अस्पातालमा १८३४ वर्ग मिटर क्षेत्रमा फैलिएको बोनम्यारो क्यान्सर उपचार केन्द्रको निर्माण तथा आवश्यक मेसिनरीको जडान हुनेछ । यसबाट बोनम्यारो क्यान्सरको उपचारमा उल्लेख्य योगदान पुग्नेछ।त्यस्तै निजामती कर्मचारी अस्पातालको विस्तारको सम्भाव्यता अध्ययन समेत हुनेछ । यी दुई सम्झौताको कार्यान्वयनबाट नेपालको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ। यही अवसरमा नेपाल र चीनबीच मानव संशाधन विकास सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भयो । यसबाट १२७० जना सरकारी कर्मचारीलाई चीनका विभिन्न संस्थाहरुले आयोजना गरेको द्विपक्षीय तथा बहुपक्षीय सेमिनारमा भाग लिने अवसर प्राप्त हुनेछ। यसबाट कर्मचारीको क्षमता अभिवृद्धिमा उल्लेख्य योगदान पुग्नेछ। यही अवसरमा रसुवागढी केरुङ्ग सिमापार ट्रान्समिसन लाईन निर्माणको निर्माणको सम्भाव्यता अध्ययन सम्बन्ध माइन्युटमा नेपाल विद्युत प्राधिकरणका एमडी हितेन्द्रदेव शाक्य र सिड्का अध्यक्षले हस्ताक्षर गरे । यसबाट रसुवागढी केरुङ्ग ट्रान्समिसन लाइन निर्माण सम्बन्धि सम्भाव्यता अध्ययनको काम अगाडि बढ्नेछ । कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल चीन बहुआयामिक सम्बन्धमो चर्चा गर्दै नेपाल भ्रमण गर्नु भएकोमा सिड्का अध्यक्षलाई धन्यवाद दिए । साथै उच्चस्तरीय भ्रमणले दुई पक्षीय सम्बन्धलाई अझ उचाईमा पुर्याउने विचार व्यक्त गरे। अर्थ सचिव घनश्याम उपाध्यायले नेपाल चीन सम्बन्धको महत्व उल्लेख गर्दै हस्ताक्षर भएका परियोजनाले नेपालको स्वास्थ्य क्षेत्र, मानव संशाधन विकास र सिमापार विद्युत व्यापारमा योगदान पुग्ने र यसबाट नेपाली जनताको लागि फाइदाजनक हुने बताए । उनले आगामी दिनमा मित्रराष्ट्र चीनको तर्फबाट पूर्वाधार निर्माणमा थप सहयोग हुने विश्वास व्यक्त गरे । बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा सहयोग गर्ने रसुवा जिल्लामा बाढीले पुर्याएको भौतिक संरचनाहरुको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । अर्थमन्त्री भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिए । सिड्काका अध्यक्ष सियाओदोङ्गले बाढीपछि नेपाल सरकारले उद्धार र बेपत्ता भएकाहरुको खोजीमा देखाएको सकृयता र सहयोगप्रति धन्यवाद व्यक्त गरे । अर्थमन्त्री पौडेलले विपद् लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गर्दै भौतिक संरचनाहरुको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनीयाँ पक्षलाई धन्यवाद दिए । ‘आयात-निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्वपूर्ण छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौं,' अर्थमन्त्री पौडेलले भने ।
पहिलोपटक पीपीपी मोडलमा ठूला लाइन निर्माण गर्न लाग्यो प्राधिकरण
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले पहिलोपटक सार्वजनिक-निजी साझेदारी (पीपीपी) मोडलमा ठूला क्षमताका विद्युत् प्रसारणलाइन निर्माण गर्ने प्रक्रिया अगाडि बढाएको छ । यसका लागि प्राधिकरणले इच्छुक निजी फर्म तथा कम्पनीहरूबाट आशयपत्र (ईओआई) माग गरेको छ । प्राधिकरणले हाललाई ४ वटा महत्त्वपूर्ण प्रसारणलाइन आयोजना पीपीपी मोडलमा निर्माण गर्न प्रस्ताव गरेको हो ।यसले ऊर्जा पूर्वाधार निर्माणमा निजी क्षेत्रको लगानी र सहभागितालाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ । प्राधिकरणका अनुसार तिङ्ला–दूधकोशी–ढल्केबरः ४०० केभी, १ सय १८ किलोमिटर, अरुण हब (शीतलपाटी)–इनरुवाः ४०० केभी, ९४ किलोमिटर, न्यु खिम्ती–ढल्केबरः ४०० केभी, ८० किलोमिटर, लप्सीफेदी–तीनपिप्लेः २२० केभी, ३० किलोमिटर रहेको छ । इच्छुक निजी कम्पनीले ३० दिनभित्र प्राधिकरणमा आशयपत्र पेश गरिसक्नुपर्ने प्राधिकरणले जनाएको छ । आशयपत्र मूल्याङ्कनबाट छनोट भएका कम्पनीले यी आयोजनाहरू ’निर्माण–स्वामित्व ग्रहण–सञ्चालन र हस्तान्तरण’ (बुट) मोडलमा विकास गर्नुपर्नेछ ।
चार दिनसम्म चलेको सफ्टवारिका कलेजको प्रविधि महोत्सवमा १० हजारभन्दा बढी भए सहभागी
काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्सले आयोजना गरेको ‘टेक एक्सस् एलिभेट २०२५’ नामक चारदिने प्रविधि महोत्सव उत्साहजनक रूपमा सम्पन्न भएको छ । असार ३२ देखि श्रावण ३ गतेसम्म सञ्चालित उक्त कार्यक्रमले प्रविधि, उद्यमशीलता र प्रेरणालाई एउटै मञ्चमा समेट्दै युवा पुस्तालाई नवीन सोच र आत्मविश्वासको सन्देश दिएको छ । करीब १० हजारभन्दा बढी आगन्तुकहरूको सहभागिता रहेको महोत्सवमा ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी चर्चित कन्टेन्ट क्रिएटरहरूसँगको प्रत्यक्ष संवादले वातावरणलाई जटिल नभई जिज्ञासुपूर्ण बनायो । कार्यक्रममा विद्यार्थीहरूले विकास गरेका २० भन्दा बढी प्रविधिमूलक प्रोजेक्टहरू जस्तै ‘करुणा’, ‘मिरा’, ‘स्टडीसेन्स’, ‘तोमात्रों’, ‘फिसअवेर’, ‘फ्लिप आरएफआईडी’, ‘केम्ल्याब भीआर’ आदिले दर्शकहरूको ध्यान खिचे। ती इनोभेसनहरूले शिक्षा, कृषि, स्वास्थ्य र सुरक्षाको क्षेत्रमा प्रविधिको सम्भावनालाई उजागर गरे। आन्त्रप्रेनरशिप मास्टरक्लास सत्रमा नारायण कोईराला, डा. मनीष थापा र निरञ्जन खडेलजस्ता विशेषज्ञहरूले अनुभव साटे । २५ भन्दा बढी स्टार्टअप आइडिया पिच गरिएका भीसी सत्रमा ७ भन्दा बढीमा लगानीकर्ताहरूले चासो देखाएका थिए । कलेजले उत्कृष्ट स्टार्टअपहरूलाई लक्षित गर्दै १ करोड रुपैयाँ लगानी गर्ने घोषणा समेत गर्यो । नेपाल प्रहरीका पूर्व डिआइजी रमेश खरेललगायत प्रेरक व्यक्तित्वहरूले ‘इन्स्पायर टक’ सत्रमा इमान, अनुशासन र राष्ट्रप्रेमबारे विचार राखे । जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रह्यो, जसमा ५०० भन्दा बढी सहभागीले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शका अवसर पाए । ‘आइरन क्लाश’ नामक रोबोट युद्ध प्रतियोगिता कार्यक्रमको विशेष आकर्षण बन्यो। विद्यार्थीहरूले दुई वर्षदेखि निर्माण गरेका रोबोटहरूको रोमाञ्चक भिडन्तमा विजेता समूहलाई ३ लाख बराबरको पुरस्कार प्रदान गरियो । १५ भन्दा बढी चर्चित डिजिटल इन्फ्लुएन्सरहरूको सहभागिताले युवामाझ डिजिटल सम्भावनाबारे नयाँ सोचको ढोका खोल्यो । सविन कार्की (बिस्ट), राहुल खड्गी, सिद्धार्थ घिमिरे (टेक), सजिना खनाललगायतले सामाजिक सञ्जालमा सकारात्मक प्रभावको सम्भावनाबारे चर्चा गरे । कार्यक्रमको समापन समारोहमा आयोजक संस्थाले ‘टेक एक्सस् एलिभेट’ केवल प्रविधिको प्रदर्शनी नभई शिक्षा, नवप्रवर्तन र प्रेरणाको संगम भएको स्पष्ट गर्यो । कलेजले नेपाली युवालाई विश्वस्तरीय प्रविधि सीप, सोच र आत्मविश्वास प्रदान गर्दै ग्लोबल प्रतिस्पर्धाका लागि तयार पार्ने प्रतिबद्धता दोहोर्‍यायो । चार दिनको कार्यक्रमले एउटा स्पष्ट सन्देश दिएको छ । अब प्रविधिको यात्रा नेपाली युवाहरूको हातमा सुरक्षित छ, र उनीहरू आत्मविश्वासका साथ भविष्यको नेतृत्व गर्न तयार छन् ।
एक वर्षमा ३७ हजार विदेशी पर्यटक मनाङ पुगे, सबैभन्दा धेरै इजरायली
मनाङ । हिमाली जिल्ला मनाङमा विदेशी पर्यटक आगमन बढ्दै गएको छ । मनाङ भ्रमणमा आउने विदेशी पर्यटकको वार्षिकरूपमा बढ्दै गएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना इलाका कार्यालय मनाङका अनुसार आर्थिक वर्ष २०८१/८२ मा २२ हजार ४७७ पुरुष, १५ हजार २४९ र अन्य छ गरी ३७ हजार ७३२ विदेशी पर्यटकको आगमन भएको छ । उक्त इलाकाअन्तर्गत धारापानी पर्यटक चेकपोष्टको तथ्याङ्कअनुसार तीमध्ये दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) राष्ट्रका दुई हजार ५५४ र अन्य राष्ट्रका ३५ हजार १७८ पर्यटकले मनाङ भ्रमण गरेको कार्यालयका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । आर्थिक वर्ष २०८१/८२ मा १३४ देशका पर्यटकले मनाङ भ्रमण गरेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा सबैभन्दा बढी इजरायलका चार हजार ३५८ नागरिकले मनाङ भ्रमण गरेका भुजेलले बताए । फ्रान्सका तीन हजार ६१६ र जर्मनीका दुई हजार ८४२ नागरिकले भ्रमण गरेका छन् । गत वर्षको तुलनामा यस आर्थिक वर्षमा १० राष्ट्रका पर्यटकको आगमन वृद्धि भएको उनले बताए । आर्थिक वर्ष २०८०/८१ मा १२४ राष्ट्रका २२ हजार ३७१ पर्यटकले मनाङ भ्रमण गरेका थिए । उक्त वर्ष फ्रान्सका नागरिक सबैभन्दा बढी आएको तथ्याङ्कमा उल्लेख छ । यस वर्षमा इजरायली नागरिकको सङ्ख्या अधिक रहेको उनको भनाइ छ । उनले भने, ‘यहाँ आउने पर्यटकको आगमन बढ्ने क्रममा छ । यहाँका स्थानीय कृषि र पर्यटन व्यवसायमा निर्भर छन् । पर्यटकको आगमनले यहाँको आर्थिक स्तर वृद्धि हुनाका साथै राष्ट्रकै अर्थतन्त्रमा सुधार गरिरहेको छ ।’ विश्वको १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्गका रूपमा रहेको अन्नपूर्ण पदमार्ग मनाङमा नै पर्ने भएकाले पर्यटकको आकर्षण बढ्दै गएको छ । उनले भने, ‘अन्य देशबाट पर्यटक आउने भए पनि इजरायल, फ्रान्स, जर्मनीलगायतका देशका नागरिक बढी आउने गरेका छन् । सङ्ख्याका आधारमा यी राष्ट्रबाट धेरै हुन् । अमेरिका, चीन, रसिया, भारतीय पर्यटक आउने क्रम बढ्दै गएको तथ्याङ्क हामीमा दर्ता भएका छन् ।’ मनाङ प्राकृतिक सम्पदाले भरिपूर्ण भएकाले पनि पर्यटकको रोजाइमा पर्ने गरेको उनको भनाइ छ । आन्तरिक पर्यटक पनि बिदाको समयमा भ्रमणमा आउने क्रम बढ्दो रहेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना कार्यालय मनाङका संरक्षण शिक्षा सहायक भूपेन्द्र गुरुङले जानकारी दिए । उनले भने, ‘तीन/चार दिन लगातार बिदा परेको बेलामा मनाङमा आन्तरिक पर्यटकको आगमन बढी भएको पाएका छौँ । भ्रमणमा निस्कने प्रविधि नेपालीमा पनि बिस्तारै बढ्दै गएको छ । विशेषगरी हाल मनाङ भ्रमणका लागि आन्तरिक पर्यटकको रोजाइ बनेको छ ।’ आन्तरिक पर्यटकको भने अभिलेख राखिँदैन । तर, पर्यटकको आगमन भने उल्लेख्य हुने गरेका उनको भनाइ छ । मनाङ आउने अधिकांश पर्यटक तिलिचो ताल हुँदै थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ निस्कन्छन् भने केही पर्यटक लार्के भञ्ज्याङ हुँदै मनास्लुतर्फ लाग्ने गर्दछन् । आन्तरिक पर्यटकको रोजाइमा तिलिचो ताल पर्ने गरेको मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले बताए । लगातार बिदा भएको समयमा आन्तरिक पर्यटक तिलिचो ताललाई मुख्य गन्तव्य बनाएर आउने गरेका पाइएको उनले बताए । दुई समयमा मनाङका पदमार्गमा यात्रा गर्न सकिन्छ । कोभिडको सङ्क्रमण र विसं २०७८ को बाढीपहिरापछि यहाँ पर्यटक आवागमनमा वृद्धि हुँदै गएको छ । हिमाल, पहाडका दृश्य, मनाङवासीको संस्कार, संस्कृति, रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्न पर्यटकको आकर्षण र आगमन हुने गर्दछ । साथै अन्नपूर्ण पदमार्गमार्फत पर्यटक मनाङबाट थोराङ्ला भञ्ज्याङ पार गरी मुस्ताङ हुँदै पोखरा पुग्ने गर्दछन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेँसीसहर नगरपालिका–७ मनाङ्गे चौताराबाट यात्राको सुरूआत गर्दछन् । अन्नपूर्ण पदमार्गमा लमजुङसहित मनाङ, मुस्ताङ, म्याग्दी र कास्की गरी पाँचवटा जिल्ला जोडिएको छ । काठमाडौँदेखि बेँसीसहरसम्म सवारीसाधनमा पर्यटक आउने गर्दछन् । पछिल्लो समय सडक सञ्जालको सहजताले सवारीसाधनमा नै चामे, खाङ्सारसम्म पुग्ने गरेको पाइन्छ । त्यसपछि मात्रै मुख्य गन्तव्यतर्फ पदमार्गको यात्रा गर्ने गरेका भेटिन्छन् ।
किशोरीबाट जबरजस्ती डिम्ब संकलन प्रकरण : अनुसन्धान गर्न स्वास्थ्य मन्त्रालयको समिति गठन
काठमाडौं । काठमाडौंमा सञ्चालन रहेको फर्टिलिटी सेन्टरले किशोरीबाट अवैध रुपमा डिम्ब लिइरहेको फेला परेपछि स्वास्थ्य मन्त्रालयले छानबिनमा चासो देखाएको छ । निसन्तान उपचार केन्द्रका नाममा खोलिएका इनभिट्रो फर्टिलाइजेशन सेन्टरका विषयमा प्रश्न उठेपछि स्वास्थ्य मन्त्रालयले प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डा.ज्वला थापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ । जसमा डा. सुनिता लम्साल र कानुन अधिकृत शुरेस चौलागाइ सदस्य रहेका छन् । यो समितिले यस विषयमा अनुसन्धान गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । बबरमहलमा रहेको होप फर्टिलिटी डायग्नोस्टिक प्रालि र एन्जल फर्टिलिटी क्लिनकले किशोरीहरूलाई प्रलोभनमा पारेर डिम्ब लिइरहेको कुरा बाहिर आएपछि मन्त्रालयले यो विषयमा छानबिन गर्न समिती बनाएको हो । होप फर्टिलिटीले किशोरीलाई १० हजार रुपैयाँ दिएर डिम्ब लिएको र १९ लाखमा किनबेच गर्ने गरेको उजुरी परेपछि सिआइबीले सञ्चालक सहित ५ जना चिकित्सक र कर्मचारीलाई फक्राउ गरेको थियो । अदालतले थुनमा नराखेर अनुसन्धान अगाडि बढाउन भनेपछि केन्द्रिय अनुसन्धान ब्युरोले उनीहरूलाई जमानतमा छोडेको थियो । मन्त्रालयले एन्जल फर्टिलिटी क्लिनिकमाथि पनि गुनासो आएको भन्दै त्यसको पनि छानविन गर्ने जनाएको छ । समितिले पाँच दिन भित्र यो विषयमा अनुसन्धान गरेर प्रतिबेदन बुझाइसक्नुपर्ने छ । सिआइबीले पनि यो विषयमा आफ्ने अनुसन्धान जारी रहेको जनाएको छ । ब्युरोका अनुसार होप फर्टिलिटीले १८ वर्ष मुनिका किशोरीलाई १० देखि १५ हजार दिएर इन्जेक्सन मार्फत डिम्ब निकाल्ने गरेको पाइएको बताएको छ ।