विकासन्युज

लमही-घोराही सडक साउन २१ देखि चार दिन बन्द हुने

दाङ । दाङको लमही-घोराही सडकखण्ड चार दिनका लागि बन्द हुने भएको छ । मसोट खोलामा रहेको पुल आकस्मिक रूपमा मर्मत गर्नुपर्ने भएकाले साउन २१ गते बिहान ७ बजेदेखि साउन २४ गते बिहान ७ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा रोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । शनिबार बसेको सरोकारवालाको बैठकले उक्त अवधिमा दुई पांग्रे सवारीबाहेक सबै प्रकारका सवारी साधन चल्न नदिने निर्णय गरेको हो । सडक बन्दको विकल्पका रूपमा लमही–अर्जुनखोला–अमेलिया–तुलसीपुर–घोराही सडक प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले जानकारी दिए। वैकल्पिक मार्ग व्यवस्थापन र ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, घोराहीलाई समन्वय गर्न भनिएको छ । यसका साथै, मसोट खोलाको पुल नजिक रहेको डाइभर्सनलाई सडक डिभिजन कार्यालयले मर्मत गर्ने र ट्राफिक प्रहरीको नियमनमा अत्यावश्यक सवारी साधन सञ्चालनको व्यवस्था मिलाउने निर्णयसमेत बैठकले गरेको छ । जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण र सवारी चालकलाई सडक बन्द अवधिमा वैकल्पिक मार्ग प्रयोग गर्न र जानकारी अनुसार यात्रा गर्न आग्रह गरेको छ ।

राष्ट्रिय बीमामा सर्वसाधारणको १०.४६ प्रतिशत स्वामित्व बढाउने, नेपाल बैंकसँग लगानी साटासाट

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले पुँजी संरचनाका लागि नयाँ प्रस्ताव गरेको छ । कम्पनीले पुँजी संरचनाका लागि संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ सर्वसाधारणकाे बढाउने प्रस्ताव पेस गरेको हाे । कम्पनीमा हाल संस्थापक समूहको ८०.४६ प्रतिशत र सर्वसाधारण समूहको १९.५४ प्रतिशत सेयर स्वामित्व रहेको छ । नयाँ प्रस्तावअनुसार संस्थापक समूहको १०.४६ प्रतिशत स्वामित्व घटाइ ७० प्रतिशत र सर्वसाधारण समूहको १०.४६ प्रतिशत बढाइ ३० प्रतिशत सेयर स्वामित्व कायम गर्ने प्रस्ताव गरेकाे हाे । संस्थापक समूहतर्फ कम्पनीमा हाल नेपाल सरकारको ४७.५० प्रतिशत, कर्मचारी संचय कोषको २२ प्रतिशत र नेपाल बैँकको १०.९६ प्रतिशत सेयर लगानी छ । नयाँ प्रस्ताव अनुसार नेपाल सरकारको ४१.०३ प्रतिशत, कर्मचारी सञ्चय कोषको १९.३७ प्रतिशत र नेपाल बैंकको ९.६० प्रतिशतमा झार्ने प्रस्ताव गरिएको छ । कम्पनीले विभिन्न पाँच कम्पनीमा सेयर लगानी गरेको छ । पछिल्लो तथ्याङ्क अनुसार कम्पनीले नबिल बैंकमा २ करोड ६ लाख ३६ हजार ९८६ कित्ता, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा २ करोड २९ लाख ६७ हजार ७९६ कित्ता, नेपाल पुनर्बीमा कम्पनीमा ३७ लाख १७ हजार ३४० कित्ता, ग्लोबल आइएमई बैंकमा ५ लाख ९१ हजार ९४५ कित्ता र नेपाल बैंकमा २ लाख ९९ हजार ५३७ कित्ता सेयर रहेको छ । कम्पनीले नेपाल बैंकसँग लगानी साटासाट गरेको देखिन्छ । बैंकले कम्पनीमा लगानी गरेकाे छ भने कम्पनीले पनि बैंकमा लगानी गरेकाे देखिन्छ । साथै, कम्पनीले २०८२ असारसम्म बैंकको मुद्दती निक्षेपमा ६ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।  कम्पनीको अध्यक्ष दिनेश उपाध्याय रहेका छन् भने प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवहरि श्रेष्ठ रहेका छन् । कम्पनीका अनुसार निर्जीवन बीमा व्यवसायबाट प्राप्त खुद बीमा शुल्क, पुनर्बीमा कमिसन र दीर्घकालीन तथा अल्पकालीन लगानीबाट प्राप्त प्रतिफल आर्थिक स्रोतका आधारहरू हुन् । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ मा कुल १ अर्ब ३७ करोड ९२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको जनाएको छ ।  कम्पनीले २३ वटा शाखा कार्यालयमार्फत आफ्नो सेवा प्रदान गर्दै आएको छ । कम्पनीमा १४७ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ११४ जना स्थायी र बाह्य स्रोतका गरी कुल २१० जना कर्मचारी कार्यरत रहेको कम्पनीले जनाएको छ । बीमा व्यवसाय अभिवृद्धिका लागि देशभर छरिएर रहेका २९६ क्रियाशील/सक्रिय अभिकर्ताहरूको भूमिका महत्वपूर्ण रहेको कम्पनीले जनाएको छ । त्यस्तै, बीमा दाबी भुक्तानीमा सहजीकरणका लागि १९१ जना सर्भेयरहरूलाई कम्पनीमा आबद्ध गराएको छ । कम्पनी र राष्ट्रिय जीवन बीमा कम्पनीले संयुक्त रूपमा भोगचलन गरिरहेको रामशाह पथस्थित १५ रोपनीको जग्गा यथाशीघ्र आफ्नो नाममा ल्याई आफ्नो भवन निर्माण गर्ने लक्ष्य रहेको छ । यसबाहेक वीरगञ्जमा ६ कट्ठा जग्गा, धनगढीमा ६ कट्ठा १० धुर जग्गा र भैरहवाको ४ कट्ठा १० धुर जग्गामा कम्पनीको आफ्नै भवन रहेको छ । अधिकांश सेयर स्वामित्व सरकारकाे रहेकाे राष्ट्रिय बीमा कम्पनी आजदेखि १२ औं वर्षमा प्रवेश गरेको छ । विसं २०७१ साउन १८ गतेबाट व्यावसायिक कारोबार सञ्चालन गरेको कम्पनी ११ वर्ष पुरा गरी १२औँ वर्षमा प्रवेश गरेको हो । राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसाय हेर्ने विभागलाई छुट्टै स्वतन्त्र निकायको रूपमा निर्जीवन बीमा व्यवसाय गर्ने गरी सरकारको निर्णय बमोजिम विसं २०७१ जेठ २८ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भएको थियो ।  देशमा बीमा व्यवसाय सुरुवात गरी राष्ट्रिय पुँजी निर्माण तथा विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्यले सरकारको लगानीमा विसं २०२४ पुस १ गते राष्ट्रिय बीमा संस्थानको स्थापना गरी सोही वर्षको फागुन ११ गतेदेखि निर्जीवन बीमा व्यवसायको कारोबार शुरु गरेको थियो । २०२५ सालमा राष्ट्रिय बीमा संस्थान ऐन लागू भएपछि राष्ट्रिय बीमा संस्थानमा परिणत भई कारोबार सञ्चालन गर्दै आएको थियो ।  बीमा व्यवसायलाई व्यवस्थित गर्न बनेको बीमा ऐन २०४९ को दफा १२ मा जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले जीवन बीमा तथा निर्जीवन बीमा व्यवसाय गर्ने अलग-अलग संस्थाका रूपमा कार्य गर्नुपर्ने व्यवस्था गरेपछि नेपाल बीमा प्राधिकरण (साविक बीमा समिति) बाट निर्जीवन बीमकको लाइसेन्स लिएर छुट्टै कम्पनीका रुपमा खडा भएको हो । लामो समयदेखि थाती रहेको लेखापरीक्षणलाई उच्च प्राथमिकतामा राखेर कम्पनीले आर्थिक वर्ष २०७६/७७ सम्मको लेखापरीक्षण सम्पन्न गरी विसं २०८२ असार २९ गते तेस्रो वार्षिक साधारण सभा सम्पन्न गरिसकेको छ । आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण कार्य सम्पन्न गरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा वार्षिक साधारण सभा गर्ने लक्ष्य कम्पनीले लिएको छ । साथै बाँकी आर्थिक वर्षहरूको लेखापरीक्षणको कार्य पनि यथाशीघ्र सम्पन्न गर्ने कम्पनीले जनाएको छ । 

प्रभु महालक्ष्मी लाइफको साढे २ करोडको सेयर बिक्रीमा, मूल्य २०३ रुपैयाँ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साढे २ करोड रुपैयाँ बराबरको संस्थापक सेयर बिक्रीमा राखिएको छ । इन्स्योरेन्स कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २ करोड ६४ लाख ७९ हजार रुपैयाँ बराबरको सेयर बिक्रीमा राखेका हुन् ।  कम्पनीका अनुसार संस्थापक सेयरधनीहरूले १ लाख ३० हजार ४४२ कित्ता सेयर बिक्रीमा राखेका हुन् । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता २०३ रुपैयाँ तोकेको छ । सो मूल्यका आधारमा कम्पनीको २ करोड ६४ लाख ७९ हजार ७२६ रुपैयाँको सेयर बिक्रीमा राखिएको हो । कम्पनीको सेयरमा विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन् । यदि ३५ दिनभित्र संस्थापक सेयरधनीहरूले खरिदका लागि आवेदन नदिएमा सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ । 

प्रधानमन्त्री ओली आज तुर्कमेनिस्तान जाँदै, साउन २३ गते स्वदेश फर्कने

काठमाडौं । भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्र सङ्घीय सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको तुर्कमेनिस्तान भ्रमणको तयारी पूरा भएको छ । प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल आइतबार राति ११ः५५ बजे फ्लाई दुबईको उडानबाट दुबई हुँदै तुर्कमेनिस्तान भ्रमणमा जाँदैछ । भ्रमणको तयारी पूरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार राष्ट्रपति रामचन्द्र पौडेल समक्ष भेट गर्दै आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे अवगत गराए ।  साउन २० देखि २३ गतेसम्म (५ देखि ८ अगस्ट) अवाजा सहरमा आयोजना हुने सम्मेलनमा तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली त्यहाँ जान लागेका हुन् ।  सम्मेलनमा कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्षका रूपमा समेत प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उनले सम्मेलनको एक उच्चस्तरीय गोलमेच बैठकको सहअध्यक्षता गर्नुका साथै अन्य विविध कार्यक्रममा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपाल हाल एलएलडिसीहरूको अध्यक्षसमेत रहेको छ । लगभग ४४ करोड जनसङ्ख्या भएको अफ्रिका, एसिया, युरोप र दक्षिण अमेरिकामा अवस्थित ३२ भूपरिवेष्टित विकासशील देशहरूले भाग लिने उक्त सम्मेलनमा समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँचको अभाव र विश्व बजारबाट तिनीहरूको दुर्गमता र अलगावसँग सम्बन्धित विषयमा छलफल हुनेछ । ती मुलुकहरूको अन्तर्राष्ट्रिय व्यापार अन्य देश हुँदै पारवहनमा निर्भर रहने हुनाले अतिरिक्त सीमापार गर्ने ठाउँ र प्रमुख बजारबाट लामो दूरी, बोझिलो पारवहन प्रक्रिया र अपर्याप्त पूर्वाधारसँगै यातायात तथा अन्य लेनदेन लागतको कुल लागतमा उल्लेखनीय वृद्धि गर्ने भएकाले भूपरिवेष्टित विकासशील देशहरूको प्रतिस्पर्धात्मक क्षमता बढाउन सम्मेलन केन्द्रित हुनेछ । सम्मेलनका अवसरमा प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रतिनिधिमण्डल प्रमुखसँग र संयुक्त राष्ट्र सङ्घ तथा अन्य अन्तर्राष्ट्रिय संस्थाका उच्च पदस्थ पदाधिकारीसँग भेटवार्ता गर्ने छन् । उनको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापा क्षेत्री, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव राजेश बज्राचार्य, निजी चिकित्सक प्रा डा दिव्या सिंह शाह, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई, उच्च पदस्थ सरकारी अधिकारी, अफिसियल मिडियाकर्मी र सुरक्षाकर्मीसमेत सहभागी हुने छन् । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कने कार्यक्रम छ । भूपरिवेष्टित विकासशील देशहरू समुद्रमा प्रत्यक्ष क्षेत्रीय पहुँच नभएका कारण अन्तर्राष्ट्रिय व्यापार, कनेक्टिभिटी र आर्थिक विकाससँग सङ्घर्ष गरिरहेका छन् । विश्वव्यापी बजारबाट अलग्गिएको र पर्याप्त यातायात तथा खाद्य पूर्वाधार विकास गर्ने साधनबिना, भूपरिवेष्टित विकासशील देशहरूले दिगो विकास लक्ष्यहरू प्राप्त गर्न गम्भीर चुनौतीको सामना गरिरहेको सन्दर्भमा यो तेस्रो सम्मेलन हुन लागेको हो । सम्मेलनले समस्याका लागि नवीन समाधान, रणनीतिक साझेदारी र बढ्दो लगानीले यी चुनौतीलाई सम्बोधन गर्न र यी राष्ट्रहरूको पूर्ण क्षमतालाई आकलन गर्न मद्दत गर्ने ठानिएको छ । सम्मेलनले यी देशहरूलाई सहयोग गरेर आपसी समान र समृद्ध भविष्य निर्माण गर्न टेवा दिनेछ । भूपरिवेष्टित विकासशील देशहरू सम्बन्धी दोस्रो संयुक्त राष्ट्र सम्मेलन सन् २०१४ नोभेम्बर ३-५ मा अष्ट्रियाको भियनामा आयोजना गरिएको थियो । उक्त सम्मेलनले ‘अल्माटी’ कार्ययोजनाको कार्यान्वयनको समीक्षा गर्दै नयाँ र उदीयमान चुनौतीको सामनाका लागि साझेदारी तथा अवसरका सन्दर्भमा अन्तर्राष्ट्रिय, क्षेत्रीय, उपक्षेत्रीय र राष्ट्रिय अन्तर्राष्ट्रिय व्यापार तथा पारवहन यातायात सहयोग नीतिहरू पहिचान गर्नु र पारवहन यातायात प्रणालीहरूको विषयमा छलफल गरेको थियो ।

भटौली खोलामा बाढीः रामेछाप-काठमाडौं वैकल्पिक मार्ग बन्द

काठमाडौं । रामेछापको सदरमुकाम मन्थलीलाई खाँडादेवी, दोरम्बा शैलुङ र सुनापति गाउँपालिकासँग जोड्ने तथा काठमाडौं जाने वैकल्पिक मार्गका रूपमा रहेको भटौली खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । कटानका कारण ठूला सवारीसाधनको आवागमन रोकिएपछि नेपाली सेना र सशस्त्र प्रहरी बाटो खुलाउन लागिपरेका छन् । शुक्रबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले पुलको पकरबासतर्फको किनार कटान गरेपछि ठूला सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको छ । मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ पकरबास जोड्ने उक्त पक्की पुलको पकरबासपट्टि खोलाले भत्काएपछि सडकको एक भाग खोक्रो बनेको छ ।  दुई पाङ्ग्रे सवारीसाधनबाहेक अन्य सवारीसाधन चलाउन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले बताए । बाटो खुलाउने प्रयास जारी रहेको उनको भनाइ छ ।  पुल जोखिममा रहेको थाहा पाएपछि प्रदेशसभा सदस्य आनन्द श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी थापा, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखसहितको टोलीले स्थलगत अवलोकन गरी सम्बन्धित निकायलाई मर्मत गर्न निर्देशन दिएको थियो । शुक्रबार रातिको वर्षाले बनाइएका संरचनासमेत बगाएको स्थानीय केदारप्रसाद ढुङ्गेलले बताए । खाँडादेवी गाउँपालिका-४ का वडाध्यक्ष कृष्ण पौडेलले खोलामा आएको कटान सुरु गरेपछि सम्बन्धित निकायलाई जानकारी गराए पनि बेवास्ता गरिएका कारण यो अवस्था आएको बताए ।  रामेछापको तीन गाउँपालिकालाई सदरमुकाम मन्थलीसँग जोड्ने यो पुल रामेछाप-काठमाडौं वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुँदै आएको छ । गत वर्ष खुर्कोटको पुल बगाएपछि दोलखा, रामेछाप र ओखलढुङ्गाका धेरै सवारीसाधन यही बाटो भएर राजधानी आवतजावत गरेका थिए । हाल पनि खुर्कोटको पुलमा १५ टनभन्दा बढी भार वहन बोकेका सवारीसाधन यही बाटो भएर जिल्ला सदरमुकाम मन्थली भित्रिने र काठमाडौं तथा तराईका विभिन्न भागमा आवतजावत गरिरहेकामा  अहिले सबै आवागमन रोकिएको छ ।

दुई संसदीय समितिको बैठक बस्दै, भूमिसम्बन्धी ऐनमा सरोकारवालासँग छलफल गर्ने

काठमाडौं । सङ्घीय संसदका दुई समितिको बैठक बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएकाे हाे ।  कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा सरोकारवालासँग छलफल गर्ने कार्यसूची छ ।  सो समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलित, अव्यवस्थित बसोबासीसँग सम्बन्धित भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र वन तथा वातावरण मन्त्रालयसँग रहेका सम्बन्धित सम्पूर्ण विवरण तथा हालसम्म वितरण गरिएका जग्गाको तथ्याङ्क र अब उपलब्ध गराइने जग्गाको योजना सम्बन्धमा छलफल गरिने सूचनामा उल्लेख छ ।  सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा पुरातत्व विभागसँग ग्यालरी बैठकको पुरातात्विक सम्पदाको संरक्षणका बारेमा छलफल हुनेछ । यस्तै, महालक्ष्मी स्थान मन्दिर परिसरमा निर्माण भएको व्यायामशाला र स्वयम्भूको जग्गा व्यक्तिको नाममा नामसारी भएको भन्ने विषयमा छलफल, सहरी विकास तथा भवन निर्माण विभागसँग ग्यालरी बैठक पुनर्निर्माणको अवस्था र निर्माणाधीन संसद् भवनको पछिल्लो अवस्थाबारे छलफल गर्ने सूची छ ।

त्रियुगा गाईघाट र मोदी बेनीमा जल सतह बढ्दै, कोशी, लुम्बिनी र सुदूरपश्चिममा भारी वर्षा हुने

काठमाडौं । उदयपुरको त्रियुगा गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार गाईघाट जल मापन केन्द्रमा हालको जल सतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू-भागमा सावधानी अपनाउन समेत विभागले आग्रह गरेको छ ।  यसैगरी, पर्वत जिल्ला स्थित कालीगण्डकी नदी, मोदी बेनी जल मापन केन्द्रमा जल सतह तह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदी तटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको विभागले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तरतर्फ अवस्थित छ । विभागका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशीलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । आज राति देशभर साधारणतया बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत अन्य प्रदेशका तराई भू-भागका धेरै स्थान तथा बाँकी पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेसलगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

१ हजार २ सय ट्युबवेल बाँड्दै सरकार, खडेरीको मारमा परेका किसानको घुइँचो

काठमाडौं । मधेस प्रदेश सरकारले सुख्खाग्रस्त तथा खडेरीको मारमा परेका किसानका लागि १८ करोड रुपैयाँ लागतमा स्यालो ट्युबवेल वितरण प्रक्रिया सुरु गरेको छ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुक्खा क्षेत्र सहयोग कार्यक्रम अन्तर्गत प्रदेशका ८ जिल्लाका किसानलाई स्यालो ट्युबवेल वितरण योजना ल्याएको हो । धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिरहा र सप्तरीमा पानी अभावमा खडेरीबाट पीडित किसानलाई सम्बन्धित कृषि ज्ञान केन्द्रको कार्यालयबाट स्यालो ट्युबवेल वितरण सुरु गरिएको मन्त्रालयका प्रवक्ता सरोज चौधरीले जानकारी दिए । जनताको आवश्यकता तथा प्राथमिकताका आधारमा १ हजार २ सय स्यालो ट्युबवेल वितरण गरिने उनले बताए । एउटा स्यालो ट्युबवेल जडान गर्न १ लाख रुपैयाँदेखि ३ लाख रुपैयाँसम्म खर्च हुने प्रवक्ता चौधरीले बताए । सोलार जोड्दा थप खर्च हुनेछ । ट्युबवेल जडान गर्दा पानीको सतह (गहिराइ) कति छ त्यसको आधारमा खर्च लाग्ने उनको भनाइ छ । सूचना जारी भएसँगै अहिले कृषि ज्ञान केन्द्र धनुषामा स्यालो ट्युबवेलका लागि आवेदन दिने किसानको घुइँचो लागेको छ । केन्द्रका कृषि प्राविधिक गणेश अधिकारीले शुक्रबारसम्म १ हजार १ सय भन्दा बढी आवेदन प्राप्त भएको उनले बताए । निवेदन बुझाउने समय आजसम्म रहेकाले यो सङ्ख्या अझै बढ्ने उनको भनाइ छ । प्राविधिक अधिकारीले कार्यालयले उपलब्ध गराउने स्यालो ट्युबवेलभन्दा बढी सङ्ख्यामा निवेदन प्राप्त भइरहेको बताए ।  ‘कार्यालयसँग दुई सयको हाराहारीमा स्यालो ट्युबवेल जडान गर्ने बजेट छ । तर निवेदन त्यसको दोब्बर प्राप्त भएको छ,’ उनले भने ।  प्राप्त निवेदनको छानबिन गरी मापदण्ड पुगेका किसानको खेतबारीमा स्यालो ट्युबवेल जडान प्रक्रिया अगाडि बढाइने अधिकारीले बताए । यस वर्ष पर्याप्त वर्षा नभएकाले सिँचाइको विकल्प स्यालो ट्युबवेलतर्फ आकर्षण बढेको हो । शुक्रबार आवेदन दिन आएका क्षीरेश्वरनाथ नगरपालिका-९ दिगम्बरपुरका रामबाबु महतोले लामो समयदेखि वर्षा नभएकाले धान रोपाइँ रोकिएको बताए ।  ‘यस वर्ष समयमा पानी परेन, खेत सबै सुक्खा छ,’ उनले भने ।  कृषि ज्ञान केन्द्र धनुषाले यही साउन १२ गते सूचना प्रकाशित गरेर सात दिनभित्र आवश्यक कागजातसहित निवेदन पेस गर्न आह्वान गरेको थियो । आवेदन पेस गर्न किसानसँग नागरिकताको प्रतिलिपि, स्थानीय तहको सिफारिस, जग्गाधनी पुर्जाको प्रतिलिपि, जडान गर्ने कित्ताको प्रमाणित नक्सालगायत कागजात माग गरेको छ । एउटा स्यालो ट्युबवेल लिन दुई बिघा खेती युक्त जमिनको प्रमाणित लालपूर्जा कृषि ज्ञान केन्द्रमा पेस गर्नुपर्ने प्रावधान छ ।