रिला खोलामा बाढी, साँफे–मार्तडी राजमार्ग अवरुद्ध
काठमाडौं । शुक्रबार रातिदेखि आएको अविरल वर्षाका कारण जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बडीमालिका नगरपालिका– ४ रिला खोलामा बाढी आएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी देवबहादुर चौधरीले जानकारी दिए । उनका अनुसार रिला गाउँ माथिबाट पहिरो बगेर खोलामा बाढी आएकाले राजमार्ग अवरुद्ध भएको बताए । खोलामा आएको बाढीका कारण बाटो बनाउनका लागि सडक डिजिभन कार्यालयसँग जेसिवीको पहल भइरहेको प्रहरी निरीक्षक तथा सूचना अधिकारी चौधरीले बताए । राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सवारीसाधन आवतजावतमा समस्या भएको छ । लगातार वर्षा भइरहेकाले बाटोको पहिरो पन्छ्याउँदा पनि माथिबाट पहिरो आइरहेकाले बाटो खुलाउन समस्या भएको प्रहरी निरीक्षक चौधरीको भनाइ रहेको छ ।
पूजा-आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै
काठमाडौं । ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा-आराधना गरी मनाइँदैछ । ज्ञान योग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ । यस दिन देशभरिका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा-आराधना, प्रवचन, भजनकीर्तन गर्नका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान विष्णुको आठौँ अवतारका रूपमा जन्मेका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरु क्षेत्रमा कौरवहरूसँगको लडाइँमा सङ्लग्न पाण्डव मध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखार विन्दुबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ । बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले कंश, जरासन्ध र शिशु पालजस्ता दानवी प्रवृत्तिको संहार गरेको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा मेला लाग्दछ । यसैगरी राजधानीको उत्तर पूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तर्राष्ट्रिय श्रीकृष्ण भावना मृत सङ्घ (इस्कोन)को कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ । यस अवसरमा आज राजधानीका विभिन्न स्थानमा रहेका श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभा यात्रा तथा रथयात्रा निकाल्ने चलन छ ।
१५.२३ लाख बोरा रासायनिक मल कोलकत्ताबाट नेपाल भित्रिँदै छ : साल्ट ट्रेडिङ कर्पोरेशन
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले १५ लाख २३ हजार बोरा रासायनिक मल भारतको कोलकत्ता बन्दरगाहमा प्राप्त भइसकेको र ती मल धमाधम नेपालस्थित कर्पोरेशनका गोदममा ल्याउने क्रम जारी रहेको जनाएको छ । कर्पोरेशनले हालै मात्र ४ लाख ४० हजार बोरा युरिया र १० लाख ८३ हजार बोरा डिएपी गरी कूल १५ लाख २३ हजार बोरा रासायनिक मल आयात गरेको थियो । गोदाममा आइरहेका उक्त मल कोटा वितरणका लागि प्रदेश सरकारलाई पत्राचार गरिसकेको र प्रदेश सरकारहरूद्वारा पालिकालाई कोटा वितरण भइसकेको भन्ने जानकारी कर्पोरेशनलाई प्राप्त भएको पनि संस्थाले स्पष्ट पारेको छ । रासायनिक मलको पछिल्लो अवस्थाका बारेमा कर्पोरेशनद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कर्पोरेशनको मल बिक्रेताका रूपमा दर्ता भएका सम्पूर्ण डिलरहरूलाई आफ्नो पालिका तथा कर्पोरेशनको सम्बन्धित कार्यालयसँग समन्वय गरी कोटा अनुसारको मल बिक्री वितरण गर्न अनुरोध गरिन्छ ।’ हाल बजारमा रासायनिक मलको अभाव भएको भनी विभिन्न सञ्चारमाध्यम एवं सामाजिक सञ्चालनमा समाचार तथा पोष्ट भइरहेकामा कर्पोरेशनले विज्ञप्तिमार्फत् आफ्नो ध्यानाकर्षणसमेत भएको जनाएको छ ।
मनसुनको अवस्था कमजोर, यी प्रदेशमा मध्यम वर्षाको सम्भावना
काठमाडौं । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुनको अवस्था कमजोर रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति कोशी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भू-भागलगायत बाँकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी तराई भू-भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
अमेरिका-रूस शिखर बैठकः वार्ता सकारात्मक, सम्झौता भएन
काठमाडौं । अमेरिका र रूसबीच २०२५ अगस्ट १५ मा अलास्काको एंकोरेज सहरमा सम्पन्न शिखर बैठकलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अत्यन्तै फलदायी’ भएको बताए । तर, युक्रेन युद्ध समाधानका लागि अपेक्षित ठोस सहमति भने हासिल हुन सकेन । झन्डै तीन घण्टा लामो वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्प र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले केही महत्वपूर्ण विषयमा सहमति भएको जनाए पनि युद्ध विराम वा अन्तिम समाधानसम्बन्धी ठोस निर्णय सार्वजनिक गरिएको थिएन । राष्ट्रपति पुटिनले वार्तालाई आपसी सम्मान र रचनात्मक वातावरणमा सम्पन्न भएको उल्लेख गर्दै युक्रेनको सुरक्षा सुनिश्चित गर्नु आवश्यक रहेको धारणा राखे । साथै, उहाँले द्वन्द्वका ‘मूल कारणहरू’ समाधान नगरी स्थायी शान्ति सम्भव नहुने भन्दै युरोपेली मुलुकहरूलाई उक्साउने प्रयास नगर्न आग्रह गरे । यद्यपि दुबै नेताले संवाद र समझदारीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ, प्रारम्भिक चरणको यो बैठक तत्कालीक उपलब्धि बिना टुंगिएको देखिएको छ।
अन्ततः रविलाई कारागार सार्न सरकार तयार, उपनिर्वाचनमा कस्तो प्रभाव पर्ला ?
काठमाडौं । सरकारले रवि लामिछानेलाई कारागार सार्न तयार भएको छ । सरकारले रास्वपा सभापति लामिछानेलाई नक्खु कारागार सरुवा गर्ने निर्णय गरेको हो । यसअघि नै कारागार सरुवाका लागि लामिछानेले निवेदन दिएका थिए । तर, सरकारले उनको माग सम्बोधन गरेको थियो । धेरैले उनलाई सरकारले अन्याय गरेको धारणा राखेका थिए । उनी हाल पुर्पक्षका लागि रुपन्देही जिल्ला कारागारमा छन् । उनलाई अब नक्खु कारागार ल्याइने भएको हो । अहिले रुपन्देही-३ को चुनावको समय नजिकिँदै गर्दा उनी कारागार सरुवा हुने भएका हुन् । यसलाई धेरैले सो चुनावसँग जोडिरहेका छन् । उनी रुपन्देहीमा हुँदा रास्वपालाई राहत नै हुने विश्लेषण भए पनि अब उनी नक्खुमा हुनेछन् । यसले रास्वपाको चुनावी माहोलमा के कस्तो प्रभाव पर्ला भन्ने विषय नतिजाले नै देखाउनेछ ।
सरकारले पेट्रोलको मूल्य बढायो, यस्तो छ नयाँ मूल्यसूची
काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । बैठकले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जानकारी दिँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको बताएको छ । अहिले पेट्रोलको प्रतिलिटर १६१ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १४९ रुपैयाँ कायम भएको छ । यसअघि पेट्रोलको प्रतिलिटर १५९ रुपैयाँ र डिजेल र मट्टितेलको प्रतिलिटर १५० रुपैयाँ रहेको थियो ।
६ महिनाभित्र फाइभजी सञ्चालनमा आउने, गण्डकी र लुम्बिनीमा ब्रोडब्यान्ड विस्तार गर्न टेलिकमलाई जिम्मा
काठमाडौं । सरकारले गण्डकी र लुम्बिनी प्रदेशमा ब्रोडब्यान्ड विस्तार गर्ने महत्त्वपूर्ण परियोजनाको जिम्मेवारी नेपाल टेलिकमलाई दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच उक्त परियोजनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो । प्राधिकरणले टेलिकमलाई यो परियोजना निर्माणका लागि मूल्य अभिवृद्धि कर (भ्याट) बाहेक एक अर्ब ७७ करोड रुपैयाँ अनुदान उपलब्ध गराउने जनाएको छ । यसअघि यूटीएललाई यो परियोजना दुई अर्ब एक करोड रुपैयाँमा दिइएको थियो । १० वर्षअघि परियोजनाको कुल दूरी २ हजार १ सय १७ किलोमिटर रहेकोमा यसबिचमा टेलिकमले आफ्नो नेटवर्क विस्तार गरेकाले अब १ हजार ९ सय १५ किलोमिटर मात्र नयाँ नेटवर्क निर्माण गर्नुपर्ने छ । दूरी घटेसँगै परियोजनाको लागत पनि कम भएको प्राधिकरणले जनाएको छ । समझदारी अनुसार टेलिकमले यो वर्षबाट काम थालेर आगामी तीन वर्षभित्र परियोजना सम्पन्न गर्नुपर्नेछ । यो प्याकेज अन्तर्गत दुई प्रदेशका २३ जिल्लामा अप्टिकल फाइबर नेटवर्क विस्तार गरिनेछ । कार्यक्रममा सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं र पोखरामा फाइभजी सेवा सुरु गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले नेपाल टेलिकममा सर्वसाधारणको सेयर हिस्सा ८ प्रतिशतबाट ३० प्रतिशत पु¥याउने र पारदर्शिता तथा जवाफदेहितालाई केन्द्रमा राखेर काम गर्ने बताए । यस्तै, मन्त्री गुरुङका अनुसार लागत घटाउन तराईको सट्टा प्राकृतिक रूपमा चिसो र जलविद्युत नजिक रहेका पहाडी क्षेत्रमा डाटा सेन्टरहरू निर्माण गरिनेछ । साइबर अपराध, दुर्व्यवहार र गलत सूचना नियन्त्रण गरी सभ्य समाज निर्माणका लागि सामाजिक सञ्जालको नियमन आवश्यक रहेको तर यसलाई अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारको रूपमा बुझ्न नहुने उनको भनाइ छ। विगतमा हुने गरेका ‘कोठे सम्झौता’ को परम्परा तोड्दै यो कार्यक्रमलाई सार्वजनिक रूपमा आयोजना गर्नुको मुख्य उद्देश्य पारदर्शिता सुनिश्चित गर्नु र सम्बन्धित निकायलाई जनताप्रति प्रत्यक्ष जवाफदेही बनाउनु रहेको उनको भनाइ छ । मन्त्री गुरुङले भने, ‘यो कुनै नाटक होइन । ठेकेदार, इन्जिनियर र सरकारी अधिकारीलाई जनताको अगाडि उभ्याउँदा उनीहरूमा नैतिक दबाब सिर्जना हुन्छ र जिम्मेवारी बोध बढ्छ । साँचो लोकतन्त्र भनेको यही हो । ’ विगतमा निजी कम्पनीहरू (यूटीएल र स्मार्ट) ले यी प्रदेशमा काम अलपत्र पारेर भागेको तितो अनुभवका कारण यसपटक सरकारी स्वामित्वको नेपाल टेलिकमलाई नै विश्वास गरिएको मन्त्री गुरुङको भनाइ थियो । ‘टेलिकमले काममा ढिलाइ गरे पनि जिम्मेवारीबाट भागेको छैन । त्यसैले लामो प्रक्रियामा अल्झिनुभन्दा उसैलाई कमजोरी सुधार्ने अवसर दिएका हौं,’ उनले भने । यो ब्रोडब्यान्ड विस्तार परियोजनालाई ‘डिजिटल नेपाल फ्रेमवर्क’ कार्यान्वयनको एक महत्त्वपूर्ण कडीको रूपमा लिइएको छ । यसले घर–घरमा इन्टरनेट पुर्याएर ई–गभर्नेन्स लागू गर्न, राजस्व वृद्धि गर्न, सेवा प्रवाह छिटो बनाउन र भ्रष्टाचार न्यूनीकरणमा सघाउने विश्वास व्यक्त गरिएको छ । संयुक्त राष्ट्रसंघले समेत इन्टरनेट पहुँचलाई मौलिक अधिकार मानेकाले सबै नागरिकसम्म यो सुविधा पु¥याउनु सरकारको दायित्व भएकोमा जोड दिइएको छ ।