विकासन्युज

आरविवि मर्चेन्टका २ म्युचुअल फण्डको लाभांश घोषणा, ३६ करोड रुपैयाँ नगद

काठमाडौं । आरविवि मर्चेन्ट बैंकिङ्गले २ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरको छ । कम्पनीको सञ्चालक समितिको साउन २९ गते बसेको बैठकले आरविवि म्युचुअल फण्ड १ र २ को लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।  कम्पनीका अनुसार गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आरविवि म्युचुअल फण्ड १ का इकाईधनीलाई करसहित २० प्रतिशतका दरले २५ करोड रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ का इकाईधनीलाई १३ प्रतिशतका दरले १९ करोड ९९ लाख ९५ हजार ५०७ रुपैयाँ गरी कुल ३५ करोड ९९ लाख ९५ लाख ५०७ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको हो । प्रस्तावित नगद लाभांश वितरण गर्ने प्रयोजनको लागि भदौ ९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले नेप्सेमा अघिल्लो दिनसम्म कायम इकाईधनीले उक्त लाभांश प्राप्त गर्न सक्नेछ ।

फेदीखोलाले साढे १७ करोड रुपैयाँको आईपीओ बिक्री गर्ने

काठमाडौं । फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख रुपैयाँको आईपीओ बिक्री गर्ने भएको छ । सो कम्पनीको साधारणसभाले साधारण सेयर बिक्री गर्ने निर्णय गरेको हो । साधारणसभामा कम्पनीले भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका-६ मा बहने फेदीखोलामा फेदीखोला (थुमलुङ्ग)मा ४.३ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । सो आयोजना आगामी पुस मसान्तमा निर्माण सम्पन्न हुनेछ ।  आयोजना निर्माण सम्पन्न गर्न ९४ करोड रुपैयाँ लाग्ने अनुमान गरिएकामा २०८१ साउन १५ को बाढीका कारण ४ करोड रुपैयाँ लागत वृद्धि भई ९८ करोड रुपैयाँ लाग्ने भएको छ ।  आयोजना निर्माणका लागि ४९ प्रतिशत अर्थात्  ४८ करोड रुपैयाँ स्वपुँजी सेयरधनीबाट र बाँकी ५१ प्रतिशत अर्थात् ५० करोड रुपैयाँ राष्ट्रिय वाणिज्य बैंकबाट ऋणस्वरुप जुटाइएको कम्पनीका सञ्चालक प्रकाशचन्द्र दुलालले जानकारी दिए । साधारणसभाले कम्पनीको अधिकृत पुँजी ६० करोड रुपैयाँमा १० करोड रुपैयाँ थप गरी ७० करोड रुपैयाँ पुर्याउने र सोको २५ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँको सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने निर्णय गर्दै सो कार्यान्वयनका लागि सञ्चालक समितिलाई अख्तियारीसमेत दिएको छ । त्यसैगरी, साधारणसभाले वन्डर्स इनर्जी (खिम्ती घ्वाङ्गखोला ९ मेगावाट) मा ५ करोड रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यस्तै (इर्खुवा खोला जलविद्युत् आयोजना १५ मेगावाट)मा १५ करोड रुपैयाँ लगानी गर्ने भएको छ । कम्पनीको मुख्य लगानीमा २०९० सालभित्रमा कम्तीमा एक सय मेगावाट क्षमताको आयोजना अगाडि बढाउने निर्णय गरेको छ । साथै कम्पनीको नियमावली कम्पनीमा पाँच जना सञ्चालक रहनेमा अगामी चार वर्षे कार्यकालका लागि संस्थापक चन्द्रप्रसाद बास्तोला, प्रकाशचन्द्र दुलाल र कविता अधिकारीलाई चयन गरेको छ ।

कोशी र बागमतीमा भारी वर्षा हुने, जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेकाले नेपालमा मनसुन केही कमजोर बनेको छ । साथै  बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिने क्रम जारी रहिरहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । मधेसलगायत कोशी र बागमती प्रदेशका तराई र पहाडी भू-भाग तथा बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थान तथा बाँकी तराई भू-भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत अन्य प्रदेशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहनेछ ।  मधेसलगायत कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भाग र अन्य प्रदेशका पहाडी भागका केही स्थान तथा तराई भागका एक/दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशका तराई र पहाडी भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना  छ ।

यस वर्ष साढे २ हजार सहकारीमा अनुगमन गर्ने नेफ्स्कूनको घोषणा

काठमाडौं ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) ले नेफ्स्कूनद्वारा २४ सय साकोसको स्थलगत सुपरीवेक्षण गर्ने घोषणा गरेको छ । शनिबार ३८औं स्थापना दिवस एक समारोहमार्फत संघले विभिन्न २ हजार चार सय वटा बचत तथा ऋण सहकारी संस्था (साकोस) को स्थलगत सुपरीवेक्षण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको हो ।  संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले संघको  अवस्थाबारे प्रस्तुति दिँदै  ‘स्क्यान’  नामक नयाँ अनुगमन कार्यक्रममार्फत यो योजना कार्यान्वयन गरिने बताए । यसका लागि संघले कुल १ सय ८७ कर्मचारीमध्ये ६८ जनालाई अनुगमन कार्यमा मात्रै खटाएको छ । गत वर्ष ७०० संस्थाको सुपरीवेक्षण गरिएकोमा यस वर्ष यसलाई बढाएर २४ सय पु¥याई नियामक निकायमा प्रतिवेदन बुझाइने उनले जानकारी दिए ।  उनका अनुसार संघको सेयर पुँजी १ अर्ब ५० करोड, सदस्य बचत २० अर्ब, ऋण लगानी २२ अर्ब र कुल लगानी २३ अर्ब ७० करोड रुपैयाँ नाघेको छ । नेफ्स्कूनले देशभरका ५९ जिल्लामा ३९ जिल्ला संघमार्फत सेवा दिइरहेको छ भने हाल ३६ वटा जिल्ला कार्यालयलाई बढाएर यसै वर्ष भक्तपुर र कीर्तिपुर जस्ता स्थानमा समेत गरी ४० पु¥याउने लक्ष्य राखेको छ । डा. सापकोटाले सहकारी अभियानको सुदृढीकरणका लागि सरकार र नियामक निकायसमक्ष तीनवटा मुख्य अपेक्षा राखिएको बताए । उनका अनुसार समुदायमा आधारित सहकारीलाई प्रवद्र्धन गर्न स्पष्ट सुपरीवेक्षण क्षेत्र तोकेर नियामक निकायको शीघ्र व्यवस्था गरिनुपर्ने, गैर–बैंकिङ सम्पत्ति ६ महिनाभित्र बिक्री गर्नुपर्ने हालको कानुनी व्यवस्थालाई परिमार्जन गरी जोखिम व्यवस्थापनमा आधारित प्रणाली विकास गर्नुपर्ने,  संघले सञ्चालन गरेको  ‘स्क्याम’ अनुगमन कार्यक्रमलाई नियामक निकायले समेत वैकल्पिक प्रणालीको रूपमा ग्रहण गरी सहकार्य गर्नुपर्ने  अपेक्षा नेफ्स्कूनले गरेको छ ।  नेफ्स्कूनले सदस्यको बचत सुरक्षा, सुशासन प्रवद्र्धन, साझा प्रविधिको विकास र स्थिरीकरण कोषलाई आफ्नो मुख्य दृष्टिको रूपमा अघि बढाएको छ । साथै, संघले काठमाडौंमा ‘स्वर्ण प्राविधिक भवन’ निर्माण गरिरहेको पनि जानकारी दिइएको छ ।  कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको सुशासन र पारदर्शितामा जोड दिँदै सरकार अभियानसँग सहकार्य गर्न तयार रहेको बताए ।  कार्यक्रममा विभिन्न विधामा पुरस्कार तथा सम्मान वितरण गरिएको थियो । यस वर्षको  नेफ्स्कून सर्वोत्कृष्ट साकोस पुरस्कार बुडोल सामुदायिक साकोस, रुपन्देहीले प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय स्तरको  ‘नेफ्स्कून उत्कृष्ट व्यवस्थापक (सुपर सीईओ) पुरस्कार’ सामुदायिक विकास साकोस रुपन्देहीका प्रमुख कार्यकारी अधिकृत देवराज ज्ञवालीलाई प्रदान गरिएको छ । यस्तै, नेफ्स्कून संस्थापक अध्यक्ष पुरस्कार नेफ्स्कून पूर्वसञ्चालक ताराबहादुर काफ्ले, नेफ्स्कून अग्रज व्यक्तित्व सम्मान नेफ्स्कूनका पूर्वसञ्चालक सोमराज खनिया, नेफ्स्कून पत्रकारिता पुरस्कार कारोबार राष्ट्रिय दैनिककी कौशिला कुँवर, उत्कृष्ट जिल्ला संघको पुरस्कार जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड रुपन्देही, प्रदेशस्तरीय उत्कृष्ट साकोसहरूमा सुदूरपश्चिमको मोहना लालझाडी, कर्णालीको डिग्रे साईकुमारी, लुम्बिनीको लेकाली स्वावलम्बन, गण्डकीको हातेमालो, बागमतीको स्रोत परिचालन, मधेशको कामगढी र कोशीको महाभारतलाई सम्मान गरिएको थियो । कार्यक्रममा सहकारी विभागका रजिष्ट्रार नवराज घिमिरेले सम्पत्ति शुद्धीकरण निवारणमा सहकारी क्षेत्रको भूमिका र दायित्वबारे विशेष प्रस्तुति दिएका थिए । उनले नेपाल हाल ‘ग्रे लिस्ट’ को जोखिममा रहेको उल्लेख गर्दै सहकारी संस्थाहरूले सदस्य पहिचान शंकास्पद कारोबारको रिपोर्टिङ र राष्ट्रिय परिचयपत्रसँग आबद्धता जस्ता कानुनी प्रावधानको अनिवार्य पालना गर्नुपर्नेमा जोड दिए । निर्देशन पालना नगर्ने संस्थालाई ५ करोड रुपैयाँसम्म जरिवाना हुन सक्ने चेतावनी समेत उनले दिए । 

नेपाली विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले ल्यायो ९.४० करोडको छात्रवृत्ति

काठमाडौं । नेपालका प्रतिभाशाली एवं आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि भारतको चण्डीगढ युनिभर्सिटीले छात्रवृत्ति दिने भएको छ । शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विश्वविद्यालयले यसबारे जानकारी दिएको हो । विश्वविद्यालयले नेपालका विद्यार्थीका लागि इण्डो–नेपालमैत्री स्कलरसिप शुभारम्भ गरेको जनाएको छ । यो छात्रवृत्ति कोष ९.४० करोड रुपैयाँको रहेको चण्डीगढ विश्वविद्यालयका चान्सलरका सल्लाहकार प्रोफेसर डाक्टर आरएस बाबाले बताए । नेपाल–भारतमैत्री सम्बन्धको ७५ औँ वर्षगाँठको अवसरमा यो छात्रवृत्ति दिन लागेको उनको भनाइ छ । आर्थिक अवस्था कमजोर भएकै कारण गुणस्तरीय शिक्षा प्राप्त गर्नबाट वञ्चित हुनु हुँदैन भन्ने उद्देश्यबाट छात्रवृत्ति दिएको बताए । आफूहरूले दिने शिक्षा अमेरिका, बेलायतको सरह भएको दाबी गरे ।

रवि लामिछानेलाई नक्खु कारागार ल्याइयो

काठमाडौं । कारागार व्यवस्थापन विभागले सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई नक्खु कारागारमा सरुवा गरेको छ ।  अहिले साँझ उनलाई जहाजमार्फत त्रिभूवन विमानस्थल ल्याइएको र त्यहाँबाट नक्खु कारागार लगिएको विभागका सूचना अधिकारी सन्देशप्रसाद जोशीले जानकारी दिए । कारागार सरुवाका लागि सभापति लामिछानले दिएको निवेदनका आधारमा हिजो विभागले नक्खु कारागार सार्ने निर्णय गरेको थियो । उक्त निर्णय विभागले हिजो राति नै रुपन्देही कारागारमा पठाएको थियो । सोही आधारमा आज उनलाई कारागार सरुवा गरिएको जोशीले बताए ।   सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर उनलाई जहाजमार्फत त्रिभूवन अन्तरराष्ट्रिय विमानस्थल र त्यहाँबाट आवश्यक सुरक्षा व्यवस्थाका साथ गाडीमा नक्खु लगिएको हो । लामिछानेलाई ल्याउन लागिएपछि समर्थक र कार्यकर्ता नक्खु कारागार क्षेत्र र विमानस्थल क्षेत्रमा उपस्थिति भएका थिए । भीड बढी भएकाले उनको सुरक्षालाई ध्यानमा राखेर विमानस्थल आयल निगमको बाटो भएर विमानस्थलबाट नक्खु लगिएको प्रहरीले जनाएको छ ।    

ज्याप ईभीले विद्युतीय स्कुटर भाडा सेवा सुरु गर्दै, सदस्यता दर्ता भदौ १ गतेदेखि खुल्ला

काठमाडौं ।  ज्याप ईभीले नेपालमा विद्युतीय दुई-पाङ्ग्रे सवारी साधन भाडा सेवा सुरु गर्ने घोषणा गरेको छ । आगामी भदौ १ गते (अगस्ट १७) देखि प्रयोगकर्ताहरूले सदस्यताका लागि दर्ता गर्न सक्नेछन् । कम्पनीका अनुसार भदौ १ गतेदेखि इच्छुक प्रयोगकर्ताहरूले ज्यापको आधिकारिक वेबसाइटमा गई आफ्नो केवाइसी (ग्राहक पहिचान) विवरण पूरा गरेर सेवाको लागि प्रारम्भिक पहुँच प्राप्त गर्न सक्नेछन्। यो सेवा सेप्टेम्बरको मध्यदेखि पूर्ण रूपमा सञ्चालनमा आउनेछ, जसले विशेष गरी विद्यार्थी र दैनिक यात्रुहरूका लागि सस्तो र पर्यावरण-मैत्री यातायातको विकल्प प्रदान गर्ने लक्ष्य राखेको छ । ज्याप ईभीका प्रबन्ध निर्देशक, सुदीप रौनियारले भने, 'यो केवल एक भाडा सेवा मात्र होइन, यो 'गिग इकोनोमी' मा काम गर्नेहरू र सर्वसाधारणका लागि सस्तो सवारी साधनको पहुँच सहज बनाउने एक माध्यम हो । हामी यस्तो मोडेल सिर्जना गर्दैछौं जसले मानिसहरूलाई आर्थिक रूपमा सशक्त बनाउनुका साथै वातावरण संरक्षणमा पनि मद्दत गर्नेछ ।' काठमाडौं जस्तो शहरमा दिगो र पर्यावरण-मैत्री यातायात विकल्पहरूको माग दिनप्रतिदिन बढ्दै गइरहेको कम्पनीको भनाइ छ । के हो ज्याप ईभीको विशेषता ? यसैगरी ज्याप ईभीले 'ब्याट्री स्वापिङ' को नवीन अवधारणा प्रस्तुत गरेको छ । एक पटकको चार्जमा ६० किलोमिटर चल्ने स्कुटरको ब्याट्री सकिएपछि ५ मिनेटभन्दा कम समयमा तोकिएको स्टेसनमा अर्को चार्ज भएको ब्याट्री फेर्न सकिनेछ। कम्पनीले सुरुमा काठमाडौंका ३० स्थानमा यस्ता चार्जिङ स्टेसन राख्नेछ, जुन गिग वर्करहरूको आवतजावत हुने चिया पसल तथा खाजा घरहरूमा राखिनेछ। सेवा लिनका लागि एक पटक मात्र धरौटी राख्नुपर्नेछ जुन फिर्ता हुनेछ। कम्पनीले सुरुमा १० स्कुटर र २०० ब्याट्रीबाट सेवा थाल्ने र आगामी एक वर्षभित्र काठमाडौंमा ३००-४०० स्कुटर र १००० ब्याट्री पुर्‍याउने लक्ष्य राखेको छ । हाल बिहान ६ बजेदेखि राति ९ बजेसम्म सञ्चालन हुने सेवा भविष्यमा २४ सै घण्टा उपलब्ध गराइनेछ। यो पहललाई भारतका अनुकूल भटनागर, ड्रिपर स्टार्टअप हाउस, र लिफफ्रग टेक्नोलोजीका अंकुर जी लगायतले समर्थन गरेका छन् । स्कुटरको चेसिस भारतको दिल्लीमा डिजाइन गरिएको हो भने ब्याट्री व्यवस्थापन प्रणाली अमेरिकी कम्पनी 'उर्जा वर्ल्ड' को रहेको जानकारी दिइयो । सुरक्षाका लागि स्कुटर र ब्याट्री दुवैमा जीपीएस जडान गरिएको छ । काठमाडौंको यातायात, गिग अर्थतन्त्र र महिला सशक्तीकरणमा महत्त्वपूर्ण प्रभाव पार्न सक्ने अपेक्षा कम्पनीले गरेको छ ।   

चालु आवको पहिलो महिना : सरकारको आम्दानी ८५ अर्ब, खर्च ४६ अर्ब

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना सरकारले ८५ अर्ब १९ करोड रुपैयाँ आम्दानी गर्दा ४६ अर्ब ३० करोड रुपैयाँ खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आवको पहिलो महिना वार्षिक लक्ष्यको पाँच दशमलव ५६ प्रतिशत आम्दानी र दुई दशमलव ३६ प्रतिशत खर्च भएको हो ।  सरकारले चालु आवमा १५ खर्ब ३३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । साउन मसान्तसम्ममा कर राजस्वबाट ८० अर्ब ६७ करोड रुपैयाँभन्दा बढी अर्थात् वार्षिक लक्ष्यको छ दशमलव ०९ प्रतिशत र गैरकर राजस्वबाट तीन अर्ब ७९ करोड ५० लाख रुपैयाँ अर्थात् वार्षिक लक्ष्यको दुई दशमलव ४६ प्रतिशत सङ्कलन भएको विवरणमा उल्लेख छ । यस्तै, वैदेशिक अनुदानबाट ४२ करोड १९ लाख रुपैयाँ र अन्य प्राप्तिबाट ३० करोड ८९ लाख रुपैयाँ राजस्व सरकारी खातामा जम्मा भएको छ । यस वर्ष १३ खर्ब २५ अर्ब ५८ करोड ३९ लाख रुपैयाँ कर राजस्व, एक खर्ब ५४ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ गैरकर राजस्व र ५३ अर्ब ४४ करोड ६९ लाख रुपैयाँ वैदेशिक अनुदान उठाउने सरकारको लक्ष्य छ । चालु आवका लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बराबरको बजेट ल्याइएकामा साउन मसान्तसम्ममा ४६ अर्ब ३० करोड ६१ लाख रुपैयाँ बराबर खर्च भएको छ । चालुतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन भएकामा हालसम्म एक दशमलव ५६ प्रतिशत अर्थात् १८ अर्ब ४७ करोड ९८ लाख रुपैयाँ बराबर खर्च भएको महालेखाले जनाएको छ ।  यस्तै, पुँजीगत शीर्षकमा चार खर्ब सात अर्ब ८८ करोड ८० लाख रुपैयाँ विनियोजन भएकामा शून्य दशमलव १८ प्रतिशत अर्थात् ७२ करोड ६३ लाख रुपैयाँ मात्रै खर्च भएको छ । पहिलो महिनामा सबैभन्दा धेरै खर्च वित्तीय व्यवस्था शीर्षकमा भएको छ । चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा तीन खर्ब ७५ अर्ब २४ करोड २० लाख रुपैयाँ बराबर विनियोजन भएकामा साउन मसान्तसम्म सात दशमलव २२ प्रतिशत अर्थात् २७ अर्ब १० करोड रुपैयाँ खर्च भएको छ ।