नाडा अटो शोको अन्तिम दिन आज, दीपलको आकर्षक अफरले झुम्मिए ग्राहक
काठमाडौं । काठमाडौंमा जारी नाडा अटो शोमा नयाँ सवारीसाधन र विशेष अफरहरूले अवलोकनकर्ताहरूको ध्यान खिच्न सफल भएको छ । विशेषगरी विद्युतीय गाडी ब्रान्ड दीपलले भर्खरै सार्वजनिक गरेको एस-०५ एसयुभी र दुई पाङ्ग्रे सवारीको लोकप्रिय ब्रान्ड हिरोले ल्याएको नयाँ जुम १२५ स्कुटर तथा सुपर स्प्लेन्डर १२५ बाइकले ग्राहकहरूको ध्यान केन्द्रित गरेका छन् । कम्पनीहरूले नाडालाई लक्षित गरी सीमित अवधिका लागि विशेष छुट र योजनाहरू घोषणा गरेका छन् । जसकारण स्टलहरूमा ग्राहकहरूको भीड उल्लेख्य देखिएको छ । दीपलको स्टलमा नयाँ विद्युतीय एसयुभी एस-०५ हेर्न र बुझ्न आउनेहरूको बाक्लो उपस्थिति छ । दीपलका मार्केटिङ म्यानेजर रमेश दनेखूका अनुसारका नाडा अगाडि लन्च गरिएको एस ०५ ले छोटो समयमै उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । एस-०५ को सुरुवाती मूल्य ४९ लाख ९९ हजार रुपैयाँदेखि हाइ भेरियन्टको ५७ लाख ९९ हजार रुपैयाँसम्म तोकिएको छ । यसैगरी, कम्पनीकी सेल्स रितु भट्टराईका अनुसार यो गाडीमा ९९ किलोवाटको मोटर र ५६.१ किलोवाटको ब्याट्री छ । जसले एक पटकको फुल चार्जमा ४०५ किलोमिटरको रेन्ज दिन्छ । नेपाली सडकका लागि उपयुक्त १८० एमएमको ग्राउन्ड क्लियरेन्स, १६० लिटरको फ्रंक स्पेस (अगाडिको बुट) र ४९२ लिटरको विशाल बुट स्पेस यसका थप विशेषता हुन् । यसमा पार्क असिस्ट, १४ वटा स्पिकर, कुलिङ बक्स, र दुवै अगाडिका सिटमा हिटिङ तथा कुलिङजस्ता प्रिमियम फिचरहरू छन् । नाडाको अवसरमा एस-०५ खरिद गर्ने ग्राहकले एक वर्षको रोड ट्याक्स, ७ किलोवाटको चार्जर, फ्लोर म्याट र आकर्षक छुट पाउनेछन् । दीपलको चर्चित मोडल एस-०७ (२०२५ मोडल) मा कम्पनीले ‘जेरो ओनरसिप’ र ‘बाई ब्याक’ नामक विशेष अफर ल्याएको छ । भट्टराईका अनुसार ‘जेरो ओनरसिप’ अफर अन्तर्गत ग्राहकले ५ वर्षसम्मको इन्स्योरेन्स, रोड ट्याक्स, सर्भिसिङ र चार्जिङ खर्चसमेत कम्पनीले व्यहोर्नेछ । ‘बाई ब्याक’ योजनामा ग्राहकले निश्चित समयपछि आफ्नो गाडी कम्पनीलाई नै फिर्ता बेच्न सक्नेछन् । नाडामा दीपपलका गाडीहरूको १५० भन्दा बढी युनिट बुक भइसकेको कम्पनीले जनाएको छ । दुई पाङ्ग्रे सवारीको सेगमेन्टमा सिजी मोटर्सद्वारा वितरित हिरो मोटोकर्पले पनि आफ्ना नयाँ उत्पादनहरूसहित ग्राहकलाई आकर्षित गरिरहेको छ । सिजी मोटर्सका सहायक सेल्स म्यानेजर सोहन शाहीका अनुसार नाडामा ४वटा मोडल प्रदर्शनमा राखिएको छ । जसमध्ये दुईवटा नयाँ मोडल सुपर स्प्लेन्डर १२५ र जुम १२५ को बुकिङ खुला गरिएको छ । ‘सुपर स्प्लेन्डर हिरोको एक लेजेन्ड बाइक हो, जसलाई अहिले बीएस ६ इन्जिन र एफआई सिस्टमसहित अपग्रेड गरिएको छ,’ शाहीले भने, ‘यसको मुख्य विशेषता भनेकै यसको उत्कृष्ट माइलेज हो, जसले ६० किलोमिटर प्रतिलिटरभन्दा बढी माइलेज दिन्छ ।’ नाडा अवधिभरका लागि यसको परिचयात्मक मूल्य २ लाख ६६ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै, हिरोले भर्खरै नेपाली बजारमा ल्याएको जुम १२५ स्कुटर पनि आकर्षणको केन्द्र बनेको छ । ११० सीसीको पुरानो मोडलमा ग्राहकबाट आएको पावर र अफरोड क्षमताको सुझावलाई ध्यानमा राखेर यसलाई १२५ सीसी इन्जिन र १४ इन्चको ठूलो टायरसहित अपग्रेड गरिएको छ । यसमा ब्लुटुथ कनेक्टिभिटी र टर्न-बाई-टर्न नेभिगेसनसहितको डिजिटल मिटर जडान गरिएको छ, जुन यो सेग्मेन्टमा नयाँ हो। यसको परिचयात्मक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ राखिएको छ र नाडामा बुकिङ गर्ने ग्राहकले उपहारस्वरूप ‘अल्तिमा’ को एयरबड्स पाउनेछन् । हिरोका सबै मोटरसाइकल तथा स्कुटरहरू नेपालमै एसेम्बल हुने र सबैमा ५ वर्षको इन्जिन वारेन्टी, ४ पटक निःशुल्क सर्भिसिङ र एउटा हेल्मेट उपलब्ध गराइने शाहीले जानकारी दिए । यी बाहेक १६० सीसीको स्कुटर र २१० सीसीको बाइक पनि प्रदर्शनमा छन्, जुन परीक्षणपछि जनवरी-फेब्रुअरीतिर लन्च गर्ने कम्पनीको योजना छ । अब नेपाली सडकमा दीपलका गाडीहरुको बाक्लो उपस्थिति रहेको कम्पनीले दाबी गरेको छ । नाडा अटो शो नयाँ गाडी खरिद गर्न चाहनेहरूका लागि उत्कृष्ट अवसर बनेको छ, जहाँ एकै ठाउँमा विभिन्न ब्रान्डका नयाँ उत्पादनहरू हेर्न, तुलना गर्न र विशेष छुटमा खरिद गर्न सकिन्छ । यी परिचयात्मक मूल्य र विशेष अफरहरू नाडा अवधिभरका लागि मात्र सीमित भएकाले खरिदकर्ताका लागि यो सुनौलो मौका हो । नाडा अटो शो आज अर्थात् आइतबार सकिँदै छ । १७औं संस्करणको ६ दिने नाडा अटो शोमा हालसम्म १ लाख ५० हजारभन्दा बढीले अवलोकन गरिसकेको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले जनाएको छ । नाडाले यसपटको नाडा अटो शो सोचेको भन्दा उत्कृष्ट भएको भन्दै गरिरहेको छ । चाडबाडको मुखमा आयोजना गरिएको अटो शोमा टायर, ब्याट्रीदेखि चारपांग्रे सवारीसाधनसम्म बुकिङ गर्न पाइने सुविधा रहेको छ । यो पटक प्रायः प्रिमियमदेखि सस्तो गाडीसम्म विद्युतीय सवारीसाधन (ईभी) मा आकर्षण देखिएको छ । आज अन्तिम दिन भएकाले प्रर्दशनी स्थलमा ग्राहक तथा अवलोकनकर्ताको घुइँचो लागेको छ ।
बाढीले मेडिसिटीलाई ३२ करोड घाटा, राष्ट्र बैंकको राहत र साढे २ अर्बको व्यापार हुँदा पनि ५ अर्ब ऋणको दबाब
काठमाडौं । गत वर्षको बाढीले ललितपुरमा रहेको नेपाल मेडिसिटी अस्पताललाई साढे ३२ करोड रुपैयाँको नोक्सानी गरेको देखिएको छ । बाढीले अस्पताल परिसरमा क्षति पुर्याउँदा ३२ करोड ४० लाख रुपैयाँको क्षति भएको देखिएको हो । बाढीले ठूलो क्षति गरेपछि कम्पनीले बैंक तथा वित्तीय संस्थाको तिर्नुपर्ने सावाँ ब्याजमा पनि दबाब परेको बताइएको छ । कम्पनीको आग्रहमा राष्ट्र बैंकले पनि नेपाल राष्ट्र बैंकले पुन: संरचनामार्फत विशेष राहत दिएको विषय रेटिङ एजेन्सी केयर रेटिङले उल्लेख गरेको छ । सार्वजनिक विज्ञप्तिमा उल्लेख भएअनुसार २०८० माघ र २०८१ बैशाखमा तिर्नुपर्ने ब्याजको ९० प्रतिशत स्थगित गरिएको छ । स्थगित ब्याजलाई २०८१ साउनदेखि सुरु हुने गरी आठ त्रैमासिक किस्तामा तिर्नुपर्ने व्यवस्था गरिएको छ । साथै सावाँ फिर्ता गर्ने समायवधि पनि थप गरेर सन् २०३८ पुर्याइएको छ । ललितपुरको भैंसेपाटीमा रहेकाे मेडिसिटी अस्पताललाई आश्विन्स मेडिकल कलेजले सञ्चालन गर्दै आएको छ । सार्वजनिक तथ्यांक अनुसार सो मेडिकल कलेजले सन् २०२५ मा २ अर्ब ५५ करोड ५० लाख रुपैयाँको व्यापार गरेको छ । यो कलेजले सन् २०२४ मा २ अर्ब ७४ करोड ४० लाख, सन् २०२३ मा २ अर्ब ८२ करोड ६० लाख र सन् २०२२ मा २ अर्ब ७८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । विगतका वर्षहरूका तुलनामा यस मेडिकल कलेजको व्यापार घटेको उल्लेख छ । बाढीकै कारणले कम्पनीको व्यापार घटेको हो । कम्पनीको नाफा मार्जिन पनि विगतका वर्षहरूका तुलनामा घटेको छ । सन् २०२४ मा २७.७८ प्रतिशत रहेको नाफा मार्जिन सन् २०२५ मा २१.५३ प्रतिशत कायम भएको छ । २००७ सालमा स्थापना भएको आश्विन्स मेडिकल कलेज एण्ड अस्पताल ७५० शैयाको छ । जसले बहु–विशेषज्ञता स्वास्थ्य सेवा सुविधा पनि दिरहेको छ । यो अस्पतालले चिकित्सा, शल्यक्रिया र डायग्नोस्टिक सेवाहरूको विस्तृत श्रृङ्खला प्रदान गर्दै आएको छ । १ सय १२ रोपनी जग्गामा रहेको यो अस्पताल व्यावसायिक घराना महतो ग्रुपले सञ्चालन गरेको हो । यसको अध्यक्ष डा. उपेन्द्र महतो हुन् । अस्पतालमा १७ वटा अत्याधुनिक अपरेशन थिएटरहरू, ६० भन्दा बढी विशेषज्ञ डाक्टर, बहिरंग बिरामी विभाग, ७५ भन्दा बढी सघन उपचार शैयाहरू रहेको उल्लेख छ । नेपाल मेडिसिटी अस्पतालले कार्डियोलोजी, क्यान्सर उपचार, न्यूरोसर्जरी, मिर्गौला प्रत्यारोपण, स्त्रीरोग, बालरोग, ग्यास्ट्रोएन्टेरोलोजी, फिजियोथेरापी, पुनःस्थापना सेवा र आपतकालीन चिकित्सा सेवा लगायत सुविधा प्रदान गर्दै आएको छ । कम्पनीको कुल ४ अर्ब ९४ करोड १० लाख रुपैयाँ ऋण रहेको छ । कम्पनीले डबल बी को रेटिङ पाएको छ ।
५ अर्ब आन्तरिक ऋण उठाउँदै सरकार
काठमाडौं । सरकारले ट्रेजरी बिलमार्फत ५ अर्ब आन्तरिक ऋण लिने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार (भोलि) सोमबार २८ दिने ट्रेजरी बिलमार्फत उक्त ऋण उठाउन लागिएको हो । ट्रेजरी बिलका लागि सोमबार दिउँसो तीन बजेसम्म बोलकबोल गर्न सकिनेछ । जसअनुसार मंगलबार ट्रेजरी बिल जारी गर्ने कार्यतालिका रहेको छ भने त्यसरी जारी हुने ट्रेजरी बिलको ब्याजदर बोलकबोलमार्फत नै तय हुनेछ। ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । ट्रेजरी बिलहरू अवधिको आधारमा २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी ४ किसिमका हुने गरेका छन् । ऋण व्यवस्थापन कार्यालयका अनुसार यसअघि बोलकबोलमा १८२ दिने ट्रेजरी बिलमा २.४८ प्रतिशत र ३६४ दिनेमा २.६० प्रतिशत भारित औसत ब्याजदर तय भएको थियो । बैंक तथा वित्तीय संस्थाले सबैभन्दा बढी २.६२ प्रतिशत र सबैभन्दा कम २.१५ प्रतिशत ब्याजदरमा बोलकबोल गरेका थिए । ट्रेजरी बिलहरू बोलकबोलमार्फत निष्कासन हुने गरेका छन् । यसमा बहु–बोलमूल्य विधि प्रयोग हुन्छ । विभिन्न बोलदाताले फरक–फरक मूल्य वा प्रतिफल प्रस्ताव गर्छन् र औसत मूल्यमा वितरण गरिन्छ । यो प्रणालीले बजारको माग र आपूर्तिको आधारमा प्रतिफल निर्धारण गर्छ, जसले सरकारलाई द्रुत तरलता जुटाउन सहयोग गर्ने गरेको छ । प्रतिष्पर्धी बोलकबोलबाट निर्धारित भारित औसत मूल्यमा अप्रतिष्पर्धी बोलवालाई ट्रेजरी बिल उपलब्ध गराइन्छ । तर एउटै बोलकबोलमा प्रतिष्पर्धी र अप्रतिष्पर्धी दुवैतर्फबाट बोल गर्न पाइँदैन । सरकारको आम्दानी कमजोर भएको बेला खर्च धान्न सरकारले यस्ता उपकरण प्रयोग गर्ने गरेको छ ।
माबिलुङ्ग इनर्जीको आईपीओ बाँडफाँट
काठमाडौं । माबिलुङ्ग इनर्जी लिमिटेडको प्राथमिक सेयर (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको कार्यालयमा आइतबार आईपीओ बाँडफाँट गरिएको हो । कम्पनीले गत साउन २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ४८ हजार ९०४ कित्ता सेयर निष्कासन गरेको थियो । सो सेयर खरिदका लागि २२ लाख ५ हजार ८७१ जनाले कुल २ करोड ४५ लाख १२ हजार ५३० कित्ता सेयरका लागि आवेदन दिएका थिए । जसअनुसार २१ लाख ९७ हजार ५८२ आवेदन स्वीकृत भएका छन् भने ८ हजार २८९ आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा प्रक्रियामार्फत बाँडफाँट गरिएको हो । त्यसअनुसार १ लाख २४ हजार ८९० जनाले प्रत्येकी १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । बाँडफाँटपछि बाँकी रहेका ४ कित्ता पुनः गोलाप्रथामार्फत वितरण गर्दा ४ जनाले थप १–१ कित्ता पाएका छन् । यसरी कुल १ लाख २४ हजार ८९४ लगानीकर्ताले माबिलुङ्ग इनर्जीको सेयर प्राप्त गरेका छन् ।
कमजोर बिक्रीको बाबजुत पनि टेस्लाले साइबरट्रक झन् महँगो बनायो
काठमाडौं । टेस्लाले अमेरिकामा आफ्नो सबैभन्दा महँगो साइबरट्रक पिकअप ट्रक मोडेलको मूल्य १५ हजार डलरले बढाएको छ । टेस्लाले बिक्री अपेक्षाअनुसार नभएको अवस्थामा पनि मूल्य बढाएको हो । पिकअपले टेस्लाले गरेको प्रारम्भिक वाचा पुरा गर्न संघर्ष गरेको छ र हालसम्म बिक्री अपेक्षाभन्दा निकै कम देखिएको छ । अब १ लाख १४ हजार ९९० डलर पर्ने 'साइबरबिस्ट' भेरियन्ट नयाँ 'लक्ज प्याकेज' सहित आउनेछ जसमा सुपरभाइज फूल सेल्फ ड्राइभिङ र सुपरचार्जर नेटवर्कमा निःशुल्क पहुँच समावेश छ । अन्य साइबरट्रक मोडेलहरूको मूल्य भने परिवर्तन भएको छैन । यस मोडेलको मूल्य २०१९ मा सीईओ एलन मस्कले प्रस्तुत गरेको करिब ४० हजार डलरको प्रारम्भिक मूल्यभन्दा निकै माथि पुगेको छ । तर सन् २०२३ को अन्त्यमा सार्वजनिक हुँदा टेस्लाले आधारभूत मोडेलको मूल्य ६० हजार ९९० डलर तोकेको थियो, जुन अघिल्लो लक्ष्यभन्दा ५० प्रतिशत बढी हो । फोर्डको एफ- १५० लाइटनिङ र शेभ्रोलेट सिल्भेराडो ईभी साइबरट्रकका प्रतिस्पर्धी मोडेलहरू हुन् । टेस्लाले स्टकमा रहेका केही साइबरट्रक युनिटमा करिब १० हजार डलरसम्म छुट पनि दिइरहेको छ । मस्कले पहिले टेस्लाले वार्षिक १ लाख २५ हजारभन्दा बढी साइबरट्रक उत्पादन गर्ने क्षमता भएको बताएका थिए र सन् २०२५ मा करिब २ लाख ५० हजारसम्म पुर्याउने सम्भावना रहेको बताएका थिए । तर उनले उत्पादन विस्तार चुनौतीपूर्ण हुने चेतावनी पनि दिएका थिए । तर, यो पिकअपले अपेक्षाअनुसार प्रदर्शन गर्न सकेको छैन । कम्पनीको कुल डेलिभरीको सानो अंश मात्रै यसले ओगटेको छ र बारम्बार हुने रिकल तथा गुणस्तरसम्बन्धी समस्याका कारण माग कमजोर हुँदै गएको छ । हाल टेस्लाले साइबरट्रक डेलिभरीको आँकडा सार्वजनिक नगरे पनि मार्चमा गरिएको रिकलमा ४६ हजार सवारीसाधन समावेश भएको तथ्यले देखाउँछ कि सन् २०२३ नोभेम्बरमा डेलिभरी सुरु भएसँगै २०२५ फेब्रुअरी २७ सम्म बनेका ट्रकहरूको कूल बिक्री वार्षिक उत्पादन क्षमताभन्दा निकै तल छ ।
७.२८ करोडको फायर वाल र राउटर खरिद गर्दै राष्ट्रिय वाणिज्य बैंक, ७ वटाको आवेदनमा २ कम्पनी छनोट
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सवा ७ करोड रुपैयाँभन्दा बढीको नेटवर्क र सुरक्षासम्बन्धी उपकरण खरिद गर्ने भएको छ । बैंकले ७ करोड २८ लाख ७८ हजार ९४२ रुपैयाँ बराबरको नेटवर्क एण्ड रिलेटेड इक्विपमेन्ट फायर वाल तथा राउटर, स्वीचहरू र कोर फायर वाल खरिद गर्न लागेको हो । नेटवर्क तथा सुरक्षा उपकरणको खरिद, आपूर्ति तथा सञ्चालनका लागि बैंकले विभिन्न दुईवटा कम्पनीलाई छनोट गरेको छ । बैंकका अनुसार फायर वाल तथा राउटर र कोर फायर वाल खरिद, आपूर्ति तथा सञ्चालनका लागि डिजिटल नेटवर्क सोलुसन प्रालिलाई छनोट गरेको छ भने स्वीचहरूका लागि ग्रन्थ नेटवर्क्स प्रालिलाई छनोट गरेको छ । डिजिटल नेटवर्क सोलुसन प्रालिले ५ करोड ४५ लाख ८० हजार २५४ रुपैयाँमा फायर वाल तथा राउटर र कोर फायर वाल सञ्चालन गरिदिनेछ भने ग्रन्थ नेटवर्क्स १ करोड ८२ लाख ९८ हजार ६८८ रुपैयाँमा स्वीचहरू उपलब्ध गराउनेछ । बैंकका अनुसार उक्त सामानहरू खरिदका लागि ७ वटा बोलपत्र परेका परेका थिए । तीमध्ये डिजिटल नेटवर्क र ग्रन्थ नेटवर्क्सको न्यूनतम् मूल्याङ्कन भएकाले सार्वजनिक खरिद ऐन, २०६३ को दफा २७ (२) बमोजिम छनोट गरिएको बैंकले जनाएको छ ।
झन्डै ७० लाखले लिए स्थायी लेखा नम्बर
काठमाडौं । नेपालमा झन्डै ७० लाख उपभोक्ताले स्थायीलेखा नम्बर लिएका छन् । अर्थ मन्त्रालयले उपलब्ध गराएको विवरणअनुसार एकै वर्षमा ७ लाख ७३ हजार २१७ करदाता थपिएसँगै स्थायी लेखा नम्बर लिने करदाताको संख्या गत असार मसान्तसम्म ६९ लाख ९९ हजार ३५० पुगेको हो । करकट्टी गर्ने निकायले लिएको व्यावसायिक स्थायीलेखा नम्बर (बीप्यान), स्थायी लेखा नम्बर (डब्ल्यूप्यान), व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या क्रमशः बढेको छ । अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाकाअनुसार व्यावसायिक स्थायी लेखा नम्बर (बीप्यान) लिनेको संख्या एकै वर्षमा २ लाख ८ हजार ४३० ले बढेर २० लाख ६० हजार ७५८ पुगेको छ भने डब्ल्यूप्यान लिनेको संख्या २हजार ५४२ ले बढेर ३५ हजार ८७० पुगेको छ । व्यक्तिगत स्थायी लेखा नम्बर (पीप्यान) लिनेको संख्या एकै आर्थिक वर्षमा ६ लाख ५४ हजार १८ जनाले लिएका छन् । जसअनुसार कुल व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको संख्या ४९ लाख २ हजार ७२२ पुगेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्षसम्ममा मूल्य अभिवृद्धि करमा दर्ता हुनेको संख्या ३ लाख ५१ हजार ७३५ र अन्तःशल्कमा दर्ता हुनेको संख्या १ लाख २४ हजार ९९७ पुगेको छ । नेपाल सरकारले आर्थिक वर्ष २०७६/७७ को बजेटमार्फत ‘एक व्यक्ति एक स्थायी लेखा नम्बर’ को नीति लिएसँगै व्यक्तिगत स्थायीलेखा नम्बर लिनेको संख्या ह्वात्तै बढेको थियो । तर बीचमा कोभिडका कारण स्थायी लेखा नम्बर लिनेको संख्यामा कमी आएको थियो। अहिले व्यक्तिगत स्थायी लेखा नम्बरबाटै सरकारले कर दाताको पहिचान गर्दै आएको छ । खासगरी आयकर दाखिला, कर रिटर्न फाइल गर्न र अन्य कर सम्बन्धीकार्यहरूका लागि यो अनिवार्य गरिएको छ । बैंक खाता खोल्न, ठूलो रकमको कारोबार गर्न, ऋण लिन वा क्रेडिट कार्ड बनाउन स्थायी लेखा नम्बर आवश्यक पर्छ । सेयरबजारमा लगानी, म्युचुअल फण्ड, सम्पती खरिदबिक्री वा अन्य वित्तीय लगानीका लागि पनि यो अनिवार्य गरिएको छ भने ठूलो रकमको लेनदेन निश्चित रकम भन्दा माथिको कारोबारमा समेत यसलाई अनिवार्य गरिएको छ । आन्तरिक राजस्व विभाग र सो मातहतकाबाट यस्तोनम्बर निःशुल्क दिने गरिएको छ । यो नम्बरले व्यक्तिको आर्थिक कारोबारलाई व्यवस्थित र कानूनी बनाउन मद्दत गरिरहेको कर अधिकारीहरुको भनाइ रहेको छ ।
सुनको मूल्य तोलामा २३ सयले बढ्यो
काठमाडौं । स्थानीय बजारमा गत शुक्रबारको तुलनामा आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुनको मोल तोलमा दुई हजार ३०० रुपैयाँ र चाँदीमा ४० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य एक लाख ९७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । त्यति नै परिमाणको चाँदी दुई हजार ३५० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । शुक्रबार एक तोला सुन एक लाख ९५ हजार २०० रुपैयाँमा किनबेच भएको थियो भने त्यति नै परिमाणको चाँदी दुई हजार ३१० रुपैयाँमा क्रयविक्रय भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज प्रति औँस सुन तीन हजार ३७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।