विकासन्युज

बबरमहलमा एमाले युवाहरूको मार्चपास, अध्यक्ष ओलीले आजै नेशनल भोलेन्टियर फोर्सको घोषणा गर्ने

काठमाडौं । नेकपा एमाले निकट नेशनल भोलेन्टियर फोर्सले शुक्रबार राजधानीको बबरमहल क्षेत्रमा शक्ति प्रदर्शनसहित मार्चपास गरेको छ । फोर्स एमाले समर्थित युवासंघ नेपालको नयाँ संरचना हो ।  एमाले अध्यक्ष केपी शर्मा ओलीले आजै एक विशेष समारोहकाबिच फोर्सको औपचारिक घोषणा गर्ने कार्यक्रम रहेको एमाले नेताहले बताएका छन् ।  कार्यक्रममा पार्टीका विभिन्न तहका कार्यकर्ता, युवाहरू तथा स्वयंसेवी संरचनामा जोडिन उत्सुक सहभागीहरूको उपस्थिति उल्लेखनीय रहेको एमालेले जनाएको छ । पार्टीले यो फोर्सलाई सामाजिक सेवा, विपद् व्यवस्थापन तथा संगठनात्मक गतिशीलता बढाउने उद्देश्यसहित अघि सारेको बताएको छ ।

सरकार स्वामित्वका १० निकायका कोषमा मात्रै ४० अर्बभन्दा बढी रकम

काठमाडौं । सरकारी निकायहरूका १० वटा कोषमा मात्रै ४० अर्बभन्दा बढी रकम मौज्दात रहेको पाइएको छ । हालै सरकारले गराएको एक अध्ययनअनुसार सार्वजनिक संस्था/निकायहरूमध्ये १० वटा निकायहरूले उपदान, निवृत्तभरण, अवकाश सुरक्षण रकम, औषधि उपचार खर्च प्रयोजनका लागि भन्दै कोष खडा गरेर अर्बौं रकम राखेका छन् ।  विनियमावलीअनुसार उनीहरूले कर्मचारीले पाउने रकम भुक्तानी गर्न कोष खडा गरी आफैले व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ ।  आफैले व्यवस्थापन गर्दा उक्त रकम अन्य प्रयोजनमा समेत खर्च हुने र अवकाश दायित्व भुक्तानी गर्ने समयमा समस्या आउने अवस्था आएको प्रतिवेदनमा छ । १० वटा कोषमध्ये राष्ट्रिय वाणिज्य बैकसँग मात्रै २५ अर्ब ७१ करोड रुपैयाँ छ भने सरकारकै लगानी रहेको कृषि विकास बैंकसँग उक्त कोषमा १२ अर्ब २० करोड रहेको छ ।  अर्को नेपाल वायुसेवा निगमसँग त्यस्तो कोषमा ६१ करोड रहेको छ भने सार्वजनिक सेवा प्रशारण नेपालसँग अवकाश तथा उपदान कोषमा ४२ करोड रुपैयाँ रहेको छ । त्यस्तै, निक्षेप तथा कर्जा सुरक्षण कोषमा ३८ करोड, नेपाल पर्यटन बोर्ड ३५ करोड रुपैयाँ छ भने नेपाल धितोपत्र बोर्डसँग त्यस्तो कोषमा १८ करोड भन्दा बढी रकम मौज्दात रहेको छ ।  त्यस्तै, नेपाल खानेपानी संस्थानसँग १२ करोड, जडिबुटी तथा प्रशोधन कम्पनी लिमिटेडसँग ७ करोड छ भने काठमाडौं उपत्यका खानेपानी बोर्डसँग त्यस्तो कोषमा ३ करोड भन्दा बढी रकम रहेको भेटिएको छ । यो रकम कर्मचारीको अवकाशदेखि उपचारसम्ममा खर्च हुँदै आएको छ । कर्मचारीले पाउने सेवा सुविधाबाट केही रकम काटिन्छ भने सरकार स्वयंले समेत यस्ता कोषमा रकम लगानी गर्ने गरेको छ । 

मुख्यसचिव र सचिवमा अर्याल बन्धुको सम्भावना, यी हुन् प्रतिस्पर्धी

काठमाडौं । मंसिर महिनामा सरकारी उच्च प्रशासन संरचनामा फेरबदल हुँदैछ । मुख्यसचिव एकनारायण अर्याल र राष्ट्रिय योजना आयोगका सचिव गोकर्णमणि दुवाडी अनिवार्य अवकाशमा जाने भएपछि प्रशासन सेवामा दुई नयाँ सचिवका लागि बाटो खुलेको छ । मुख्यसचिव अर्याल मंसिर १० गते सेवा अवधि पूरा गरी अवकाशमा जाँदैछन् । सोही दिन पाँचवर्षे सेवा अवधि पूरा हुने सचिव दुवाडी पनि अनिवार्य अवकाशमा जानेछन् ।  दुवाडी जेनजी आन्दोलनको क्रममा गृह सचिव रहेका थिए । आन्दोलनमा बल प्रयोग भएको मुद्दा टुंगो नलागेकै कारण उनलाई सचिव पदमै एक्जिट गराउने तयारी सरकारले अघि बढाएको बताइएको छ । सुमनराज अर्यालको सम्भावना उच्च मुख्य सचिव एकनारायण अर्याल अवकाशमा गएपछि वरिष्ठताका आधारमा रक्षासचिव सुमनराज अर्याल मुख्य सचिव बन्ने प्रबल सम्भावना रहेको मन्त्रिपरिषद् कार्यालय स्रोतको दाबी छ । वरिष्ठताको सूचीमा उनी पहिलो नम्बरमा रहेको स्रोतले बताएको छ । यदि सुमनराज अर्याल मुख्यसचिव बने भने प्रशासन सेवातर्फ सचिवका दुई पद रिक्त हुनेछन् । सचिव सिफारिसका लागि ३ सहसचिव प्रतिस्पर्धामा मुख्यसचिवसहित दुई सचिवको अवकाश भएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६ जना वरिष्ठ सहसचिवको नाम सिफारिस गर्न सक्ने व्यवस्था छ ।  मन्त्रालय स्रोतका अनुसार मुख्य सचिवमा सुमनराज अर्यालको पदोन्नति भएमा कामु सचिव बैकुण्ठ अर्याल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वरिष्ठ सहसचिव राजेन्द्र पौडेल सचिवमा पदोन्नति हुने सम्भावना बलियो रहेको स्रोतको दाबी छ । सचिवको दौडमा श्रम विभागका महानिर्देशक कमल भट्टराई पनि रहेका छन् । स्रोतका अनुसार भट्टराई आगामी लटमा पक्का उम्मेदवार देखिए पनि यस पटक उनको सम्भावना तुलनात्मक रूपमा कम रहेको छ ।

एकै दिनमा ६ प्रतिशत ! क्रिप्टोकरेन्सी बजारमा वर्षकै सबैभन्दा ठूलो गिरावट

काठमाडौं । पछिल्लो २४ घण्टामा क्रिप्टोकरेन्सीको दुनियाँमा हलचल मच्चिएको छ । क्रिप्टो मार्केट क्याप ६ प्रतिशतभन्दा धेरै घटेर ३ लाख करोड डलरभन्दा तल झरेको छ । बिटकोइन र इथेरियमसहित संसारका ठूला क्रिप्टोमा जबरजस्त गिरावट आएको छ । क्रिप्टोमा यो गिरावट केही दिनदेखि नै जारी छ । तर लामो समयपछि २४ घण्टामा यति ठूलो गिरावट देखिएको हो । कोइन मार्केटक्यापका अनुसार बिहीबार बिहान ९ः३० बजे क्रिप्टोकरेन्सीको मार्केट क्याप ३.१४ लाख करोड डलर थियो । आज बिहान ९ः३० बजे यो घटेर २.९५ लाख करोड डलर भएको छ । यसरी २४ घण्टामा ६ प्रतिशतभन्दा बढी गिरावट आएको छ ।  क्रिप्टोको ‘फियर एण्ड ग्रीड इन्डेक्स’ ११ मा झरेको छ, जसले बजारमा डरको माहोल रहेको संकेत गर्छ । यसको मतलब लगानीकर्ताहरू क्रिप्टोकरेन्सी बेचिरहेका छन् । यो इन्डेक्स शून्यदेखि १०० सम्म हुन्छ । इन्डेक्स शून्य नजिक जति हुन्छ, बजारमा डर त्यति नै धेरै भएको मानिन्छ । ठूला क्रिप्टोमा ठूलो गिरावट पछिल्लो २४ घण्टा बिटकोइनसहित धेरै ठूला क्रिप्टोका लागि निकै खराब रहेको रह्यो । यिनमा ७ प्रतिशतभन्दा बढी गिरावट आएको छ । यो ९० हजार डलरभन्दा धेरै तल झरेको छ । बिहीबार बिहान ९ः३० बजे बिटकोइन ७.१७ प्रतिशत गिरावटसहित ८५ हजार ७५० डलरमा कारोबार भइरहेको थियो । त्यस्तै, पछिल्ला ७ दिनमा बिटकोइन १३ प्रतिशतभन्दा बढी गिरावट आएको छ । इथेरियम, रिपल, सोलाना, कार्डानो आदिमा पनि २४ घण्टामा ७ प्रतिशतभन्दा बढी गिरावट आइसकेको छ । बिहान ९ः३० बजे इथेरियम ७.५३ प्रतिशत गिरावटसहित २ हजार ७९९ डलर, रिपल ७ प्रतिशत गिरावटसहित १.९७ डलर, सोलाना ७.२८ प्रतिशत गिरावटसहित करिब १३२ डलर र कार्डानो ७.८७ प्रतिशत गिरावटसहित ०.४२ डलरमा कारोबार भइरहेका थिए । कोइन मार्केट क्यापका अनुसार टप १०० सबै क्रिप्टो रातो संकेतमा कारोबार भइरहेका छन् अर्थात् सबै घाटामा छन् । धेरै क्रिप्टोमा २४ घण्टामै १० प्रतिशतभन्दा धेरै यहाँसम्म कि करिब २० प्रतिशतसम्म गिरावट आएको छ । टनकोइन, क्यान्टन, नियर प्रोटोकल, स्टार्कनेट, ड्यास, स्टोरी, मोर्फो, एमवाईएक्स फाइनान्स आदि यिनमध्ये परेका छन् । क्रिप्टो करेन्सीमा किन गिरावट ? डिजिटल मुद्रामा ठूलो गिरावट आउँदा बजार मूल्य अरबौं डलरले खुम्चिएको छ । बजार विश्लेषकहरू अमेरिकी फेडरल रिजर्भले निकट भविष्यमा ब्याजदर घटाउने सम्भावना न्यून देखिएको हुँदा जोखिमयुक्त सम्पत्तिमा लगानीकर्ता पछाडि हट्न थालेको बताउँछन् ।  यससँगै बजारमा ठूलो मात्रामा लिइएका उधारो पोजिसन (लेभरेज ट्रेड) मूल्य घटेपछि जबरजस्ती बन्द (लिक्विडेसन) हुन थालेका छन् ।  लेभरेज ट्रेड भनेको सानो पूँजी प्रयोग गरेर धेरै ठूलो रकमजस्तै प्रभाव पार्नेगरी गरिएको ट्रेड हो । लेभरेजले ट्रेडरलाई ब्रोकर वा एक्सचेन्जबाट धितो पूँजी लिएर आफ्नो वास्तविक लगानीभन्दा धेरै गुणा ठूलो पोजिशन लिन अनुमति दिन्छ । उदाहरणका लागि यदि तपाईंले १०० डलर लगानी गर्नुभयो र दशौं गुणा लेभरेज प्रयोग गर्नुभयो भने तपाईंले १०० को नभई १ हजार डलर बराबरको ट्रेड गर्न सक्नुहुन्छ । ट्रेड एक्सचेन्ज स्रोतहरूका अनुसार एकै दिनमा लाखौं डलरका पोजिसनहरू लिक्विडेट भएका छन् । विश्लेषकहरूका अनुसार पछिल्लो महिना देखिएको मूल्यवृद्धिबाट धेरै लगानीकर्ताले नाफा सुरक्षित गर्न बिक्री बढाएपछि बजारको उत्साह पनि कमजोर भएको छ । यसले मनोवैज्ञानिक असर घटाउँदै प्यानिक सेलिङ (सोच, विचारबिना, मूल्य घट्दै जाँदा पनि तुरुन्तै आफ्नो सम्पत्ति बेच्ने) को वातावरण बनाएको छ । प्राविधिक कारणले पनि बजार झनै कमजोर बनेको बताइन्छ । बिटक्वाइनले महत्त्वपूर्ण समर्थनस्तर (सपोर्ट लेभल) भत्काएपछि स्वचालित बिक्री अर्डरहरू सक्रिय भएर अर्को श्रृंखलाबद्ध गिरावट सुरु भएको हो । बजारमा तरलता (लिक्विडिटी) कमी देखिनाले ठूला विक्रेताहरूको कारोबारले समेत मूल्य माथि टिक्न नदिएको विश्लेषण छ । सबै क्रिप्टो डुब्दा जीक्यास चम्कियो, २ महिनामा १२०० प्रतिशतभन्दा बढी रिटर्न इन्डोप्यासिफिक क्षेत्रमा प्रभाव बढाउने दौडमा रूस, भारतसँग समुद्री व्यापार बढाउन पहल

थापाथली-टेकु दोभानका सम्पदाको संरक्षणमा गुठी संस्थानसँग काठमाडौं महानगर सहकार्य गर्न तयार

काठमाडौं । सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान संगतले थापाथली टेकु दोभानसम्मका सम्पदाहरुको संरक्षण, सम्बर्धन, रेखदेख तथा उचित प्रबन्ध गर्न गुठी संस्थानसँग सहकार्य गर्न लागिएको बताएका छन् । बिहीबार समितिको बैठकमा गुठी संस्थानका अधिकारीहरूसँगको छलफलमा उनले परम्पराको निरन्तरता र भौतिक सांस्कृतिक सम्पदाको बचावटलाई नतिजा मानेर काम गरिने बताए । २०७२ सालको भूकम्पबाट क्षति भएका सम्पदाहरूको पुनःनिर्माण सकेर गुठी संस्थानमा हस्तान्तरण भइसकेका सम्पत्तिको दिगो व्यवस्थापनबाट यस क्षेत्रलाई सांस्कृतिक तथा पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न आपसी सहयोग, समन्वय र सहकार्यका लागि सम्झौता गरिने संगतको भनाइ छ ।  काठमाडौं महानगरपालिकाले सहरको प्राचीनता, इतिहास र संस्कृतिसँग जोडिएका पक्षको संरक्षण गर्ने कामलाई ठोस आकार प्रदान गर्न लागेको लागेकोमा उनले खुसी व्यक्त गरे । हाल दुई पक्षका दायित्वका विषयमा छलफल भइरहेको छ । प्रारम्भिक मस्यौदा तयार भएको र यसमा आपसी पृष्ठपोषणपछि निर्णय प्रक्रियामा लैजाने तयारी भएको समितिका सदस्य सचिव एवं सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईले जानकारी दिए ।  भूकम्पले भत्किएका तथा जीर्ण भएका सम्पदामध्ये थापाथली टेकु दोभान नदी किनाराका सम्पदाहरूको ३ चरणमा पुनःनिर्माण गरिएको काठमाडौं महानगरले जनाएको छ ।  एसियाली विकास बैंक (एडीबी) को ऋण सहायताबाट अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी सुधार परियोजना कार्यान्वयन गरिएको परियोजनामा जीर्ण सम्पदाको पुनःनिर्माण, सवलीकरण (रेक्टोफिटिङ)​​, मर्मत सम्भार तथा सौन्दर्य वृद्धि गरिएको छ ।  यसमा लागतको ५० प्रतिशत नेपाल सरकारले बेहोरेको छ । बाँकी ५० प्रतिशत एडीबीको ऋण सहयोग हो । यसअन्तर्गत पहिलो चरणमा ११ वटा र दोस्रो चरणमा १३ वटा संरचना पुनःनिर्माण सकेर  गुठी संस्थानलाई हस्तान्तरण भइसकेका छन् ।  परियोजनाको पहिलो चरणमा ३८ करोड ८२ लाख ६२ हजार १७६ रुपियाँ लागतमा पुनःनिर्माण गरिएको हो । यसबाट मानन्धर सत्तल, मुन्सी घाट सत्तल, पञ्चनारी घाट निजी गुठी हुन् । शिव मन्दिर, लक्ष्मेश्वर मन्दिर, लक्ष्मेश्वर सत्तल, पुजारी सत्तल, राजभण्डारी सत्तल, पुरोहित घाट सत्तल, वेस्ट सत्तलको पुनःनिर्माण भएको हो ।  दोस्रो चरणमा ४८ करोड ६४ लाख १६ हजार १९२ रुपियाँ लागतमा १३ वटा सम्पदा संरचना पुनःनिर्माण सम्पन्न भएका हुन् । यीमध्ये माथेमा सत्तल निजी गुठी हो । अहिलेसम्म यसका गुठीयार सम्पर्कमा आएका छैनन् । त्रिपुरेश्वरमा रहेको धर्मशाला नेपाल प्रहरीले प्रयोग गरिरहेको छ ।  तीन देवल मन्दिर, नारायण सत्तल, शिव मन्दिर, सीताराम मन्दिर, हनुमान सत्तलको सवलीकरण भइसकेको छ । बम बिकटेश्वर परिसरको सीमा पर्खाल लगाइएको छ । यसकै प्रवेश द्वार, चौघेरा सत्तल, पञ्चलिङ्गेश्वर मन्दिर, कृष्ण शुभद्रा मन्दिर, शिव मन्दिर सवलीकरण भइसकेका छन् । तेस्रो चरणको काम ४५ करोड १३ लाख १२ हजार २८५ रुपियाँ लागतको हो । यस चरणमा कालमोचन घाट सत्तल, बैरागी सत्तल, उदासी सत्तल र सन्यासी सत्तल पुननिर्माण भएको हो ।  २ किलोमिटर दुरीभित्र फैलिएको यो स्थानले महानगरका वडा नं। ११ र १२ गरी २ वटा वडा समेट्छ । यहाँ सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्वका प्राचीन सम्पदा छन् । यी भकारी, अखडा, मन्दिर, घाट, देवलका चाखलाग्दा पक्ष कलाकारिता, सभ्यताहरु पर्यटन प्रवर्धनका लागि अमूल्य पूर्वाधार हुन् ।  यी मूर्त सम्पदाहरुको कुनै न कुनै रुपमा सामाजिक जीवनका चालचलन, रीतिथिति र परम्परासँग सम्बन्धित छन् । सम्पदाहरुको इतिहास, धर्म, संस्कृति र सामाजिक जीवनसँग सम्बन्धित कथा छन् ।  मानव निर्मित प्राचीन भौतिक संरचना, तिनको बनावट र महत्वसँग प्राकृतिक सम्पदाको निकट सम्बन्ध भएको ठाउँ हो, यो । प्रमाणित तथ्य र प्रामाणिक अभिलेख नभएका सम्पदासँग जनश्रुति र कथनसँग सम्बन्धित कथा छन्।

सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।  

१३ प्रतिशत लाभांश पारित गर्न कृषि विकास बैंकले डाक्यो मंसिर २९ गते सेयरधनी भेला

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न कृषि विकास बैंकले वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले मंसिर २९ गते बोडे भक्तपुरमा बिहान ११ बजे १९औँ वार्षिक साधारण सभा बोलाएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहितका लागि ९.७५ प्रतिशत नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ । बैंकको सभाले बोनस वितरण पश्चात् कायम हुने जारी र चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, अविमोच्य असंचिति अग्राधिकार सेयरधनीलाई तोकिए बमोजिम चुक्ता पुँजीको ६ प्रतिशत नगद लाभांश वितरण गर्न स्वीकृत गर्नेछ ।  साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १४ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरूले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् । 

मर्जरका लागि जोडी खोज्दै शाइन रेसुङ्गा बैंक

काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक मर्जर तथा एक्विजिसनमा जाने भएको छ । बैंक सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमा जाने निर्णय गरेको हो ।   साथै, बैंक सञ्चालक समितिले मर्जर सम्बन्धी प्रस्ताव पारित गर्न मंसिर २६ गते बुटवल, रुपन्देहीमा १७औँ वार्षिक साधारण सभा अपरान्ह साढे १२ बजे डाकेको छ । सभाले गाभ्ने/गाभिने तथा प्राप्ति/समाहित हुने प्रयोजनका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाको पहिचान गर्ने, सहमति पत्रमा हस्ताक्षर गर्ने र सैद्धान्तिक स्वीकृतिका लागि राष्ट्र बैंकमा निवेदन दिने, सम्पत्ति तथा दायित्वको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता, लेखापरीक्षक नियुक्त गर्ने लगायत आवश्यक काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।  साथै, बैंकको सभाले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ३ प्रतिशतका दरले १४ करोड ६२ लाख ७१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहितका लागि १० प्रतिशतका दरले ४८ करोड ७५ लाख ७० हजार रुपैयाँ नगद गरी कुल १३ प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।  यस्तै, सभाले प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र चालु आर्थिक बर्ष २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेछ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले मंसिर १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ११ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम सेयरधनीहरुले साधारण सभामा सहभागिता जनाई बैंकको लाभांश प्राप्त गर्न सक्नेछन् ।