विकासन्युज

डेडिकेटेड लाइनको बक्यौता तिर्दै उद्योग

काठमाडौं । डेडिकेटेड र टंक लाइनको सुविधा प्रयोग गरेबापत उद्योगहरूले धमाधम बक्यौता रकम नेपाल विद्युत प्राधिकरणलाई तिर्न थालेका छन् ।  लामो समयदेखि बक्यौता रहेका औद्योगिक समूहहरूले अन्ततः किस्ता तिर्न सुरु गरेका हुन् ।  सिमरास्थित हामा आइरन एन्ड स्टील इन्डस्ट्रीजले डेडिकेटेड ट्रंक अन्तर्गतको कुल ५ करोड ८५ लाख  रुपैयाँ बक्यौतामध्ये पहिलो किस्ताका रूपमा २० लाख ९० हजार बुझाएको छ ।  त्यस्तै, वैशाखदेखि किस्ता तिर्न रोकेको परासीस्थित लक्ष्मी स्टीलले पनि पुनः तिर्न सुरु गर्दै ८४ लाख ९८ हजार रुपैयाँको किस्ता बुझाएको छ ।  केही समयदेखि किस्ता तिर्न रोकेको सर्वोत्तम सिमेन्टले पनि ४० लाख बुझाएको छ । प्राधिकरणले उद्योगहरूलाई बक्यौता तिर्न बारम्बार दबाब दिँदै आएको छ ।

जेलब्रेकपछि ५४२ नेपाली र ६४५ विदेशी कैदी फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएको जेलब्रेकपछि हालसम्म ५४२ जना नेपाली र ६४५ जना विदेशी कैदी फरार रहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त आन्दोलनका क्रममा देशका विभिन्न जेलमा तोडफोड भएपछि सयौं कैदीहरू फरार भएका थिए ।  तीमध्ये अहिलेसम्म पनि १ हजार १८७ जना कैदी पक्राउ परेका छैनन् । सेनाको विवरणअनुसार  फरारमध्ये नेपाली कैदीको संख्या ५४२ र विदेशी कैदीको संख्या ६४५ रहेको छ । जेल तोडफोडपछि भागेका कैदीहरूमध्ये केहीलाई पछिल्ला दिनहरूमा पुनः पक्राउ गरिए पनि केही फरार रहेको सेनाले बताएको छ ।

एनसेलको नयाँ सीईओमा माइकल फोले नियुक्त

काठमाडौं । एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ)का रूपमा माइकल फोले नियुक्त भएका छन् । उनको यो नियुक्ति यही कार्तिक १५, २०८२ देखि लागू हुने कम्पनीले जनाएको छ । नयाँ सीईओ नियुक्तिसँगै कार्यवाहक सीईओका रूपमा समेत कार्यभार सम्हाल्दै आएका सैयद इनामुल कबीरले कम्पनीको प्रमुख वित्तीय अधिकृत (सीएफओ)को आफ्नो महत्त्वपूर्ण भूमिकालाई निरन्तरता दिनेछन् । दुई दशकभन्दा बढी दूरसञ्चार क्षेत्रमा वरिष्ठ नेतृत्वको अनुभव बोकेका फोलेले यस क्षेत्रका प्रमुख कम्पनीहरूमा कुशल नेतृत्वका साथ सफलता हासिल गरेका रेकर्डहरू रहेका छन् ।  एनसेलमा आवद्ध हुनुअघि फोलेले एयरटेलमा फ्रेन्च अफ्रिकाका प्रमुखको रूपमा कार्यरत रहँदै सातवटा फ्राङ्कोफोन अफ्रिकी बजारहरूको सञ्चालन जिम्मेवारी वहन गरेका थिए । त्यसअघि उनले टेलिनोर पाकिस्तान (टीपी)का सीईओका रूपमा कार्य गर्दै कठिन व्यवसायिक परिस्थितिमा पनि कम्पनीलाई अगाडि बढाउँदै बजारमा अग्रणी वृद्धि, नाफा, र कर्मचारी संलग्नताका साथ उल्लेखनीय सफलता हासिल गरेका थिए ।  उनका अघिल्ला नेतृत्वदायी भूमिकाहरुमा, ग्रामीणफोन (बंगलादेश) र टेलिनोर (बुल्गेरिया)मा सीईओको पदसमेत समावेश छन्, जहाँ उनले उल्लेखनीय व्यवसायिक परिवर्तनको नेतृत्व गर्दै ग्राहक संख्या ७ करोडभन्दा माथि पुऱ्याएका थिए र ईबिट्डामा ६० प्रतिशतभन्दा बढी वृद्धि हासिल गरेका थिए । फोलेले टामीर माइक्रोफाइनान्स (हालको इजीपैसा, पाकिस्तान)का अध्यक्ष र टेलिनोर हेल्थका अध्यक्षको रूपमा पनि काम गरेका छन् । हाल उनी अफ्रिकाको अग्रणी एसेट माइक्रोफाइनान्स कम्पनी वाटु अन्तर्गतको वाटु डीआरसी एसएका अध्यक्षका रूपमा कार्यरत छन् । नियुक्ति सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै फोलेले भने, ‘काठमाडौंमा एनसेलको यो जिम्मेवारी लिन पाउँदा म अत्यन्त खुसी र सम्मानित महसुस गरिरहेको छु । एनसेल देशका लागि महत्त्वपूर्ण पूर्वाधार हो, जसले नेपाली जनताका लागि नयाँ अवसरहरू सृजना गर्दै, डिजिटल रूपान्तरणलाई अघि बढाउने, आर्थिक प्रतिस्पर्धात्मकता बढाउने र विदेशी लगानी आकर्षित गर्ने अपार सम्भावना बोकेको छ । आजको डिजिटल, एआई पावर्ड र सामाजिक सञ्जालको युगमा दूरसञ्चार कम्पनीहरू केवल सेवा प्रदायक मात्र होइनौं, हामी समाजको डिजिटल संरचना बुन्ने भूमिका निभाइरहेका छौं ।’  ‘हामी आधुनिक अर्थतन्त्रको सञ्चालन प्रणाली बनिसकेका छौं । यसैले राष्ट्रको सेवा गर्न, हाम्रा सेवाहरू सुदृढ बनाउन र सबैभन्दा महत्त्वपूर्ण रूपमा आगामी पुस्तालाई सशक्त बनाउनका लागि यी महत्त्वपूर्ण सम्पत्तिहरूलाई जिम्मेवारीपूर्वक व्यवस्थापन गर्नु अत्यावश्यक छ,’ उनले थपे ।  एनसेलको सञ्चालक समितिले नेतृत्व भूमिकामा फोलेलाई कम्पनीमा स्वागत गर्न पाउँदा अत्यन्त खुसी भएको जनाएको छ । फोल म्याकगिल विश्वविद्यालयका स्नातक हुन् र इनसीडबाट उनले ग्लोबल म्यानेजमेन्ट एन्ड गभर्नेन्समा एक्सिक्युटिभ सर्टिफिकेटस् प्राप्त गरेका छन् । उनी क्यानडा–केन्या दुबैको नागरिक हुन् । एनसेल सन् २००४ मा स्थापना भई २००५ बाट सेवा प्रदान गर्दै आइरहेको नेपालको पहिलो निजी मोबाइल सेवाप्रदायक कम्पनी हो । 

सेना भन्छ– जेनजी आन्दोलनमा ज्यान गुमाएका २२ जनामात्र प्रदर्शनकारी

काठमाडौं । नेपाली सेनाले भदौ २३ र २४ मा भएको जेन‍जी आन्दोलनमा मृत्यु भएकामध्ये २२ जना मात्रै जेनजी प्रदर्शनकारी भएको बताएको छ । सेनाले शुक्रबार एक पत्रकार सम्मेलनको अयोजना गरी उक्त कुरा सार्वजनिक गरेको हो ।  सेनाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाका युद्धकार्य विभागका प्रमुख उपरथी अनुपजंग थापाले आन्दोलनमा मृत्यु भएका मध्ये २२ प्रदर्शनकारीको ज्यान गएको बताएका हुन्। आन्दोलनमा ७६ जनाको मृत्यु भएको र तीमध्ये २२ प्रदर्शनकारी रहेको दाबी सेनाको छ । मृत्यु भएका मध्ये तीन प्रहरी, १० कैदी र अन्य ४१ रहेको उपरथी थापाले जानकारी दिए ।

६ दशक पुरानो ब्रान्ड नेबिको अब कर्णाली याक्ससँग

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गतको क्रिकेट टिम कर्णाली याक्स र नेबिको लिमिटेडबीच सह-प्रायोजनका लागि सम्झौता सम्पन्न भएको छ । बिहीबार आयोजित एक विशेष कार्यक्रममा सम्झौता भएको हो । कार्यक्रममा नेबिकोका तर्फबाट म्यानेजिङ डाइरेक्टर अशोक पोखरेल, सीईओ होम न्यौपाने र मार्केटिङ हेड अरुण पौडेल उपस्थित थिए ।  त्यस्तै, कर्णाली याक्सका तर्फबाट म्यानेजिङ डाइरेक्टर गृहेन्द्र घिमिरे र को–ट्रेनर राजु बस्न्यातको उपस्थिति पनि रहेको थियो । कम्पनीले कर्णाली याक्ससँगको सहकार्यलाई नेपाली क्रिकेटको प्रवर्धन र खेलकुद क्षेत्रमा योगदान पुर्‍याउने अवसरका रूपमा लिएको जनाएको छ । सम्झौताका अन्त्यमा नेबिको लिमिटेडले कर्णाली याक्स टिमलाई आगामी खेलहरूमा सफलताको शुभकामना दिँदै समग्र नेपाली क्रिकेटको उज्ज्वल भविष्यको कामना गरेको छ।  नेबिको नेपालकै पहिलो बिस्कुट उत्पादक कम्पनी हो, जसले छ दशकभन्दा बढी समयदेखि बिस्कुट, कुकीज, कन्फेक्सनरी तथा ब्रेकफास्ट सिरियलजस्ता स्वस्थकर उत्पादनहरू बजारमा ल्याउँदै आएको छ ।

ब्याज आम्दानीको बाँकी रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्ने, त्रैमासिक रिपोर्ट सार्वजनिक गर्ने समय थप

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले ब्याज आम्दानीबाट बचेको रकम नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ । बैंकहरुलाई कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानीलाई नियमनकारी कोषमा जम्मा गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।   ‘लेखानीति बमोजिम आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा प्रोदभावी आधारमा लेखाङ्कन गरिएको ब्याज आम्दानीमध्ये २०८२ कात्तिक १५ गतेभित्र प्राप्त भएको ब्याज रकम बाहेक अन्य प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्था अनुसारको आयकर तथा कर्मचारी बोनस तथा वैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफा खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नुपर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको सूचनामा उल्लेख छ । साथै, बैंक तथा वित्तीय संस्था र पूर्वाधार विकास बैंक चालु आवको त्रैमासिक वित्तीय विवरण कात्तिक २१ गतेभित्र सार्वजनिक गर्ने गरी समय थप गरेको छ । 

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गर्यो १ अर्ब २६ करोडभन्दा बढी बीमा दाबी भुक्तानी

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले हालसम्म १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी बीमा दाबी भुक्तानी गरिसकेको जनाएको छ । कम्पनीले जेनजी गत भदौको जेनजी आन्दोलनका क्रममा भएको आगजनी तथा तोडफोडबाट प्रभावित बीमितहरूलाई प्राथमिकता दिँदै दाबी फर्छ्यौट कार्यलाई तीव्रता दिएको हो । कम्पनीका अनुसार उक्त आन्दोलनका क्रममा व्यक्तिगत, सार्वजनिक, सरकारी सम्पत्ति तथा उद्योग–व्यवसायमा पुगेको क्षतिको ३५७ वटा बीमा दाबीहरू प्राप्त भएका थिए ।  तीमध्ये हालसम्म १०५ वटा बीमा दाबी पूर्ण तथा अग्रिम भुक्तानीका रूपमा फर्छ्यौट भई कुल १ अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ । प्रारम्भिक रूपमा कम्पनीले ५ अर्ब ४९ करोड बराबरका दाबीहरू प्राप्त गरेको थियो । कम्पनीका अनुसार बाँकी दाबीहरूको मूल्यांकन तथा फर्छ्यौट प्रक्रिया निरन्तर भइरहेको छ । यसअघि २०८१ साल असोज महिनामा आएको बाढीबाट प्रभावित बीमितहरूको दाबी पनि सहज रूपमा फर्छ्यौट गरी आफ्नो जिम्मेवारी र दायित्व पूरा गरेको कम्पनीले दावी गरेको छ ।  सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले प्रतिकूल परिस्थितिमा पनि बीमितको साथमा रही सेवा प्रवाह गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ ।  

भन्सार जाँच पासका लागि तिहारमा बैंकिङ सेवा सुचारु गर्ने राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारको समयमा भन्सार जाँचपासका लागि बैंकिङ सेवा सूचना गर्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ । भन्सार विभागको पत्र अनुसार तिहारको भाइटीकाका दिन बाहेक अन्य दिनमा भन्सार जाँच पास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको हो ।  व्यापार सहजीकरण गर्न, आपूर्ति प्रणाली सुचारु राख्न तथा सेवा प्रवाहको निरन्तरता कायम गर्न माल वस्तुको भन्सार जाँच पास गर्ने प्रयोजनको लागि अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले असोज ३० गते राष्ट्र बैंकलाई पत्र पठाएको थियो ।  सोही बमोजिम राष्ट्र बैंकले तिहारको भाइटीकाका दिन (कात्तिक ६ गते) बाहेक तिहार विदाको अरु सबै दिन भन्सार जाँच पास गर्न आवश्यक पर्ने बैंकिङ्ग सेवा सुचारु गर्ने व्यवस्था गर्न बैंकहरुलाई निर्देशन दिएको हो ।