विकासन्युज

ओलीले गरे महाधिवेशन पछि नेतृत्व हस्तान्तरण गर्ने संकेत

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजीनामा नदिने बताएका छन् ।  केन्द्रीय कमिटी बैठकलाई समापन सम्वोधन गर्दै ओलीले आफ्नो काधमा केही जिम्मेवारी रहेको दोहा¥याए । ओलीले भने, ‘मेरो काँधमा केही जिम्मेवारी छन्, ती पुरा नहोउञ्जेल राजीनामा दिन्नँ ।’ ओलीले महाधिवेशनको फैसला मान्ने भन्दै महाधिवेशन पछि हस्तान्तरण गर्न सक्ने संकेत गरे।

नेपाली क्रिकेट टोलीका खेलाडीलाई सन नेपाल लाइफले दियो ३० लाखको बीमा उपहार

काठमाडौं । नेपाली पुरुष क्रिकेट टिमले तेस्रो पटकका लागि विश्वकपमा ऐतिहासिक यात्रा तय गरेको अवसरमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँको बीमा सुरक्षा प्रदान गर्ने भएको छ ।  यस अन्तर्गत राष्ट्रिय क्रिकेट टिमका प्रत्येक सदस्यलाई ३० लाख रुपैयाँ बराबरको बीमा सुविधा र नेपालकै पहिलो इमर्जेन्सी मेडिकल सुविधा सन मेडिकेयर समावेश हुनेछ । जसले खेलाडीहरूलाई आकस्मिक दुर्घटनाबाट पनि स्वास्थ्य उपचार सुविधा प्रदान गर्ने कम्पनीले जनाएको छ ।  यसले खेलाडीहरूलाई थप प्रोत्साहन मिल्ने विश्वास कम्पनीले लिएको छ ।

एक महिनादेखि कार्यालय नगएका सीईओ चापागाईं ब्रोकरको कार्यक्रममा देखिए

काठमाडौं । विगत एक महिनादेखि कार्यालय हाजिर नभएका नेपाल स्टक एक्सचेञ्जका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणी चापागाईं शुक्रबार एउटा कार्यक्रममा देखिएका छन् । उनी शुक्रबार स्टक ब्रोकर एशोसिएसन अफ नेपाल (एस्बान) को दिपावली तथा छठ पर्वको पावन अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनी सहभागी भएका हुन् । नेप्सेका कर्मचारीहरुले विभिन्न माग राख्दै अध्यक्ष हेमन्त बस्याल र सीईओ चापागाईंलाई कार्यालय प्रवेशमा रोक लगाएका छन् । कर्मचारीले कार्यालय प्रवेश गर्न नदिइएपछि सीईओ चापागाईं घरमै बसिरहेका थिए । एक महिनापछि उनी सार्वजनिक कार्यक्रममा देखिएका हुन् ।  कर्मचारीहरुले अध्यक्ष बस्याल र सीईओ चापागाईंको नियुक्तिका विषयमा छानबिन गर्न माग गर्दै विगत करिब एक महिनादेखि विरोधमा छन् ।   नेप्से कर्मचारी संघले शुक्रबार नै विज्ञप्ति जारी गर्दै कानुनतः पाउनुपर्ने ५ प्रतिशत बोनस माग गरेका छन् । यो मुद्दा अहिले सर्वोच्च अदालतमा समेत पुगिसकेको छ ।  

सिद्धार्थ बैंकका ग्राहकहरूलाई जर्मन होम्समा १० प्रतिशत छुट

काठमाडौं ।  सिद्धार्थ बैंक र जर्मन होम्स प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।   सम्झौता अनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्स्मा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् । यस सम्झौताले ग्राहकहरूलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ । यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा सम्पर्क गर्न सकिने बैंकले जनाएको छ । 

तिलिचो बेसक्याम्पमा टुजी र फोरजी सेवा सुरु, च्छो रोल्पामा भोइस सेवा

काठमाडौं । नेपाल टेलिकमले मनाङको प्रसिद्ध पदयात्रा र पर्यटन क्षेत्र तिलिचो बेस क्याम्पमा नयाँ बीटीएस (बेस ट्रान्सीभर स्टेशन) स्थापना गरी टुजी र फोरजी मोबाइल सेवा शुक्रबारबाट सञ्चालनमा ल्याएको छ ।  करिब ४ हजार ३५० मिटर उचाइमा अवस्थित तिलिचो ताल जाने रुटमा नेपाल टेलिकमले माइक्रोवेभ प्रविधिमार्फत सेवा विस्तार गरेको हो ।  यससँगै खाङसार–श्रीखर्क–तिलिचो बेसक्याम्प–बाइसघुम्ती क्षेत्रका स्थानीय बासिन्दा, पदयात्री र व्यवसायीहरू अब सजिलै सञ्चार सम्पर्कमा रहन सक्ने भएका छन् । टेलिकम सेवाको विस्तारपछि उक्त क्षेत्रका पर्यटन, होटल र व्यवसायिक सेवा प्रदायकहरूले डिजिटल भुक्तानी प्रणालीमा आवद्ध हुन सजिलो हुने भएको छ । साथै पदयात्राका क्रममा स्वास्थ्य समस्या परेमा आपतकालीन उद्धार कार्यमा पनि नेपाल टेलिकमको सेवा जीवनरक्षक हुने स्थानीयवासीहरूको विश्वास रहेको छ । यसै क्रममा नेपाल टेलिकमले दोलखा जिल्लाको रोल्वालिङ उपत्यकामा पर्ने च्छो–रोल्पा ट्रेकिङ रुटको अन्तिम बस्ती नागाउँमा पनि भ्वाइस सेवा सुरु गरेको छ । सो सेवा मिति असोज २८ गतेदेखि भी–एसएटी प्रविधिमार्फत सुचारु गरिएको हो । समुद्री सतहदेखि ४ हजार १९० मिटरको उचाइमा अवस्थित नागाउँ साइटबाट च्छो–रोल्पा, बेदिङ–ना, दूधकुण्ड, यालुङ बेसक्याम्प, टासी लेप्चा पास बेसक्याम्प लगायतका क्षेत्रका स्थानीय तथा पर्यटकहरूले अब सहज सञ्चार सम्पर्क गर्न पाउनेछन्। उच्च उचाइ, कठोर मौसम र जनशक्ति अभावबीच पनि नेपाल टेलिकमका प्राविधिक कर्मचारीहरूले गरेको अथक प्रयासका कारण दुर्गम हिमाली क्षेत्रमा आधुनिक सञ्चार सेवा विस्तार सम्भव भएको हो । नेपाल टेलिकमले भविष्यमा पनि देशका अन्य दुर्गम पर्यटन र सीमावर्ती क्षेत्रमा आधुनिक प्रविधियुक्त सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ ।

नेपाल प्रहरीले गर्‍यो ८५ वटा पीकअप खरिदको प्रक्रिया सुरु

काठमाडौं । नेपाल प्रहरीले ८५ वटा पीकअप खरिद गर्ने प्रक्रिया सुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा धेरै गाडीमा क्षति पुगेसँगै प्रहरीले गस्तीमा प्रयोग गर्ने पीकअप खरिद गर्न लागेको हो । प्रहरीले खुलाएको टेन्डरमा ७५ युनिट पेट्रोलबाट चल्ने पीकअपको लागि बोलपत्र माग गरिएको छ । विद्युतीय पीकअप भने १० युनिट खरिद गर्न लागिएको हो । प्रहरी प्रधान कार्यालयले बिहीबार सूचना जारी गर्दै गाडी किन्न टेण्डर आह्वान गरेको हो । इच्छुक कम्पनी/टेण्डरदाताले आगामी कात्तिक ९ गते (२६ अक्टोबर) मा हुने प्रिबिड मिटिङमा सहभागिता जनाउन पाउने छन् । त्यसपछि विद्युतीय टेण्डर कात्तिक १४ (३१ अक्टोबर) भित्र पेस गर्नुपर्ने सूचनामा उल्लेख छ। प्रहरी प्रधान कार्यालयका अनुसार टेण्डर १४ कात्तिक अपराह्न २ बजे खोलिने छ ।

गगन थापाले गरे मंसिरमै कांग्रेसको १५औं महाधिवेशन प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको १५औं महाधिवेशन यही मंसिर महिनाभित्र सम्पन्न गर्ने कार्यतालिका प्रस्ताव गरेका छन् । थापाले दुई विकल्पसहित महाधिवेशनको विस्तृत कार्यतालिका पेश गरेका हुन् ।  पहिलो विकल्पअनुसार मंसिर २७ देखि २९ गतेसम्म केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । थापाले पेश गरेको कार्यतालिकामा कात्तिक २१ सम्म नयाँ सदस्यता वितरण तथा नवीकरणको इन्ट्री गर्ने, मंसिर ७ मा क्रियाशील सदस्यहरूको नामावली निर्वाचन समितिमा बुझाउने र मंसिर १२–१३ मा वडा अधिवेशन गर्ने प्रस्ताव गरिएको छ ।  यस्तै, मंसिर २१ मा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन, केन्द्रीय प्रतिनिधि चयन र जनसम्पर्क समिति अधिवेशन सम्पन्न गरी अन्ततः मंसिर २७ देखि २९ भित्र केन्द्रीय महाधिवेशन गर्ने योजना रहेको छ । दोस्रो विकल्पमा भने सबै तहको अधिवेशन चरणबद्ध रूपमा सम्पन्न गर्ने प्रस्ताव गरिएको छ । सोअनुसार मंसिर ५ बाट वडा अधिवेशन सुरु गरी, मंसिर २१ मा प्रदेश अधिवेशन र मंसिर २७–२९ मा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने तालिका प्रस्तुत गरिएको हो । थापाले विधान संशोधनमार्फत क्रियाशील सदस्यबाटै सिधा नेतृत्व चयन गर्न सकिने सम्भावनासमेत उल्लेख गरेका छन् । महामन्त्री थापाले क्रियाशील सदस्यता नवीकरणमा लचकता अपनाउने प्रस्ताव पनि गरेका छन्। । उनका अनुसार १४औं महाधिवेशनमा सहभागी भएकामध्ये मृत्यु भएका र पार्टी परित्याग गरेका बाहेक सबै सदस्यको सदस्यता स्वतः नवीकरण भएको मान्ने सकिने छ ।  यद्यपि क्रियाशील सदस्यता व्यवस्थापन समितिका अनुसार असोज मसान्तसम्म ८१ प्रतिशत सदस्यता नवीकरण भइसकेको भए पनि इन्ट्री कार्य अझै बाँकी रहेको छ । २८ असोजदेखि जारी केन्द्रीय समितिको बैठकमा भने महामन्त्री थापाको प्रस्ताव पेश हुन सकेको छैन । संस्थापन पक्षीय नेताहरू मंसिरमा महाधिवेशनको पक्षमा नरहेकाले थापाको कार्यतालिका अगाडि बढ्न नसकेको हो ।  तर, महामन्त्री थापा, विश्वप्रकाश शर्मा र डा. शेखर कोइरालाको समूह मंसिरमै नियमित महाधिवेशन हुनुपर्ने अडानमा छन् । उनीहरूका अनुसार यदि मंसिरमा महाधिवेशन सम्भव नभए विशेष महाधिवेशनमा जानुपर्नेछ ।

गणपति सिमेन्टमा नयाँ लगानीकर्ताको प्रवेश, ‘विनायक’  र ‘गणपति’  ब्रान्डका नयाँ सिमेन्ट ल्याउँदै

काठमाडौं । कपिलवस्तुको शिवराज नगरपालिका- ६ मा रहेको गणपति सिमेन्ट इन्डस्ट्रीजमा नयाँ लगानीकर्ताको आगमन भएको छ । शुक्रबार कम्पनीले विज्ञप्ति जारी गर्दै यो जानकारी दिएको हो । उद्योगलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने तयारी तीव्र गतिमा अघि बढेको कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष अर्जुन चौलागाईंको नेतृत्वमा गठित नयाँ लगानीकर्ता समूहले उद्योगलाई पुनर्जीवित गरी देशको निर्माण क्षेत्रमा सशक्त योगदान पुर्‍याउने लक्ष्य लिएको छ ।  अध्यक्ष चौलागाईसँगै अमेरिकामा करिब १५ वर्षदेखि निर्माण तथा विभिन्न व्यवसायमा संलग्न एनआरएन विषम पाण्डे र नेपालमा विभिन्न व्यवसायिक क्षेत्रमा सक्रिय शालिक पाठकले उद्योगमा नयाँ ऊर्जा, लगानी र दिगो सञ्चालनको दृष्टिकोणसहित सहकार्य गर्न थालेका हुन् । विगत केही वर्षदेखि सीमित मात्रामा सञ्चालनमा रहेको गणपति सिमेन्टलाई पुनः पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने कार्ययोजना अघि बढाइएको अध्यक्ष चौलागाईंले जानकारी दिए । उनका अनुसार कम्पनीले ‘विनायक’ र ‘गणपति’ ब्रान्डका नयाँ सिमेन्ट बजारमा ल्याउँदै देशभरका प्रमुख सहरहरूमा बिक्री सञ्जाल विस्तार गर्ने तयारी गरेको छ । उद्योगको पुनः सञ्चालनसँगै कपिलवस्तु तथा आसपासका क्षेत्रमा रोजगारीका अवसर सिर्जना, स्थानीय उत्पादन प्रवर्द्धन र स्वदेशी ब्रान्डको सुदृढीकरण हुने कम्पनीको विश्वास छ । गणपति सिमेन्ट इन्डस्ट्रीजले आगामी दिनमा उत्पादन क्षमता विस्तार, गुणस्तर सुधार र दिगो बजार सञ्जाल निर्माणलाई प्राथमिकता दिने योजनासमेत सार्वजनिक गरेको छ।