विकासन्युज

हुन्डाई क्रेटा ईभीको ड्राइभिङ रेन्ज बीएमएस अपडेटमार्फत १५ देखि २५ किलोमिटरसम्म बढ्ने

काठमाडौं । हुन्डाई नेपालले क्रेटा ईभी प्रयोगकर्ताका लागि ड्राइभिङ रेन्ज थप विस्तार गर्ने उद्देश्यले ब्याट्री म्यानेजमेन्ट सिस्टम (बीएमएस) सफ्टवेयर अपडेट सार्वजनिक गरेको छ। कम्पनीले सबै क्रेटा ईभी ग्राहकलाई नजिकको आधिकारिक हुन्डाई सेवा केन्द्रमा पुगेर यो अपडेट गराउन आग्रह गरेको छ । हुन्डाई नेपालका अनुसार नयाँ बीएमएस अपडेटमा ब्याट्री प्रणालीलाई नेपाली सडक अवस्था र ड्राइभिङ शैलीलाई ध्यानमा राखेर विशेष रूपमा अप्टिमाइज र क्यालिब्रेट गरिएको छ । यसले ब्याट्रीको कार्यक्षमता अझ प्रभावकारी बनाउँदै ऊर्जा प्रयोगलाई सन्तुलित गर्नेछ ।  कम्पनीको दाबीअनुसार यस अपडेटपछि क्रेटा ईभीको ड्राइभिङ रेन्ज हालको तुलनामा करिब १५ देखि २५ किलोमिटरसम्म बढ्ने अपेक्षा गरिएको छ । नयाँ अपडेटले दैनिक आवागमनदेखि लामो यात्रासम्म क्रेटा ईभी प्रयोगकर्तालाई थप सुविधा, सहजता र भरोसा प्रदान गर्ने हुन्डाई नेपालले जनाएको छ ।  यो बीएमएस अपडेट सेवा देशभर रहेका हुन्डाईका आधिकारिक सेवा सञ्जालमार्फत निःशुल्क रूपमा उपलब्ध गराइएको छ, जसको लाभ क्रेटा ईभीका सबै ग्राहकले लिन सक्नेछन् ।  विश्वसनीय अटोमोबाइल ब्राण्डका रूपमा परिचित हुन्डाई नेपालले भरपर्दो बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । हाल कम्पनीसँग देशभर ६३ भन्दा बढी ‘रिल्याक्स रिचार्ज’ नेटवर्क सञ्चालनमा छन्, जसले ईभी प्रयोगकर्तालाई अझ सहज र ढुक्क यात्राको अनुभूति गराइरहेको छ । 

बानेश्वरमा खुल्यो ‘करेन्ट मार्ट’ को दोस्रो शाखा, अब एकै छानामुनि सबै स्वाद चाख्न पाइने

काठमाडौं । ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा नेपाली बजारमा आफ्नो पहिचान बनाइसकेको करेन्ट नुडल्स उत्पादक कम्पनी यसोदा फुड्स प्रालिले रिटेल आउटलेट ‘करेन्ट मार्ट’ को दोस्रो शाखा काठमाडौंमा सञ्चालनमा ल्याएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कात्यायनी चोकमा आइतबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो । करेन्ट मार्ट भैरहवामा रहेको पहिलो आउटलेटको उपभोक्ताको बढ्दो मागलाई मध्यनजर गर्दै विस्तार गरिएको कम्पनीले जनाएको छ ।  नयाँ शाखाको उद्घाटन यसोदा फुड्सका निर्देशक मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर नतसी योगराज पाण्डेले गरेका थिए । कार्यक्रममा निर्देशक घिमिरेले करेन्ट मार्टको अबको भविष्य र योजनाबारे जानकारी गराएका थिए । यस्तै, कम्पनीका एरिया सेल्स म्यानेजरहरू सोनी पासैनी, विमला खाती र सपना भुसाल लगायतको उपस्थिति रहेको थियो । यसका साथै ग्राहकहरूको समेत उल्लेखनीय सहभागिता देखिएको कम्पनीले जनाएको छ ।  नवनिर्मित करेन्ट मार्टमा उपभोक्ताले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू सहज रूपमा प्राप्त गर्न सक्नेछन् । जसमा करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न स्न्याक्स, चिज बल्स, स्टिक्स, पोट्याटो क्र्याकर्सका साथै चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया उपलब्ध छन् ।  त्यसैगरी जिरा पाउडर, धनियाँ पाउडर र रातो खुर्सानी पाउडर जस्ता मसला सामग्रीहरू पनि मार्टमा पाइने कम्पनीले जनाएको छ । ‘भैरहवाका उपभोक्ताले करेन्ट मार्टप्रति देखाएको विश्वास र माया नै हामीलाई राजधानीसम्म सेवा विस्तार गर्न प्रेरणा बनेको हो । अब काठमाडौंका उपभोक्ताले पनि कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ’, यसोदा फुड्सका अध्यक्ष चन्न प्रसाद पौडेलले भने ।  यसअघि कम्पनीले अनामनगर र शंखमूलमा ‘करेन्ट पोइन्ट’मार्फत नुडल्स पारखीलाई सेवा दिँदै आएको थियो । नयाँ करेन्ट मार्टले भने यसोदा फुड्सका सबै प्याकेज्ड फुड उत्पादनहरू एकै स्थानबाट खरिद गर्ने सुविधालाई अझ सहज बनाउने विश्वास लिइएको छ ।  सन् २०१७ मा स्थापना भएको यसोदा फुड्स प्रा. लि. नेपालकै अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनीमध्ये एक हो। गुणस्तर र नवीनतामा निरन्तर ध्यान दिँदै आएको कम्पनीले छोटो समयमै नेपाली उपभोक्ताको मन जित्न सफल भएको छ । ‘करेन्ट’ ब्रान्डअन्तर्गत उत्पादन हुने विभिन्न पिरो र स्वादिष्ट चाउचाउहरू विशेषगरी युवापुस्तामाझ अत्यधिक लोकप्रिय छन् । हाल कम्पनीले आफ्ना उत्पादनहरू नेपालसहित विश्वका २२ भन्दा बढी देशहरूमा निर्यात गर्दै नेपाली स्वादलाई अन्तर्राष्ट्रिय बजारमा चिनाउँदै आएको छ । 

माघ २८ गतेदेखि पुनः सञ्चालनमा आउँदै कोटेश्वरको भाटभटेनी, अन्य स्टोर पनि सञ्चालनको तयारीमा

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा आगजनीबाट क्षति भएको कोटेश्वरको भाटभटेनी पुनः सञ्चालनमा आउने भएको छ । सुपारमार्केटका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पाणु पौडेलका अनुसार यही माघ २८ गतेबाट उक्त स्टोर सञ्चालनमा आउन लागेको हो । सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले सोमबार (आज) बिहान आगलागीबाट क्षति भएको सुपरमार्केटको सञ्चालनका लागि पूजाआजा गरेका छन् । त्यसअघि पनि राजावादी आन्दोलनमा उक्त स्टोरमा लुटपाट र तोडफोड हुँदा क्षति पुगेको थियो । स्टोर तोडफोड भएको भोलिपल्ट नै उक्त सञ्चालनमा आएको थियो । कोटेश्वरको भाटभटेनीसँगै २ हप्तापछि महाराजगञ्जको स्टोर पनि सञ्चालनमा आउने तयारी भइरहेको सीओओ पौडेलले जानकारी दिए । उनका अनुसार जेनजी आन्दोलनको क्रममा क्षति पुगेका अन्य स्टोरहरू पनि पुनःनिर्माण सम्पन्न भई आउने क्रममा छन् । सुपारमार्केटले आन्दोलनको तीन महिनापछि बालुवाटारस्थित मुख्य गोदाम सञ्चालनमा ल्याएको थियो । भदौ २४ गते जेनजी आन्दोलनकर्ताहरूले काठमाडौंसहित देशभर भएका २८ स्टोरमध्ये २१ स्टोरमा क्षति पुर्‍याएका थिए । आगजनी र तोडफोडमा भाटभटेनी सुपरस्टोरका २१ वटा स्टोरमा गरी १० अर्ब ८५ करोड ६७ लाख ९८ हजार ८५४ रुपैयाँ बराबरको क्षति भएको देखिएको थियो । २१ मध्ये बालुवाटारस्थित मुख्य स्टोरसहित १२ वटा स्टोर पूर्णरूपमा आगजनी भएको थियो भने बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो । यसअघि प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरुङले १२ वटा स्टोर पूर्णरूपमा जलाइएको र बाँकी ९ वटामा आंशिक क्षति पुर्याइएको जानकारी गराएका थिए । उनले भाटभटेनीमा कार्यरत १० हजार बढी कर्मचारीलाई बिदा नगर्ने योजना रहेको बताउँदै दशैं बोनस पनि पूरा महिनाको प्रदान गर्ने जनाएका थिए । प्रधानमन्त्रीसँगको भेटमा गुरुङले राज्यले चाहेमा आफूले आधा सम्पत्ति प्रदान गर्न तयार रहेको पटकपटक प्रतिवद्धता जनाउँदा पनि भाटभटेनीमाथि नै ‘टार्गेट’ गरिएको बताएका थिए। भाटभटेनीका १२ वटा पूर्ण क्षति भएका र आंशिक क्षति भएका ९ वटा गरी १९ वटा स्टोरमा ४ अर्ब ४० करोड ६ लाख ५४ हजार ६०३ रुपैयाँ बराबरको क्षति भएको छ भने ५ अर्ब ९६ करोड ३ लाख ६७ हजार ५९६ रुपैयाँ बराबरका सामग्री पूर्णरूपमा जलाइएको छ । ४९ करोड ५७ लाख ७६ हजार ६५५ रुपैयाँ बराबरका सामग्री तोडफोड र लुटपाट गरिएको छ ।

तोकिएको समयमा निष्पक्ष निर्वाचन हुन्छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सभाको बैठकलाई सोमबार पहिलोपटक सम्बोधन गर्दै तोकिएको समयमा स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा प्रतिनिधि सभाको निर्वाचन हुने विश्वास व्यक्त गरेकी छन् ।  यही माघ ४ गतेदेखि सुरु भएको सभाको १९औं अधिवेशनअन्तर्गतको पाँचौं बैठकमा प्रधानमन्त्री कार्कीले सम्बोधन गर्दै सरकारका प्राथमिकताका रूपमा रहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी र सुशासनका क्षेत्रमा भइरहेका कामबारे सदस्यहरूलाई जानकारी दिइन् ।  उनले आफू कुनै शासकीय आकाङ्क्षा बोकेर नभई विषम परिस्थितिमा प्रधानमन्त्री भएकाले तोकिएको सयमा प्रतिनिधि सभाको निर्वाचनबाट बन्ने नयाँ सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्न आफू आतुर रहेको पनि स्पष्ट गरिन् । प्रधानमन्त्री कार्कीले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको अवस्थामा गठित अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीले  राष्ट्रिय सभाको हालै भएको निर्वाचनमा विजयी सदस्यहरूलाई बधाई पनि दिइन् ।  प्रधानमन्त्री कार्कीले ‘विकास, आर्थिक मामिला तथा सुशासन’ समितिका सभापति कमला पन्तबाट प्रस्तुत ‘राष्ट्रिय सदाचार नीतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ माथिको छलफलमा सदस्यहरूले उठाएका प्रश्नको जवाफ पनि दिइन् ।

जापान नेपालको भरोसायोग्य विकास साझेदार हो : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल-जापान कूटनीतिक सम्बन्धको ७०औं वार्षिकोत्सव द्विपक्षीय सम्बन्धको एक कोशेढुङ्गा भएको बताएका छन् । उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा जापान एक महत्त्वपूर्ण तथा विश्वासिलो विकास साझेदार रहेको र नेपालको विकास प्रक्रियामा जापानले महत्वपूर्ण भूमिका खेलेको बताएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।  जापानको औपचारिक भ्रमणमा रहेका राष्ट्रपति पौडेलसँग जापानका विदेश राज्यमन्त्री होरी इवाओले सोमबार गरेका शिष्टाचार भेटका अवसरमा राष्ट्रपति पौडेलले सो धारणा व्यक्त गरेका हुन् । ‘जापानले नेपाललाई द्विपक्षीय अनुदान र ऋण, बहुपक्षीय सहायता तथा प्राविधिक सहयोग गर्दै आएको छ जस्ले मानव संसाधन विकास, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृति जगेर्नाका क्षेत्रमा उल्लेख्य भूमिका खेलेको छ, यी क्षेत्रहरुमा जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट हामी अझै लाभान्वित हुन चाहन्छौं’, भेटमा राष्ट्रपति पौडेल भने ।  नेपाल सन् २०२६ मा अति कम विकसित राष्ट्रहरूको श्रेणीबाट स्तरोन्नतिका क्रममा रहेको र यसमा नेपालले सदाझैँ जापानबाट सद्भाव र सहयोग प्राप्त गर्ने उनले विश्वास व्यक्त गरे । ‘नेपालको विकास प्राथमिकताका क्षेत्रमा जापानी लगानी आकर्षित गर्ने ठूलो सम्भावना छ, हामीले नेपालमा व्यापार सहज बनाउन, विदेशी लगानी आकर्षित गर्न र नवप्रवर्तनलाई प्रवद्र्धन गर्न कानुनी, प्रक्रियागत र संस्थागत सुधार गरिसकेका छौं’, राष्ट्रपति पौडेलले भने ।   सांस्कृतिक रुपमा दुई मुलुक गौतम बुद्धको शिक्षाबाट प्रेरित रहेको तथा बुद्धको जन्मस्थल लुम्बिनीले नेपाल र जापानका जनताबीच बलियो पुलको काम गरेको सन्दर्भ उल्लेख गर्दै उनले लुम्बिनीको विकासमा जापानले पुर्‍याएको सहयोगप्रति आभार प्रकट गरे । जापानको सामाजिक–आर्थिक क्षेत्रमा आप्रवासी नेपाली समुदायको योगदानले द्विपक्षीय सम्बन्धलाई कुनै न कुनै रुपमा बलियो बनाउन मद्दत पु¥याएको उनको भनाइ थियो ।  सो अवसरमा जापानका विदेश राज्यमन्त्री इवाओले गत भदौ २३ र २४ गते नेपालमा भएको प्रदर्शनीपछि  संविधान र लोकतन्त्रको रक्षाका लागि  राष्ट्रपति पौडेलले खेलेको भूमिकाप्रति देशबाहिर पनि अत्यन्त प्रशंसा भएको बताउँदै शान्ति, स्थायित्व र लोकतन्त्रको सुदृढीकरणका लागि जापानले सधैँ सहयोग गर्ने बताएका थिए ।  जापानी राज्यमन्त्रीले नेपालको शान्ति र समृद्धि भनेको यो क्षेत्रकै शान्ति र विकास भएको उल्लेख गर्दै दिगो शान्ति र स्थायित्वका लागि आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न होस् भन्ने जापानको अपेक्षा रहेको बताएका थिए ।  यसैगरी उनले नेपालको विकासमा जापानका तर्फबाट निरन्तर सहयोग हुने विश्वास दिलाउँदै बाढीबाट क्षतिग्रस्त काठमाडौं–सिन्धुली सडकको पुनर्निर्माण र काठमाडौं-कोटेश्वरको सवारी व्यवस्थापन गर्न आवश्यक ‘अन्डर पास’ निर्माण गर्ने निर्णय गरिसकेको पनि जानकारी दिएका थिए ।  नेपाल र जापान बीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औं वर्षगाँठका अवसरमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल, प्रथम महिला सबिता पौडलसहितको नेपाली प्रतिनिधिमण्डल अहिले जापानमा उच्चस्तरीय भेटघाटमा व्यस्त छ । ४ दिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति पौडेल आइतबार राति जापान प्रस्थान गरेका हुन् । 

छोरी जन्माउने अभिभावकलाई ३ हजार भत्ता

काठमाडौं ।  बेल्डाँडी गाउँपालिकाले छोरी जन्माउने अभिभावकलाई प्रोत्साहन स्वरुप ३ हजार रुपैयाँ भत्ताको व्यवस्था गरेको छ । गाउँपालिकाले लैङ्गिक विभेद हटाउने उद्देश्यले छोरी जन्माउने आमालाई ३ हजार रुपेयाँका दरले प्रोत्साहन भत्ताको व्यवस्था गरेको हो ।  गाउँपालिका उपाध्यक्ष शान्ती नाथले पछिल्लो समय लिङ्ग पहिचान गरी गर्भपतन गर्ने प्रवृत्ति बढेकाले त्यसलाई रोक्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएको बताइन् । ‘आर्थिक वर्ष २०७९/८० बाट ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमअन्तर्गत छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ताको व्यवस्था गरिएकोे हो’, उपाध्यक्ष नाथले भनिन्, ‘हालसम्म ३५३ आमाले छोरी जन्माएवापत प्रोत्साहन भत्ता पाएका छन् ।’  उनका अनुसार चालु आर्थिक वर्षमा ४० आमालाई छोरी जन्माएवाफत प्रतिव्यक्ति तीन हजारका दरले प्रोत्साहन भत्ता वितरण गरिएको छ । प्रोत्साहन भत्ता लिन आउँदा विवाह दर्ता र बालिकाको जन्मदर्ता ल्याउनुपर्ने भएकाले यसले बालविवाहलाई रोक्ने अपेक्षा गरिएको छ । त्यसअघि पालिकाले सुत्केरी आमालाई पोषण भत्ता स्वरुप ५०० रुपैयाँ दिँदै आएको थियो ।  ‘उपाध्यक्ष कोसेली’ कार्यक्रमबाट पालिकामा गर्भपतिलाई एम्बुलेन्स सेवा निःशुल्क गरिएको छ भने जिल्ला सदरमुकाम वा बाहिर रेफर हुँदा एम्बुलेन्समा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । उपाध्यक्ष नाथले भनिन्, ‘यसले यहाँका नागरिकलाई निकै राहत भएको महसुस गरेका छौं ।’ उहाँले ३५ वर्ष नाघेका अविवाहित महिलालाई एकल महिला स्वरह मासिक २ हजार ५०० रुपैयाँ भत्ता दिने गरेको बताइन् ।  ‘पालिकाभित्र रहेका तेस्रो लिङ्गीलाई मासिक भत्ता दिने व्यवस्था गरिएको छ’, उनले भने, ‘टुहुरा बालबालिकालाई पोसाक भत्ता दिने कार्यविधि बनाएर कार्यान्वयन चरणमा छ ।’  

५ महिनापछि जलेको पुर्खौली घर पुगे पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री रमेश लेखक जेनजी आन्दोलनको ५ महिनापछि सोबमबार बिहान बेदकोट नगरपालिका-८ मा रहेको पुर्खौली घर पुगेका छन् । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते उनको पुर्खौली घर आन्दोलनकारीले आगजनी गरी पूर्णरुपमा नष्ट गरेका थिए ।  आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा पार्टी उम्मेदवारको पक्षमा माहोल बनाउन गृहनगर पुगेका कांग्रेसका नेतासमेत रहनुभएका पूर्वगृहमन्त्री लेखकले जलेको घरको अवस्थाबारे स्थलगत जानकारी लिए । लेखकको काठमाडौंको नैकापमा रहेको घर, बेदकोट-८ मा रहेको पुर्खौली घर पूर्णरुपमा जलेर नष्ट भएको छ । महेन्द्रनगरस्थित बजारमा रहेको घर मर्मत गरी उनी आश्रय लिरहेका छन् । पहिलो पटक पुर्खौली घर पुगेका नेता लेखकले स्थानीयसित साक्षात्कार गरे । स्थानीयवासीले गाउँमा भइरहेको सडक पूर्वाधारलगायत विकासका बारेमा जानकारी गराएका थिए । कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट २०७९ सालको निर्वाचनमा जित हासिल गर्दै गृहमन्त्री बन्नुभएका लेखक यसपटक भने उम्मेदवार छैनन् ।  नेपाली कांग्रेसले डडेल्धुरामा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा र नेता लेखकलाई टिकट दिएन । पार्टीले यहाँ पूर्वजिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार बनाएपछि नेता लेखकले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् । 

सर्वोच्चले खारेज गर्‍यो बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष ओझाको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणका तत्कालीन अध्यक्ष शरद ओझाको अल्पकालीन अन्तरिम आदेश खारेज गरेको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले यसअघि गत भदौ २३ मा जारी गरेको अल्पकालीन खारेज गरिदिएको हो । अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै अब ओझा प्राधिकरण फर्किने बाटो बन्द भएको छ । सरकारले छानविन समितिलाई दिएको कार्यदिशा नै कानुन बमोजिम नभएको भन्ने निवदेन भन्ने जिकिर सो प्रश्न निवदेनको अन्तिम किनारा हुँदाका बखत निरूपरण हुनुपर्ने प्रकृतिको देखिएकोले सो समितको प्रतिवेदनबमोजिम भएको निर्णय र कामकारवाही रोक लगाउनेगरी अन्तरिम आदेश जारी गर्नुपर्ने नदेखिएको सर्वोच्चको ठहर छ ।  सर्वोच्चद्वारा जारी पत्रमा भनेको छ, ‘नेपाल सरकारले सो छानविन समितिलाई दिएको कार्यादेश नै कानून बमोजिम नभएको भन्न निवेदन जिकिर भएतापनि सो प्रश्न प्रस्तुत निवेदनको अन्तिम किनारा हुँदाका बखत निरूपण हुनुपर्ने प्रकृतिको देखिँदा हाल सो समितिको प्रतिवेदन बमोजिम भए गरेको निर्णय र काम कारवाही रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्नु उचित देखिएन । तसर्थ यस अदालतबाट मिति २०८२/०५/२३ मा जारी अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिइरहनु परेन। कानून बमोजिम गर्नू ।’ २०८१ फागुन १२ गते बसेको बसेको मन्त्रिपरिषद बैठकले ओझालाई प्राधिकरण अध्यक्षमा नियुक्त गरेको थियो । नियुक्ति भएदेखि नै उनी विवादित बन्न पुगेका थिए । योग्यता नै नपुगी झुटो कागजात पेश गरेर अध्यक्ष बनेको भन्दै उनीविरुद्ध अख्तियारमा उजुरी परेको थियो । २०८२ असार ३० गतेको मन्त्रिपरिषद् बैठकले बीमा प्राधिकरणका अध्यक्ष ओझाबारे छानबिन गर्न पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति बनाएको थियो । छानबिन समिति गठन भएसँगै अध्यक्ष ओझा स्वतः पदमुक्त भएका थिए ।