विकासन्युज

दशैंमा दरबारमार्ग सुनसान, भाटभटेनीको व्यापार फस्टायो

काठमाडौं । नवरात्री सुरु भएको झण्डै एक साता बितिसक्यो । तर दरबारमार्गका पसलहरु सुनसान छन् । देशको प्रमुख पर्यटकीय व्यापारिक केन्द्र दरबारमार्गमा पर्यटकको समेत चहलपहल छैन । आपूर्ति मन्त्रालयको अनुगमनपछि दरबारमार्गको कारोबारमा ह्रास आएको व्यवसायी बताउँछन् । दरबारमार्ग विकास बोर्डका अनुसार दरबारमार्गमा करिब दुई सयवटा पसलहरु छन् । आपूर्ति मन्त्रालयले दुई साता अघि गरेको अनुगमनका क्रममा ठगी गरेको पाइएपछि केही पसलहरु सिल गरिदिएपछि विरोध गर्दै दरबारमार्गका सबै पसलहरु बन्द भएका थिए । सिलबन्दीको विरोधमा नौ वटा पसलका व्यवसायीले पसल बन्द गरेका थिए । बढी नाफा लिएर सामान बिक्री गरेको पाएपछि दरबारमार्गका नाइक,वेन्टले, स्टोर वान र पुमाको ब्राण्डेड पसलमा सिलबन्दी गरिएको थियो । बिलविजकमा १० गुणासम्म नाफा लिएको तथा नाइकले २ हजार ६ सयमा ल्याएको जुत्ता २६ हजार रुपैयाँमा बिक्री गरेको पाइएको थियो । दैनिक झण्डै १ करोड रुपैयाँ बराबर कारोबार रहेको दरबारमार्गमा अहिले व्यापार घटेको बोर्डका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतिले जानकारी दिए । उनका अनुसार नियमितको तुलनामा दसैंमा कारोबार तीन गुणाले बढ्ने गरेको थियो । यसपाली दसैंमा मुश्किलले दैनिक एक करोड कारोबार भइरहेको उनले जानकारी दिए । अनुगमनपछि उपभोक्ताले दरबारमार्गका व्यवसायीलाई ’ठग’को रुपमा बुझ्न थालेको उनले बताए । उनले भने, ’सरकारले अनुगमन गरेर सिलबन्दी गरेपछि दरबारमार्गललाई ठगी गर्ने अड्डाको दृष्टिकोणबाट हेरिएको छ । अहिले दरबारमार्गमा कारोबार सुकेको छ ।’ फस्टायो भाटभटेनी उच्चवर्गका उपभोक्ताको प्रमुख बजारमध्ये भाटभटेनी सुपरमार्केटमा भीडभाड बढेको छ । भाटभटेनीमा पछिल्लो दसैंको तुलनामा यसपाली १० प्रतिशतले व्यापार बढेको सुपरमार्केटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पानु पौडेलले जानकारी दिए । उनले भने, ’किराना पसलभन्दा पनि सस्तो मूल्यमा सामान खरिद गर्न पाउने भएकाले भाटभटेनीमा उपभोक्ताको आकर्षण बढ्दो छ ।’ भाटभटेनीमा सामान्यभन्दा दसैंमा तुलनात्मक रुपमा ३० देखि ३५ प्रतिशतले कारोबार बढ्ने गरेको पौडेलले बताए । ब्राण्डेड सामान पनि सस्तो मूल्यमा पाइने भएकाले उपभोक्ताको बाक्लो भीड लागेको उनले बताए । दसैंका अवसरमा भाटभटेनीले सामानहरुमा आक्रमक योजना ल्याएको छ । भाटभटेनीमा सामान खरिद गर्दा ५ देखि १५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको पौडेलले बताए । भृकुटीमण्डपमा पनि गत बर्षहरुको तुलनामा उपभोक्ताको भिड र व्यापार दुबै बढेको व्यवसायीहरुले बताएका छन् । दरबारमार्गमा यसपाली सेलमेलाको आकर्षण घटेको र सटरहरुकै व्यापार पनि भृकुटीमण्डप सरेको व्यवसायी एककृष्ण पौडेलले बताए । उपभोक्तामा दरबारमार्ग र भृकुटीमण्डप लगायतका बजारमा पाइने समान उस्तै हुन भन्ने सन्देश गएकाले व्यापार बढेको उनले बताए ।

नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंमा २२ वटा शाखा खुलाउने, हेनुर्स कहाँबाट दिदै छ सेवा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले दशैंको अवसरमा आफ्ना विभिन्न स्थानका २२ वटा शाखाहरु सुचारु गराउने भएको छ । बैंकले बिदाका समयमा उपभोक्ताहरुलाई बैंकिङ कारोबारमा सहजता होस् भन्ने उदेश्यले विभिन्न शाखा विभिन्न मितिमा खुल्ला राख्ने बताएको छ । बैंकको मुख्य कार्यालय दरबारमार्ग बिहान ९ देखि १२ बजेसम्म सबै बिदाका दिन खुल्ने छ भने अन्य शाखा कार्यालयहरु तल उल्लेखित दिन र समयमा सुचारु हुने बैंकले जनाएको छ । त्यसैगरी, बैंकले काठमाडौंको ठमेलस्थित सातघुम्ती  ९९  एटिएम सेवा बिस्तार गरेको छ । पर्यटकहरुको बक्लो आवतजावत हुने ठमेलमा स्थानीय उपभोक्तालाई तत्काल बैंकिङ कारोबार गर्न सजिलो होस भन्ने उदेश्यले एटिएम सेवा विस्तार गरिएको हो । बैंकले यसअघि देशका विभिन्न स्थानमा रहेका ९८ वटा एटिएम मार्फत आफ्ना ग्राहकलाई बैंकिङ सेवा दिदै आइरहेको छ । ९ अर्ब २४ करोड रुपैयाँ चुक्ता पूंजी रहेको बैंकले ८ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्ना ६१ वटा शाखाहरू र विभिन्न शाखारहित बैंकिङ सुविधाहरूबाट सेवा पुर्याउँदै आएको छ । बैंकको हाल ४ लाखभन्दा बढी भिसा कार्ड प्रयोगकर्ता रहेका छन् ।

सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला पाइएन भन्नु गलत: मुरारका

काठमाडौ  । नेपाली सिमेन्ट उद्योगीले नेपाल विद्युत् प्राधिकरणले चाहेमा उच्च गुणस्तरको सिमेन्ट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । प्राधिकरण र उसका सहायक कम्पनीले निर्माण गरिरहेका जलविद्युत् आयोजनामा सिमेन्ट अभावका कारण निर्माण रोकिने अवस्था आएपछि उनीहरुले गुणस्तरयुक्त सिमेन्ट उपलब्ध गराउन आफूहरु तयार रहेको बताएका हुन् । प्राधिकरणले अगाडि बढाएको माथिल्लो त्रिशूली थ्री ए, प्राधिकरणको सहायक कम्पनी चिलिमेले निर्माण गरिरहेको माथिल्लो साञ्जेन, साञ्जेन, रसुवागढी र माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले निर्माण गरिरहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनामा सिमेन्ट अभाव देखिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले प्रतिआयोजनामा दैनिक १००देखि २०० टनसम्म सिमेन्ट आवश्यक पर्ने जानकारी दिए । सरकारी आयोजनामा प्रयोग हुने सिमेन्ट आयात गर्दा मूल्य अभिवृद्धि कर तिर्नु नपर्ने र सोझै आयोजनास्थलमा पुग्ने गरेका छन् । तर नेपाली सिमेन्टले भने १३ प्रतिशत मूल्य अभिवृद्धि कर तिर्नु पर्छ । नेपाली बजारमा कुनै पनि प्रकारका सिमेन्ट अभाव नभएको सिमेन्ट उद्योगीको भनाइ छ । सिमेन्ट अभाव भए सिमेन्ट उद्योगले २० बोरा किन्दा एक बोरा छुटको योजना दिएर किन बजारमा आउँथे भन्ने उद्योगीको भनाइ छ तर प्राधिकरणले भने नेपाली सिमेन्ट तत्काल नजम्ने भएकाले सबै निर्माण कार्यमा प्रभावकारी नहुने जनाउँदै आएको छ । भारतीय सिमेन्टलाई पनि नापतौल तथा गुणस्तर विभागले गुणस्तर चिह्न लिनुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ । चालू आवको बजेट वक्तव्यमा नेपाल आयात हुने सबै प्रकारका सिमेन्टले गुणस्तर चिह्न लिनैपर्ने उल्लेख छ । नेपालका अधिकांश सरकारी आयोजनाले नेपाली सिमेन्ट प्रयोग गर्ने गरेका छैनन् तर प्राधिकरणले भने नेपाली सिमेन्ट शतप्रतिशत गुणस्तरीय नरहेको बताउँदै आएको छ । अर्घाखाँची सिमेन्ट उद्योगका सञ्चालकसमेत रहनुभएका नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष पशुपति मुरारका नेपाली सिमेन्ट नबिकेर अनेकन योजना ल्याइरहेका बेला बजारमा सिमेन्ट पाइएन भन्नु गलत भएको बताउनुहुन्छ । चाडबाडको समयमा सिमेन्ट उद्योग दैनिक एक कार्यसमय मात्रै चलेको र बजारमा कुनै पनि प्रकारको अभाव नभएको र ‘स्टेन्थ चेक अप’को नाममा नेपाली सिमेन्ट प्रयोग नभएको उनकाे भनाइ छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाले नेपाली सिमेन्ट प्रयोग गरेर नै आयोजना बनाइरहेको र अधिकांश नेपाली सिमेन्टले गुणस्तर चिह्न लिइसकेका बेला भारतीय सिमेन्ट पनि उक्त चिह्न लिनुपर्छ भन्ने विषय जायज भएको पूर्व अध्यक्ष मुरारकाको भनाइ छ । चालू आवको बजेट वक्तव्यमा सरकारले नेपाली सिमेन्ट उद्योगको पक्षमा निर्णय गरेको छ तर सोही प्रावधान हटाउन भारतीय सिमेन्ट आयातकर्ताले अनावश्यक हल्ला फिजाएको र आयोजनामा सिमेन्ट पाइएन भन्नेजस्ता दुस्प्रचार गरेको उद्योगीको भनाइ छ । नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा कुनै पनि प्रकारको सिमेन्ट अभाव नभएको बताउछन् । “सबै हल्ला हुन्, बजारमा पर्याप्त मात्रामा सिमेन्ट छ”, उनकाे जोड छ । नेपाली सिमेन्ट उद्योगीले उत्पादन गरेको सिमेन्ट भारतीय बजारमा लैजाँदा आइएसआई चिह्न लिनैपर्ने बाध्यकारी व्यवस्था छ । नेपाल आउने सिमेन्टले पनि नेपाली गुणस्तर प्रमाणपत्र चिह्न लिनै पर्ने प्रावधान जायज र नेपाली सिमेन्ट उद्योगको हितमा रहेको उद्योगीको भनाइ छ । पछिल्लो समयमा नेपाली सिमेन्ट उद्योगसमेत बढेको र उत्पादन क्षमतासमेत बढेका कारण आन्तरिकरुपमा नै आत्मनिर्भर हुने अवस्थामा पुगेको कसमस सिमेन्ट उद्योगका प्रबन्ध निर्देशक प्रबलजंग पाण्डे बताउछन् । नेपाली सिमेन्ट उद्योगलाई पनि मूल्य अभिवृद्धि कर छुट दिएर आयोजनामा लगाउनुपर्ने उनकाे भनाइ छ । नेपाली सिमेन्ट उद्योगले उत्पादन गरेको सिमेन्ट नापतौल तथा गुणस्तर विभागले परीक्षण गर्ने गरेको र उसको शर्त बमोजिम नै उत्पादन भएको दाबी गर्दैे बजारमा सिमेन्ट अभाव भयो, आयोजना रोकिए भन्ने विषय नै गलत भएको पाण्डे बताउनुहुन्छ तर नेपाली सिमेन्ट उद्योगमध्ये केही सिमेन्ट छिटो नजम्ने हुन नसक्ने र केही समय लाग्ने भएकाले पनि प्राधिकरण र उसका सहायक कम्पनीले लिन अस्वीकार गरेको हुन सक्ने देखिन्छ । प्राधिकरणले भने दुई महिनासम्म लगाएर स्टेन्थ चेक अप गराउनुपर्ने भए पनि परीक्षणमा नआएको बताउने गरेको छ । उदयपुर हेटौँडा सिमेन्टको स्ट्रेन्थ पुग्ने भए पनि मागअनुसार आपूर्ति गर्न नसक्ने प्राधिकरणको भनाइ छ । अधिकांश नेपाली सिमेन्ट उद्योगले ४३ ग्रेडको सिमेन्ट उत्पादन गर्दै आएका छन् । नापतौल तथा गुणस्तर विभागले ५३ ग्रेडको मान्यता दिएको छैन । सोही कारण आयातकर्ताले गलत प्रचार गराएको उद्योगीको भनाइ छ । भारतबाट कति परिमाणमा सिमेन्ट आयात हुने हो, त्यसको कुनै लेखाजोखा छैन । नेपाली उद्योगको विकास र विस्तार गर्ने हो भने गुणस्तरयुक्त सिमेन्ट उत्पादनमा समेत जोड दिनुपर्ने छ । तर त्यसतर्फ कुनै ध्यान दिइएको छैन । हाल तीन दर्जन सिमेन्ट उद्योग देशभर सञ्चालनमा छन् । तिनीहरुले दैनिक ३० हजार टन बढी सिमेन्ट उत्पादन गर्छन् तर गुणस्तरको विषय देखाएर सिमेन्ट अभाव भयो भनेर गरिने प्रचार भने गलत भएको उद्योगीको भनाइ छ । रासस

इन्च्यान्टर मिस टिन नेपाल २०१७ को ताज सन्जु मोक्तानलाई

काठमाडौं । जेसिस्द्वारा आयोजना गरिएको ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ यहि असोज ६ गते नेपाल एकेडेमीहलमा भव्यताका साथ सम्पन्न भएको छ । इन्च्यान्टरको प्रायोजन र रिलायन्स पेन्ट्सको सह–प्रायोजनमा आयोजित मिस टिन २०१७को १५ औं संस्करणमा १६ देखि १९ वर्षका २७ जना प्रतियोगीहरुले मिस टिन ताजका लागि प्रतिस्पर्धा गरेका थिए । उक्त २७ प्रतियोगीहरु मध्ये सन्जु मोक्तान ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ बन्न सफल भएकी थिइन भने मेरी लिम्बू फस्ट रनर–अप र दिया मन्डल सिजापति सेकेन्ड रनर–अप बन्न सफल भएकी थिइन् । ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ कोेमन्चले विगतका वर्षहरुदेखि नारीहरुलाई हौसला र आत्मविश्वास प्रदान गर्दै आएको छ । विश्वभर नारी सौन्दर्यलाई प्राथमिक्ता दिदैं आएको इन्च्यान्टरको प्रायोजनमा आयोजित उक्त ‘इन्च्यान्टर मिस टिन नेपाल २०१७’ लाई सफल बनाउनु हुने सबैमा इन्च्यान्टर कृतज्ञ रहेको विज्ञप्तिमा जारी गरिएको छ ।

३० बर्षे कार्यकाल हटाउने राष्ट्र बैंकको निर्णय, कर्मचारीको वृद्धि विकास अध्ययन गर्न सुझाव समिति

काठमाडौं । काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले कर्मचारीको ३० बर्षे कार्यकाल सिमा हटाउने निर्णय गरेको हो । ‘३० बर्षे कार्यकालको व्यवस्था हटाउने निर्णय सञ्चालक समितिले गरेको छ र लोक सेवा आयोगसँग रायसुझाव मागिएको छ’, राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भने । ३० बर्षे कार्यकालको सिमा हटाउन नहुने पक्षमा रहेका कर्मचारी युनियनहरुको मागको सुनुवाई गर्न बैठकले सञ्चालक रामजी रेग्मीको नेतृत्वमा दुई जना डेपुटी गभर्नर र प्रवक्ता नारायण पौडेल सदस्य रहेको समिति समेत गठन गरेको छ । ३० बर्ष उमेर हद हटाउँदा कर्मचारीको वृद्धि विकासमा पर्ने असरको न्युनिकरणका लागि अध्ययन गर्न गठित समिति नाम दिइएको उक्त समितिले राष्ट्र बैंकको संघिय संरचनाबारे पनि आवश्यक सुझाव दिनेछ । राष्ट्र बैंकको संरचनालाई संघियता अनुसार परिमार्जन गरेर पनि कर्मचारीहरुको वृद्धि विकासमा असर पर्न नदिने योजनासहित ३० बर्षे कार्यकालको सिमा हटाइएको सहायक प्रवक्ता पण्डितले बताए । कर्मचारी आन्दोलनमा काँग्रेस निकट कर्मचारी युनियनका महासचिव राजिव रेग्मीले ३० बर्षे कार्यकाल हटाउन नहुने पक्षमा आफ्नो संगठन उभिएको बताए । ‘हाम्रो संगठनले ३० बर्षे कार्यकाल हटाउन नहुने स्पष्ट निर्णय गरेको छ, व्यवस्थापनले जबरजस्ती गरेको छ, त्यसकारण हामीले आन्दोलन सुरु गरेका छौंं’, महासचिव रेग्मीले भने । उनले सञ्चालक समिति मात्रै राष्ट्र बैंक हो भन्ने मान्यता नत्यागे गम्भिर परिणाम आउने चेतावनी पनि दिए । एमाले निकट कर्मचारी युनियनले पनि मंगलबारदेखि आन्दोलन गर्ने घोषणा गरेको छ ।

युनाईटेड इन्स्योरेन्सका सेयरधनीले २२ प्रतिशत लगानी गुमाए, नेप्से ८ अंकले बढ्दा युनाईटेडले २५ रुपैयाँले गुमायाे

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका लगानीकर्ताले तीन महिनाको अन्तरालमा प्रतिसेयर करिब चार सय रुपैयाँ गुमाएका छन् । गत साउन ११ गते कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६६ रुपैयाँ रहेको थियो । सोमबार यस कम्पनीको सेयर मूल्य घटेर प्रतिकित्ता १२९५ रुपैयाँमा कारोबार भयो । यस कम्पनीका लगानीकर्ताले ३ महिनामा २२ प्रतिशतभन्दा बढी गुमाई सकेका छन् । यस कम्पनीको सेयर मूल्य अझै घट्ने संकेत देखिएको छ । सोमबार नेप्से परिसूचक ८.५२ अंकले वृद्धि हुँदा युनाईटेड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य प्रतिकित्ता २५ रुपैयाँले घटेको छ । यस कम्पनीको प्रवद्र्धक चौधरी ग्रुपमा अन्तरगत रहेको हाउजिङ कम्पनी ‘सिटीस्केप’मा भूकम्पले क्षति पुर्याएपछि उक्त कम्पनीले ५४ करोड ३७ लाख ५१ हजार २ सय ८८ रुपैंयाँ दावी गरेको छ । तर रि इन्स्योरेन्स कम्पनीले १५ करोड २७ लाख ४८ हजार ७ सय ९९ रुपैंयाँ मात्रै भुक्तानी दिँदा कम्पनीको वित्तीय अवस्था नराम्ररी विग्रिएको छ । यस कम्पनीले २०७३ असार मसान्तमा अपरिकृत प्रतिवेदन प्रकाशित गर्दा सो आर्थिक वर्षमा ८ करोड २५ लाख रुपैयाँ खुद नाफा भएको र जगेडा कोषमा १५ करोड २३ लाख रुपैयाँ रहेको देखाएको थियो । तर पुर्नबीमाबाट भुक्तानी नआएपछि बीमा समितिको निर्देशन अनुसार ४४ करोड ९६ लाख ५८ हजार रुपैयाँ प्रोभिजनमा राखेको छ ।  कम्पनीले बीमा समितिमा स्वीकृतिको लागि पठाएको आर्थिक प्रतिवेदनमा कम्पनी २५ करोड रुपैयाँ नोक्सानमा गएको उल्लेख छ । २०७३ असार मसान्तसम्ममा यस कम्पनीको चुक्ता पुँजी २५ करोड रुपैयाँ हो । कम्पनीको नोक्सानी चुक्ता पुँजीभन्दा बढी देखिएकोले यस कम्पनीको सेयर मूल्यमा गिरावट देखिएको हो । यसअघि कम्पनीले आर्थिक वर्ष २०७२/७३ नाफाबाट १० प्रतिशत बोनस सेयर दिने घोषणा गरेर सेयर मूल्य १६६६ रुपैयाँ पुर्याउन मद्दत गरेको थियो । तर बीमा समितिले सो कम्पनीको आर्थिक प्रतिवेदन अस्वीकृत गर्दै करिव ४५ करोड रुपैयाँ प्रोभिजन गर्न निर्देशन दिएपछि कम्पनीले प्रस्ताव गरेको बोनस सेयर पनि रद्द भएको छ ।

एलजीको ८ केजीको वासिङ मेसिनले लियो बजार, छोटो समयमै अत्याधिक बिक्री

काठमाडौं । नेपालीहरुको महान चाड दशैं तथा तिहारको अवसरमा एलजीको ८ केजीको फ्रन्ट लोड वासिङ मेसिनले नेपालमा भित्रिएको छोटो समयमै बजार लिन सफल भएको छ । एलजीका आधिारीक विक्रेताका अनुसार हाल यस मेसिनको बिक्री अत्याधिक मात्रमा भइरहेको छ । विश्वकै पहिलो ६ मोसन ड्राइभ मोटर प्रविधियुक्त तथा इन्भटर डाइरेक्ट ड्राइभ मोटरमा १० वर्ष वारेन्टी भएको यस अत्याधुनिक ८ केजीको वासिङ मेसिनले छिटो छरितो सफालुगा एक घण्टा भन्दाकम समयमा एलजीको टुर्व वासले गर्दछ । उक्त फ्रण्ट लोडमा तीन हजार ४४० रुपैयाँ बराबरको पिजन ब्राण्डको सुपर कुकर उपहार दिएको कम्पनीले जनाएको छ ।

डा गोविन्द केसी फेरि अनशनमा

काठमाडौ । त्रिविवि चिकित्सा शास्त्र अध्ययन संस्थानका प्रा डा गोविन्द केसीले पाँच सूत्रीय माग राखी पुनः सत्याग्रह अनशन शुरु गरेका छन् । महाराजगञ्जस्थित सो संस्थाको हाताभित्र पत्रकार सम्मेलन गरी डा केसीले आफ्नो १२ औँ अनशन आजदेखि शुरु गरेका हुन् । सरकारले आजै व्यवस्थापिका–संसद्बाट बहुचर्चित एवं बहुप्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७४ लाई संशोधन नगरी पारित गर्न लागेको भन्दै उहाँले अनशन शुरु गरेका हुन् । यस अघि यही असोज २० गतेदेखि सत्याग्रह कार्यक्रम शुरु हुने भनिएको थियो । माथेमा प्रतिवेदन र आफ्ना सुझावलाई समेत समावेश गरी चिकित्सा शिक्षा ऐन पारित गर्नुपर्ने, सरकारले निर्धारण गरेअनुसार नै काठमाडौँ विश्वविद्यालयले एमबिबिएसको शुल्क लिनुपर्ने, त्रिविवि पदाधिकारीलाई पदबाट बर्खास्त गर्नुपर्ने केसीका माग रहेका छन् । यसैगरी, अन्य मागमा हालै बर्खास्त गरिएका नेपाल आयल निगमका कार्यकारी प्रमुखमाथि छानबिन गरी हिनामिना गरिएको भए सो रकम उसुलउपर गर्नुपर्ने, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको पठनपाठन तत्काल शुरु हुनुपर्ने, देशका विभिन्न भागमा मेडिकल कलेज स्थापना गर्ने कार्य अगाडि बढाउनुपर्ने र नेपाल चिकित्सक संघले उठान गरेका माग पूरा गर्नुपर्ने रहेका छन् । डा केसीले विगतमा आफूले उठान गरेका माग सम्बोधन नभएको बताउदै अाएका छन् ।