विकासन्युज

सर्वियाका राष्ट्रपतिद्वारा वाइवाइ प्लान्टको उद्घाटन, १२२ कम्पनीमा १० हजार जनालाई रोजगारीको अवसर

काठमाडौं । सर्वियाका राष्ट्रपति अलेक्जेण्डर भुचिसले आफ्नो देशको रुमामा स्थापित वाइवाइ चाउचाउ प्लान्टको उद्घाटन गरेका छन् । नेपाली ब्राण्ड वाइवाइलाई युरोपेली बजारमा उच्च महत्व दिदै नवनिर्मित प्लान्ट समुद्घाटनका लागि राष्ट्रपति भुचिस आफै सरिक भएको चौधरी ग्रपुले जनाएको छ । उक्त अवसरमा राष्ट्रपति भुचिसले सर्वियाको अर्थतन्त्रमा वाइवाइले सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । वाइवाइले सर्वियाको स्थानीय बजारको रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान गर्ने विश्वास गरिएको छ । समुद्घाटन समारोहमा सिजी कर्प ग्लोबलका अध्यक्ष विनोद चौधरीले युरोपेली बजारमा वाइवाइ प्रवेशका लागि सर्विया प्रस्थान विन्दू बनेको बताउदै वाइवाइको विश्वब्यापीकरण अभियानमा यो कोशेढुंगा सावित हुने विश्वास ब्यक्त गरेका छन् । अध्यक्ष चौधरीले सर्वियामा उत्पादीत वाइवाइ युरोपभरको बजारमा वितरण हुने जानकारी दिएका छन् । कच्चापदार्थ र दक्ष जनशक्तिको उपलव्धता एवं उत्पादनको लागत मूल्य लगायतको विश्लेषणका आधारमा उनले सर्विया आफ्नो ग्रुपका लागि युरोप प्रवेशको रणनीतिक केन्द्र बनेको पनि बताएका छन् । उक्त प्लान्टमा वाइवाइ उत्पादनका लागि हाल अन्तर्राष्ट्रिय बजारमा उपलब्ध पछिल्लो पुस्ताको मेशिनरी प्रयोग गरिएको छ । यस प्लान्टको उच्च व्यवस्थापनमा नेपाली व्यवस्थापकहरू रहेका छन् भने चार सयभन्दा बढी सर्वियाका स्थानीय नागरिकले रोजगारी प्राप्त गर्नेछन् । सिजीकर्प ग्लोबलका प्रवन्ध निर्देशक निर्वाण चौधरीले रुमाबाट एक हजार किलोमिटरको दुरीभित्रै युरोपका थुप्रै ठूला बजारहरु रहेकाले यहाँ उत्पादीत वाइवाइलाई युरोपको बजारमा प्रवेश गर्ने प्रवेशद्वारका रुपमा लिएको बताए । एसियामा लोकप्रिय ब्राण्डका रुपमा स्थापित वाइवाइ मध्यपूर्व र अमेरिकामा समेत लोकप्रिय खानाका रुपमा रुचाइँदै आएको छ । सर्वियाको सरकारी निकाय तथा स्थानीय प्रशासनको सहयोगले काम सुरु भएको १६ महिनाभित्रै प्लान्ट स्थापना गर्न सम्भव भएको भन्दै उनले सर्विया सरकार, सम्वन्धित कर्मचारीको प्रशंशा गरेका छन् । गत सेप्टेम्बरदेखि वाइवाइले उक्त प्लान्टबाट व्यवसायिक उत्पादन शुरू गरेको चौधरी ग्रुपले जनाएको छ । सीजीकर्प ग्लोबलले विश्वका ३० देशमा पूर्वाधार निर्माण, आतिथ्य सत्कार, वित्तीय क्षेत्र, खाद्य तथा पेय, इलेक्ट्रोनिक,जलविद्युत, शिक्षालगायतका क्षेत्रमा लगानी गर्दै आएको छ । यस ग्रुपले विश्वब्यापी रुपमा १२२ कम्पनी र ७६ ओटा ब्राण्ड व्यवस्थापन गरिरहेको र प्रत्यक्ष रुपमा दश हजार भन्दा बढी जनशक्तिले राेजगारीकाे अवसर पाएकाे चौधरी ग्रुपका जनरल म्यानेजर मधूसुधन पौडेलले जानकारी दिएका छन् ।

पुननिर्माण प्राधिकरणका सीईओ पोखरेललाई जिल्ला छाड्न निर्वाचन आयोगको निर्देशन

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रा.डा. गोविन्दराज पोखरेललाई प्यूठान छाड्न निर्देशन दिएको छ । चुनावमा उठ्न कार्यकर्तासँग भेटघाट गरी निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै आयोगले सीईओ पोखरेलसंग २४ घन्टे स्पष्टीकरण सोधेको छ । कांग्रेस जिल्ला कमिटीले उनको नाम आगामी चुनावका लागि उम्मेदवारमा पनि सिफारिस गरेको छ । चुनावका लागि नाम शिफारिश भएपछि पोखरेल प्राधिकरणको सीईओबाट राजिनामा दिने तयारीमा रहेका छन् । पोखरेलले असोज १० गतेदेखि प्युठानमा नेपाली काँग्रेसका कार्यकर्तालाई भेटघाट गरी निर्वाचन आचारसंहिता उलंघन गरेको भन्दै जिल्ला छाड्ने व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ ।  

अवैध रुपमा विद्युत् प्रयोग गर्ने ९ जना पक्राउ

सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाको विभिन्न ठाउँबाट अनधिकृत रुपमा विद्युत् प्रयोग गर्दै आएका ९ जनालाई पक्राउ गरिएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरी र प्राधिकरणको राजविराज वितरण केन्द्रको संयुक्त अनुगमन टोलीले जिल्लाको पश्चिमी र उत्तरी भेगमा विद्युत्को खम्बाबाट तार टाँगेर चोरी गर्ने नौजनालाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए । पक्राउ पर्नेमा डाकोश्वरी नगरपालिका–९ बस्ने सुशीलकुमार मेहता, रामनारायण शर्मा, सुशीलकुमार यादव, रवि साह, वडा नं ३ बस्ने नन्द मण्डल, लीलाकान्त खड्का र सुरुङ्गा नगरपालिका-३ बस्ने दीपेन्द्र चौधरी, रामसुन्दर साह तथा रुपनी गाउँपालिका–१ बस्ने प्रिन्सकुमार इसर रहेका छन् । उनीहरुविरुद्ध विद्युत् ऐनअनुसार कारबाही हुने केन्द्रका प्रमुख साहले बताए। रासस

पर्यटनमन्त्री र प्राधिकरण प्रमुखलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ । प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको आयोगका प्रवक्ता सहसचिव नवराज ढकालले जानकारी दिए । आयोगको निर्णयमा भनिएको छ, “नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमलाई असोज ९ गते आयोगको सहमतिविना नै स्वेच्छाचारी र बदनियतपूर्ण ढंगले त्यस मन्त्रालयमा गठन भएको कार्यदलमा कामकाज गर्न जिम्मेवारी तोक्ने निर्णय गरी निज गौतमलाई पत्र दिइएको देखिएको, महानिर्देशकलाई हाजिर हुन पत्र पठाएपछि सोही मितिमा आयोगमा सहमतिका लागि पत्र लेखेको देखिई निर्वाचन आचारसंहिताको अवहेलना हुने गरी गरेको कार्य निर्वाचन आचारसंहिता, २०७२ को दफा १० विपरीत भए गरेको पुष्टि हुन आएको हुँदा निर्वाचन आचारसंहिता उल्लंघन गरेबापत कारबाही हुनुपर्ने हो, होइन, पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफसहित आयोगमा उपस्थित हुन मा। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीलाई स्पष्टीकरण सोध्ने ।” त्यसैगरी आयोगले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्द पोखरेलले विभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरेर पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको देखिएको जनाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ । आयोगको आजको बैठकले गरेको निर्णयमा भनिएको छ, “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृतले असोज १० देखि १८ गतेसम्म प्युठान जिल्लाका विभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट गरी पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा यहाँ जस्तो सार्वजनिक पद धारण गरेको व्यक्तिले कुनै दलविशेषको कार्यक्रममा सहभागी हुने कार्य निर्वाचन आचारसंहिता विपरीतको देखिँदा यहाँलाई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेवापत कारबाही हुनुपर्ने हो, होइन? पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेश गर्न राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अधिकृत डा गोविन्द पोखरेललाई स्पष्टीकरण सोध्ने ।” आयोगले पोखरेललाई तत्काल प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउन प्यूठानका प्रजिअलाई आदेश दिएको प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोगका सहन्यायाधिवक्ता गीताप्रसाद तिम्सिनाले हस्ताक्षर गरी प्युठानका प्रजिअलाई असोज १९ गते लेखेका पत्रमा भनिएको छ “राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेलले असोज १० देखि प्युठान जिल्लाका विभिन्न स्थानमा नेपाली काँग्रेसका कार्यकर्तासँग भेटघाट एवं पार्टीको कार्यक्रममा सहभागी भई निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भनी आयोगमा सूचना प्राप्त हुन आएको हुँदा निज प्रमुख कार्यकारी अधिकृत प्रा डा गोविन्दराज पोखरेललाई तुरुन्त प्यूठान जिल्ला छाड्ने व्यवस्था मिलाउनुहुन निर्देशनानुसार अनुरोध छ ।” रासस

भारतद्धारा नेपाल- भारत दशगजा क्षेत्रमा अग्लो मोटोको डिल बनाउने कार्यमा रोक

भीमदत्तनगर । नेपाल-भारत सीमा क्षेत्रमा निर्माण गरिरहेको अग्लो मोटोको डिल बनाउने कार्यलाई स्थानीय प्रशासनले रोक लगाएको छ । भारतको दुधुवा नेशनल पार्कमा रहेका जंगली जनावरको संरक्षण तथा तिनीहरुको नेपाल प्रवेश रोक्न भारतीय वन विभागका कर्मचारीले कञ्चनपुरको पुनर्वास नगरपालिकाको बिचपाँटास्थित गर्न लागिएको सो कार्यलाई प्रहरीले रोक लगाएको हो । भारतले आफ्नो क्षेत्रमा खाडल बनाइरहेको भए पनि त्यसबाट निस्केको माटो दशगजा क्षेत्रमा थुपार्न थालेपछि सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले आज रोकेका हुन् । भारतीय वन कर्मचारीले बुधबार खाडल खन्ने काम थालेका हो । सोही दिन बेलुकादेखि उक्त कार्यमा रोक लगाएको प्रहरीले जनाएको छ । बेलौरीस्थित सशस्त्र प्रहरी क्याम्पका प्रमुख सशस्त्र प्रहरी निरीक्षक भीमसिंह थापाले भारतीय वन विभागका कर्मचारीले वन्यजन्तुको चरन रोक्न भारतीय भूमिमा करिब १५० देखि १८० मिटरसम्म खाडल बनाएको बताए । “आफ्नै भूमिमा खाडल बनाएर दशगजामा माटो फालेको थियो,” सशस्त्र प्रहरी निरीक्षक थापाले भने, “स्थानीय प्रशासन र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को समन्वयमा उनीहरुले तत्काल सो कार्य रोकेका छन् ।” उनका अनुसार प्रहरीको आग्रहपछि वन कर्मचारीले दशगजामा डोजरको सहायताले थुपारेको माटोसमेत त्यहाँबाट हटाएका छन् । “दशगजामा राखेको माटो सबै खाली गरेर तत्काल काम नगर्ने भनेका छन्,” उनले भने, “उक्त कार्यबारे एसएसबीलाई समेत वन कर्मचारीले जानकारी गराएका रहेनछन् ।” नेपाल–भारत सीमा स्तम्भ नं १९३ देखि पूर्वी उत्तरतर्फ करिब १५० मिटर ट्रेन्च खनेर नेपालतर्फको दशगजामा अग्लो डिल बनाउने काम अन्तर्राष्ट्रिय मर्यादा विपरीत भएको ठहर गर्दै नेपाली पक्षले आपत्ति जनाएका हुन् । भारतीय वन कर्मचारीले आगामी दिनमा सीमा क्षेत्रमा केही काम गर्नु परेमा समन्वय गरेर मात्रै सञ्चालन गर्नेसमेत बताएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ । सो क्षेत्रमा लामो समयदेखि भारतीय पक्षबाट सीमा अतिक्रमणका प्रयास हुँदै आएको स्थानीयवासीको दुखेसो छ । पुनर्वासमै केही समयअघि सीमा विवादकै कारण भारतीय सुरक्षाकर्मीको गोलीबाट गोविन्द गौतमले शहादत प्राप्त गरेका थिए । रासस

घर आँगनमै स्थानीय सरकारः यी हुन् वडा कार्यालयले गर्ने ४१ काम

काठमाडौं । मुलुकका सात वटै प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भैसकेको छ । जन निर्वाचित प्रतिनिधीले नागरिकका काम धमाधम सुरु गरिसकेका छन् । स्थानीय निर्वाचनसँगै नागरिकका समस्या सुन्ने सरकार आफ्नै आँगन छेउमै पुगेको अनुभूति पनि गर्न थालेका छन् । स्थानीय सरकार सञ्चालन ऐनको विधेयकलाई संसदको विकास समितिले पास गरेर संसदमा पेश गरिसकेको छ । ऐनको अभावमा स्थानीय तहलाई काम गर्न केहि असहजता आएको देखिन्छ । स्थानीय तहको सबै भन्दा तल्लो इकाईका रुपमा रहने वडा कार्यालयहरुले गर्ने कामहरुको ठुलै सूचि ऐनको विधेयकमा समेटिएको छ । तपाईको वडा कार्यालयले के के काम गर्छ, थाहा छ ? यी हुन वडा कार्यालयले गर्ने ४१ वटा काम  १) बाल उद्यानको व्यवस्था गर्ने, (२) अनौपचारिक शिक्षा कार्यक्रम, शिशु स्याहार तथा प्रारम्भिक बाल ववकास केन्द्र सञ्चालन र व्यवस्थापन गर्ने, (३) पुस्तकालय, वाचनालय, सामदुायिक ध्यान केन्द्र, बाल क्लव तथा बालसञ्जालको सञ्चालन र व्यवस्थापन गर्ने, (४) वडा तहको स्वास्थ्य संस्था तथा सेवाको व्यवस्थापन गर्ने, (५) खोप सेवा कायक्रमको सञ्चालन, व्यवस्थापन तथा समन्वय गर्ने, (६) पोषण कार्यक्रमको सञ्चालन तथा समन्वय गर्ने, (७) वडा तहमा स्वास्थ्य सचेतना विकास तथा स्वास्थ्य सूचना कायक्रमको सञ्चालन गर्ने, (८) शहरी तथा ग्रामीण स्वास्थ्य क्लिनिकको सञ्चालन गर्ने, गराउने, (९) सार्वजनिक शौचालय, स्नान गृह तथा प्रतिक्षालयको निर्माण र व्यवस्थापन गर्ने, गराउने, (१०) वडास्तरीय सामदुायिक धाराको प्रबन्ध, कुवा, इनार तथा पोखरीको निर्माण, संरक्षण र गणुस्तर नियमन, (११) घरबाट निकास हनुे फोहरमैलाको सङ्कलन र व्यवस्थापन, चोक तथा गल्लीहरूको सरसफार्ई ढल निकास, मरेका जनावरको व्यवस्थापन, सतही पानीको निकास तथा पानीको स्रोत संरक्षण गर्ने, गराउने, (१२) कृषि तथा फलफूल नर्सरीको स्थापना, समन्वय र प्रवद्र्धन तथा वडास्तरीय अगुवा कृषक तालिमको अभिमखुीकरण गर्ने, (१३) कृषि बीउ विजन, मल तथा औषधीको माग सङ्कलन गर्ने, (१४) कृषिमा लाग्ने रोगहरूको वववरण सङ्कलन गर्ने, (१५) पशुपंछी विकास तथा छाडा चौपायाको व्यवस्थापन, (१६) वडाभरिको चरन संरक्षण तथा व्यवस्थापन गर्ने, (१७) स्थानीय समदुायका चाडपर्व, भाषा संस्कृतिको विकासको लागि कला, नाटक, जनचेतनामूलक तथा साँस्कृतिक कार्यक्रम गर्ने, गराउने, (१८) स्थानीय मौलिकता झल्कने साँस्कृतिक रीतिरीवाजलाई संरक्षण तथा प्रवद्र्धन गर्ने, (१९) वडाभरि खेलकुद पूर्बाधारको विकास गर्ने, (२०) अन्तरविद्यालय तथा क्लव मार्फत खेलकूद कार्यक्रमको सञ्चालन गर्ने, गराउने, (२१) वडा भरिको वाटोघाटो चालु अवस्थामा राख्ने तथा राख्न सहयोग गर्ने, (२२) वडाभरिका सडक अधिकार क्षेत्रमा अवरोध र अतिक्रमण गर्न नदिने, (२३) बाटोघाटोमा बाढी, पहिरो, हुरी तथा प्राकृतिक प्रकोपबाट उत्पन्न अवरोध पञ्छाउने, (२४) घरेलु उद्योगको लगत सङ्कलन तथा सम्भाव्यता पहिचान गर्ने, (२५) वडाभरि घरेलु उद्योगको प्रवद्र्धन गर्ने, (२६) प्रचलित कानून बमोजिम व्यक्तिगत घटना दर्ता, अद्यावधिक तथा सोको अभिलेख सङ्कलन तथा संरक्षण गर्ने, (२७) व्यक्तिगत घटना दर्ता सम्बन्धि जनचेतना कार्यक्रम सञ्चालन गर्ने, (२८) सामाजिक सरक्षा भत्ता वितरण तथा अभिलेख अद्यावधिक गर्ने, (२९) वडालाई बालमैत्री बनाउने, (३०) वडाभरि आधुनिक तथा सामाजिक रुपमा पछाडी परेका महिला, बालबालिका, दलित, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, अल्पसंख्यक, सीमान्तकृत समदुायको अभिलेख राखी सामाजिक र आर्थिक उत्थान सम्बन्धी काम गर्ने, (३१) विभिन्न समदुायकाबिच सामाजिक सद्भाव र सौहार्दता कायम गर्ने, (३२) बालविवाह, बहुविवाह, लैङ्गिक हिंसा, छुवाछुत, दहेज तथा दाइजो, हलिया प्रथा, छाउपडी, कमलरी प्रथा, बालश्रम, मानव बेचविखन जस्ता सामाजिक कुरीति र अन्धविश्वासको अन्त्य गर्ने, गराउने, (३३) प्रचलित कानूनको अधीनमा रही मालपोत तथा भूमि कर, व्यवसाय कर, वहाल कर, विज्ञापन कर, सःशुल्क पार्किङ्ग, नयाँ व्यवसाय दर्ता, सिफारिस दस्तुर, सवारी साधन कर, मनोरञ्जन करको लेखाजोखा र सङ्कलन गरी सम्बन्धित गाउँपालिका वा नगरपालिकामा प्रतिवेदन सहित रकम बुझाउने, (३४) असक्त बिरामी भएको बेवारिस वा असहाय व्यक्तिलाई नजिकको अस्पताल वा स्वास्थ्य केन्द्रमा पुर्याई औषधोपचार गराउने, (३५) असहाय वा वेवारिस व्यक्तिको मृत्यु भएमा निजको दाह संस्कारको व्यवस्था मिलाउने, (३६) सडक बालबालिकाको उद्धार र पुनस्थापनाको लागि लगत सङ्कलन गर्ने, (३७) वडाभरिको सामुदायिक वन, वनजन्य सम्पदा र जैविक बिविधताको संरक्षण र प्रवद्र्धन गर्ने, (३८) वडा, टोल, बस्तीस्तरमा हरियाली बिस्तार गर्ने गराउने, (३९) वडालाई वातावरणमैत्री बनाउने, (४०) प्राङ्गारिक कृषि, सुरक्षित मातृत्व, विद्यार्थी भर्ना, पूर्ण खोप, खुला दिशामुक्त सरसफाई, वातावरणमैत्री तथा बालमैत्री शासन जस्ता प्रवद्र्धनात्मक कार्यहरू गर्ने, गराउने, (४१) वडाभरि घरबास पयर्टन (होम स्टे) कार्यक्रम प्रवद्र्धन गर्ने ।

निर्वाचन आयोगको मर्यादा र गरिमा बढ्ने काम गर्न निर्देशन, किन हुँदैछ मंसिरमा निर्वाचन ?

काठमाडौं । निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले संवैधानिक अंगका रुपमा रहेको आयोगको मर्यादा, अस्तित्व र गरिमा खस्कने काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । आगामी मंसिरमा हुने निर्वाचनमा खटिने मतदाता शिक्षा मुख्य प्रशिक्षकका लागि सञ्चालित तालीमको बिहीबार यहाँ उद्घाटन गर्दै उनले अघिल्लो निर्वाचनमा आयोगले सबैभन्दा आलोचना खेपेको मतदाता शिक्षामा भएको कमजोरीलाई सच्याउने ढंगबाट जिम्मेवारी बहन गर्न सुझाव दिए । सचिव पौड्यालले भने, “तपार्इंहरुले दिने प्रशिक्षणबाट आयोगको सफलता वा असफलता निर्भर गर्छ । मतदाता शिक्षा प्रदान गर्दा यो कस्तोखाले निर्वाचन हो, हामीले कस्तो सरकार गठनका लागि भोट हाल्दै छौँ, अघिल्लोभन्दा यो निर्वाचनमा मतपत्रको ढाँचा फरक छ, बदर नहुने गरी स्पष्ट ढंगबाट मतदातालाई मतदान गर्न सक्ने गरी बुझाउन आवश्यक छ ।” स्थानीय तहको निर्वाचनमा पदअनुसार लगभग १२ प्रतिशत मत बदर भएको थियो । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको जानकारी दिएको छ । आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि २० हजारको संख्यामा खटिने मतदाता शिक्षा कार्यकर्ताले मत खेर जान नदिन प्रत्येक मतदाताको घरदैलोमा मतदाताबाट आउन सक्ने प्रश्न एवं जिज्ञासाको स्पष्टरुपमा उत्तर दिन सक्नु पर्ने बताए । निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीको सन्दर्भमा मतदाता नामावली यकिन भइसकेको, समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ कार्य शुरु भइसकेको, जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गर्नाका साथै तालीम र प्रशिक्षण पनि शुरु गरिसकेको छ । राजनीतिक दलका नेता तथा कार्यकर्ता, उम्मेदवार तथा मतदातालाई सुसूचित गर्न यसपटक मतदाता शिक्षा निम्ति आयोगले विभिन्न सञ्चारमाध्यमबाट जानकारीमूलक सामग्रीको उत्पादन तथा प्रचारप्रसार गर्नाका साथै नमूना मतदान, अन्तक्र्रियाजस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । केका लागि हुँदैछ मंसिरमा निर्वाचन आगामी मंसिरमा हुने निर्वाचन मुलुकमा राजनीतिक परिवर्तन भएपछि संघीय संरचनाको ढाँचा बमोजिम संविधानले निर्दिष्ट गरेअनुरुप केन्द्रीय सरकार र प्रदेश सरकार गठनका साथै संघीय संसद् र प्रदेश व्यवस्थापिका गठनका लागि हो । स्थानीय तहको निर्वाचनबाट यसअघि नै स्थानीय तहको सरकारको गठन भइसकेको छ । नेपालको संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीबाट १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी जम्मा २७५ सदस्य चुनिने छन् । त्यस्तै, सात वटा प्रदेशसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० जना र सात वटै प्रदेशबाट समानुपातिकतर्फ चयन भएका २२० समेत गरी जम्मा ५५० सदस्य निर्वाचित हुने छन् । सोही क्रममा मुलुक संघीय ढाँचामा प्रवेश गरेपछि संघीयताको कार्यान्वयन गर्ने सिलसिलामा आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैसाथ दुई चरणमा हुँदैछ । पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्ला र दोस्रो चरणमा पहाडी र तराईका गरी ४५ जिल्लामा निर्वाचन हुनेछ । कस्तो हुनेछ मतपत्र मतदातालाई सरल र सहज होस् भन्ने हेतुले निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि निर्धारित निर्वाचन चिह्नहरु रहने छन् भने सोही पानाको तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि निर्धारण गरिएका निर्वाचन चिह्न रहने गरी मतपत्रको बनाइएको छ । मतदाताले आफूलाई मन परेको प्रतिनिधिसभा सदस्यका लागि माथिल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा मत संकेत गर्नु पर्ने छ भने प्रदेशसभा सदस्यका लागि तयार भएको तल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा स्वस्तिक चिह्न लगाउनुपर्छ । मत बदर नहोस् भन्नाका लागि मतदाताले चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी सजगता अपनाएर मत संकेत गर्नु पर्ने हुन्छ समानुपातिक निर्वाचन प्रणालीतर्फ सात प्रकारका मतपत्रको व्यवस्था भई मतपत्र छपाइ कार्य पनि शुरु भइसकेको छ । रासस

उन्नत गाईको स्रोतकेन्द्र बन्दै चितवन, यस वर्ष मात्रै २०० बाच्छी बिक्री

चितवन । चितवन जिल्ला उन्नत गाईको स्रोत केन्द्रका रूपमा विकास हुँदै गएको छ । जिल्लामा प्रजनन गराइएका गाईका बाच्छी नेपालका विभिन्न जिल्लामा पठाइने गरेको छ । जिल्ला पशु सेवा कार्यालयका प्रमुख डा डिल्लीराम सेढाईंले चितवनमा पछिल्लो समयमा उन्नत गाईको व्यावसायिक फार्म रहेकाले यहाँका गाईको माग बढेको बताए । जिल्लाबाट वार्षिक चार पाँच सय गाईका बाच्छी बाहिरी जिल्लामा निर्यात हुने गरेको छ भन्दै उनले कसैकसैले जानकारी नै नदिई पनि गाई लाने गरेका छन् तर हामीकहाँ चिकित्सकबाट प्रमाणित गराएर मात्र लाने गरिएको जानकारी दिए । चितवन जिल्लामा उन्नत नश्लको सिमोन प्रयोग गरी गाईका बाच्छी उत्पादन गर्न थालेपछि देशका विभिन्न क्षेत्रबाट यहाँका गाई र बाच्छीको माग बढ्न थालेको गीतानगरको अन्नपूर्ण गाई स्रोत केन्द्रका अध्यक्ष भागिरथ तिमिल्सिनाले बताए । उक्त केन्द्र २०६८ सालमा स्थापना भएको थियो । गीतानगरबाट ४६ जिल्लामा गाई र गाईका बाच्छी अन्नपूर्णले मात्रै पठाएको छ । जिल्लाबाट २५ हजारको हाराहारीमा गाईका बाच्छी पठाउने गरिएको छ । त्यो गाईले दैनिक २० लिटरसम्म दूध दिने तिमिल्सिनाको दाबी छ । चितवनमा अन्नपूर्ण सहकारी, लालीगुराँसलगायत फार्मले गाईका बाच्छी उत्पादन गर्छन् । जिल्लामा ४०० भन्दा बढी गाई फार्ममा नै पाल्ने गरिएको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ । चितवनबाट सिन्धुलीमा मात्रै २०० बाच्छी बिक्री चितवनबाट सिन्धुली जिल्लामा मात्रै झण्डै २०० गाईका बाच्छी बिक्री भएको छ । सिन्धुली जिल्ला पसु सेवा कार्यालयले संस्थागतरूपमै किसानलाई गाई खरिदमा अनुदान दिएर चितवनबाट लगेको हो । एउटा गाई खरिद गरेर लाने किसानलाई कार्यालयले रु १० हजार अनुदान दिने गरेको पशु सेवा कार्यालय प्रमुख डा रामकुमार कार्कीले जानकारी दिए । चितवनको पशु सेवा कार्यालयका प्रमुख भएर सिन्धुली जानुभएका कार्कीले चितवनका किसानसँग समन्वय गरेर गाई खरिद गरेका हुन् । “सिन्धुलीमा सम्भावना भएर पनि गाईपालन न्यून छ, उत्पादनले जिल्लामै पुग्दैन, डा कार्कीले भने, आफू चितवनमा पनि काम गरिसकेकाले उन्नत गाई ल्याउन सिफारिस गरेको हुँ ।” । गत वर्ष चितवनबाट सिन्धुलीमा १८९ वटा बाच्छी लगिएको र तीनको बीमा गराएर आवश्यक प्राविधिक सहयोगसमेत गरिएको छ ।