सिटिजन्स बैंकको १६.८५ प्रतिशत लाभांश पारित, संचालकमा दुई जना निर्वाचित
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको सेयरधनीलाई १६.८५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सोमबार सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले कम्पनीको सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । बैंकले चुक्ता पुँजीको १६ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८५ प्रतिशत नगद लाभांश गरी सो मात्राको लाभांश वितरण गर्ने भएको छ । अर्थात् बैंकले १ अर्ब १० करोड रुपैयाँ बोनस र ५ करोड ८२ लाख रुपैयाँ नगद लाभांश दिने निर्णयलाई कम्पनीको साधारण सभाले पारित गरेको छ । हाल बैकको चुक्ता पुँजी ६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । प्रस्तावित १६ प्रतिशत बोनस शेयर वितरण पश्चात् बैंकको चुक्ता पूँजी ८ अर्ब २ करोड रुपैयाँ कायम रहने छ । उक्त साधारणसभाबाट प्रकाशचन्द्र मैनाली र विजयध्वज कार्की सर्वसाधारणको तर्फबाट संचालक समितिको सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।
प्रत्येक वडामा एक वर्षभित्र इन्टरनेट पुर्याउन निर्देशन
काठमाडौ । व्यवस्थापिका–संसद्, विकास समितिले एक वर्षभित्रमा प्रत्येक वडामा इन्टरनेट सेवा पुर्याउन निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यालयमा आज बसेको बैठकले मुलुक संघीय प्रणालीमा गइरहेको अवस्थामा स्थानीय तहको शीघ्र विकासका लागि सूचना प्रविधिको विकास अनिवार्य भएको भन्दै आगामी कात्तिक १५ गतेसम्म नेपालको प्रत्येक गाउँमा सञ्चार सेवा पुर्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको हो । दुई वर्षभित्रमा गाउँ गाउँमा तीव्र गतिको इन्टरनेट सेवा पुर्याउने सरकारको उद्देश्य रहे पनि काममा ढिलाइ भएको भन्दै समितिले जतिसक्दो चाँडो काम सम्पन्न गर्न निर्देशन दिएको थियो । अब एक वर्षभित्रमा गाउँ गाउँमा इन्टरनेट पुर्याउने उद्देश्यले अप्टिकल फाइबर विस्तारलाई तीव्रता दिइएको नेपाल दूर सञ्चार प्राधिकरणले जनाएको छ । “नेपालका ७५३ वटै स्थानीय तह, सामुदायिक विद्यालय, सार्वजनिक अस्पताललगायत दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा समेत ग्रामीण दूरसञ्चार कोषलाई उयोग गरी गुणस्तरीय टेलिफोन पुर्याउन समितिले निर्देशन दिए पनि उच्च गतिमा काम हुन नसकेपछि आज पुनः निर्देशन दिइएको छ”, समितिका सभापति रवीन्द्र अधिकारीले भने । देशको ग्रामीण र दुर्गम क्षेत्रमा ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याउने उद्देश्यले १, २ र ३ गरी तीन वटा प्रदेशअन्तर्गत मध्यपहाडी लोकमार्ग तथा जिल्लामा अप्टिकल फाइबर केवल ओछ्याउन नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच सम्झौता भएको एक वर्ष भइसकेको छ । तर टेलिकमले सोचेअनुसारको काम गर्न नसकेको समितिको ठहर छ । सोही अवसरमा सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले अप्टिकल फाइबर विस्तारमा ढिलाइ भएकाले यसलाई द्रुत गतिमा अगाडि बढाउन निर्देशन दिइसकिएको र मुलुकका विभिन्न स्थानमा देखिएको टेलिकमको नेटवर्कको समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे। टेलिकमले प्रदेश नं १, २ र ३ का लागि पाँचथरको चिरुभञ्जाङदेखि गोरखाको आरुघाटसम्म अप्टिकल फाइबर बिछ्याउनुपर्नेछ । टेलिकमको कूल ग्राहक आधार १ करोड ७६ लाख २ हजार २०२ छ । त्यसैगरी टेलिकमको डाटा/इन्टरनेट ग्राहक आधार ८४ लाख २५ हजार ८९४ पुगेको छ । गाउँ गाउँमा इन्टरनेट पुगेपछि कम्तीमा दुई वर्षसम्म निःशुल्क गर्ने व्यवस्था गरिएको प्राधिकरणका अध्यक्ष दिगम्बर झाले जानकारी दिए । रासस
सेयर बजारमा छायो हरियाली, नेप्से ८ अंकले बढ्याे, २७ करोडकाे सेयर काराेबार
काठमाडौं । दशैं नजिकिँदै गर्दा सेयर बजारमा हरियाली छाएको छ । केही दिनयता निरन्तर ओरालो लागेको नेप्से परिसूचक सोमबार करिब दोहोरो अंकले उकालो लागेको छ । सोमबार नेप्से ८ दशमलब ५२ अंकले बढेर १५४५.४४ अंकमा पुगेको छ । हरियाली छाएको सोमबारको बजारमा २७ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो दिन १५४ कम्पनीको ६ लाख ३२ हजार कित्ता सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल इन्भेष्टमेन्ट बैंकको एक करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, सोमबार करोबार भएका ट्रडिङ र होटल समूह बाहेक अन्य समूहको परिसूचक उकालो लागेका छन् । सबैभन्दा बढी हाइड्रोपावर,बीमा र बैंकिङ समूहको परिसूचक दोहोरो अंक क्रमशः २१, १२ र १० अंकले उकालो लागेका छन् । ट्रडिङ र होटल समूहको परिसूचक क्रमशः २३ र ८ अंकले ओरालो लागेको हो । त्यस्तै, बजारमा सबैभन्दा बढी सिनर्जी फाइनान्सका लगानीकर्ताले ९.९३ प्रतिशत कमाएका छन् । उता विशास बजारको सेयर मूल्य भने १० अंकले घटेको छ ।
सहरी विकासमा एडीबीले १५ अर्ब ऋण सहयोग गर्ने, बोर्डद्धारा पारित
काठमाडौं । विकास साझेदार एसियाली विकास बैंक (एडीबी) ले नेपालको सहरी पुर्वाधार विकासका लागि १५ अर्ब रुपैयाँ (१५ करोड अमेरिकी डलर ऋण दिने भएको छ । एडीबीको सञ्चालक समिति बैठकले नेपालका विभिन्न ८ नगरपालिकाका अतिरिक्त ७ वटै प्रदेशका लागि सहरी सेवा र पुर्वाधारमा लगानी गर्नका लागि सो ऋण स्वीकृति गरेको हो । यसबाट १ करोड ५० लाख जनसंख्याले लाभ पाउने एडीबीले जनाएको छ । सन् १९७० यता नेपालको सहरी क्षेत्रको विकास औसत ६ प्रतिशत बढेको तर अपर्याप्त पुर्वाधार, संस्थागत कमजोरी, सञ्चालन र मर्मतमा हेलचेक्राइ जस्ता कारणले नेपालको सहरी क्षेत्र पछाडी परेको ठहर एडीबीको छ । सहरी पुर्वाधार विकासमा हालको लगानी दोब्बर बढाउनु पर्ने एडीबीको ठहर छ । आउदो सन् २०३० सम्म सहरी पुर्वाधारमा थप २५ खर्ब रुपैयाँ अर्थात साढे २४ अर्ब डलर लाग्ने एडीबीले जनाएको छ ।
कामना सेवा विकास बैंकको असोज २४ गते बुक क्लोज, विशेष साधारणसभामा जाँदै
काठमाडौं । कामना सेवा विकास बैंकको अगामी असोज २४ गते बुक क्लोज हुने भएको छ । कम्पनीले विशेष साधारणसभा जाने प्रयोजनको लागि सो दिन बैंकको बुक क्लोज गर्न लागेको हो । कम्पनी अगामी कात्तिक १ गते विशेष साधारणसभामा जाँदै छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले चुक्तापुँजी बढाउन १० बराबर १ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो । उक्त हकप्रद सेयर पारित गर्ने प्रयोजनको लागि बैंकले कात्तिक १ गते विशेष साधारणसभा बोलाएको हाे। हाल बैंकको चुक्तापुँजी २ अर्ब ६ करोड २७ लाख रुपैयाँ छ । राष्ट्रिय स्तरको विकास बैंक हुन बैंकले चुक्तापुँजी बढाएर साढे २ अर्ब रुपैयाँ पुर्याउनुपर्छ । कामना र सेवा हालसालै मर्जरमा गएका हुन् ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक पारित
काठमाडौं । व्यवस्थापिका-संसद्को सोमबारको बैठकले ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विधेयक २०७४ ’ लाई सर्वसम्मतिले पारित गरेको छ । गृहमन्त्री जनार्दन शर्माले सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव सदन समक्ष राखेका थिए । यसअधि सो विधेयकको दफावार छलफलमा भाग दिँदै नेकपा (एमाले)का डा गंगालाल तुलाधरले विधेयकलाई कार्यान्वयन पक्ष बलियो बनाउन विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र होइन, प्राधिकरण बनाउन सुझाव दिँदै व्यवस्थापन प्राधिकरणमा निजामती कर्मचारी होइन, विषय विज्ञ राख्नुपर्ने बताए । नेकपा (माओवादी केन्द्र)का हितराज पाण्डे र सीता नेपालीले संघीयताको मर्मअनुरुप विपद् जोखिम न्यूनीकरण व्यवस्थापन केन्द्र बनाउनुपर्छ भने । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले विपद्को परिभाषाको दायरालाई फाराकिलो बनाउन सुझाव दिएका छन् । गृहमन्त्री शर्माले छलफलमा उठेका प्रश्नको जवाफमा प्राकृतिक जोखिममा नेपाल रहेको हुँदा यस्तो जोखिम न्यूनीकरण गर्न विधेयक आएको बताएका छन् । उनले विपद्पूर्व र विवपद्का समयका क्षति न्यूनीकरण गर्न विधेयक आएको चर्चा गर्दै प्राकृतिक तथा गैरप्राकृतिक विपद् व्यवस्थापन गर्न परिभाषा स्पष्ट पारिएको र संघीयताको मर्मअनुरुप नै विधेयक आएको बताएका छन्। सदनको बैठक सोमबारै १५ मिनेटका लागि स्थगित भएको छ । रासस
२ बर्ष भित्र सबै नेपालीका घरमा इन्टरनेट, एक बर्षभित्रै १०० औं नम्बरमा
काठमाडौं । आगामी २ बर्षभित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सेवा पुग्ने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरणले ग्रामिण दुर सञ्चार कोषको रकम प्रयोग गरेर २ बर्षभित्रै सबै नेपालीका घरमा इन्टरनेट सुबिधा पुर्याउने भएको हो । ‘आगामी २ बर्ष भित्रै सबै नेपालीका घरमा हाइस्पिडको इन्टरनेट सुबिधा पुग्छ, हामीले त्यसका लागि ठोस योजना बनाएरै काम गरिरहेका छौं’, दुर सञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले भने । व्यवस्थापिका संसदको विकास समिति बैठकमा अध्यक्ष झाले ५० बर्षसम्म नभएका काम २ बर्षमै सम्पन्न गरेको दावी पनि गरे । उनले हाल नेपाल विश्वको आइसीटी इन्डेक्समा १४१ औं स्थानमा रहेको पनि बताए । करिब ८ बर्ष अघिसम्म ८१ औं स्थानमा रहेको नेपाललाई अन्य मुलुकले उछिनेको उनको भनाई थियो । हाल दक्षिण कोरिया आइसटी इन्डेक्समा एक नम्बरमा रहेको छ । झाले आगामी एक बर्षभित्रै नेपालले विश्वको आइसीटी इन्डेक्समा १०० औं स्थान प्राप्त गर्ने दावी पनि गरे । त्यसका लागि ग्रामिण दुर सञ्चार कोषको रकम उपयोग गरिरहेको पनि उनले बताएका थिए । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा नेपाल टेलिकमले खासै प्रगति नगर्न नसकेको भन्दै उनले दुःख व्यक्त गरेका थिए । त्यस्तै, युटिएल र स्मार्ट टेलिकमले पनि अप्टिकल फाइबरको काम तीव्र गतिमा नगरेको झाको भनाई थियो ।
कुमारी बैंकको दशैं काउन्टर सञ्चालनमा, कहिले कहिले हुँदैछ ?
काठमाडौं । दशैंको अवसरमा कुमारी बैंकले दशैं काउन्टर सञ्चालन गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सेवा सुविधाको लागि दशैं बिदामा पनि नगद काउन्टर खुल्ला गर्न लागेको हो । दशैंको समयमा यस बैंकले आफ्नो पुतलीसडक शाखाकाे काउन्टर ७ दिन सञ्चालनमा ल्याउन लागेको छ ।