विकासन्युज

बुढीगण्डकीको निर्णय तत्काल खारेज गर्न संसदीय समितिको निर्देशन

काठमाडौं । व्यवस्थापिका संसदका दुई वटा समितिले बुढीगण्डकी जलासययुक्त आयोजना चाइना गेजुवा ग्रुप लिमिटेडलाई दिने अघिल्लो सरकारको निर्णय तत्काल खारेज गर्न सरकारलाई निर्देशन दिएका छन् । कृषि तथा जलस्रोत समिति र अर्थ समितिको सोमबारको बैठकले १ हजार २ सय मेगावाट क्षमताको सो आयोजना चिनिया कम्पनी गेजुवालाई दिने निर्णय खारेज गर्न निर्देशन दिएका हुन । अघिल्लो सरकारका उर्जामन्त्री जनार्दन शर्माले आयोजना गेजुवालाई निर्माण गर्न दिने निर्णय गरेका थिए । मन्त्रिपरिषद, उर्जा मन्त्रालयबाट भएको निर्णय नेपालको प्रचलित नियम कानुन सम्बत नदेखिएको, सार्वजनिक खरिद ऐन उल्लंघन गरिएको, खुला प्रतिस्पर्धा नगराइएको र हचुवाको भरमा समझदारी गरिएको भन्दै तत्काल खारेज गर्न निर्देशन दिएको हो ।  

विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या, १० करोड बजेट आवश्यक पर्ने

मोरङ । मुलुकको सबैभन्दा पुरानो र राजनीतिक इतिहास बोकेको विराटनगर जुटमिल सञ्चालन गर्न आर्थिक समस्या भएको छ । मिल सञ्चालन गर्न १० करोड रुपैयाँ बजेट आवश्यकपर्ने भएपनि अहिलेसम्म सरकारले बजेट पठाएको छैन । मिल सञ्चालनका लागि कच्चा पदार्थ खरिद गर्नुपर्ने भएकाले उक्त रकम आवश्यकपर्ने भएको हो । सरकारले बजेट पठाउने आश्वासन दिएको तर अहिलेसम्म बजेट पठाउने कुनै चाँजोपाँजो नगरेको मिलका निर्देशक राजेन्द्र कार्कीको भनाइ छ । उनका अनुसार मिल सञ्चालनका लागि मेसिन मर्मतको काम अन्तिम चरणमा छ । भारतका उद्योगी राधाकृष्ण चमडियाले विसं १९९३ मा स्थापना गरेको विराटनगर जुटमिलको पूर्णरुपमा सञ्चालन हुने हो भने चार हजार मजदुरले रोजगारी पाउँछन् भने दैनिक ४५ टन जुटजन्य सामान उत्पादन हुनेछ । उक्त मिलमा काम गरेकै अवस्थामा ००७ सालको प्रजातन्त्र स्थापनाका लागि पूर्वप्रधानमन्त्री स्व मनमोहन अधिकारी र गिरिजाप्रसाद कोइरालाले आन्दोलनको विगुल फुक्न शुरु गर्नुभएको थियो । त्यतिमात्रै होइन अहिले जुटमिल ऋणैऋणमा डुबेको छ । जुटमिललाई अहिले सावाब्याजगरेर तीन अर्ब २० करोड रुपैयाँ ऋण पुगेको छ । यी तमाम समस्याका बीच सञ्चालक समितिले जुटमिललाई सञ्चालन गर्नका लागि अहिले जुटमिलका मेसिन मर्मतको कामलाई तीव्रता दिएको छ । मिलका मेसिन तथा पार्टपुर्जाको इञ्जिनियर सौरभ विष्ट नेतृत्वको प्राविधिक टोलीले मर्मत शुरु गरेको हो । मिलको मर्मतसम्भारपछि आगामी मंसिरदेखि जुटका सामग्री उत्पादन गर्ने लक्ष्य रहेको छ । व्यवस्थापन समितिका अनुसार मिलमा ७० प्रतिशतभन्दा बढी मेसिन तथा पार्टपुर्जा मर्मत गर्नुपर्ने अवस्थामा छन् । प्राविधिक टोलीले करिब दुई महिनामा मर्मतको कामसक्ने जनाइएको छ । एक महिनाभन्दा बढी उनीहरुले काम गरिसकेका छन् । यसबाहेक करिब १० करोड रुपैयाँ लागतमा आधुनिक पार्टपुर्जा जडान गरिने व्यवस्थापन समितिले जनाएको छ । नेपाल विद्युत् प्राधिकरणले मिल सञ्चालन गर्न आवश्यकपर्ने ३३ केभिए विद्युत् प्रसारण लाइन जडान गर्न स्वीकृति दिएको छ । लामो समयको विवादसँगै आर्थिक अपचलनका कारण समस्यामा परेको विराटनगर जुटमिल फेरि सञ्चालनको तयारीमा छ । रासस

अन्तरदेशीय पर्यटन प्रवद्र्धनका लागि त्रिदेशीय सम्झौता

काठमाडौं । अन्तरदेशीय पर्यटन प्रवद्र्धन सहकार्यको दायरालाई फराकिलो बनाउँदै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) क्षेत्रीयस्तरमा पुर्याई पर्यटन प्रवद्र्धन गर्न त्रिदेशीय सम्झौता भएको छ । होटल एशोसिएशन नेपाल (हान), फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डिया र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानकाबीच हालै बैंगलोरमा समझदारी भएको हानले एक विज्ञप्ति मार्फत जनाएको छ । उक्त समझदारीपत्रमा हानका अध्यक्ष अमरमान शाक्य, फेडरेशन अफ होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ इन्डियाका अध्यक्ष के श्यामा राजु र होटल एण्ड रेस्टुरेन्ट एशोसिएशन अफ भुटानका अध्यक्ष थिन्ले पाल्देन दोर्जीले हस्ताक्षर गरेका थिए । सो समझदारीपत्रमा तीनै देशका होटल एशोसिएशनमार्फत नेपाल, भारत र भुटानबीच अन्तरदेशीय पर्यटन प्रवद्र्धनलगायत होटल उद्योगमा बढ्दै गइरहेको आतिथ्यतासम्बन्धी तालिम तथा प्रशिक्षण कार्यक्रम आदान प्रदान गर्ने कुरा उल्लेख छ । पर्यटन विकासका लागि दक्ष जनशक्ति नै मुख्य आधार रहेकाले तीनवटै मुलुकका होटल एशोसिएशनको समन्वयमा अन्तरदेशीय तालिम, गोष्ठी, प्रवद्र्धनात्मक कार्यक्रम, वार्षिक बैठक पालैपालो आयोजना गरिने समझदारी भएको छ । यस्तै, अन्तर्राष्ट्रियस्तरको आतिथ्यता प्रदान गर्नका लागि आवश्यक पर्ने तालिम, पुस्तिकालगायत यस उद्योगमा संलग्न जनशक्तिबीच तीनै देशमा अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिनेछ । तीनवटै मुलुकका पर्यटन योजना तर्जुमाका लागि आवश्यक तथ्यांक संकलन तथा व्यवस्थापन गर्न आपसी सहकार्य गरिने उल्लेख छ । रासस

१० मेगावाट बिजुली राष्ट्रिय प्रणालीमा जोडियो, यो वर्ष २५० मेगावाट थपिदै

काठमाडौं । विभिन्न ३ जलविद्युत आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा १० मेगावाट बिजुली थप भएको छ । साउनदेखि यता पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडको ५.१ अपरमाई सी, द्रोनान्चल हाइड्रोपावर कम्पनी लिमिटेडको ६ सय किलोवाटको ढुङेजिरी र दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले ४ मेगावाटको साभाखोला आयोजना सम्पन्न भई राष्ट्रिय प्रणालीमा जोडिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । ३ वटै आयोजना निजी लगानीमा निर्माण भएका हुन् । हालसम्म निजी लगानीबाट मात्रै ४५० मेगावाट क्षमताका ६३ आयोजना सम्पन्न भएको प्राधिकरणले जनाएको छ । चालु आर्थिक वर्षमा प्राधिकरणले निजी र सार्वजनिक गरी साढे २ सय मेगावाट प्रणालीमा थप हुने जानकारी दिएको छ । २०५ मेगावाट निजी क्षेत्र र ४५ मेगावाट प्राधिकरणले निर्माण गरेको चमेलिया र कुलेखानी सम्पन्न हुने छन् । तर सरकारले चालु आवको बजेटमा ८ सय मेगावाट बिजुली थप भई जडित क्षमता १ हजार ७ सय मेगावाट पुर्याउने महत्वकाँक्षी लक्ष्य लिएको छ । गत वर्ष ११ आयोजना सम्पन्न भई प्रणालीमा १२२ मेगावाट बिजुली थप भएको थियो । लक्ष्यमा रहेका आयोजना सम्पन्न भए यो वर्ष विद्युत उत्पादन जडित क्षमता बढेर १ हजार २ सय मेगावाट नाघने छ । प्राधिकरणले यो वर्ष पनि लोडसेडिङमुक्त अभियानलाई निरन्तरता दिन भारतबाट ४८० मेगावाटसम्म बिजुली आयात गर्ने भएको छ । प्राधिकरणले मुलुकलाई लोडसेडिङमुक्त बनाउन यो वर्ष भारतबाट थप १ सय मेगावाट बिजुली आयात गर्ने लक्ष्य लिएको छ । लोडसेडिङ हटाउन गत वर्ष ३८५ मेगावाट बिजुली आयात भएको थियो । यो वर्ष कुसाह–कटैया १३२ केभी दोस्रोबाट ५० र परवानीपुर–रक्सौल १३२ केभीबाट ५० मेगावाट बिजुली थप आपूर्ति गर्ने योजना प्राधिकरणको छ । गत वर्ष बिजुलीको माग औसत १ हजार ३ सय मेगावाट पुगेको थियो । यो वर्ष भारतबाट समेत गरी बिजुली आपूर्ति १ हजार ८० देखि १ हजार १ सय मेगावाटसम्म पुग्ने अनुमान गरेको छ । ३२० मेगावाट अपुग हुने प्राधिकरणको प्रक्षेपण छ । गत वर्ष ४ सय मेगावाट अपुग हुदा पनि उद्योग बाहेक ग्राहस्थ लोडसेडिङमुक्त थियो । हाल औसत ३ सय मेगावाट बिजुली अपुग हुदा पनि औद्योगिक क्षेत्रमा मात्र दैनिक ३ घण्टा लोडसेडिङ भइरहको छ । १०९ मेगावाट पीपीए सम्पन्न विद्युत प्राधिकरणले चालु आव सुरु भएयता ९ जलविद्युत आयोजनासंग १०९ मेगावाट बराबर विद्युत खरिदबिक्री सम्झौता (पीपीए) गरेको छ । न्युनतम ९६० किलोवाटदेखि ३७ मेगावाट क्षमताका आयोजनासंग पीपीए गरेको हो । पीपीए भएका यी आयोजना आउदो ६ वर्ष अझै ०७८ सम्ममा सम्पन्न हुने प्राधिकरणले जनाएको छ । पीपीए हुनेमा नवलपरासीमा सूर्य पावर कम्पनीको ९६० किलोवाटको सोलार आयोजना पनि छ । पीपीए भएका अन्य आयोजनामा सप्तलाङखोला, २.५, करुवासेती ३२ मेगावाट, हाँडीखोला सुनकोसी ९९७ किलोवाट, पुवाखोला ४.९, माथिल्लो त्रिशुली ३ बी ३७, रुरुवाच्छु खोला १३.५, माथिल्लो मिदिमखोला ७.५ र सिद्धिखोला १० मेगावाट रहेका छन् ।  

सिनर्जी फाइनान्सले ७० प्रतिशत हकप्रद सेयर जारी गर्ने, चुक्ता पूँजी ८० करोड पर्याउने

काठमाडौं । सिनर्जी फाइनान्सले ७० प्रतिशत (१ः०.७० को अनुपातमा) हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले चुक्ता पूँजी ८० करोड रुपैयाँ पर्याउने प्रयोजनको लागि हकप्रद सेयर निष्काशन गर्ने निर्णय गरेको हो । उक्त निणर्य असोज ८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले नेपाल राष्ट्र बैंकको पूँजी वृद्धि गर्ने निर्देशन बमोजिम सो निर्णय गरेको हो । हाल कम्पनीको चुक्ता पूँजी ४७ करोड ४४ लाख रुपैयाँ रहेको छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४१ रुपैयाँ रहेको छ ।

एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन, प्रतिकित्ता १२ रुपैयाँ मात्र

काठमाडौं । सोमबार एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १को सेयर मूल्य समायोजन भएको छ । नेप्सेले फण्डको २१.०५ प्रतिशत नगद लाभांश पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको यस म्यूचल फण्डको सेयर मूल्य प्रतिकित्ता १२.४४ रुपैयाँ तोकिएको छ ।

नवरात्रीमापनि सुन बजार सुस्त, ४० प्रतिशतले घट्यो सुनको कारोबार

काठमाडौँ । यसपाली दसैंमा सुनचाँदीको कारोबारमा कमी आएको छ । विगतको तुलनामा यसपाली सुनको कारोबारमा ४० प्रतिशतले घटेको सुन व्यवसायीले बताएका छन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वाध्यक्ष तेजरत्न शाक्यले सामान्यतया दसैंमा दैनिक ५० किलो सम्म बिक्नुपर्ने सुन नवरात्री सुरुभएदेखि दैनिक २५ किलो मात्र सुनको कारोबार भइरहेको बताए । बढिरहेको सुनको भाउ र चुनावी माहोलले गर्दा दसैंमा सुनको कारोबार घटेको उनले बताए । उनले भने, ‘दसैंको मुखमा सुनको भाउ पनि बढिरहेको छ । त्यसमाथी चुनावले गर्दा मानिसहरुको सुनतर्फको आकर्षण घटेको छ ।’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज महिनाको सुरुवात देखि उकालो लागेको सुनको भाउ तलमाथी भइरहेको छ । सोमबार सुन प्रति तोला ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । दसैँमा धेरथोर सुन तथा गरगहना जोहो गर्ने परम्परा रहेको छ । सामान्य अवस्थामा भन्दा नवरात्रीमा सुनको बढी कारोबार हुने भएपनि यसपाली कारोबारमा कमी आएको हो । दसैंमा लत्ताकपडा तथा खाद्यान्नमा चहलपहल बढिरहेको बेला सुनचाँदी पसलहरु भने सुनसान छन् । यसपाली दसैंमा सुन बजारमा कुनै उत्साअ नभएको शाक्यले बताए । तीनवर्ष अगाडीको विनाशकारी भुकम्प र नाकाबन्दीको प्रभाव सुन बजारमा परेको उनले बताए । उनले भने, ‘सुनको मूल्य उच्च हुनु, क्रय शक्ति घट्नु, बाढीजस्ता कारणले मानिसको यसप्रति आकर्षण घट्दै गइरहेको छ ।’ महासघंका अनुसार अघिल्ला वर्षमा दसैँका वेलामा दैनिक करिब ४० देखि ५० किलोको सुनको व्यापार हुने गरेकामा यसपटक विभिन्न कारणले दैनिक २५ किलोको समेत कारोवार हुन सकेको छैन ।

बीमा कम्पनीका कर्मचारीको महत्वकांक्षा बढ्यो, तलब सीमा तोक्ने सोचमा बीमा समिति

काठमाडौं । भटाभट नयाँ बीमा कम्पनीहरु खुल्न क्रम चलिरहदा यस क्षेत्रमा कार्यरत कर्मचारीको महत्वकांक्षा बढेको बीमा समितिका अध्यक्ष जिरञ्जीवी चापागाईँले बताएका छन् । नयाँ अवसर वृद्धिसँगै बीमा कम्पनीमा कार्यरत कर्मचारीमा छिटो छिटो बढुवा र उच्च दरमा पारिश्रमिकको वृद्धिको आकांक्षा पलाएको पाइएको बताउँदै उनले स्थिति जटिल हुने देखिएमा बीमा समिति कर्मचारीको तलव सीमा तोक्न बाध्य हुने बताए । ‘संस्थागत सुशाशन सम्बन्धी निर्देशिकमा प्रमुख कार्यकारी अधिकृतको तलवको सीमा तोकिएको छ’ उनले भने–‘बीमकको कर्मचारीको तलवमा पनि बेथिति आयो सीमा तोक्नुपर्ने दिन आउँछ । बीमा समितिले यस विषयमा सोचिरहेको छ ।’ नयाँ कम्पनीहरुले पुराना कम्पनीबाट मात्र कर्मचारी तान्ने प्रयास गरेकोमा उनले असन्तुष्टि जनाए । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको उद्घाटन कार्यक्रममा बोल्दै चापागाईँले भने–‘विश्वविद्यालय पढेका र बेरोजगार भएर छट्पटाईरहेको युवाहरुलाई अवसर दिनुहोस्, उनीहरुको क्षमता विकासमा कम्पनीले केही लगानी गर्नुपर्छ, त्यसले कम्पनी र बीमा क्षेत्र दुबैलाई ठूलो मद्दत गर्छ ।’ बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई पनि करार अवधि तोडेर अर्को कम्पनीमा नजान उनले सचेत गराए । ‘करार अवधि नसकि पुरानो कम्पनीलाई धोका दिएर नयाँ कम्पनीमा जाने प्रमुख कार्यकारी अधिकृतहरुलाई बीमा समितिले राम्रो मान्ने छैन’ उनले –‘बीमा क्षेत्रको स्थायीत्व र विकासका लागि लगानीकर्ता, सञ्चालक, सीईओ, कर्मचारी सबै जिम्मेबार बन्नुपर्छ ।’ बीमा कम्पनीका सञ्चालक, प्रवद्र्धकले सीईओ तथा व्यवस्थापन समितिलाई बढी नाफा, छिटो नाफाको लागि दवाव नदिन पनि उनले निर्देशन दिए । २०६३/६४ देखि २०७३/७४ सम्मका बीमा बजार, नेपालीहरुको औसत आयु, जीडीपीमा धेरै गुणाले वृद्धि भएको तर १० वर्षसम्म नयाँ बीमा कम्पनी नथपिएको उल्लेख गर्दै नयाँ कम्पनीहरुको लागि बजार प्रशस्त भएको उनले बताए । ज्योति लाइफ इन्स्योरेन्सका अध्यक्ष पशुपति मुरारकाले नियम, कानुन र बीमा समितिको निर्देशन अनुसार कम्पनी चलाउने, अरु कम्पनीले भन्दा राम्रो सेवा दिने प्रतिवद्धता जनाए । एनआईसी एशिया बैंकसहित ४२ जना प्रवद्र्धक भएको यस कम्पनीमा नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला शर्मा सञ्चालक छन् भने प्रकाश विक्रम खत्री उप प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । यस कम्पनीको जारी पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । संस्थापकहरुले ७० प्रतिशत पुँजी लगानी गरेका छन् भने सर्वसाधारणको लागि ६६ करोड अर्थात ३० प्रतिशत सेयर छुट्याइएको कम्पनीले जनाएको छ । कम्पनीले सेवा प्रारम्भ गरेकै दिन १० स्थानबाट सेवा प्रारम्भ गरेको र ३ वटा जीवन बीमा योजना आरम्भ गरेको जनाएको छ । तत्काल थप २ जीवन बीमा योजना ल्याउने कम्पनीद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।