विकासन्युज

लुम्बिनी जनरल इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सूचिकृत

काठमाडौं । मंगलबार लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद सेयर नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)मा सूचिकृत भएको छ । इन्स्योरेन्सको ३९ लाख कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत भएको छ । ज्ञानेश्वरमा केन्द्रिय कार्यालय रहेको यस कम्पनीको चुक्ता पूँजी ७८ करोड ३० लाख रुपैयाँ रहेको छ । सोमबार कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८९५ रुपैयाँ रहेको छ ।

आयो १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड, यस्ता छन् विशेषता

काठमाडौं । सिद्धार्थ क्यापिटल लिमिटेडले १ अर्ब २० करोडको सिद्धार्थ इक्वीटी फण्ड ल्याएको छ । सिद्धार्थले आफ्नो तेश्रो म्युचुअल फण्डका रुपमा १० वर्षे इक्वीटी फण्ड ल्याएको हो । असोज २५ गतेदेखि २९ गतेसम्म आवेदन दिन सकिने यो फण्डमा १० रुपैंयाँ मूल्यका न्युनतम एक सय ईकाईदेखि अधिकतम २ करोड ४० लाख मुल्यको २४ लाख ईकाईका लागि आवेदन दिन सकिन्छ । फण्डको १५ प्रतिशत सिद्धार्थ बैंकका लागि सुरक्षित गरिएको छ भने बाँकी ८५ प्रतिशत अर्थात १अर्ब २ करोड मूल्य बराबरको १० करोड २० लाख ईकाईमा भने अन्य संस्था तथा सर्वसाधारणले लगानी गर्न सक्नेछन् । यसअघि नै २ वटा म्युचुअल फण्डहरुको सफल कार्यान्वयन गरिहरेको कम्पनीले यसपाली तीन गुणा आवेदन पर्ने अपेक्षा गरेको छ । ‘हामीले अघिल्ला २ वटा म्युचुअल फण्डहरुमा राम्रो प्रतिफल दिईरहेका छौं, तेश्रो फण्डका लागि मागको तीन गुणा बढि आवेदन पर्ने अपेक्षा गरेका छौं’, सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमल्सिनाले भने । कम्पनीले पहिलो पटक ५० करोड रूपैयाँको म्युचुअल फण्ड ल्याएको थियो । साढे ४ वर्षे अवधीमा सो म्युचुअल फण्डले १२४.५ प्रतिशत प्रतिफल दिईसकेको छ । त्यस्तै, कम्पनीले साढे २ वर्ष अघि ल्याएको एक अर्बको दोश्रो म्युचुअल फण्डले ४१ प्रतिशत प्रतिफल लगानीकर्तालाई दिईसकेको छ । सिद्धार्थ इक्वीटी फण्डले औषतमा २५ प्रतिशतका दरले प्रतिफल दिने प्रमुख कार्यकारी अधिकृत तिमल्सिनाले दावी गरे । ‘म्युचुअल फण्डमा हामी अब्बल सावित भैसकेका छौं, २५ प्रतिशतको औषत प्रतिफल दिन कुनै समस्या हुन्न’, तिमल्सिनाले विकासन्युजसँग भने ।

फेरी म्यादी प्रहरीमा जागिर खुल्यो, ९८ हजार २६८ जना भर्ना गरिने

काठमाडौं । आउदो केन्द्र र प्रदेशको निर्वाचनका लागि नेपाल प्रहरीले झण्डै १ लाखको संख्यामा म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । नेपाल प्रहरीले असोज ३० गतेसम्म दरखास्त बुझाउन भनेको छ । निर्वाचनको सुरक्षाका लागि प्रहरीले ९८ हजार २६८ जनालाई भर्ना खुलाएको हो । निर्वाचनमा खटिने म्यादीको समय ५५ दिन हुने छ । म्यादीलाई नेपाल प्रहरीको जवान सरह आधारभूत तलव १७ हजार २३० का दरले ५५ दिनका लागि पारिश्रमिक, राशन र स्थानिय भत्ता उपलब्ध गराइने प्रहरी प्रधान कार्यलयले जनाएको छ । कार्यस्थलमा खटिने म्यादीलाई ७ दिनका लागि प्रतिदिन २५० रुपैयाँ विशेष भत्ता र सोही बराबर खाना खर्च उपलब्ध गराइने प्रधान कार्यलयले जनाएको छ । यस्तै पोशाकलाई ४ हजार र खटिएको ठाउँमा आउन जानका लागि १ हजार रुपैयाँ दिने प्रधान कार्यलयले जानकारी दिएको छ । १८ वर्ष पुरा गरी ५४ वर्ष ननाघेकाले उमेर हद तोएिको छ ।  

आरम्भ माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्ने, साधारणसभामा प्रस्ताव पेश हुदै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । संस्थाको कात्तिक १८ गते हुने तेस्रो वार्षिक साधारणसभा आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश हुने भएको छ । यस्तै संस्थाले कार्यक्षेत्र विस्तारका लागि जिल्ला थप गर्ने प्रस्ताव सभामा पेश हुने जानकारी दिएको छ । संस्थाको कार्यलय काभ्रेको वनेपामा छ ।

विश्व बैंकको वार्षिक गभर्नस बैठक सुरु हुदै, नेपालले भूकम्प पीडितलाई घर बनाउन थप ३० अर्ब माग्ने

काठमाडौं । सरकारले भूकम्प पीडितलाई घर बनाउनका लागि दिने अनुदान रकम नुपग्ने भएपछि विश्व वैंकसंग थप ३० अर्ब रुपैयाँ सहुलियत ऋण लिने भएको छ । विश्व बैंकको वार्षिक गभर्नस बैठकमा नेपालले थप ३० अर्ब रुपैयाँ ऋण दिनका लागि अनुरोध गर्ने भएको हो । बैंकले हालै शासकीय सुधारलगायत अन्य क्षेत्रमा १५ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । बैंकको वार्षिक बैठकमा भाग लिन अर्थसचिव डा. शान्तराज सुवेदी अमेरिका जादैछन् । यो वैठकमा विश्व बैंकको सहायतामा सञ्चालित परियोजनाको प्रगतिका बारेमा विश्लेषण हुनुका साथै भूकम्प पीडितलाई घर बनाउनका लागि शुन्य ब्याज दरमा ऋण माग्ने सचिव सुवेदीले बताए । अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की विशेष कारणवस नजाने भएपछि नेपालको नेतृत्व गर्दे सचिव सुवेदीले बैठकमा भाग लिने भएका हुन् । उनकाअनुसार विश्व बैंक थप सहयोग गर्न सकरात्मक भएको छ । उसले शुन्य ब्याज दरमा थप रकम ऋण दिने संकेत समेत गरेको उनले जानकारी दिए । बैंकले झण्डै ३५ अर्ब रुपैयाँ अनुदान दिइसकेको छ । राष्ट्रिय पुननिर्माण प्राधिकरणका अनुसार हालसम्म ५० हजार २५१ निजी आवास निर्माण सम्पन्न भएका छन् । यस्तै १ लाख ३० हजार २३४ घर निर्माणधिन अवस्थामा छन् । हालसम्म ९ लाख ९६ हजार १६२ घरको सर्वे भएको छ । यसमध्ये लाभग्राहीको सूचीमा ७ लाख ६५ हजार ६१८, ६ लाख ४० हजार २७० संग अनुदान सम्झौता सम्पन्न भएको प्राधिकरणले जनाएको छ । पहिलो किस्ता वापत ६ लाख ९ हजार ९४० लाई वितरण भइसकेको छ । यस्तै दोस्रो किस्ता ७९ हाजार ११४ र तेस्रो किस्ता ७ हजार ९९४ लाई वितरण गरिएको प्राधिकरणले जनाएको छ ।

निर्माण व्यवसायी महासंघको निर्णय, गौचनको हत्यारालाई कार्वाही नभएसम्म सरकारी ठेक्कामा भाग नलिने

काठमाडौ । व्यवसायी शरदकुमार गौचनको हत्यारालाई पहिचान गरेर कानूनी कार्वाही नगरेसम्म निर्माण व्यवसायीले सरकारी ठेक्कापटट्मा भाग नलिने भएका छन् ।   अध्यक्ष गौचनको सोमबार दिउसो गोली हानी हत्या भएपछि नेपाल निर्माण व्यवसायी महासंघको कार्यकारी समितिको आकास्मिक बैठकले हत्यारलाई कार्वाही नगरेसम्म सरकारी बोलपत्रमा भाग नलिने निर्णय गरेको हो । महासंघले गौचनको हत्यारा पहिचान गरी कार्वाही गर्न सरकारको ध्यानकर्षण गरेको छ । सोमबार दिउँसो तीनबजेतिर मोटरसाइकलमा आएका दुई जनाले राजधानीको शान्तिनगरस्थित ओम शान्ति चोकमा गोली प्रहार गरी गौचनको हत्या गरेका हुन् । उपचारको लागि मीनभवनस्थित सिभिल अस्पताल लगिएको थियो । अस्पतालमा डाक्टरले उनलाई मृत घोषणा गरेका थिए । गौचनको शरीरमा तीनवटा गोली लागेको थियो । एउटा गोली मुटुमा, एउटा कलेजोमा लागेको थियो । अर्को पेटमा लागेको बताइएको छ । लेनदेनको कारण गौचनको हत्या भएको अनुमान गरिएको छ । गोली प्रहार गर्नु अघि उनको गाडीको सिशामा इट्टा प्रहार गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । गौचन बानेश्वर स्थित ओमशान्ती चोकबाट प्रयामार्गबाट मीनभबनको बाटो हुदै निस्कदै गरेका थिए ।

विराटनगर जुटमिल्समा व्यापक अनियमितता, सरकारले थाल्यो छानविन

काठमाडौं । सरकारले विराटनगर जुल मिल्स लिमिटेडमा भएको अनियमिततामाथी छानबिन गर्ने भएको छ । उद्योग मन्त्रालयले जुट मिल्सको सम्पती अनाधिकृत रुपमा बिक्री गरेको उजुरी परेपछि उद्योग विभाग मार्फत छानबिन अगाडी बढाएको हो । विभागले सोमबार नै छानविन प्रक्रिया थालेको जानकारी दिएको छ । गत भदौ २६ गते उद्योगमा अनियमितता भएको भन्दै उजुरी दर्ता गरेको थियो । जुट मिल्सका सञ्चालक वसन्त वन, प्रबन्ध निर्देशक निलहरि काफ्ले, निमित्त प्रबन्धक राजेन्द्र कार्की र प्रशासकिय अधिकृत तारानाथ तिम्सीना र सञ्चालक समितिलाई विपक्षी बनाइएको छ । विराटनगरका रुद्रबहादुर खत्री, धर्मानन्द सन्जेल र दिनेशकुमार राईले संयुक्त रुपमा नेपालको पहिलो उद्योगको सम्पती अनाधिकृत रुपमा अपचलन गरी रातारात विनास गर्ने, बिक्री गर्ने र उद्योगलाई ध्वस्त बनाउन लागिएको भन्दै सञ्चालकलाई निलम्बन गर्न माग गर्दे छानविनका लागि उजुरी दिएका थिए । उद्योग मन्त्रालयले असोज ६ गते विभागलाई छानविन गरी प्रतिवेदन पेश गर्न निर्देशन दिएको थियो । सोही निर्देशनका आधारमा सोमबार विभागले छानविन सुरु गर्ने निर्णय गरी प्रतिवेदन पेश गर्ने निर्णय गरेको छ । करिब ६७ विगाह जमिन मध्ये दक्षिणतर्फको जग्गा र सुगरमिल्स साइडको जग्गा खण्डीकरण गरी अतिकम मूल्यमा प्रक्रिया पुरा नगरी सशस्त्र प्रहरीलाई बिक्री गर्न खोजेको पाइएको छ । गत वर्ष बैसाख ८ र २० गते उद्योग मन्त्रालयले जुट मिल्सलाई पुराना सामान लिलाम, बिक्री तथा कुनैपनि तरिकाबाट हस्तान्तरण नगर्न आदेश दिएको थियो । सञ्चालक काफ्ले, कार्की, वन र तिम्सिनाले त्यसलाई बेवास्ता गर्दै मनोमानी ढंगबाट बिक्री गरी आर्थिक लाभ लिन राष्ट्रिय सम्पती हिनामिना गरेको खुल्न आएको छ । ३० लाख मूल्य पर्ने घरलाई ५ लाखमा बिक्री गत वर्षको असार १ गते मन्त्रालयले अर्को व्यवस्था नभएसम्म बोर्ड वा कम्पनी सम्बन्धी कुनै पनि कार्य नगर्नु र मन्त्रालयमा हाजिर हुन आउनुु भनी पत्राचार गरेको थियो । प्रबन्ध निर्देशक काफ्ले र अध्यक्ष बसन्त बनले मन्त्रालयको पत्रलाई बेवास्ता गर्दै विराटनगर महानगरपालिका वडा नम्बर १५ स्थित १५ वटा घरहरु चलनचल्तीको मूल्यभन्दा अति कम मूल्यमा बेचेको पाइएको छ । ती १५ घरलाई काफ्लेले मौखिक आदेशमा १२ नम्बर वडाका राजिव सुब्बालाई ५ लाख रुपैयाँमा बेचेका छन् । चलनचल्ती अनुसार ती घरको मूल्य ३० लाख रुपैयाँ बढी पर्न आउछ । गोप्यरुपमा राष्ट्रिय सम्पतीको बिक्री जुट मिल्सका सञ्चालकले अदालतको आदेशविपरित मिलका पुराना सामान बिक्री गरेको छ । उजुरी परेपछि तत्कालिन पुनरावेदन अदालतले गत वर्ष जेठ २४ गते जुट मिल्सको सम्पती संरक्षण गर्न आदेश दिएको थियो । यद्दपी आदेशविपरित सञ्चालकले गोदाम भत्काई पुराना सामान, इटा, टिन, काठपातसमेत बिक्री गरेको पाइएको छ । जुट मिलको कम्पाउण्डमा रहेको तयारी बोराको गाठ हजारौं टन अट्ने क्षमता दुई वटा ठुला गोदामका भुईमा ओछ्याइएका लाखौं रुपैयाँ पर्ने सखुवाको काठ (फाल्टा) रातारात उप्काई निकाली मेशीनहरुको पार्ट पुर्जा समेत गोप्य रुपमा बिक्री गरिएको छ । सेयर घोटाला सरकारको ६८ प्रतिशत स्वामित्व भएको मिल्सका प्रबन्ध निर्देशक काफ्लेको सक्रियतामा कम्पनी ऐन बमोजिम प्रकृया पुरा नगरी सेयर सदस्यहरुलाई जानकारी नदिई सेयर निष्काशन गरिएको पाइएको छ । मन्त्रालयको समेत स्वीकृती नलिई सरकारलाई ३३.८३ प्रतिशतको मात्र साझेदार बनाइएको छ । सञ्चालक नीलहरिसहितको निजी क्षेत्रसित अब ६६.१७ प्रतिशत स्वामित्व हात परेको छ ।

काठमाडौं महानगरले सवारी करको दर चार गुणासम्म बढायो, कुन सवारीले कति तिर्नुपर्छ ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले यो वर्ष सवारी करको दररेट चार गुणासम्मले बढाएको छ । महानगरपालिका भित्र ठेगाना रहने गरि दर्ता भएका तथा सो क्षेत्रभित्र चल्ने सवारी साधनको करको दररेट बढाइएको छ । काठमाडौं नगरसभाबाट स्विकृत भएको आर्थिक ऐन २०७४ अनुसार साउन १ गते देखि लागू हुनेगरी सवारीको दररेट बढाइएको हो । महानगरपालिकाले मोटरसाइकल तथा स्कुटरको करको दररेट दोब्बरले वृद्धि गरेको छ । यसअघि दुई सय रुपैयाँ दररेट रहेको मोटरसाइकलमा अब वार्षिक ४ सय रुपैयाँ दर रेटमा कर तिर्नुपर्नेछ । गत आर्थिक वर्षसम्मको तथ्यांक अनुसार प्राइभेट र भाडाका कार, जीप, भ्यानलाई छुट्टाछुट्टै दररेट तोकिएको थियो । अहिले सबैको दररेट एउटै कायम गरिएको छ । गाडीतर्फ कार, जीप, भ्यान वा यस्तै चार पाङ्ग्रे सवारीका लागि वार्षिक १ हजार रुपैयाँ पुगेको छ । ट्रयाक्टरको करको दररेट चार गुणाले बढाइएको छ । टेम्पु तथा ट्याक्टर चालकका लागि वार्षिक दररेट एक हजार रुपयाँ तोकिएको छ । मिनी बस र मिनी ट्रकलाई दुई हजार रुपैयाँ कररेट लाग्ने भएको छ । त्यस्तै ठुला सवारी तर्फ बस तथा ट्रकलाई तीन हजार रुपैयाँ कररेट लागेको छ भने हेभी गाडी, डोजर र क्रेनमा चार हजार रुपैयाँ लाग्ने भएको छ । गत आर्थिक वर्षमा १४ करोड ७ लाख ८५ हजार रुपैयाँ बराबरको रकम आम्दानी भएको थियो भने चालु आर्थिक वर्षको दुई महिनामा करको आम्दानी १४ करोड ९ करोड १४ लाख रुपैयाँ बराबरको भएको छ । विद्युतीय उर्जाबाट चल्ने तथा कृषि कार्यमा प्रयोग गरिने सवारी साधनका हकमा तोकिएको दरमा ५० प्रतिशतले छुट  दिइएको महानगरपालिकाले जानकारी दिएको छ । सवारी साधन नयाँ वार्षिक दररेट (रुपैयाँमा) मोटरसाइकल, स्कुटर ४०० कार, जीप र भ्यान १००० टेम्पु र ट्याक्टर १००० मिनीबस, मिनी ट्रक २००० ठुला बस, ट्रक ३००० हेभी गाडी, डोजर र क्रेन ४००० अन्य सवारी १०००