स्वावलम्बन लघुवित्तले ३१ प्रतिशत लाभांश दिने
काठमाडौं । स्वावलम्बन लघुवित्त विकास बैंकले आफ्ना सेयरधनीलाई ३१ दशमलब ५७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ११.५७८ प्रतिशत नगद गरी सो मात्राको लाभांश दिने निर्णय गरेको छ । उक्त निर्णय असोज २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा बैंकको आगामी साधारण सभाले पारित गर्नु पर्ने छ । हाल कम्पनीको चुक्ता पूँजी ४१ करोड ८९ लाख रुपैयाँ रहेको छ । कम्पनीले नगद लभांश तथा बोनस सेयरको कर समेत ४ करोड ८५ लाख ११ हजार रुपैयाँ बराबरको नगद लभांश दिने प्रस्ताव राखेको छ । साथै, कम्पनीले ८ लाख ३७ हजार ९२३ कित्ता बोनस सेयर वितरण गर्ने छ ।
रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक, भट्टराई बने पहिलो विजेता
काठमाडौं । मलेसियास्थित रिया आइएमईले दशैं र तिहारको अवसरमा ल्याएको ‘दशैं तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखि व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत पहिलो भाग्यशाली विजेता घोषणा गरेको छ । सफ्टवेयर सिस्टममा आधारित रहेर गरिएको छनोट कार्यक्रममा रिया आइएमईका सेवाग्राही राममणि भट्टराई भाग्यशाली बिजेता घोषित भएका छन् । सेवाग्राही भट्टराईले मलेसियाबाट रिया आइएमईमार्फत कूल नेपाली रुपैयाँ ३२ हजार ५३ पठाएका थिए । उक्त रकम नेपालको सिन्धुपाल्चोक स्थित आइएमईको व्यवसायीक साझेदार अभियान बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तानी लिइएको छ । रिया आइएमईले यसपटकको दशैं र तिहारलाई लक्षितगरि ‘दशैं तिहारमाआइएमई गर्नुहोस् घर सजाउनुहोस्’नामक सेवाग्राहीमूखि कार्यक्रमयही सेप्टेम्बर १ देखि अक्टुबर मसान्तसम्म (दुई महिना) संचालनमा ल्याएको छ । योजना अवधिमा सफ्टवेयर सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत पाँच जना भाग्यशाली विजेता घोषणा गरिन्छ । भट्टराई पहिलो भाग्यशाली विजेता छनोट भएका हुन् । भाग्यशाली विजेताले घरयासी प्रयोजनका सामाग्रीहरु वासिङ्गमसिन, रेफ्रिजेरेटर, एलइडी टेलिभिजन, माइक्रो वेभ वभन र स्ट्याण्ड फ्यान प्राप्त गर्न सक्नेछन् । उपहार प्राप्त गर्नका लागि विजेताले मलेसियास्थित रिया आइएमईमा सम्पर्क गर्नुपर्नेछ ।
सिटी एक्स्प्रेस मनी ट्रान्सफर ‘उत्सव एक्स्प्रेस’ योजनाको विजेता छानिए
काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफर उत्सव एक्स्प्रेस योजनाको बिजेताहरु छानिएका छन् । कम्पनीले भदौ २९ देखी आश्विन २१ सम्मको विजेताहरु इलेक्ट्रोनिक लक्की ड्र मार्फत छानेको हो । कम्पनीले चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । शिव खनाल, बाल कुमार सुनुवार , सम्झना ढकाल, जनक माया लामा, रामवती सव्रिया निरु सुबेदी, प्रमिला गिरि, युकेश श्रेष्ठ, हेम कुमारी मगर, भक्त बहादुर तामाङ, दान माया राना मगर, फुल माया घलान , ओम सारी पुन , हिरा पुर्कुटी, लक्ष्मी घर्ति, रुक माया राई, आशिक गुरुङ र गङ्गा बहादुर पुनले चाँदीको सिक्का पाएका छन् । रुपेश राना मगर र उम्माया गुरुङले ओप्पो मोबाइल फोन प्राप्त गरेका छन् । कम्पनीले साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गर्ने बताएको छ । योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार स्वरुप रेनौल्टकोे क्विड आरएक्सएल कार जित्न सक्नेछन् ।
पिपुल्स हाइड्रोपावरले ८५ करोडको आईपीओ निष्कासन गर्दै, पुसदेखि प्रक्रिया शुरु हुने
काठमाडौं । पुँजी बजारमा पिपुल्स हाइड्रोपावर कम्पनीले पनि सर्वसाधारणका लागि सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । ४९.६ मेगावाट क्षमताको सुपरदोर्दीखोला आयोजना निर्माण गरिरहेको पिपुल्स हाइड्रोपावरले सर्वसाधारणलाई ३० प्रतिशत आईपीओ निष्कासनको तयारी थालेको हो । आईपीओ निष्कासन गर्न कम्पनीलाई लिमिटेडमा परिणत गर्नका लागि प्रक्रिया शुरु भएको छ । कम्पनीलाई लिमिटेडमा रुपान्तरण गरेपछि आउदो पुसदेखि आईपीओका लागि काम सुरु गर्ने कम्पनीका प्रवन्ध निर्देशक केशवबहादुर रायमाझीले बताए । विकास न्युजसंग कुरा गर्दे उनले ढिलोमा आगामी १ वर्षभित्र आईपीओ निष्कासन गरिसक्ने जानकारी दिए । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी कुल ७५ करोड रुपैयाँ बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्ने उनले बताए । जसमध्ये १० प्रतिशत स्थानियबासिन्दा र २० प्रतिशत सर्वसाधारणलाई हुनेगरी सेयर संरचना तयार पारिएको छ । कम्पनीमा अहिले १ हजार ५ सय भन्दा बढी संस्थापक सेयरधनी छन् । प्रभावित लम्जुङबासिले सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडमार्फत २७ करोड रुपैयाँ संस्थापक सेयर लगानी गरेको छन् । ६० प्रतिशत अन्य र १० प्रतिशत स्थानियको संस्थापक सेयर लगानी छ । बाँकी ३० प्रतिशत आईपीओबाट लगानी जुटाउने गरी कम्पनीले लगानी संरचना तयार पारेको रायमाझीले जानकारी दिए । आयोजना बनाउन ८ अर्ब ३० करोड रुपैयाँ लगानी आवश्यक पर्ने अनुमान गरिएको छ । नविल बैंकको अगुवाईमा एभरेष्ट बैंक, ग्लोबल आईएमई बैंक, राष्ट्रिय वाणिज्य बैंक, कर्मचारी संचय कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलगायत १० वित्तीय संस्थाले ५ अर्ब ८० करोड रुपैयाँ आयोजनामा लगानी गरेका छन् । बाँकी संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुनेछ । आयोजनाको सुरुङ निर्माणको काम सुरु भइसकेको उनले बताए । रायमाझीका अनुसार आयोजना ढिलोमा आउदो ०७७ असारसम्म सम्पन्न हुने छ । नेपाल विद्युत प्राधिकरणले दोर्दीकरिडोरमा प्रसारणलाइन निर्माणमा ढिलाइ गरिरहेकाले आयोजना निर्माण पनि पछि धकलिएको हो । आयोजनाको अडिट सुरुङ सम्पन्न भई मुल सुरुङ खन्ने काम पनि सुरु भएको छ । बाँधको काम पनि अब सुरु हुने उनले जानकारी दिए । आयोजनाको झण्डै ५ किलोमिटर लामो सुरुङ खन्नुपर्ने छ । आयोजनाबाट उत्पादन हुने बिजुली नेपाल विद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता (पीपीए) गरेको छ । जसअनुसार हिउँदमा प्रतियुनिट ८ रुपैयाँ ४० पैसा र वर्षादमा ४ रुपैयाँ ८० पैसामा पीपीए भएको हो । आयोजना लम्जुङको ढोढेनी र फलेनीमा पर्छ । आयोजनाबाट वार्षिक ३० करोड १५ लाख युनिट बिजुली उत्पादन हुने छ । जसअनुसार २४ करोड ४१ लाख वर्षामा र ४ करोड ५३ लाख युनिट बिजुली सुख्खायाममा उत्पादन हुने छ । आयोजनाको प्रतिकिलोवाट लागत करिव १७ करोड रुपैयाँ छ भने आन्तरिक प्रतिफल १६.९ प्रतिशत हुने कम्पनीले गरेकाृे वित्तीय विश्लेषणमा उल्लेख छ । हेड ६०२ मिटर भएकाले आयोजना आर्थिक रुपमा आर्कषण देखिएको छ । कम्पनीले सोही क्षेत्रमा रहेको ५७ मेगाावाटको हिमचुली दोर्दी आयोजनाको संभाव्यता अध्ययन थालेको छ । सुपरदोर्दी सम्पन्न हुने बेलामा हिमचलुली दोर्दीको पनि निर्माण सुरु हुने उनको भनाई छ ।
कन्काई विकास बैंकको साढे पाँच लाख कित्ता सेयर लिलामीमा
काठमाडौं । कन्काई विकास बैंकले साढे पाँच लाख कित्ता सेयर लिलामीमा बेच्ने भएको छ । बैंकले बिक्रि नभएको हकप्रद सेयर वापतको सेयर लिलामीमा बेच्न लागेको हो । कन्काईको हकप्रद सेयर संस्थापक तर्फ ३ लाख ८१ हजार ६ सय ५० कित्ता र साधारण तर्फ १ लाख ६८ हजार २ सय ८७ कित्ता गरि कुल ५ लाख ४९ हजार ९ सय ३७ कित्ता बिक्रि भएको थिएन् । सोही सेयरलाई न्युनतम एक सय रुपैंयाँको मूल्यमा बोल कबोल गरेर खरिद गर्न सकिने सूचना बैंकले प्रकाशित गरेको हो । सिद्धार्थ क्यापिटलबाट कात्तिक १० गतेभित्र कन्काईको सेयर खरिद गर्न सकिनेछ । न्युनतम एक सय कित्ताका लागि आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
तिहार बोलाउँदै मखमली, आम्दानी कुर्दै माली (फोटो फिचर)
भक्तपुर । तिहार आउन करिब दुई साता बाकी रहँदा भक्तपुर सुर्यविनायक नगरपालिका स्थित गुण्डुका कृषकहरु मखमली फुल टिप्न र माला गाँस्नमा व्यस्त छन् । घर सजाउन मात्र नभई कुकुर तिहार, गाई पुजादेखि भाइटिकामा समेत तिहारमा फूलै चाहिने भएकाले अहिले यसको अत्याधिक माग छ । यहाँका अधिकांश परिवार फुल बेचेर जिविकोपार्जन गरिरहेका छन् । गुण्डु वडा नम्बर ७ का सिता नगरकोटीले तिहारमा सयपत्रीसँगै मखमलीको अत्याधिक माग हुने गरेको र आफ्नो सपरिवार नै फुल टिपेर माला गास्न व्यस्त रहेको बताइन् । गुण्डुमा प्राय सबैले मखमली खेती गरिरहेको उनले जानकारी दिइन् । यहाँ तीन घर मिलेर ४ रोपनीबाट सामुहीक रुपमा मखमली खेती गरिरहेका छन् । नगरकोटीले भने आफ्नो १ रोपनी जग्गामा मखमली मात्र रोपेकी छिन् । एक रोपनीमा १७/१८०० वटा माला बराबरको फुल उत्पादन हुनेगरेको उनले बताइन् । गत सालभन्दा यसपाली तिहार अलि अघि परेकाले धेरै फुल बेच्न नसक्ने उनले बताइन् । अहिलेसम्म पाँच सय वटा मखमली माला व्यवसायीले लगिसकेको उनले बताइन् । करिब ४० बर्ष उमेरकी नगरकोटी फूल खेतीमा लागेको ४-५ वर्ष भयो । कात्तिकमा चाहिने यो फुललाई बैसाखमै रोप्नुपर्छ । एउटा मालाको २२ रुपैयाँसम्म लिने गरेको उनले बताइन् । उनले भनिन्, ‘एउटा माला बेच्दा पाँच रुपैयाँमात्र नाफा हुन्छ । खुद्रा किन्दा त्यहि मालाको ५०/६० रुपैयाँसम्म पर्छ । व्यापारीले त्यही माला बेचेर धेरै कमाउछन् ।’ नगरकोटीले दसैं सकिएलगत्तै २ सय वटा माला गासिसकेका छन् । तिहारका दिन असन र कालीमाटी ल्याएर फूल बेच्ने गरेको उनले बताइन् । गुण्डुका अर्का किसान मैंया बस्नेतले पनि घरको करेसामा मखमली लगाएकी छिन् । उनले आठ सय वटा माला तयार पारेको बताइन् । उनले माला बेचेर घरको नुन, तेलको जोहो हुने गरेको बताइन् । मखमलीसँगै नगरकोटीले सयपत्री पनि लगाइकी छिन् । माग बढेपनि उत्पादन राम्रो नभएकाले सयपत्री कम रोप्ने गरेको उनले बताइन् । यो सिजनमा भारतबाट समेत फूल आयात हुनेगरेको छ ।
विद्युत् उत्पादन कम्पनीले पायो २५ सय मेगावाटको लाइसेन्स, संभाव्यता अध्ययन सुरु हुदै
काठमाडौं । सरकारले हालै स्थापना गरेको विद्युत उत्पादन कम्पनी लिमिटेडलाई ५ ठुला जलविद्युत आयोजनाको काम अघि बढाउन सर्वेक्षण अनुमतिपत्र (लाइसेन्स) दिएको छ । सरकार स्वामित्वको उत्पादन कम्पनीले लाइसेन्स पाएका आयोजनाको जडित क्षमता २ हजार ४८७ मेगावाट छ । संभाव्यता अध्ययनपछि यी आयोजनाको जडित क्षमता अझ बढ्ने छ । यस्तै अन्य ठुला आयोजनाको लाइसेन्स पाउने क्रममा रहेको छ । ठुला तथा जलसाययुक्त आयोजना निर्माण गर्न सरकारले उत्पादन कम्पनी गठन गरेको हो । ऊर्जा मन्त्रालयले जाजरकोट र डोल्पा जिल्ला भएर बग्ने भरी नदीमा ३०६ मेगावाटको जगदुल्ला जलासययुक्त आयोजनाको सर्वेक्षण गर्न लाइसेन्स दिएको छ । यस्तै संखुवासभामा ४५० मेगावाटको किमाथांका अरुण आयोजना, रुकम, जाजरकोट र डोल्पा जिल्लामा पर्ने ६१७ मेगावाटको भेरी १ जलासययुक्त, कालिकोटमा रहेको ४२६ मेगावाटको फुकोट कर्णाली अर्धजलासययुक्त र कालिकोटमै पर्ने ६८८ मेगावाटको वेतान कर्णाली आयोजना अघि बढाउन अनुमति पाएको हो । यो आयोजनाको अध्ययनका लागि कम्पनीले प्रस्ताव आब्हान गरिसकेको छ । फुकोट कर्णालीको संभाव्यता अध्ययनका लागि उत्पादन कम्पनीले परामर्शदाता नियुत्तीको तयारी थालेको छ । वेतान कर्णालीमा लगानीको संरचना तयार भइसकेको छ । कर्मचारी संचय कोषले १५ प्रतिशत स्वपुँजी (इक्विटी) लगानी गर्ने भएको छ । यस्तै विद्युत् प्राधिकरणको १०, उत्पादनको १०, संचयकर्ताको ४०, स्थानियको १० र सर्वसाधारणको १० प्रतिशत सेयर लगानी हुनेछ । आउदो २ महिनाभित्र सबै आयोजनाको संभाव्यता अध्ययन थालिने कम्पनीका प्रवन्ध निर्देशक मोहनराज पन्तले बताए । उनका अनुसार कम्पनीले धमाधम आयोजनाको अध्ययन गरेर निर्माणको चरणमा पर्याउने भएको छ । सबै आयोजनाको अध्ययन गरेर सर्वसाधारणको लगानी जुटाउने लक्ष्य कम्पनीको छ । सबै आयोजनामा स्थानियबासिन्दा र सर्वसाधारणलाई सेयर दिने योजना रहेको उनले सुनाए । ठुला आयोजना निर्माणका लागि सरकारले कम्पनीको स्थापना गरेको हो । कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ छ । यसमध्ये संस्थापक सेयर ७१ र सर्वसाधारणको २९ प्रतिशत हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीमा ऊर्जा, अर्थ, कानून तथा संसदीय व्यवस्था मन्त्रालयका अतिरित्त नेपाल विद्युत् प्राधिकरण, कर्मचारी संचय कोष, नागरिक लगानी कोष, जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेड, नेपाल टेलिकम, राष्ट्रिय बीमा संस्थानको लगानी छ । यसैगरी सर्वसाधारणको १७, आयोजना प्रभावित स्थानियबासिन्दाको १० र विपन्नलाई २ प्रतिशत सेयर लगानीको व्यवस्था गरिएको छ ।