विकासन्युज

जयराम पुलको ढलान सकियो, मंसिरदेखि सञ्चालन हुने

खोटाङ  । जिल्लाको प्रमुख नाका जयरामघाटस्थित दूधकोशी नदीमा निर्माणाधीन मोटरेबल पक्की पुलको ढलान कार्य सम्पन्न भएको छ । निर्माण कार्य सम्पन्न गर्नुपर्ने सम्झौता अनुसारको मिति सकिएको पाँच वर्षपछि मात्र सोमबार बल्ल ढलान कार्य सम्पन्न भएको हो । ढलान सकिएलगत्तै २८ दिनसम्म क्युरिङ् गर्दै सुकाएपछि २९ औँ दिनदेखि पुल सञ्चालनमा आउने ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका निर्माणस्थलमा खटिनुभएका इञ्जिनियर सीताराम कार्कीले बताए । “क्युरिङ् पिरियडमा पुलको दायाँ र बायाँ पर्ने एप्रोच रोड निर्माण गरिसकिन्छ ।” उनले भने , “एप्रोच रोड निर्माण सकिएलगत्तै आगामी मंसिर पहिलो सातादेखि पुल पनि सञ्चालनमा आउँछ ।” करिब रु १० करोडको लागतमा पूरा हुने भनिएको जयरामघाटको पक्की पुल निर्माणले खोटाङ्गे जनतामा ठूलो आशा जगाएको छ । जयरामघाटमा अहिले पक्की पुल नहुँदा झोलुङ्गे पुलमार्फत आवतजावत तथा दैनिक उपभोग्यवस्तु तार्नुपर्ने बाध्यता छ । जयरामघाटको पुल सञ्चालनमा आएपछि जिल्लामा समृद्धिको बाटो खुला हुने सांसद पाँचकर्ण राई (पिके) ले बताए। “पुल अभावमा लामो समयदेखि जिल्लाको हरेक विकास/निर्माणमा बाधा पुगेको थियो ।” उनले भने , “पुल सञ्चालनमा आएपछि त्यो सबै समस्या समाधान भएर जिल्ला समृद्धिको बाटोतर्फ अगाडि बढ्छ ।” खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामघाटस्थित दूधकोशीमा पक्की पुल निर्माण गर्ने जिम्मा हुलास इञ्जिनियरिङ र  कालिका कन्स्ट्रक्सनले लिएको थियो । २०६८ साल असारसम्ममा पुल निर्माणको सबै काम पूरा गर्ने शर्तमा दुवै कम्पनीले साझेदारीमा काम गर्नेगरी २०६६ साल भदौमा नेपाल सरकार, सडक विभागसमक्ष ठेकेदार कम्पनीले सम्झौता गरेका थिए । करिब १५० मिटर लामो मोटरेबल पक्की पुल नेपालकै नमूना भएको आयोजना प्रमुख इञ्जिनियर उद्धव रानामगरले दाबी गर्नुभयो । “पुलका लागि आवश्यक सामग्री र प्राविधिक बाहिरबाट ल्याउनुप¥यो ।” उहाँले भन्नुभयो, “सबै कुरामा बाहिरी देश चीनकै सहयोग लिनुपरेकाले पुल निर्माणमा ढिलाइ भएको हो ।” २०६४ सालदेखि यातायात सञ्चालन भएको जिल्लामा जयरामघाटमा पक्की पुल नहुँदा हिउँदको समयमा वैकल्पिक व्यवस्थाका लागि अस्थायी बेलिब्रिज जडान गरेर आवतजावत गर्ने गरिएको छ । जयरामघाटमा अस्थायी बेलिब्रिज जडान गर्दा वार्षिक  ६० लाखभन्दा बढी राज्यकोषको रकम खर्च हुने गरेको छ । रासस

अमेरिकाले दिएको सहुलियत नेपालले उपयोग गर्न सकेन, १२ प्रतिशतले घट्यो निर्यात

काठमाडौं । अमेरिकाले नेपाललाई दिएको व्यापार सुविधासम्बन्धी व्यवस्था (जिएसपी) अन्तर्गत भन्सार छुटमा परेका वस्तुहरुको निर्यात उल्लेख्य मात्रामा घटेको छ । आर्थिक वर्ष २०७३/७४ मा अमेरिकाले ६६ वस्तुमा दिएको भन्सार छुटको सदुपयोग गर्न नसक्दा ती वस्तुहरुको निर्यात १२ प्रतिशतले घटेको छ । व्यापार तथा निकासी केन्द्रको तथ्यांक अनुसार नेपालले अमेरिकाले दिएको व्यापार सुविधासम्बन्धी व्यवस्था अन्तर्गतको ६६ वस्तु मध्ये ७४ लाख अमेरिकी डलर (करिब ७७ करोड रुपैयाँ) मूल्य बराबरको वस्तु निर्यात गरेको छ । आर्थिक वर्ष २०७२/७३ मा ६६ वस्तु मध्ये नेपालले ८४ लाख अमेरिकी डलर (करिब ८७ करोड रुपैयाँ) मूल्य बराबरको वस्तु निर्यात गरेको थियो । सन् २०१६ मा सबैभन्दा बढी कार्पेट, टेक्सटाइल, बुनेको कपडा र पशु खाद्यान्न रहेको तथ्यांकले देखाएको छ । ४ करोड ३० लाख डलर मूल्य बराबरको गलैचा र ८० लाख डलरको बुनेका कपडा निर्यात भएको छ । त्यस्तै ४० लाख डलरको पशु खाद्यान्न निर्यात भएको छ । झन्डै ६० लाख अमेरिकी डलर बराबरको कृषि सम्बन्धी उत्पादन निर्यात गरेको छ । समान जनसंख्या र अन्य एउटै क्षेत्रका मुलुकहरुको तुलनामा अमेरिकासँग नेपालको निर्यात निकै कमजोर रहेको नेपालका लागि अमेरिकी राजदुत अलाइना बि टेप्लिजले बताइन् । सन् २०१६मा नेपाल अमेरिकाको व्यापार साझेदार मूलुकहरुमध्ये १५७ औं स्थानमा परेको उनले जानकारी दिइन् । नेपाल अमेरिकाबीच करिब १२ करोड ९० लाख अमेरिकी डलर बराबरको व्यापार साझेदारी रहेको छ । उज्बेकिस्तान, घाना, पेरु तथा मलेसिया जस्ता समान जनसंख्या भएका मुलुकहरुले अमेरिकामा नेपाल भन्दा चार सय गुणा बढी भन्दा बढी निर्यात गरिरहेको उनले जानकारी दिइन् । अमेरिकाले प्रदान गरेको जिएसपी सुविधालाई सक्दो सदुपयोग गर्न उनले सुझाव दिएकी छिन् । व्यवसायीले बजारीकरण सम्बन्धी ज्ञान र पहुँचको अभाव, अनुसन्धानको कमी, गुणस्तर, कच्चा पदार्थ तथा ऋणको व्यवस्था, ब्राण्डिङ लगायतका चुनौतीका कारण निर्यातको घटेको बताएका छन् ।अमेरिकी बजारको माग र पूर्तिलाई अध्ययन गरेर मात्रै निकासी प्रवर्धन गर्न सकिने प्याभिलियन ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले बताए । अमेरिकाका उपभोक्ताको रोजाईं अनुसारको वस्तुमा लगानी नगर्दा जिएसपीको फाइदा लिन नसकेको श्रेष्ठले बताए । उनले भने, ’हामीले अमेरिकाका उपभोक्ताले कस्तो वस्तु रुचाउछन् भन्नेबारे अध्ययन नै गरेका छैनौं । यो नै हाम्रो ठुलो कमजोरी हो ।’ श्रेष्ठले फाइदा नहुने वस्तुमा व्यवसायीले लगानी गरेको हुँदा नेपालको निर्यातमा सुधार नभएको बताए । उनले भने, ’तयारी पोशाकमा हामीले किन जोड दिइरहेका छौं ? हामीले कच्चा पदार्थ, मेशिनदेखि कालिगढसम्म भारतबाट ल्याएर फेरी बाहिर बेच्ने हो भने हामीलाई फाइदा हुदैन । त्यसैले भएको स्रोत साधनलाई बढावा दिएर निर्यात प्रवर्धन गर्नुपर्छ ।’ निर्यातको सम्भावना बोकेका १९ वस्तुको सुची तयार सरकारले अमेरिकाबाट जिएसपी पाएका ६६ वस्तुमध्ये निर्यातका बढी सम्भावना भएका वस्तुको सूची तयार पारेको छ । १९ वस्तुमध्ये झोला, सुटकेस, ह्याण्डब्याग, लगेज, सिडी क्यासेट, टेक्सटायल लगायतका सामान परेका छन् । ती सम्भावित वस्तुको निर्यातमा सामन्यतया १५ प्रतिशतभन्दा बढि अति शौविध्य प्राप्त (एमएफएन) शुल्क लगाइन्छ । तर नेपालले ६६ वस्तुमा छुट पाएपछि एमएफएन शुल्क नलाग्ने वाणिज्य सचिव चन्द्रकुमार घिमिरेले जानकारी दिए । ’हामीले २० प्रतिशतसम्म एमएफएन शुल्क लाग्ने वस्तुमा छुट पाएका छौं,’ उनले भने, ’नेपालले यी १९ वस्तु निर्यातमा जोड दिने हो भने नेपालले अमेरिकासँग समान वस्तुमा अरुसँग सजिलै प्रतिस्पर्धा गर्नसक्छ । त्यसैले ती वस्तुलाई सूचिकृत गरिएको हो ।’

आन्तरिक राजश्व बिभाग प्रमुखलाई जिम्मेबार बनाउन करारा सम्झौता

काठमाडौ । आन्तरिक राजस्व बिभाग र राजस्व कार्यालयहरुबीच कार्य सम्पादन करार सम्झौता भएको छ ।सम्झौतामा बिभागका महानिर्देशक तथा कार्यलय प्रमुखहरुले हस्ताक्षर गरेका छन् । यसअघि अर्थ मन्त्रालयका सचिव र आन्तरिक राजस्व विभागका महानिर्देशकबीच तथा विभागको महानिर्देशक र उपमहानिर्देशक तथा निर्देशकबीच कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर भैसकेको छ । निजामती सेवा ऐन, २०४९ को दफा १५ (२) बमोजिम आन्तरिक राजस्व विभाग र सो अन्तर्गतका कार्यालयहरुबाट सम्पादन हुने काम कारवाहीलाई प्रभावकारी बनाउन सम्झौता गरिएको विभागका महानिर्देशक किशोरजंग कार्कीले बताए । सम्झौतामा हस्ताक्षर गर्ने कार्यालय प्रमुखले यस वर्ष विभागले तोकेको राजस्व संकलन लक्ष्य, कार्यगत लक्ष्य, काठमाडौं घोषणापत्र, मन्त्रालय तथा विभागको कार्ययोजना, निर्देशन तथा परिपत्रलाई आधार मानी कार्ययोजना बनाई कार्य सम्पादन गर्नुपर्ने उल्लेख छ । सम्झौताको अवधि पूरा नहु“दै कार्यालय प्रमुखको काज तथा सरुवा भएमा विभागको मासिक विभाजनलाई आधार मानी निजको कार्यासम्पादन मूल्यांकन गरिने पनि सम्झौता पत्रमा उल्लेख छ । तोकिएका सूचकहरुको औसत भारमा ८० प्रतिशत भन्दा बढी अंक प्राप्त गरेमा अति उत्तम, ७५ देखि ८० प्रतिशत अंक प्राप्त गरेमा उत्तम र ७५ प्रतिशत भन्दा कम अंक प्राप्त गरेमा न्यून कार्यसम्पादन भएको मानिने गरी मूल्यांकनको आधार मानिएको छ । कार्यालयको कार्य सम्पादनको मूल्यांकन गर्दा विभागको आन्तरिक अनुगमन प्रणालीमा अभिलेखांकन भएका लक्ष्य तथा प्रगतिलाई आधार मानी कार्य सम्पादन स्तर निर्धारण हुने कुरा उल्लेख गरिएको छ ।  

पुवाखोला–१ बाट विद्युत् उत्पादन शुरु

इलाम, २४ असोज । इलामको पुवाखोलामा निर्मित पुवाखोला–१ जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न भई विद्युत् उत्पादन शुरु भएको छ । इलाम नगरपालिका र देउमाई नगरपालिका बीचमा पर्ने पुवाखोलाबाट चार मेगावाट क्षमताको सो आयोजनाले निर्माण सम्पन्न गरेर २.८ मेगावाट विद्युत् उत्पादन थालेको हो । उक्त आयोजनाले असोज पहिलो सातादेखि परीक्षण उत्पादनसमेत शुरु गरिसकेको आयोजनाका प्लान्ट मेनेजर रमाकान्त देवले जानकारी दिए । उक्त आयोजना रु ७२ करोडको लगानीमा निर्माण सम्पन्न भएको आयोजनाका परियोजना प्रबन्धक उत्तम थापाले बताए। पुवाखोलाको पानीलाई सदुपयोग गरी विद्युत् उत्पादनका लागि आयोजनाले शान्तिडाँडाबेंसीमा इन्टेक निर्माण गरी लामो पाइपलाइनबाट विद्युत् गृहसम्म पानी पु¥याएको छ । १०८ मिटर हेड रहेको पेनस्टक पाइपबाट विद्युत् गृहमा विद्युत् उत्पादन गरिएको हो । विद्युत् गृहदेखि उत्पादित विद्युत्लाई गोदकको सबस्टेसनसम्म ल्याएर राष्ट्रिय प्रसारणमा जोड्नका लागि ६.५ किलोमिटर प्रसारण लाइन निर्माण भइसकेको जनाइएको छ । पुवाखोला–१ हाइड्रोपावर कम्पनीको प्रवद्र्धनमा सम्पन्न आयोजनाका लागि सिद्धार्थ बैंक र सिटिजन बैंकले लगानी गरेका छन् । पुवाखोला–१ हाइड्रोपावर निर्माण भएसँगै इलाममा जलविद्युत् आयोजनाको सङ्ख्या आठ पुगेको छ । ती आयोजनाबाट हाल जिल्लामा ७५ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जनरल फाइनान्सको नाम परिर्वतन, वेष्ट फाइनान्स कम्पनीको नामबाट कारोबार शुरु

काठमाडौं । जनरल फाइनान्सको नाम तथा लोगो परिर्वतन भएको छ । फाइनान्सले असोज २४ गते कम्पनीको नाम परिर्वतन गरि वेष्ट फाइनान्स कम्पनी लिमिटेडको नामबाट कारोबार शुरु गरेको छ । मंगलबार कम्पनीका अध्यक्ष पदमराज न्यौपानेले परिवर्तित नाम वेष्ट फाइनान्स कम्पनीबाट कारोबार शुरु गरेका हुन् । यस संस्थाको साधारणसभाले गरेको निर्णय बमोजिम नेपाल राष्ट्र बैंकको स्वीकृती र कम्पनी रजिष्ट्रार कार्यालयको अनुमति पश्चात कम्पनीको नाम परिर्वतन गरिएको हो । हाल संस्थाको चुक्ता पूँजी २९ करोड ७५ लाख रुपैयाँ रहेको छ । १७५ प्रतिशत हकप्रद सेयर जारी पश्चात कम्पनीको पूँजी ८१ करोड ८१ लाख रुपैयाँ पुग्ने संस्थाद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यसका साथै, आवश्यक परे अन्य बैंक वित्तीय संस्थासँग मर्जर/अक्विजिसनद्धारा पूँजी वृद्धि गर्ने संस्थाले जनाएको छ । वेष्ट फाइनान्सको शाखा कार्यालय हाल काठमाडौंको चावहील र न्यूरोडमा छन् ।

सिमिट एयरले ल्यायो १८ सिटे जाहाज, छिटटै उडान सुरू गर्ने

काठमाडौं । निजी क्षेत्रको समिट एयरले नयाँ विमान ल्याएको छ । १८ यात्रु क्षमता भएको एल ४१० युभीपीइ २० नामक विमान मंगलबार दिउसो सवा १ वजे नयाँ दिल्लीबाट काठमाडौस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेको समिटले जनाएको छ । अल्जेरियाका क्याप्टेन स्टेफिन जोलीले उडाएर ल्याएका हुन् । विमानमा नयाँ प्रविधि एभोनिक्स प्रविधि रहेको छ । यस्तो प्रविधि भएको नेपालमा यो पहिलो विमान भएको कम्पनीले जनाएको छ । नागरिक उडड्यनको प्रक्रिया पुर्यारपछि सञ्चालनमा ल्याउने भएको छ । समिटस्रग ४ जाहाज पुगेको छ । जहाजले पुर्व, मध्य र पश्चिम नेपालका विभिन्न सहरमा उडान भर्ने छ ।  

एनबीआई र लक्ष्मी बैंकबीच विभिन्न तालिम संचालन गर्ने सम्बन्धि सम्झौता

काठमाडौं । नेशनल बैंकिङ्ग इन्ष्टिच्युट(एनबीआई) र लक्ष्मी बैंक बीच तालिम कार्यक्रम संचालन सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । जस अनुसार एनबीआईले लक्ष्मी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिमहरु उपलब्ध गराउने छ । यस सम्झौता अनुसार लक्ष्मी बैंकले नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट ५० लाख रुपैयाँ बराबर रकमको आफ्नो कर्मचारीहरुका लागि वार्षिक तालिम संचालन गराउने भएको छ । उक्त सम्झौतापत्रमा लक्ष्मी बैंककातर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिंग तथा नेशनल बैंकिङ्ग इन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिब सुब्बाबीच हस्ताक्षर भएको छ ।

गौचनको हत्याप्रति यातायात व्यवसायी महासंघद्धारा घोर भत्सर्ना

काठमाडौ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्याप्रति नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले घोर भत्सर्ना सहित दुःख व्यक्त गरेको छ । महासंघले मंगलवार एक विज्ञप्ति जारी गर्दै निमार्ण व्यवसायीहरुको छात संगठन नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष गौचन निर्दोष रहेको जनाउदै हत्यारालाई छिटो भन्दा छिटो पत्ता लगाई कडा भन्दा कडा कारवाही गर्न समेत माग गरेको छ । महासंघका अध्यक्ष डोलनाथ खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “गौचनमाथिको आक्रमण सिंगो निजी व्यवसायी माथिको आक्रमण हो ।” महासंघले दिनदहाडै राजधानी जस्तो सम्वेदनशिल स्थानमा महासंघको अध्यक्षको हत्या हुनु शान्ति सुुरक्षाको चुनौती भएको जनाएको छ । जघन्य घटना हुन नदिन र आफ्नो पेशा एवं व्यवसायी निर्वाद रुपमा गर्न दिन शान्ति सुरक्षाको प्रत्याभुती दिलाउन सरकारसंग माग गरेको छ । महासंघले विज्ञप्ति मार्फत गौचनको दिवंगत आत्माको चीरशान्तिको कामना सहित भावपूर्ण समवेदना प्रकट गरेको छ । नेपाल निर्माण व्यबसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको सोमवार दिउँसोे वानेश्वर शान्तिनगरमा अज्ञात समुहले गोली हानी हत्या भएको थियो ।