गोरखा दरबारको पुननिर्माण गर्न ठेकेदार छनौट
काठमाडौं । भुकम्प गएको ३ वर्षपछि एतिहासिक गोरखा दरबारको पुनः निर्माण कार्य शुरु हुन लागेको छ । पुरातत्व विभागले दरवारको पुनः निमार्णको जिम्मा पचलि भैरव–शिभको जेभी कम्पनीलाई दिएको छ । निर्माण व्यवसायी छनौट भएकाले दरबार निर्माणले गति पाउने भएको हो । पचली भैरवले ३ करोड ८२ लाख ५६ हजार रुपैयाँमा दरवारको जिम्मेबारी पाएको हो ।
एनबीआईको अध्यक्षमा लक्ष्मीप्रपन्न निरौला
काठमाडौं । नेसनल बैंकिङ्ग ईन्ष्टिच्युट (एनबीआई) को अध्यक्षमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलालाई मनोनित गरिएको छ । संचालक समितिको सदस्यमा एभरेष्ट बैंकका नायव महाप्रबन्धक राजीव जैन, लक्ष्मी बैंकका नायव महाप्रबन्धक सुमेद भट्टराई र रुरल माक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमिटेडका नायवप्रमुख कार्यकारी अधिकृत रामदयाल राजवंशी नियुक्त भएका छन् । पूर्वबैंकर उपेन्द्र पौडेलको सदस्यता भने संचालक समितिमा यथावत नै रहेको एनबीआईले जनाएको छ ।
हत्या गरिएका निर्माण व्यवसायी गौचन सहीद घोषित
काठमाडौं । सरकारले निर्माण व्यवसायी सरदकुमार गौचनलाई सहिद घोषणा गरेको छ । मन्त्रिपरिषदको शुक्रबार बसेको बैठकले सरकारले राजधानीको बानेश्वरमा गोली हानी हत्या गरिएका नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनलाई सहिद घोषणा गरेको हो । मन्त्रिपरिषदको बैठकले गौचनलाई शहीद घोषणा गरेको वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले जानकारी दिए । गत सोमबार अज्ञात समुहले काठमाडौंको बानेश्वरमा गौचनको गोली हानी हत्या गरेको थियो । नेपाल निर्माण व्यवसायी महासंघले गौचनलाई सहिद घोषणा गर्न माग गरेको थियो । हत्यारा पत्ता नलागेसम्म निर्माण व्यवसायीले सरकारी बोलपत्रमा भाग नलिने निर्णय समेत गरेको छ ।
नबिल बैंकद्धारा महानगरीय प्रहरीलाई ईलेक्ट्रोनिक सामाग्री सहयोग
काठमाडौं । नबिल बैंकले महानगरीय प्रहरी बृत्त दरबारमार्गलाई सहयोग स्वरुप ईलेक्ट्रोनिक डिजिटल डिस्प्ले बोर्ड र एलइडी टेलिभिजन हस्तान्तरण गरेको छ । उक्त सामाग्रीहरु प्रभावकारी सीसीभी मनिटरिङ र सामाजिक जागरुकता बढाउने सन्देशहरु प्रसारण गर्नका लागि प्रदान गरेको बैंकले जनाएको छ । असोज २६ गते बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले उक्त सहयोग बृत्तका प्रहरी नायब उपरिक्षक तिलक भारतीलाई हस्तान्तरण गरेका हुन् । नबिल बैंकले आर्थिक वर्ष २०७३/७४ मा बैंकिङ उद्योगमै ३ अर्ब ६१ करोड उच्चतम मुनाफा गर्न सफल भएको र शेयरमा आम्दानी २६.६५ प्रतिशत र प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४१ पैसाका साथ आफ्नो वासलात विस्तार गर्दै १ खर्ब ४० अर्ब रुपैयाँ पु¥याएको छ । गत आर्थिक वर्षको मुनाफाबाट ३० प्रतिशत बोनश शेयर र १८ प्रतिशत नगद लाभांश गरी जम्मा ४८ प्रतिशत लाभांशको घोषणा गरेको छ ।
पाँच बर्षभित्रै ४७ अर्ब खर्चेर तराई/मधेशमा १७९२ किलोमिटर पक्की सडक
काठमाडौं । आगामी पाँच बर्षमा तराई मधेशमा १७९२ किलोमिटर पक्की सडक निर्माण हुने भएको छ । हुलाकी राजमार्ग आयोजनाले पाँच बर्षमा ४७ अर्ब २४ करोड लागतमा १७ सय ९२ किलोमिटर सडक निर्माण गर्न लागेको हो । सो सडकको ९७५ किलोमिटर पुर्व पश्चिम मुल राजमार्गका रुपमा रहनेछ भने ८१७ किलोमिटर सडक महेन्द्र राजमार्गबाट हुलाकी राजमार्ग हुँदै भारतीय सिमासम्म जोडिनेछ र यी सडक सबै दुई लेनका हुनेछन् । सुरुमा सिंगल लेनमा निर्माण गर्ने भनिएका यी सडक संसदको विकास समितिको निर्देशनपछि दुई लेनमा निर्माण सुरु गरिएको थियो । हुलाकी राजमार्ग आयोजनाका प्रमुख श्याम खरेलका अनुसार हुलाकी राजमार्गमा आर्थिक बर्ष २०७३।७४ सम्ममा १० अर्ब ८७ करोड रुपैंयाँ खर्च भैसकेको छ । हुलाकी राजमार्गमा निर्माण हुने १४९ पुलमध्ये ६० वटा निर्माण भैसकेका छन भने ५१ वटा निर्माणाधिन अवस्थामा छन् । त्यस्तै, १८ वटा पुलको चालु आर्थिक बर्षभित्रै ठेक्का लगाउने प्रक्रिया अघि बढेको छ । सडक अन्तर्गत अब ६६२ किलोमिटरको मात्रै ठेक्का लगाउन बाँकी छ । सन २०१० मा ६०५ किलोमिटर सडक भारत सरकारले निर्माण गरिदिने भन्दै ठेक्का समेत लागेको थियो तर ६७ किलोमिटर सडक मात्रै बनेपछि सो ठेक्का तोडिएको थियो । हुलाकी राजमार्ग निर्माणका लागि भारत सरकारले ८ अर्ब रकम दिएको छ । सो रकम वापत २९९.३ किलोमिटर सडक निर्माणका लागि ठेक्का लागिसकेको छ । हुलाकी सडक आयोजनाका पुर्व प्रमुख बलराम मिश्रले पाँच बर्षभित्र हुलाकी सडकको निर्माण सम्पन्न गर्ने कार्ययोजना बनाएका थिए । तराई मधेशको लाइफ लाइनका रुपमा हेरिएको आयोजनाले सो क्षेत्रमा विकास र समृद्धिको मार्ग प्रशस्त गर्नेछ ।
नागबेली लघुवित्तले ४५ प्रतिशत बोनस दिने
काठमाडौं । नागबेली लघुवित्त विकास बैंकले सेयरधनीलाई ४५ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई ४५.४७ प्रतिशत बोनस र कर प्रयोजनको लागि २.५६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । उक्त निर्णय असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निणर्यलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ५ करोड २५ लाख रुपैयाँ रहेको छ । ४५.४७ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ७ करोड ६३ लाख रुपैयाँ पुग्ने छ ।
काठमाडौं-मधेश द्रुतमार्गः निर्देशक समितिलाई नै मूल्य निर्धारण गर्न दिने
काठमाडौं । सरकारले भारतीय कम्पनी आइएलएफएसद्धारा तयार काठमाडौं -मधेश द्रुतमार्ग (फास्ट ट्र्याक) को विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) कार्यान्वयनका लागि गठित निर्देशक समितिलाई नै प्रतिवेदनको उपयोगिताका आधारमा मूल्य निर्धारण गर्न स्वीकृत दिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चारकर्मीलाई जानकारी दिए । नेपाली सेनाले रथी पूर्णचन्द्र थापाको संयोजकत्वमा द्रुत मार्ग आयोजना कार्यान्वयन उच्चस्तरीय निर्देशक समिति गठन गरेको हो र यो समितिमा अर्थ, भौतिक पूर्वाधारलगायत मन्त्रालयका प्रतिनिधिहरु रहेका छन् । सरकारले बहुचर्चित एवं बहुप्रतिक्षीत राष्ट्रिय गौरवको सो द्रुत मार्ग चार वर्षभित्र सम्पन्न गर्ने गरी निर्माण व्यवस्थापनको जिम्मा २०७४ वैशाख २१ गते नेपाली सेनालाई दिएको थियो । ललितपुरको खोकनादेखि बाराको निजगढसम्म कूल ७६ दशमलव २ किमी लम्बाइ रहेको सो द्रुत मार्ग निर्माणको जिम्मा सेनालाई दिइएको पाँच महिना बितिसक्दा पनि डिपिआरको अभावमा खासै काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री शेरबहादुर देउवाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री, रक्षामन्त्री, मुख्य सचिव तथा प्रधान सेनापतिलगायत अन्य सरोकारवाला निकायलाई उक्त द्रुत मार्गको डिपिआरलाई छिटो टुंगोमा पुर्याई काम अगाडि बढाउन हालै निर्देशनसमेत दिएका थिए । डिपिआर अध्ययनका लागि सरकारले पूर्वाधार विज्ञ वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा अध्ययन टोली बनाएको र सो टोलीले आफ्नो अध्ययनपछि निर्देशक समितिलाई प्रतिवेदन बुझाइसकेको छ । हाल सेनाले द्रुत मार्ग निर्माण गर्न मख्खुबेँसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा गरेको छ । सडकमा पर्ने छैमले, सोखेल, फर्पिङ, भीमसेनस्थान, घुसखेलम, सैँबुलगायतका स्थानमा मुआब्जा वितरण कार्य जारी रहेकोे छ । रासस
विजय लघुवित्तले १५ प्रतिशत लाभांश दिने
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद गरी सो मात्राको लभांश दिने घोषणा गरेको हो । असोज २६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो घोषणा गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी १६ करोड १० लाख रुपैयाँ रहेको छ । १० प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी १७ करोड ७१ लाख रुपैयाँ पुग्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता १२७० रुपैयाँ रहेको छ ।