विकासन्युज

शिखर क्रेजी मेला कात्तिक ६ देखि शुरु, जुत्ता खरिदमा ७० प्रतिशत सम्मको छुट

काठमाडौं । शिखर शुजले आज अर्थात कात्तिक ६ गतेदेखि क्रेजी मेला शुरु गरेको छ । कम्पनीले फरक अवसरहरुमा आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले उक्त मेला शुरु गरेको हो । उक्त मेला भु.पु स्वास्थ्य मन्त्री गगन थापा र उध्योग वाणिज्य माहाँसघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुरु भएको हो । उक्त मेलामा हरेक शिखर जुत्ताको खरिदमा १० देखि ७० प्रतिशत सम्मको छुट पाइनेछ । यो मेला करिब २० दिनसम्म लाग्ने कम्पनीका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईले बताएका छन् । कम्पनीले हाल चप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको एवम जाडोयामको लागि न्यानो कपडाको जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ता चप्पल उत्पादन गर्दै आएको छ । यस उद्योगमा अहिले ७ सयभन्दा बढी व्यक्तिले रोजगारी पाइरहेका छन् । कम्पनीले आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिँदै आएको छ । कम्पनीले जुत्ता उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारत, थाइल्याण्ड, मलेसिया र चीनबाट आयात गर्दै आएको छ ।

बैंकर्स झपट बोहरा राजनीतिक दौडमा, अछाम जिल्लाबाट चुनाव लड्दै

काठमाडौं । बैकिङ क्षेत्रका चर्चित व्यक्ति झपट बोहरा राजनीतिमा होमिएका छन् । विगत लामो समयदेखि नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) मा आवद्ध बोहरा आछाम जिल्लाबाट प्रदेश सभामा सदस्यको लागि सिफारिस भएका छन् । पाटीले अछाम जिल्ला प्रदेश १ का लागि बोहरासहित खगेन्द्र रोक्का र दीपक साउदको नाम सिफारिस गरेको छ । सुदुरपश्चिम क्षेत्रबाट बैकिङ क्षेत्रमा राम्रो सफलता हासिल गरेका बोहरा राजनीतिको साथै आर्थिक विकासको बारेमा राम्रो ज्ञान भएका, प्रष्ट विचार राख्ने र नेतृत्व खुबी भएका व्यक्तिको रुपमा परिचित छन् । सुदुरपश्चिमका सफल व्यवसायी बैंकिङ सेवा काठमाडौंमा मात्र केन्द्रीत रहेको समयमा झपट बोहराले सुदुर पश्चिम क्षेत्रमा पहिलो पटक मालिका विकास बैंक स्थापना गर्ने कार्यको अगुवाई गरेको थिए । धनगढीमा स्थापना भएको सो बैंकमा उनी कार्यकारी अध्यक्ष भएर ११ वर्षसम्म काम गरेका थिए । उनीको नेतृत्वमा स्थापना भएको मालिका विकास बैंक मोफसलको उत्कृष्ट बैंकको रुपमा स्थापित भयो । नेपाल विकास बैंकर्स संघको अध्यक्ष समेत भएर उनले सफल नेतृत्व गरेका थिए । पछि उनको नेतृत्वमा साझा विकास बैंक स्थापना भयो । बोहरा मालिका र साझा दुबै विकास बैंकमा उनी संस्थापक अध्यक्ष हुन् । बैकिङ सेवाबाट सफलता हासिल गर्दै उनी पुँजी बजार र बीमा क्षेत्रमा प्रबेश गरे । उनले काठमाडौंमा ग्रोमर मर्चेन्ट बैकिङ लिमिटेडमा स्थापना गरे र सो संस्थामा ८ वर्षसम्म अध्यक्षको भूमिका निर्वाह गरे । १० वर्षअघि उनकै नेतृत्वमा स्थापना भएको नेपाल जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड बीमा कारोबारको लागि बीमा समितिबाट अनुमतिको प्रतिक्षामा रहेको छ । पछिल्लो समय उनी सिनर्जी फाइनान्स लिमिटेडमा अध्यक्ष भएका थिए । सिनर्जीमा २ वर्ष अध्यक्ष भएका बोहरा करिब १ महिनाअघि सो पदबाट राजीनामा गरेर निर्वाचनको तयारीमा जुटेका छन् । देशको समग्र आर्थिक विकासमा जोड दिने बोहराले सुदुर पश्चिम क्षेत्रको विकासलाई राज्यले बढी प्राथमिकता दिनु पर्ने माग गर्दै आएका छन् । ‘पद मेरो प्राथमिकता होइन, देशको आर्थिक विकास राज्यको पहिलो प्राथमिकता हुनुपर्छ’ विकासन्यूजसँग कुरा गर्दै बोहराले भने-‘भौगोलिक क्षेत्रको आधारमा सुदुर पश्चिम क्षेत्र निकै पछाडि परेको छ, यस क्षेत्रको विकासमा मैले विशेष जोड दिन्छु ।’ नागरिक स्तरदेखि पार्टी नेतृत्वसम्म सबैको विश्वास र सहयोग लिएर निर्वाचनको प्रतिस्पर्धामा भाग लिन लागेको उनले बताए ।

सिन्धुलीगढीको २५० औं विजयोत्सव मनाउने तयारी

काठमाडौं । इस्टइन्डिया कम्पनीबिरुद्ध गोर्खाली फौजले विजय प्राप्त गरेको एतिहासिक २५० औँ विजयोत्सव भब्यरुपमा मनाइने भएको छ । समृद्ध सिन्धुली अभियानद्वारा सोमबार सिन्धुलीमाढीमा आयोजित छलफलमा कात्तिक २४ गते नेपालीले विजय हासिल गरेको दिने उत्सवको रुपमा मनाइने निर्णय गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सिन्धुलीगढीको ऐतिहासिक तथा पर्यटकीय महत्वमाथि चर्चा गर्दै पर्यटकीय केन्द्रको रुपमा गढीलाई विकास गर्न सबैको सहयोग आवश्यक हुने बताए ।‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राले सिन्धुलीको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिने चर्चा गर्दै सिन्धुलीगढीको प्रवद्र्धनले जिल्लावासीको आर्थिक समृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । कमलामाई नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले सिन्धुलीगढीको गुरुयोजना बनाउने आफ्नो पहिलो कार्ययोजना भएको चर्चा गर्दै गढी प्रवेशलाई व्यवस्थित गरिने बताए । यसैगरी, नेपाली सेना ९ नम्बर बाहिनीपति सुरेशकुमार कार्कीले २५० औँ विजयोत्सवलाई विशेष महत्वको बनाउन नेपाली सेनाको तर्फबाट तयारी थालेको जानकारी दिए । उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष अमरेशचन्द्र बैदारले सिन्धुलीमाढीमा हुने विजयोत्सव साङ्गीतिक साँझको तयारीबारे जानकारी दिँदै साइकलयात्रीका साथै विजयोत्सवमा आउने पर्यटकलाई अविस्मरणीय सम्झनायुक्त साङ्गीतिक साँझ हुने बताए । समृद्ध सिन्धुली अभियानका अभियन्ता लीलानाथ घिमिरेले अभियानको बारेमा जानकारी दिदै सिन्धुलीगढी, जुनार र नागबेली सडकको प्रवद्र्धनले सिन्धुलीको आर्थिक समृद्धिमा टेवा पुग्ने विश्वास व्यक्त गरे । यस्तै, अर्का अभियन्ता सौरभ ढकालले ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्राको तयारीबारे जानकारी दिए । यसपटक साइकल यात्रीले काठमाडौँदेखि सिन्धुलीमाढीसम्म १५३ किलोमिटरको दुरी पूरा गर्नेछन् । यसपटक करिव २५० साइकल यात्री सहभागी हुने जनाइएको छ ।      

एभरेष्ट बैंकको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले आफ्नो २३औँ वार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत राजधानीमा रक्तदान कार्यक्रमको आयोजना गरेको हो । सो अवसरमा बैंकले नर्भिक इन्टरनेशनल हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर समेत आयोजना गरिएको थियो । बैंकले आफ्नो मुख्य शाखा सहित विभिन्न शाखाहरुमा वार्षिकोत्सव मनाएको हो । बैंकले हाल आफ्ना ६४ वटा शाखाहरु, २ एक्सटेन्सन काउन्टर, २८ राजश्व संकलन काउन्टर र ९१ एटिएम तथा बृहत बाह्य सन्जाल मार्फत उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रोग्रेशिभ फाइनान्सले २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने, अनुमतिका लागि पुग्यो धितोपत्र बोर्ड

काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले सेयरधनीको लागि २८१ प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँको दरले ५९ लाख एक हजार कित्ता सेयर निष्कासन गर्ने प्रक्रिया अघि बढाएको हो । कम्पनीले असोज ३१ गते धितोपत्र बोर्डमा निवेदन दिएर ५९ करोड एक लाख रुपैयाँ बराबरको हकप्रद निष्काशन गर्ने अनुमति मागेको हो ।  बोर्डको अनुमति पाए पश्चात कम्पनीले सनराइज क्यापिटल मार्फत सो मात्राको हकप्रद निष्काशन गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी २१ करोड रुपैयाँ रहेको छ । २८१ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८० करोड रुपैयाँ नाघ्ने छ । पछिल्लो समय कम्पनीको सेयर मूल्य प्रतिकित्ता २२९ रुपैयाँमा कारोबार भएको छ ।

मंसिर ६ गते नागरिक बचतपत्र निष्कासन हुँदै, वार्षिक ८.५० प्रतिशत ब्याज दिने

काठमाडौं । वार्षिक साढे ८ प्रतिशत ब्याज दिने गरी नेपाल राष्ट्र बैंकले नागरिक बचतपत्र निष्कासन गर्न लागेको छ । आउदो मंसिर ६ गते सरकारको तर्फबाट राष्ट्र बैंकले २ अर्ब रुपैयाँको ५ वर्षका लागि बचतपत्र निष्कासन गर्न लागेको हो । बचतपत्रको ब्याज भुक्तानी प्रत्येक ६ महिनामा हुने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र खरिद गर्न पाउने सीमा घटिमा १० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई १० हजार रुपैयाँले भाग गर्दा निःशेष भाग जाने अंक बराबर पाउने राष्ट्र बैंकले जनाकारी दिएको छ । नेपाली नागरिकले मात्र बचतपत्र खरिद गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ । बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन/दिन सकिने व्यवस्था गरिएको छ । कात्तिक १२ गतेदेखि मंसिर १ गतेसम्म बिक्री खुला गरी मंसिर ६ गते बचतपत्र निष्कासन हुने छ । बचतपत्रको साँवा भुक्तानी ०७९ मंसिर ६ गते हुने राष्ट्र बैंकले जनाएको छ । चालु आवमा सरकारले नागरिक बचतपत्र उपकरणबाट ६ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको छ । चालु आर्थिक वर्षमा सरकारले १ खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ ।

सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद निष्कासन गर्न बोर्डको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिभिल बैंकलाई ४० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ । बोर्डले बैंकलाई कात्तिक १ गते सो मात्राको हकप्रद निष्कासन गर्न अनुमति दिएको हो । बोर्डले कम्पनीलाई २ अर्ब ७ करोड ४० लाख रुपैयाँ बराबरको २ करोड ७ लाख ४० हजार कित्ता हकप्रद सेयर बिक्री गर्ने अनुमति दिएको हो । कम्पनीको हकप्रद सेयरको बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ । हाल कम्पनीको चुक्ता पुँजी ५ अर्ब १८ करोड रुपैयाँ रहेको छ । ४० प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ७ अर्ब २५ करोड रुपैयाँ नाघ्ने छ ।

तीन बर्ष नपुग्दै चार सिइओले जागिर खाए, भूकम्प पीडितले के पाए ?

काठमाडौं । भूकम्पपछिको पुननिर्माणका लागि गठन भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणले तीन बर्षमै तीन जना सिइओ(प्रमुख कार्यकारी अधिकृत) पाएको छ । सुरुमा तत्कालिन सुशिल कोइराला नेतृत्वको सरकारले अध्यादेश मार्फत गठन गरेको प्राधिकरणको सिइओमा प्रा.डा. गोविन्दराज पोखरेल नियुक्त भएका थिए । संसदले राष्ट्रिय पुननिर्माण प्राधिकरण ऐन पारित गरेपछि केपी ओली नेतृत्वको सरकारले पोखरेललाई हटाएर सुशिल ज्ञवालीलाई सिइओ नियुक्त गर्यो । ओली सरकार ढालेर काँग्रेस माओवादी गठबन्धनमा प्रचण्ड प्रधानमन्त्री बने । उनले ज्ञवालीलाई बर्खास्त गरेर पोखरेललाई पुनःसिइओ नियुक्त गरे । पोखरेलले प्राधिकरणमा आफ्नो दोश्रो इनिङ सम्हालेपछि पुननिर्माणले गति लिने अपेक्षा गरिएको थियो । तर पोखरेलको दोश्रो इनिङले राम्रो सुरुवात गर्न सकेन् । दोश्रो पटक सिइओ बने लगत्तै पोखरेलले पुननिर्माणको कामलाई भन्दा पनि राजनीतिक गतिबिधीलाई बढि ध्यान दिए । उनले प्युठानमा चुनाव लड्ने योजनासहित नेपाली काँग्रेसको राजीनितक गतिबिधीमा बढि केन्द्रित हुन थाले । अन्तिममा डा. पोखरेल प्युठानबाट उम्मेदवारका लागि सिफारिस भए र उनले प्राधिकरणबाट राजीनामा पनि दिए । पोखरेलको राजीनामा लगत्तै बसेको मन्त्रिपरिषद बैठकले युवराज भुषाललाई प्राधिकरणको नयाँ सिइओ नियुक्त गरिसकेको छ । सिइओ नियुक्त भएका भुषाल नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलका सम्धि हुन् । अब भुषालले पुननिर्माण प्राधिकरणको चौथो सिइओका रुपमा कार्यभार सम्हाल्नेछन् । पाँच बर्षभित्रै पुननिर्माणको सबै काम सक्ने योजनासहित पुननिर्माण प्राधिकरण गठन भएको थियो । तर हालसम्म पुननिर्माणको कामले खासै गति लिन सकिरहेको छैन् । सम्पदाहरुको पुननिर्माणले खासै उपलब्धि पाएको छैन भने नीजी घर निर्माणमा पनि ठोस प्रगति भएको देखिन्न । कति भयो त पुननिर्माण ? प्राधिकरणका प्रवक्ता यमलाल भुषाल भन्छन–‘हामीले पाँच बर्षको रोडम्याप बनाएर काम थालेका थियौं, ठ्याक्कै यति प्रतिशत काम सकियो भन्ने अवस्था छैन तर पुननिर्माण सन्तोष जनक नै छ ।’ उनले विकास बुझेका व्यक्तिहरुको नियुक्तीका कारण सिइओ फेरिए पनि काम गर्न असहज नभएको प्रतिक्रिया दिए ।‘विकास निर्माण बुझेका व्यक्तिहरु नै सिइओ भएर आउने भएकाले काम गर्न अप्ठेरो परेको छैन, हामी आफ्नै गतिमा काम गरिरहेका छौं’, प्राधिकरणका प्रवक्ता भुषालले भने । कहाँ पुग्यो पुननिर्माण ? हालसम्म ६२ हजार १ सय ८९ भूकम्प पीडितहरु नयाँ घरमा बनाएर बसिरहेका छन् । ७ लाख ६७ हजार ७ सय ५ परिवार भूकम्प पीडितमध्ये ६ लाख ४१ हजार ३ सय १० परिवारले अनुदान सम्झौता गरेका छन भने ६ लाख २० हजार ६ सय ४६ परिवारले पहिलो किस्ताको रकम लगेका छन् । १ लाख ४७ हजार ३ सय ८० घर धमाधम निर्माण भैरहेका छन् ।