विकासन्युज

राधी विद्युत कम्पनीले ७ करोडको आइपीओ निष्कासन गर्न पायो बोर्डको अनुमति

काठमाडौं । मंगलबार राधी विद्युत कम्पनीले ७ करोड ६४ लाख रुपैयाँको आइपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । बोर्डले दिएको अनुमति अनुसार कम्पनीले अंकित मूल्य एक सय रुपैयाँको दरले ७ लाख ६४ हजार ५५० कित्ता आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिङ मार्फत सो मात्रामा आइपीओ जारी गर्न अनुमति मागेको हो । कम्पनीले आफ्नो पुँजी वृद्धिको योजना अनुसार सो मात्राको आइपीओ जारी गर्ने प्रक्रिया अघि बढाएको हो ।

सवारी साधन कारबाहीबाट ४४ लाख रुपैयाँ बढी राजश्व संकलन

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालू आवको तीन महिनाको अवधिमा नियम विपरीत सवारी साधन चाउनेलाई कारबाही गरी ४४ लाख ३७ हजार रुपैयाँ राजश्व संकलन गरेको जनाएको छ । तीन महिनामा सात हजार २०० सवारी चालकलाई गरेको कारबाहीबाट सो रकम असुल भएको ट्राफिक प्रहरी प्रमुख ओमप्रकाश वाग्लेले जानकारी दिए । गत साउनमा दुई हजार ५०० सवारी चालकलाई कारबाही गरी १२ लाख ३५ हजार रुपैयाँ, भदौमा दुई हजार ५९८ सवारी चालकलाई कारबाही गरी १६ लाख ४५ हजार रुपैयाँ राजश्व संकलन गरेको ट्राफिक प्रहरी प्रमुख वाग्लेले बताए । उनका अनुसार असोजमा दुई हजार ६०० सवारी चालकलाई गरिएको कारबाहीमा १५ लाख ५७ हजार ५०० रुपैयाँ राजश्व संकलन भएको छ । रासस

तीन महिनामा २६३ पसल अनुगमन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनले चालु आवको तीन महिनामा २६३ वटा पसलमा अनुगमन गरेको छ । चाडपर्वका समयमा बजारमा कालोबजारी गर्ने, मूल्यमा मनोमानी गर्ने लगायतका काम हुने भएकाले बजार अनुगमनलाई तीव्र बनाइएको हो । अनुगमनका क्रममा कालोबजारी गर्ने एक पसलेविरुद्ध मुद्दा दर्ता गरिएको बजार अनुगमन अधिकृत ओमनारायण शर्माले जानकारी दिए । सो क्रममा ६ वटा औषधि पसल, दुईवटा पाउरोटी उद्योग, चारवटा अमिलो उद्योग बन्द गराइएको थियो । म्याद नाघेका, अखाद्य बस्तु बिक्री गरेको, अनुमति नलिइ सञ्चालन गरेका कारण बन्द गराइएको उनले बताए । यस्तै पाँचवटा पसलको नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय हेटौँडा पठाइएको शर्माले बताए । अनुगमनका क्रममा ११२ बोतल तार्पिन तेल, ६७३ बोतल हल्का पेय पदार्थ र ८० प्याकेट बिस्कुट नष्ट गरिएको उनले बताए । तीन जनालाई सचेत गराइ छाडिएको शर्माले बताएका छन् । अघिल्लो आर्थिक वर्षको सोही समयमा २८५ वटा पसलमा अनुगमन गरिएको थियो । सो अनुगमनका क्रममा ५६ जनालाई सचेत गराइ छाडिएको थियो । कार्यालयकाअनुसार अहिले अघिल्लो आव र चालु आवका गरी ३५ वटा मुद्दा दर्ताको तयारी गरिएको छ । रासस

नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश पारित, सञ्चालकमा ४ जना निर्वाचित

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको ४० प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । सञ्चालक समितिको प्रस्तावलाई आज अर्थात कात्तिक ७ गते सम्पन्न कम्पनीको ३१औं वार्षिक साधारणसभाले पारित गरेको हो । सभाले पारित गरेबमोजिम कम्पनीले आफ्ना सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र २५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । साथै, सोही दिन कम्पनीको सञ्चालक समितिमा चार जना निर्वाचित भएका छन् । कम्पनीको संस्थापक सेयरधनीको तर्फबाट कविकुमार टिवरेवाला, प्रजन्य राजभण्डारी, सूर्यप्रकाशलाल श्रेष्ठ र पृथ्वीबहादुर पाँड निविरोध निर्वाचित भएका हुन् । १५ प्रतिशत बोनस पश्चात कम्पनीको चुक्ता पुँजी १० अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, बैंकको सञ्चित रकम पनि बढेर ८ अर्ब ८ करोड रुपैयाँ र सेयरधनी कोष पनि १८ अर्ब ७० करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ । बैंकले गत आर्थिक वर्षमा ५ अर्ब २४ करोड रुपैयाँ बराबर सञ्चालन मुनाफा कमाएको थियो । जुन अघिल्लो वर्षको भन्दा २६.७ प्रतिशतले बढी हो । त्यस्तै, बैंकको खुदनाफा पनि २२.१ प्रतिशतले बढेर ३ अर्ब ११ करोड रुपैयाँ पुगेको कम्पनीले जनाएको छ । हाल बैंकको निक्षेप एक खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा लगानी एक खर्ब ६ अर्ब रुपैयाँ रहेको छ ।  

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा प्रधानमन्त्रीले गरे ४ करोड ५५ लाख खर्च

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन जादा ४ करोड रुपैयाँ बढी खर्च भएको छ । प्रधानमन्त्री देउवा राष्ट्रसंघको ७२ औं महासभामा भाग लिन असोजको पहिलो साता अमेरिकाको न्युयोर्क जादा ४ करोड ५५ लाख ४१ हजार ७४५ रुपैयाँ खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । अर्थले सो भ्रमण खर्च परराष्ट्र मन्त्रालयलमार्फत निकासा गरेको हो ।

प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन, प्रतिकित्ता ९७३ रुपैयाँ मात्र

काठमाडौं । मंगलबार प्रभु इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको १९.२ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछिको कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९७३ रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ९११ रुपैयाँ रहेको थियो ।

बैंकिङ प्रणालीमा ५१ अर्ब तरलता, बुधबार राष्ट्र बैंकले ५ अर्ब उठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) धेरै भएपछि नेपाल राष्ट्र बैंकले ५ अर्ब रुपैयाँ बजारबाट उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार बोलकबोलबाट बैकिङ प्रणालीमा रहेको तरलता रिभर्सरिपो उपकरणमार्फत प्रशोचन गर्न लागेको हो । हाल बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ बढी तरलता रहेको राष्ट्र बैंककी निर्देशक सीता घिमिरेले जानकारी दिइन् । दशैलगतै घटेर ४२ अर्ब रुपैयाँ सीमित भएको तरलता तिहारअघि पुनः बढेर ६३ अर्ब रुपैयाँ पुगेको थियो । तिहाललगतै बैंकिङ प्रणालीमा ५१ अर्ब रुपैयाँ तरलता रहेको अधिकारीको भनाई छ । राष्ट्र बैंकले एक साताका लागि तरलता प्रशोचन गर्न लागेको हो । कात्तिक १५ गते परिपक्व हुने छ । तिहारअघि प्रशोचन गरेको ५ अर्ब रुपैयाँ बुधबार परिपक्व भएर पुनः बैकिङ प्रणालीमा जाने भएपछि केन्द्रीय बैंकले प्रशोचन गर्न लागेको हो । ४ पटक गरेर राष्ट्र बैंकले बजारबाट १६ अर्ब रुपैयाँ उठाइसकेको छ । यो समेत गरी केन्द्रीय बैंकले २१ अर्ब रुपैयाँ बढी तरलता प्रशोचन गरेको छ । बैकिङ प्रणालीमा लगानीयोग्य पुँजी बढी भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए ।  

सिद्धार्थ इन्स्योरेन्सको कात्तिक १५ गतेदेखि १५ दिन बुक क्लोज

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको आगामी कात्तिक १५ गतेदेखि १५ दिनसम्म बुक क्लोज हुने भएको छ । कम्पनीले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि आगामी कात्तिक २९ गतेसम्म इन्स्योरेन्सको बुक क्लोज गर्न लागेको हो । कम्पनीको आगामी वार्षिक साधारणसभा कात्तिक २९ गते हुने भएको छ । साभामा कम्पनीले २० प्रतिशत बोनस सेयर पछि ३५ प्रतिशत हकप्रद निष्कासन गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्ने भएको छ । हाल कम्पनीको चुक्ता पुँजी ५३ करोड ४५ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयर पश्चात कम्पनीको पुँजी ६४ करोड रुपैयाँ कायम हुने छ । उक्त कायम भएको पुँजीमा ३५ प्रतिशत हकप्रद पश्चात कम्पनीको पुँजी ८६ करोड ५९ लाख रुपैयाँ नाघ्ने छ ।