विकासन्युज

चितवनका बाढीपीडितलाई जर्मनीबाट आर्थिक सहयोग

चितवन । चितवनको रत्ननगरका बाढीपीडितलाई जर्मनीबाट चार लाख ४० हजार रुपैयाँ सहयोग भएको छ । रत्ननगर नगरपालिका-८ सौराहास्थित रमाइलो बस्तीका २२ घर बाढी प्रभावितलाई जर्मनीको अफ्रिका–लुज द–इचलान भन्ने संस्थामार्फत आज यसरी सहयोग गरिएको हो । गत साउन २८ गते आएको बाढीले घर बगाउँदा स्थानीयवासी घरबारविहीन भएका थिए भने केही घर भत्किएको थियो । विपन्न परिवारका बाढीपीडित रहेकाले उनीहरुलाई प्रतिघर रु २० हजारका दरले सो राहत प्रदान गरिएको सहयोगको संयोजन गर्नुहुने होटल पार्क साइड सौराहाका सञ्चालक शिरलाल परियारले जानकारी दिए । नेपाल र अफ्रिकामा सहयोग गर्दै आएको उक्त संस्थाकी उपाध्यक्ष बारबारा बेर्नाले नेपालको विपन्न परिवारका बाढी प्रभावितलाई सहयोग गर्न पाएकामा आफूलाई खुशी लागेको भन्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए। जर्मनीका प्राध्यापक डा दाउसको नेतृत्वमा स्थापना भएको अफ्रिका-लुज द-इचलान नामक संस्थाले अफ्रिका र नेपालमा निःशुल्क आँखा शिविर र आँखाको शल्यक्रियासमेत गर्दै आएको छ । नेपालमा ग्रिन सोसाइटी सौराहाको विभिन्न कार्यक्रममा सहयोग गर्दै आएको उक्त संस्थाले यसअघि भूकम्पपीडितलाई समेत सहयोग गरेको उपाध्यक्ष बेर्नाले जानकारी दिएका छन् । उक्त संस्थाकी व्यवस्थापक इसावेल हाउसटाइनले यो सहयोगले बाढी प्रभावितलाई केही भने पनि राहत मिल्ने उल्लेख गरे । उनीहरुले भूकम्प प्रभावित क्षेत्रमै पुगेर आज सहयोग हस्तान्तरण गरेका थिए । साउन २८ गते आएको बाढीले चितवनका सौराहा क्षेत्र बढी प्रभावित बनाएको थियो । सहयोग हस्तान्तरण कार्यक्रममा रत्ननगर नगरपालिका-८ का वडाध्यक्ष विनोद बस्नेतले विदेशबाट आएर राहत सहयोग गर्नु महत्वपूर्ण कुरा भएको भन्दै सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन् । रासस

बैंक खातामै नगद लाभांशः लगानीकर्ताले रुचाएनन् कि नियामकले चाहेनन् ?

काठमाडौं । ‘धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकले लगानीकर्ताको बैंक खातामै नगद लाभांश दिने व्यवस्था मिलाउन भनेको धेरै समय बित्यो तर अझै अधिकांश लगानीकर्ता नगद लाभांश चेक मै माग्दै आउँछन्’, यो भनाई हो एनआइबिएल क्यापिटलका जनरल मेनेजर मेखबहादुर थापाको । थापाका अनुसार नियामकको कमजोर निर्देशन र बैंक खातामै नगद दिने व्यवस्था प्रति लगानीकर्तामा विश्वास बढाउन नसक्दा त्यस्तो भएको हो । ‘डिम्याट खाता अनिवार्य गर्न भनियो, लगानी कर्ता पनि ताते, हामीले पनि काम गर्यौ, तर बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक भएन, त्यसैले लगानीकर्ताले पनि खासै चासो देखाएन र हामीले पनि सोचे जस्तो काम गर्न सकेनौं’, एनआइबिएल क्यापिटलका जनरल मेनेजर थापाले विकासन्युजसँग भने । एनआइबिएलबाट हालसम्म १५ प्रतिशत जति लगानीकर्ताले नगद लाभांश बैंक खातामै पाईरहेका छन् । बाँकी लगानीकर्ता भने अझै पनि नगद लाभांशका लागि चेक माग्दै आउने गरेको उनले जानकारी दिए । उता, धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले पनि बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक नभएको बताए । ‘बैंक खातामै नगद लाभांश दिनु भन्ने निर्देशन बाध्यात्मक होइन, पुराना डिम्याट खाताहरु पनि धेरै छन, त्यसैले अभ्यास गर्दै जानुपर्छ भनेर नरम खालको निर्देशन दिएका हौं’, प्रवक्ता गिरीले भने । सिडिएस एण्ड क्लियरिङका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ताले पनि पुराना डिम्याट खातावालहरुले न्युन मात्रामा बैंक खाता अद्यावधिक गरेको बताए । ‘नयाँ डिम्याट खाताका लागि बैंक खाता अनिवार्य गरेका छौं तर पुराना खातावालहरुले बैंक खाता अद्यावधिक गर्न खासै रुचि देखाएका छैनन्’, सिडिएसका सिइओ गुप्ताले भने । कसले कहिले के भन्यो बैंक खातामै नगद लाभांश बारे ? नेपाल धितोपत्र बोर्डले  २०७३ साल भदौ ७ गते नै लगानीकर्तालाई नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिएको थियो । सिडिएसले २०७३ चैत मसान्त भित्र पुराना डिम्याट खातावालाहरुलाई बैंक खाता उपलब्ध गराउन भनेको थियो । २०७३ साल पुस १२ गतेपछि खोलिएको डिम्याट खाताहरुमा बैंक खाता अनिवार्य गरिएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन २०७३ मार्फत नगद लाभांश बैंक खातामै उपलब्ध गराउने व्यवस्था गर्न भनेको थियो । के गर्नुपर्छ बैंक खातामै नगद लाभांश पाउन ? लगानीकर्ताले बैंक खातामै नगद लाभांश प्राप्त गर्नका लागि डिम्याट खाता र बैंक खाता अद्यावधिक गर्नुपर्छ । अर्थात २०७३ साल पुस १२ गते अघि नै खोलिएका डिम्याट खाता धनीहरुले बैंक खाता उपलब्ध गराउनु पर्छ । नयाँ डिम्याट खाता भने बैंक अकाउण्ट बिना खोल्नै नपाउने व्यवस्था छ । धितोपत्र बोर्ड र नेपाल राष्ट्र बैंकको नरम निर्देशन र बैंक खातामै नगद लाभांश पाइने तथ्यमा लगानीकर्ता विश्वस्त नहुदा योजना अपेक्षाकृत रुपले सफल नभएको हो ।  

बुधबार मात्रै सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले सिद्धार्थ इन्स्योरेन्स र भार्गव विकास बैंकको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बुधबार सिद्धार्थ इन्स्योरेन्सको बोनस र भार्गव विकास बैंकको हकप्रद पछिको सेयरको मूल्य समायोजन गरेको हो । सिद्धार्थ इन्स्योरेन्सको २० प्रतिशत बोनस सेयर पछिको मूल्य समायोजन भएको छ । जसको समायोजन पछिको सेयर मूल्य प्रतिकित्ता १२०० रुपैयाँ रहेको छ । त्यस्तै, भार्गव विकास बैंकको ८० प्रतिशत हकप्रद सेयर पछिको मूल्य समायोजन भएको छ । समायोजन पछि यस बैंकको सेयर मूल्य प्रतिकित्ता १९२ रुपैयाँ रहेको छ ।

हिमालयन बैंकले २५ प्रतिशत बोनस सेयर दिने, चुक्ता पुँजी ८ अर्ब नाघ्ने

काठमाडौं । हिमालयन बैंकले आफ्ना सेयरधनीलाई गत वर्षको मुनाफाबाट २५ प्रतिशत बोनस सेयर दिने भएको छ । साथै, बैंकले कर प्रयोजनको लागि १.३१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय कात्तिक १४ गते बसेको कम्पनीको ३४९औँ संचालक समितिको बैठकले गरेको हो । बैठकको निर्णयलाई नेपाल राष्ट्र बैंकले स्वीकृति तथा बैंकको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ । हाल कम्पनीको चुक्ता पुँजी ६ अर्ब ४९ करोड रुपैयाँ रहेको छ । २५ प्रतिशत बोनस पश्चात कम्पनीको पुँजी ८ अर्ब ११ करोड रुपैयाँ नाघ्ने छ ।

लघुवित्त र विकास बैंक छुट्टिए, नेप्सेमा आजदेखि लघुवित्त समूहको छुट्टै परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा लघुवित्त समुह र विकास बैंक समूह छुट्टिएका छन् । नेप्सेले आज(कात्तिक १५ गते)देखि लघुवित्त समूहको छुट्टै परिसूचक निर्माण गरि अलग्गै कारोबार गराउने भएको छ । यसअघि विकास बैंक र लघुवित्त गरि कुल ७१ कम्पनीलाई एकै समूहमा राखिएको थियो । सो मध्ये नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त कारोबार गर्ने इजाजत प्राप्त गरेका ३३ वित्तीय संस्थाहरुलाई अलग गरेको नेप्सेले जनाएको छ । अर्थात विकास बैंक समूहमा ३८ कम्पनी र लघुवित्त समूहमा ३३ कम्पनीको कारोबार हुने भएको छ । साथै, आजदेखि नयाँ परिसूचक लघुवित्त समूहलाई नेप्सेको वेभसाइटमार्फत रियल टाइममा प्रसारण हुने व्यवस्था मिलाइएको नेप्सेद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । यस मार्फत लगानीकर्ताले बजारको बारेमा थप सूचना प्राप्त गर्ने नेप्सेको विश्वास रहेको छ ।

युनिलिभरले लाभांश लिन बोलायो, १ महिनाभित्र नलिए जफत हुने

काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले पुरानो बाँकी लाभाँश लिन सेयरधनीलाई बोलाएको छ । सेयरधनीले लामो समयदेखि लाभांश नलिएको भन्दै युनिलिभरले एक महिनाभित्र लाभांश लिन भनेको छ । एक महिनापछि पनि लाभांश लिन नआए कम्पनी ऐनको दफा १८३ बमोजिम बुझिलिन बाँकी लाभांश कम्पनीले लगानीकर्ताको संरक्षण कोषमा जम्मा गर्ने जानकारी गराएको छ ।  निर्धारित समयमा लाभांश लिन नआए कम्पनीले स्वीकार नगर्ने स्पष्टपारेको छ ।

बैंकिङ प्रणालीमा ४३ अर्ब अधिक तरलता, राष्ट्र बैंकले आज ३ अर्ब बजारबाट उठाउदै

काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य पुँजी (तरलता) अधिक भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार बजारबाट ३ अर्ब रुपैयाँ उठाउने भएको छ । केन्द्रीय बैंकले बुधबार निक्षेप संकलन उपकरणमार्फत १५ दिनका लागि बैकिङ प्रणालीबाट तरलता प्रशोचन गर्न लागेको हो । निक्षेपको सावाँ र ब्याज भुक्तानी कात्तिक ३० गते हुने राष्ट्र बैंकले जनाएको छ । हाल बैंकिङ प्रणालीमा ४३ अर्ब रुपैयाँ बढी तरलता भएपछि यसलाई प्रशोचन गर्न राष्ट्र बैंकले निक्षेप उपकरण ल्याएको हो । चालु आर्थिक वर्ष सुरुभययता बजारमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले तरलता प्रशोचन गर्दे आएको छ । केन्द्रीय बैंकले बैकिङ प्रणालीमा तरलता अभाव भयो भने विभिन्न वित्तीय उपकरणमार्फत बजारमा पैसा पठाउने र बढी भए खिच्ने गर्छ । गत वर्ष दोस्रो त्रैमाशदेखि लगानीयोग्य पुँजीको अभावले गर्दा वित्तीय घर्षण बढेर बजारमा समस्या आएको थियो । लगानी गर्ने पुँजी नभएपछि बैंकले महंगो ब्याज दरमा ठुलो परिमाणमा निक्षेप उठाएका थिए । १ खर्ब ४ अर्ब ९० करोड रुपैयाँ तरलता प्रशोचन गरेको छ । यसमध्ये, निक्षेप बोलकबोलमार्पmत् ३५ अर्ब १५ करोड, रिभर्स रिपोमार्पmत् ६९ अर्ब ७५ करोड तरलता प्रशोचन भएको छ । केन्द्रीय बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरू) बाट ५३ करोड १२ लाख अमेरिकी डलर खरिद गरी ४६ अर्ब ५४ करोड खुद तरलता प्रवाह गरेको छ ।  

एमाले समानुपातिकमा मोति दुगड एक्ला उद्योगी

काठमाडौं । नेकपा(एमाले)ले उद्योगी मोती दुगडलाई प्रतिनिधीसभा तर्फको समानुपातिक सूचिमा समावेश गरेको छ । एमालेको समानुपातिक सूचिमा पर्ने दुगड एक्ला ठुला उद्योगी हुन् । यस अघि एमालेका तर्फबाट राज्यलक्ष्मी गोल्छा, इच्छाराज तामाङ, महेन्द्र शेरचन लगायत समानुपातिक सांसद बनेका थिए । त्यस बाहेक व्यवसायीक पृष्ठभूमिका जनार्दन ढकाल, डा. दुमनसिंह थापा, पार्वत गुरुङ लगायत प्रत्यक्ष टिकट पाएर सांसद बनेका थिए । यसपाली भने एमालेले दुगडलाई मात्रै समानुपातिक सूचिमा राखेको हो ।