विकासन्युज

सिटिजन्स बैंकको ६४ औं शाखा हुम्लाको सर्केगाडमा, थप तीन शाखा खोल्ने तयारी

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो ६४ औं शाखा हुम्लाको सर्केगाडमा संचालनमा ल्याएको छ । बैंकले गत कात्तिक ९ गते यस बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन् । बैंकले हालसम्म ६४ वटा शाखा, ६२ वटा एटिएम काउन्टर र ९७ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाहरुबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत देवकोटाले देश संघीयतामा गए संगै दुरदराजका नेपालीजनतालाई बैंकिंग सुबिधा संग पहुँच पुर्याउन बैंक कटिबद्ध भएर लागीपरेको बताएका छन्। उक्त शाखाका इन्चार्ज अर्जुन रावलले यस क्षेत्रमा कृषि कर्जा, पशु पालन लगायतका क्षेत्रमा प्रश्स्त लगानी गर्ने बैंकको उदेश्य रहेको बताए । साथै, अबका दिनमा बैंकले झापाको हल्दिबारी, महोतरीको औरही र दांङको बंगलाचुलीमा थप शाखा संचालन गर्ने तयारी गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले जानकारी गराएका छन् ।

विद्युत प्राधिकरणले ३ सहरमा विद्युतीय ट्रान्सफरम ल्याव बनाउदै, बेजिङ हुत्यान मेकानिकललाई ठेक्का दिने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ३ स्थानमा विद्युतीय ट्रान्सफरमको परीक्षण प्रयोगशाला (ल्याव) बनाउने भएको छ । प्राधिकरणले विराटनगर, बुटवल र नेपालगन्जमा ट्रान्सफरमर परीक्षण ल्याव बनाउन लागेको हो । यसका लागि बेइजिङ हुत्यान मेकानिकल इलेक्ट्रिक इन्ष्टच्युट कम्पनी लिमिटेडलाई छनौट गरेको छ । सारभूत रुपमा प्रभावग्राही र न्युनतम मूल्य अंकित बोलपत्रदाताको रुपमा बेइजिङलाई छनौट गरिएको हो । बेइजिङले मूल्य अभिवृद्धि कर (भ्याट) लगायत भन्सार शुल्क बाहेक झण्डै १७ करोड रुपैयाँ अर्थात १६ लाख ५५ हजार १६७ अमेरिकी डलरमा ठेक्का पाउने भएको छ । प्राधिकरणको हेटौडा र काठमाडौमा ट्रान्सफरमर परीक्षण ल्याव रहेको छ । यो समेत गरी परीक्षण ल्याव ५ पुग्ने छ । ट्रान्सफरमर परीक्षणलाई सहज बनाउन थप ३ सहरमा ल्याव स्थापना गर्न लागिएको प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुङेलले बताए । प्राधिकरणले नेपालमा ट्रान्सफरमर उत्पादन गर्न लागेको जानकारी दिए । उनकाअनुसार विद्युत प्राधिकरणले स्वदेशमा ट्रान्सफरम उत्पादन थाल्नका लागि ट्रान्सफरमर उत्पादन कम्पनी स्थापना गरिसकेको छ । नेपालमा सरकारी तवरबाट ट्रान्सफरमर उत्पादन गर्न प्राधिकरणले यस्तो प्रयास थालेको हो । प्राधिकरणले नेपाल इकरात इन्जिनियरिङ कम्पनी र ट्रान्सवेल्ड कम्पनीको विद्युतीय ट्रान्सफरम खरिद गर्दे आएको छ । यस्तै विदेशबाट पनि ग्लोबल टेण्डर गरेर प्राधिकरणले ट्रान्सफरमर खरिद गर्दे आएको छ । चीन र थाइल्याण्डबाट आयात गरिएका ट्रान्सफर गुणस्तरहीन भएको प्रमाणित भएपछि ठुलो काण्ड भएको थियो ।

मुक्तिनाथ विकास बैंकले २१ प्रतिशत लाभांश दिने, पुँजी साढे २ अर्ब नाघ्ने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले सेयरधनीलाई २१.०५ प्रतिशत नगद लभांश वितरण गर्ने भएको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद गरी सो मात्राको लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त निर्णय कम्पनीको गत कात्तिक ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गरेको हो । सञ्चालक समितिको निर्णयलाई नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी साधारणसभाले पारित गर्ने छ । बैंकले ४० प्रतिशत हकप्रद सेयर पश्चात कायम भएको पुँजीमा सो मात्राको लाभांश दिँदै छ । हकप्रद पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब १५ करोड ९८ लाख रुपैयाँ कायम भएको छ । त्यस्तै, उक्त पुँजीमा २० प्रतिशत बोनस वितरण पश्चात कम्पनीको चुक्ता पुँजी २ अर्ब ५९ करोड रुपैयाँ नाघ्ने छ ।

३ जलविद्युत आयोजनाले २५ करोडको आईपीओ निष्कासन गर्दै, अनुमति माग्न पुगे धितोपत्र बोर्ड

काठमाडौं । निर्माणधिन र सम्पन्न भएका ३ जलविद्युत कम्पनीले सर्वसाधारणलाई २५ करोड ३६ रुपैयाँको साधारण सेयर (आईपीओ) निष्कासनको तयारी गरेका छन् । गत असोज महिना भित्र ३ वटै कम्पनीले सो मात्राको आईपीओे निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । ती कम्पनीले २५ करोड ३६ लाख २८ हजार ६ सय रुपैयाँ बराबरको २५ लाख ३६ हजार २८६ कित्ता आईपीओ निष्कासन गर्ने भएका छन् । आईपीओ निष्कासनका लागि बोर्डमा निवेदन दिनेमा मैलुङखोला जलविद्युत कम्पनी लिमिटेड, घलेमदी हाइड्रो लिमिटेड र माउन्टेन हाइड्रो नेपाल लिमिटेड रहेका छन् । मैलुङखोला जलविद्युतले ७ करोड ३६ लाख रुपैयाँ, घलेमदी हाइड्रोले ५ करोड ५० लाख रुपैयाँ र १२ करोड ५० लाख रुपैयाँ गरी सो मात्राको आईपीओ निष्कासनका लागि बोर्डमा आवेदन दिएका हुन् । मैलुङ जलविद्युतले ५ मेगावाटको मैलुङखोला आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ । यस्तै, घलमदी हाइड्रोले ४ मेगावाटको घलेमदी आयोजना र माउन्टेनले २१.६ मेगावाटको तल्लो हेवाखोला आयोजना निर्माण गरिरहेको छ । यी ३ वटै आयोजना निजी लगानी र स्वदेशी पुँजीबाट निर्माण भएका हुन् । मैलुङले सर्वसाधारण, घलमदी र माउन्टेनले स्थानियबासिन्दाका लागि आईपीओ निष्कासन गर्न लागेका हुन् । जलविद्युत आयोजनाका प्रवद्र्धकले स्थानियबासिन्दालाई न्युनतम १० प्रतिशत सेयर निष्कासन गर्नुपर्ने भएपछि सबै कम्पनीले धमाधम सेयर निष्कासन गर्न लागेका हुन् । धितोपत्र बोर्डले पनि न्युनतम् १० प्रतिशत सेयर सर्वसाधारणलाइ निष्कासन गर्न पाउने व्यवस्था गरेको छ । बोर्डमा विभिन्न २० कम्पनीले ३ अर्ब ५९ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डमा निवेदन दिएका छन् । ती मध्ये १६ कम्पनी जलविद्युतसंग सम्बन्धित छन् । चालु आर्थिक वर्ष शुरु भएको ३ महिनामा राधि विद्युत उत्पादन कम्पनी लिमिटेडले मात्र १५ प्रतिशत आईपीओ निष्कासन गर्न अनुमति पाएको छ । ४ मेगावाटको राधी जलविद्युत आयोजना बनाएर सञ्चालन गरिरहेको राधीले ९ करोड ४४ लाख ५५ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।

सिटी एक्स्प्रेस मनी ट्रान्सफरद्धारा उत्सव एक्स्प्रेस योजनाको बिजेता घोषित

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको सातौ हप्ताको बिजेताहरु घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत चाँदीका सिक्का तथा ओप्पो फोन विजेताको घोषणा गरेको हो । चाँदीको सिक्का विजेताका रुपमा शन्ता देवी दाहाल, आशो कुमार राजबन्शी, रेश्मा खनाल, लक्ष्मी बस्नेत, राजु थापा, बिरेन्द्र धामी, गुलाबी कुमारी देवी मन्डल र मासिनी तामाङ छनोट भएका छन् । त्यसैगरी, ओप्पो फोन विजेताका रुपमा सप्तरीकी राखी यादव छनोट भएकी छिन् । लामो समयदेखि मनी ट्रान्सफर सम्बन्धि सेवा उपलब्ध गराइरहेको सिटी एक्स्प्रेसले समस्त नेपालीको महान चाड दशैं तिहार र छठलाई लक्छित गर्दै आफ्नो उपहार योजना सञ्चालन गरेको छ । कम्पनीले यस पटक आफ्ना उपभोक्ताहरुका लागि ९० दिन सम्म चल्ने उपहार योजना सार्वजनिक गरेको हो । सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्छन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ । उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहारका रुपमा रेनौल्टको क्विड आरएक्सएल कार जित्न सक्नेछन् । कम्पनीका अनुसार दैनिक, साप्ताहिक तथा मासिक विजेताहरु समेत बम्पर उपहारका लागि छनोट हुने जानकारी दिएको छ । उपहार योजनामा राष्ट्रिय तथा अन्तराष्ट्रिय कारोवार गर्ने दुवै वर्गका ग्राहक संलग्न हुन सक्ने कम्पनीले जानकारी दिएको छ ।

स्वदेशी लघुवित्त र ओरियन्टल होटलको सेयर मूल्य समायोजन

काठमाडौं । स्वदेशी लघुवित्त वित्तीय संस्था र ओरियन्टल होटलको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से)ले आइतबार दुबै कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । नेप्सेले स्वदेशी लघुवित्त १५ प्रतिशत बोनस सेयर पछिको सेयर मूल्य समायोजन गरेको हो । समायोजन पछि कम्पनीको सेयर मुल्य प्रतिकित्ता ३१० रुपैयाँ तोकेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता २०५ रुपैयाँ रहेको थियो । त्यस्तै, ओरियन्टल होटलको पनि १८ प्रतिशत बोनस पछि सेयर मूल्य समायोजन भएको हो । समायोजन पछि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ७५४ रुपैयाँ रहेको छ । जसका लागि आधार मूल्य प्रतिकित्ता ६१७ रुपैयाँ रहेको थियो ।

नेपाल एसबीआई बैंकले १५.४२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । नेपाल एसबीआई बैंकले सेयरधनीलाई १५.४२ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई बोनस सेयर दिने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृति र वार्षिक साधारणसभाबाट पारित हुन बाँकी छ । चुक्तापुँजी बढाउन बैंकले बोनस सेयर दिने भएको हो । गत आवमा बैंकले १ अर्ब ५२ करोड ३२ लाख रुपैयाँ खुद नाफा गरेको थियो । यो नाफा अघिल्लो आवको तुलनामा १४.३६ प्रतिशत हो ।

अनलाईन ट्रेडिङ र एनआरएनलाई लगानीको व्यवस्था छिट्टै गर्नेछु : चन्द्रसिंह साउद

गणितमा राम्रो दख्खल भएका चन्द्रसिंह साउदले बोर्डिङ स्कुलमा गणित अध्यापन गराउँथे । वि.स.२०५१ सालमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको बजार अधिकृतमा जागिरे भए । नेपाल इन्स्योरेन्समा ६ तहबाट प्रवेश गरेको साउद पछि सीईओसम्म भए । उनी अहिले पनि पार्ट टाइम कलेजमा अध्यापन गरिरहेका छन् । उनले सााझेदारीमा ब्रिलियन्ट कलेज पनि सञ्चालन गरिरहेका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका साउदलाई सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सीईओ बनाएको छ । नेपालको पुँजीबजारको अवस्था र आगामी दिनमा गरिने सुधारका विषयमा केन्द्रीत रहेर साउदसंग बाबुराम खड्काले गरेको कुराकानीको अंश । २ दशक लामो समय बीमा क्षेत्रमा बिताएर अहिले पुँजी बजारमा आउनु भएको छ । नयाँ क्षेत्रमा काम गर्न कतिको सहज हुदोरहेछ ? बैंक, फाइनान्स र बीमा भनेको पुँजीबजार कै तत्व हुन् । चाहे बैकबाट होस वा बीमाबाट नै होस, एउटै तत्व भएकाले काम गर्न सहजै महशु्स भएको छ । बीमामा हुदा बजार प्रवद्र्धनका लागि आफै हिड्नु पर्ने व्यवसायीक लक्ष्य पुरा गर्नुपर्ने हन्छ । तर यहाँ आफनो लक्ष्य पुरा गर्नु त छदै छ त्यो भन्दा पनि सबै क्षेत्रको काम गर्नुपर्ने हुन्छ । बैंक, वित्त, बीमालगायत अन्य उत्पादनमुलक क्षेत्रको गतिविधि पनि हेर्नुपर्छ । नेपाल स्टकमा सुचिकृत भएका दोस्रो बजारमा कारोबार हुने जति कम्पनीहरु छन् तीनको अनुगमन र दोस्रो बजारमा सबै काम गर्नुपर्छ । सेयरका अतिरित्त डिबेञ्चर, होटललगाय धेरै क्षेत्रहरु छन, तीनको सबै काम गर्नुपर्छ । कामको हिसावले खासै फरक छैन, किनभने सीईओले सबै काम गर्ने हैन । सीईओले टिमवर्कमा रहेर व्यवस्थापनको काम मात्र गर्ने हो । टीमसंग मिलेर काम गर्नुपर्ने हुन्छ । कामको अवस्था पनि उस्तै हो । नेप्से सरकारी निकाय भएकाले यहाँ सबै प्रक्रिया पुरा गर्न नियमसंग जाने बाहेक अन्य फरक मैले देखेको छैन् । नेप्सेमा कर्मचारीको टिम कस्तो पाउनु भएको छ ? मैले यहाँ कार्यभार सम्हालेको २ साता जति भयो । कर्मचारीबीचमा अन्तरक्रिया हुदा सबै सकरात्मक लागेको छ । सबै अनुभवी र लामो समय काम गरेका कर्मचारी साथी हुनुहुन्छ । सहयोगी भावना पाएको छु र सकरात्मक रुपमा यसलाई अझ प्रभावकारी रुपमा अघि बढाउने छु । भिन्न परिवार, धर्म र संस्कृतिबाट आएकाले बिचार फरक हुनु स्वभाविक नै हो । केही गर्न भनेर व्यवसायिक योजना लिएर नेप्सेमा आउनु भएको छ, यहाँका नयाँ योजना के छन् ? पुँजीबजार सम्वद्ध निकायको आकाँक्षा अनुसार नै म योजना अघि बढाउछु । मैले धेरैजसोसंग सुझाव पनि लिएको छु । अनलाइन ट्रेडिङको व्यवस्थाका लागि काम तिब्रताका साथ अघि बढाएको छु । दोस्रोमा हाम्रा गैरआवासिय नेपाली (एनआरएन) लाई नेपालको पुँजीबजारमा कसरी भित्राउने भन्ने विषयमा काम अघि बढाउदै छु । उहाँहरुको इच्छा आकाँक्षा के हो बुझने प्रयास गर्दैछु । हाम्रा नियम कानून के छ ? त्यसलाई हेरेर अघि बढ्ने योजना छ । एनआरएनको नयाँ टिमले भरखरै चुनाव जितेर आएको छ । उहाँहरुका पनि केही योजना र माग होलान त्यसलाई पनि सम्बोधन गर्नुपर्ने छ । उहाँहरुसंग बसेर अन्तरक्रिया गर्दैछु । यस्तै नेप्से आफैले बजारमा काम गर्दैन, स्टक ब्रोकरमार्फत कारोबार गर्छ, उहाँहरुसंग पनि छलफल गर्दैछु । तेस्रोमा पुँजी बजारको विकासका लागि साना तथा ठुला लगानीकर्ता हुनुहुन्छ, उहाँसंग पनि छलफ गर्नेछौ । यति मात्र नभएर पुर्व मेचीदेखि पश्चिम महाकालीसम्म पुँजीबजारका बारेमा जानकारी दिन मुख्य सहरमा जनतालाई जानकारी गराउने काम गर्दैछौ । पुँजीबजारमा नयाँ प्रडक्ट के छन् त्यसतर्फ पनि ध्यान दिने छौ । यसअन्र्तगत विकास बैंक र लघुवित्तको एउटै सूचक रहेको थियो, यसलाई छुट्याइसकेका छौ ।नेप्सेका ऐन नियम पुराना छन, यी ऐन नियमलाई परिमार्जन गर्ने काम हुदैछ । धितोपत्र बोर्डबाट स्वीकृति लिएर मार्जिन लेन्डिङको काम पनि अघि बढाउँदै छौ । मुलुक संघीय प्रणालीमा गइसकेको छ । स्थानिय तहको चु्नाव सम्पन्न भइसकेको छ भने प्रदेश र केन्द्रको चुनाव पनि हुने क्रममा छ । पुँजीबजारलाई सबै क्षेत्रमा फैलाउन शाखा विस्तार वा लगानीकर्तालाई आफनो ठाउँबाट लगानी गर्ने व्यवस्था मिलाउने योजना बनाएको छु । ४ वर्षको अवधिमा ७ वटै प्रदेशमा हाम्रो उपस्थिती रहन्छ । सातवटै प्रदेशका लगानीकर्ताले आफनो क्षेत्रबाट पुँजीबजारमा लगानी गर्न पाउने सेवा विस्तार गरिने छ । अनलाईन ट्रेडिङ कहिलेदेखि सुरु हुदैछ ? यसका लागि काम भइरहेको छ । भेण्डर कम्पनीले सफ्टवेयर जोडर मात्र पुग्दैन । हाम्रो सिस्टर कम्पनी भनेका स्टक ब्रोकर हुन तीनिहरुको पनि विकास हुनपर्छ । लगानीकर्तालाई यस बारेमा जानकारी गराउनुपर्छ । कार्यन्वयनमा आउनुभन्दा अगावै जानकारी दिनुभन्दा पनि सम्बन्धित संस्था र व्यक्तिसंग छलफल गरेर अघि बढाउने छौ । पुरा भएपछि एकैपटक कार्यन्वयन गराउने छौ ।। एनआरएनलाई पुँजीबजारमा प्रवेश गराउने धेरै अघिदेखि कुरा चलेपनि यसको काम भएको छैन । यहाँले पनि यस्तै कुरा गर्नुभयो, किन यसमा काम भएको छैन ? त्यहि भएर उहाँहरुसंग छलफल गर्न लागेको हो । उहाँहरुको कुरा पनि सुनौ र त्यही अनुसार योजना बनाउनुपर्छ भन्ने मेरो मान्यता हो । एकपटक छलफल गरौ हेरौ के हुन्छ । उहाँहरुलाई पुँजीबजारमा भित्र्याउदा यसको आकार बढ्छ । पछिल्लो समयमा पुँजीबजारमा इन्साइडर ट्रेडिङ बढ्दै गएको छ, यसलाई रोक्न यहाँले के गर्दे हुनुहुन्छ ? कात्तिकभित्र नयाँ जनशक्ति आउदै छ । त्यसलाई बजारमा अनुगमनमा खटाउदै छौ । अहिले पनि नभएको हैन तर पर्याप्त नभएको मात्र हो । हाम्रो क्षेत्राधिकार भित्र रहेर इन्साइडर ट्रेडिङ कारोबारको अनुगमन गर्ने छौ । नियामक धितोपत्र बोर्ड र नेप्सेबीच बारम्बार टकराव भएको अवस्था छ । यहाँको कार्यकालमा बोर्ड र नेप्सेबीच समुधर सम्बन्ध स्थापना हुने संभावना कतिको छ ? मेरो धारणा के हो भने धितोपत्र बोर्ड हाम्रो गार्जियन हो । नियामकसंग मनमुटाव गरेर काम गर्न सक्दैनौ । त्यसैले अबका दिन बोर्ड र नेप्सेबीच बाउछोरा जस्तो एकदम सौहार्द सम्बन्ध रहने छ । दोस्रो स्टक एक्सचेन्ज सञ्चालनको कुरा आएको छ, दोस्रो स्टक एक्सचेन्ज आवश्यक छ की छैन ? नेप्सेको सीईओ आधारले यहाँले सोध्नु भएको होला । स्वीकृत दिने वा नदिने भन्ने निर्णय नियामक निकायको हो । पहिला २ सय बढी सुचिकृत कम्पनी थिए । अहिले मर्जर र एक्विजिसनका कारणले संख्या घटेको छ । कतिपय संस्था खारेजीमा पनि गएका छन् । कम्पनीको संख्या घटेको अवस्था छ । भोली पुँजीबजार बढ्यो, लगानीकर्ता बढे र बजारमा एनआरएन आए भने कारोबार बढ्यो र बोर्डले अर्को कम्पनी आवश्यक देख्यो भने आउन पनि सक्छ । हामीले चाहिदैन भनेर बोल्ने क्षेत्राधिकार बाहिरको कुरा हो । पुँजीबजारमा दोस्रो कारोबार गर्ने संस्था आएपछि हामी सचेत कहाँ हुनुपर्छ भने नेप्सेको सेवा साधान र स्रोतलाई प्रतिस्पर्धात्मक बनाउनुपर्छ । हामी त्यसतर्फ लाग्छौ । नेप्सेलाई अझ बढी प्रतिस्पर्धी संस्था बनाउने छौ । अन्य कम्पनी आएपनि फरक पर्दैन् । लामो समयदेखि एक दर्जन बढी कम्पनी कारोबार भएको छैन, यहाँले यस्ता कम्पनीलाई के गर्नुहुन्छ ? यस विषयमा सोच्दैछौ । वर्षौसम्म वार्षिक साधारणसभा नगर्ने कम्पनीलाई हेर्दै छौ र कारोबार गराउने कोशिस गर्ने छौ । लगानीकर्ताले लगानी गरिरहने तर आफनो सेयर मूल्य कति हो भन्ने थाहा नपाउने अवस्था विद्यमान छ । यस्ता संस्थालाई के गर्ने भन्ने कुरा मेरो दिमागमा आएको छ । सम्बन्धित कम्पनीका प्रमुखलाई बोलाएर साधारणसभा गर्नलाई सुझाव दिने छु । सल्लाह गरेर यस विषयमा एउटा निर्णय लिइने छ । सुचिकृत नभएको र कारोबार रोक्का भएका केही कम्पनीको ओटीसीबाट कारोबार भइरहेको छ । यो पनि समस्या हैन् । सबैलाई सुचिकृत गराउने र लगानीकर्ताको लगानी सुरक्षित गराउने हाम्रो पहल हुने छ । त्यसतर्फ हामी जानेछौ । उसोभए आउँदो ४ वर्षमा नेप्सेमा धेरै फरक देख्न सक्छौ ? विकास भन्ने कुरा एकैपटक हुने कुरा हैन् । विकास भनेको समयको माग हो र हुन्छ । आउदो ४ वर्षमा नेप्सेको संरचनामा व्यापक परिवर्तन भएको पाउनुहुन्छ । पुँजीबजारमा बैंक वित्त, बीमा बाहेक उत्पादनमुलक क्षेत्रको प्रवेश भएको देखिन्दैन । किन यस्तो भएको हो ? धेरै उद्योगपतिसंग कुरा गर्दा विभिन्न समस्या देखाउने काम भएको छ । सरकारले उनीहरुलाई सुविधा पनि दिएको छ । उद्योगीसंग छलफल गर्छौ । बोर्डले १० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने भनेको छ । समस्या के रहेछ र कसो गर्दा उहाँहरु पुँजीबजारमा आउनु हुन्छ । यस विषयमा म छलफल गर्ने छु । ठुलो रकम बुझाएर नेप्सेको सीईओ भएको भन्ने आरोप लागेको छ, कति बुझाएर सीईओ हुनुभएको हो ? कसले के भन्यो मलाई थाहा छैन् । जसले जे भन्यो उसैलाई सोध्नुस । प्रजातान्त्रिक मुलकमा जसलाई जे मन लाग्छ त्यो कुरा बोल्न पाइन्छ । यहाँको मिडियाका साथीले बुझेर लेख्दा राम्रो हुन्थ्यो । मैले कसैलाई पैसा बुझाएको पनि छैन, बुझाउनै पर्ने भने यहाँ किन जागिर खान आउथे र ? अन्यत्र काम गर्न सकिन्थ्यो ।