विकासन्युज

कहिले आउँछ एनएमबी बैंकको १ करोड १४ लाख कित्ता एफपीओ ? कति पर्छ मूल्य ?

काठमाडौं । एनएमबी बैंकले चुक्तापुँजी बढाउन प्रिमियम मूल्यमा थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बैंकले केही महिनाभित्रै एफपीओ निष्कासनको तयारी गरेको छ । एफपीओको प्रिमियम मूल्य तय भइनसकेको बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुनिल केसीले बताए । एफपीओको मूल्य अहिले यति मूल्य हुन्छ भनेर भन्न नसकिने उनले जानकारी दिए । एनएमबीको प्रतिसेयर मूल्य ४६९ रुपैयाँ छ । हाल नियामक धितोपत्र बोर्डसंग यस विषयमा छलफल भइरहेको केसीले जानकारी दिए । सीईओ केसीले केही महिनाभित्र ल्याउनु पर्ने अवस्था रहेको भन्दै छिट्टै एफपीओ निष्कासन गर्ने बताए । “नियामक धितोपत्र बोर्डले अध्ययन गरिरहेको छ” उनले भने “स्वीकृति पाउन साथ एफपीओ निष्कासनको प्रक्रिया सुरु गर्नेछौ ।” बैंकले १ करोड १४ लाख १५ हजार १६२ कित्ता एफपीओ निष्कासनका लागि गत जेठ २२ गते बोर्डमा निवेदन दिएको हो । बैंकको चुक्तापुँजी ६ अर्ब ४६ करोड १७ लाख रुपैयाँ छ । एफपीओ निष्कासनपछि बैंकका चुक्तापुँजी ८ अर्ब रुपैयाँ पुग्ने छ । चालु आवको पहिलो त्रैमाशमा एनएमबीले ४५ करोड १३ लाख रुपैयाँ खुदनाफा गरेको छ । गत आवमा बैंकले १ अर्ब ५१ करोड रुपैयाँ खुदनाफा गरेको थियो । बैंकले सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

पुस १३ देखि नेपाली जुत्ता चप्पलको औद्योगिक प्रदर्शनी, १५ प्रतिशतसम्म छुट

काठमाडौं । पुस १३ गतेदेखि राजधानीको भृकुटीमण्डपमा नेपाली छाला जुत्ता तथा चप्पलहरुको राष्ट्रिय औद्योगीक प्रदर्शनी आयोजना हुने भएको छ । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले आयोजना गर्ने प्रदर्शनी १८ गतेसम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा देश भरि छरिएर रहेका साना, मझौला एवं ठुला जुत्ता चप्पल उद्योगीहरुको उत्पादन समावेश गरिनेछन् । प्रदर्शनीमा १० वटा पेभिलियन सहित १३५ वटा स्टलहरु रहनेछन् । प्रदर्शनीमा छालाका जुत्ता, स्पोर्टस जुत्ता, क्याजुअल जुत्ता स्कुल कलेजका युनिफर्मका जुत्ता, जेन्टस तथा लेडिज चप्पल एवं यस उद्योगसंग सम्बन्धित कच्चा पदार्थहरु तथा फुड स्टलहरु समेत रहनेछन् । प्रदर्शनीमा १५ प्रतिशतसम्म छुटको सुबिधा उपलब्ध हुनेछ । नेपाली जुत्ता चप्पल उत्पादन क्षेत्र बारे अनुसन्धान प्रतिबेदन २०७४ अनुसार ठूला तथा मझौला उद्योगहरु कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएका २२९, घरेलु तथा साना उद्योग विभाग र समिति अन्तर्गत दर्ता भएका ९३२,लेडिज चप्पल उत्पादक हरु १४०, फेल्ट तथा परम्परागत शिपमा आधारित अनुमानित २०० गरि कुल १५०१ उद्योगहरु रहेका छन । यी उद्योगहरुमा ५० हजारको हारा हारीमा प्रत्यक्ष रोजगारी सिर्जना भएको छ । त्यस मध्ये १६ हजार (३२ प्रतिशत) महिला कामदार रहेका छन । यी उद्योगहरुमा करिव .१९ अर्व ९४ करोड बरावरको लगानी रहेको छ । यी उद्योगहरुको बार्षिक उत्पादन क्षमता ११ करोड १९ लाख ७१ हजार जोर रहेता पनि हाल बार्षिक ४ करोड ३९ लाख ५८ हजार ७०० जोर मात्र उत्पादन भएकोे छ । आर्थिक वर्ष ०७२।०७३को तथ्याङ्क अनुसार नेपालको बजारमा ७ करोड ६२ लाख ४४ हजार १ सय ८६ जोर जुत्ता चप्पल खपत भएको थियो । जस मध्ये ३ करोड ८२ लाख ९४ हजार ७ सय ९३ जोर नेपाली जुत्ता चप्पल खपत भएको थियो ।  

सांस्कृतिक रुपमा ब्राण्डिङ: एनसेल मेलामा मस्त झुम्यो पोखरा

काठमाडौ । एनसेलले शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँ बजारमा आयोजना गरेको एनसेल मेला २०७४ मा पोख्रेली तथा विदेशी दर्शकहरुले भरपुर मनोरञ्जन लिएका छन् । कम्पनीले आफ्ना ग्राहक तथा शुभचिन्तकहरुसँग थप नजिक भई खुसीयाली साटासाट गर्ने र दुर्तगतिको मोवाइल ब्रोडव्याण्ड सेवा लङ्ग टर्म इभोलुसन/फोरजीको अनुभव प्रदान गर्ने उदेश्य सहित यो मेलाको आयोजना गरेको हो । विविध मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एकदिने एनसेल मेला विहान ११ बजेबाट सुरु भई विविध गतिविधि र कन्सर्ट सहित साँझ सम्म चलेको थियो । मेलाको मुख्य आकर्षणहरुमा चर्चित कलाकारहरु तथा संगीतिक समुहको प्रस्तुतीहरु, फोरजी थिममा आधारित गेम स्टलहरु लगायत किडस् जोन र फुड स्टलहरु रहेका थिए । मेलाको मुख्य आकर्षण रहेको कन्सर्टमा, कलाकार शिव परियारले आफ्नो हिट गीतहरु जस्तै ‘क्या दामी भो’, ‘संगी’ र ‘पिलायो साथीले’ प्रस्तुत गर्दै दर्शकहरुलाई भरपुर मनोरञ्जन गराएका थिए । कलाकार आषिश राना (लाउरे) ले ‘नेपहपको बाटो’, ‘केस नं ४२०’ र ‘हाउडे’ जस्ता आफ्ना गीतहरु प्रस्तुत गर्दै दर्शकहरुको मन जितेका थिए । त्यस्तै सांगितीक समुह कबवेबले ‘मार्याे नि मार्यो नि’ र ‘तिम्रो माया’ जस्ता चर्चित गीतहरु पस्कदै र द एज व्याण्डले आफ्नो अत्याधिक मन पराइएका गीतहरु ‘तिम्रो लागि’ र ‘थाहा छैन’ जस्ता आ—आफ्नो प्रस्तुती मार्फत दर्शकलाई गीतमा झुम्दै नाच्नका लागि उत्साहित गरेका थिए । यसका साथै रोडिज्का विजेता समन श्रेष्ठ र फस्ट रनरअप अनिमेश शाहीको सहभागीताले मेलाको आकर्षण थप बढाएको थियो । मेलामा सबै उमेर समुहका दर्शकहरुलाई विभिन्न कार्यक्रम तथा गतिविधिहरु समावेश गरिएको थियो । युवाहरुको भिड एनसेलको फोरजीमा आधारित गेमहरु पेपर प्लेन थ्रो, मिनी गल्फ, फ्रग जम्प र कार रेसमा थियो र थुप्रै गेम स्टलहरुमा दर्शकले मनोरन्जन लिनुका साथै विभिन्न पुरस्कारहरु पनि जित्न सफल भएका थिए । किड्स जोनमा बालबालिकाहरु ट्राम्पोलिन र गो कार्ट जस्ता खेलहरुमा मजा लिइरहेका देखिन्थे । टेम्पोररी ट्याटु, डिस्नी प्रिन्सेस् क्यासल र क्यारेक्टरहरु लगायत विविध आर्कषणले बालबालिकाहरुको ध्यान केन्द्रित गरेको थियो । मनोरञ्जनका कार्यक्रमका साथ साथै मेलामा रहेको एनसेलको विषेश फोरजी जोनमा पनि आगन्तुकहरुको उत्तिकै उत्साहजनक भीड देखिन्थ्यो । उक्त जोनबाट आगन्तुकले एनसेलको फोरजी सेवाको बारेमा थप जानकारीका साथै फोरजी सेवा चलाएर टेष्ट पनि गर्न पाएका थिए । फुड स्टलमा आगन्तुकहरुले देशी र विदेशी परिकारहरुको मजा लिएका थिए । त्यसैगरी, फेसबुक ट्यागिङ कन्टेस्ट, ब्लाइण्ड मेकअप, युनिकर्न रिङ् टस जस्ता गेम्सहरु दर्शकहरुको उत्साहजनक सहभागिता थियो ।

साँघुरो किनारमा फराकिलो जीवनः दृष्टिविहिनका सडक गाथा

काठमाडौं । काठमाडौंको अस्तव्यस्त सडक र मानिसहरुको भीडभाडमा दृष्टिविहिनहरु तिनै सडकका किनारमा गीत गाएर जिविकोपार्जन गरिरहेका छन् । यस्ता दृष्टिविहिनहरु देशका विभिन्न क्षेत्रबाट काठमाडौंका सडक पेटिमा जिउनका लागि संघर्ष गर्दैछन् । उनीहरुले चिसो मौसम, धूँवा, धुलो नभनी दिनभरी सडकका पेटिमा गीत गाएर आफ्ना परिवार पालिरहेका छन् । यसरी गाउनु उनीहरुको आम्दानीको मूख्य स्रोत नै बनेको छ । सडक किनारामा गीत गाएर उनीहरुले दैनिक ५ सयसम्म आम्दानी गरिरहेका छन् । नुवाकोटकी दृष्टिविहिन निर्मला गूरुङको दैनिक सडक किानारामै गीत गाएर बित्छ । २ सन्तानकी आमा निर्मलाका श्रीमान पनि दृष्टिविहिन नै छन् । चार सदस्यीय उनीहरुको परिवार सडक किनारमा गीत गाएरै पालिएको छ । उनीहरु बिहान ९ बजेट रत्नपार्क आसपासका सडक किनारामा गीत गाउन आइपुग्छन र साँझपख कपन फर्कन्छन् । यो जोडीका २ सन्तानमध्ये एउटा छोरा पनि दृष्टिविहिन नै छन्, उनी हिड्न र बोल्न समेत सक्दैनन । “आफ्नै परिवार र आफन्तको साथ नपाएपछि जिउने बाटो खोज्दै काठमाडौँका सडकमा गीत गाउन आईपुगेका हौं, हाम्रो साहारा अब यहि बाटो हो’ निर्मला गुरुङले भनिन् । अर्का एक दृष्टिविहिन प्रकाश थापाको दैनिकी पनि सडक किनारामा गीत गाएरै बित्छ । उनी भन्छन– “यो सडक हाम्रो जीउने साहारा हो, यहिँ गीत गाएर नै परिवार पाल्दै छु ।” उनको साथमा अपाङ्ग श्रीमति र छ महिनाको सन्तान पनि छ । स्थायी घर सुर्खेत भएका थापा आफ्नो परिवारको ह्येय भाव सहन नसकेर काठमाडौं प्रवेश गरेको बताउँछन् । ‘परिवारले बोझका रुपमा लिएपछि आफैं जीउने संकल्प गरेर काठमाडौं आएँ, यहि सडकले मेरो जीवन धानिरहेको छ’, थापाले सुनाए । विगत २ बर्षदेखि रत्नपार्क आसपासमा गीत गाएरै बितिरहेको छ । २ संघर्षको २ बर्षे विगत सम्झँदै उनी भन्छन–“काठमाडौं आएर सडकका पेटिमा बसी गीत गाउन थालेको २ वर्ष भयो । गीत गाएर रमाउछु, गीत गाएर नै दुई छाक परिवारलाई खुवाउछु, हाम्रो गीत सुनेर दयालुहरुले केहि रकम दिन्छन, त्यहि हो हाम्रो आम्दानी ।’ यी त केबल प्रतिनिधी पात्र मात्रै हुन् । उनीहरु जस्ता दर्जन भन्दा बढि दृष्टि विहिनहरुको दैनिकी साँघुरा सडक किनारले धानिरहेको छ । यी साघुँरा किनारमा ती दृष्टिविहिनहरुले जीवन जिउने फराकिलो आधार भेटिरहेका छन् । जीवन आफैं संघर्षको पर्याय हो । संसारमा आइपर्ने सबै मोडहरुसँग संघर्ष गर्ने प्रतिज्ञा हो मानिसको जन्म । यी दृष्टिविहिनहरुको जीवन संघर्षलाई हेर्ने जो कोहीले उर्जा प्राप्त गर्छ । राज्यले आरक्षण, सामाजिक सुरक्षा लगायतका नीति मार्फत सबै नागरिकलाई समान बनाउने अभियान थालेको लामो समय भैसकेको छ । असक्त तथा फरक क्षमता भएका यस्ता नागरिकको जीवन रक्षा र सर्वाङगीण विकासका लागि ठोस कार्यक्रमको आवश्यकता छ ।-प्रशिक्षार्थी

निक्षेपको तुलनमा कर्जा लगानी बढेपछि राष्ट्र बैंकले सावधानी अपनाउन भन्यो

काठमाडौं । निक्षेप परिचालनको तुलनमा कर्जा प्रवाह बढी भएपछि नेपाल राष्ट्र बैंकले सावधानी अपनाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको आर्थिक परिदृष्य सार्वजनिक गर्दे बैंकको कर्जाप्रवाह १७.५ प्रतिशत र निक्षेप परिचालन १४.९ प्रतिशतले मात्र वृद्धि भएपछि वित्तीय असन्तुलन आउन भन्दै सचेत गराएको छ । “कर्जा प्रवाह र निक्षेप परिचालन बीच रहेको असन्तुलनमा सुधार ल्याउन बैंकहरुले कर्जा प्रवाहमा सावधानी अपनाउनु आवश्यक छ” राष्ट्र बैंकले भनेको छ । स्थानीय, प्रदेश एवम् संघीय तहको निर्वाचन सम्पन्न भइसकेकोले स्थानीय तहको सरकारी खर्च वृद्धि हुने अपेक्षा राष्ट्र बैंकको छ । राष्ट्र बैंकले स्थानिय तहबाट हुने खर्चमा विस्तार भएमा वित्तीय क्षेत्रमा हाल देखिएको घर्षणमा केही सहजीकरण हुने देखिने बताएको छ । कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाको निक्षेप बढेर २४ खर्ब ८६ अर्ब १५ करोड रुपैयाँ पुगेको छ । यस्तै कर्जा लगानी २१ खर्ब ७ अर्ब २० करोड रुपैयाँ छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहिरहेको कर्जामध्ये ६१.२ प्रतिशत घर जग्गाको धितोमा र १४.५ प्रतिशत चालू सम्पत्तिको धितोमा प्रवाह भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६०.७ र १४.९ प्रतिशत थियो । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाहित ट्रष्ट रिसिट (आयात) कर्जा ४३.६ प्रतिशत अर्थात २८ अर्ब ११ करोड रुपैयाँ वृद्धि भई ९२ अर्ब ६४ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ७.४ प्रतिशतले बढेको थियो । बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित हायर पर्चेज कर्जा ३.६ तथा ओभरड्राफ्ट कर्जा २.९ प्रतिशतले बढेको छ । त्यसैगरी, समीक्षा अवधिमा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ५.५ प्रतिशतले बढेको छ ।

पेपालबाट पठाएको पैसा इन्भेष्टमेण्ट बैंकबाट भुक्तानी हुने, अमेरिकामा रहेका नेपालीलाई सहज

काठमाडौं । अमेरिकामा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उदेश्यले नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले अमेरिकास्थित अनलाईन नगद भुक्तानी सेवा प्रदायक विप्रेषण कम्पनी पेपाल इन्क (जुम) सँग विप्रेषणसेवाको सुरुवात गरेको छ । यस सेवाको सुरुवात पछि अमेरिकामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकमा रहेको आफ्नो खाता प्रयोग गरी पेपाल मार्फत नेपालमा पृथ्वी रेमिटबाट भुक्तानी हुने गरी रकम पठाउन सक्नेछन् । त्यसरी पठाएको रकम नेपालस्थित नेपाल इन्भेष्टमेन्ट बैंकको खातामा तुरुन्तै जम्मा हुनेछ साथै नेपालमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाको खातामा पनि रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । पेपाल मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका ८ हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिनेछ । छिटो, सहज र सुरक्षित तरिकाले रकम प्राप्त गर्न यो माध्यम उपयुक्त हुने विश्वास बैंकले लिएको छ । देशका विभिन्न ठाउँमा रहेका ६१ वटा शाखा र ९९ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि.र अमेरिकास्थित पेपाल बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र लिन सहज बनाएको छ । यसअघि इन्भेष्मेण्ट बैंकले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिटमार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले भारतको एक्सि बैंक र कुवेतको एल सुल्तान एक्स्चेञ्जसँग पनि सम्झौता गरेको छ ।

कृषि विकास बैंकको नयाँ शाखा बरहथवामा

काठमाडौं । कृषि विकास बैंकले सर्लाही जिल्ला बरहथवा नगरपालिकामा नयाँ शाखा खोलेको छ । आधुनिक प्रविधि जडित पूर्ण वाणिज्य बैकिङ्ग शाखाको औपचारिक उद्घाटन आईतबार बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौलाले गरेका छन् । बैंकको क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक प्रमोदबाबु तिवारीको अध्यक्षतामा भएको समुदघाटन कार्यक्रममा नगरपालिकाका मेयर देवानन्द महत्तो ,उद्योगपति राजेश प्रसाद कुश्वाह, निरञ्जन दासले बैंक सफलतको शुभकामना व्यक्त गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत लिलाप्रकाश सिटौला बैंकले प्रदान गर्ने आधुुनिक सेवासुविधाका बारेमा जानकारी दिए ।

१४५ मेगावाट बिजुली लिन कुलमान घिसिङ आफै बुधबार भारत जाँदै

काठमाडौं । भारतले म्याद थपको जवाफ नपठाएपछि १४५ मेगावाट बिजुली आयातलाई निरन्तरता दिन नेपाल विद्युत प्राधिकरणका उच्च अधिकारी बुधबार नयाँदिल्ली जाने भएका छन् ।     विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ नेतृत्वमा उच्चस्तरित टोली भारतकोे नोडल एजेन्सी एनपीटीसी विद्युत व्यापार निगम (एमभीभीएन) लिमिटेडका अधिकारीसंग बिजुली आयात निरन्तरता दिनका लागि सम्झौता गर्न दिल्ली जान लागेका हुुन् । एनभीभीएनबाट बिजुली आयातलाई निरन्तरता दिने विषयमा जवाफ नआएपछि कार्यकारी निर्देशक घिसिङ दिल्ली जान लागेको प्राधिकरणका प्रवत्ता प्रवल अधिकारीले बताए । ढल्केबर–मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट आयात भइरहेको बिजुलीको सम्झौता पुस १६ गतेदेखि सकिदै छ । सम्झौता सकिने भएपछि भारतबाट १४५ मेगावाट बिजुली आपूर्ति बन्द हुने संभावना भएपछि पुनः सम्झौता गर्न घिसिङ भारत जान लागेका हुन । १४५ मेगावाट बिजुली आपूर्ति बन्द भएमा नेपालमा पुनः लोडसेडिङ हुने संभावना भएकाले घिसिङ भारत जान लागेको उनको भनाई छ । नेपाल र भारतको सचिव स्तरिय संयुक्त स्थायी समितिको बैठक स्थगत भएपछि विद्युत प्राधिकरणले गत मंगलबार बिजुली आयातको म्याद पुनः ३ महिना थप गर्न एमभीभीएनलाई अनुरोध सहितको पत्र पठाएको थियो । उसले सो पत्रको जवाफ नपठाएपछि सम्झौता गर्न प्राधिकरणको उच्चस्तरिय टोली दिल्ली जान लागेको हो । मंगलबार घिसिङले विशेष परिस्थितिका कारण नेपाल–भारत सचिवस्तरिय बैठक बस्न नसकेको भन्दै एनभीभीएनका प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई ३ महिना अर्थात आउँदो मार्चसम्म विद्युत आपूर्ति निरन्तरता दिनका लागि अनुरोध गरेका थिए । प्राधिकरणले पहिलाको दरमा बिजुली आयात नविकरण गर्न भनेको छ । ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट १४५ मेगावाट बिजुली प्रतियुनिट ५ रुपैयाँ ७६ पैसा अर्थात ३.६० भारुमा आयात भइरहेको छ । एनभीभीएनले बिजुली नदिएमा नेपालमा पुनःलोडसेडिङ हुने संभावना रहन्छ । एनभीभीएनले सस्तो दरमा बिजुली दिएको भन्दै मूल्य बढाउन प्रस्ताव गरेको छ । उसले अहिले विद्युत प्राधिकरणलाई दिएको दर सस्तो हो । कटैयाँ–कुसाहलगायत अन्य नाकाबाट व्यापारिक मूल्यमा बिजुली आयात भइरहेको छ । बिहारको नर्दन पावर डिष्ट्रिव्युसन कम्पनी लिमिटेडबाट प्रतियुनिट ५ रुपैयाँ ५५ पैसा अर्थात ८ रुपैयाँ ८८ पैसामा बिजुली आयात भइरहेको छ । यो चुहावट बाहेकको रकम हो । यो वर्ष भारतबाट ४७० मेगावाट बिजुली ल्याएर लोडसेडिङ नगर्ने प्राधिकरणको तयारी छ । गत अक्टुबरमा म्याद थप भएपनि पुनः डिसेम्बरसम्मका लागि ३ महिना म्याद थप गरेको थियो । एनभीभीएनले बिजुलीको भाउ बढाउन प्रस्ताव गरिसकेको छ । विद्युत प्राधिकरणले भाउ बढाउन मानेको छैन । ढल्केबर–मुज्जफपुर प्रसारणलाइन बुक भएकाले सो लाइनबाट बिजुली नल्याए पनि प्रसारणलाइन शुल्कवापत दुइवटा कम्पनीलाई वार्षिक १ अर्ब १० करोड बुझाउनु पर्छ ।