विकासन्युज

प्रदेश मन्त्रालयमा ३५ देखि ९० कर्मचारी रहने

काठमाडौँ  ।  सरकारले प्रदेश मन्त्रालय अन्तर्गतको सांगठनिक संरचनाको खाका तयार पारिएको छ । मन्त्रालयमा न्यूनतम ३५ देखि अधिकतम ९० जना कर्मचारी रहने गरी सांगठनिक संरचनाको खाका बनाइरहेको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले जानकारी दिए । “मन्त्रालयको काम हेरेर ३५ देखि ९० जना कर्मचारी रहने गरी प्रस्ताव गरेका छौँ”, उहाँले भने , “मन्त्रालयको काम हेरेर कुन मन्त्रालयमा कति रहने हो भनेर पछि यकिन हुन्छ ।” प्रदेशमा सरकारले प्रदेश मन्त्रिपरिषद्, प्रदेश आर्थिक विकास मन्त्रालय, प्रदेश कृषि, सहकारी तथा भूमि व्यवस्थापन मन्त्रालय, प्रदेश गृह मन्त्रालय, प्रदेश पूर्वाधार विकास मन्त्रालय, प्रदेश वन, विज्ञान तथा वातावरण मन्त्रालय र प्रदेश शिक्षा, स्वास्थ्य तथा समाजिक विकास मन्त्रालयको नाम राखिएको छ । कर्मचारी समायोजन नियमावली नआएकाले मन्त्रालयले अहिले उनीहरुलाई आन्तरिक रुपमा अस्थायी तवरबाट पठाउने उहाँले बताए। प्रदेश मन्त्रिपरिषद्मा सचिवस्तरको विशिष्ट श्रेणीका र प्रदेश मन्त्रालयमा सहसचिवस्तरका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारी खटाइने तयारी गरिएको पनि प्रवक्ता न्यौपानले जानकारी दिए। रासस

बुटबल पावरले चीनियाँ लगानी ल्याउन काम थाल्याे, ५ वर्षमा २ खर्ब भित्राउने

काठमाडौं । चीनियाँ कम्पनीसंग जलविद्युत बनाउने समझदारी गरेको बुटबल पावर कम्पनी लिमिटेड (बीपीसी) ले त्यहाँबाट विदेशी लगानी ल्याउन प्रक्रिया सुरु गरेको छ । चीनको ३ वटा र बीपीसीको संयुक्त लगानीमा गठन भएका एसीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्रालिको सञ्चालक समिति बैठकले लगानी ल्याउन प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । कम्पनीको बैठकले जलविद्युत आयोजना अघि बढाउनका लागि चीनबाट वैदेशिक लगानी ल्याउने निर्णय गरेपछि यसको प्रक्रिया सरु भएको बीपीसीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए । उनले लगानी ल्याउनका लागि नेपाल राष्ट्र बैंकलगायत अन्य निकायमा छलफल सुरु गरेको जानकारी दिए । संयुक्त कम्पनी एसीआईजीको काम सुरु भएको उनले बताए । चीनबाट आवश्यकताअनुसार लगानी आउने उनको भनाई छ । एसीआईजी इन्टरनेसनले १०८ मेगावाटको तल्लो मनाङ मस्र्याङदी आयोजनामा चीनबाट लगानी ल्याउने भएको छ । एसीआईजीमा बीपीसीको २० सिचुवान इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको ५१, छेन्दु सिछेङ इन्भेष्टमेन्ट ग्रुप कम्पनी लिमिटेडको १७ र क्युआन इन्जिनियरिङ कन्सल्टिङ कम्पनी लिमिटेडको १२ स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । बीपीसीले चीनियाँ कम्पनीसंगको साझेदारीमा आगामी ५ वर्षमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न लक्ष्य लिएको छ । १ हजार मेगावाट बिजुली उत्पादन गर्न बीपीसीले २ खर्ब रुपैयाँ अर्थात २ अर्ब अमेरिकी डलर चीनबाट लगानी ल्याउनेछ । तत्काल १ अर्ब ९० करोड रुपैयाँ पुँजी रहने होल्डिङ कम्पनीमा बीपीसीले ३८ करोड रुपैयाँ लगानी गर्नेछ । बीपीसीले हाल ३६.७ मेगावाटको कावेली ए र ३० मेगावाटको न्यादी आयोजना निर्माण थालेको छ ।  

सन्तपुरको नमुना बस्ती बनाउन २ करोड अपुग

काठमाडौं । रौतहटको चन्द्रपुर स्थित सन्तपुरमा समाजसेवी तथा हाँस्यकलाकार द्धय सिताराम कट्टेल‘ धुर्मुस र कुन्जना घिमिरे‘ सुन्तलीले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीको ८० प्रतिशत काम सम्पन्न भएको छ । असोजको २८ गतेबाट बिधिबत रुपमा कम्पाउण्डको वालबाट कार्य थालनी गरिएको उक्त बस्तीमा भ्यु टावर र मन्दिरको काम बाहेक अरु सबै कामहरु अन्तिम चरणमा पुगेको बताईएको छ । बस्तीमा ४७ वटा घर, एक सामुदायिक भवन, मन्दिर, धाराहरु, सार्बजनिक सौचलय, भ्यु टावर, प्राईमरी बिद्यालय, बगैंचा लगायतका संरचना निर्माण गरिनेछ । बस्ती निर्माणका लागि ५ करोड ९५ लाख लागत अनुमान गरिएपनि त्यो भन्दा कममै बस्ती सम्पन्न गर्ने प्रयास गरिरहेको धुर्मुसले जानकारी दिएका छन् । गिटी, बालुवा, सिमेन्ट खरिद देखी बोक्ने सम्म धुर्मुस आफैं खटिएका छन् । तर पनि बस्ती निर्माणका लागि फाउण्डेशनलाई २ करोड अपुग छ । सहयोगीहरु बस्तीमै पुगेर सहयोग हस्तान्तरण गरिरहँदा हस्तान्तरण सम्ममा सहयोग संकलन हुने कुरामा उनि आशावादी पनि छन् । बस्ती निर्माणका लागि दैनिक २६१ जना कामदार खटिरहेका छन् । निर्माणको काम बिहान ६ बजेदेखी सुरु र बेलुकी साँझ सम्म निरन्तर चलिरहन्छ ।

प्राइम कमर्शियल बैंकको शाखा गोरखाको घेरुङमा

  काठमाडौं । प्राइम कमर्सियल बैंकले गोरखाको सहीद लखन गाउँपालिका घैरुङमा शाखा विस्तार गरेको छ । बैंकका संचालक बासुदेव रिजालले शाखा कार्यालयको उदघाटन गरेका छन् । बैकको कार्यालय संख्या ५२ पुगेको छ ।      

पाँचथरको भालुचोकमा ग्लोबल आईएमईको शाखारहित बैंकिङ सेवा

काठमाडौं । ग्लोबल आइएमई बैंकले शुक्रबारदेखि पाँचथरको हिलिहाङ गाउँपालिका भालुचोकमा ५७ औँ शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । सेवाको लागि स्थानिय वीरेन्द्रकुमार योङ्गहाङ्गलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको यस क्षेत्रका बासिन्दा बैंकिङ्ग सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई मध्यनजर गरी बैंकले सो स्थानमा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको हो । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले १०८ वटा शाखा, १२६ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ५७ शाखा रहित बैंकिङ्ग सेवा माफर्त आफ्ना ग्राहकहरु माझ सेवा प्रदान गर्दे आइरहेको छ । त्यस्तै बैंकले अत्याधुनीक प्रविधियुुक्त भाईवर बैंकिङ्ग, मोबाइल बैंकिंङ्ग, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टेलिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ती देशमा रहेका नेपालीहरु माझ सेवा प्रदान गर्दै आईरहेको छ । बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन लगायतका मुलुकबाट रेमिट्यान्स सेवा समेत प्रदान गर्दे आइरहेको जानकारी दिएको छ ।

एनएमबी माइक्रो फाइनान्सको अध्यक्ष लामाले लिए सपथ

काठमाडौं । एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडमा आगामी ४ वर्षका लागि उत्तम ब्लोन लामा पुनः नियुत्त भएका छन् । नवनिर्वाचित अध्यक्ष लामालाई नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडलले सपथग्रहण गराएका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनमा नवनियुक्त अध्यक्षले नेपाल राष्ट्र बैंक समक्ष शपथ ग्रहण लिनुपर्ने प्रावधान छ । गत मंसिर १५ गते १५ पोखरामा सम्पन्न ५औं वार्षिक साधारण सभाबाट लामा सञ्चालकमा निर्वाचित भएपछि गत पुस ३ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा सर्वसम्मत रुपमा चयन गरेको हो । पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर २५, हेम्जामा केन्द्रीय कार्यालय रहेको एनएमबी माइक्रोफाइनान्स एनएमबी बैंकको सहायक संस्था हो ।

पुरातत्वको डिजाइनअनुसार पुनःनिर्माण भएको छ : प्रमुख शाक्य

काठमाडौँ ।  काठमाडौँ महानगरपालिकाको प्रमुख विद्यासुन्दर शाक्यले पुरातत्व विभागले स्वीकृत गरेको डिजाइनअनुसार नै रानीपोखरीको पुनःनिर्माणको काम अघि बढेको जानकारी दिएका छन् । पछिल्लो समय रानीपोखरी पुनःनिर्माणबारे बाहिर विभिन्न किसिमको हल्ला आइरहेका बेला उनकाे यस्तो धारणा अाएकाे हो ।  प्रमुख शाक्यले भने , “सम्पदा सबैको साझा सम्पत्ति हो त्यसैले अनावश्यक विवाद झिकेर पुनःनिर्माण समस्या नल्याउनुस् ।” उनले रानीपोखरी पुनःनिर्माणको आयोजना आफू निर्वाचित हुनुभन्दाअघिकै भएको भन्दै सम्पदा नमासिने गरी जति सक्दो छिटो काम सम्पन्न गर्न निर्देशन दिइसकेको पनि बताए । “पुरातत्व विभाग, पुनःनिर्माण प्राधिकरण र महानगरको सहमतिमै राष्ट्रपतिज्यूले रानीपोखरी पुनःनिर्माणको शिलान्यास गर्नुभएको हो”, प्रमुख शाक्यले भने, “यो योजना पहिलाकै भएकाले मैले डिजाइनमा केही सामान्य हेरफेर गरेर पहिलाकैअनुरुप पुनःनिर्माण गर्न निर्देशन दिएको छु । “रानीपोखरीमा वाटर फाउण्टेन राख्छौँ । यो पोखरीलाई रमणीय र सुन्दर पार्कका रुपमा संरक्षण र विकास गर्छौं”, उनले भने , “सकेसम्म रत्नपार्कको बीचको बाटोलाई पनि वैकल्पिक बाटो बनाएर यो रानीपोखरीको क्षेत्रलाई रत्नपार्कसम्म जोड्ने योजना छ ।” विसं २०७२ मा गएको गोरखा भूकम्पले रानीपोखरी र पोखरीको बीचभागमा रहेको बालगोपालेश्वर मन्दिरमा पूर्णरुपमा क्षति पुगेको थियो । रासस

२४९८ परिवार भूकम्प पीडितलाई एकिकृत बस्तीमा नयाँ घर

काठमाडौं । २४९८ परिवार भूकम्प पीडितलाई एकिकृत नमुना बस्तीमा सारिने भएको छ । तीमध्ये पनि ९६ परिवारलाई एकिकृत बस्तीका लागि घडेरी उपलब्ध गराईसकिएको छ । पुननिर्माण प्राधिकरण नापी शाखाका प्रमुख कमल प्रसाद घिमिरेका अनुसार हालसम्म २४९८ परिवार भूकम्प पीडितलाई स्थानान्तरण गरेर एकिकृत बस्तीमा सार्नुपर्ने निर्णय भएको हो । अझै करिब ५ सय परिवार भूकम्प पीडितलाई स्थानान्तरण गर्नुपर्नेबारे थप अध्ययन भैरहेको छ । हालसम्म ९६ परिवार भूकम्प पीडितले घर बनाउन घडेरी पाईसकेका छन् । नुवाकोटको उर्लेनीका २४ परिवारले नुवाकोटकै खरानीटारमा ८ रोपनी जमिन पाएका छन् । त्यस्तै, रसुवाको डाँडागाउँका थप २४ परिवारले पनि नुवाकोटको शान्तिबजारमा घडेरी पाईसकेका छन् । प्राधिकरणले केहि दिन अघि मात्रै रसुवाको डाँडागाउँका थप ४८ परिवारलाई रसुवाकै बोगटीटारमा घडेरी उपलब्ध गराईसकेको छ । सरकारले स्थानान्तरण गरिनुपर्ने भूकम्प पीडितहरुलाई प्रति परिवार २ लाख रुपैंयाँका दरले घडेर खरिदका लागि उपलब्ध गराउने नीति लिएको छ । एकिकृत बस्ती विकासको योजना अनुसार खरिद हुने घडेरीमा प्राधिकरणले वत्ति, पानी, ढल, विद्यालय लगायतका संरचनाहरुको निर्माण भने आफैंले गरिदिनेछ । घडेरी पाउने भूकम्प पीडितहरुले घर बनाउन थप ३ लाख नगद समेत पाउनेछन् । केहिदिन भित्रै रसुवाका १० परिवार, नुवाकोटको उर्लेनीका थप ४७ परिवार र घ्याङफेदीका ७० परिवारलाई एकिकृत बस्तीमा घर बनाउन घडेरी उपलब्ध गराउने कार्यक्रम तयार भएको पनि घिमिरेले जानकारी दिए । त्यस्तै सिन्धुपाल्चोकको तीन ठाउँका भूकम्प पीडितलाई घडेर उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ भने गोरखाको पाइप लाइनमा रसुवाकै १० परिवार केरौँजामा एकिकृत बस्ती निर्माणका लागि स्थलगत अध्ययनको चरणमा पुगेको छ । भूकम्पले बस्ती स्थानान्तरण गर्नुपर्ने अवस्थामा पुगेका पीडितहरुलाई एकिकेत बस्तीमा सार्ने योजना अन्तर्गत पुननिर्माण प्राधिरणले आफ्नो काममा तिब्रता दिएको हो ।