याङजी नदीमाथि चीनको नयाँ चमत्कारः विश्व इतिहास रच्ने रेलवे पुल(भिडियोसहित)
काठमाडौं । विकास र पुर्वाधारमा विश्वलाई चकित पार्दै आएको चीनले नदिमाथी संसारकै लामे रेलवे पुल निर्माण गरेको छ । चीनले याङजी नदिमा संसारकै लामो रेलवे पुल निर्माण गरेको हो । (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्) पुलमा संसारका तीन वटा रेकर्डहरु गाँसिएका छन् । यो संसारकै पहिलो डबल बार लगाइएको सुरक्षित रेलवे पुल हो । ६ वटा रेल वे ट्रयाक भएको संसारकै पहिलो पुल पनि हो यो । यसमा जोडिएको तेश्रो रेकर्ड भनेको यो संसारमै धेरै भार वहन क्षमता भएको रेल वे पुल पनि हो । यो पुलले दक्षिण पश्चिम चीनका दुई शहर कन्क्वीङ र गुयाङलाई जोड्छन् । पुलको निर्माणले यी दुई शहरबिचको यात्रा अवधीलाई १० घण्टाबाट घटाएर २ घण्टामा सिमित गरिदिएको छ । यो पुल २०१८ को जनवरी ९ तारिखका दिन निर्माण सम्पन्न भएको हो । पुलमा यात्रु बोक्ने रेलका लागि चार वटा ट्रयाक रहेका छन भने कार्गाेका लागि २ वटा ट्रयाक रहेका छन् । यात्रु बोक्ने रेल प्रति घण्टा २ सय किलोमिटर दौडन्छ भने कार्गाे बोक्ने रेल १२० किलोमिटर दौडन्छ । यो पुलको कुल लम्बाई ५.३२ किलोमिटर रहेको छ । जसमा मुख्य पुलको लम्बाई ९२० मिटर छ । यो पुल केहि समयभित्रै परिक्षणका रुपमा सञ्चालन गरिने चिनियाँ सञ्चार माध्यमहरुले जनाएका छन् ।
स्वदेशी उत्पादनको वृद्धिमा जोड दिनु पर्दछ-चन्द्रप्रसाद ढकाल
पोखरा । आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयातमुखी अर्थतन्त्रलाई विस्थापन गर्न स्वदेशी उत्पादनको वृद्धि गर्नुपर्ने बताएका छन् । कास्की उद्योग वाणिज्य संघको आयोजनामा पोखरामा आयोजित राष्ट्रिय औद्योगिक व्यापार मेला-२०७४ लाई सम्बोधन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका ढकालले सो भनाई राखेका हुन् । ४ नम्बर प्रदेश श्रोत र साधनले सम्पन्न रहेको उल्लेख गर्दै सम्भावना भएका औधोगिक उत्पादनमा सहकार्य गर्न नेपालको नीजि क्षेत्र तयार रहेको जानकारी गराएका छन् । मुलुकले संघीय संबिधान पनि प्राप्त गरेको र सोहि संबिधान बमोजिम सबै निकायका निर्वाचन सम्पन्न भइसकेकाले अब सबैको ध्यान मुलुकको आर्थिक विकासमा केन्द्रीत भएको अनुभव नेपालको नीजि क्षेत्रले पनि गरेको बताएका छन् । आइएमई ग्रुप एक व्यवसायीक संस्था हो । यसले रेमिटेन्स, बैंकिंग, सूचनाप्रविधि, पर्यटन, उर्जा, अटोमोवाइल, इन्सोरेन्स लगायतका क्षेत्रमा लगानी विस्तार गर्दै आइरहेको छ ।
चिसोका कारण आलु बालीमा रोग, करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप
इनरुवा । सुनसरीका किसानले लगाएको आलु बालीमा रोग किरा लागेपछि आलुखेती नष्ट हुन थालेको छ । जिल्लाको हरिनगरा, देवानगञ्ज, रामनगरभुटहा, गौतमपुर, कप्तानगञ्जलगायतका क्षेत्रमा कृषकले सघनरुपमा गरेको आलुखेतीमा चिसोका कारण डढुवा रोग लागेको छ । लगानीअनुसारको प्रतिफल नआउने भएपछि किसान समस्यामा परेको स्थानीयवासी मुस्ताक अन्सारीले बताए । सदरमुकाम इनरुवासहित दक्षिणवर्ती क्षेत्रका किसानले लगाएको आलुबालीमा डढुवा रोग देखिएको छ । किसानले ऋण काढेर लगाएको आलुखेतीमा पुसको पहिलो साताबाट शुरु भएको शीतलहरका कारण डढुवा रोग देखापरेको छ । किसानले रोपेको बीउसमेत उठ्न नसक्ने अवस्था छ । शीतलहरका कारण आलु सुक्ने, कम फल्ने, आलुको लहरा गल्नेलगायत लक्षण देखापर्न थालेको रफिद अन्सारीले बताए । जिल्ला कृषि विकास कार्यालयले कार्यक्रम बजेट स्थानीय तहमा गएका कारण प्राविधिक सहयोग मात्र गर्न सक्ने जनाएको छ । सुनसरीमा करिब नौ हजार हेक्टर क्षेत्रफलमा आलुखेती हुँदै आएको छ । चिसोका कारण करिब ४० देखि ५० प्रतिशतसम्म आलुखेती सखाप भएको जिल्ला कृषि विकास कार्यालयका बाली विकास अधिकृत दीपेन्द्र पोखरेलले बताए । रासस
मूल्य बढ्दा पनि सिमेन्ट र डण्डीको अभाव कायमै, उद्योगीले किन रोके आपूर्ति ?
काठमाडौं । अहिले बजारमा सिमेन्ट र डण्डीको भाउ अत्यधिक बढेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मुल्य बढेको भन्दै निर्माण सामाग्री उद्योगी तथा व्यवसायीहरुले सिमेन्ट, डण्डी लगायतको भाउ ह्वात्तै बढाएको हो । मूल्य बढाउँदा पनि सिमेन्ट र रड लगायत निर्माण सामाग्रीको चरम अभाव रहेको निर्माण व्यवसायीहरुले बताएका छन् । कति बढ्यो भाउ ? निर्माण व्यवसायीहरुका अनुसार अहिले २ सय रुपैयाँसम्म प्रतिबोरा सिमेन्टको मुल्य बढेकोे छ । त्यस्तै प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म डण्डीको भाउ बढेको छ । बजारमा सिमेन्ट र डण्डीको भाउ बढेतापनि अहिलेको जस्तो निर्माण कार्यको महत्वपूर्ण सिजनमा निर्माण सामाग्रीको अभावको मार खाइरहेको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । किन रोकियो आपूर्ति ? महासंघका अध्यक्ष विष्णु भाई श्रेष्ठले पछिल्लो समय पुनर्निर्माण कार्य द्रुत गतिमा अघि बढेको मौका छोपेर सिमेन्ट उद्योगी तथा डण्डी व्यवसयीहरुले सिमेन्ट/डन्डी लगायत निर्माण सामाग्रीहरुको भाउ बढाएको आरोप लगाएका छन् । ‘अन्तर्राष्ट्रि बजारमा सिमेन्ट लगायतको कच्चा पदार्थको मूल्य बढेको छैन,’ उनले भने ‘भारतमा थोरै पेट्रोल र डिजेलको मूल्य बढेको छ । त्यसले खासै असर गर्दैन ।’ किनभने नेपालमै सिमेन्टको कच्चा पदार्थ करिब ७५ प्रतिशत उत्पादन हुनेगरेको उनको भनाइ छ । उनका अनुसार अहिले सिमेन्टमा ११५ रुपैयाँ भने डण्डीमा प्रतिकिलो १५ देखि ३० रुपैयाँसम्म बढेको छ । ‘साथै अहिले बजारमा ती सामाग्रीहरुको चरम अभाव छ,’ उनले थपे ‘निर्माण कार्यको लागि आवश्यक पर्ने ३० प्रतिशत मात्र सिमेन्ट र रड उपलब्ध छ ।’ ७० प्रतिशत अभाव रहेको उनले बताए । अहिले निर्माण कार्यको पिक आवरमा मौका छोपी उद्योगीहरुले कृतिम अभाव सिर्जना गरी कालोबजारी गरेको महासंघका अध्यक्ष श्रेष्ठले आरोप लगाए । बढेको मूल्य कायम रहने र यस्तै अभाव हुने हो भने समयमा निर्माण कार्यसम्पन्न नहुने उनको चेतावनी छ । त्यस्तै विकोइ विल्डर्स प्रालीका प्रबन्धक निर्देशक हुमनाथ कोइरालाले बजारमा मूल्य वृद्धि भएपनि सिमेन्ट, दण्डी जस्ता अत्यावश्यक निर्माण सामाग्री पाउन नसकेको दुखेसो गरे । ‘सिमेन्ट पूसयता मात्रै बोराको २ सय रुपैयाँसम्म बढेको छ । ढुवानीमा समेत बोरामा(हेटौंडा-काठमाडौं) ५० रुपैयाँ बढेको छ,’ उनले भने ‘त्यतिका मूल्य बढ्दा समेत सामान पाइएको छैन ।’ उनले मूल्य बढेसँगै निर्माण कार्यको लागत पनि करिब १५ प्रतिशत बढ्ने जनाए । काठमाडौं भ्यु टावर निर्माण गरिहेका सञ्चालक भैरव भेटवालले पनि केही हप्ता अघिसम्म दैनिक ५ गाडी सिमेन्ट आउने गरेकोमा अहिले मुस्किलले २ गाडी ल्याइएको बताए । सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापाले अन्तर्राष्ट्रिय बजारमा सिमेन्टको कच्चा पदार्थ बढेकोले सिमेन्टको भाउ बढाउन परेको बताए । ‘पहिले ७५ डलर पर्ने कच्चा पदार्थ अहिले ११५ डलर पुगेको छ,’ उनले भने ‘साथै ढुवानी भाडा पनि बढेको छ ।’ त्यस्तै उनले अघोषित रुपमा घन्टौै लोडसेडीङ हुने गरेको उद्योगहरुमा घोषित रुपमा ६ घन्टा लोडसेडिङ भइरहेकोले उद्योगहरुको लागत बढेकोले सिमेन्टको मूल्यमा असर परेको जानकारी दिए । उनका अनुसार प्रत्येक वर्ष वर्खा र हिउदमा सिमेन्टको मूल्य १०० रुपयाँ घटबढ हुने गर्छ । वर्खामा करिब सय रुपैयाँ कम हुन्छ भने हिउँदा सय रुपैयाँ मूल्य बढ्ने गरेको छ । सरकारी स्वामित्वका उद्योगहरुले समेत सिमेन्टको भाउ बढाएको छ । ‘दुई हप्ता अघिदेखि विरगन्जमा क्लिङकर आउन बन्द भएको छ,’ उनले भने ‘ क्लिङकर नआउने हो भने विरगन्ज क्षेत्रका सबै सिमेन्ट उद्योगहरु बन्द हुनेछ ।’
डेरी एशोसिएशनको एजेन्डा, भवन निर्माणदेखि प्रतिपरिवार गाई उपलब्ध गराउनेसम्म
काठमाडौं । नेपाल डेरी एसोशिएसनको १९ औं वार्षिक साधारण सभा एवं ७ औं राष्ट्रिय महाधिवेशन संघारमा आइपुगेको । उक्त सभामा मुलुकमा दुधको माग पुरा गर्न र किसानहरुलाई व्यवसायमा टिकाई राख्न भुकम्प प्रभावित क्षेत्रमा प्रतिपरिवार एक गाई वा भैंसी उपलब्ध गराने प्रस्ताव गर्ने भएको हो । सो प्रस्ताव पुनर्निमाण प्राधिकरण समक्ष राख्ने एशोसिएशनका अध्यक्ष सुमित केडियाको भनाइ छ । त्यस्तै, सभामा नेशनल डेरी रिसर्च इन्स्टिच्युटको स्थापना नेपालको पहिलो डेरी स्थापना भएको काभ्रेको नाला, टुसालमा गर्न पर्ने प्रस्ताव समेत गरिने भएको छ । एशोसिएशनका अनुसार बाँकी प्रस्तावहरुमा स्वच्छ दुध उत्पादनको लागि कृषकसँग सहकार्य गर्ने, दुधको उपभोग बढाउन आर्मी र पुलिसको रासनमा स्वदेशी दुध, दुग्धजन्य पदार्थ अनिवार्य गरिनुपर्ने रहेको छ । साथै, एशोसिएशनको भवन निर्माण, घरेलु, साना, मझौला र ठूला डेरी उद्योगहरुको लागि स्तरोन्नतीको लागि पहल गरिने लगायतका प्रस्तावहरुहरु पनि राखिने बताइएको छ । अहिले मुलुकमा १५ अर्वभन्दा बढी दुग्ध क्षेत्रमा उद्योग स्तरको लगानी रहेको छ । ४८ लाख ५० हजार लिटर दुध उत्पादन हुने गरेको छ । जसमा ४ लाख ५० हजार कृषक परिवार यस क्षेत्रको रोजगारीमा आवद् छन् भने २० हजारभन्दा बढी मानिसले उद्योगस्तरमा प्रत्यक्ष रोजगारी पाइरहेको एशोसिएशनले जनाएको छ ।
करेण्ट मनोरञ्जन मेला पुस २९ गते झापामा हुँदै
काठमाडौं । करेण्ट तयारी चाउचाउ, यशोदा फुड्स प्रालि अन्तर्गतको ब्राण्डले करेण्ट मनोरञ्जन मेलाको आयोजना गर्ने भएको छ । मेला सुगम पेट्रोल पम्प बिर्तामोड झापामा पौष २९ गते दिउँसो १२ बजेदेखि सञ्चालन हुने आयोजकले बताएका छन् । मेलामा प्रवेश निःशुल्क गरिएको छ । मेलामा प्रसिद्ध लोकप्रिय गायकहरु राजेश पायल राई, सविन राई तथा गायिका मिलन अमात्य र डिल्ली फोम्बोको साथ बिमोक्स ब्यान्डले आफ्नो रोचक प्रस्तुति पस्कने विज्ञप्ति मार्फत जानकारी दिइएको छ । साथै, लोकप्रिय हाँस्य कलाकार जितु नेपाल, श्रीकृष्ण लुईंटेल र एभरेष्ट क्रु लगायत अन्य थुप्रै कलाकारहरुले आफ्नो मनोरञ्जनात्मक प्रस्तुतिका साथ सहभागिलाई मनोरञ्जन प्रदान गर्नेछन् । मेलामा उपस्थितहरुको मनोरञ्जनका लागि मेला स्थलमा विभिन्न मनोरञ्जनात्मक खेल तथा गतिविधि समेतको ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेशनद्धारा सप्तरीको दुई ठाउँमा कम्बल वितरण
राजविराज । पछिलो एक सतायता सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस-सुन्तली फाउन्डेशनले बुधबार कम्बल वितरण गरेको छ । सो फाउन्डेशनद्धारा आज सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा जाडोबाट जोगिनका लागि स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्याङ्केट (कम्बल) वितरण गरिएको स्थानीयवासी अवधेश झाले बताए । तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अतिअसहाय २० परिवार गरी कूल १५५ परिवारलाई प्रतिपरिवार एउटाका दरले ब्ल्याङ्केट वितरण गरिएको धुर्मुस सुन्तली फाउन्डेशनका अध्यक्ष तथा हास्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ले बताए । यस्तै शीतलहरबाट प्रभावित सप्तरीको विभिन्न स्थानमा स्थानीय प्रशासनले पनि कम्बल वितरण गरेको छ । नेपाल रेडक्रस सोसाइटीको सहयोगमा जिल्लाको शम्भुनाथ नगरपालिका–६, ७ र ८ मा रहेको दलित बस्तीमा करिब २०० परिवारलाई ब्ल्याङ्केट वितरण गरिएको प्रजिअ पाण्डेले जानकारी दिए । सप्तरीमा चिसोबाट मृत्यु हुनेको सङ्ख्या २० पुगे पनि जिल्ला प्रहरी कार्यालयले हालसम्म आठ जनाको मात्र मृत्यु भएको पुष्टि गरेको छ । रासस
हिमालयन बैंकद्धारा ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकालाई सहयोग
काठमाडौं । हिमालयन बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत तथा बैंकको २५औं वार्षिकोत्सवको सन्दर्भमा नागार्जुन न.पा. सीतापाईला, आदेश्वरस्थित ‘हेल्पिङ्ग ह्यान्ड्स चिल्ड्रेन होम’ का बालबालिकाहरुलाई सहयोग प्रदान गरेको छ । बैंकले उक्त चिल्ड्रेन होमका २१ जना बालबालिकाहरुलाई लुगा (ट्रयाक सुट) तथा खाद्यान्नहरु (चामल, दाल, खाने तेल, नुन, चिनी, गेडागुडी, विस्कुट आदि) प्रदान गरेको छ । देशका विभिन्न स्थानका अनाथ बालबालिकाहरुलाई उक्त चिल्ड्रेन होमले आश्रय दिइरहेको छ । बैंकका तर्फबाट बैंकका महाप्रबन्धक सुशील जोशीले उक्त सहयोग सामग्रीहरु हस्तान्तरण गरेका छन् ।