खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति, १९ थान सुमोको साँचो हस्तान्तरण
काठमाडौं । पुर्वको पशुपतिनाथको जिल्ला भनेर चिनिने खोटाङ्गको यातायात क्षेत्रमा नयाँ क्रान्ति आएको छ । खोटाङ्ग यातायात ब्यवसायी संघले एकैसाथ १९ थान टाटा सुमो खरीद गरी जीप सेवा सुरु गरेको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमबीच १९ थान टाटा सुमोको साँचो हस्तान्तरण गरेकाे छ । उक्त कार्यक्रमको उद्घाटन टाटा मोटरका कन्ट्री म्यानेजर अजितनारायण सिहं र खोटाङ्गका प्रतिनीधि सभा सदस्यविशाल भट्टराईले संयुक्त रुपमा गरेका थिए उक्त कार्यक्रममा खोटाङ्गका प्रतिष्ठित व्यक्तित्वहरुको सहभागीता रहेको थियो । कार्यक्रममा बोल्दै खोटाङ्ग यातायात व्यवसायी सघंका पदाधिकारीहरुले टाटा सुमोको बलियो इन्जिन र पहाडी बाटोमा उच्च क्षमताले गर्दा आफ्नो रोजाईमा परेको बताएका छन् ।
यो वर्ष अधिकांश आईपीओ जलविद्युतको मात्रै, १४ कम्पनीको ५ अर्ब ६३ करोड पाइपलाइनमा
काठमाडौं । यो वर्ष पुँजीबजारमा अधिकांश साधारण सेयर (आईपीओ) जलविद्युत कम्पनीको आउने भएको छ । बजारमा विभिन्न १४ जलविद्युत कम्पनीको ५ अर्ब ६३ करोड रुपैयाँको आईपीओ यो वर्षभित्रै आउने भएको हो । चालु आर्थिक वर्ष सुरु भएयता अनुमति पाएका केही कम्पनीले आईपीओ निष्कासन गरिसकेका छन् । केहीले निष्कासनका लागि आब्हानपत्र सार्वजनिक गरिसकेका छन् । सबैले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डमा निवेदन दिइसकेका छन् । यस्तै बुटवल पावर कम्पनी लिमिटेडले २ अर्ब ४ करोड रुपैयाँ बराबरको ४० लाख ८१ हजार कित्ता थप निष्कासन (एफपीओ) गर्न लागेको छ । बोर्डबाट स्वीकृति पाइसकेकाले छिट्टै ल्याउने तयारी भएको प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठ बताउछन् । पाइपलाइनमा रहेका १४ जलविद्युत कम्पनी केही वर्षअघिसम्म बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको आईपीओ निष्कासन हुने गरेकोमा यो वर्षदेखि जलविद्युत कम्पनीको आईपीओ बढी आउने देखिएको हो । अधिकाँश आयोजना निर्माण भइरहेकाले आगामी वर्ष पनि जलविद्युत समूहको आईपीओ बढी आउने संभावना छ । एक दर्जन बढी कम्पनीको आईपीओ नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सुचिकृत भई कारोबार भइरहेका छन् । जलविद्युत कम्पनीले न्युनतम १० प्रतिशत आयोजना प्रभावित स्थानियबासिन्दालाई आईपीओ निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले धमाम निष्कासन गर्न लागेका हुन् । अहिले अधिकाँश कम्पनीले १० प्रतिशत प्रभावित स्थानियबासिन्दा र न्युनतम १५ प्रतिशत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्न थालेका छन् । त्यस्तै, विभिन्न ४ वटा जलविद्युत कम्पनीले भने २ अर्ब ६८ करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । यी कम्पनीले सर्वसाधारणमा २ करोड ६८ लाख कित्ता सेयर जारी गर्ने छन् । अनुमति पाएका ४ जलविद्युत कम्पनी त्यस्तै, जलविद्युत कम्पनी बाहेक अन्य तीन वटा माइक्रोफाइनान्सले आईपीओ निष्कासन गर्न अनुमति पाइसकेका छन् । उन्नति माइक्रोफाइनान्स, सामूदायिक लघुवित्त वित्तीय संस्था र आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्थाले कुल ७ करोड ५९ लाख रुपैयाँ बराबरको आइपीओ निष्कासन गर्ने भएका छन् । सो मध्ये उन्नति माइक्रोफाइनान्सले एक करोड ६५ लाख, सामूदायिक लघुवित्तले ३ करोड र आरम्भ माइक्रोफाइनान्सले २ करोड ९४ लाख रुपैयाँको सेयर जारी गर्ने छन् ।
नेपाल चेम्बर अफ कर्मशमा पुनः राजेशकाजी श्रेष्ठ
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा पुनः राजेशकाजी श्रेष्ठ निर्वाचित भएका छन् । चेम्वरको ६७ औं वार्षिक साधारण सभाबाट श्रेष्ठको अध्यक्षतामा नयाँं कार्यसमिति निर्वाचित भएको हो । नवनिर्वाचित नयाँं कार्य समितिको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन् । उपाध्यक्षमा कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, दीपककुमार मलहोत्रा, इच्छाराज तामाङ र नरेश श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै विशिष्ठ मानार्थ उपाध्यक्षमा भाष्करराज राजकर्णिकार सर्वसम्मत चुनिएका छन् । मुलुक संघीय संरचनामा गएसँंगै चेम्वरको साँंगठनिक संरचना पनि त्यही अनुसार गएको छ । जस अनुसार सात वटा प्रदेशतर्फबाट प्रदेश १ मा पर्शुराम दाहाल, प्रदेश २ मा पंकज जालान, प्रदेश ३ मा कृष्णमान श्रेष्ठ, प्रदेश ४ मा प्रमोद श्रेष्ठ, प्रदेश ५ मा भीमलाल पौड्याल, प्रदेश ६ मा दीपेन्द्रकुमार खत्री र प्रदेश ७ मा प्रकाश साउदले केन्द्रमा प्रतिनिधित्व हुने गरी निर्वाचित भएका हुन् ।
हिमालयन बैंकको २६.३१ प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ८ अर्ब ११ करोड नाघ्यो
काठमाडौं । हिमालयन बैंक लिमिटेडको २६.३१५८ प्रतिशत लाभांश दिने प्रस्ताव पारित भएको छ । कम्पनी सञ्चालक समितिको उक्त प्रस्तावलाई शुक्रबार सम्पन्न बैंकको २५औँ वार्षिक साधारणसभाले पारित गरेको हो । साभाले पारित गरे बमोजिम कम्पनीले सेयरधनीलाई २५ प्रतिशत बोनस र १.३१५८ प्रतिशत नगद लाभांश दिने भएको छ । सो मात्राको बोनस वितरण पश्चात बैंकको चुक्ता पुँजी ८ अर्ब ११ करोड ४५ लाख रुपैयाँ पुगेको कम्पनीका अध्यक्ष मनोजबहादुर श्रेष्ठले बताएका छन् । बैंकले आ.व. २०७३/७४ अन्त्य सम्म ९२ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन र ७७ अर्ब ६४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी हो ।
प्राइम कमर्सियल बैंकको २७ प्रतिशत बोनस सेयर पारित, संचालकमा गजेन्द्र विष्ट
काठमाडौं । प्राइम कमर्सियल बैंकको आफ्ना सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर दिने प्रस्ताव पारित भएको छ । शुक्रबार सम्पन्न कम्पनीको १०औँ वार्षिक साधारणसभाले बैंक सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । साथै, सोही सभाले गजेन्द्र विष्टलाई सर्वसाधारण समूहबाट संचालकमा निर्वाचित गरेको छ । बैंकले विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद एवं व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित तथा विभिन्न नविनतम बैकिंङ सेवाहरु प्रदान गर्दै आएकोे छ । साथै, बैंकले आगामी दिनहरुमा बैंकिङ सेवा र शाखाहरुको संजाल बिस्तार गर्दै जाने बताएकाे छ ।
नेपाल र चाइनाको अप्टिकल फाइबर लिंक आजबाट सञ्चालनमा
काठमाडौं । आजदेखि नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीच क्रसबोर्डर अप्टिकल फाइबर लिंकबाट व्यवसायीक सञ्चालन सुरु भएको छ । शुक्रबार राजधानी स्थित टेलिकमको केन्द्रिय कार्यालयमा एक समारोहबीच सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले उक्त अप्टिकल फाइबर लिंक सञ्चालन गरेका हुन् । इन्टरनेट सेवाको भरपर्दो सञ्चालनको लागि प्राविधिक तथा व्यवहारिक रुपमा एकभन्दा बढी सेवा प्रदायकसँग अप्टिकल फाइबरमार्फत अन्तरआवद्धता हुने उद्देश्यले नेपाल र चाइनाबीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन सुरु गरिएको बताइएको छ । फाइबर लिंक सञ्चालन भएसँगै विश्वसँग जोडिने नेपाल सूचना महामार्ग (इन्टरनेशनल कनेक्टिभीटी) भारत र चीन दुवैतिरबाट सम्भव हुने कार्यक्रममा टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले बताईन् । ‘त्यस्ता फाइबर लिंक जोड्न सन् २००३ देखि पहल सुरु गरेका हौं,’ उनले भनिन् । टेलिकमका अनुसार सन् २०१३ डिसेम्बर २३ मा बैकल्पिक रुटको रुपमा नेपाल चीन क्रसबोर्डर अप्टिकल फाइबर कनेक्टिभिटीका लागि आवश्यक चाइना–नेपाल केबुल ट्रान्समिसन सिष्टम निर्माण र मर्मत सम्बन्धी नेपाल टेलिकम र चाइना टेलिकम्युनिकेसन कर्पोरेसनबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । त्यसयता सन् २०१६ को जुलाई १४ मा उक्त अप्टिकल फाइबर लिंकलाई व्यवसायिक प्रयोजनका लागि उपयोग गर्न टेलिकमले सूचना तथा सञ्चार मन्त्रालयबाट स्वीकृति प्राप्त गरेको थियो । पछिल्लो समय सोही वर्षको डिसेम्बर ६ मा सो सम्बन्धी व्यवसायीक सम्झौता हङकङमा सम्पन्न भएको टेलिकमको प्रबन्ध निर्देशक राजभण्डारीले बताइन् । कार्यक्रमा चाइना टेलिकम ग्लोबलका अधिकारीहरुले अप्टिकल फाइबर लिंक सञ्चालनको माध्यबाट नेपाल र चिनको सम्बन्ध झन प्रगाढ हुनका साथै नेपालको व्यवसायीक र विकासको क्षेत्रमा दरिलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । त्यस्तै सूचना तथा सञ्चार मन्त्री बस्नेतले नेपाल टेलिकम र चाइना टेलिकम ग्लोबल बीचको क्रसबोर्डर अप्टिकल फाइबर लिंक सञ्चालन मुलुकको लागि कोशेढुङ्गा सावित हुने बताए । ‘व्यपार तथा प्रत्यक्ष स्रोतको आधारमा चिन नेपालको लागि दोस्रो ठूलो मुलुक हो,’ उनले भने ।
काठमाडौंमा तीन दिने दक्षिण एसियाली हस्तकला महोत्सव हुँदै, कहिले देखि शुरु ?
काठमाडौं । गरीबी निवारण कोष, नेपालले यही पुस २८, २९ र ३० गते काठमाडौंमा दक्षिण एसियाली हस्तकला महोत्सवको आयोजना गर्दैछ । यो तीन दिने महोत्सवको मुख्य आकर्षण ‘नेपाल-को’ ब्राण्ड हुनेछ । नेपाली कालीगढहरूले बनाएका आकर्षक हस्तकला सामाग्रीलाई ‘नेपाल-को’ ब्राण्ड-दिएर राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा ल्याउन लागिएको हो । काठमाडौं, दरबारमार्गस्थित होटल अन्नपूर्णमा आयोजना हुने महोत्सवमा भारतीय र पाकिस्तानी कालीगढहरूले बनाएका हस्तकलाहरू पनि प्रदर्शनीमा राखिनेछन् । कोषद्वारा सञ्चालित ‘द्वन्द्व प्रभावितहरुका लागि बजार निर्माण परियोजना’ अन्तर्गत संगठित हुँदै विभिन्न सीप सिक्ने र आफ्नाे उत्पादनको बजारलाई विस्तार गर्ने अवसर पाएका नेपाली कालीगढहरूको सिर्जनालाई प्रवद्र्धन गर्ने उद्देश्यले यो महोत्सवको आयोजना गरिएको हो । द्वन्द्व र सामाजिक विग्रहको चपेटामा परेको समुदायका विपन्न एवं सीमान्तकृत कालीगढहरूको जीवन–स्तर उकास्न कोषले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । महोत्सवले ती र अन्य त्यस्तै दक्षिण एसियाली कार्यक्रमबारे पनि जानकारी दिनुका साथै विभिन्न अन्तरदेशीय एवं अन्तरसांस्कृतिक सिकाई र संवादको पनि सहजीकरण गर्नेछ । कोषका कार्यकारी निर्देशक नहकुल केसी भन्छन्, “हस्तकला बजारमा ग्रामीण, विपन्न, भूमिहीन र द्व्रन्द्व–प्रभावित समुदायका कालीगढहरुको उत्पादनको हिस्सा बढाउनु हाम्रो उद्देश्य हो ।” “हाम्रो परियोजनाबाट महिला, अपाङ्गता भएका र द्वन्द्व एवं सामाजिक विग्रहको चपेटामा परेकालगायतका विभिन्न कालीगढहरू लाभान्वित भएका छन्,” उनले भने। जापानी सामाजिक विकास कोषको सहयोग र विश्व बैंकको व्यवस्थापनमा दैलेख, दाङ, धनुषा, तेह्रथुम, कपिलवस्तु, म्याग्दी र गोर्खा जिल्लामा सञ्चालित यो परियोजनामा समेटिएका कालीगढहरुले आफ्नाे आय बढाउने र जीवनस्तर सुधार्ने सीप, क्षमता र अवसर पाएका छन् । यो परियोजनाअन्तर्गत कोषले ३६५ उत्पादन समूह र १० वटा उत्पादन संघमार्फत ७,५०० भन्दा बढी कालीगढको उत्पादनलाई बजारसँग जोड्दै तिनको जीवनस्तरमा सुधार गरेको छ । हरेक समूहमा २० देखि २५ कालीगढ आवद्ध छन् र तिनले आ-आफ्नै क्षेत्रमा उद्यम गरेका छन् । उनीहरुलाई मद्दत गर्न कोषले १० वटा साझा सेवा केन्द्र पनि सञ्चालन गरेको छ । परियोजनाको सहयोगप्राप्त कालीगढको सिर्जनाको प्रदर्शनीसँगै बिक्री पनि गरिनेछ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीद्धारा उद्घाटित हुने महोत्सवमा अल्लो, लोक्ता, ऊन, ढाका र माटोका सामाग्रीस“गै मिथिला चित्रकला पनि प्रदर्शन गरिनेछ । आफ्ना कलात्मक हस्तकलाको प्रवद्र्धन र बिक्रीका लागि महोत्सवमा सहभागी हुन आउने कालीगढहरुसँग भेट्ने र तिनको अनुभव सुन्ने अवसर पनि महोत्सवले जुराउनेछ । साथै, ग्रामीण अर्थतन्त्र, महिला उद्दमशीलता, सांस्कृतिक उद्योग र सम्भावनाबारे अन्तरसंवाद पनि महोत्सवको अर्को महत्वपूर्ण हिस्सा हुनेछ ।
माघ ४ को सार्वजनिक विदा फिर्ता लिन माग
लमजुङ । सोनाम ल्होसार फागुन ४ गते पर्ने भएकाले सो अवसरमा सरकारले माघ ४ गते दिएको बिदा फिर्ता लिन तामाङ समुदायले माग गरेको छ । तामाङ घेदुङ संघ लमजुङ शाखाले पत्रकार सम्मेलन गरी ४ माघका दिन दिएको बिदा फिर्ता लिन आग्रह गरेको हो । मञ्जुश्री पात्रोअनुसार तामाङ समुदायले मनाउँदै आएको सोनाम ल्होसार माघ शुक्ल प्रतिपदा (फागुन ४ गते)पर्ने भन्दै माघ ४ गतेको सार्वजनिक बिदा फिर्ता लिन आग्रह गरेको उक्त संघले जनाएको छ । पत्रकार सम्मेलनमा संघका जिल्ला कार्यकारिणी समितिका अध्यक्ष अजय तामाङले नेपाली पात्रोमा गलत मितिमा सोनाम ल्होसार उल्लेख भएको बताए । “माघ शुक्ल प्रतिपदाका दिन सोनाम ल्होेसार पर्छ, माघ शुक्ल प्रतिपदा फागुन ४ गते हो”, तामाङले भने, “हामीले फागुनमा ल्होसार मनाउने हो त्यसैले माघ ४ को बिदा आवश्यक छैन ।” फागुन ४ गते शेर्पा जातिले मनाउने ध्याल्पो ल्होसार पनि परेको र उक्त दिन स्वतः सार्वजनिक बिदा भएकाले अर्को बिदा घोषणा गरिरहनुपर्ने आवश्यक नरहेको उनले भने । तामाङ जातिले चरा वर्गको बिदाइ कुकुर वर्गको स्वागत गर्दै २८५४औँ सोनाम ल्होछार मनाउँदै छन् । ल्होसारका अवसरमा विभिन्न प्रतियोगिता एवं सांस्कृतिक कार्यक्रम हुने जनाइएको छ । रासस