विकासन्युज

२० दिनमा मेलम्ची सुरुङमा ब्रेक थ्रु

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण काममध्येको प्रमुख सुरुङमार्ग निर्माणमा कुनै अवरोध आएन भने अबको २० दिनमा ब्रेक थ्रु (छिचोलिने) काम सम्पन्न हुनेछ । सुरुङ छिचोल्न बाँकी रहेको ग्यालथुमदेखि सिन्धुसम्मको नौ किलोमिटरमा आजसम्म २४० मिटरमात्र सुरुङ खन्न बाँकी रहेको छ । अहिले दैनिक १२ मिटर सुरुङ खन्ने काम भइरहेको छ । अम्वाथानदेखि ग्यालथुसम्म करिब नौ किमी र सुन्दरीजलदेखि सिन्धुसम्म करिब नौ किमी सुरुङ खन्ने काम सम्पन्न भइसकेको छ । सो आयोजनाको कूल सुरुङ मार्ग २७।५ किलोमिटर रहेको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको १०औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादवले सो जानकारी दिँदै अबको २० दिनमा राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको महत्वपूर्ण थ्रेक थ्रु हुने जानकारी दिए । सो आयोजनाबाट उपत्यकामा दैनिक रुपमा १७ करोड लिटर पानी झरे पनि अझै उपत्यकावासीलाई ३४ करोड लिटर पानी अपुग हुनेछ । उनले खानेपानी तथा सरसफाइ जनताको मौलिक अधिकारका रुपमा संविधानमा रहेको चर्चा गर्दै यसलाई पूरा गर्न लिमिटेडले ध्यान दिनुपर्ने बताए । सो अवसरमा लिमिटेडमा कार्यरत उत्कृष्ट मिटर रिडर अमृतमणि दाहाल, मदन महर्जन र सन्तोष ओझालाई सम्मान गरिएको थियो । लिमिटेडका महाप्रबन्धक डा महेश भट्टराईले लिमिटेडको व्यवस्थापकीय क्षमता अभिवृद्धिमा ध्यान दिइएको जानकारी दिए । रासस

उपत्यकामा ८ वटा बेवारिसे मोटरसाइकल भेटिए

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी कार्यालयले काठमाडौं उपत्यकाबाट ८ वटा मोटरसाइकल र स्कुटी फेला पारेको छ । गत माघ महिना भरिमा उपत्यकाका विभिन्न स्थानका पार्किङ तथा बेवारिसे अवस्थामा प्रहरीले सवारी मोटरसाइकल तथा स्कुटी फेला पारेको हो । प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार ७ वटा मोटरसाइकल र १ वटा स्कुटी रहेका छन् । फेला परेका मोटरसाइकल नम्बरहरु बा.२३प३६८, बा८०प७२३९, बा.८०प७२३९, बा.५१प.९३५४, बा.१८प.५९६९ रा.३ प. ५०५ र बा.३६ प ४७०१ को स्कुटी रहेका छन् । प्रहरीले सवारधनीलाई आवश्यक कागजात सहित सम्बन्धित प्रहरी कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ ।  

ग्लोबल आइएमई बैंकको ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा

काठमाडौं । ग्लोबल आइएमई बैंकले ६९औँ शाखारहित बैंकिङ्ग सेवा रोल्पामा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन मादी गाउँपालिका प्रमुख नन्दबहादुर पुनले गरेका थिए । उक्त स्थानमा खोलिएको सेवाको लागि स्थानिय कमल घर्ती मगरलाई व्यवसायीक प्रतिनिधि नियुक्त गरिएको छ । हाल बैंकले ११५ वटा शाखा, १२७ एटिएम, ४ वटा एक्सटेन्सन काउण्टर १४ वटा राजश्व संकलन काउण्टर ६९ शाखा रहित बैंकिङ्ग सेवा माफर्त सेवा प्रदान गर्दै आइरहेको छ ।

एनसीसी बैंकको संस्थापक सेयर बिक्री नभएपछि म्याद थप, खरिदकर्ताले हकप्रद र बोनस सेयर पनि पाउने

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकमा रहको संस्थापक (प्रमोटर) सेयर बिक्री नभएपछि म्याद थप गरेको छ । सेयर खरिदका लागि बोलपत्र पेश गर्ने अन्तिम दिन माघ २८ गतेसम्म पर्याप्त आवेदन नपरेपछि नेपाल इन्स्योरेन्सले फागुन ८ गतेसम्मलाई म्याद थप गरेको हो । नेपाल इन्स्योरेन्सले एनसीसीमा रहेको ४ लाख ३३ हजार ४२ कित्ता संस्थापक सेयर प्रतिकित्ता १७० रुपैयाँ न्युनतम मूल्य राखेर लिलामी गर्न लागेको हो । शिलबन्दी बोलपत्र फागनु ९ गते अपराहन्न ४ बजे खोलिने बिक्री प्रवन्धक एनआईबीएल एस क्यापिटल लिमिटेडले जनाएको छ । सेयर खरिद गर्नेले बैंकले यसअघि घोषणा गरेको हकप्रद सेयर र अघिल्ला आर्थिक बर्षहरुको नाफाबाट दिने बोनस सेयर समेत पाउने नेपाल इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विजय बहादुर शाहले जानकारी दिए । प्रतिकित्ता न्युनतम १७० रुपैयाँ राखेर बोलपत्र आब्हान गर्दा पनि बिक्री नभएपछि एनबी समूहको २१० रुपैयाँको संस्थापक सेयर पनि बिक्री नहुने संभावना देखिएको छ । एनबीको संस्थापक सेयर नेपाल इन्स्योरेन्सको भन्दा ४० रुपैयाँ महंगो छ । एनबी समूहले न्युनतम मूल्य २१० रुपैयाँ राखेर ७० लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेको भोलिपल्ट नेपाल इन्स्योरेन्सले पनि कम मूल्यमा बैंकमा रहेको संस्थापक सेयर लिलामी गर्ने सूचना प्रकाशित गरेको थियो ।  

गणतन्त्र स्मारक निर्माण सम्पन्न, फागुनभित्रै हस्तान्तरण गरिने

काठमाडौं । गणतन्त्र स्मारक निर्माणको काम सम्पन्न भएको छ । विसं २०६५ जेठ १५ गते गणतन्त्र स्थापना भएपछि सरकारी पहलमा नारायणहिटी दरबार परिसरमा निर्माण थालिएको स्मारकको काम सकिएको हो । सरकारले विसं २०६९ मंसिरमा बिकोई स्काई बंगलामुखी ज्वाइन्ट इन्भेन्चरसँग सम्झौता गरी तीन वर्षभित्र निर्माण गर्ने भने पनि निर्माणमा केही ढिलाइ भएको थियो । कम्पनीका कार्यकारी निर्देशक रोशन श्रेष्ठले स्मारक निर्माणको काम पुरा भएकाले यही महिना भवन विभागलाई हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए । “स्मारक निर्माण कार्य समयमा सम्पन्न गर्ने गरी काम गरेका थियौँ, भूकम्प र भारत सरकारले लगाएको अघोषित नाकाबन्दीले केही समय ढिला गरी सम्पन्न भएको हो”, उनले भने । ३५ रोपनी क्षेत्रफलमा निर्माण हुन लागेको स्मारक शुरुमा रु ३० करोडमा सम्पन्न गर्ने सम्झौता भए पनि झण्डै रु ४० करोड खर्च भएको कम्पनीले जनाएको छ । भवन विभागले गणतन्त्र दिवसका अवसरमा उद्घाटन गर्ने योजना बनाएको श्रेष्ठले बताए । रासस

एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको कोटिहवामा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा रुपन्देही स्थित कोटिहवामा विस्तार भएको छ । उक्त शाखाको उद्घाटन भैरहवाका नेपाल राष्ट्र बैंकका निर्देशक अशोककुमार पौडेलले एक समारोहबीच गरेका छन् । यस शाखाको उद्घाटनसँगै हाल यस बैंकले अधिराज्यभर १७३ शाखा कार्यालयहरु, १७२ एटिएम एवंम् ४ एक्स्टेन्सन काउन्टरहरुबाट ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ । साथै, बैंकले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

दोस्रो विश्व महिला उत्सव फागुन ५ गते ललितपुरमा

काठमाडौं । दोस्रो वाउ विश्व महिला उत्सव २०१८ ललितपुरमा हुने भएको छ । ब्रिटिस काउन्सिलको आयोजनामा फागुन ५ गते महिला उत्सव आयोजना हुन लागेको हो । ललितपुरको पुल्चोक क्याम्पमा आयोजना हुने कार्यक्रममा महिला तथा बालबालिकालहरुले भोग्नु परेका विभिन्न समस्याहरुको बारेमा छलफल हने छ । गत वर्ष ६ हजार जनाले भाग लिएकोमा यो वर्ष ८ हजार जनाले भाग लिने आयोजकले जनाएको छ । आयोजकले यसअघि विश्वका विभिन्न २० वटा शहरमा विश्व महिला उत्सव सम्पन्न गरिसकेको छ । नेपालमा भने यो दोस्रो उत्सव हो । कार्यक्रममा प्रदर्शनी, कार्यशाला, खाना परिकार साथै विभिन्न साँस्कृतिक कार्यक्रमहरु प्रदर्शनी गरिनेछ ।      

दोर्दीखोला आयोजनाबाट १ वर्षमा २७ मेगावाट बिजुली उत्पादन हुदै, ६० प्रतिशत काम सकियो

लमजुङ । हिमालयन पावर पार्टनर लिमिटेडले लमजुङमा निर्माण गरिहेको २७ मेगावाटको दोर्दीखोला जलविद्युत आयोजनाको काम आउदो १ वर्षमा सम्पन्न हुने भएको छ । आयोजनाको निर्माणाधिन विद्युत गृह प्रवद्र्धक हिमालयन पावरले आयोजना निर्माणको काम तिब्रता दिएको छ । हालसम्म आयोजनाको ६० प्रतिशत भौतिक प्रगति भएको छ । आउदो ०७५ चैतभित्र आयोजनाबाट बिजुली उत्पादन हुने हिमालयन पावरका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले बताए । “साधारण सेयर (आईपीओ) निष्कासन गर्दा हामीले ०७५ चैतभित्र बिजुली उत्पादन गर्ने प्रतिवद्धता व्यक्त गरेका छौ” उनले भने “निर्धारित समयमा आयोजनाको काम सम्पन्न हुनेछ ।” आयोजनाको काम सुरु भएको १ महिनामा विनासकारी भूकम्प गएपछि १ वर्षपछि ०७३ सालदेखि आयोजनाको निर्माण सुरु भएको हो । आयोजनाको कुल लागत निर्माणअवधिको ब्याज समेत गरी ४ अर्ब २३ करोड रुपैयाँ रहेको उनले जानकारी दिए । ढकालका अनुसार आयोजनाबाट वार्षिक १४ करोड ४० लाख युनिट बिजुली उत्पादन हुने छ । आयोजनाको रिटर्न अन इक्विटी (आरओई) १८ प्रतिशत छ । पछिल्लो समयमा सिमेन्ट डण्डीलगायत अन्य निर्माण सामाग्रीको भाउ बढेकाले लागत १० प्रतिशतसम्म बढ्न सक्ने उनको अनुमान छ । आयोजनामा एनआरएन इन्भेष्टमेन्ट लिमिटेडको ३५, आईएमई ग्रुपको ३५ र सर्वंसाधारणको ३० प्रतिशत लगानी रहेको छ । एनआरएन इन्भेष्टमेन्टको प्रवेशपछि कम्पनी पब्लिक लिमिटेडमा रुपमान्तरण भएको हो । आयोजनाबाट सञ्चालनमा आएको पहिलो वर्ष बिजुली बिक्रीबाट ७६ करोड रुपैयाँ आम्दानी गर्नेछ । यस्तै त्यसपछि आम्दानी बढेर ९६ करोड रुपैयाँसम्म पुग्ने छ । नेपाल विद्युत प्राधिकरणबाट वार्षिक ३ प्रतिशतका दरले मूल्यवृद्धि पाएपछि वार्षिक आम्दानी १ अर्ब रुपैयाँ नजिक पुग्ने भएको हो । आयोजनामा प्राइम कमर्शियल बैंकको अगुवाइमा नविल बैंकलगायत आधा दर्जन बैंकको अगुवाइमा ३ अर्ब १७ करोड रुपैयाँ ऋण लगानी भएको छ । संस्थापकबाट १ अर्ब ६ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी छ । हाल आयोजनाको २.७ किलोमिटर सुरुङ मध्ये झण्डै आधा सकिएको छ । यस्तै विद्युतगृहको निर्माण भइरहेको छ । आयोजनाको बाँध दोर्दी गाउँपालिकाको ढोडेनी र विद्युतगृह वेशीसहर नगरपालिकोको रामचोक नजिक मस्र्याङदी नदीको किनारमा छ । आयोजना एक वर्षमा सकिने भएपछि उत्पादन हुने बिजुली प्रसारण गर्नका लागि विद्युत प्राधिकरणले प्रसारणलाइन निर्माणको काम थालेको छैन् । प्राधिकरणले मस्र्याङदी करिडोरमा २२० केभी प्रसारणलाइन निर्माण २ वर्षपछि सक्ने लक्ष्य लिएपनि काम सुरु नभएकाले अझै ढिलाइ हुने ढकालको भनाई छ । आउदो सन् २०१९ को अगष्टमा प्रसारणलाइन निर्माण सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । यस्तै आयोजनाले प्रभावित स्थानियबासिन्दा र सर्वसाधारणलाई गरी ३० प्रतिशत साधारण सेयर (आईपीओ) निष्कासन गरिसकेको छ ।