१४ वटा निर्जीबन बीमा कम्पनीको नाफा एक अर्ब २८ करोड, कसको कति(सूचिसहित)
काठमाडौं । १४ वटा निर्जीबन बीमा कम्पनीहरुले ६ महिनामा एक अर्ब २८ करोड ८२ लाख रुपैंयाँ नाफा कमाएका छन् । हालसम्म वित्तिय विवरण सार्वजनिक गरेका १४ कम्पनीले २०७४ पुस मसान्त अवधीमा २३ करोड ४८ लाख नाफा बढाएर एक अर्ब २८ करोड ८२ लाख पुर्याएका हुन् । २०७३ पुस मसान्तमा यीनै कम्पनीहरुको नाफा एक अर्ब ५ करोड ३४ लाख रुपैंयाँ थियो । १४ कम्पनीमध्ये पनि राष्ट्रिय बीमा कम्पनीले सर्वाधिक ३७ करोड २५ लाख नाफा कमाएको छ । तर कम्पनीले आफ्नो व्यवसायबाट भने सो नाफा आर्जन गरेको होइन् । नविल बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकले नगद लाभांश बाँढेकाले कम्पनीको नाफा बढेको हो । यी दुबै बैंकमा कम्पनीको सेयर रहेको छ । दोश्रो स्थानमा रहेको शिखर इन्स्योरेन्सले १९ करोेड ६६ लाख र तेश्रो स्थानको नेको इन्स्योरेन्स कम्पनीले ११ करोड ६५ लाख नाफा कमाउन सफल भएको छ । सिद्धार्थ इन्स्योरेन्सले ८ करोड ७८ लाख, लुम्बिनी जनरल इन्स्योरेन्सले ८ करोड ४२ लाख, एनएलजीले ७ करोड ८५ लाख, सगरमाथाले ७ करोड २ लाख नाफा कमाएका छन् । थोरै नाफा कमाउने इन्स्योरेन्स कम्पनीमा भने प्रभु परेको छ, उसले जम्मा एक करोड २९ लाख मात्रै नाफा आर्जन गरेको देखिन्छ ।
सञ्चालनमा आएको ३ महिनामा सन नेपाल लाइफ इन्स्योरेन्सले गर्यो ८ करोड १० लाख नाफा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ३ महिनामा ८ करोड १० लाख रुपैयाँ नाफा गरेको छ । गत असोज ६ गतेबाट जीवन बीमा व्यवसाय सुरु गरेको कम्पनीले ३ महिनामा राम्रो प्रगति गरेको छ । समीक्षा अवधिमा कम्पनीले ३ हजार ५२ बीमालेख बेचेर १० अर्ब २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको उल्लेख छ । यस्तै कम्पनीको प्रथम वार्षिक साधारणसभा आउदो शुक्रबार हुने भएको छ ।
वैदेशिक रोजगार वचतपत्रको बिहीबारदेखि बिक्री खुला, १० प्रतिशत ब्याज पाइने
काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगार वचतपत्र बिक्रीका लागि १३ बैंक तथा वित्तीय संस्थालाई तोकेको छ । राष्ट्र बैंकले सिटिजन्स बैंक, माछापुच्छे बैंक, सिद्धार्थ बैंक, एनएमबी बैंक, प्रभु बैंक, सानिमा बैंक, नविल बैंक, सनराईज बैंक र सेञ्चुरी कमर्शियल बैंकलाई तोकेको छ । यस्तै प्रभु मनी ट्रान्सफर, सेवा रेमिट, आईएमई लिमिटेड र सिटी एक्सप्रेस मनि ट्रान्सफरलाई पनि वचतपत्र बिक्रीको एजेन्ट नियुक्त गरेको राष्ट्र बैंकले जनाएको छ । बिहीबारदेखि २५ करोड रुपैयाँको वैदेशिक रोजगार वचतपत्रको बिक्री खुला गर्दैछ । बचतपत्रको बिक्री फागुन २३ गतेसम्म तोकिएको छ । वार्षिक १० प्रतिशत ब्याज पाइने, ६ महिनामा ब्याज भुत्तानी हुने, ५ वर्षमा साँवा फिर्ता र वचतपत्र बैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन पनि सकिने व्यवस्था रहेको छ । वचतपत्र रोजगारीका शिलसिलामा मुलुक बाहिर गएका र रोजगारीबाट फर्किएको ४ महिना नपुगेका नेपाली नागरिक र गैरआवासिय नेपालीले आफनो परिवारका सदस्यका नाममा खरिद गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।
हिमालयन जनरल इन्स्योरेन्सको लाभांश बुधबारदेखि वितरण
काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको नगद लाभांश बुधबारदेखि वितरण हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षमा गरेको नाफबाट दिने भएको १५ प्रतिशत नगद लाभांश एनएमबी क्यापिटल लिमिटेडमा रहेको हितग्राही खाता (डीम्याट एकाउन्ट) मा जम्मा हुने भएको छ । साधारणसभा प्रयोजनका लागि सेयर दाखिला बन्द हुने मितिसम्म कायम रहेका सेयरधनीको हितग्राही खातामा बैंकको खाता अद्यावधिक भएको हकमा नगद लाभांश सोही खातामा जम्मा हुने एनएमबी क्यापिटलले जनाएको छ । हितग्राही खाता नभएका लगानीकर्ताले निवेदनसहित बैंक खाता नम्बर दिएपछि सोही बैंकमा नगद लाभांश जम्मा हुने एनएमीबले जनाएको छ ।
ज्योति लाइफ इन्स्योरेन्सको ६६ करोडको आईपीओ निष्कासन प्रस्ताव पास
काठमाडौं । ३ महिनाअघि मात्र सञ्चालनमा आएको ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको प्रथम वार्षिक साधारणसभाले चुक्तापुँजीको ३० प्रतिशत अर्थात ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गरेको हो । सभाले आईपीओ निष्कासनका लागि धितोपत्र बोर्डबाट अनुमति लिन, धितोपत्र व्यवसायीसंग सम्झौता गर्न लगायत अन्य काम अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । यस्तै आईपीओ जारी प्रयोजनाका लागि सम्बन्धित निकायबाट स्वीकृति लिने क्रममा प्रवन्धपत्र तथा नियमावलीको कुनै दफा परिवर्तन गर्न परेमा सोको परिवर्तन गर्न सक्ने अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव सभाले पारित गरेको कम्पनीले जनाएको छ । कम्पनीको सञ्चालकमा कल मोवलिटीका तर्फबाट पशुपति मुरारका, नन्दकिशोर शर्मा, आकाश गोल्छा र शर्मिला महर्जनलाई निर्विरोध निर्वाचन गरेको छ । चुक्तापुँजी २ अर्ब २० करोड रुपैयाँ हुने र यसमध्ये १ अर्ब ५४ करोड रुपैयाँ संस्थापक सेयर लगानी हुने छ । ६६ करोड रुपैयाँ सर्वसाधारणको स्वामित्व हुने गरी लगानी संरचना तयार पारिएको छ । कम्पनीले गत असोज ८ गतेदेखि औपचारिक रुपमा जीवन बीमा व्यवसाय सुरु गरेको हो । ज्योतिले आईपीओ निष्कासनको तयारी गरेपनि सञ्चालनमा आएको १ वर्ष नपुगी आईपीओ निष्कासन गर्न नपाउने व्यवस्था रहेको छ । धितोपत्र दर्ता तथा निष्काशन नियमावलीको दफा ९ को उप दफा ३ अनुसार बीमा कम्पनी सञ्चालनमा आएको एक बर्ष नपुगे पनि आइपीओ निष्कास गर्न नपाउने व्यवस्था रहेको छ ।
अन्तर्राष्ट्रिय विमानस्थल नजिक आगलागी, केही बेर उडान प्रभावित
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको पश्चिमपट्टिको फोहर डम्पिङ क्षेत्रमा आगलागी हुँदा केही बेर उडान प्रभावित भएको छ । आन्तरिकतर्फको कार पार्किंग नजिक गल्फ कोर्षसँगै रहेको फोहरको डंगुरमा अपराह्न ४ः३० बजे आगलागी भएको थियो । आगलागीका कारण नौ मिनेट विमानस्थलबाट हुने सबै उडान अवतरण रोकिएको विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए। “विमानस्थलको पश्चिम क्षेत्रको गल्फ कोर्ष नजिकैको फोहरमा धुवाँको मुस्लो देखियो । लगत्तै विमानस्थलकै दमकलको सहायताले आगो नियन्त्रणमा लिइयो अहिले सबै उडान सामान्य रुपमा सञ्चालन भइरहेको छ,” उनले भने । प्रवक्ता ठाकुरका अनुसार आगलागीको यकिन कारण पत्ता नलागे पनि पशुपति क्षेत्र नजिकै भएको र आज शिवरात्रिको पर्व परेकाले लागुऔषध दुव्र्यसनीकर्ताका कारण आगलागी हुनसक्ने अनुमान गरिएको छ । रासस
पूर्ण पाठले अपूर्ण सडक: ढिलो गर्ने अदालत, धुलो खाने नागरिक
काठमाडौं । सर्वोच्च अदालतले कलङकी–नागढुङगा सडकको विषयमा गरेको फैसलाको पूर्ण पाठ नआउँदा सडक निर्माण कार्य अन्यौलमा परेको छ । सर्वोच्चले गत असोज १२ गते गरेको फैसलाको पूर्ण पाठ नआउँदा सडक विस्तार अघि बढ्न नसकेको हो । ‘अदालतले जारी गरेको पूर्ण पाठ आइसकेको छैन, मुअब्जाको विषयमा जनतामा भ्रम फैलिएको छ, हामी अन्यौलमा छौं, काठमाडौं सडक विस्तार आयोजनाका सूचना अधिकृत विश्व विजयलाल श्रेष्ठले भने । पहिले केहि स्थानका व्यक्तिले मात्र मुअब्जाको लागि मुद्दा दायर गरेका थिए र बाँकी स्थानको काम भैरहेको थियो तर अहिले काम सुरु भैरहेका सबै स्थानका स्थानीय वासीले मुद्दा दायर तथा सडक अवरोध गर्न थालेपछि काम अघि बढ्न नसकेको श्रेष्ठले बताए । ‘कलंकी देखि नागढुंगा सडक खण्ड सार्वजनिक सडक ऐन २०३१ अनुसार बनेको छ । सडकको २५ मिटर क्षेत्रभित्र निर्माण भएका कुनैपनि घर तथा जग्गाको मुआब्जा दिने प्रावधान छैन । कुनैपनि दफामा मुआब्जा दिने उल्लेख गरिएको छैन । ०३१ साल भन्दा अघि निर्माण भएका घर धनिहरुलाई अवस्था हेरी मुआब्जा दिएको तर अहिले जग्गाको समेत मुआब्जा माग गर्दै मुद्दा दायर भएको छ, सर्वोच्चको पुर्ण पाठ नभई काम अघि बढ्न अवस्था नै छैन’ श्रेष्ठले विकासन्युजसँग भने । सामान्यतय सर्वोच्चको पुर्ण पाठ मुद्दा फैसला भएको १ देखि ३ महिनाभित्रमा आउने प्रचलन रहेको वकिल जगन्नाथ मिश्रले जानकारी दिए । गम्भिर प्रकृतिका मुद्दामा राय बाझिन सक्ने र लेखनमा लामो समय लाग्ने भएकाले पुर्ण पाठमा ढिलाई हुन सक्ने मिश्रले बताए । कुल १२.५ किलोमिटर लम्बाईको सडक विस्तारको क्रममा दर्जनौ मुद्दा परेका छन् । हाल सडक खण्डमा साढे ६ किलोमिटर सडकमा पर्खाल र फुटपाथ बनाउने काम सम्पन्न भएको छ । राजधानी भित्रिने मुख्य नाका रहेको यस सडक खण्डमा अहिले धुलो र खाल्डा खुल्डीले गर्दा सर्वसाधारणले सहज यात्रा गर्न पाएका छैनन् । सडकको ठेक्काको म्याद सकिएको छ तर हालसम्म ३६ प्रतिशत मात्रै काम भएको छ । अदालतको कारण ठेक्का लम्बियो भने ठेकेदारले क्षतिपुर्ति माग्ने अवस्था सिर्जना हुनेछ ।
खाद्य उद्योगको नाफा ६२ लाख, फेरी प्लान्ट थप्ने तयारी
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा सञ्चालन रहेको खाद्य उद्योग लिमिटेडले गएको आर्थिक वर्ष २०७३/७४ मा ६२ लाख रुपैयाँ खुद नाफा गरेको छ । अनावश्यक कर्मचरीको संख्या, लागत खर्च कटाएको तथा साल्ट ट्रेडिङको विभिन्न शाखाहरुमार्फत उद्योगबाट हुने उत्पादन बिक्री गर्ने गरेकोले नाफा भएको हो । गएको वर्ष कम्पनीले वार्षिक ३० करोड रुपैयाँ बराबरको कारोबार गरेको जनाएको छ । कम्पनीका महाप्रबन्धक मुकुन्दप्रसाद जोशीले २०६३ सालमा केही समय बन्द भइ सञ्चालनमा आएको सोे कम्पनीले हालसम्म घाटा बेहोर्न नपरेको बताए । ‘११ वर्षको अबधिमा कहिल्यै कम्पनी घाटा भएन,’ उनले भने ‘सो अबधिमा अधिकतम २ करोड २० लाखदेखि न्यूनतम ४० लाख रुपैयाँसम्म वार्षिक नाफा हुदै आएको छ ।’ अनावश्यक कर्मचरीको संख्या, लागत खर्च लगायत कम्पनीले घटाएको छ । साथै पछिल्लो सयम बजारमा बिलिङ प्रणाली राम्रो भएको कम्पनीको खोजी हुन थालेकोले पनि उद्योग नाफामा गएको उनको बुझाइ छ । उनको अनुसार आर्थिक वर्ष २०५८/५९ अघि पनि कम्पनी नाफानै सञ्चालन भएको थियो । त्यसपछि मैदामा लागेको भ्याट, बजारमा देखिएको न्यूनविजिकरण, अस्वभाविक प्रतिस्पर्धा लगायतको कारणले २०६३ सालताका कम्पनी करिब १६ महिना बन्द हुन पुगेको थियो । त्यसलाई पुनः संरचना गरेर फेरी कम्पनीलाई सञ्चालनमा ल्याइएको हो । फागुन तेस्रो साता कम्पनीको ४५ औं वार्षिक साधारणसभा हुनैछ । मुलुक संघिय संरचनामा गइसकेकाेले सोही अनुसार कम्पनीलाई अघि बढाउने कम्पनीकाे याेजना छ । महाप्रबन्धक जोशीले आगामी सरकारले खाद्य सम्बन्धि अबलम्बन गर्ने नीतिको आधारमा कम्पनीले आवश्यक प्लान्टहरु राख्ने तयारी गरिरहेको बताए । मेशिनहरु जर्मन र चेक गणतन्त्रबाट खरिद गर्ने उनको भनाइ छ । कम्पनीले मैदा, पिठो, सुजीको साथै बाई प्रोडक्टको रुपमा चोकर उत्पादन गर्दै आइरहेको छ । स्वदेशकै कच्चा पदार्थ गहुँको उपयोग गरी कम्पनीले आफ्नो उत्पादनहरु विभिन्न साल्ट ट्रेडिङको आफ्नो शाखाहरुबाट बिक्री गर्दै आइरहेको छ । २०२७ सालमा दर्ता भएर २०२९ सालदेखि सञ्चालनमा आएको उक्त सर्बजनिक कम्पनीमा ८० प्रतिशत स्वामित्व साल्ट ट्रेडिङ कर्पोरेशनको छ भने, बाँकी शेयर सर्बसाधारणको छ ।