विकासन्युज

महानगरका ८० प्रतिशत सडकका बत्ती बिग्रिए

ललितपुर । ललितपुर महानगरपालिकाका ८० प्रतिशत सडकका बत्ती बिग्रीएका छन् । अघिल्लो वर्षमात्रै हालिएका ९६७ वटा बत्तीमध्ये अधिकांश बिग्रिसकेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाका सडकमा बत्ती जडान गर्नका लागि धेरै संस्था इच्छुक भएको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए । “मैले काम गर्न चाहने संस्थालाई रातमा सबै बत्ती बाल्नुपर्ने र बत्ती चहकिलो हुनुपर्ने सर्त राखेको छु । काम गर्न चाहने संस्थासंग गुणस्तरको कुरा गरेपछि काम गर्न पछि हच्किदै आएका छन् । सडक बत्ती नहुँदा रातको समयमा सडक दुर्घटना हुने भन्दै ट्राफिक प्रहरीले पनि बत्ती जडान गर्न महानगरपालिकालाई भन्दै आएको छ । ” महर्जनले भने । महानगरपालिकाका भित्री भागमा धेरै ठाउँमा सडक बत्ती छैन ।-रासस

चीनले बनायो समुद्रमुनी विश्वकै सबैभन्दा लामो ग्यास पाइपलाइन

काठमाडौं । चीनले समुन्द्रमुनी १९५ किलोमिटर लामो प्राकृतिक ग्यास पाइपलाइन बिछ्याएको छ । यो समुन्द्रमुनिको भएको हालसम्म विश्वकै सबै भन्दा लामो ग्यास पाइपलाइन हो । प्राकृतिक ग्यास बग्ने पाइपको चौडाई ८० सेन्टिमिटर रहेको छ । पाइपलाइन समुद्र सतहदेखि १ सय मिटर तल रहेको छ । द साउथ चाइना सी नाम दिइएको यस ग्यास पाइपलाइनले चीनको पश्चिमी भागमा रहेका १० लाख जनतालाई ग्यास आपूर्ति गर्ने छ । चीनमा प्राकृतिक ग्यासको हिस्सा अहिले ८ प्रतिशत रहेको छ । कोइलाको ४.७ र बाँकी जलविद्युत, आणविकलगायत ऊर्जाबाट आपूर्ति गरिरहेको छ । चीनले पाइपलाइन निर्माण ५ महिनामा सम्पन्न गरेको हो।

उद्योग वाणिज्य महासंघको रिक्त उपाध्यक्ष पदको निर्वाचन फागुन २५ मा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रित्त एक उपाध्यक्ष पदको निर्वाचन फागुन २५ गते शुक्रबार हुने भएको छ । महासंघले जिल्ला नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पदका लागि निर्वाचन गर्न लागेको हो । गत चैतमा सम्पन्न महासंघको कार्यकारणी समितिको निर्वाचनमा उपाध्यक्षमा निर्वाचित प्रमोद श्रेष्ठ वेनी नगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएपछि उनको महासंघको उपाध्यक्ष पद स्वतः खारेज भएको थियो । महासंघले गत भदौमा उनको पद खारेज गरी निर्वाचनको प्रक्रिया अघि बढाएपछि श्रेष्ठले यसका विरुद्धमा सर्वोच्च अदालत रिट दायर गरेका थिए । सर्बोच्चलदे बाटो खुला गरेपछि निर्वाचन हुन लागेको हो ।

युवराज खतिवडालाई अर्थमन्त्री बन्ने बाटो खुल्यो, राष्ट्रिय सभामा सिफारिस

काठमाडौं । सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेसँगै पूर्व गभर्नर डा. युवराज खतिवडालाई अर्थमन्त्री बन्ने बाटो खुलेको छ । झापाकै खतिवडालाई ओलीले अर्थमन्त्री बनाउने योजनासहित राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको एमाले श्रोतले भन्यो । ‘पाँच बर्षसम्म अर्थतन्त्र सञ्चालन गर्नुपर्ने र घोषणा पत्रमा उल्लेख गरिएका महत्वकांक्षी योजना कार्यान्वयन गर्नुु पर्ने भएकाले खतिवडालाई अर्थमन्त्री बनाउने योजनासहित राष्ट्रिय सभामा पठाइएको हो’, एमाले श्रोतले भन्यो । यस अघि एमाले महासचिव ईश्वर पोखरेल र सचिव प्रदिप ज्ञवालीलाई अर्थमन्त्री बनाउने चर्चा थियो । तर अर्थतन्त्र नबुझेका व्यक्तिलाई अर्थमन्त्री बनाउँदा खराब सन्देश जाने र दातृ निकायहरुसँगको सम्बन्ध पनि बजबुत बनाउन नसकिने निकर्षसहित एमालेले खतिवडालाई अघि सारेको हो । नेपाल राष्ट्र बैंकका पुर्व गभर्नर डा. खतिवडाले राष्ट्रिय योजना आयोगमा उपाध्यक्षको जिम्मेवारी पनि सम्हालिसकेका छन् । खतिवडालाई दक्षिण एसियामै मौद्रिक नीतिका ज्ञाता मानिन्छ । खतिवडा बामपन्थी घोषणा पत्रका मस्यौदाकार समेत हुन् । खतिवडासँगै रामनारायण विडारी र बिमला पौडेललाई पनि राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको छ ।  

एमाले-माओवादी मिलेपछि पुष्पलालका छोराले भने-‘म हर्षित छु’

काठमाडौं । ‘मेरा स्व. बुवा पुष्पलालले २००६ सालमा स्थापना गर्नु भएको नेपाल कम्युनिष्ट पार्टी फेरी त्यहि स्वरुपमा आउँदा हर्षित छु’-यो भनाई हो कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालका छोरा उमेशलाल श्रेष्ठको । पुष्पलाल र सहाना प्रधानका छोरा उमेशलालले आफ्नो फेसबुक मार्फत नेकपाको पुनस्थापनामा हर्ष व्यक्त गरेका हुन् । २००६ साल बैशाख १० गते स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी ५५ बर्षपछि पुनः एकताको चरणमा प्रवेश गरेको हो । २०१७ साल पुस १ गते राजा महेन्द्रले आरम्भ गरेको पञ्चायती शासनलाई हेर्ने दृष्टिकोणमा मतभेद उत्पन्न भएपछि २०१९ साल बैशाखमा कम्युनिष्ट पार्टी विभाजन भएको थियो । कम्युनिष्ट पार्टीका संस्थापकहरु सदस्यहरु पुष्पलाल, निरञ्जन गोविन्द वैद्य, मोतिदेवी, नर बहादुर कर्माचार्य र नारायण विलास जोशी थिए । २०१९ सालमा फुटको श्रृंखला आरम्भ भएको कम्युनिष्ट पार्टीमा त्यसपछि सैयौं फुट र जुटका श्रृंखलाहरु जारी रहे र सोमबारको एमाले र माओवादीबीचको एकता सबै भन्दा ठुलो घट्ना बन्न पुगेको छ । अब पुनः नेपालमा नेकपा पुनस्थापित भएको छ र उनीहरुले समाजवाद निर्माणको बाटोमा अघि बढ्ने उद्घोष गरेका छन् । पार्टी एकता सम्बन्धी दस्तावेजमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डका साथमा झलखनाथ खनाल, माधव नेपाल, बामदेव गौतम र इश्वर पोखरेलले हस्ताक्षर गरेका छन् । त्यस्तै, माओवादी केन्द्रका तर्फबाट नारायणकाजी श्रेष्ठ र राम बहादुर थापाले हस्ताक्षर गरेका छन् । अब पाँच बर्षका लागि स्थिर सरकार सञ्चालन हुने बाटो खुलेको छ । संयुक्त घोषणा पत्र मार्फत स्थिर सरकार, विकास र समृद्धिको नारा बाढेर निर्वाचन जितेका एमाले–माओवादीले नेकपाका रुपमा नागरिकका सपना पुरा गर्नुपर्नेछ ।

तारागाउँ रिजेन्सी होटलको नाफा २३ प्रतिशत बढ्यो, ६ महिनामा १५ करोड ५३ लाख

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा तारागाउँ रिजेन्सी होटल्स लिमिटेडले नाफा २३ प्रतिशत बढेको छ । चालु आवको पुससम्म होटल्सले १५ करोड ५३ लाख रुपैयाँ नाफा गरेको छ । यो नाफा बोनस र कर बाहेकको हो । गत आवको सोही अवधिमा होटलले १२ करोड ६० लाख रुपैयाँ नाफा गरेको थियो । समीक्षा अवधिम तारागाउँको वस्तु तथा सेवा बिक्री ५.५ प्रतिशत बढेर ६३ करोड ७३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ६० करोड ३१ लाख रुपैयाँ थियो । होटलको संचित कोषमा २९ करोड ५८ लाख रुपैयाँ छ । सेयर पुँजी १ अर्ब ८८ करोड ६६ लाख रुपैयाँ छ ।

कालिका पावरको आईपीओ आजदेखि बन्द हुदै

काठमाडौं । कालिका पावर कम्पनी लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन आज (मंगलबार) देखि बन्द हुने भएको छ । माघ २१ देखि आईपीओ निष्कासन भएकोमा माग भन्दा बढी आवेदन परेपछि बन्द हुन लागेको निष्कासन तथा बिक्री प्रवन्धक काठमाडौं क्यापिटल मार्केट्स लिमिटेडले जनाएको छ । कम्पनीले आयोजना प्रभावित स्थानियबासिन्दालाई छुट्टाएको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता आईपीओ निष्कासन गरेको हो । सेयर निष्कासन बन्द ढिलोमा फागुन २१ गतेसम्मलाई तोकिएको थियो । आईपीओ खरिदका लागि न्युनतम १० र अधिकतम ३ हजार कित्तासम्मका लागि दरखास्त दिन पाइने व्यवस्था गरिएको छ । आयोजना प्रभावित गोरखाको अजिरकोट, भीमसेन, सुलिकोट, सिरानचोक गाउँपालिका र गोरखा नगरपालिकाका स्थानियबासिन्दाले सेयर खरिदका लागि दरखास्त दिन पाउने व्यवस्था गरिएको थियो । कम्पनीले ६ मेगावाट क्षमताको दरौदी ए जलविद्युत आयोजना निर्माण गरी हाल सञ्चालनमा ल्याएको छ । बाँडफाँड भएको मितिले ३ वर्षसम्म सेयर बिक्री गर्न बन्देज लगाइएको छ । कम्पनीमा संस्थाकको ४२ करोड, ६ करोड आयोजना प्रभावित र १२ करोड रुपैयाँ सर्वसाधारणका लागि हुने गरी लगानी संरचना तयार पारिएको छ । जसअनुसार सर्वसाधारणको १८ करोड स्वामित्व हुने छ । कम्पनी कालिक ग्रुप अन्र्तगतको हो ।

आरम्भ माइक्रोफाइनान्सको आईपीओ फागुन १५ देखि आउदै

काठमाडौं । आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) फागुन १५ गतेदेखि निष्कासन हुने भएको । संस्थाको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका २ करोड ९४ लाख रुपैयाँ बराबरको २ लाख ९४ हजार कित्ता आईपीओ निष्कासन हुन लागेको हो ।आईपीओ निष्कासन बन्द छिटोमा फागुन २१ र ढिलोमा २९ गते हुने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआईसी एसिया क्यापिटल लिमिटेडले जनाएको छ । न्युनतम ५० देखि बढीमा १ हजार कित्ता आईपीको लागि दरखास्त दिन पाइने छ । कुल निष्कासनको ३ प्रतिशत अर्थात ८ लाख ८ हजार २० रुपैयाँ बराबरको ८ हजार ८२० कित्ता कर्मचारी र सामूहिक लगानी कोषका लागि कुल निष्कासनको ५ प्रतिशत अर्थात १४ लाख ७० हजार रुपैयाँ बराबरको १४ हजार ७ सय कित्ता छुट्टाइएको छ । आईपीओ निष्कासपछि संस्थाको चुक्तापुँजी ६ करोड रुपैयाँ हुने छ । संस्थाको केन्द्रीय कार्यालय काभ्रेको बनेपामा रहेको छ । संस्थाको आईपीओ अनलाईन वा बैंक तथा वित्तीय संस्था दुबैमा गएर भर्न सकिने छ । धितोपत्र बोर्डले पुस २० गते आईपीओ निष्कासन गर्न आरम्भलाई अनुमति दिएको थियो ।